भुटानको ४०० वर्षको कथाः अंक १२
अध्याय तेत्तीसः भम्पा राईले देखेको सपना
‘यो रेडियो नेपाल हो, अब प्रवीण गिरीबाट समाचार सुन्नुहोस्।’
डा. भम्पा राई एकाबिहानै क्लिनिक खोलेर बिरामीका फाइल पल्टाउँदै थिए। जसै बिहान सात बजेको रेडियो समाचार सुरू भयो, उनले भोल्युम ठूलो पारे।
‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट हिजो साँझ नारायणहिटी राजदरबारमा भुटानका नरेश जिग्मे सिंघे वाङचुकसँग भेटवार्ता गरिबक्सेको छ।’
समाचारमा भुटानी राजा जिग्मे सिंघे वाङचुकको नाम मात्र के आएको थियो, भम्पा राईका कान खरायोझैं ठाडा भए। मुटु रेलगाडीझैं धुकचुक धुकचुक दौडिन थाल्यो।
उनले बिरामीका फाइल बन्द गरे र रेडियोको भोल्युम अझै ठूलो पारे।
‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूको स्वदेश फिर्तीबारे भुटानी नरेशसँग छलफल गरिबक्सेको श्री ५ महाराजाधिराजको संवाद सचिवालयले जनाएको छ। उक्त अवसरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि उपस्थित हुनुहुन्थ्यो।’
भम्पा आफू बसिरहेको कुर्सीबाट जर्याकजुरूक्क उठे।
रेडियोको भोल्युम पूरै ठूलो पारे र एक शब्द नछुटोस् भनेर चनाखो हुँदै स्पिकरमै कान टाँसेर समाचार सुन्न थाले।
प्रवीण गिरी भन्दै थिए —
‘उक्त भेटवार्ता क्रममा भुटानी नरेश जिग्मे सिंघे वाङचुकले दक्षिण भुटानका नेपालीभाषी ल्होछाम्पाहरूलाई देशनिकाला गर्नु आफ्नो ठूलो भूल भएको स्वीकार गरिबक्सेको छ। भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले गोरखाका राजा राम शाहसँग दौत्य सम्बन्ध कायम गरी नेपालीभाषी जनतालाई बसोबास निम्ति आमन्त्रण गरेको इतिहास भुटानी नरेशले स्मरण गरिबक्स्यो। नेपाल र भुटानबीच चार सय वर्षदेखि कायम दौत्य सम्बन्धको प्रतीकका रूपमा रहेका ल्होछाम्पा नेपालीभाषीहरूले भुटानको विकास र समृद्धिमा पुर्याएको योगदानको पनि मौसुफ सरकारबाट प्रशंसा गरिबक्सेको संवाद सचिवालयले जनाएको छ।’
भम्पा राई आँखा झिमिक्क नगरी रेडियो स्पिकरमा कान टाँसेरै बसेका थिए।
उत्साह, उत्सुकता र उत्तेजनाले उनको ओठमुख कक्रक्क सुक्दै थियो। तिर्खाले प्याकप्याक हुँदै थिए। गाला रगत चुहिएलाझैं लाल हुँदै थियो।
‘भुटानी नरेशबाट नेपालमा आश्रय लिएर बसेका सम्पूर्ण भुटानी नागरिकलाई स–सम्मान स्वदेश फिर्ता लैजाने प्रतिबद्धता व्यक्त गरिबक्सेको छ। उनीहरूलाई भुटानी सीमा प्रवेश गर्नासाथ जनगणना अभिलेखमा समावेश गराउनुका साथै भुटानी नागरिकताको प्रमाणपत्रसमेत प्रदान गर्ने भुटानी नरेशबाट हुकुम भएको छ।’
‘भुटानी नरेश जिग्मे सिंघे वाङचुकले खुला राजनीतिक प्रणाली अपनाउँदै दलहरू खोल्न अनुमति दिने र आवधिक निर्वाचनका माध्यमबाट सरकार निर्माण गरी राज्य सञ्चालन गर्ने बचन पनि दिइबक्सेको छ। लोकतान्त्रिक ढाँचाको नयाँ संविधान लेखेर ल्होछाम्पासहित भुटानका सबै जातजातिको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हक सुनिश्चित गर्ने मौसुफ सरकारबाट हुकुम भएको छ।’
यति सुनेपछि त भम्पा राईको हंसले नै ठाउँ छाड्यो।
छाती भारी भएर आयो।
खुसीले उनी झन्डै झन्डै बेहोसै होलाजस्तो भए।
उनको हालत सुरूङभित्र थुनिएको त्यो व्यक्तिको जस्तो भयो, जसले धेरै दिन अन्धकारमा हराएपछि बल्लतल्ल उज्यालो ढोका फेला पारेको थियो!
समाचार अझै सकिएको थिएन —
‘शरणार्थीहरूको स्वदेश फिर्ती सहज होस् र शिविरमा विश्वासको वातावरण बनोस् भनेर श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव र भुटानी नरेश जिग्मे सिंघे वाङचुकबाट आज दिउँसो झापा र मोरङका शिविरहरूमा भ्रमण गर्ने कार्यक्रम छ। भुटानी नरेशबाट शिविरमा रहेका शरणार्थीहरूसँग प्रत्यक्ष भेटेर माफी माग्ने इच्छा व्यक्त गरिबक्सेको छ। देश छाडेर हिँडेका भुटानीहरूलाई फुन्सोलिङ सीमामा स्वागत गर्न आफू स्वयं उपस्थित रहने पनि भुटानी नरेशबाट जानकारी गराइबक्सेको छ।’
‘शरणार्थी समस्या समाधान गर्न भुटानी नरेशबाट चालिबक्सेको यस्तो कदमले दुई देशको दौत्य सम्बन्ध अक्षुण्ण रहने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताउनुभयो।’
योसँगै बिहान सात बजेको रेडियो समाचारमा भुटानको खबर सकियो।
त्यसपछि प्रवीण गिरी देश–दुनियाँका अरू खबर पढ्न थाले, जसमा भम्पा राईलाई कुनै चासो थिएन।
उनी त परीक्षाफल प्रकाशित भएर सर्वोत्कृष्ट नतिजा निकालेको विद्यार्थीझैं एक्लै बुरूकबुरूक उफ्रिँदै थिए।
बुरूकबुरूक उफ्रिँदा उनलाई स्वाँस्वाँ सास सम्हाल्न गाह्रो पर्दै थियो।
उनी एकछिन थामिए।
आफू सपनामा छु कि बिपनामा, उनलाई अलमल भयो।
टेबलमा ब्लड-प्रेसर नाप्ने पट्टी थियो। उनले त्यो पट्टी देब्रे पाखुरामा बेरे र दाहिने हातले त्यसमा हावा भर्न थाले। हावा जति भरियो, पाखुरा उति च्यापिँदै गयो।
उनलाई आफू बिपनामै छु भन्ने निश्चित भयो।
उत्तेजनाले होला, प्रेसर रकेटझैं उडेको थियो। तर उनलाई त्यसको के मतलब!
उनलाई त आफ्नी श्रीमती उर्मिलालाई खुसीको खबर सुनाउन हतार भइसकेको थियो। उनी चितुवाझैं उफ्रिँदै क्लिनिकबाट बाहिर निस्के र सात खुड्किलोको भर्याङ दुई पाइलामा पार गर्दै माथि कोठामा पुगे।
मिर्गौला रोगले थला परेकी उर्मिला बेडरूममा आराम गरिरहेकी थिइन्।
भम्पा हुरीको गतिमा कोठाभित्र छिरे र ओछ्यानमा लम्पसार श्रीमतीलाई कसिलो र न्यानो अँगालोमा बेरे।
भम्पाको रवैयाले उर्मिला रनभुल्ल भइन्।
‘के भो हजुरलाई?’ उनले सोधिन्, ‘बिहान बिहानै किन यस्तो खुसी?’
भम्पाले सात बजेको समाचारमा सुनेको भुटानको खबर उर्मिलालाई सुनाए।
रोगले उदास चेहरा उमंगले चम्कियो। थला परेको ज्यानमा जीवन भरिएर आयो।
‘ल ल छिटो तयार हौ, शिविरका साथीहरूलाई खबर सुनाउन जानुपर्यो,’ भम्पाले भने, ‘दिउँसो दुवै देशका राजाको सवारी पनि हुँदैछ।’
भम्पाले यति भन्नासाथ उर्मिला फूर्तिसाथ बिछ्यौनाबाट उठिन्। भम्पा नुहाइधुवाइ गरेर तयार हुन बाथरूम छिरे।
उनले खुसीको गीत गुनगुनाउँदै नुवाइधुवाइ गरे। दाह्रीजुँगा खौरिएर अनुहार चिल्लो पारे। नयाँ लुगा फेरे।
जसै उनी तयार भएर बेडरूममा फर्के, उर्मिला त्यहाँ थिइनन्।
बेडरूम सिनित्त सफा थियो, मानौं त्यहाँ कयौं दिनदेखि कोही छिरेकै छैन!
तन्ना तिनिक्क थियो, सिरक सपक्क थियो, मानौं कयौं दिनदेखि कोही सुतेकै छैन!
बिछ्यौनासँगैको टेबलमा झोल र चक्की औषधिको सधैं थुप्रो रहन्थ्यो, त्यो थुप्रो पनि त्यहाँ थिएन। त्यही टेबलमुनि अस्पतालका फाइलहरू असरल्ल छरिएका हुन्थे, ती फाइल पनि त्यहाँ थिएनन्। उर्मिलालाई बेलाबेला सास फेर्न गाह्रो होला भनेर भम्पाले एउटा अक्सिजन सिलिन्डर कोठामै राखेका थिए। त्यो अक्सिजन सिलिन्डर पनि त्यहाँ थिएन।
कोठामा उर्मिला हुनुको कुनै आभास थिएन।
हावामा उनको बास्नाधरि थिएन।
भम्पा खङरङ्ग भए।
कोठाको उच्चाटलाग्दो शून्यताले बल्ल भम्पालाई अनुभूति भयो — उर्मिला त यो धर्ती छाडेर हावामा हराइसकिन्!
माटोमा मिसिइसकिन्!
उतिन्खेरै भम्पाको नजर भित्तामा झुन्डिएको ऐनामा गयो।
उनले ऐना हेरे।
हेरिरहे।
ऐना रित्तो थियो।
त्यहाँ कोठाका झलकहरू त थिए, तर उनको आफ्नो झलक थिएन।
भम्पाले आफैंलाई ऐनामा देखेनन्।
उनी फेरि खङरङ्ग भए।
ऐनाको उच्चाटलाग्दो रिक्तताले बल्ल भम्पालाई अनुभूति भयो — उनी आफैं पनि त यो धर्ती छाडेर हावामा हराइसके!
माटोमा मिसिइसके!
स्वदेश फर्किने सपना साँचेर तीस वर्षभन्दा बढी शरणार्थी जीवन बिताएका भम्पा राई सपनाजस्तै बिलाइसके!
हावामा फुर्रर भइसके।
भुटानबाट आफूसँगै ल्याएको आँगनको माटोजस्तै!
के भुटानका पूर्वराजा जिग्मे सिंघे वाङचुकले खबर पाए होलान्?
भुटानकी चार पूर्वमहारानीहरू दोर्जी वाङमो, छिरिङ पेम, छिरिङ याङदोन र सांगे छोदेनले थाहा पाए कि पाएनन्?
भुटानकी मुमा बडामहारानी — जिग्मे सिंघे वाङचुककी आमा — आजी केसाङ छोदेनलाई कसैले खबर सुनाइदियो कि सुनाइदिएन?
भुटानी राजपरिवारका सदस्यहरू सोनाम छोदेन, देचेन वाङमो, पेमा ल्हादेन, केसाङ वाङमो लगायतले सुने कि सुनेनन्?
अहिलेका राजा जिग्मे खेसर नामग्याल वाङचुकलाई त यिनको सम्झना पनि नहोला! जम्मा १२ वर्षका त थिए उनी, जब यिनले भुटान छाडे। तैपनि यिनकै काखमा खेलेका हुन्। सानोमा हनहन्ती ज्वरो आउँदा यिनले नै काखीमा थर्मामिटर लगाएका हुन् र यिनले नै निधारमा पानीपट्टी बेरिदिएका हुन्। सिटामोल पनि खुवाएका हुन्। समयको तुवाँलोले सम्झना धमिलो भयो होला, तर झझल्को त बाँकी होला नि! कसैले खबर सुनाइदिएका भए, त्यही धमिलो हुँदै गएको झझल्कोले उनलाई झम्टिन आयो होला कि नाइँ?
कस्तो लाग्यो होला भुटानी राजपरिवारलाई, जब उनीहरूले थाहा पाए होलान् —
डा. भम्पा राई यो दुनियाँमा रहेनन्!
उनै भम्पा राई, जो कुनै बेला भुटानी राजपरिवारका निजी चिकित्सक थिए। जसले राजपरिवारका सदस्यहरूको जीवन, मरण र पल–पलको ढुकढुकीमा साथ दिए।
आज उनै भम्पा राईको ढुकढुकी बन्द भयो भन्ने थाहा पाउँदा तिनको मन भरंग भयो कि भएन होला!
पश्चातापले थोरै भए पनि मन अमिलो पार्यो कि पारेन होला!
भुटान छाडेर हिँडेका सवा लाखभन्दा बढी शरणार्थीमध्ये डा. भम्पा राईको कथा खास छ। किनभने, उनी भुटानी राजसत्ताले लखेटेर शरणार्थी भएका होइनन्। भुटानी सैनिकले बन्दुकको नाल तेर्स्याएर शरणार्थी भएका होइनन्। दरबारले देशनिकाला गरेर शरणार्थी भएका पनि होइनन्।
उनी स्वैच्छिक शरणार्थी हुन्।
उनलाई दरबारको दबाब थिएन। राजपरिवारको निजी चिकित्सकबाट निकालिएका पनि थिएनन्। न व्यक्तिगत रूपमा कुनै अन्याय वा अत्याचार सामना गर्नुपरेको थियो।
उनले चाहेका भए ‘शाही चिकित्सक’ पद र शाही मान–सम्मानका साथ भुटानमा बसिरहन सक्थे।
उनले चाहेका भए भुटानको राजपरिवारले उनलाई आँखाको नानी बनाएर राख्थ्यो।
उनले चाहेका भए सम्भवतः आज पनि भुटानी राजपरिवारका सदस्यहरूको नाडी छामिरहेका हुन्थे।
तर उनले चाहेनन्।
भुटानी राजपरिवारको नाडी छाम्नुभन्दा भुटानी राजसत्ताले निकालेका शरणार्थीहरूको नाडी छाम्ने बाटो उनले रोजे।
भुटानी दरबारको आँखाको नानी बन्नुभन्दा असंख्य शरणार्थी नानीहरूको ओखतीमूलो गर्ने बाटो उनले रोजे।
उनले सोचे — जुन दरबारले भुटानी नेपालीहरूमाथि अत्याचारको कहर बर्सायो, त्यो दरबार मेरो हुन सक्दैन!
उनले सोचे — जुन दरबारले भुटानी नेपालीहरूको राष्ट्रियता खोस्यो र उनीहरूलाई नागरिक हकबाट वञ्चित गर्दै देश छाड्न बाध्य पार्यो, त्यो दरबार मेरो हुन सक्दैन!
उनले यो पनि सोचे — जुन दरबार मेरा नेपाली दाजुभाइ, दिदीबहिनीहरूको आफ्नो हुन सकेन; जसले मेरो नेपाली रगतलाई आफ्नो ठानेन, त्यो दरबार कसैगरी मेरो आफ्नो हुन सक्दैन! राजाले मलाई चिकित्सकका रूपमा त भुटानमा ठाउँ देलान्, दरबारको ढोका खुला पनि राख्लान्; तर एक नेपालीका रूपमा मेरो पहिचान स्वीकार गर्ने छैनन्, नेपाली रगतले सिँचेको मेरो आत्माले भुटानी दरबारमा प्रवेश पाउने छैन!
