कथायेँ: अध्याय तीन
विष्णुलाल श्रेष्ठलाई मैले २०७६ जेठ २६ गते जैसीदेवलको उनकै पुर्ख्यौली घरमा भेटेको थिएँ।
त्यस दिन मच्छिन्द्रनाथको भोटोजात्रा थियो। जावलाखेलमा बिहानैदेखि चहलपहल होला। म भने लिच्छविकालदेखि मनाइँदै आएको, तर मान्छेले सम्झन छाडेको कुमार खटजात्रा हेर्न दिउँसो १२ बजेतिर जैसीदेवल पुगेँ। यसपालि दुवै जात्रा संयोगले एकैदिन परेका थिए।
मैले एउटा पसलमा ‘फलानोको घर कहाँ हो’ भनेर सोधेँ। पसलेले पूर्वोत्तर कुनामा रहेको कुमारको ‘द्योछेँ’ (देउताको घर) तिर इसारा गरे। आँगनमा कुमारको खट झकिझकाउ थियो। उधूम भीड थिएन। मान्छे आउँदै, दर्शन गर्दै, जाँदै थिए।
‘विष्णुलालजी कहाँ हुनुहुन्छ?’ मैले खटसँगै उभिएका व्यक्तिलाई सोधेँ।
उनले मलाई छिँढीतिर लगे। त्यहाँ जो उभिएका थिए, ती मैले दिनहुँ आफ्नो घरको कौसीबाट देख्ने छिमेकी ‘बा’ थिए। साथमा उनका छोरा पनि। जसले भेटाउन लगे, ती भतिज रहेछन् र त्यही द्योछेँ पुर्ख्यौली घर।
उनीहरू पुर्ख्यौली घर ‘साँघुरो भएर’ बाफल सरेका हुन् भन्ने मलाई थाहा थियो। तर, जैसीदेवलका जुन विष्णुलाललाई म भेट्न जाँदै थिएँ, ती उनै हुन् भन्ने अन्दाज थिएन।
‘लौ, तपाईं पो!’ मैले छक्क पर्दै भनेँ, ‘हेर्नुस् न, अहिलेसम्म तपाईंको नामै थाहा थिएन।’
उनी हाँसे। ओँठमाथिका बाक्ला जुँगा सुस्तरी हल्लेको मैले नजिकबाट देखेँ। कौसीमा भेट्दा उनी सधैं यसैगरी हाँस्छन्, जुँगा हल्लेको चाहिँ देखिन्न।
‘तिमी पत्रकार हौ भन्ने थाहा छ, कहाँ काम गर्छौ थाहा छैन।’
मैले आफ्नो बारेमा बताएँ। भेट्न आउनुको प्रयोजन खुलाएँ।
यो अध्यायमा म लिच्छविकालदेखि मनाइँदै आएका पाँचवटा पुराना जात्राबारे चर्चा गर्दैछु, जसको सम्बन्ध काठमाडौं सहर स्थापनासँग छ। कुमार खटजात्रा त्यसमध्ये सबभन्दा पुरानो हुनसक्छ।
...
कुमार खटजात्रा
धेरै धेरै वर्षअघिको कुरा हो। जैसीदेवल चौबाटोमा एउटा सानो बच्चो एक्लै रोइरहेको फेला परेछ। ऊ कहीँबाट बाटो भुलेर त्यहाँ आइपुगेको थियो। धेरै बेरसम्म आफन्त लिन नआएपछि एक स्थानीयले माया लागेर बच्चालाई आफ्नो घर लगे। दोस्रो तल्लाको कोठामा राखेर मिठो–मिठो खुवाए। त्यही बेला बच्चा ‘सिद्ध’ भएर कुमार देउताका रूपमा अवतरित भयो।
‘जसले रोइरहेको बच्चा टिपेर ल्यायो, त्यो हाम्रै कुनै पुर्खा थियो,’ विष्णुलालले विश्वासका साथ भने, त्यो बच्चाको घर बलम्बू रहेछ। लुभुको थसीस्थित सिद्धपुरका नेमकूलहरूले बलम्बूबाट बच्चा चोरेर लैजाँदै गर्दा बीच बाटोमै उम्केर भागेछ। हराएको बच्चा खोज्दै आएका बलम्बूबासी कुमार देउताको दर्शन पाएर हर्षित भएछन्।
त्यसउप्रान्त कुमार देउतालाई यही घरमा स्थापित गरेर हरेक वर्ष खटजात्रा मनाउने परम्पराको सुरूआत भयो। जैसीदेवलको यो घर, जहाँ दोस्रो तल्लाको अँध्यारो कोठामा कुमारको काष्ठमूर्ति पूर्व फर्काएर राखिएको छ, त्यो ‘सिठीद्यो’ को देवलका रूपमा पनि प्रसिद्ध छ।
यो त भयो किम्बदन्ती। अब हामी यो जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षको कुरा गरौं, जसले यसको लिच्छविकालीन सम्बन्ध झल्काउँछ।
नेवारहरू जसलाई ‘सिठीद्यो’ भन्छन्, त्यो लिच्छविहरूले आफूसँगै भारतबाट ल्याएका षष्ठीदेवीको अपभ्रंश हो। कुमारलाई षष्ठीदेवीको मन्दिरमा राखेर पूजा गर्नुको ऐतिहासिक कारण गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्।
‘प्राचीन कालमा दरबारको एउटै मन्दिरभित्र षष्ठीदेवी र कुमारको मूर्ति सँगसँगै राख्ने चलन थियो। सातौं शताब्दीमा उत्तरभारतका प्रसिद्ध सम्राट हर्षवर्द्धनले छोरा जन्मेको खुसियालीमा षष्ठीदेवी र कुमारको मूर्ति दरबारको मन्दिरभित्र स्थापना गरेका थिए भन्ने वर्णन तत्कालीन राजकवि बाणको ‘कादम्बरी’ काव्यमा छ।’
उक्त वर्णनअनुसार षष्ठीदेवीले हलेदोले रंगाएको पिताम्बर पहिरिएकी थिइन्। कुमार पखेटा फिँजाइरहेको मुजुरको पिठ्यूँमा चढेका थिए। उनको हातमा रातो झन्डा र हतियारको बिँड थियो।
‘हर्षवर्द्धनका समकालीन नेपाली राजा अंशुवर्माले राजदरबारमा रहेका देवीदेवताका लागि पूजाभाग छुट्टयाउँदा षष्ठी देवकूल (षष्ठी मन्दिर) लाई पनि छुट्टयाएको हाँडीगाउँको एउटा शिलालेखमा उल्लेख छ,’ गौतमवज्र जैसीदेवलको यो मन्दिरलाई दक्षिण कोलिग्रामस्थित लिच्छवि दरबार ‘दक्षिण राजकूल’ भित्र स्थापना गरिएको षष्ठी देवकूल नै मान्छन्।
उनका अनुसार यहाँ षष्ठीदेवी र कुमारको मूर्ति सँगसँगै स्थापना गरिएको हुनुपर्छ। ‘कुनै कारणवश षष्ठीदेवीको मूर्ति लुप्त भयो र कुमारको मात्र बाँकी रह्यो, तर यो मन्दिरलाई षष्ठीदेवी अर्थात् सिठीद्योः छेँ मान्ने चलन भने कायम छ।’
राजा हर्षवर्द्धनका राजकवि बाणले ‘कादम्बरी’ काव्यमा उल्लेख गरेझैं जैसीदेवलका कुमार पनि पखेटा फिँजाइरहेको मुजुरको पिठ्यूँमा विराजमान छन्। उनको शिरमा धातुको मुकुट छ। घाँटीदेखि तलसम्म सबै भाग रातो वस्त्रले छोपिएको छ। शरीरमा पूरै रातो रङ पोतिएको छ भने शिरको केश मात्र कालो छ।
‘लिच्छविकालका मूर्तिमा पाइने सरलता र स्वाभाविकता यसमा प्रस्ट देखिन्छ,’ गौतमवज्र लेख्छन्, ‘कुमारलाई देउताको रूपमा भन्दा बालकको स्वाभाविक रूपमा चित्रण गरिएको छ। यो मूर्तिको शिरमा पहिले मुकुट पनि थिएन। अहिले देखिने धातुको मुकुट कुनै राणा प्रधानमन्त्रीकी रानीले चढाएकी हुन्।’
कुमार खटजात्रा मनाउने विधिविद्यान पनि षष्ठीसँग जोडिन्छ। ज्येष्ठ शुक्ल तृतीयाको दिन पाटनको रातो मच्छिन्द्रनाथ र काठमाडौंको सेतो मच्छिन्द्रनाथजस्तै कुमार देउताको महास्नान हुन्छ। लुभूको थसीस्थित सिद्धपुरबाट नेमकूल थरका नेवारहरू सबेरै यहाँ आउँछन् र टेकु दोभानबाट दुई कलश पानी ल्याएर कुमारको महास्नान गराउँछन्।
भोलिपल्ट चौथीको दिन कुमारको मूर्ति रंगरोगन गर्ने उनै नेमकूल नेवारहरू हुन्। पञ्चमीमा मूर्ति यत्तिकै सुकाइन्छ। षष्ठी, अर्थात् सिठीनखःको दिन मूर्तिलाई गहना र वस्त्रले सुसज्जित पारेर मन्दिर सँगैको पाटीमा पश्चिम फर्काएर राखिन्छ। सिठीनखः भनेको नेवारहरूको एउटा मुख्य चाड हो। त्यसको भोलिपल्ट सप्तमीको दिन सिठीनखःकै अंगका रूपमा कुमार खटजात्रा हुन्छ।
‘यो जात्रा त कहिल्यै देखेको छैन?’ मैले अचम्म मान्दै विष्णुलालसँग सोधेँ, ‘कतिखेर हुन्छ? दिउँसै कि बेलुकी?’
