मेलवर्नमा चिसो बढ्दैछ, यहाँस्थित कोलिन स्ट्रिटमा रहेको म:म सेन्ट्रलमा दुई जना ग्राहक म:मको लागि कुरिरहेका छन्। यो जाडोमा म:मका पारखीलाई तात्तातो म:म पाएपछि अरू के चाहियो र?
दिउँसोको ४ बज्न लागेको छ। लञ्चको समय सकिएकाले भीड कम हुँदै गएको म:म सेन्ट्रलका सञ्चालक सिद्धार्थ महर्जनले बताए।
‘नेपाली अर्ग्यानकि स्वाद पाइने भएकाले हाम्रो रेष्टुरेन्टमा आउने धेरैको रोजाइमा पर्ने म:म नै हो। हामीकहाँ अरू पनि खाजा आइटम नपाउने होइन तर म:म धेरै बेच्छौं,’ उनले भने, ‘हाम्रो पसलमा धेरै ग्राहक भारतीय हुन्। मेसिनको प्रयोग नगरिकन हातैले म:म बनाइने भएकाले स्वाद र सन्तुष्टिको लागि समेत यहाँ आउँछन्।’
पछिल्लो समय चिनियाँ ग्राहक पनि उल्लेख्य रूपमा बढ्न थालेका छन्। चिनियाँको म:म प्रतिको प्रेम देख्दा उनी छक्कै परेका छन्। चिनियाँले म:म सेन्ट्रलको म:म मन पराउँदा उनी थप उत्साहित छन्।
सिद्धार्थले म:म सेन्ट्रल सुरू गरेको सन् २०२० देखि हो। तर सिद्धार्थ र म:मको सम्बन्ध धेरै पुरानो छ। त्यसैले उनलाई म:म प्यारो लाग्छ। उनी म:म सँगै खेलेर हुर्किएका हुन् भन्दा फरक पर्दैन बरू उनलाई यसमा गर्व छ।
‘मेरो त पृष्ठभूमि नै म:म को हो। १० वर्षकै उमेरमा आमाले म:म बनाउन सिकाउनु भएको हो। म अहिले ३८ वर्षको भएँ। यही विषय पढेको पनि छु अनि जानेको पनि छु। मिठो बनाउन आउँछ। राम्रो हात छ। नेपालमा पनि सबैले मन पराउँथे। त्यही भएर म:म पसल खोल्न पर्छ भन्ने भयो।’
व्यवसायको व्यस्तताले म:म बनाएर बस्ने फुर्सद अलि कम छ। तर उनलाई अहिले पनि यसको मजा बेग्लै लाग्छ। अहिले पनि भर्खरका भाइबहिनीको भन्दा जोस जाँगर कम नरहेको उनले दाबी गरे। उनको यो जोश जाँगर अनि लगावको कारण भने नेपालमै हुँदा काम गरेको अनुभव हो।
‘नेपालमा हुँदा हाम्रो होटलमा म:म सँगै भुटन, सेकुवा, चाउमिन सबै पाइन्थ्यो। सबैले मन पराउँथे। नेपालमा आमाले १८ वर्ष लाजिम्पाटमा होटल चलाउनुभयो। आमाले धेरै मेहनत गर्नुभयो अनि हामी ६ जनालाई बोर्डिङमा पढाउनुभयो।’
सिद्धार्थका ४ दिदी र १ जना भाइ छन्। सन् २००९ मा सिद्धार्थ श्रीमती सर्मिला श्रेष्ठसँग अस्ट्रेलिया आएका हुन्। उनले त्यही बेला आमा नानीशोभा महर्जनले १८ वर्षसम्म चलाएको होटल बेचेका थिए। उनका बुवा लक्ष्मीदास महर्जन भने भारतीय दूतावासमा इलेक्ट्रिसियनको काम गर्थे।
‘नेपालमा व्यापार राम्रो थियो तर आमाको बढ्दो उमेरसँगै खुट्टाको समेत समस्या देखिएको थियो। १४/१५ घण्टा उभिन पर्ने भएकाले समस्या भएको थियो। विदेश गएर केही नयाँ गर्न सकिन्छ कि भनेर म २००९ मा यता आएँ। त्यो बेला राम्रै निर्णय गरिएछ भन्ने लाग्छ।’
अस्ट्रेलिया आएर पनि उनले आफ्नो पढाइसँगै रेष्टुरेन्टमा काम सुरू गरे। नेपालमै जस्तो म:म बनाउने काम नपाए पनि रेष्टुरेन्टको काम पाए। उनले कफी बनाउने, बेच्ने, मासु काट्ने, रक्सी दिने लगायतका सबै काम गरे। रातको ड्युटी भएकाले सजिलो पक्कै थिएन।
‘म सानै थिएँ तर मासु काट्ने लामो लामो चक्कु हुन्थ्यो। नेपालमै गरेकाले मलाई मासु काट्न गाह्रो भएन। तर मैले चक्कुमा धार लगाएको देख्दा सबै छक्क पर्थे। मासुको चाङबाट झिकेर काट्दा अरू त हेरेको हेर्यै हुन्थे,’ उनले भने।
