अस्ट्रेलियामा नेपाली
उमेरले भर्खरै २१ लाग्दै थिए,जतिबेला सन् १९९५ मा सचिन योञ्जन अस्ट्रेलिया आए।
सात समुद्र पारिको सहर मेलवर्नमा अहिले जस्तो नेपाली कहाँ हुनु? त्यसो त अस्ट्रेलियाभरि नै नेपाली थोरै थिए। मेलवर्नमा उनीसहित मुस्किलले १५ विद्यार्थी थिए होलान्।
'म १९९५ मा पहिलो पटक डिप्लोमा पढ्न २ वर्षको भिसामा अस्ट्रेलिया आएको थिएँ। त्यो बेला नेपालमा चक्रपथमा अस्ट्रेलियन दूतावास थियो। तर कन्सल्टेन्सीहरू केही थिएन,' उनले भने, 'दूतावासमा गएपछि मात्र के/के डकुमेन्ट चाहिन्छ भन्ने थाहा हुन्थ्यो। कहिले बैंक ब्यालेन्स अनि कहिले पुलिस रिपोर्ट यस्तै यस्तै मागिरहन्थ्यो।'
अहिलेको जस्तै प्रक्रिया भए पनि सूचनाको अभाव हुन्थ्यो अनि आइडिया पनि। सुरूमा उनले पढ्दै रेस्टुरेन्टमा काम गरे। जुन अवस्था अहिले पनि धेरै नेपालीको छ।
उनका दाइ चन्द्र योञ्जनले व्यवसाय सुरू गरिसकेकाले उनलाई काम गर्न र अघि बढ्नलाई समस्या भने भएन। त्यो समयमा माइग्रेसनको नियम अलि कडा थियो। स्थायी बसोबासको अनुमति पाउनका लागि सजिलो थिएन। त्यसैले भिसाको निरन्तरतको लागि पढाइ जरूरी थियो।
'मैले एमबिए सम्मको अध्ययन सकेसँगै अन्य कोर्षहरू पनि गरे। सन् १९९८ मा मैले आफैले रेस्टुरेन्ट सुरू गरेँ। १९९५ मै दाइले रेस्टुरेन्ट सुरू गर्नुभएको थियो। जसले गर्दा मलाई काम गर्न सजिलो भयो।'
उनको रेस्टुरेन्ट चलिरहेकै थियो। २००५ देखि नेपाली विद्यार्थीहरू आउने क्रम बढ्दै गयो, २००६ मा झन् धेरै भयो। त्यसपछि उनलाई कलेज सञ्चालन गर्ने इच्छा लाग्यो।त्यसपछि प्रक्रिया सुरू गरे। सेन्ट्रल अस्ट्रेलियन कलेजका लागि उनले धेरै संघर्ष गर्नुपर्यो।
'त्यो बेलामा कलेजको लाइसेन्स पाउन धेरै गाह्रो थियो। सन् २००९ मै कलेजको प्रक्रिया पूरा गरे पनि २०१० देखि मात्रै कलेज सञ्चालन गर्न पाएको थिएँ,' उनले भने, '१८ महिनासम्म कलेज सञ्चालन गर्न नपाइकन भाडामात्रै तिरेर बसेको थिएँ। त्यो बेलामा मैले आफू बस्दै गरेको घर बेच्न परेको थियो। रेस्टुरेन्ट त पहिल्यै बेचेको थिएँ।'
अहिले मेलवर्नमा २, तास्मानियाको हवार्टमा १ गरी ३ ठाउँमा कलेज चलिरहेका छन्। अब ब्रिजबेनमा समेत कलेज सञ्चालन अन्तिम चरणमा पुगेको छ।
तीन ठाउँमा रहेको सेन्ट्रल अस्ट्रेलियन कलेजमा ९ सय विद्यार्थी अध्ययनरत छन्। उनका अनुसार कलेजमा अटोमोबाइल, कम्युनिटी सर्भिस, हस्पिटालिटी लगायतका १५ वटा कोर्ष पढाइ हुन्छ। छोटो अवधिका ट्रेनिङलाई समेत गणना गर्ने हो भने २१ वटा कोर्षको पढाइ हुन्छ।
कोभिडको समयमा उनले दुई वर्षसम्म समस्या भोग्न पर्यो। त्यो बेलामा कलेजमा पढ्ने विद्यार्थी थिएनन् तर मेलवर्न सहरको महंगो भाडा भने तिर्न पर्यो। कलेजमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल, कोलम्बिया लगायत देशका विद्यार्थी धेरै छन्। त्यसका साथै फिलिपिन्स, भियातनामा, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका समेत छन्। नेपालका त हुने नै भए। यद्यपि नेपालका विद्यार्थी धेरै कम छन्।
'यो कलेजमा पढ्ने विद्यार्थीले १२ पास गरेर भाषा परीक्षामा तोकिए अनुसारको स्कोर ल्याउनुपर्छ। कलेज भर्नाको लागि सिधै सम्पर्क गर्न पाइए पनि भिसा प्रक्रियाको लागि भने कन्सल्टेन्सीकै सहयोग लिनुपर्छ। विद्यार्थीलाई काउन्सिलिङ गर्ने आधिकारिक निकाय कन्सल्टेन्सी नै हो।'
१५ वर्षदेखि कलेज सञ्चालन गरेको भए पनि विभिन्न खालका जटिलता अहिले पनि ब्यहोर्नुपर्छ। समय/समयमा हुने नीति परिवर्तन अनि नयाँ सरकारको सम्भावनाको आधारमा समेत योजना बनाउनु पर्छ। भोलिका दिनमा कुन दलको सरकार बन्न सक्छ भन्ने अनुमान गरेर समेत योजना बनाउनुपर्ने उनले बताए।
नेपाली मिति अनुसार २०५२ सालमा मेलवर्न आएका सचिनलाई नेपालको याँद आउँछ कि आउँदैन? भनेर सोध्दा उनले हाँस्दै भने, 'आइहाल्छ नि! किन नआउनु!'
शिक्षा क्षेत्रमा आफूलाई नसाजस्तै लागेकाले जति सकिन्छ कलेजकै विस्तार गर्ने उनले योजना सुनाए।
यति लामो समय अस्ट्रेलिया बसेका सचिन नयाँ आउँदै गरेका र आउने योजना बनाएका नेपालीका लागि उनको अनुभव एउटा पाठ बन्न सक्छ। किनकि उनले यहाँ जति चुनौती झेलेका छन्, त्योभन्दा धेरै सम्भावना देखेका छन्।
'नेपालबाट आउनेका लागि यो देश राम्रो छ। यहाँ हरेकका काम निष्पक्ष तरिकाले हुन्छ। छक्का पञ्जाले हुँदैन,' उनले भने, 'सकेसम्म विद्यार्थी भिसामा आएको राम्रो हो। उनीहरूकै सम्भावना धेरै हुन्छ। यहाँ बस्न मन लागे पनि धेरै अवसर छ, अनि नेपालमै गएर पनि केही गर्छु भन्दा पनि हुन्छ।'