‘न दिउँसो न बेलुकी।’
म झन् ट्वाँ परेँ।
‘अचेल जात्रा भनेकै यत्ति आँगनमा राख्ने, पूजा गर्ने हो,’ उनले कुमारको खटतिर देखाउँदै विस्तार लगाए, ‘खटजात्रा नभएको ३०–४० वर्ष भयो होला। बोक्ने मान्छे नै पाइँदैन। पहिले पो सबै श्रद्धाले बोक्न आउँथे, अचेल को आउँछन्? सबै आ–आफ्नै काममा व्यस्त भए।’
उनको कुरा सुन्दा थाहा हुन्छ, खटजात्रा मनाउने तरिकामा आकास–पाताल फरक आइसकेछ। रितपूर्वक गर्ने हो भने मन्दिरसँगैको पाटीमा मध्याह्नसम्म कुमारको पूजाआजा गरेर जात्रा सुरू हुन्थ्यो। स्थानीय ज्यापूहरूले खट बोकेर सहर घुमाउँथे। एक जना पुजारी भित्रै बस्थे। यही चलन यो जात्राको विशेषता हो। बोकेर लगिने अरू कुनै पनि खटमा मान्छे बसेको हुँदैन।
खटलाई सबभन्दा पहिला अट्कोनारायण लगिन्थ्यो। त्यहाँ बलम्बू गाउँका स्थानीय बाजा बजाउँदै आउँथे। बलम्बूका थकालीले पूजा गरेपछि फेरि खटजात्रा सुरू हुन्थ्यो। यो जात्रा जैसीदेवलबाट लगन, ब्रह्मटोल, ह्यूमत, कोहिति, भीमसेनस्थान, मरू, देशेमरूझ्याः, टेंगल, बांगेमुढा, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक हुँदै हनुमानढोका पुग्थ्यो। त्यहाँ केही बेर रोकेर तलेजुका पुजारीले कुमारको पूजा गर्ने चलन थियो। त्यसपछि खट बोकेर फेरि अट्कोनारायणकै बाटो जैसीदेवलको यही द्योछेँमा ल्याएपछि जात्रा सकिन्थ्यो।
एउटा रित भने उस्तै रहेछ।
म विष्णुलालसँग कुरा गर्दै थिएँ, उनका भतिजले खबर ल्याए, ‘कालिमाटी आइपुगेछन्, अब आधी घन्टा रे।’
खबर बलम्बूका गाउँलेहरूको थियो, जो कुमारको पूजा गर्न सगुनसहित आउँदै थिए। आधी घन्टामै आइपुग्छन् भनेपछि म कुरेर बसेँ। खबर आएको पौने घन्टापछि दुई बजेतिर बलम्बूका गाउँले बाजा बजाउँदै आए। पहिले अट्कोनारायण जान्थे, अहिले जैसीदेवलै आउँदा रहेछन्। एक जनाले खर्पनमा पूजाका सर्जाम, एेला (रक्सी) र ठूल्ठूला बारा बोकेर ल्याएका थिए। बलम्बूबाट आएका थकालीले कुमारको पूजा गरी ती सबै सर्जाम चढाए। पछाडि जोडजोडका साथ धिमे बाजा घन्किँदै थियो।
मैले बलम्बूबाट आएका विष्णुकमार शाहीलाई सोधेँ, ‘हिँडेरै आउनुभो।’
‘कहाँ हिँडेर आउनू!’ ७७ वर्षीय शाहीको हातमा सलिँचा (ऐला खाने माटोको प्याला) थियो, उनले एक सुरुपमै रित्याए, ‘उहिले उहिले हिँडेर आउँथ्यौं। अब सक्दिनँ, बूढो भएँ, अलिकति हिँड्यो कि ढाड दुखेर लत्रक्कै पर्छु। एक जना भाइको मोटरसाइकलमा आएँ, अरू साथीहरू बसमा। कालिमाटीबाट भने सबै हिँडेर आयौं।’
‘अचेल गाडीमा आउन पनि मान्छे भेट्न गाह्रो हुन्छ। एउटा समय त ठ्याम्मै सुकिसकेको थियो। दुई–तीन जना मात्र हुन्थे, पूजा लिएर आउने। कम्तीमा हामी बाँचुञ्जेल यो रित मर्न नदिउँ भन्ने छ, हामी मरेपछि जेसुकै होस्,’ उनले भने।
यही पारा हो भने खट बोकेर सहर घुमाउने जात्राजस्तै बलम्बूबाट जात्रालुहरू आउने चलन पनि विस्तारै मासिन बेर छैन!
निजी गुठीबाट चल्दै आएको यो जात्रा ‘आर्थिक संकटले नै संकटमा परेको त होइन’ भनेर पनि मैले विष्णुलाललाई सोधेको थिएँ। ‘होइन होइन, आर्थिक संकटले होइन, मान्छे नै नभएर हो,’ उनको जवाफ थियो, ‘अचेल यो जात्राबारे थाहा पाउनेहरू नै कम भइसके।’
कुमार खटजात्राबारे थाहा कम हुँदै गएका बेला सबैले थाहा पाएको कुमारी रथयात्रासँग यसको रोचक सम्बन्ध पनि गौतमवज्रले वर्णन गरेका छन्, जसले यसको लिच्छविकालीन सम्बन्ध थप पुष्टि गर्छ।
जतिबेला कुमारको खट बोकेर सहर घुमाइन्थ्यो, यो जात्राको बाटो कुमारी रथयात्रासँग मिल्दोजुल्दो थियो। कुमारी रथयात्रामा दुई दिन लगाइने बाटो यहाँ एकैदिनमा पूरा गरिन्थ्यो। एउटै बाटोबाट चल्ने दुई जात्रामध्ये एउटा अहिलेसम्म लोकप्रिय, अर्को किन लोपोन्मुख?
प्राचीन कालमा पुरुषका रूपमा पुजिएका थुप्रै देउता पछि स्त्रीका रूपमा प्रसिद्ध भएका छन्। लिच्छविकालका मानेश्वरलाई मल्लकालमा मानेश्वरीका रूपमा पुजियो। कुमारको स्त्रीरूपलाई पनि कुमारी मानेर पुज्ने चलन चलेको हो, गौतमवज्र लेख्छन्, ‘ब्रह्माणीको मूर्ति बनाउँदा ब्रह्माको जस्तै, माहेश्वरीको मूर्ति बनाउँदा शिवको जस्तै र कुमारीको मूर्ति बनाउँदा कुमारको जस्तै बनाउनू भनी लेखिएको छ। यसले मानेश्वरको स्त्रीरूप मानेश्वरी भएजस्तै कुमारको स्त्रीरूप कुमारी हुन् भन्ने ज्ञान हुन्छ।’
‘बालिकालाई कुमारीका रूपमा पूजा गर्ने चलन मल्लकालबाट चलेको हो। जयप्रकाश मल्लले कुमारी जात्राको चलन चलाउँदा कुमार जात्राकै अनुकरण गरी बाटो निर्धारण गरेको देखिन्छ,’ उनको निष्कर्ष छ।
अर्को कारण पनि छ, जसले कुमार खटजात्राको इतिहासलाई लिच्छविकालसँग जोड्छ।
यो जात्रासँग थानकोटको बलम्बू र थसीको सिद्धपुर प्रत्यक्ष जोडिएका छन्। यो सम्बन्ध किम्बदन्तीमा मात्र होइन, जात्रा मनाउने रितमा पनि ज्यूँदै छ। सिद्धपुरका नेमकूलहरूले कुमारको महास्नान र मूर्ति रङरोगन नगरेसम्म जात्रा आरम्भ हुँदैन। बलम्बूका गाउँलेहरू पूजा गर्न नआएसम्म जात्रा पूर्ण हुँदैन। यी दुवै लिच्छविकालमै प्रसिद्ध गाउँ हुन्। बलम्बूमा मात्र लिच्छविकालका छवटा अभिलेख प्राप्त भएका छन्।
मल्लकालमा यी दुवै गाउँ पाटन राज्यअन्तर्गत पर्थे। दाजुभाइमा भागबन्डा गरिएका उपत्यकाका तीन नगरराज्य काठमाडौं, पाटन र भक्तपुरबीच संयुक्त जात्रापर्व चल्नु र एउटा राज्यका गाउँबाट अर्को राज्यमा जात्रा मनाउन आवतजावत हुनु असम्भवजस्तै थियो। यसले मल्लकाल सुरू हुनुअघि नै यो जात्रा चलेको बुझिन्छ, गौतमवज्रको भनाइ छ, ‘कुमार खटजात्राको प्राचीनता साबित हुन्छ।’
खटजात्रा सुरू गर्नुअघि कुमारलाई द्योछेँबाट अट्कोनारायण लग्ने चलन पनि अर्थपूर्ण छ। अट्कोनारायण भनेको लिच्छविकालमै बनेको मन्दिर हो। लिच्छवि राजाहरूले सहर बसाउँदा चोक–चोकमा नारायणको मूर्ति स्थापना गर्थे, जसबारे हामीले पहिलो अध्यायमै चर्चा गर्यौं।
लिच्छविकालीन सम्बन्ध नभइदिएको भए अट्कोनारायणसम्म किन बोक्नुपर्थ्यो? होइन र!