जुन घडी भम्पालाई यस्तो अनुभूति भयो र जुन घडी उनको मनले भुटानी राजसत्ताबाट नेपालीहरूको ‘जातीय सफाया’ गरिँदैछ भन्ने निधो पायो, त्यही घडी उनले आफ्नो जिन्दगीको सबभन्दा ठूलो निर्णय लिए — सिरक, डसना पोको पारे र श्रीमतीलाई साथ लिएर निजी गाडीमा भुटान छाडे।
भुटान छाड्दा उनले घरको आँगनबाट एक मुठ्ठी माटो लिएर आएका थिए। त्यो माटो जीवनपर्यन्त उनको साथ रह्यो, उनको पूजाकोठामा; उनले नित्य पूजा गर्ने देउताको नजिक।
उनले आफूलाई पछ्याउँदै नेपाल आएका आमाबुवाको चिहानमा त्यही भुटानी माटो छरे।
आफ्नी दिदी र बहिनीको चिहानमा त्यही भुटानी माटो छरे।
मिर्गौला रोगले लामो समय थला परेर दुई वर्षअघि ज्यान गुमाएकी पत्नीको चिहानमा पनि त्यही भुटानी माटो छरे।
र, अन्ततः आफू पनि २०७९ असार ५ गते आइतबार त्यही भुटानी माटो चिहानमा लिएर यो संसारबाट बिदा भए।
स्वदेश फिर्ता हुने सपना साँचेर ३१ वर्ष शरणार्थी जीवन बिताएका र स्वदेश फिर्ता हुनै नपाई संसारबाट फिर्ता भएका डा. भम्पा राईले चिहानमा पल्टिँदा पनि छातीमा भुटानी माटो अँगालेका थिए भन्ने भुटानी राजाले थाहा पाए कि पाएनन्!
जिग्मे सिंघे वाङचुकले डा. भम्पा राईको मृत्युको खबर थाहा पाए कि पाएनन्?
पाए कि पाएनन् हँ!
भुटानको चिराङ जिल्ला, थोकाना गाउँका हर्कजंग सुब्बा पहिलो चरणमै विस्थापित हुने शरणार्थीमा पर्छन्। भुटान छाड्दा उनी ४३ वर्षका थिए, अहिले ७६ का छन्।
बेलडाँगी शिविरको सेक्टर ‘सी’, झुपडी नम्बर ६१/६२ मा स्वदेश फिर्तीको सपना बोकेर बसेका हर्कजंगको सम्झनामा सुरूआती दिनका घाउहरू आलै छन्।
त्यो बेला भुटानी शरणार्थीहरू झापाको माईधारास्थित कन्काई नदी किनारमा बाँसको टहरो बनाएर बसेका थिए। शरणार्थी संख्या बढ्दै गएपछि तिमाई नदी किनारसम्म बसोबास फैलियो। कतिले माईधारामा आश्रय लिए, कतिले तिमाईमा। हर्कजंगले भने आफ्नो पहिलो टहरो माईधारामै गाडेका थिए।
माईधारा र तिमाईको बसाइ एकदमै अव्यवस्थित थियो। सरसफाइमा कसैको ध्यान थिएन। जहाँ फोहोरको भल बगिरहेको हुन्थ्यो, त्यहीँ केटाकेटीको खेल चलिरहन्थ्यो। हिलो र चुह्लो सराबरी थियो। केटाकेटीहरू हिलोमा हेलिन्थे, त्यही हिलो बोकेर चुह्लोमा झुम्मिन्थे। रोगका किटाणु पनि हिलोबाट चुह्लोसम्म पुग्थे। बल्लतल्ल सास फेर्न पाएका बेला सरसफाइमा ध्यान कसको पुग्छ र!
त्यसमाथि आर्थिक अभावले हातमुख जोर्न सकस थियो। झापाका स्थानीय बासिन्दा र केही मनकारी दाताले दाल–चामल बाँड्थे। केहीले मकै ल्याएर दिन्थे। त्यही दाल–चामल र मकैका भरमा कयौं महिना गुजारेको हर्कजंग बताउँछन्।
‘हामी महिनौं महिना मकैको पिठो खाएर बस्थ्यौं। चामल सकिएला कि भनेर खैनीको बट्टामा इत्ती इत्ती खान्थ्यौं। तरकारीको मुख त वर्षदिनै देख्न पाएनौं कि जस्तो लाग्छ। यसले शिविरका केटाकेटी, सुत्केरी र बूढाबूढीलाई पौष्टिक आहारको कमी भयो। धेरै केटाकेटी र सुत्केरी आमाहरू कुपोषणले ग्रस्त भए,’ उनले भने, ‘फोहोरमैलासँग छ्यासमिस भएर बस्दा शिविरमा झाडापखाला र हैजाको महामारी फैलियो। केटाकेटीहरू एकपछि अर्को ओछ्यान परे। माथिबाट पनि तलबाट पनि ह्वारह्वार्ती जान्थ्यो। हरेक घरका हरेक केटाकेटी निस्लोट बिरामी परेका थिए।’
यति मात्र कहाँ हो र! भुटानको चिसो पहाडी हावापानीबाट आएका शरणार्थीहरूलाई झापाको मधेस गर्मी असह्य थियो। आँप पाक्ने यामको तातो हावाले केटाकेटीको छाला यस्तरी उसिन्थ्यो, उनीहरू भुक्लुक भुक्लुक अचेत हुन्थे।
‘हामी करिब पन्ध्र महिना माईधारामा बस्दा चैत, वैशाख र जेठको बीचमा मात्र ८११ जना नानीहरूको ज्यान गयो। कहिलेकाहीँ त दिनकै ३५–३६ जनाको ज्यान जान्थ्यो। शिविरमा बिहानदेखि बेलुकीसम्म छोराछोरी गुमाएका आमाहरूको कंकलाशब्दले मुटु छियाछिया पार्थ्यो। बाँच्ने ठाउँभन्दा मर्ने ठाउँ नपाएर धौधौ थियो,’ हर्कजंगले ३३ वर्षअघिको घटना सम्झिँदै भने, ‘झुपडी त जहाँ बनाएर बसे पनि भयो, मरेकाहरूको लास जहाँ पायो त्यहाँ गाड्ने कुरा भएन! दिनकै दसौं जना मर्न थालेपछि त्यत्राविधि लास कहाँ लगेर गाड्नू! कहाँ जलाउनू!’
‘मैले यही हातले दर्जनौं नानीहरूको लास गाडेको छु,’ उनले अगाडि भने, ‘एउटा टोली चिहान खनेको खन्यै हुन्थ्यो, अर्को टोली लास ओसारेको ओसार्यै हुन्थ्यो। अहिले सम्झिँदा पनि आङ सिरिंग हुन्छ बाबै!’
