अमेरिकामा नेपाली
दुई दशकअगाडिको कुरा हो।
अमित कँडेलका बुबालाई मेनिन्जाइटिस रोग लाग्यो।
अमित आफैं डाक्टर थिए। ललितपुरको पाटन अस्पतालमा इमर्जेन्सी र ओपिडीमा काम गरेको अनुभव थियो। बिएन्डबी अस्पतालमा पनि इमर्जेन्सीमा काम गरिसकेका थिए।
साढे दुई वर्ष अनुभव बटुलिसक्दा पनि कुन रोगको विशेषज्ञ डाक्टर बन्ने भन्ने चाहिँ अन्योलमै थिए उनी।
त्यहीबीच उनका बुबा थलिए। तत्कालै भारतको दिल्ली लगेर उपचार गराए।
त्यस दिन अमितलाई झल्याँस्स भएझैं भयो, उनलाई लाग्यो — न्युरोलोजिस्टले जीवन बचाउन सक्ने रहेछन्!
बिस्तारै न्युरोलोजीमा उनको चासो बढ्न थाल्यो।
'मेरा सहकर्मीहरूलाई न्युरो बिरामीको काममा खटिन गाह्रो लागे पनि मलाई सजिलो लाग्थ्यो,' उनले भने।
अमितले सन् २००४ मा नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस सकेका थिए। यसपछि उनले न्युरोलोजीमै विशेषज्ञता हासिल गर्ने सोचे।
'त्यस बेला नेपालमा न्युरोलोजी तालिम सुरू भइसकेको थिएन,' उनले भने, 'त्यसैले अमेरिका गएर युनिभर्सिटी अफ बफेल्लोमा चार वर्ष न्युरोलोजी पढेँ। एक वर्ष स्ट्रोक (मस्तिष्क घात) बारे अध्ययन गरेँ।'
यसरी बुबाको उपचार क्रममा प्रेरित भएर न्युरोलोजिस्ट बनेका अमित अहिले अमेरिकामै स्ट्रोक सेन्टर व्यवस्थापन गर्छन्। स्ट्रोकका बिरामीको उपचार, रेखदेख गर्छन्। विद्यार्थीलाई पढाउँछन् र पढाउने शैलीमा नयाँ आयामहरू ल्याइरहेका छन्।
पढाउने शैलीमा नयाँ आयाम ल्याएकै कारण उनलाई अमेरिकन एकेडेमी अफ न्युरोलोजीले सन् २०२४ को क्लर्कशीप डाइरेक्टर इनोभेसन अवार्ड दिएको छ।
यो अवार्ड कस्तो हो? के काम गर्नेले पाउँछ? अमितले कसरी पाए?
यी कुरा जान्नुअघि हामी न्युरो सम्बन्धी समस्या स्ट्रोकका बारेमा जानौं। अनि अमितको कामबारे बुझौं।
स्ट्रोक दिमागसँग जोडिएको समस्या हो। अमित दिमागलाई हार्डवेयर र सफ्टवेयरका रूपमा वर्णन गर्छन्। सफ्टवेयरमा समस्या हुँदा दिमागलाई सूचना संकलन गर्न समस्या हुन्छ। हार्डवेयरमा समस्या हुनु भनेको स्ट्रोक हुनु वा दिमागमा 'चोट' लाग्नु हो।
'हामी यसलाई भास्कुलर न्युरोलोजी भन्छौं। यो भनेको रगत जम्नु वा रक्तनली फुटेर रगत बग्नु हो,' अमितले भने, 'स्ट्रोक चट्याङ जस्तै हो। यसले ज्यानै लिन सक्छ। धेरैलाई शारीरिक वा बौद्धिक अपांगता हुन्छ। एक सेकेन्डमै जीवनमा परिवर्तन ल्याइदिन्छ।'
ल्यान्डसेट न्युरोलोजी कमिसनको रिपोर्ट अनुसार संसारभर स्ट्रोकका कारण जति मृत्यु र अपांगता हुन्छ, त्यसको ५० प्रतिशत नेपालसहित दक्षिण-पूर्वीय एसियामा हुन्छ। यही दर चलिरहे सन् २०५० सम्म विकासोन्मुख देशहरूमा करिब ८५ प्रतिशत मृत्यु र ९० प्रतिशत अपांगता यही कारणले हुने रिपोर्टले देखाएको छ।