यस्तै काम गरेर उनले झण्डै ८ वर्ष बिताए। पढाइ सकियो घर किनियो अब के गर्ने त भनेर २०१७ देखि आफैलाई प्रश्न गर्न थाले। कतिपय ठाउँमा क्याफे पनि हेरे अनि किन्न ठिक्क परेको क्याफे विभिन्न खालका जटिलताले गर्दा किन्न पाएनन्। त्यो बेलामा पनि उनलाई म:म रेष्टुरेन्ट नै सुरू गर्न मन थियो। तर उनी अन्योलमा थिए।
यत्तिकैमा उनको भेट सुमन देउजासँग भयो। त्यसपछि सन् २०२० को मार्चदेखि उनीहरूले आफ्नै रेष्टुरेन्ट सुरू गरे।
‘मेरो सीपलाई आत्मसाथ गर्दै हामीले नेपाली पाराकै म:म पसल खोल्न पर्छ भन्ने निर्णय गर्यौं। झण्डै एक साता गजबले चल्यो तर त्यसपछि सरकारले लकडाउन गर्यो अनि हामी घाटामा गयौं,’ उनले भने, ‘झण्डै २ वर्ष जसोतसो चलायौं। घरबेटीले पनि भाडामा सहज बनाइदिएका थिए। त्यो बेला टिक्न सकेकै कारणले अहिले चार ठाउँमा रेष्टुरेन्ट सञ्चालनमा छ।’
मेलवर्न सिटीमा कोलिन स्ट्रिटको साथै बुर्क स्ट्रिटमा पनि म:म सेन्ट्रल छ भने ग्लेनरोय र ब्रन्सविकमा पनि छ। ब्रन्सविकमा नेपाली थाली खानासहित अन्य सुविधा छन्।अनि नेपाली बाहुल्य रहेको ग्लेनरोयमा नेपाली पाराकै रेष्टुरेन्ट छ।
उनका अनुसार यहाँको खाना केही सस्तो समेत छ। किनकि यो रेष्टुरेन्ट विद्यार्थीहरूलाई मध्यनजर गरेर स्थापना भएको हो। मेलवर्न आउने नेपाली विद्यार्थीको पहिलो रोजाइ ग्लेनरोय हो। त्यसबाहेक पास्कोभेल रोड ग्लेनरोयमा पिज्जा रेष्टुरेन्ट छ, ग्लेनरोयमै मासु पसल समेत सञ्चालनमा छ। जति ठाउँमा जुन खालको व्यवसाय भए पनि उनको पहिलो रोजाइ म:म नै हो।
१९ वर्षदेखि आफू भने शाकाहारी रहेका सिद्धार्थको रेष्टुरेन्टमा म:मकै ७ थरी परिकार पाइन्छन्। स्टिम, झोल, चिल्ली, फ्राई, म:मचा, टपरी म:म लगायतको स्वाद यहाँ पाइन्छ।
‘म:म सँगै चाउमिन समेत ६/७ थरी पाइन्छ। थुक्पा, खाजा सेट अनि शाकाहारीका लागि समेत छुट्टै खालको मेनु छ,’ उनले भने।
उनी आफू मात्रै अस्ट्रेलियामा स्थापित भएका छैनन्। उनले आफ्नो व्यवसायमा सहज होस् भनेर भाइ अनि दुई दिदीलाई समेत यतै बोलाएका छन्। जसले गर्दा यसलाई नेपालमै जस्तो गरेर सञ्चालन गर्न सहज भएको छ।
रेष्टुरेन्टमा उनले ५० भन्दा धेरैलाई रोजगारी दिएका छन्। पिज्जा रेष्टुरेन्ट अनि मासु पसलको समेत जोड्ने हो भने ७० भन्दा धेरले रोजगारी पाएका छन्। यीमध्ये ८० प्रतिशत नेपाली हुन्। नेपाली विद्यार्थीलाई थोरै समय भने पनि काम दिन मन लाग्ने उनले बताए। आफ्नो व्यवसायबाट वार्षिक ३५ देखि ४० लाख डलर आम्दानी हुने उनले बताए।
सानै उमेरमा नेपालमा रेष्टुरेन्ट चलाएको अनुभव भएका अनि अस्ट्रेलियामा आएर समेत यही व्यवसायमा सफलता पाउँदै गएका सिद्धार्थलाई नेपाल गएर व्यवसाय गर्न भने खासै मन छैन।
‘नेपालमा पनि केही गर्नुपर्ने त हो तर नेपालको राजनीतिक अवस्थाले अलि अस्थिर बनाउँछ जस्तो लाग्छ। काम गर्ने वातावरण छ जस्तै लाग्दैन,’ उनले भने, ‘हरेक वर्षजस्तो नेपाल जान्छु तर निराश बनाउँछ। साथीहरूले हरेक वर्ष व्यापार परिवर्तन गर्छन्।’
अस्ट्रेलियामा जस्तो जोखिमको अनुमान गरेर नेपालमा काम गर्न नसकिने उनले बताए।