सन् १९९१ सेप्टेम्बरमा नेपाल सरकारले शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) सँग राहत सहायताको अनुरोध गर्यो। लुथरन वर्ल्ड सर्भिस, क्यारिटस, नेपाल रेडक्रस, अक्सफाम, सेभ द चिल्ड्रेन, विश्व खाद्य कार्यक्रम, सेन्टर फर द भिक्टिम्स अफ टर्चर लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोगको हात बढाए। सबैको सहकार्यले झापा र मोरङका छ ठाउँ बेलडाँगी, खुदुनाबारी, गोलधाप, तिमाई, पथरी र शनिश्चरेमा शिविरहरू बने। माईधारामा अव्यवस्थित रूपले बसोबास गरिरहेका २५ हजारभन्दा बढी शरणार्थीलाई यी छ ठाउँका शिविरमा छरेर राखियो।
यसबीच भुटानी शरणार्थीहरू आउने क्रम थामिएको थिएन। अझ बढेको बढ्यै थियो। सन् १९९२ को मध्यसम्म त यति उत्कर्षमा पुग्यो, हरेक दिन छ सयभन्दा बढी शरणार्थी आउने गरेको नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा उल्लेख गरेका छन्। यो क्रम १९९३ र १९९४ मा बिस्तारै घट्दै गए पनि निमिट्यान्न चाहिँ भएन। १९९५ मा समेत दिनको औसत दुई जनाका दरले आउने क्रम जारी रहेको शिविरका शरणार्थीहरू बताउँछन्।
यी नयाँ आउने शरणार्थीले माईधाराको जस्तो महामारी र अनिकाल भोग्नुपरेन, तर समस्या उनीहरूको पनि कम थिएन। भुटानी राजसत्ताले लखेटेदेखि लपेट्न थालेको रोग, भोक र शोकले शिविरको व्यवस्थित बसाइमा पनि छाडेन। केटाकेटीहरू मर्ने क्रम घट्यो होला, तर बिरामी संख्या करिब करिब उस्तै थियो। झाडापखाला उस्तै थियो। दादुरा र ठेउलाको प्रकोप पनि उस्तै थियो। गर्मीमा मधेसको हावा जति तात्तिन्थ्यो, टाइफाइडको निस्लोट ज्वरोले केटाकेटीको ज्यान उति तात्तिन्थ्यो। दाताहरूको दानमा चलेको जीविकाले शिविरको कुपोषण दूर गर्न सकेन।
त्यही बेला — रोग, भोक र शोकले थिलथिलो पारेका बेला — एक जना व्यक्ति देवदूतझैं अवतरित भएको हर्कजंग सम्झिन्छन्।
‘मान्छेहरू दुःखको भूमरीमा पर्दा स्वर्गका भगवानले धर्तीमा अवतार लिन्छन् भन्ने सुनेको थिएँ, हाम्रा लागि ती व्यक्ति देवदूतझैं प्रकट हुनुभयो,’ हर्कजंगले भने, ‘उहाँको आगमनबाट हामी भुटानी शरणार्थीहरूले धेरै ठूलो त्राण पायौं।’
‘शिविरको महामारी र अनिकालमा उहाँले हाम्रा केटाकेटीको ज्यान बचाइदिनुभयो। सुत्केरी आमाहरूलाई अकालमा मर्नबाट जोगाइदिनुभयो। उहाँकै कारण हाम्रा धेरै सन्तानले यो धर्ती देख्न पाए, सकुशल सास फेर्न पाए। बिरामी बूढाबूढीलाई उहाँको उपस्थितिले ठूलो आडभर दियो,’ उनले भने।
हर्कजंग सुब्बाले भावुक हुँदै ‘देवदूत’ को रूप दिएका ती व्यक्ति अरू कोही होइनन्, उनै डा. भम्पा राई हुन् जो सन् १९९२ को सुरूतिर भुटानको साम्ची गाउँ छाडेर नेपाल आएका थिए।
भुटानी शरणार्थीहरूको उपचार गर्नेमा भम्पा राई एक्ला पक्कै थिएनन्।
युएनएचसिआर लगायत विभिन्न संस्थाहरूको सहयोग र सक्रियतामा स्वास्थ्यकर्मीहरूको टोली नै शिविरमा खटिएको थियो। स्वयंसेवीहरू पनि खटिएकै थिए।
तर एउटा कुरामा कसैलाई दुबिधा नहोला — स्वास्थ्यकर्मीहरूको भीडमा सबभन्दा ठूलो भर भम्पा राईकै थियो।
‘उहाँ हाम्रो आफ्नो मान्छे हुनुहुन्थ्यो। जस्तोसुकै कष्टमा आफ्नो मान्छे अगाडि उभिएको छ भने मन हलुंगो हुन्छ नि, हामी भुटानीहरूका निम्ति भम्पा त्यस्तै हुनुहुन्थ्यो,’ हर्कजंगले भने।
भम्पासँगको यो नाता एकतर्फी थिएन।
जसरी शिविरका शरणार्थीहरू भम्पालाई ‘आफ्नो मान्छे’ ठान्थे, भम्पा पनि भुटानी भनेपछि हुरूक्कै हुन्थे। उनीहरूका लागि जुनसुकै बेला जहाँसुकै जानुपरे पनि जुत्ताको तुना कसिहाल्थे। शिविरमा कसैलाई समस्या पर्यो वा ओछ्यानबाट उठ्नै नसक्ने गरी थला पर्यो भने खबर सुन्नु मात्र पर्थ्यो, उनी हुर्रिएर दैलोमा पुगिहाल्थे।
भम्पाले नेपाल प्रवेशलगत्तै झापाको दमकमा क्लिनिक खोलेका थिए, जहाँ उपचार गर्न आउनेमा भुटानी शरणार्थी नै बेसी हुन्थे। जो पैसा तिर्न सक्थे, उनीहरूले सस्तोमा उपचार पाउँथे। जो एक पैसा तिर्न सक्थेनन्, उनीहरूले पनि ज्यानमा रोग बोकेर फर्किनु पर्दैन थियो। त्यस्ता बिरामीको उपचार भम्पा निःशुल्कै गरिदिन्थे।
पञ्चायतकालीन दरबारको रापताप देखेर हुर्केका नेपालीहरूका निम्ति ‘राजाका डाक्टर’ भनेपछि कम्ता मानमनितो हुँदैन! आममान्छेको हेराइमा त्यस्ता डाक्टर अरूभन्दा त्यसै काबिल मानिन्छन्। भम्पा राई पनि भुटानी राजाका डाक्टर थिए। उनलाई सबैले ‘रोयल सर्जन’ भनेर चिन्थे। दमकमा उनको खुब नाम थियो। भम्पाले चाहेका भए त्यही नाम भजाएर आफ्नो क्लिनिकको कमाइमा चार चाँद लगाउन सक्थे। शरणार्थी जीवनको सकसलाई समृद्धिमा बदल्न सक्थे। तर जसरी उनले राजाको निजी डाक्टर भएर भुटानमै बसिरहन अस्वीकार गरे, त्यसरी नै ‘रोयल सर्जन’ को नाम भजाएर आर्थिक लाभ लिन पनि स्वीकार गरेनन्। राजाको दाहिना भएर बस्न नचाहेका भम्पाले उनकै नाम बेचेर दाम कमाउने कुरा कसरी चिताउन सक्थे र!
उनी त आफूलाई ‘भुटानी राजपरिवारको निजी चिकित्सक’ भनेकोमै आपत्ति जनाउँथे।
‘म कुनै बेला राजपरिवारको उपचार गर्थेँ, यो सही हो; तर जुन दिन मैले देश छाडेँ, त्यही दिनबाट म राजाको निजी चिकित्सक रहिनँ,’ उनले हामीसँगको कुराकानीमा भने, ‘अब कसैले रोयल सर्जन भन्यो भने मलाई अपमान गरेझैं लाग्छ। म त अहिले राजाको विरोधी हुँ। राजाले मेरो नेपाली जाति र मेरो नेपाली रगतको जुन मानमर्दन गरे, म त्यसविरूद्ध उनलाई चुनौती दिँदै प्रतिरोधमा उभिएको छु। त्यसैले मलाई भुटानी राजाको डाक्टर होइन, भुटानी जनताको डाक्टर भन्यो भने बढ्ता खुसी लाग्छ।’
हुन पनि भम्पाले नेपालमा पाइला टेकेदेखि मृत्युको मुखमा पुग्दासम्म ‘भुटानी जनताका डाक्टर’ कै रूपमा ३१ वर्षको शरणार्थी जीवन व्यतीत गरे।
उनको त्यो निःस्वार्थ योगदानको एउटा प्रतिविम्ब दमकको ‘गजुरमुखी’ क्लिनिक हो, जहाँ उनी छिँडीको साँघुरो कोठामा बिरामीको उपचार गर्थे।
हामीले यो कथा शृंखला लेखन क्रममा त्यही क्लिनिकको साँघुरो कोठामा उनलाई चारचोटि भेटेका थियौं र घन्टौं कुराकानी गरेका थियौं। एकचोटि त कुराकानी नसकिएर हामी क्लिनिक बन्द गरीवरी उनको पछि लागेर घरै गयौं।
त्यो बर्खा याम थियो। उनले हामीलाई छतबाट तपतपी पानी चुहिने बेडरूम देखाए, भान्सा देखाए। कर गरेर भात पनि खुवाए र भने, ‘मैले भुटानी राजालाई समेत आफ्नो भान्सामा भात खाने हक दिएको थिइनँ, तपाईंले खाने अवसर पाउनुभयो!’
उनी यति भनेर जोडसँग हाँसे र ‘ठट्टा गरेको है’ भन्दै हाम्रो काँध थपथपाए।
त्यही बेला मिर्गौला रोगले थला परेकी उनकी श्रीमती उर्मिलासँग पनि भेट भयो। साताको दुईचोटि बिर्तामोड लगेर उनको डायलासिस गराउनुपर्थ्यो। नियमित डायलासिसको असरले हुनसक्छ, अनुहार र गोडाहरू सुन्निएका थिए। थकान र पीडाले फतक्कै गलेझैं देखिएकी थिइन्। एकछिन बोल्दा पनि लामो लामो सास फेर्थिन्। तर जसै भम्पाले हाम्रो परिचय गराए, उनको थकित अनुहारमा मुस्कान यस्तरी चम्कियो, जसरी अँध्यारो रातमा जूनकिरीको उज्यालो टिमटिम चम्किन्छ।
उनले अनुहारको थकान र पीडा मुस्कानले सर्लक्कै छोप्दै हामीसँग भनेकी थिइन्, ‘मेरो बूढालाई दुइटा कुरा भए केही चाहिन्न — भुटानी मान्छे र भुटानको कुरा सुनिदिने मान्छे।’
सही हो! हामी स्वयं यसका भुक्तमानी हौं।
भम्पा भुटानको कुरामा यस्तरी मग्न हुन्थे, क्लिनिकमा पालो कुरेर बसिरहेका बिरामीलाई समेत कुराइदिन्थे। कतिचोटि त हामीले नै ‘डाक्टरसाब, पहिले बिरामीको काम सक्काइदिऊँ, त्यसपछि ढुक्कसँग कुरा गरौंला’ भनेर सम्झाउनुपर्थ्यो। अझ भुटानीसँगै भुटानको कुरा गर्न पाए त सुनमा सुगन्ध!
