प्रियंका तुलाचन भिजुअल आर्टिस्ट हुन्। उनले काठमाडौं विश्वविद्यालयबाट बिएफए (ललितकलामा स्नातक) गरेकी छन्।
उनको पुर्ख्यौली थलो मुस्ताङको कुञ्जो हो। पढाइ र कामको सिलसिलामा उनी काठमाडौं बस्छिन्। उनका हजुरआमा र हजुरबुबा बसाइँ सरेर पोखरा आइसके। आमाबुबा भने तातोपानीमा बस्छन्।
अहिले प्रियंका पारिवारिक अभिलेख, पारिवारिक इतिहास, संस्कृति, विरासत र स्मृतिका अभिलेख सामग्रीसँग काम गरिरहेकी छन्। यही क्रममा उनले थकाली समुदायबारे अध्ययन-अनुसन्धान गरिरहेकी छन्। उनी आफै पनि थकाली समुदायकी हुन्। धेरैले उनलाई 'तुलाचन' थरबारे सोधिरहेका हुन्थे। जबाफमा उनी भन्थिन्, 'म थकाली हुँ।'
यसो भन्दा धेरै जना 'थकाली भान्छाघर' सम्झन्थे। कतिलाई थकाली समुदाय पनि छ भन्ने थाहा थिएन। यही अनुभवले प्रियंकालाई आफ्नो समुदायबारे अनुसन्धान गर्ने हुटहुटी जाग्यो। उनले थकालीहरूको चिरपरिचित खानालाई अनुसन्धानको मुख्य विषय बनाइन्। र, यहीँबाट सुरू भयो प्रियंकाको थकाली भान्छा वा खानाको कथा — थप्साङ पे।
अनुसन्धान क्रममा दुई वर्षअघि उनी आफ्नो पुर्ख्यौली गाउँ कुञ्जो गएकी थिइन्। पोखरा र तातोपानीमा पनि यात्रा गरेर थकाली खाना कसरी व्यावसायिक भयो भनेर उनले खोज गरेकी छन्। काठमाडौंमा हुर्किएकाले प्रियंकालाई थकाली समुदायले बोल्ने भाषा आउँदैन। केही समयअघि उनले आफ्नो आखे (हजुरबुवा) सँग भाषा सिकेकी थिइन्।
भाषा सिकाउने क्रममा हजुरबुबाले उनलाई भनेका थिए, 'भाषा संस्कृतिको प्राण हो। भाषा हराए जाति हराउँछ।'
हजुरबुबाको त्यही भनाइ सापट लिँदै प्रियंका भन्छिन्, 'भाषा हरायो भने कतै हाम्रो खाना पनि हराउने हो कि?'
प्रियंका तुलाधनबारे भिडिओ स्टोरी हेर्न यहाँ क्लिक गर्नुहोस्: