उनी अस्ट्रेलिया आएको ५ वर्ष मात्रै पुग्दैछ। तर उनी वेस्टर्न अस्ट्रेलियाको डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटमा सिनियर पोलिसी एड्भाइजर भएर काम गरिरहेका छन्।
सन् २०२३ देखि उनी यो पदमा कार्यरत छन्। २०२० को फेब्रुअरीमा इन्टरनेसनल रिलेसनसिप एण्ड पब्लिक अफियरमा मास्टर्स पढ्न आएका उत्सव थपलियाले कम्युनिटी सर्भिसमा डिप्लोमा समेत गरेका छन्।
छोटो अवधिमै २९ वर्षीय थपलियाले जुन तहको राजनीतिक नियुक्ति पाएका छन्, त्यो अवसर पाउने नेपाली विरलै छन्। सिनियर पोलिसी एड्भाइजरको रूपमा आफूले मल्टिकल्चर कम्युनिटीमा भइरहेका गतिविधि अनि उनीहरूका समस्याबारे प्रिमियरलाई जानकारी दिने थपलियाले बताए।
त्यस्तै, वेस्टर्न अस्ट्रेलिया सरकारले गर्दै गरेका विभिन्न विकास निर्माणका कामहरूको गतिविधिबारे प्रिमियरलाई जानकारी गराउने जिम्मेवारी आफ्नो रहेको उनले बताए।
जतिबेला थपलिया अस्ट्रेलिया आएका थिए त्यो बेलामा सबै गतिविधिहरू ठप्प थिए। पढाइ पनि भएको थिएन। त्यो बेला युनिभर्सिटीको फिल्डमा काम गर्ने भारतीय मूलका अस्ट्रेलियन नागरिक शिव गुरू स्वामीसँग भेट भयो। उनीमार्फत् थपलियाको भेट वेस्टर्न अस्ट्रेलियाकी सांसद इमिली ह्यामिल्टनसँग भयो।
उनी नजिकिँदै गरेको निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार समेत बनेकी थिइन्। उनले ती उम्मेदवारको फोटो/भिडिओ खिच्ने काम गरेका थिए। नेपालमा तुइन फिल्मको निर्देशन गरेका थपलियालाई भिडिओको जानकारी थियो। उनले निर्देशन गरेको फिल्म तुइन वासिङ्टन फिल्म फेस्टिबलमा समेत छानिएको थियो। नेपालमै हुँदा जानेको भिडिओ,फोटोको आइडियाले उनलाई अस्ट्रेलियामा थप सहज भयो।
‘इमिली ह्यामिल्टनलाई फोटो खिच्ने, भिडिओ खिच्ने अनि सामाजिक सञ्जालमा राख्न सहयोग गर्ने स्वयमसेवक चाहिएको रहेछ। मैले त्यो काममा सहयोग गरेको मन परेपछि उनले मलाई इलेक्सन क्याम्पेनिङमै राखिन्,’ थपलियाले भने, ‘उनले निर्वाचन जितेपछि मैले उनको अफिसमा काम गर्ने मौका पाएँ। हप्ताको दुई दिन त्यहाँ काम गर्दा मलाई पारिश्रमिक पनि आउँथ्यो भने मेरो सम्बन्ध थप बलियो हुँदै गयो।’
लेबर पार्टीकी सांसदसँगको सम्बन्धकै कारण उनले प्रिमियर अफिसमा डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटमा सिनियर पोलिसी एड्भाइजर भएर काम गर्न पाएका हुन्।
त्यही क्रममा उनीसहित अन्य देशका विद्यार्थीहरू मिलेर मल्टिकल्चर लेबर अर्गनाइजेसन गठन भयो। अहिले लेबर पार्टीको प्रभावशाली भ्रातृ संगठनको रूपमा रहेको मल्टिकल्चरल लेबर अर्गनाइजेसनका ५०० सदस्य छन्।
‘लेबर पार्टीको भ्रातृ संगठनमध्ये हामी सबैभन्दा प्रभावशाली भएका छौं। अब मल्टिकल्चरबाट कोही उम्मेदवार बन्न आएमा हामी प्रि-इलेक्सनमा सहयोग गर्छौं।’
उनी अहिले अस्ट्रेलियाको पिआरकै प्रक्रियामा छन्। तर सत्तारूढ लेबर पार्टीको वेस्टर्न अस्ट्रेलिया कमिटी सदस्य छन्।
‘हामी त विद्यार्थी भएकाले पिआरको प्रक्रियामा छौं। त्यसपछि नागरिकता लिएर अगाडि बढ्छु। म लेबर पार्टीबाट एक दिन प्रतिस्पर्धी बन्छु भन्ने योजना छ,’ उनले भने।
आफ्नो राजनीतिक पकडकै कारण उनले कोभिडको बेलामा २०२१ जुन २२ मा १.८ मिलियन डलरको सहयोग नेपाल लैजान सफल भएका थिए।
अपांगता भएकाहरूको क्षेत्रमा कार्यरत थपलियाले उनीहरूको हकहितमा आवाज समेत उठाउँछन्। सरकारलाई अपांगता भएका व्यक्तिहरूको बजेट कटौती गर्न थालेपछि उनले नेसनल डिसेबिलिटी इन्स्योरेन्स स्किम (एनडिआइएस) विरूद्ध ७ वटा मुद्दा समेत हालेका छन्।
लिडरसीप एण्ड गभर्नेन्स कार्यक्रम सञ्चालन गर्दै आएका उनी अस्पायर लिभिङ भन्ने संस्थामा पनि आबद्ध छन्। त्यस्तै, एज्ड केयर भोलिन्टियर भिजिटर स्किम अफिसरको रूपमा पनि कार्यरत छन्।