अस्ट्रेलियामा नेपाली
अस्ट्रेलियाको भिक्टोरियामा नेपाली मूलका अनन्तराज पौडेलले काउन्सिलर पदको उम्मेदवारी दिएका छन्।
उनले भिक्टोरिया राज्यको ह्युमसिटी काउन्सिल अन्तर्गत माउण्ट रिड्ली वार्डको उम्मेदवारी दिएका हुन्।
निर्वाचनका लागि अक्टोबर ७ देखि २५ सम्म समय तोकिएको छ। आफ्नो घरमा पुगेको मतपत्रमा मतदान गरेर तोकिएको समयभित्र हुलाकमार्फत् पठाउनु पर्छ।
निर्वाचनका लागि आफूले तयारी थालेको र प्रत्येक घरमा आफ्नो प्रतिबद्धता पुर्याउन सुरू गरेको काउन्सिलर पदका उम्मेदवार अनन्तराज पौडेलले बताए।
‘नेपालमा भन्दा यहाँ चुनावको तयारी अलि फरक हुने रैछ। चुनाव अगाडि धेरै तयारी गर्नुपर्ने रैछ,’ उनले भने,‘स्थानीय चुनावमा उम्मेदवार हुनलाई धेरै कुरा थाहा पाउनु पर्ने रहेछ।’
आफू उम्मेदवार बनेको वार्डमा फोहोरको समस्या, स्वास्थ्य सेवा, सार्वजनिक यातायात लगायतका समस्या सुधार्न जरूरी रहेको उनले बताए।
समयमा चिकित्सकलाई भेट्न नसकिने बच्चाको लागि राज्यले अझै लगानी गर्नुपर्ने विषयलाई आफूले एजेण्डा बनाएको उनले बताए।
घरभाडा कर धेरै महँगो भएकोदेखि साना व्यवसायीका समस्या अनि सुरक्षा लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताए।
सार्वजनिक स्थानमा पोष्टर पम्पलेट टाँस्न नपाइने भएकाले घर-घरमा पुगेर व्यक्तिगत रूपमा आफ्ना एजेण्डा राख्नुपर्ने उनले बताए।
‘कसैको घरमा पोष्टर टाँस्न परेमा उनीहरूको अनुमति लिनुपर्छ। त्यही भएर घरदैलो कार्यक्रम धेरै महत्वपूर्ण हुने रैछ,’ उनले भने, ‘पहिला मैले आफ्नो योजना सहितको पम्पलेट बाँडिरहेको थिएँ। अब साथीहरू लिएर घर घरमा जान्छु। मेरो अभियानमा यहाँ आउनुभएका बाआमा अनि क्रेगिबर्न अभिभावक समाजको दरिलो साथ छ।’
नेपाली समुदाय बढ्दै गएकाले आफूले पनि उम्मेदवारी दिएको उनले बताए।
निर्वाचन जित्नकै लागि उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचनको परिणाम जस्तो आए पनि त्यसले नेपाली समुदायलाई यहाँको राजनीतिमा अगाडि बढ्न सहयोग पुग्ने बताए।
‘हारजित जे भए पनि प्रतिस्पर्धाका लागि प्रयास भयो भने पनि त्यसले समुदायलाई नै फाइदा हुने हो,’ उनले भने, ‘म २००९ मा अस्ट्रेलिया आएँ। कहिले होटलमा काम गर्ने, कहिले आफ्नै व्यवसाय गर्ने अनि कहिले स्वास्थ्य क्षेत्रमा काम गर्दै यहाँसम्म आइपुगेको छु।’