...
पचली भैरव जात्रा
काठमाडौं सम्पदा यात्रामा जाँदा मेरा ‘गाइड’ आलोकसिद्धि तुलाधर काष्ठमण्डपका चार ढोकामध्ये पूर्वी ढोकाअगाडि टक्क अडिए, ‘पचली भैरव जात्रा हुँदा यहाँ विशेष उत्सव हुन्छ।’
लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएका थिए। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ। दसैं बेला हुने यो जात्रा काष्ठमण्डपकै अगाडि हनुमानढोकामा आएर टुंगिन्छ। आलोकले भनेको उत्सव भने बाह्र वर्षमा एकचोटि मात्र हुन्छ।
‘के हो त्यो उत्सव?’ मैले उत्सुकतासाथ सोधेँ।
‘प्रत्येक बाह्र वर्षमा विजया दशमीको दिन पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने परम्परा छ,’ उनले भने, ‘पचली भैरव मानव आकृतिमा नाच्दै यहाँ आउँछन्, त्यो बेला गद्दीमा जो राजा हुन्छन्, उनलाई आफ्नो खड्ग थमाउँछन्, अनि राजाको हातको खड्ग आफू लिन्छन्। खड्ग साट्नुको उद्देश्य लिच्छवि राजाले आफ्ना उत्तराधिकारीलाई शासन सुम्पेका हुन् भन्ने भनाइ छ।’
पुरातत्वविद् साफल्य अमात्य र इतिहासकार गौतमवज्र बज्राचार्यले आ–आफ्नो किताबमा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्।
यो प्रचलनले ‘प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने’ अमात्यको भनाइ छ, ‘भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देशरक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो।’
बज्राचार्यका अनुसार नेपालको सांस्कृतिक इतिहासमा यो रित ‘खड्गसिद्धी’ नामले प्रसिद्ध छ। उनी यसलाई विस्तारपूर्वक लेख्छन्, ‘पचली भैरव र उनका अष्टमातृकागणको प्राचीन नाचलाई ‘गथु प्याखं’ भनिन्छ। यो नाच आठ वर्षमा एकचोटि यंगल इलाकामा र चार वर्षमा एकचोटि यम्बू इलाकामा अभ्यास गरिन्छ। यंगल इलाकामा नाच नचाइने वर्ष मरुसत्तल (काष्ठमण्डप) अगाडि र यम्बू इलाकामा नचाइने वर्ष मखनटोलमा पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग विनिमय गर्ने परम्परागत चलन छ।’
वीरेन्द्रको पालासम्म प्रत्येक बाह्र वर्षमा राजा आफैं काष्ठमण्डप आएर पचली भैरवसँग खड्ग साटेका थिए। शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरे। राजतन्त्र अन्त्यपछि यो खड्गसिद्धी परम्परा अब नाममात्रको छ। पहिलो राष्ट्रपति रामवरण यादवका पालामा उनकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। त्यो प्रयास त्यत्तिकै रोकियो।
केही दिनअघि आलोकसँग पचली भैरव मन्दिर जाँदा हामीले त्यहाँका पुजारीलाई यसबारे सोधेका थियौं। ‘राजासँग खड्ग साट्ने भनेको हाम्रो प्राचीन परम्परा हो,’ पुजारीले भने, ‘यो सिद्धियुक्त खड्ग हो, राजाको ठाउँमा राष्ट्रपति आएर खड्ग साट्नु उनकै सुस्वास्थ्यका लागि पनि राम्रो हुँदैन।’
पचली भैरव जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।
यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। घटस्थापनाको दिन साँझ पचली भैरवको मूर्ति अंकित घ्याम्पोलाई गुठियारको बासस्थानबाट कोहितिस्थित चित्रकारको घरमा लगेर राखिन्छ। त्यहाँ मूर्तिको साजसज्जा र विधिपूर्वक पूजा गरेर उक्त घ्याम्पोलाई अलंकृत गरिन्छ। यो भनेको ‘पचली भैरवको मूतिलाई दृष्टि दिनु’ पनि हो।
चौथीको दिन बेलुकी मूर्तिलाई भीमसेनस्थानस्थिति क्वाबहाःमा बस्ने थकु जुजुहरूकहाँ पूजा गर्न लगिन्छ। थकु जुजु भनेका वैश्य ठकुरीहरूका वंशज हुन् भन्ने भनाइ छ।
‘नेपालको इतिहासमा विक्रमको बाह्रौं–तेह्रौं शताब्दीतिर पालवंशी वैश्य ठकुरीहरू निकै प्रभावशाली थिए। त्यति बेला शिवदेव, इन्द्रदेव लगायत राजाहरूको शासन रहे पनि उनीहरू शक्तिहीन भएको मौका छोपेर यी वैश्य ठकुरीहरू विभिन्न भागमा अधिकार जमाउँथे,’ गौतमवज्र लेख्छन्, ‘तिनै वैश्य ठकुरीहरूका सन्तानलाई हराएर रत्न मल्लले काठमाडौंमा आफ्नो अधिकार पुनर्स्थापित गरेका थिए। तिनका वंशजहरू काठमाडौंमा अद्यापि छन्, जो ‘थकु जुजु’ भनी प्रसिद्ध छन्।’
थकु जुजुकहाँ पूजा सकेपछि त्यसै दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पिठमा ल्याइन्छ। भोलिपल्ट पञ्चमीको दिन घ्याम्पोमा वर्षदिनअघि बनाएर राखेको जाँड, रक्सीलाई जलका रूपमा पञ्चनालीमा बगाइन्छ। पहिले–पहिले उक्त जल बगेर अलि पर पोखरीमा जाने गरेको त्यहाँका पुजारी बताउँछन्। त्यो पोखरी अहिले छैन। पोखरी भएको ठाउँमा स्कुल छ, जसले पचली भैरव गुठिबाट प्राप्त जग्गामा जथाभाबी संरचना बनाउन खोजेको भन्दै केही समयअघि हंगामा भएको थियो।
पञ्चमीकै मध्यरात मुख्य जात्रा आरम्भ हुन्छ। भैरवको मूर्ति बोकेर बाजागाजासहित ब्रह्मटोल, लगन, जैसीदेवल हुँदै मरुटोलको बाटो हनुमानढोका लगिन्छ। भैरवकी पत्नी अजिमा र पुत्र रुद्रविनायकको मूर्ति पनि जात्रामा सँगसँगै लगिन्छन्। हनुमानढोका पुगेपछि अर्को विशेष विधि हुन्छ। त्यसै रात ‘जीवित देवी’ कुमारीलाई हनुमानढोका ल्याइन्छ र पचली भैरवसँग आँखा जुधाउन लगाइन्छ। यसरी आँखा जुधाउँदा कुमारीले शक्ति प्राप्त गर्ने जनविश्वास छ। कुमारीले आफैं पुग्यो नभनेसम्म फिर्ता लैजान हुँदैन। इच्छा लागुञ्जेल हेर्न पाएपछि बल्ल कुमारीलाई शक्ति प्राप्त हुने भनाइ छ।
यो विधि सकिएपछि गुठियारहरूको पालोअनुसार पचली भैरवको मूर्तिलाई उनको बासस्थानमा लगिन्छ र जात्रा सकिन्छ। अर्को वर्षको जात्रासम्म मूर्ति त्यहीँ रहन्छ।
इतिहास र संस्कृतिसँग अभिन्न जोडिएको यो जात्रा काठमाडौं सहर स्थापना र शासन हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झना हो।
...
