अस्ट्रेलियाको मेलवर्नस्थित ग्लेनरोय त्यस्तो ठाउँ हो, जहाँको जुनसुकै चोकमा पनि नेपाली भेटिन्छन्। ट्रेन स्टेसन होस्, ग्रोसरी होस्, पार्क होस् या सडकका पेटी किन नहोस्, जतासुकै नेपाली भेटिन्छन्। त्यही ग्लेनरोयमा देव लामिछानेको हेयर सलुन ‘स्टाइल मेट’ छ।
उनी बिहानदेखि बेलुकासम्म प्रत्येक दिन कपाल काट्नमै व्यस्त हुन्छन्। उनीसँगै अरू दुई जना पनि यसरी नै व्यस्त हुन्छन्। कपाल काट्ने, कपालमा रंग लगाउने, कपाललाई स्टाइलिस बनाउने अर्थात् कपाल सम्बन्धी सबै काम हुन्छ।
उनले सन् २०१५ देखि कपाल काटेरै आफूलाई स्थापित गराएका छन् अनि अरू दुई जनलाई रोजगारी समेत दिएका छन्।
मेलवर्नदेखि टाढा पर्ने अल्बुरी भन्ने ठाउँमा समेत उनको सलुन छ। त्यहाँ उनका भाइ र अर्का एक जना काम गर्छन्। समग्रमा उनीसहित ५ जनाले रोजगारी पाएका छन्। केही समय नेपालमै हेयर ड्रेसर भएर काम गरेका लामिछाने सन् २००९ मा अस्ट्रेलिया आएका हुन्।
‘म २००९ मा हेयर ड्रेसिङ पढ्न यहाँ आएको हो। मैले सन् २०११ मा पढाइ सकेर यहीँ काम सुरू गरेँ,’ लामिछानेले भने, ‘भारतमा १ वर्षको तालिम लिएर काठमाडौंमा केही समय काम गरेकोले मलाई थप सजिलो भयो। पढाइ सकेको केही समयमा अल्बुरीमा हेयर सलुन सुरू गरे। २०१५ देखि मेलवर्नमै छु।’
मेलवर्नको सलुनमा दैनिक ६० देखि ६५ जनाले कपाल काट्ने उनले बताए।
‘पुरूषको लागि न्यूनतम २५ डलरदेखि सुरू हुन्छ भने महिलाको हकमा न्यूनतम ४० डलर शुल्क छ। अल्मुरीमा सलुन सुरू गर्दा केही समय गाह्रो भएको थियो,’ उनले भने।
तर यो ठाउँमा कुनै अप्ठ्यारो नपरेको उनले बताए।
‘मैले त अस्ट्रेलियामा कपाल काट्ने मात्रै काम गरेको छु भन्दा पनि हुन्छ। सुरूआती समयमा अल्मुरीमा त्यहाँको बजार बुझ्न पर्ने भएकाले केही गाह्रो भयो। अहिले त त्यहाँ पनि मजाले चलेको छ,’ उनले भने, ‘कपाल काट्ने पेशाबाट राम्रो कमाइ पनि छ। तर भने अनुसारको जनशक्ति पाइँदैन।’
निकै कम मात्रामा नेपाली विद्यार्थीहरू हेयर ड्रेसिङ पढ्न आउने भएकाले जनशक्तिको अभाव भएको उनको बुझाइ छ।
एकातिर विद्यार्थी स्वयमले चासो नदिनु अनि कन्सल्टेन्सीले पनि काउन्सिलिङ नगरेका कारण यस्तो भएको हुनसक्ने उनको अनुमान छ। उनका अनुसार अस्ट्रेलियामा हेयर ड्रेसिङ पढ्ने हो भने पढाइ सकेपछि काम पाउन कुनै कठिनाइ छैन।
‘सर्टिफिकेट थ्री र सर्टिफिकेट फोर पास गरेपछि काम पाउन गाह्रो छैन। नेपालबाट सिकेर आउँदा पनि जागिर त पाइन्छ तर आफैले खोल्नको लागि यहाँको पढाइ सकेको हुनुपर्छ,’ उनले भने, ‘नेपाल अथवा अन्य देशमा हेयर ड्रेसिङको काम गरेकाहरूले पनि स्किल असिसमेन्ट गरेर शलुन सञ्चालन गर्न सक्छन्। त्यसको लागि कम्तीमा तीन वर्षको अनुभव चाहिन्छ।’
आफ्नो ऊर्जाशील समय कपाल काट्नमै खर्च भएकाले पनि उनलाई यो पेशाको मोह छ। हरेक दिन नयाँ मान्छे भेटिने अनि उनीहरूसँगको कुराकानीले थप आनन्द मिल्ने उनको अनुभव छ।
हेयर ड्रेसिङको काम चुनौतीपूर्ण भए पनि व्यक्तिको चाहना बुझेर काम गर्न सकेमा कुनै समस्या नहुने उनले बताए।
‘यो अलि कलात्मक काम पनि हो। तपाईंले आफ्नो सीपलाई कलात्मक तरिकाले देखाउन सक्नुभयो भने अगाडि बढ्न सकिन्छ,’ उनले भने।
उनको सलुनमा आउने धेरै ग्राहक नियमित हुन्। हेयर ड्रेसर र ग्राहक दुवैले एकअर्कालाई चिनेपछि समस्या पनि हुँदैन। कतिपय नयाँ आए पनि दोस्रो पटक आउँदा उनलाई थाहा हुन्छ। सहज तरिकाले काम पाउन सकिने आफैले व्यवसाय गर्छुभन्दा पनि हुने भएकाले नेपालमा व्यवस्थित तरिकाले पढाइ हुनुपर्ने उनको सुझाव छ।
‘नेपालमा अझै पनि हेयर ड्रेसरको पेशा व्यावसायिक रूपमा विकास भइसकेको छैन। त्यसलाई एकेडेमिक तरिकाले अगाडि बढाउन सके राम्रो हुन्थ्यो होला तर यसमा चासो देखाइएको छैन,’ उनले भने।
उनका अनुसार हेयर ड्रेसरमै आफ्नो करियर बनाउने हो सम्भावना धेरै छ तर त्यसका लागि भित्रैदेखि चाहना हुनुपर्ने उनले बताए।
‘नेपालको नयाँ पुस्ता फेसनसँग परिचित छन्। उनीहरूले फेसनलाई चाँडै समात्छन्। त्यसैले हेयर ड्रेसिङ पढ्नेलाई कामको दुःख हुँदैन,’ उनले भने।