अस्ट्रेलियामा नेपाली
अस्ट्रेलियाले ल्याएको पछिल्लो प्रावधान भनेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना र भिसा सम्बन्धी क्याप हो। यसबारे सर्वत्र चासो हुनु स्वाभाविक हो। त्यो भनेको सन् २०२५ देखि यहाँका पब्लिक विश्वविद्यालयहरू र भोकेसनल एजुकेसनको लागि अस्ट्रेलियन सरकारले नै संख्या तोक्ने भन्ने हो। जसअनुसार विश्वविद्यालयको लागि १ लाख ४५ हजार, भोकेसनल एजुकेसनको लागि ९५ हजार र निजी उच्च शिक्षा प्रदायकहरूले ३० हजार मात्र विद्यार्थी इन रोल गर्न पाउनेछन्।
अब अस्ट्रेलिया सरकारले नै कुन-कुन विश्वविद्यालय र कलेजलाई कति कति कोटा दिने भनेर निर्णय गर्छ। अहिले अस्ट्रेलियाले एक खालको अनुसन्धान गरिरहेको छ। अर्थात् अस्ट्रेलियामा आउन चाहने विद्यार्थीलाई कुन क्षेत्रमा कसरी कति भर्ना गराउने भनेर मापदण्ड बनाउन लागिएको हो। त्यसैले अब सन् २०२५ देखि सरकारले दिएको आधारमा कोटा शैक्षिक संस्थाहरूमा कोटा निर्धारण हुन्छ। अहिलेसम्म विश्वविद्यालयमा ठूलो संख्यामा विद्यार्थी भर्ना हुन्थे भने कलेजमा एउटा निश्चित संख्या तोक्ने गरिन्थ्यो।
अब अस्ट्रेलियन सरकारले दिएको नम्बरका आधारमा मात्रै सबैतिर भर्ना हुन्छ। २०२५ देखि तोक्ने भनिएको क्याप भोकेसनल लेबल र उच्च शिक्षाको लागि हो। अनुसन्धान सहितको स्नातकोत्तर र पिएचडीको लागि भने यो क्यापअन्तर्गत पर्दैन भनेर भनिएको छ।
यो प्रावधानले नेपालसहित अन्य देशका विद्यार्थीलाई प्रभाव पार्छ। विश्वविद्यालयमा पढ्न आउनेहरूले चाहे अनुसारको कलेज नपाउने हुन सक्छ। किनकि सम्बन्धित शैक्षिक संस्थाले पाएको कोटा सकिएपछि विद्यार्थीले भर्ना पाउन सक्दैन। यसो भन्दैमा हामी डराउनै पर्ने भन्ने हुँदैन। तर केही सीमितता भने अवश्य हुन्छ।
माइग्रेसन नीति किन परिवर्तन भइरहेको छ?