गोयुद्ध उत्सव (पताः छायेगु)
जब म सुदर्शनराज तिवारीसँग काष्ठमण्डपबारे कुरा गर्दै थिएँ, उनले हरेक वर्ष माघे संक्रान्तिको दिन त्यसै ठाउँमा मनाइने ‘गोयुद्ध उत्सव’ सम्झे। यज्ञमान पति बज्राचार्यले पनि माघे संक्रान्तिकै दिन काष्ठमण्डपमा पूजा गरेर ‘नुन र तेलको भाउ सोधनी हुन्छ’ भनेका थिए। यी दुवै एकअर्कासँग सम्बन्धित छन्।
‘गोयुद्ध उत्सव’ यस्तो पर्व वा जात्रा हो, जुन काष्ठमण्डपको ‘वर्षवर्द्धन’ अर्थात्, वार्षिकोत्सवका रूपमा मनाइन्छ भन्ने विश्वास गरिन्छ। भीमसेनस्थानस्थित सा गुठीका गुठियारहरूले भाग लिने यो पर्वमा काष्ठमण्डपको धुरीमा चढेर पताका (झन्डा) फहराउने चलन छ। यो गोयुद्ध उत्सवको सबभन्दा महत्वपूर्ण पक्ष हो।
कुनै पनि ठाउँमा पताका फहराउनु भनेको या त विजयको संकेत हो, या कुनै ठूलो काम सम्पन्न भएको घोषणा। यहाँ काष्ठमण्डपजस्तो विशाल र भव्य संरचना निर्माण हुनुलाई ठूलो अभियान सम्पन्न भएको मान्दै विजयोत्सवका रूपमा धुरीमाथि चढेर पताका फहराएको हुनुपर्छ। यसै दिन काष्ठमण्डप निर्माणसँग जोडिएको नुन र तेलको भाउ सोधनी हुनुले माघे संक्रान्तिलाई यो स्मारकको वार्षिकोत्सव मान्ने आधार दिन्छ।
विस्मृतितिर उन्मुख यो उत्सवको विस्तृत पत्ता लगाउन मलाई भीमसेनस्थानका तेज महर्जनले मद्दत गरे।
तेज मेरा पुराना सहकर्मी हुन्। उनी ‘नागरिक’ दैनिकको ‘डिजाइनिङ’ शाखामा काम गर्छन्। ‘नागरिक’ को पहिलो पृष्ठको साजसज्जा उनकै हातबाट हुन्छ। जात्रापर्व र नेवार संस्कृतिमा उनको विशेष दख्खल छ। यिनै विषयमा उनका केही लेख–रचना पनि प्रकाशित छन्।
गोयुद्ध उत्सवमा भीमसेनस्थानका महर्जनहरू संलग्न हुन्छन् भन्ने थाहा पाउनेबित्तिकै मैले झट्ट उनैलाई सम्झेँ। फोन गरेर आफूले जानेसम्मको विस्तार लगाएँ। त्यहीँका महर्जन भए पनि उनी सा गुठीका गुठियार होइन रहेछन्। यस्तो पर्वबारे सुनेका चाहिँ रहेछन्।
‘गुठीमा को–को छ खोजेर भन्छु नि है,’ उनले मेरो काम सजिलो बनाइदिए।
केही दिनपछि उनको फोन आयो, ‘सा गुठीका मान्छेहरू भोलि बिहानै भीमसेनस्थान मन्दिरमा बाजा बजाउन आउँदैछन्। त्यहाँ गयो भने सबैलाई एकैठाउँ भेट हुन्छ।’
तेजले मलाई अर्को पनि मद्दत गरे, गुठियारहरूसँग कुराकानी गर्न सँगसँगै आइदिने भए।
भुइँचालोमा भीमसेनस्थानको घर जीर्ण भएपछि उनी बाफल सरेका छन्। हामी करिब दस मिनेटको पैदलदुरीमा बस्छौं। भोलिपल्ट बिहान छ बजे नै उनको फोन आयो, ‘तपाईं तयार भएर बाहिर रोडमा आउनुस्, म निस्केँ।’
उनको स्कुटरमा बिहान साढे छ बजेतिर हामी भीमसेनस्थान मन्दिर पुग्यौं। मन्दिरको माथिल्लो तल्लाबाट बाजाको धून बाहिर सडकसम्मै सुनिँदै थियो। नेपाल सम्बत् क्यालेन्डरको एघारौं महिनाभरि प्रत्येक बिहान यसैगरी बाजागाजा गर्ने परम्परा रहेछ।
हामी धून पछ्याउँदै मन्दिरको बाहिरी भर्याङबाट माथिल्लो तल्लामा उक्लियौं। बार्दलीमा गुठियारहरू भुइँमा लश्करै बसेर बाजा बजाउँदै थिए, कोही भजन गाउँदै। नेवारहरूले समृद्धिको देउता मानेर पूजा गर्ने भीन्द्यःको भीमकाय जुँगे–मूर्ति सामुन्ने थियो। सँगसँगै उसैको प्रतिरूपजस्तो देखिने अर्को मूर्ति थियो, दुवैको बीचमा एक जना स्त्री।
‘को–को हुन् यिनीहरू?’ मैले तेजलाई सोधेँ।
‘कोही कोही भीमसेन, अर्जुन र द्रौपदी भन्छन्,’ उनले जवाफ दिए, ‘कोही भने दुवैलाई भीमसेन नै मान्छन्।’
शनिबारको दिन भएकाले एकाबिहानै भीमसेन, उर्फ भींद्यः दर्शन गर्न आउनेहरूको भीडभाड थियो। एक जना दर्शनार्थीले क्यामरा झिकेर फोटो खिच्न खोजे। पुजारीले भित्रैबाट रोक्दै हातको इसाराले भित्तातिर देखाए। भित्तामा सूचना टाँसिएको थियो– यहाँ फोटो खिच्न मनाही छ।
केही बेर कुरेपछि भजन सकियो। बाजा बजाउनेहरू जर्याकजुरुक उठे। तिनैमध्ये तीन जनासँग तेजले मेरो परिचय गराए। हामी त्यहीँ बार्दलीमा बसेर गोयुद्धबारे गफ गर्न थाल्यौं।
न्हुच्छेनारायण महर्जन ७१ वर्षका भए। भलै यो उत्सवबारे आज धेरैलाई कम जानकारी छ, तर न्हुच्छेले थाहा पाएदेखि यो रित टुटेको छैन। मनाउने विधि र अवधि भने फेरिएछ, छोंट्टिएछ।
‘पहिले त निकै धूमधाम हुन्थ्यो, माघे संक्रान्तिको चार दिनअघिबाट सुरू हुने पर्व एक सातासम्म चल्थ्यो,’ सा गुठीका अध्यक्ष न्हुच्छेले विस्तार लगाए, ‘अचेल माघे संक्रान्तिको अघिल्लो दिनबाट सुरू हुन्छ, तीन दिन मात्र चल्छ।’
‘किन त छोंट्टिएको?’ मैले सोधेँ।
‘खर्च बढ्यो, मान्छेहरू पहिलेभन्दा व्यस्त हुन थाले,’ उनी निराश सुनिए, ‘जसोतसो संस्कृति धानिरहेका छौं।’
उनका अनुसार यो पर्व मनाउन पाँचवटा तीर्थको जल कलशमा भरेर देउता प्रतिस्थापन गरिन्छ। गोकर्ण, टेकु दोभान, गुह्येश्वरी, शोभा भगवती र शंखमूललाई पाँच तीर्थ मानेर त्यहाँबाट बागमतीको जल ल्याउने परम्परा छ। देउता प्रतिस्थापन गर्ने साइत पहिले माघे संक्रान्तिको चार दिनअघि हुन्थ्यो, अचेल पुस मसान्तमा गरिन्छ।
देउता स्थापनापछि सा गुठीका गुठियारहरू मरुसत्तलको साँचो लिएर कीर्तिपुरका गोपालीहरूकहाँ जान्थे र ‘कामधेनु’ गाई ल्याइदिनू भनी निम्ता गर्थे। गाई लिन जानेहरूलाई कीर्तिपुरका गोपालीले भोज खुवाउने चलन थियो। पहिले–पहिले मरुसत्तलको साँचो मृगस्थलीमा बस्ने गोरखनाथका अनुयायी बाबाहरूले राख्ने गर्थे। गुठियारहरूले त्यहीँबाट मागेर ल्याउनुपर्थ्यो। अचेल हनुमानढोका दरबारको कार्यालयमै राख्ने गरिन्छ।
‘कीर्तिपुरसम्म गाई लिन जाने चलन पनि हराइसक्यो। हामी आफैं खोजेर ल्याउँछौं। कामधेुन गाई नै चाहिन्छ भन्ने छैन, त्यस्तो गाई पाउन पनि मुश्किल छ,’ न्हुच्छेनारायणले भने।
