सुशीला मिश्रले २५ वर्ष उमेरमै आफ्नो श्रीमान गुमाइन्। काखमा ८ र ५ वर्षका दुई सन्तान थिए।
बस्नलाई वसन्तपुरमा दुई कोठाको घर थियो, तर छाक टार्न कसैको भर थिएन। सासू-ससुरा पहिल्यै बितिसकेका थिए। दुई जना नन्द थिए, तिनको पनि बिहे भइसकेको थियो। यसले दुई काखेबालक हुर्काउने जिम्मेवारी सुशीलाको काँधमा आइपर्यो।
श्रीमान बितेको एक महिना नबित्दै उनले सेतो पहिरन लगाएर कामको खोजीमा निस्किनुपर्यो।
लुगाको रङसँगै जिन्दगीको रङ कसरी उड्दो रहेछ भन्ने उनले बल्ल चाल पाइन्।
एक त आफै चोट सहिरहेकी थिइन्, त्यसमाथि समाजको व्यवहारले मुटु छियाछिया पार्यो। मान्छेहरू सहानुभूति देखाउनु त परै जाओस्, बोल्नधरि हच्किन्थे। बाटोमा अगाडि पर्दा पनि तर्किन्थे। उनलाई देख्दा सातो गएजस्तो मुख बिगार्थे। गर्भवती र बिरामी महिला त सुशीलाको छायालाई पनि अफाप ठान्थे।
यस्तोमा धेरैले कामै दिएनन्। कतिले दिए, तर राम्रो व्यवहार गरेनन्। सँगै हुँदा पनि टाढा बसेर बोल्थे, केही चिज दिनुपरे भुइँमा फ्यात्त राखिदिन्थे।
मान्छेका यस्ता तीता व्यवहार सुशीलालाई सह्य थिएन। तर बाध्यता र सन्तानको जिम्मेवारीले उनी विवश थिइन्।
यो २०४५ सालतिरको कुरा हो।
श्रीमान बितेको लगभग तीन महिनासम्म उनले आत्मसम्मान बलि चढाएर जसोतसो अर्काको घरमा काम गरिन्। त्यसपछि भने एउटा सुखद संयोग उनको दु:खद जिन्दगीलाई कोल्टे फेर्न आइपुग्यो।
सुशीलाले काठमाडौंको नघ:स्थित श्रीघ: विहार अगाडिको प्रभात माध्यमिक विद्यालयमा काम पाइन्।
दिवंगत श्रीमानका मामाको साथीले जुराइदिएको संयोगमा टेक्दै लथालिंग जिन्दगी समेट्न थालेकी सुशीलाले आज ३५ वर्षपछि पनि त्यो संयोगको सहारा छाडेकी छैनन्। उनी अहिले पनि त्यही स्कुलमा काम गर्दै छिन्।
सुशीला मिश्रको जीवनको आरोह-अवरोह पूरा पढ्न क्लिक गर्नुहोस्- घन्टी बजाएरै बित्यो जिन्दगी!
यो स्टोरीको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्: