रमेश ओली काठमाडौंमा ट्याक्सी चलाउँछन्।
उनी २०६३ सालमा एसएलसी दिएर उच्च शिक्षाका लागि दोलखाबाट काठमाडौं आएका थिए। हातमा जम्मा १० हजार रूपैयाँ थियो। त्यसैको भरमा दालमोठ-च्यूरा खाँदै काठमाडौंमा संघर्ष गरे।
बाँच्ने संघर्ष क्रममा उनले रत्नराज्य क्याम्पसमा रात्रिकालीन कक्षा पढ्दै असन, कमलाक्षी र पुरानो बसपार्कतिर घडी बेचे। अरू थुप्रै काम पनि गरे।
यसबीच उनलाई एक जना शुभेच्छुकले गाडी चलाउन सिकाइदिए र ट्याक्सी चलाएर गुजारा गर्ने बाटो देखाइदिए।
२०६८ सालबाट रमेशले व्यावसायिक रूपमा ट्याक्सी चलाउन थाले।
जीवनको आरोह-अवरोहमा कलेज छुट्यो, पढाइ छुट्यो; ट्याक्सी भने निरन्तर चलिरह्यो। आज रमेशसँग चारवटा ट्याक्सी छन्। एउटा उनी आफै चलाउँछन्, बाँकी तीनवटा अरूलाई चलाउन दिएका छन्।
रमेशलाई विदेश जान मन छैन। यो काम छाडेर अरू पेसा-व्यवसायमा लाग्ने मन पनि छैन। उनलाई सबभन्दा ठूलो खुसी ट्याक्सी चालक र यात्रुबीच बढ्दै गएको सुमधुर सम्बन्धले दिएको छ।
केही वर्षअघिसम्म चालक र यात्रुबीच सधैं ठासठुस परिरहन्थ्यो। चालकहरू मिटरमा जान मान्दैनथे। भाडामा कचकच नभई यात्रा सुरू हुँदैनथ्यो। भाडा वृद्धिको माग राख्दै हड्तालमा ओर्लेका बेला ट्याक्सी चालकलाई यात्रुहरू कर्के आँखाले हेर्थे र मुख बिगार्दै भन्थे, 'ठग्न नपाएर हड्ताल गरेका हुन्।'
ट्याक्सी चालकको मजबुरी भने उनीहरूलाई नै थाहा थियो।
आज पठाओ लगायतका विभिन्न एपले ट्याक्सी यात्रा सहज भएको छ। यात्रुहरूले भाडामा कचकच गर्नुपर्दैन। न यात्रु देखेर चालक ठुँस्स पर्छन्, न चालक देखेर यात्रु रिसाउँछन्। अधिकांश यात्रुले पठाओ लगायतका एप प्रयोग गर्ने गरेको रमेशको भनाइ छ। कोही भने एपमा पहिल्यै भाडा हेरेर त्यसैअनुसार जाऊँ भन्छन्।
'पहिलोपटक यात्रु र ट्याक्सी चालकबीच सुमधुर सम्बन्ध बनेको छ,' रमेशले सेतोपाटीसँगको भिडिओ कुराकानीमा भने, 'यो देख्दा निकै खुसी लाग्छ।'
हेर्नुहोस्, सेतोपाटी कन्भरसेसनमा ट्याक्सी चालक/व्यवसायी रमेश ओलीसँगको भिडिओ कुराकानी —