अस्ट्रेलियामा नेपाली
डा. अन्जन शर्मा र डा. ज्योत्सना प्रधान सन् २००५ मा बेलायत गए। बेलायतको मेडिकल काउन्सिलको परीक्षा पनि पास गरे तर काम पाउन कठिन भयो। त्यसपछि यो जोडीले अस्ट्रेलिया,न्युजिल्यान्ड जाने प्रयास गर्यो। धेरैतिर प्रयास गरे पनि आफूले खोजेजस्तो अस्ट्रेलियाको पर्थमा मात्रै पाइयो।
वेस्टर्न अस्ट्रेलियाको रोयल पर्थ हस्पिटलमा फोन अन्तर्वार्ता दिएपछि जुनियर डाक्टरको लागि प्रस्ताव आयो। त्यसपछि उनीहरू बेलायत छोडेर पर्थ आए। सन् २००६ देखि अन्जन र ज्योत्सना पर्थमै छन्।
‘२००३ मा हामीले नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस सकेको हो। त्यसपछि दुई वर्ष दमक र काठमाडौंमा काम गर्यौं,’ डा. अन्जनले सेतोपाटीसँग भने, ‘२००५ मा बेलायत गएपछि हामी एक वर्ष बसेर यता आएका हौं। त्यसैले सोच्या जस्तो त जिन्दगीमा कहिले पनि हुँदैन होला जस्तो लाग्छ।’
सुरूमा त बेलायतमै आफ्नो करियर बनाउने उनीहरूको सोच थियो। काम गर्दै जाँदा कुन रोगको विशेषज्ञ बनिन्छ भन्ने सोच डा. अन्जनलाई आइसकेको थिएन। तर उनकी श्रीमती ज्योत्सनालाई भने सर्जन बन्न मन थियो। यद्यपी सोचेजस्तो भएन। उनीहरू अस्ट्रेलियामा आएर जनरल प्राक्टिसनर (जिपी) बन्न सफल भए। अहिले डा.अन्जन र ज्योत्सनाले पर्थमा दुइटा क्लिनिक चलाइरहेका छन्। नर्थ पर्थ क्लिनिकमा उनीहरू दुई जना सँगै अन्य चिकित्सकको पनि लगानी छ भने ब्रडवे क्लिनिक उनीहरूले मात्रै सञ्चालन गरेका हुन्। ब्रडवे क्लिनिकमा काम गर्ने चिकित्सक पनि नेपालीहरू मात्र छन्।
‘२००६ मा अस्ट्रेलिया आएपछि २०१०/२०११ सम्म त हामीले जुनियर डाक्टर भएर काम गर्यौं। सबैभन्दा ठूलो कुरा त कुनै पनि देशको हेल्थ सिस्टम बुझ्न समय लाग्ने रहेछ,’ डा अन्जनले भने, ‘डाक्टरको दायित्व के हो, कसको क्षमता के हुन्छ भन्ने बुझ्न समय लाग्ने रहेछ। २०१० देखि पढ्न सुरू गरेर २०१४ मा हामी दुवै जना जिपी बन्न सफल भयौं।’
सुरूआती समयमा पर्थमा नेपाली भेट्न मुस्किल थियो। अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, मेलवर्नमा ठूलो संख्यामा नेपाली आइसक्दा पनि पर्थमा नेपालीहरू बिरलै जान्थे। तर अहिले पर्थमा नेपालीको संख्या ३० हजारको हाराहारीमा पुगिसकेको छ। अहिले त उनीहरूको क्लिनिकमा आउने नेपालीको संख्या उल्लेख्य छ।
‘बस्न र काम गर्न रमाइलो अनि नेपालसँग पनि नजिक भएकाले हामीलाई पर्थले लोभ्यायो। केही वर्ष अरूको क्लिनिकमा काम गरेपछि २०१९ मा हामीले आफ्नै क्लिनिक सुरू गरेका हौं,’ डा.अन्जनले भने, ‘हामीले क्लिनिकलाई व्यापारभन्दा पनि काम गर्ने थलो मानेका छौं। कमाइभन्दा पनि आफ्नो कामसँगै सेवा दिन पाउँदा सन्तुष्ट छौं।’
सात समुन्द्र पारीको देशमा आएर यो जोडीले जुन प्रगति गरेको छ, त्यो साँच्चै लोभलाग्दो छ। नेपालगन्ज मेडिकलको पहिलो ब्याज अन्जन र ज्योत्सनाले पर्थमा स्थापित हुँदासम्मको यात्रामा थुप्रै उतारचढाव भोगेका छन्।