मुख्य उत्सव माघे संक्रान्तिको दिन हुन्छ। काष्ठमण्डपको पूर्वी ढोकाअगाडि, जहाँ पचली भैरवको खड्गजात्रा बेला गद्दीनसिन राजासँग खड्ग साटिन्छ, त्यही ठाउँमा बिहानै पूजाआजा गरेर भेडाको बलि दिइन्छ। बलि दिने ठाउँलाई भुतेश्वरमण्डप, अर्थात् भुतिसतः भनिन्छ। भेडाको आन्द्रालाई बेलुनजस्तो फुकेर मरुसत्तलबाट गणेशस्थान, चिंकमुगल, भीमसेनस्थान हुँदै फेरि भुतेश्वरमण्डपमै ल्याएर भुत पन्छाउने परम्परा छ। यो पूजामा ‘सःपू’ को छ्वयला चढाउनुपर्छ। ‘सःपू’ भनेको राँगाको भुँडीभित्र दिसा जम्मा हुने अंग हो।
त्यसै दिन दिउँसो राजोपाध्यायहरूबाट मरुसत्तलमा होम गरिन्छ। महर्जन समुदायका सदस्य काष्ठमण्डपबाहिर भेला भएर गाईलाई नुन, पानी, चाकु र उसिनेको गहुँ खुवाउँछन्। यी सबै सर्जाम अघिल्लो रात नै काष्ठमण्डपको उत्तर–पश्चिम कोठामा सुरक्षित राखिन्छ। सर्जामहरू बन्दोबस्त गर्न गुठियारहरूले ३२ वटा काँचो इँटाको चुह्लो बनाउँछन्। ठूलो तामाको भाँडोमा ३२ पाथी, ३२ माना र ३२ मुठी गहुँ उसिन्छन्। योसँगै दर्शनाथीहरूलाई ‘समेबजी’ (च्यूरा, पोलेको मासु, कालो भटमास, अदुवा लगायत परिकार) र जाँड प्रसादका रूपमा बाँडिन्छ।
पूजाविधि सकिएपछि महर्जन समुदायकै सदस्यहरू काष्ठमण्डपको धुरीमा चढेर पाँचदेखि छ मिटर लामो सेतो पताका फहराउँछन्। जात्राको मुख्य उत्सव यही हो। यसैलाई स्थानीय बोलिचालीमा ‘पताः छायेगु’ भनिन्छ। पहिले काष्ठमण्डपको गजुरमा पताका बाँध्न यंगलका मानन्धरहरूलाई निम्ता गरिन्थ्यो। पताका बाँधेपछि भोजको भाग दिएर पठाइन्थ्यो। अचेल यो काम सा गुठीका महर्जनहरूले नै गर्न थालेका छन्। पताका फहराउँदा खड्गीहरूले नायखीं बाजा बजाउने चलन भने यथावत् छ। नायखीं बजाउने खड्गीहरूलाई दस पाथी चामल दस्तुर तिर्नुपर्छ।
‘काष्ठमण्डपको धुरीमा चढेर पताका फहराउनु भनेको जोखिमपूर्ण काम हो। पहिले भुइँतल्लाबाट भर्याङ हालेर धुरी चढ्ने चलन थियो। यसो गर्दा धेरैचोटि मान्छे खसेर घाइते भए,’ ६१ वर्षीय श्यामकृष्ण महर्जनले भने, ‘हामीले पुरातत्व विभागको अनुमतिमा भित्रभित्रै धुरीमा प्वाल पारेर गजुरसम्म पुग्ने बाटो बनायौं। त्यसपछि अलि सुरक्षित भयो।’
गजुरमा पताका फहराएलगत्तै काष्ठमण्डपको छानाबाट चारै दिशामा चतांमरी, योमरी, लोंचामरी छरिन्छ। छरिएका यी परिकार प्रसादका रूपमा टिपेर खाए ‘अमृत’ हुन्छ भन्ने भनाइ छ। मान्छेहरू प्रसाद टिप्न हारालुछ गर्छन्। यही बेला नुन र तेलको भाउ बराबर भयो कि भएन भनेर सोध्ने चलन पनि थियो, तर यो चलन ‘उहिल्यै हराएको’ न्हुच्छेनारायण बताउँछन्।
जात्राको अन्तमा गुठियारहरू कलश बोकेर मरु गणेशस्थानबाट चिंकमुगल हुँदै भीमसेनस्थान र फेरि मरुसम्म परिक्रमा गर्छन्। अर्को वर्ष यी सबै विधि सम्पन्न गर्न जुन गुठियारको पालो पर्छ, उसैको घरमा लगेर कलश जिम्मा दिने चलन छ।
यो जात्रा यति अटुट छ, पालो परेका गुठियारको घरमा जुठो परे पनि रोकिन्न। माघे संक्रान्तिमा जुठो परेर पूजा छेकियो भने फागुन संक्रान्तिमा भए पनि जात्रा सञ्चालन गरिन्छ।
भुइँचालोले काष्ठमण्डप नै नरहेपछि जात्रा कसरी चलिरहेको होला त?
मेरो जिज्ञासा सा गुठीका सचिव ५३ वर्षीय कुमार डंगोलले शान्त पारे, ‘काष्ठमण्डप नरहे पनि हामीले जात्रा रोकेका छैनौं। भुइँचालोपछि छेउमा गोरखनाथको सानो मन्दिर बनाएर त्यसैको गजुरमा पताका बाँध्ने गरेका छौं।’
केही समयअघि काष्ठमण्डप पुनर्निर्माण क्रममा सा गुठीका सदस्यहरूसँग परामर्श गरिएन भनेर विवाद भएको थियो। उनीहरूले नयाँ बन्ने काष्ठमण्डपमा पहिलेजस्तै भित्रभित्रै धुरीमा प्वाल पारेर गजुरसम्म पुग्ने बाटो बनाइदिन महानगरपालिका र पुरातत्व विभागलाई आग्रह गरेका छन्। सुनुवाइ होला भन्ने उनीहरूको आस छ।
लिच्छविकालीन दक्षिण कोलिग्राममा धुमधामका साथ मनाइने यो उत्सवको प्रसंग तत्कालीन अभिलेखहरूमा पाइन्छ।
नघलको श्रीघः विहारस्थित अंशुवर्मा पालाको अभिलेखमा ‘युद्धोत्सवमनुभूय’ शब्द परेको छ, जसले ‘गोयुद्ध उत्सव’ लाई बुझाउँछ भनी इतिहासकार धनवज्र बज्राचार्यले ‘लिच्छविकालका अभिलेख’ मा व्याख्या गरेका छन्।
थानकोटस्थित भीमार्जुनदेव र जीष्णुगुप्तको अभिलेखमा ‘गोयुद्ध उत्सवका लागि प्रत्येक हलोपिच्छे कर लगाइएको’ उल्लेख छ। थेचो ग्रामका बासिन्दालाई कर लगाइएको प्रसंग यो अभिलेखमा परेको छ। दक्षिण कोलिग्राममा मनाइने पर्वका लागि सहरभन्दा बाहिर पर्ने गाउँका बासिन्दाबाट समेत कर असुल गरिनुले यो त्यति बेलाको विशेष उत्सव थियो भन्ने बुझिन्छ।
राजा नरेन्द्रदेवको अनन्तलिंगेश्वरको अभिलेखमा गोयुद्ध उत्सवअन्तर्गत साँढे जुधाउने र पताका फहराउने प्रसंग छ। यसबाट गोयुद्धमा पताका फहराउने चलन लिच्छविकालबाटै सुरू भएको पुष्टि हुन्छ। ‘त्यस बेला गोयुद्ध धार्मिक जात्रा र मनोरञ्जनका रूपमा मनाइन्थ्यो,’ धनवज्र लेख्छन्।
साँढे जुधाउने चलन भने कालान्तरमा लोप भयो। बस्ती बढ्दै गएपछि बीच सहरमा साँढे जुधाउन सम्भव पनि भएन।
काष्ठमण्डपमै मनाइने अर्को लिच्छविकालीन पर्व नेपाल सम्बत् क्यालेन्डरको दसौं महिना, अर्थात् साउन शुक्ल प्रतिपदादेखि मनाइने गुँला पर्वमा पर्छ। यसमा पिँगननीका ताम्राकारहरूले काष्ठमण्डप अगाडिको चोकमा खिर खुवाएर उत्सव गर्छन्। यो खिर अघिल्लो रात काष्ठमण्डपमै पकाउने चलन छ। खिर पकाउन काठको ठूलो भाँडो प्रयोग गरिन्छ, जुन त्यही रूखको काठबाट बनेको विश्वास गरिन्छ, जसबाट काष्ठमण्डप निर्माण भएको थियो।
एघारौंदेखि बाह्रौं शताब्दीबीच काठमाडौंमा तामा, पित्तल र काँसको व्यापार उत्कर्षमा थियो। यस्ता धातुजन्य उद्योगमा बढीजसो ताम्राकार समुदायका मान्छे संलग्न हुन्थे। उनीहरूलाई काठमाडौंकै सम्पन्न र शक्तिशाली समुदायमा गनिन्थ्यो। तिनै ताम्राकारहरूले आर्थिक रूपमा सम्पन्न भएपछि दानधर्म गर्न व्यक्तिगत वा सामूहिक रूपमा काष्ठमण्डप जीर्णोद्धार गराएको र खिर खुवाएर उत्सव मनाएको मानिन्छ।
...