'बीस वर्षअघिको तुलनामा अहिले स्ट्रोकको मृत्युदर निकै बढेको छ। संकटको स्थिति आउने बेला भइसक्यो। अब त्यो दर परिवर्तन गर्ने आँट गरेनौं भने निकै ढिला हुन्छ,' अमितले भने।
उनका अनुसार सन् २००३ तिर एक लाखमा ३० जना जतिको स्ट्रोकबाट मृत्यु हुन्थ्यो। अहिले एक लाखमा ५० जना जस्तोले ज्यान गुमाउन थालेका छन्। अपांगता अझै बढी छ।
स्ट्रोक दुई किसिमको हुन्छ। एउटा रक्तनलीमा रोकावट भएर रक्तसञ्चारमा समस्या हुनु हो। ७० देखि ७५ प्रतिशतलाई यही खालको स्ट्रोक हुन्छ। अर्को स्ट्रोक रक्तनली फुटेर हुन्छ।
स्ट्रोकको मुख्य कारणमध्ये एक हो उच्च रक्तचाप। ६४ प्रतिशत स्ट्रोक यही कारणले हुन्छ। त्यसैले ब्लड प्रेसर नियमित जँचाउन र आवश्यक परे औषधि खान उनी सुझाव दिन्छन्।
'औषधि खाइरहेकालाई यस्तो स्ट्रोक भएमा कम असर पार्छ,' अमितले भने।
स्ट्रोकको अर्को कारण जीवनशैली हो।
जसको खानपिन असन्तुलित छ, कोलेस्ट्रोल नियन्त्रणमा छैन, मधुमेह छ, तौल धेरै छ, व्यायाम गर्दैन, चुरोट-रक्सी खान्छ; उसलाई स्ट्रोक हुने सम्भावना धेरै हुन्छ। त्यस्तै यो जुनसुकै उमेरकालाई हुन सक्छ।
'एकपटक स्ट्रोक भएकालाई फेरि हुन सक्छ। त्यो सबभन्दा खतरनाक हो। त्यसबाट बच्न जीवनशैलीमा सुधार गर्नैपर्छ,' अमितले भने।
स्ट्रोकका ६ मुख्य लक्षण छन्; असाधारण रूपमा टाउको दुख्नु, शरीर असन्तुलित हुनु - हिँड्दा लर्बराउनु, रिंगटा लागेजस्तो हुनु, आँखामा समस्या हुनु, बोल्न नसक्नु वा अकमकिनु, शरीरको एक भाग महसुसै नहुनु- छुँदा पनि थाहा नहुनु, र मुख, हात, खुट्टामा कमजोरी हुनु वा पक्षघात हुनु।
यस्ता लक्षण थाहा पाउनेबित्तिकै स्ट्रोक सेन्टरमा जानुपर्छ।
'स्ट्रोक उपचार गर्न एक मिनेट मात्र ढिला हुँदा १९ लाख कोष खराब हुन्छन्। त्यसैले जतिसक्दो चाँडो उपचार दिनुपर्छ,' उनले भने, 'जीवनशैली सन्तुलित राख्न सके ९० प्रतिशत स्ट्रोकबाट जोगिन सकिन्छ। जेनेटिक र रक्तनलीमा चोट लाग्ने कुरा चाहिँ हामीले नियन्त्रण गर्न सकेका छैनौं।'
स्ट्रोक भएका २० प्रतिशत मान्छे साधारण जीवनशैलीमा फर्किन सक्छन्। बिरामीले 'क्लट बस्टिङ' नामको उपचार पाउँदा यो संख्या ५० प्रतिशतसम्म पुग्छ। 'थ्रमबेक्टोमी' उपचार पाउँदा त्यो प्रतिशत २० देखि ३० प्रतिशत अझै बढ्छ। त्यस्तै स्ट्रोकपछि निमोनिया हुने, मुटुको गति बिग्रिने, खुट्टा वा फोक्सोमा रगत जम्ने सम्भावना हुन्छ। स्ट्रोक सेन्टरमा अरू अस्पतालको तुलनामा यो समस्या रोक्ने र उपचार गर्ने राम्ररी सकिन्छ।