दुवै जना एउटै पेसामा भएपछि एकले अर्कालाई चिन्न सजिलो हुने र काममा पनि सहजता हुने डा ज्योत्सना प्रधानले बताइन्।
‘फरक/फरक ठाउँमा काम गर्दा आफैले धेरै काम गरेजस्तो हुन्छ। जिपी भएर काम गर्दा कहिलेकाहीँ आफैलाई मन भारी हुन्छ त्यस्तो अवस्थामा फरक पेसाको पार्टनरसँग धेरै कुरा गर्न मिल्दैन,’ डा ज्योत्सनाले भनिन्, ‘एउटै ठाउँमा काम गर्दा त भन्न मिल्यो नि। एक अर्काको दुःख बुझ्न सजिलो हुन्छ। एकजना व्यस्त हुँदा अर्कोले रिपोर्ट हेर्न मिल्छ। त्यही भएर हामीलाई धेरै सजिलो भएको छ।’
एमबिबिएस पढेदेखि अहिलेसम्म सँगै हुनुहुन्छ सम्बन्धलाई बलियो बनाउने सूत्र के रहेछ? भनेर डा. ज्योत्सनलाई सोध्दा डा. अन्जनले उछिनेर एक शब्दमै जबाफ दिए ‘माया’। त्यसपछि डा. ज्योत्सनाले थपिन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा एक अर्कासँग बस्ने चाहना हुनुपर्ने रहेछ।’
उनीहरूले बिहे गरेको २० वर्ष भयो अनि एक अर्काको संगत गरेको २७ वर्ष भइसकेको छ। उनीहरूका दुई छोरी छन्।
‘आमा बाउभन्दा पनि उसँग धेरै समय बितेको छ अनि उसको पनि त्यही हो। त्यसले भन्दा मैले राम्रो गर्छु भन्ने भयो भने सम्बन्ध चल्दैन,’ डा.ज्योत्सनाले भनिन्, ‘आफ्नो पार्टनर जस्तोसुकै होस्, जुनसुकै पेसाको भए पनि हामी एक अर्काको हौं भन्ने सोच राख्न जरूरी छ।’
यो जोडीको पेसा जसरी मिलेको छ, त्यसरी नै मन पनि मिलेको छ। त्यसैले काम गर्न पनि सहज भएको छ। दुई वटा क्लिनिकमा उनीहरू आलोपालो गरेर जान्छन्। अर्थात् एक जना एउटा क्लिनिकमा तीन दिन काम गर्छन् भने अर्कोमा तीन दिन।
अस्ट्रेलियामा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा सिधै विज्ञ चिकित्सकलाई भेट्न पाइँदैन। सबैभन्दा पहिला जिपीलाई भेट्नु पर्छ। जिपीले सिफारिस गरेपछि मात्रै विज्ञ चिकित्सकलाई भेट्ने हो।त्यसैले पनि यो देशमा जिपीको महत्व अत्यधिक छ।
‘कि ज्यानै जाने खालको इमर्जेन्सी हुन्छ, अर्को भनेको पेट दुख्ने, छाती दुख्ने खालको हुन्छ। ज्यानै जाने तहको भन्दा अरू खालका इमर्जेन्सीका लागि जिपीकोमा जाने भन्ने हुन्छ,’ डा अन्जनले भने, ‘जिपीको तहबाटै जे जस्तो उपचार हुन्छ त्यहाँ गर्ने हो अनि बाँकी चिकित्सकलाई सिफारिस गर्ने हो।’
सबै बिरामी अस्पताल जान नपर्ने भन्दै उनले ७० देखि ९० प्रतिशत बिरामी अस्पताल नगइकनै ठिक हुने बताए। जानैपर्ने बिरामी मात्र अस्पताल जाऊन्, अरूलाई घर-समाजमा बसेर उपचार गर्न सकियोस् भन्ने नीति अस्ट्रेलियाको रहेको उनको भनाइ छ।
आफ्नो क्लिनिकमा आउने नेपालीको संख्या बढेसँगै उनीहरूको समस्याको पहिचान समेत हुन थालेको छ। मौसमी रूघाखोकी ज्वरो बाहेक धेरै नेपालीलाई पर्ने समस्या भनेको ढाड दुख्ने र मानसिक समस्या हो।
‘नेपालमा केही काम नगरेकाहरू यहाँ आएर सबै काम आफूले गर्दा ढाड दुख्ने समस्या देखिन्छ। अर्कोतिर युनिभर्सिटीको पढाइको दबाब अनि कामले गर्दा मानसिक समस्या भएको छ,’ डा.ज्योत्सनाले भनिन्, ‘एकदमै धेरै ढाड दुख्यो हेर्नु न म त चल्नै नसक्ने भएँ भन्ने हुन्छ। आएको तीन चार वर्षमा १०/१५ किलो तौल बढेको समेत हुन्छ।’