त्यही कुराकानी सिलसिलामा हामीले भम्पालाई सोधेका थियौं, ‘तपाईं त भुटानी राजपरिवारको निजी चिकित्सक, देश छाड्नुपर्ने अवस्था चाहिँ कसरी आयो हँ?’
उनले सबभन्दा पहिला त भुटानी राजाको डाक्टर नभन्न आग्रह गरे। त्यसपछि अगाडि भने, ‘झूटो बोल्नु हुन्न, मलाई राजाले निकालेका होइनन्। अरूलाई जस्तो नागरिकता खोसेर, बन्दुक तेर्स्याएर देशनिकाला गरेका पनि होइनन्। भुटान छाड्नु मेरो व्यक्तिगत निर्णय थियो — ड्याट वाज माई पर्सनल च्वाइस!’
‘राजपरिवारका सदस्यसँग मेरो राम्रो सम्बन्ध थियो। मैले कुनै न कुनै समयमा ती सबैको उपचार गरेको छु। म राजालाई ‘सर’ भन्थेँ। सबैलाई बख्खु लगाउनुपर्ने नियम हुँदा पनि राजाले मलाई छुट दिएका थिए। तर मैले भुटानको अपमान हुने काम कहिल्यै गरिनँ। अरू बेला नलगाए पनि विशेष समारोहहरूमा जहिल्यै बख्खु लगाउँथेँ,’ उनले भने, ‘भुटान छाड्नुभन्दा अगाडिसम्म मेरो जागिर कायम थियो। हो, दरबारले मभन्दा मुनिका केही जुनियर डाक्टरलाई बढुवा गरेर माथि लगेको थियो, तर त्यसले मलाई कुनै अप्ठ्यारो पारेको थिएन। चाहेको भए म आफ्नो पद र हैसियतका साथ भुटानमा बसिरहन सक्थेँ। तर मैले नेपाली जातिमाथि भुटानी राजसत्ताबाट भएको अमानवीय व्यवहार सहन सकिनँ। नेपाली दाजुभाइ, दिदीबहिनीको नागरिक हक खोसेर उनीहरूलाई पशुझैं देशनिकाला गरिएको टुलुटुलु हेरेर बस्न सकिनँ।’
‘देश भनेको भूगोल मात्र होइन। वनजंगल, डाँडापाखा, नदीनाला, माटो र चट्टानले मात्र देश बन्दैन। देश बन्छ त्यहाँ बसोबास गर्ने जनताले। जहाँ जनतामाथि अत्याचार हुन्छ, अमानवीय व्यवहार गरिन्छ, त्यो देश बस्नलायक हुँदैन। भुटानी राजसत्ताले त मेरो नेपाली जातिमाथि, मेरो खुनमाथि नै अन्याय गर्यो। पुर्खौं पुर्खादेखि भुटानको माटोमा रगत–पसिना बगाउँदै आएका नेपालीहरूलाई माटोसँग अलग्याउने पाप गर्यो।’
‘मेरो अन्तरआत्माले नै त्यो पाप हो भनिसकेपछि, म पापमा भागीदार भएर चुप बसिरहन सकिनँ,’ उनले अगाडि भने, ‘राजासँग टाँस्सिएर बसेको भए उनले नेपाली जातिमाथि गरेको अन्यायमा म पनि बराबर भागीदार हुन्थेँ। राजाको पापको भारी मैले पनि बोक्नुपर्थ्यो।’
‘तपाईंलाई भुटानमा अब बस्न सकिँदैन भन्ने चाहिँ कहिले लाग्यो त?’
हाम्रो यो प्रश्नमा उनले एउटा प्रसंग सुनाए —
सन् १९९१ को कुरा। भुटान सरकारले टेकनाथ रिजाललाई नेपालबाट पक्राउ गरेर थिम्पु लगिसकेको थियो। दक्षिण भुटानबाट नेपालीभाषीहरूलाई लखेट्ने क्रम पनि सुरू भइसकेको थियो।
त्यही बेला एकदिन राजा जिग्मे सिंघे वाङचुकका मामासँग भम्पा राईको जम्काभेट भयो।
भम्पा गाडी लिएर कतै जाँदै थिए। बीच बाटोमा राजाका मामाको गाडी उनलाई उछिनेर अगाडि लाग्यो। भम्पाले उनलाई देखेका थिए, तर बोलाएनन्। बरू बाटोमा फेरि भेट होला र कुरा गर्नुपर्ला भनेर सुस्तरी गाडी हाँक्न थाले।
जति सुस्तरी हाँके पनि अलिकति अगाडि भेट भइहाल्यो।
राजाका मामा त भम्पासँग कुरा गर्न भनेर एउटा होटलको आँगनमा गाडी रोकेरै बसेका रहेछन्!
‘कति ढिला हाँक्नुहुन्छ हो डाक्टरसाब!’ राजाका मामा भम्पाको गाडी नजिक आइपुग्नेबित्तिकै ठूलो स्वरमा कराए, ‘माथि तपाईंलाई छुस्स देखेको थिएँ। एकछिन कुरा गर्नुपर्यो भनेर यहाँ कुरेर बसेकै आधा घन्टा हुन लागिसक्यो।’
‘के गर्नु सर, यही एउटा गाडी छ आफ्नो, केही भइहाल्यो भने न गाडी रहन्छ, न म रहन्छु,’ भम्पाले जवाफ फर्काए।
त्यसपछि उनले होटलको आँगनमा गाडी रोके र राजपरिवारका सदस्यलाई गर्नुपर्ने औपचारिक अभिवादन टक्र्याउँदै भने, ‘के कारणले मलाई कुरेर बस्नुभयो त हजुर?’
‘तपाईंसँग खाना खाऊँ भनेर नि,’ राजाका मामाले भने।
उनी खानाकै लागि कुरेर बसेका होइनन् भन्ने भम्पालाई राम्ररी थाहा थियो। सोचे — खानाको निहुँमा केही महत्त्वपूर्ण कुरा गर्न खोजेका होलान्!
राजाका मामाले नै सँगै खाऔं भनेपछि भम्पाले नाइँ भन्न सकेनन्।
दुवैले होटलमा खाना अर्डर गरे।
‘ह्विस्की खानुहुन्छ डाक्टरसाब?’
भम्पाले विनम्रतापूर्वक भने, ‘दिउँसै त नखाऊँ होला।’
राजाका मामाले एक्लै ह्विस्की पिए र त्यही सुरमा दक्षिण भुटानबाट खेदिएका नेपालीहरूको प्रसंग उठाउँदै भम्पालाई सोधे, ‘जे भइरहेको छ, त्यसमा तपाईंको धारणा के छ?’
उनको प्रश्नले सुरूमा त भम्पाको मनमा चिसो पस्यो — कतै कुरा धुत्न खोजेका त होइनन्!
सँगसँगै यो पनि सोचे — कुरा धुत्नै खोजेका भए पनि यिनलाई सबथोक खुलस्त भन्ने हो भने राजासँग सल्लाह गरेर दक्षिण भुटानको आतंक रोक्न सक्छन्! सही सल्लाह दिने मान्छे नभएर पो राजाले गलत कदम चालेका हुन् कि!
यही सोचेर भम्पाले भने, ‘म तपाईंसँग कुरा ढाँट्दिनँ, मनमा जे लागेको छ त्यही भन्छु है!’
