अस्ट्रेलियामा नेपाली
१८ वर्षको उमेरमै अस्ट्रेलिया आएका म्याग्दीका आकाश मल्लले भिक्टोरियाको ग्लेनरोयमा सञ्चालक, प्रेस्टिज अटोमोटिभ मेकानिक्स नामको वर्कसप चलाएका छन्। मिनी नेपाल भनेर चिनिने यो ठाउँमा उनका अधिकांश ग्राहक नेपाली नै हुन्। ३५ वर्षीय आकाशले आफ्नो झण्डै आधा उमेर मेकानिक भएरै बिताइसकेका छन्।
अकाउन्टिङ पढ्न सन् २००८ मा अस्ट्रेलिया आएका कञ्चनपुरका डिल्लीराज भट्टलाई नेपालमै पढेको डेबिट क्रेडिट यहाँ पढ्न मन लागेन। केही समयमै उनले अटोमोटिभको पढाइ सुरू गरे। सन् २०१७ देखि भिक्टोरियाकै सनसाइनमा सनसाइन मोटर रिपेयरस एण्ड टायर्स सुरू गरेका छन्।
काठमाडौंका विनोद श्रेष्ठ पनि २००७ मा कुकरी पढ्न आएका थिए तर उनलाई अटोमोटिभ पढ्न मन लाग्यो। सन् २०१४ देखि रेजवायर लेकसाइडमा बि एण्ड आर अटो रिपेयर्स एण्ड सर्भिस सेन्टर सुरू गरेका छन्। मेलवर्नमा यस्ता अरू पनि वर्कसप छन् जसलाई नेपालीले सञ्चालन गरेका छन्।
आकाश, डिल्ली र विनोदका अनुभवलाई हामीले प्रतिनिधिका रूपमा लिएका छौं।
यो क्षेत्रमा लागेर कस्ता सम्भावना छन्। अनि चुनौती कस्ता छन् उनीहरूको वर्कसप कसरी चलिरहेको छ, सुरूआती दिनको संघर्ष कस्तो थियो लगायतका विषयमा हामीले कुराकानी गरेका छौं।
कोभिडले व्यवसायी बनेका आकाश
कोभिडको बेलामा सबै काम गर्ने मान्छेलाई हप्तामा ७ सय ५० डलर दिने स्किम भिक्टोरिया सरकारले ल्याएको थियो। त्यही भएर बाहिर निस्किन समेत बन्द थियो। तर आकाशले मोटर वर्कसपमा काम गर्ने भएकाले उनी बाहिर निस्किन पर्थ्यो। हप्ताको २० घण्टा काम गर्नै पर्थ्यो।
‘हामी अनिवार्य क्षेत्रको कामदार भएकाले त्यो ज्यालाको लागि हामी २० घण्टा बाहिर निस्किन पर्थ्यो। सधैं काम गरेर बसेको मान्छेले हप्तामा २० घण्टा गर्न परेपछि घरमै केही गरौं न त भनेर सुरूआत गरेको हो,’ आकाशले भने, ‘घरमै गाडी बनाउन थालेपछि एकले अर्कालाई भन्दै गर्दा गाडी बनाउन आउने धेरै भए। त्यसपछि मैले ग्लेनरोयमा प्रेस्टिज अटोमोटिभ मेकानिक्स सुरू गरेको हो।’
१३ वर्ष अन्यत्रै काम गरेको अनुभव भइसकेपछि मात्रै उनले आफैले व्यवसाय सुरू गरेका हुन्।
उनको वर्कसपमा मेकानिकलसम्बन्धी सबै काम गरिन्छ। डेन्टिङ र पेन्टिङ बाहेकका सबै काम आफूले गर्ने उनले बताए। सन् २००८ मा अस्ट्रेलिया आएका आकाशले सुरूका २/३ महिना रेष्टुरेन्टमा काम गरे पनि त्यसपछि भने सधैंभरि वर्कसपमै काम गरे।
‘मेरो गाडीमा यस्तो भयो भनेर समस्या लिएर आउनेहरूको समस्या समाधान गर्न पाउँदाको सन्तुष्टि बेग्लै हुने रहेछ,’ उनले भने, ‘अरूको काम गर्ने बेलामा एउटा मात्रै गाडी बनाउन सकिने रहेछ। तर आफ्नै व्यवसाय गर्दा धेरै गाडी एकैचोटी बनाउन सकिने रहेछ।’
उनले आफूसँगै अरू तीन जनालाई रोजगारी समेत दिएका छन्। उनलाई कामको खाँचो छैन। बिग्रिएका गाडी बनाउने काम शारीरिक र मानसिक दुवै भएकाले चुनौती पनि उत्तिकै रहेको उनले बताए। तर कसैको बिग्रिएको गाडी बनाउँदाको सन्तुष्टि भने अतुलनीय रहने उनको भनाइ छ।