व्यायाम गर्ने, एक अर्कालाई आफ्ना कुरा सेयर गर्दा यस्ता समस्या कम हुने उनले बताइन्। नदुख्ने औषधी धेरै मात्रामा नखान बरू व्यायाममा ध्यान दिन उनले सुझाव दिने गरेकी छन्। त्यस्तै कतिपय नेपालबाट गएका अभिभावक समेत औषधी सकिएको अवस्थामा उनीहरूकै क्लिनिकमा पुग्छन्।
‘कहिलेकाहीँ साह्रै अप्ठ्यारो पर्यो भने युनिभर्सिटीको असाइनमेन्ट सार्नको लागि सहयोग समेत गर्छौं। १८/१९ वर्षको उमेरमा आउने भएकाले बिग्रिन सक्ने खतरा पनि उत्तिकै रहन्छ,’ डा.ज्योत्सनाले भनिन्, ‘यो देशमा चुरोट/रक्सी लगायतका कुलतबाट र कुसंगतबाट टाढा रहनुपर्छ। सकेसम्म हाम्रो क्लिनिकमा आउनै नपरोस् भन्ने हामी चाहन्छौं।’
नेपाली समुदायका विभिन्न गतिविधिमा सहभागी हुने यो जोडी सामाजिक काममा समेत उत्तिकै सक्रिय छन्।
पर्थमा बन्न लागेको पशुपतिनाथ मन्दिर, बौद्धनाथ मन्दिर अनि सामुदायिक भवनका लागि उनीहरूले २५ हजार अष्ट्रेलियन डलर सहयोग गरेका छन्
नेपाली भएर विदेशी भूमिमा नेपाली बिरामीलाई सेवा दिन पाउँदा छुट्टै आनन्द आउने डा. अन्जनले बताए।
‘सबैभन्दा ठूलो कुरा सञ्चार रहेछ। बिरामीलाई पनि आफ्ना कुरा राख्न मिल्यो अनि हामीलाई पनि आफू जन्मेको देशका मानिससँग कुरा गर्न पाउँदा सजिलो भयो,’ डा.अन्जनले भने, ‘कुनै चिकित्सकले नेपालीमा सम्झाइदिँदा बिरामीले अलि बुझेका हुन् कि भन्ने मलाई लाग्छ। मैले राम्रोसँग आफ्नो भाषामा सम्झाएको छु है भनेर मलाई पनि खुसी लाग्छ।’
नेपाली समुदायलाई दिने उनको पहिलो सुझाव सकेसम्म डाक्टरलाई भेट्नै नपर्ने बन्नुस् भन्ने हो। डाक्टरलाई भेट्न परेको खण्डमा धेरै रोग नपाल्नुस् भन्ने हो। केही शंका लागेमा चिकित्सकसँग सल्लाह मात्र लिए पनि ठूलो रोगबाट बच्न सकिने उनले बताए।
‘सानोतिनो समस्या हुँदैमा रोगलाई पत्ता लगाइयो भने उपचार गर्न पनि सजिलो हुन्छ। आफूले आफूलाई राम्रोसँग ख्याल गरियो भने बिरामी कम भइन्छ,’ उनले भने, ‘जन्मिएको र हुर्किएको देशबाट टाढा छौं। त्यसैले नेपालीसँग घुलमिल हुनुस् अनि आफ्नै एउटा सर्कल बनाउनुस्। त्यस्तो गर्न नसक्दा मेन्टल हेल्थको समस्या हुन सक्छ है।’
विशेष गरेर भर्खर आउने नेपालीमा मानसिक समस्या देखिन सक्ने भन्दै त्यस्तो अवस्थामा जसरी पनि चिकित्सकलाई भेट्नुपर्ने उनले बताए।
अस्ट्रेलिया आउनसाथ आफूले सोचेजस्तो सरासर हुन्छ भन्ने ठान्न नहुने उनको तर्क छ। आफूहरूको १८ वर्षे अस्ट्रेलिया बसाइको क्रममा पनि थुप्रै चुनौतीको सामना गरेको उनले सुनाए।
‘दुःखपछि मात्र सुखको महत्व हुने रहेछ। सबै कुरा खुरूखुरू भनेजस्तो भयो भने मान्छे मात्तिने हो कि जस्तो लाग्छ,’ उनले भने, ‘एक दुई वर्षमै सबै चट्ट हुने भन्ने हुन्न, न हाम्रो भयो न सायद कसैको पनि भएको होला जस्तो लाग्छ। एक दुई पटक फेल नभई जिन्दगीको मजा नहुने रहेछ भनेर सिक्यौं, हामीले।’