‘निःसंकोच,’ राजाका मामाले भने, ‘तपाईंको मनको कुरा सुन्न भनेरै म यहाँ कुरेर बसेको हुँ।’
‘मलाई दक्षिण भुटानमा जे भइरहेको छ, त्यो देखेर साह्रै नराम्रो लागेको छ,’ भम्पाले निर्धक्क भने, ‘राजाले किन यस्तो गरे, मैले बुझ्न सकेको छैन। यी दक्षिण भुटानी नेपालीहरूले सत्ता परिवर्तन गराउन खोजेका थिएनन्। न दक्षिण भुटानमा नेपालीहरूको सत्ता हुनुपर्छ भनेर माग राखेका थिए। यी त खाली नागरिक हुनुको हक माग्दै थिए। आफ्नै जनतालाई उनीहरूको जन्मसिद्ध अधिकार दिन पनि राजालाई किन यतिविधि गाह्रो!’
राजाका मामा ह्विस्की पिउँदै चुपचाप कुरा सुनिरहे।
‘बरू राजालाई नेपाली जनतासँग कुनै असन्तुष्टि थियो भने दरबारमै बोलाएर कुराकानी गरेको भए भइजान्थ्यो। कुनै काम चित्त बुझेको थिएन भने बोलाएर हप्काएको भए भइजान्थ्यो,’ भम्पाले अगाडि भने, ‘सोझासाझा जनता थिए, राजाले भनेको आँखा चिम्लेर मानिहाल्थे। पशुलाई झैं नागरिकता खोसेर लखेट्नुपर्ने त थिएन होला! आफ्नै देशबाट लखेट्नुपर्ने गरी त्यस्तो कुन अपराध गरेका थिए र?’
‘यिनीहरू पुस्तौं पुस्तादेखि राजालाई देउता सरह मानेर बसे। अहिले पनि मानेकै छन्। नागरिकता मात्र नखोस्ने हो भने अरू जस्तोसुकै अन्याय सहनुपरे पनि भुटानी भूमि छाड्दैनन्। राजाले किन यिनलाई आफ्नो नागरिक मान्न अस्वीकार गरे? किन यिनको नागरिक हक खोसेर शरणार्थी बन्न बाध्य पारे? मैले यत्ति कुरा बुझ्न सकेको छैन।’
मनको भडास पोखेपछि भम्पाले भने, ‘बरू तपाईंको राजासँग कुरा हुन्छ होला, यसमा राजाको धारणा के छ, त्यो भन्नुस् न!’
भम्पाको प्रश्नमा राजाका मामाले भने, ‘मलाई पनि दक्षिण भुटानमा भइरहेको घटना चित्त बुझेको छैन डाक्टरसाब। तर के गर्नु! राजा अचेल कसैको कुरा सुन्दैन।’
भम्पाले अचम्म मान्दै सोधे, ‘तपाईं त मामा हो नि, तपाईंको कुरा पनि सुन्दैनन्?’
‘पत्याउनुस् न डाक्टरसाब, ऊ अचेल कसैको कुरा सुन्दैन,’ उनले भने, ‘मामाको त के कुरा, आमाको कुरा पनि सुन्दैन।’
‘किन होला त्यस्तो?’
‘खोइ किन किन? एकदमै एकोहोरिएको छ! कसैले ‘ब्रेन वास’ गरिदिएजस्तो!’ उनले भने, ‘दक्षिण भुटानको विषयमा त झन् कसैले कुरा उठायो भने पनि तर्किहाल्छ, अन्तअन्तै कुरा मोड्छ।’
राजाका मामासँगको उक्त भेटघाटको प्रसंग सुनाएपछि भम्पाले हामीसँग भने, ‘त्यो दिन म झसंग भएँ। मैले सोचेको थिएँ, राजा कुनै भ्रममा होलान्, कसैले नेपाली जातिविरूद्ध कुरा लगाएर भड्काएको होला। जुन दिन आँखा खुल्छ, त्यो दिन राजालाई पछुतो हुनेछ र नेपाली जनतामाथि अत्याचार पनि बन्द हुनेछ। तर जब मैले उनी कसैको कुरा सुन्न तयार छैनन् भन्ने थाहा पाएँ, मेरो मनै मर्यो। नेपाली जातिमाथि सुरू भएको अन्यायको शृंखला अन्तहीन हुनेछ र राजा सजिलै आफ्नो बाटोबाट फर्किनेवाला छैनन् भन्नेमा म ढुक्क भएँ। र, त्यही दिन मैले भुटान छाड्ने निधो गरेँ।’
निधो त गरे, तर सालनाल गाँसिएको थातथलो छाड्न सजिलो थिएन।
उनी एक महिना राम्ररी निदाउन सकेनन्। कहिले आँखा झिमिक्क नगरी छर्लंग रात काट्थे, कहिले झपक्क निदाएको मान्छे आधा रातमा झसंग ब्युँझिन्थे। र, रात–बिरात रक्सी खाएर बस्थे।
‘मेरो अगाडि दुइटा विकल्प थिए,’ उनले भने, ‘या त आफ्ना नेपाली दाजुभाइ, दिदीबहिनी सँगसँगै देश छाडेर हिँड्ने या राजासँग टाँसिएर सुखसयलको जीवन बिताउने।’
‘मैले रात–रातभर जाग्राम बसेर सोचेँ। कहिलेकाहीँ त राति १ बजे उठेर रक्सी खाँदै सोच्थेँ। मेरो दिमाग फनफनी घुमिरहन्थ्यो। मैले आफ्ना बूढा आमाबालाई सम्झेँ। श्रीमतीलाई सम्झेँ। उनीहरूको जिन्दगी सम्झेँ। आफ्नै भविष्य सम्झेँ। देश छाडेर म के गरूँला, कहाँ जाऊँला, कसरी बसूँला! मलाई भुटानबाहिर आफ्नो भविष्य सम्झेर कहाली लाग्थ्यो। तर त्यो कहालीबीच जब जब म काखमा नानीबाबु च्यापेर, झिटीगुन्टा बोकेर देश छाडिरहेका भुटानी नेपालीहरूको लश्कर सम्झिन्थेँ, उनीहरूमाथि भएको अन्याय, अत्याचार र अमानवीय व्यवहार सम्झिन्थेँ, मेरो रगत उम्लिएर आउँथ्यो। उनीहरूले भोग्नुपरेको दुःखका अगाडि मेरो व्यक्तिगत सुखसुविधा र मेरो व्यक्तिगत भविष्यको कुनै अर्थ थिएन।’
‘म राजालाई पनि सम्झिन्थेँ, जो आफ्नो निर्णयमा टसमस थिएनन्। जो नेपालीहरूमाथि भइरहेको अन्यायबारे कसैसँग छलफल गर्थेनन्। कसैको कुरा सुन्नधरि तयार थिएनन्। यस्तोमा राजाको आँखा खुल्ला र अन्यायको शृंखला रोकिएला भनेर आस गर्नु नै व्यर्थ थियो।’
‘कहिलेकाहीँ म नेपाल किन आएँ भनेर मनमनै गम्छु,’ उनले अगाडि भने, ‘नेपाली जातिमाथि भएको अन्याय सहन नसक्नु त एउटा कारण हुँदै हो, त्योभन्दा बढ्ता मलाई अर्कै कारणले तान्यो भन्ने लाग्छ।’
‘के कारण?’ हामी सुन्न उत्सुक भयौं।
‘भुटानबाट लखेटिएका नेपालीहरूले काख–काखमा जुन नानीबाबुहरू च्यापेर हिँडेका थिए, मलाई खासमा ती नानीबाबुहरूको सुर्ताले भुटान छाड्न बाध्य बनाएको हो,’ भम्पाले जवाफमा भने, ‘ती कलिला नानीहरू बस्ने ठाउँमा रोगव्याधि फैलिएला, उनीहरू बिरामी पर्लान्, त्यो बेला यिनको उपचार कसले गर्देलान्, यिनको रेखदेख गर्ने को होला! मलाई यही सुर्ताले नेपाल तानेको हो।’
‘नेपाली जातिलाई हेय दृष्टिले हेर्ने राजाको निजी डाक्टर भएर बस्नुभन्दा त यिनै भुटानी नानीहरूको नाडी छामेर जिन्दगी बिताउँछु भनेर म पछि लागेँ,’ उनले भने।
त्यो बेला देश छाड्ने र नछाड्ने मझधारमा उभिँदा सायद भम्पाले सोचेका थिए — जहाँ नेपाली जातिको बाँच्ने हक खोसिएको छ, त्यहाँ जतिसुकै राजसी सुखसुविधा पाए पनि त्यो सुखसुविधा भोगेर बस्नु भनेको आफ्नो अन्तरआत्मा मार्नु हो। र, अन्तरआत्मा मार्नु भनेको जिउँदै मर्नु!