म्ह पूजा
वर्षभरि मनाइने अनेक चाडपर्वमध्ये मेरो सबभन्दा प्रिय हो, तिहारको म्ह पूजा। उसिनेको अन्डा खान पाइन्छ भनेर हैन है! न नेपाल सम्बत् क्यालेन्डरअनुसार नयाँ वर्षको दिन परेर!
यो एकमात्र यस्तो पर्व हो, जसमा हामी कुनै देव–देवीको होइन, आफ्नै पूजा गर्छौं। आफ्नै नाममा मण्डप बनाउँछौं, आफ्नै लागि बत्ती बाल्छौं। आफ्नै शरीरमा फूल बर्साउँछौं र उसिनेको अन्डा, माछा, भटमास र दही सगुन खान्छौं। मान्छेको शरीर पूजा गरिने भएर यो पर्वलाई ‘स्वपूजा’ वा ‘आत्मपूजा’ पनि भनिन्छ। योसँग मिल्दोजुल्दो अरू कुनै पर्व मैले आजसम्म देखेको वा सुनेको छैन।
यसरी आफूले आफैंलाई पूजा गर्ने चलन कहाँबाट कसरी सुरू भएछ त? तपाईंहरूले कहिल्यै सोच्नुभएको छ?
धेरैलाई लाग्छ, नयाँ वर्षको पहिलो दिन भएकाले नै आत्मपूजाको परम्परा सुरू भएको हो। त्यो पनि हुनसक्छ, तर पुरातत्वविद् साफल्य अमात्यको ‘काठमाडौं नगरायण’ किताबमा म्ह पूजाको उद्गमसँग सम्बन्धित रोचक कथा छ।
उनको कथाले म्ह पूजाको परम्परालाई लिच्छविकाल र तत्कालीन राजधानी हाँडीगाउँसँग जोड्छ।
विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छविहरूका प्राचीन दरबार पनि ध्वस्त भए। मानगृह र कैलाशकूट दरबार त्यही आगोको लप्कामा लपेटिएको अमात्य लेख्छन्। यत्रो ठूलो दुर्घटनामा ज्यान जोगाउन सफल भएकाहरूले खुसियालीमा नयाँ सम्बत् चलाएर म्ह पूजा गर्न थालेको उनको भनाइ छ।
यो आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। त्यहाँका बासिन्दा उपत्यकाभरि यत्रतत्र छरिएर बसोबास गर्न थाले, अमात्य लेख्छन्, ‘धेरै मानिस बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम सरे। कोही भने ललितपुर गएर बसे। प्राचीन विशालनगर क्षेत्रका हाँडीगाउँ, मालिगाउँ, टंगाल लगायत इलाकाको बसोबास पहिलेभन्दा निकै पातलियो।’
‘विजया दशमीको साँझ असनटोलबाट निस्कने खड्गयात्राका सहभागी नै प्राचीन विशालनगरबाट बसाइँ सरेर आएकाहरू हुन् भन्ने भनाइ छ। केही मानन्धर, मल्ल र ललितपुरका केही परिवार हाँडीगाउँको श्रीमनमानेश्वरी देवीलाई नै आफ्नो कुलदेवी मान्छन्। मनमानेश्वरीलाई कुलदेवी मानेर पूजा गर्नेहरूका पुर्खा प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ,’ अमात्य लेख्छन्।
केही इतिहासकार भने आगलागीले हाँडीगाउँ ध्वस्त भएको भनाइसँग सहमत छैनन्।
बरू लिच्छवि राजखलकभित्रको द्वन्द्वले राजा उदयदेव दरबार छाडेर बाहिरिनुपरेको इतिहास छ। त्यही क्रममा उदयदेवसँग निकट भाइभारदार र उनका समर्थक जनता हाँडीगाउँमा बस्न असहज भएर अन्यत्र बसोबास गर्न थालेका हुन सक्छन्।
...
उपाकू
वर्षभरि मृत्यु भएका परिवारका सदस्यको आत्मालाई शान्ति मिलोस् र उनीहरूले सहरको चार किल्लाभित्र प्रवेश नगरून् भनेर भाद्र शुक्ल द्वादशीका दिन यँदे, अर्थात् काठमाडौंको सहरी क्षेत्र परिक्रमा गर्ने चलन छ, जसलाई ‘उपाकू’ यात्रा भनिन्छ।
काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया पुन्ही, अर्थात् इन्द्रजात्राका विभिन्न आकर्षणमध्ये पहिलो दिन मनाइने ‘उपाकू’ एक हो। नेवार भाषामा ‘उपाकू वनेगु’ भनिने यो यात्रामा काठमाडौंका जुन–जुन भाग प्रदक्षिणा गरिन्छ, त्यसबाट लिच्छविकालीन काठमाडौं (कोलिग्राम र दक्षिण कोलिग्रामसमेत) को सीमाना पहिचान गर्न सकिन्छ।
तीर्थनारायण मानन्धरद्वारा लिखित पुस्तक ‘जिगु लुमन्तिइ– यँ दे म्हिगः व थौं’ का अनुसार यो यात्रामा काठमाडौंका ३० वटा टोल परिक्रमा गरिन्छ। उपाकूमा परिक्रमा गरिने टोल निम्न छन् — महाःबू, तासिथू गणेद्यः, भ्वंसिक्व–दुगंबही, तेबहाः (पिने), लुँहिति–धरहरा, बागदरबार दुने, चल्चा गल्ली (ताहागल्ली), गणबहाः, लगं, नाय्पाच्व–चल्खु, वन्दे, ह्यूमत, न्हूघः, क्वहिति, भिन्द्यः, क्वपराः क्यब, ख्यःक्यब, मरुध्वाखा, चस्वांद्वँ, दमाइत्वाः–पाछैगल्ली, न्यत, तुंछेँगल्ली, कुलांभुलु अजिमा, छत्रपाती, स्वांछपु गणेद्यः, थँहिति, ज्याथा, नाय्त्वाः, कःमिलाछि, भोताहिति गल्ली र महाःबू।
यी सबै तत्कालीन कोलिग्राम र दक्षिण कोलिग्राममा पर्ने टोल हुन्, जसले यो यात्राको लिच्छविकालीन सम्बन्ध पुष्टि गर्छ।
पुरातत्वविद् साफल्य अमात्यको किताब ‘काठमाडौं नगरायण’ मा उपाकू जात्राबारे वर्णन छ। तान्त्रिक वास्तुविधिबाट बसालिएको बस्ती र सहरका अन्य भाग छुट्टयाउन यो प्रदक्षिणा सुरू भएको उनले उल्लेख गरेका छन्। यसले उपाकू काठमाडौंमा प्रचलित पुरानो जात्रामध्ये एक हो भन्ने बुझिन्छ। यकिन भन्न नसके पनि यो कम्तीमा पन्ध्र सय वर्ष पुरानो संस्कृति हुनसक्छ। प्राचीन हाँडीगाउँ र देउपाटन क्षेत्रका नेवार समुदायमा पनि उपाकू यात्राको चलन छ, अमात्य लेख्छन्, ‘भाद्र शुक्ल द्वादशीकै दिन देउपाटनका बासिन्दा प्राचीन देउपाटन क्षेत्र प्रदक्षिणा गर्छन्। हाँडीगाउँका बासिन्दा त्यसै दिन प्राचीन हाँडीगाउँ प्रदक्षिणा गर्छन्।’
देउपाटनको प्रदक्षिणा मार्गमा पशुपति, चाबहिल, मालिगाउँ, ज्ञानेश्वर लगायत ठाउँ पर्छन्। हाँडीगाउँमा भने राणाकालमा धेरै दरबार बनेकाले प्रदक्षिणा मार्ग अवरुद्ध हुँदै गएको देखिन्छ।
‘कान्तिपुर, देउपाटन र हाँडीगाउँ क्षेत्रमा प्रचलित उपाकू परम्पराले मल्लकालभन्दा अघि नै विकसित उपत्यकाका तीन ठूला बस्तीको बोध गराउँछ। यी तीन बस्तीमध्ये कोलिग्राम र दक्षिण कोलिग्रामको इलाका ठूलो र घना हुँदै गयो। फलस्वरुप शाहकालसम्म आइपुग्दा यसले नेपालको राजधानीका रूपमा विकसित हुने अवसर प्राप्त गरेको देखिन्छ,’ अमात्य लेख्छन्।