अकाउन्टिङ पढ्न आएका डिल्ली वर्कसपमा रमाए
सन् २००८ मा अस्ट्रेलिया आएका डिल्लीराज भट्टले केही समय अकाउन्टिङ पढेका थिए। तर यसमा भविष्य छैन भन्ने निष्कर्षसहित उनले अटोमोटिभको पढाइ सुरू गरे। एकातिर कमाइ हुने अनि अर्कोतिर यहाँको पिआर पनि चाँडै पाइने भएपछि उनको रोजाइमा यो क्षेत्र परेको हो।
‘मैले २०१७ सम्म मेकानिक भएर काम गरेँ। अर्काको लागि कति काम गर्ने भनेर यो सोच आएपछि आफैले सुरू गरेको हो,’ उनले भने, ‘सुरूमा त जसलाई पनि चुनौती भइहाल्छ। तर विस्तारै साथीहरूले सहयोग गरे। काम गर्दै जाँदा राम्रो हुँदै गयो।’
आफ्नो सेवा विश्वसनीय भएको दाबी गर्दै उनले कामको खाँचो नभएको बताए।
डिल्लीराज भट्टले सञ्चालन गरेको सनसाइन मोटर रिपेयर्स एण्ड टायर्सले ५ जनालाई रोजगारी समेत दिएको छ। सोमबारदेखि शनिबारसम्म उनी वर्कसपमै व्यस्त हुन्छन्।
‘कोभिडको बेलामा समेत सबैतिर गाह्रो थियो तर हामीलाई कामको गाह्रो भएन। अस्पताल र यो उस्तै हो भन्ने लाग्छ,’ उनले भने, ‘पैसा हुनु/नहुनु आफ्नो ठाउँमा छ तर म व्यस्त छु अनि सन्तुष्ट समेत छु।’
मेकानिकलाई संसारको जुनसुकै ठाउँमा गए पनि कामको खाँचो नहुने भन्दै भट्टले आफूले गरेको लगानी समेत खेर नजाने दाबी गरे।
‘आफ्नो क्षमताको कमी छ भने मात्रै यो क्षेत्रमा चुनौती हुने हो। तर गाडीसम्बन्धी ज्ञान छ भने केही अप्ठ्यारो हुँदैन,’ उनले भने, ‘एउटा ग्राहक भड्कियो भने त्यसले सयौंलाई भड्काउँछ। त्यसैले काम कस्तो गर्छ भन्ने कुरालाई सफलता निर्धारण गर्छ।’
कलेज पढाउँदै, गाडी बनाउँदै बिनोद
बिग्रिएका गाडी बनाउनु उनको प्यासन थियो। त्यही भएर बिनोद श्रेष्ठले अटोमोटिभ पढेका हुन्। सन् २००७ मा अस्ट्रेलिया आएका बिनोदले सुरूआती समयमा कुकरी पढेका हुन्। तर त्यसले उनलाई चित्त बुझेन। सन् २००९ मा अटोमोटिभ पढेका बिनोदले २०१४ देखि रेजवायर लेकसाइडमा बि एण्ड आर अटो रिपेयर्स एण्ड सर्भिस सेन्टर सुरू गरेका हुन्। मेलवर्नमा वर्कसप खोल्ने पहिलो नेपाली आफू रहेको उनले दाबी गरे।
‘सुरूआती चरणमा चुनौती हुनु स्वाभाविक हो तर चुनौती बाहेक मेरो चासोले पनि हुन्छ अनि मेरी श्रीमतीको साथले पनि सहज भयो,’ उनले भने, ‘हामीले सबै खालका बिग्रिएका कारहरू बनाउँछौं।मेरोमा आउने ७० प्रतिशत ग्राहक नेपाली नै हुन्।’
एक जना ग्राहकले अर्कोलाई भन्दिएकै भरमा आफ्नो व्यवसाय चलेको उनको दाबी छ।
‘हामीले राम्रो सेवा दिन्छौं। त्यही भएर राम्रो भएजस्तो लाग्छ। हामी ५ जना छौं। कहिले त गाह्रो हुन्छ,’ उनले भने, ‘हाम्रोमा गाडी बनाउन पालो बस्नुपर्छ। त्यही भएर गाडी लाइनमा बसेका हुन्छन्।’
हरेक व्यक्तिलाई कार चाहिने भएकाले अटोमोटिभ क्षेत्रमा राम्रो सम्भावना रहेको उनले बताए।
‘तपाईंले समय जोगाउनुभयो भने पैसा जोगिन्छ भन्ने मान्यता रहेकाले कार चाहिन्छ। कार चाहिएपछि कार बनाउने ठाउँ पनि चाहिन्छ,’ उनले भने।
सन् २००८ मा सेन्ट्रल अस्ट्रेलियन कलेजमा अटोमोटिभ पढेका बिनोदले २०१८ देखि त्यही कलेजमा पढाइरहेका छन्।