भम्पाले आफ्नो अन्तरआत्मा मार्न चाहेनन् — जिउँदै मर्न चाहेनन्!
उनी श्रीमतीसहित भारत पसे। केही दिन भारतमै बसे र त्यहाँबाट नेपाल छिरे।
‘म भुटान छाडेर हिँडेपछि मेरो आमाबुवा पनि बसिरहन सक्नुभएन। उहाँहरूमाथि भुटानी सेनाले साह्रो दुर्व्यवहार गरेछ। त्यही सहन नसकेर दिदीबहिनीलाई लिएर मसँगै बस्न आउनुभयो,’ उनले भने, ‘भुटानी सेनाले पछि साम्चीको हाम्रो घर भत्कायो। घर भत्काउन गाउँलेहरूलाई बोलाएका रहेछन्। एक जना पनि अघि नसरेपछि अर्कै गाउँबाट मान्छे डाक्नुपरेछ।’
साम्चीका जनता भड्किएलान् भन्ने डरले डाँडाकाँडा सेना र प्रहरी तैनाथ गरेर आफ्नो घर भत्काइएको भम्पा बताउँछन्।
उनले नेपाल आएपछि शरणार्थी शिविर स्थापना गर्न, शिविरमा स्वस्थ खानपिन व्यवस्था गर्न र स्वास्थ्य उपचार टोली खटाउनमा ठूलो भूमिका खेले। दाल–भात र मकैको पिठो खाएर गुजारा चलाउँदै आएका शरणार्थीलाई कम्तिमा एक छाक तरकारी खुवाउने बन्दोबस्त पनि भम्पाले नै मिलाए।
‘शिविरका मान्छेलाई कुपोषण नलागोस्, हैजा र झाडापखाला नफैलियोस् भनेर रेडक्रस, लुथरन वर्ल्ड सर्भिस लगायत संस्थाहरू गुहारेका थियौं। शिविरको सरसफाइ र पोषणयुक्त स्वस्थ खानपिनको माग राख्यौं। स्वास्थ्य टोली खटाउन आग्रह गर्यौं। म आफैं पनि बिहानदेखि बेलुकीसम्म शिविरहरूमा खटिन्थेँ। बिरामी केटाकेटी र बिरामी सुत्केरीहरूको उपचार गर्थेँ,’ उनले भने।
भुटान छाडेर नेपालमा पाइला टेकेदेखि संसारबाट बिदा नहुञ्जेल भम्पा एउटै मागमा अडिग रहे — स्वदेश फिर्ती।
उनी एक्लै भए पनि भुटान फर्किने निर्णयमा टसमस भएनन्। यहाँसम्म कि, तेस्रो देश पुनर्वास सुरू भएपछि पनि उनले धेरैलाई स्वदेश फिर्तीको माग छाडेर पुनर्वासमा नजान सम्झाएका थिए।
‘सम्झाउन त सम्झाएँ, तर उनीहरूलाई रोक्ने मेरो अधिकार थिएन। जो जान चाहन्थे, उनीहरू गए। जानेहरूसँग मेरो कुनै गुनासो छैन। भुटानले स्वदेश फिर्तीको माग पूरा गर्छ कि गर्दैन, हामी कुनै दिन भुटान फर्किन पाउँछौं कि पाउँदैनौं भन्ने नै अन्यौल थियो। त्यो अवस्थामा तेस्रो मुलुक जाने अवसर छाडेर शरणार्थी शिविरमा बसिराख भनेर म कसैलाई दबाब दिन सक्दिनँ थिएँ,’ उनले भने, ‘म आफू भने भुटान फर्किन्छु भन्नेमा अटल छु। म भुटानी नागरिक हुँ, मेरो पुर्खाले भुटानी माटोमै आफ्नो रगत–पसिना बगाएको छ। त्यसैले भुटानी राजाले मलाई नागरिक हकसहित स्वीकार गर्नुपर्छ भन्ने मेरो एकसूत्रीय माग हो। एक मुठ्ठी सास रहेसम्म म यो माग छाड्दिनँ।’
भुटानी भूमिमा ल्होछाम्पा नेपालीभाषीहरूको हकलाई लिएर भम्पा कतिसम्म स्पष्ट थिए भने, उनी भुटानी राजखलकसहित डुग्–पा, शारछोप, ल्होछाम्पा लगायत सबै समुदायको भुटान प्रवेशको इतिहास समान रहेको बताउँथे। भन्थे, ‘भुटानका सबै जातजाति इतिहासका विभिन्न कालखण्डमा बसाइँसराइ गरेर त्यहाँ पुगेका हुन्। कोही तिब्बतबाट झरे, कोही बर्मा र नेपालबाट सरे।’
‘तिब्बतबाट आएका ङालोङहरू हामीभन्दा अगाडि भुटान पुगेका थिए। तीभन्दा अगाडि शारछोपहरू आए भनिन्छ। हामी ल्होछाम्पा नेपालीभाषीहरू भने अलि पछाडि पुग्यौं। तर आउन त सबै बाहिरबाटै आएका हुन्,’ उनले अगाडि भने, ‘हामीभन्दा पहिले आएका थिए भन्दैमा हाम्रोभन्दा बढी अधिकार ङालोङहरूले पाउनुपर्छ भन्ने म मान्दिनँ। त्यो मानवीय रूपमा स्वीकार्य हुँदैन। राजनीतिक र सामाजिक रूपमा पनि स्वीकार्य हुँदैन। त्यसो हो भने त सबभन्दा बढी अधिकार शारछोपहरूले पाउनुपर्यो, जो ङालोङभन्दा पहिले नै भुटानमा बसोबास गर्न थालेको मानिन्छ। अझ त्योभन्दा बढी अधिकार मध्य भुटानको बुम्थाङ क्षेत्रका खेङहरूले पाउनुपर्यो, जसलाई त्यहाँको आदिवासी नै मानिन्छ।’
‘तिब्बतबाट शरणार्थीका रूपमा आएका ङालोङहरूले भुटानमा शासन गर्न मिल्छ भने हामी नेपालबाट गएका ल्होछाम्पाहरूले समान नागरिक हक पनि माग्न नपाउने?’ भम्पाले प्रश्न गरे, ‘हामी त्यसै घुम्दैफिर्दै, टहल्दै भुटान छिरेका होइनौं। भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले आफ्नो देश आबाद गर्न गोर्खाली राजा राम शाहसमक्ष बकाइदा ताम्रपत्र चढाएर नेपालीहरू पठाइदिन आग्रह गरेका हुन्। तत्कालीन राजसत्ताले देश निर्माणको उद्देश्य राखेर कुनै मुलुकका नागरिकलाई निम्ता गर्छ भने उनीहरूलाई राजनीतिक, सांस्कृतिक र धार्मिक अधिकारसहित बसोबास गराउनु राज्यको कर्तव्य हुन आउँछ। भुटानी राजा यो कर्तव्यबाट च्यूत भए।’
भुटानी राजसत्ताले ङालोङहरूको जातीय वर्चश्व कायम गर्ने अभीष्ट राखेर ल्होछाम्पा मात्र होइन, शारछोपहरूमाथि पनि अत्याचार गरेको र देशबाट लखेटेर शरणार्थी बन्न बाध्य पारेको उनी बताउँछन्।
‘राजाहरूलाई देश भनेको आफ्नो पुर्खाको पेवा हो भन्ने लाग्छ। तर देश कसैको पेवा होइन। राजाको सन्तान भन्दैमा देशको माटो मुठ्ठीमा बोकेर जन्मिएको हुँदैन। त्यसैले माटोमाथि हकदाबी गर्न पाइँदैन। देश भनेको जनताको हो। त्यहाँको माटोमा जनताको रगत–पसिना बगेको छ। त्यसलाई सिँचित गरेको पनि हामीले हो, आबाद गरेको पनि हामीले हो। त्यहाँ अन्न फलाउने पनि हामी हौं, फलफूल बगैंचा लगाउने पनि हामी हौं। बाढीपहिरो आउँदा माटो जोगाउने पनि हामी, त्यही माटोमा जिन्दगी बिताएर त्यही माटोमै मिसिने पनि हामी। त्यसैले माटोमाथि हामी जनताको भन्दा बढ्ता अधिकार राजा–महाराजाको हुनै सक्दैन,’ उनले भने।
‘अहिले पनि करिब दुई लाख नेपालीभाषी भुटानमा छन्। उनीहरूको नागरिकताको हक खोसिएको छ। सम्पत्तिको हक खोसिएको छ। मताधिकार छैन। आफ्नै देशभित्र अनागरिक भएर बाँचेका छन्। बाबुबाजेको खेत डुग्–पाहरूले कमाएर खाइरहेको चुपचाप हेरेर बस्छन्। भुटानले हामी शरणार्थीहरूलाई स्वीकार गर्ने मात्र होइन, त्यहाँ बसोबास गरिरहेका सबै नेपालीभाषीको नागरिक हक पनि सुरक्षित गर्नुपर्यो भन्ने हाम्रो माग हो।’
भम्पा यो पनि भन्थे, ‘दक्षिण भुटानको साम्ची गाउँमा मेरो खेतबारी छ। त्यहाँ मेरो तोदे खोला छ। म त्यही खेलाको पानी खाएर हुर्किएको हुँ र मलाई एकदिन फेरि त्यही खोलाको पानी खान जानुछ। जान सक्छु कि सक्दिनँ, त्यो मलाई थाहा छैन। जान सकेँ भने भुटानी माटोले बनेको मेरो ज्यान भुटानी माटोमै मिल्नेछ। जान सकिनँ भने म यहीँ नेपाली माटोमै मिसिनेछु, जसले मलाई आश्रय दियो। यिनै शिविरमा रहेका भुटानी दाजुभाइ, दिदीबहिनीहरू र मेरा शुभेच्छुक नेपालीहरू मेरो मलामी आउने छन्।’
माटोसँगको यही प्रगाढ मायाले नै होला, आफ्नो सारा श्रीसम्पत्ति भुटानमै छाडेर हिँडेका भम्पा राईले आँगनको एक मुठ्ठी माटो साथमा लिएर आएका!