‘यो प्राचीन परम्पराको धार्मिक र सामाजिक महत्वका साथै तत्कालीन समयमा राजनीतिक महत्व पनि थियो।’
उपाकू यात्रामा मृत व्यक्तिका परिवार धूपबत्ती र काँचो दियो बाल्दै, पैसा चढाउँदै लगभग चार घन्टा पैदल हिँड्छन्। बाटोमा पर्ने बहाः र बहीहरू फन्को मार्छन्। यात्रुहरू नअल्मलिउन् भनेर बाटोको छेउछेउ पिठो छरिएको हुन्छ। यस बेला विभिन्न मन्दिर तथा चैत्यबाहिर परम्परात नेवार परिकारहरू प्रदर्शनमा राखिन्छ। सोलीलाई उल्टो पारेर राख्दा जस्तो देखिन्छ, ठ्याक्कै त्यही ढाँचामा थरीथरीका परिकार सजाइन्छ।
‘समय द्वं’ भनिने खानेकुराको त्यो थुप्रो झट्ट हेर्दा कुनै बौद्ध चैत्यजस्तो पनि देखिन्छ। यसमा सबभन्दा माथि काँचो माछा राखिएको हुन्छ। त्योभन्दा मुनि च्यूरा, अदुवा, भुटेको कालो भटमास, यमरी, तरकारी, गेडागुडी, बारा, अन्डा लगायत परिकार तह–तह मिलाएर सजाइएको हुन्छ। यी परिकारले पञ्चबुद्धको प्रतिनिधित्व गर्छ। जस्तो– तरकारीले अमोद्धसिद्धि बुद्धलाई झल्काउँछ भने ऐला, अर्थात् स्थानीय घरेलु रक्सीमा भिजेको अदुवाको टुक्राले रत्नसम्भव बुद्ध, बाराले अमिताभ, च्यूराले वैरोचन र भुटेको कालो भटमासले अक्षोभ्य बुद्धलाई बुझाउँछ। यी सबै परिकार पछि प्रसादका रूपमा स्थानीय समुदायलाई वितरण गरिन्छ। यस वर्ष उपाकू यात्रा क्रममा ३६ ठाउँमा ‘समय द्वं’ प्रदर्शनमा राखिएको थियो।
स्थानीयको भनाइअनुसार आत्माले सहरको सीमाभित्र खैलाबैला नगरून् भनेर उनीहरूको भोक शान्त पार्न खानेकुरा चढाइएको हो। बाटोमा काँचो दियोको बत्ती बाल्दै हिँड्नुको उद्देश्य पनि भट्केको आत्मालाई मुक्तिको बाटो देखाउनु हो। यसले सहर सुरक्षित राख्छ भन्ने जनविश्वास छ।
त्यस दिन उपाकूकै बाटो हुँदै मजिपा लाखे र पुलुकिसी दौडेको हामी देख्छौं। केटाकेटीहरू ‘ला छकू वयेक समयबजि, वल वल पुलुकिसी’ भनेर गाउँदै हिँड्छन्, जसको अर्थ हुन्छ– समयबजिमा एक टुक्रा मासु पनि आउला कि! आयो है आयो पुलुकिसी!
जात्रै जात्राको सहर काठमाडौं, त्यसमाथि काठमाडौंकै पुरानोमध्येको उपाकू जात्रा पछिल्लो समय संकटमा छ। जसरी हाँडीगाउँमा राणाकालमा बनेका दरबार र घरहरूले उपाकूको प्रदक्षिणा मार्ग अवरुद्ध पार्यो, काठमाडौंमा त्यही स्थिति देखिँदैछ। धरहरा पुनर्निर्माणका नाममा बन्दै गरेको २२ तले ‘झिल्के टावर’ ले यसैपालि उपाकूको सांस्कृतिक मार्ग मिच्यो। स्थानीयको विरोधपछि अन्तिम समयमा आएर उपाकू जाने बाटो खोल्न पुनर्निर्माण प्राधिकरण राजी भयो।
यस वर्ष येँयामा निर्माणस्थलभित्रै अस्थायी पुलजस्तो बनाएर उपाकूको बाटो छाडिए पनि यो दीगो समाधान होइन। जात्राको दिन मान्छेहरू काँचो दियो र धूपबत्ती बाल्दै हिँड्दा पछाडि डोजर चलिरहेकै थियो। अर्को उपाकूसम्म यहाँ ‘झिल्के टावर' बनिसक्ला वा त्यसले संरचनात्मक आकार लिइसक्ला, त्यस बेला आत्मा पन्छाउँदै हिँड्ने प्राचीन बाटो कहाँ खोज्ने?
सम्पदाविद् तथा पानीविज्ञ पद्मसुन्दर जोशीले सेतोपाटीकै एक लेखमा भनेका छन्, ‘देशको संस्कृति विश्वमा पस्कनुपर्दा लाखेनाच र कुमारीका तस्बिर प्रस्तुत गर्ने र यही वास्तुकला, सीप र कौशल देखाएर गर्व गर्ने पञ्चायतदेखि आजसम्मका शासनयन्त्रले यी कला र संस्कृति विस्तारै धरापमा पर्दै जाँदा पनि अपनत्व नदेखाउनु उदेकलाग्दो छ।’
उनको भनाइ उपाकू मार्गका सन्दर्भमा पनि लागू हुन्छ।
हामीलाई लिच्छविकालदेखि चल्दै आएको कम्तीमा पन्ध्र सय वर्ष पुरानो सांस्कृतिक मार्ग चाहिएको हो कि नयाँ व्यापारिक कम्प्लेक्स?
काठमाडौंको चिनारी भनेको यहाँका सम्पदा, संस्कृति र पुरातात्विक स्थलहरू हुन् कि आधुनिक ‘झिल्के’ टावरहरू?
हामीलाई के गर्दा गर्व हुन्छ– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई सुन्धारा लगेर ‘यो पन्ध्र सय वर्ष पुरानो बाटो हो’ भनेर चिनाउँदा कि त्यहाँ ठडिने झल्झलाकार व्यापारिक टावर देखाउँदा?
हामीलाई कम्प्लेक्स नै चाहिएको हो भने त भन्नु केही छैन, नभए एकछिन घोत्लिएर सोचुँ त!
हामीले क्षणिक व्यापारिक स्वार्थ निम्ति काठमाडौंका प्राचीन सम्पदा क्षेत्र र जात्रापर्व मासेर कतै यो सहरलाई विनाशको अँध्यारो गुफाभित्र त धकेलिरहेका छैनौं? अहिले हामी विकासको जोशमा आँखा चिम्लेर जुन बाटो हिँड्दैछौं, त्यसले कुनै दिन आँखा खुल्यो भने फर्कनलाई डोब बाँकी रहला र?
यादवलाल कायस्थ सुन्धारा बचाउ अभियानका सक्रिय अभियन्ता हुन्। असनका ३७ वर्षीय कायस्थ ‘झिल्के’ टावर शिलान्यास भएदेखि यहाँ आधुनिक निर्माण बन्द गरी खुला सार्वजनिक स्थल बनाउने अभियानमा लागिपरेका छन्। यही क्रममा उपाकू मार्ग खोल्ने विरोध चर्कंदा कायस्थलाई घरैबाट पक्राउ गरिएको थियो।
उनी अहिले पनि टोल–टोलमा गएर ‘आधुनिक टावरले प्राचीन सम्पदा क्षेत्र बिगार्न नदिउँ’ भनी जागरण अभियान चलाइरहेका छन्। ‘संसारमा नेपाल मात्र यस्तो देश होला, जो आफूसँग भएको सम्पदाको अमूल्य सम्पत्ति मासेर कृत्रिम टावर खडा गर्न खोज्दैछ,’ उनी आक्रोशित छन्, ‘यो टावर कसलाई मतलब हुन्छ? विदेशीहरू काठमाडौं आउने भनेको वसन्तपुर, काष्ठमण्डप, यहाँका चैत्य–मन्दिरहरू र प्राचीन सम्पदा क्षेत्र हेर्नलाई हो कि यस्ता व्यापारिक टावरहरू चढ्न?’