२०२४ लाई सबैभन्दा धेरै माइग्रेसन नीति परिवर्तन भएको वर्ष भन्दा फरक पर्दैन। यो वर्ष एकपछि अर्को गर्दै परिवर्तन आइरहेका छन्। कोभिडको बेलामा अस्ट्रेलिया आउन धेरै सहज भएको थियो।कोभिडपछिको अवस्थामा सरकारले आफ्नो रणनीति परिवर्तन गरेको देखिन्छ। त्यसमध्ये विद्यार्थी भिसाको शुल्क बढेको छ। ४८५ भिसा अर्थात् टिआरको समय घटाएको छ। जुन पहिला ५ वर्ष सम्मको थियो तर अहिले २ वर्ष पुर्याएको छ। टिआरबाट स्टुडेन्ट भिसामा जान नपाउने नियम बनाएको छ। भिजिटर भिसाबाट स्टुडेन्ट भिसामा जान नपाउने अर्को परिवर्तन भएको छ। अंग्रेजी भाषाको प्रावधानमा समेत कडाइ गरेको छ।
यो परिवर्तनलाई केही हदसम्म चुनावसँग सम्बन्धित भन्ने गरिन्छ। यसमा केही सत्यता हुनसक्छ। तर चुनावलाई मात्रै केन्द्रित गरेर एकपछि अर्को कडाइ गरेको भन्न मिल्दैन। अहिले आइरहेको परिस्थिति अनि भविष्यको रणनीतिको आधारमा यस्तो गरिएको हो। त्यसबाट सरकारले लिन सक्ने र दिनसक्ने अवसरमा केन्द्रित रहेर परिवर्तन गरेको हुन सक्छ। विगत १० वर्षलाई आधार मान्ने हो भने कुनै बेला कडा भएको र कुनै बेला लचिलो भएको देखिन्छ। त्यो ट्रेन्डलाई आधार मान्ने हो भने अब सधैं यस्तै कडाइ गर्छ भनेर भन्न सकिँदैन। तर कोभिडको समयमा भएको तहको लचिलो हुने सम्भावना कम देखिन्छ। अबको ट्रेन्ड भनेको कडाइ गर्नेभन्दा पनि प्रतिस्पर्धात्मक बनाउन खोजेको भनेर मैले बुझेको छु। अब आउने माग र परिस्थितिलाई ध्यानमा राखेर पुराना गल्तीहरू सुधार्ने क्रममा कडाइ हुन सक्ने पनि देखिन्छ।
अब नेपाली विद्यार्थीले के गर्ने?
अब नेपाली विद्यार्थीले के गर्ने भनेर धेरै कुरा रहन्छन्। त्यसको लागि प्रोफेसनल गाइडेन्स र रिसर्चको जरूरी छ। दोस्रो भनेको आफूले के पढ्दै हो त्यसबाट पाउने सम्भावना र अवसरहरू के के छन् भनेर हेर्नुपर्छ। त्यो बारेमा राम्रो सल्लाह र सुझाव लिन आवश्यक हुन्छ। त्यो सँगै आफ्नो फोकस पढाइ र करिअरमा हुन जरूरी छ। जसले गर्दा भविष्यमा आत्मनिर्भर हुन सकियोस्। सँगै पिआर लगायतका बाटो पनि खुलोस् भन्ने हो। कोही विद्यार्थी अस्ट्रेलियामा बस्ने या फर्किने जे सोचमा भए पनि आफ्नो बाटो स्पष्ट गर्न जरूरी छ। यदि यहाँ बस्दै गर्ने अवस्था छ भने कुन कुन बाटो सहज छ भनेर स्पष्ट हुनुपर्छ। फर्किने योजना छ भने पनि नेपालमा जाने हो या अन्यत्र जाने भन्ने विश्लेषण आवश्यक हुन्छ। आफ्नो योग्यता, क्षमता र दक्षताको आधारमा अघि बढ्नुपर्छ।
पछिल्लो समयमा राम्रो पक्ष भनेको धेरै भाइबहिनीहरू अनुसन्धान गरेर अस्ट्रेलिया आएको देखिन्छ। यहाँ आउँदै गर्दा अस्ट्रेलिया बुझ्न जरूरी छ। यहाँको चुनौती के छ यसलाई बुझ्न सक्नुपर्छ। यो सबै बुझेर अस्ट्रेलिया आउनुभयो भने तपाईंले आफूलाई कमजोर ठान्ने भन्ने हुँदैन। मेरो चुनौती यो छ र अवसर यस्तो छ भनेर अगाडि बढ्नुभयो भने तपाईंलाई सहज हुन्छ। अस्ट्रेलिया अवसरले भरिएको देश हो। यहाँ गुणस्तरीय शिक्षा अनि गुणस्तरीय जीवनशैली छ। आफू केही गर्न सक्छु भनेर आउनुभयो भने तपाईंको लागि धेरै मौका छ।
(रजिस्ट्रार माइग्रेसन एजेण्ट एवम् अस्ट्रेलियाको मेलवर्नस्थित एक्सपर्ट एजुकेसनका निर्देशक सरोज शर्मासँग सेतोपाटीका लागि सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)