'अरू अस्पतालको तुलनामा स्ट्रोक सेन्टरमा यस्ता बिरामी पहिलो चार हप्तामा मर्ने सम्भावना कम हुन्छ। अपांगता पनि कम हुन्छ,' अमितले भने।
स्ट्रोक र न्युरो सम्बन्धी समस्याले यति धेरै क्षति पुर्याउने भए पनि यो क्षेत्रलाई अवहेलना गरिएको अमितको अनुभव छ। नेपालमा न्युरो समस्या १५ देखि २० प्रतिशत छ। तर दक्ष न्युरोलोजिस्ट ३६ जना मात्र भएको उनले बताए।
अमेरिकामा उनले काम गरिरहेको कलेजमा हरेक मेडिकल विद्यार्थीले चार हप्ता न्युरोलोजी पढ्नैपर्छ। त्यति विकसित देशमा पनि न्युरोलोजिस्ट उत्पादन गर्न गाह्रो भएकाले डाक्टर, नर्ससहित सबै स्वास्थ्यकर्मीलाई न्युरो सम्बन्धी रोग खुट्ट्याउने विशेष तालिम दिइन्छ।
'नेपालमा भने यस्तो अभ्यास छैन जबकि आवश्यकता यहीँ बढी छ,' अमितले भने।
न्युरोलोजिस्ट नपुग्ने भएकाले हरेक डाक्टरलाई यसको सीप दिनुपर्ने उनी बताउँछन्। तर पूर्वाधार, चेतना र सामग्री छैन भने जति नै गरे पनि बिरामीको उपचार गर्न सम्भव हुँदैन। मेडिकल क्षेत्रका मानिसले भन्दा नीति निर्माण गर्ने ठाउँमा बसेकाहरूले नेपालमा स्ट्रोक उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अमितको धारणा छ।
नेपालका डाक्टरहरूले स्ट्रोकबारे राष्ट्रिय मापदण्ड पनि बनाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले चार वर्ष लगाएर उक्त गाइडलाइन तयार गरेका थिए। तर एक-डेढ वर्षदेखि स्वास्थ्य मन्त्रालयमै अड्किएको छ। त्यो गाइडलाइन आइदिए डाक्टरहरूले पढेर स्ट्रोकको उपचार गर्न सक्ने उनी बताउँछन्।
आफ्नो जीवनको दुई दशक न्युरोलोजीमा बिताएका अमित अमेरिकामा अनुसन्धानमूलक काम पनि गर्छन्। पछिल्लोपटक उनले 'फङ्सनल एमआरआई' नामक प्रविधिमार्फत् स्ट्रोकका बिरामीको तीन महिनासम्म अवस्था के कस्तो हुन्छ भनेर अध्ययन गरे। अहिले त्यसको विश्लेषणको तयारीमा छन्।
उनले गरेको अर्को उल्लेखनीय काम भनेको नयाँ आयामसहित पढाउने हो।
न्युरोलोजी भन्नेबित्तिकै दिमागसँग जोडिएकाले यो विषय धेरैलाई जटिल लाग्छ। दिमागको काम गर्ने तरिका जटिल भएकाले कतिपय विद्यार्थी त समस्या पहिचान गर्न डराउँछन्। सुरूमा चासो देखाएका विद्यार्थी पनि पछि अन्य विषयमा सर्छन्। उनीहरूलाई त्यो डर अर्थात् 'न्युरोफोबिया' बाट कसरी मुक्त गराउने भनेर घोत्लिँदा अमितले एउटा आइडिया फुराए।
उनले हरेक चार सातामा, फरक समूहका विद्यार्थीका लागि एक दिन चार घन्टाको वर्कसप (कार्यशाला) चलाए।