स्थानीयको यही विरोध छल्न होला, सुन्धारा क्षेत्रमा जुन गतिमा काम हुँदैछ, त्यो अरू ठाउँमा विरलै देखिन्छ। निर्माणस्थल हरियो जालीले घेरेर दिनरात डोजर चलेको चल्यै गर्छ। यस्तो लाग्छ, चौबीस घन्टामा यहाँ एक सेकेन्ड काम रोकिँदैन। त्यसै पनि यो टावरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। पुनर्निर्माण प्राधिकरणले पनि यसलाई आफ्नो छविसँग जोडेको छ।
‘झिल्के टावरको बजेट पाँच अर्ब रुपैयाँ रे, काम न काजको टावर बनाएर त्यत्रो पैसा बेफ्वाँकमा उडाउनुभन्दा त्यही पैसाले लुँहिति (सुन्धारा) मा कलकल पानी बग्ने बन्दोबस्त किन नगर्ने? यो पूरै क्षेत्रलाई रमणीय पार्कका रूपमा किन विकास नगर्ने? सुन्धारा, असन, इन्द्रचोक, वसन्तपुरजस्ता प्राचीन क्षेत्रका घरहरूको बाहिरी मोहडालाई परम्परागत ढाँचामा पुनर्निर्माण किन नगराउने? काठमाडौंको पहिचान र पर्यटन निम्ति झिल्के टावरभन्दा लुँहितिको कलकल पानी कहाँ हो कहाँ उपयोगी छ। पैसा खर्च गर्नुछ भने हाम्रो मौलिकता र सम्पदा जोगाउने काममा गरौं न,’ कायस्थले आफ्नो मन खोले।
‘प्रधानमन्त्रीले यस्ता काम रोकेर प्राचीन सम्पदा र संस्कृति जोगाउने अभियानमा हातेमालो गर्नुभयो र कुरुप बन्दै गएको सहरको मौलिक स्वरुप फर्काइदिनुभयो भने उहाँ हामी काठमाडौंबासीको हृदयमा सदा–सदाका लागि बास गर्नुहुनेछ। सारा काठमाडौंबासी खुसी हुनेछन्। सारा नेपाली जनता खुसी हुनेछन्। उहाँलाई जनताको खुसी चाहिएको हो कि झिल्के टावरबाट लाभ लिने सीमित व्यापारी र ठेकेदारहरूको?’
ढिलो भइसकेको छैन। यादवलाल कायस्थले भनेझैं सुन्धारालाई पन्ध्र सय वर्ष पुरानो लिच्छविकालीन सांस्कृतिक मार्गकै रूपमा जीवित राख्ने हो भने काठमाडौंमा जन्मेका, हुर्केका, पुस्तौं–पुस्तादेखि यहीँ बसेका र यो सहरलाई माया गर्ने सबैले सरकार र पुनर्निर्माण प्राधिकरणलाई खबरदारी गर्न सक्छन्। सुन्धारा क्षेत्रमा ‘झिल्के टावर’ बनाउन जे–जति काम भए, त्यसलाई बन्द गरेर नयाँ शिराबाट अघि बढ्न सकिन्छ। बरु ठेकेदार कम्पनीले अहिलेसम्म गरेका कामको निम्ति उसलाई सबै जनताको तर्फबाट चाँदीकै प्रशंसापत्र थमाइदिउँ र सुन्धाराबाट विदा गरौं। धराहराको ठूटोलाई जस्ताको तस्तै सिसाले छोपेर भुइँचालोको स्मरणका रूपमा सुरक्षित राखौं। त्यस वरपर काठमाडौंको खास वर्गलाई मात्र लाभ दिने व्यापारिक कम्प्लेक्स होइन, सबै काठमाडौंबासी लाभान्वित हुने खुला सार्वजनिक स्थल निर्माण गरौं।
कल्पना गर्नुस् त — सुन्धाराको प्राचीन ‘लुँहिति’ मा चौबीसै घन्टा छङछङ पानी झर्दैछ। छेउमा २०७२ वैशाख १२ को सम्झना गराउने धरहराको अवशेष छ। वरिपरि हरियो पार्क र केटाकेटी खेल्ने ठाउँ। साँझपख सुन्धाराको खुला थिएटरमा कहिले परम्परागत नाच, कहिले विभिन्न जातजातिका सांस्कृतिक झाँकी। कहिले सांगीतिक उत्सव, कहिले कलाकारहरूको पेन्टिङ। कहिले कुनै कवि आएर सार्वजनिक कविता बाचन गर्छन्, कहिले कुनै लेखक आएर आफ्नो किताबको अध्याय पढेर सुनाउँछन्।
काठमाडौंलाई लेखक, कलाकार, चित्रकार, संगीतकार र प्राज्ञहरूसँग सानिध्य गर्ने ठाउँको बढ्ता खाँचो कि व्यापारिक मालसामान बिक्री गर्ने अर्को थलो चाहिएको? जनताको यस्तो ‘अमूल्य’ ठाउँ कौडीको दाममा कुनै व्यापारिक समूहलाई सुम्पनु सही कि गलत? के यसैमा देशको भविष्य छ? यसैमा काठमाडौंको भविष्य छ?
छ भने भन्नु केही छैन, नभए काठमाडौंलाई यस्तो विनाशतिर जानबाट रोक्न समय घर्किसकेको छैन।
कायस्थले भनेजस्तै सरकारले पनि आफ्नो निर्णयमा पुनर्विचार गरेर सही बाटो अपनाउन सक्छ।
गलत बाटो हिँडेको हिँड्यै गर्नु महागल्ती हो, फर्केर सही बाटो चुन्नु बुद्धिमानी।
...
कथायेँ शृंखलामा हामीले अहिलेसम्म काठमाडौंको भौगोलिक उत्पत्तिदेखि लिच्छविकालीन सहर निर्माण, भुइँचालोपछि उदांग काष्ठमण्डप रहस्य र पन्ध्र सय वर्ष पुराना जात्रापर्वका कुरा गर्यौं। तपाईंहरूले यी विषय पढ्नुभएको छैन भने कथायेँ शृंखलाका अघिल्ला भागहरू प्रारम्भ, पहिलो र दोस्रो अध्याय हेर्नुहोला।
मान्छेलाई आफूले बाँचेको युग प्यारो लाग्छ, बाँच्न नपाएको युगको चासो लाग्छ। हामी इतिहासमा रोमाञ्चित हुँदै मल्लकाल र लिच्छविकालमा ‘स्वर्ण युग’ देख्छौं। के यो सत्य होला? त्यसो हो भने त हामी अधोगतितिर झरेको हुनुपर्यो? के हामी यी पन्ध्र सय वा दुई हजार वर्षमा अधोगतितिर झर्यौं, भन्नुस् त?
हामी जुन कालखण्डमा बाँचिरहेका छौं, त्यो कालखण्डमा केही नभएजस्तो वा केही हुन नसकेजस्तो लाग्छ। बिग्रेका, भत्केका वा विनाशको सम्पूर्ण दोष हामी सरकारलाई दिन्छौं, सत्तासीनहरूलाई दिन्छौं, देशको राजनीतिलाई दिन्छौं। यसको मतलब के पन्ध्र सय वर्षअगाडिको राजनीति अहिलेको भन्दा उत्तम थियो? के त्यतिबेला नेपालमा ‘रामराज्य’ थियो?
जब हामी लिच्छविकालको राजनीतिक इतिहास हेर्छौं, यस्तो लाग्छ सत्तालिप्सा, षड्यन्त्र र अन्तरघात हामीले विरासतमै पाएका हौं। वा, यसो भनौं, त्यति बेलाको राजनीतिक षड्यन्त्र, अन्तरघात र हत्या–हिंसाको दाँजोमा अहिलेको राजनीति धेरै हदसम्म प्रतिस्पर्धात्मक, स्वस्थ र सौम्य छ। राजनीतिक दुष्चक्रबीच पनि हाम्रा पुर्खाले जुन संस्कृति र सम्पदाको अपार भण्डार छाडेर गए, त्यो भने चामत्कारिक मान्नुपर्छ। त्यसलाई आगामी पुस्ताको निम्ति ‘जस्ताको तस्तै’ संरक्षण गरेर राख्ने जिम्मा अब हाम्रो — जनताको, सरकारको र हाम्रो राजनीतिको।
अर्को अध्यायमा हामी पन्ध्र सय वर्षअगाडिको लिच्छविकालीन राजनीतिबारे चर्चा गर्नेछौं। काठमाडौंका यी सहरी संरचना, संस्कृति र जात्रापर्व जुन कालखण्डमा निर्माण भए, त्यो बेलाको राजनीतिक अवस्था कस्तो थियो? सत्ताको बागडोर कसरी एकपछि अर्को शासकको हातमा सर्दै आयो? कसले कसलाई धोका दियो? कसले कसको हत्या गर्यो? को सिंहासनबाट बलजफ्ती निकालिए? को षड्यन्त्रपूर्वक सिंहासनमा उक्ले?
(चौथो अध्याय बुधबार प्रकाशन हुनेछ।)