वर्कसपमा उनले दुई जनालाई बिरामीको अभिनय गराए, दुइटा म्यानिकिन (मान्छे आकारको डमी) ल्याए। न्युरोसँग जोडिएका समस्या समाधानबारे विद्यार्थीबीच सामूहिक छलफल गराए। त्यो समस्या पन्ध्रदेखि बीस मिनेटभित्र समाधान गर्न लगाए।
वर्कसपले विद्यार्थीको मनोबल उकास्न मद्दत गर्यो। अरू न्युरोलोजिस्ट र निरीक्षकहरूले पनि अमितको सिकाउने शैली मनपराए।
यो शैली प्रभावकारी भएकैले अमेरिकन एकेडेमी अफ न्युरोलोजीले उनलाई सन् २०२४ को क्लर्कशीप डाइरेक्टर इनोभेसन अवार्ड दिएको हो।
यो एकेडेमी न्युरोलोजिस्ट र न्युरोसाइन्स विज्ञहरूको संसारकै ठूलो संघ हो। यसमा चालीस हजारभन्दा धेरै सदस्य छन्। न्युरो सम्बन्धी बिरामीलाई उच्चस्तरीय उपचार सेवा दिन प्रवर्द्धन गर्नु यो संस्थाको उद्देश्य हो।
'मैले गरेको कामको नतिजा एकदम राम्रो थियो। नौलो, व्यावहारिक र प्रभावकारी भएकाले न्युरो क्षेत्र नै सुधार गर्न सक्ने भनेर मलाई अवार्ड दिइएको हो,' अमितले भने, 'मलाई अब अरू विषयका डाक्टरलाई पनि यो तालिम दिन मन छ। न्युरोलोजिस्टले मात्र गरेर सकिँदैन, सबै डाक्टरलाई न्युरोलोजिस्ट बनाउन जरूरी छ।'
अमित यो तालिम नेपालको धुलिखेल अस्पतालमा पनि गर्ने तयारीमा छन्।
उनका अनुसार धुलिखेल अस्पताल व्यवस्थित छ। त्यहाँ स्ट्रोक सेन्टर बनाउन सके त्यहाँको नमूना नेपालका हरेक अस्पतालमा लान मिल्छ। अरू विकासोन्मुख देशका अस्पतालमा पनि लैजान सकिन्छ।
'त्यसैले मेरो अबको दुई वर्षको लक्ष्य यहाँ राम्रो स्ट्रोक सेन्टर बनाउने हो। अस्पतालले आफ्नो तर्फबाट गर्ने सबै काम राम्ररी गरिरहेको छ,' उनले भने, 'चाहना भयो र जनशक्ति सदुपयोग गर्यो भने सीमित स्रोतसाधनमा पनि स्ट्रोक सेन्टर बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण धुलिखेल अस्पताल हुन सक्छ।
अमित अमेरिकाको बफेल्लो सहरमा बस्छन्। नेपालमा अस्पताल र क्लिनिक चलाएरभन्दा अमेरिकामै बसेर नेपालका लागि सहयोग गर्न सक्छु भन्ने उनलाई लाग्छ। अमेरिकामा उपलब्ध उच्च प्रविधि, विज्ञहरूको सल्लाह र मार्गनिर्देशन नेपालका लागि बढी प्रभावकारी हुने उनको धारणा छ।
'नेपालमा न्युरोलोजिस्टलाई चाहिने सबै कुरा छ। तर यहाँ यति धेरै बिरामी छन् कि स्ट्रोक सेन्टर नहुँदा व्यवस्थापन गर्न हम्मे छ। फर्किएर काम गर्न थालेँ भने त्यही अवस्था हुन्छ र प्रभावकारी काम कसरी गर्ने भन्ने चुनौती भइरहन्छ,' अमितले भने, 'त्योभन्दा राम्ररी त म अहिलेको कामबाटै लामो समयसम्म सेवा दिइरहन सक्छु। सहयोग गर्न सक्छु।'
यो पनि पढ्नुस्ः अस्ट्रेलियामा तीन वटा क्याम्पस चलाइरहेका सचिन