घरको पूजाकोठामा देउतासँगै राखेको प्लास्टिकको पोकाबाट एक चिम्टी माटो झिकेर देखाउँदै उनले हामीसँग भनेका थिए, ‘मैले यही माटो मेरो बुवाको चिहानमा छरेँ। यही माटो मेरी आमाको चिहानमा छरेँ। हामी बूढाबूढीको सास पनि नेपालमै गयो भने यही माटो हाम्रो चिहानमा छरियोस्!’
भम्पाको अन्तिम इच्छा पूरा भयो — दुई वर्षअघि पत्नी उर्मिलाको निधनपछि उनले आफ्नै हातले पत्नीको चिहानमा भुटानको माटो छरे।
र, २०७९ असार ५ गते उनको आफ्नै चिहानमा पनि त्यही माटो छरियो।
भम्पाले मृत्यु हुनुभन्दा ठ्याक्कै दुई साताअघि सिसासहितको कफिन बाकस अर्डर गरेका थिए। त्यसका लागि बीस हजार रूपैयाँ आफैंले दिएका थिए। उनी कफिन बाकस कहिले आइपुग्छ भनेर सोधिरहन्थे। भन्थे, ‘बिरामी परिरहन्छु, ज्यानको भर छैन। सास छाड्नुभन्दा अगाडि नै चिहानको बन्दोबस्त गर्न चाहन्छु। फ्याट्टै केही भइहाल्यो भने कसैलाई दुःख नहोस्!’
नभन्दै जुन दिन भम्पाले अर्डर गरेको सिसासहितको कफिन बाकस डेलिभरी भयो, त्यही दिन राति उनी बिरामी परे।
उनलाई विराटनगरको नोबेल अस्पताल लगियो।
त्यहीँ उनको प्राण गयो।
आफूले अर्डर गरेको कफिन बाकसमा लम्पसार सुतेर ७५ वर्ष उमेरमा डा. भम्पा राई नेपाली माटोमा विलीन भए।
साथमा थियो भुटानी झन्डा र उनले आफूसँगै ल्याएको भुटानी माटो।
त्यो भुटानी माटोको अवशेष अब बाँकी छैन।
बाँकी छ त केवल भम्पाले देखेको सपना — नागरिक हकसहित भुटान फर्किने सपना!
भम्पा त सशरीर भुटान फर्किन पाएनन्, के सवा लाखभन्दा बढी भुटानी शरणार्थीहरूको निम्ति उनले देखेको सपना पूरा होला!
क्रमशः
दिल र तिलाको प्रेमकथा
झिसमिसेमाझरेको तोडफोड झरीले उनी झसंग ब्युँझे।
सपनाको लामो लहरो टुट्यो।
सपनामा उनी सात वर्षका ‘दिलु’ थिए; ब्युँझिँदा चालीस वर्षका दिल भुटानी उर्फ दिल महत छन्, जो बेलडाँगी शिविरको सेक्टर ‘डी’, झुपडी नम्बर १५ मा बस्छन्।
आमाबुवा, दाजुभाइ, दिदीबहिनी, श्रीमती र छोरीसहित परिवारका सबै अमेरिका र अस्ट्रेलिया उडिसके; उनी चाहिँ स्वदेश फिर्तीको माग लिएर यहाँ एक्लै छन्।
सपनाको घटनाक्रम उनलाई घामजस्तै छर्लंग छ; मानौं त्यो सपना हुँदै होइन, एक रातमा बाँचेको सिंगो जीवन हो।
उनको सपनामा सात वर्षका दिलु आमाबाबुको साथ लागेर ‘भोटान्त’ छाडेर हिँडेका थिए। उनी दिनरात, चौबीसै घन्टा पानी परिरहने ‘सराप’ लागेको यस्तो जंगलमा पुगे, जहाँ रूखका लहराहरू आकाशै छेडुँलाझैं गरी अग्लिएका थिए, आकाशै ढाकुँलाझैं गरी झ्यांगिएका थिए।
जहाँ हरेक रूखको फेद र टुप्पा यस्तरी बांगिएको थियो, मानौं त्यो रूख होइन, ताँदो चढाएर बाण हान्न ठिक्क पारेको धनुको कमान हो। जहाँ रूखका जराहरू भुइँको सतहबाट यस्तरी बाहिर निस्केका थिए, मानौं ती जरा होइनन्, माटो खोस्रेर निस्केका गँड्यौला हुन्। जहाँ रूखका लहरा आपसमा यस्तरी जेलिएका थिए, मानौं ती लहरा होइनन्, माकुरीजालो हुन्।
सपनाको त्यो घना जंगलमा रूखै रूखको अँध्यारो सुरूङभित्र समय पनि अलप भएको थियो — दिन र रात छुट्टयाउन सकिन्थेन। दिन होस् या रात, त्यहाँ प्रकाशको मात्रा सधैं उस्तै हुन्थ्यो। दिउँसो भनुँ भने अँध्यारो अँध्यारो थियो, राति भनुँ भने उज्यालो उज्यालो देखिन्थ्यो।
दुईथोक सपनामा कहिल्यै बदलिएन — उनी सुरूदेखि अन्त्यसम्म सात वर्षकै बच्चो रहे र सधैं आमाको काखमा लुटुपुटु थिए। आमाले उनलाई एकादेशका राजाहरूको कथा सुनाइन्। ती कथामा कहिले उनी हिउँ नै हिउँको देश पुगे, कहिले हिमालयको शिखरबाट आकाश मार्ग हुँदै धर्तीमा झरेको सिद्ध तान्त्रिक लामागुरूसँग साक्षात्कार गरे।
कहिले अनन्तपुरको बैठकमा पुगे, कहिले दस शिरवाला रावणसँग उनको जम्काभेट भयो।
कहिले चाहिँ आकाशबाट झरेको अविरल झरीसँगै लत्तत बगेको हिलो माटोमा उनी बग्दै गए, बग्दै गए — न आमाले हात दिँदा हात भेटे, न बुवाले ढाडस दिँदा साथ भेटे — उनी सपनाभित्रै सपनाको ऐँठनमा परे।
हरेक कथाको एउटा सूत्रधार हुन्छ। कुनैमा लेखक स्वयं सूत्रधार भएर आउँछन्, कुनैमा पात्रलाई सूत्रधारका रूपमा उभ्याइन्छ। हाम्रो यो ‘भुटानको ४०० वर्षको कथा’ शृंखलाका सूत्रधार उनै सात वर्षका दिल भुटानी हुन्, जो चालीस वर्षका दिल महतको सपनाको काल्पनिक पात्र हो।
काल्पनिक पात्र भए पनि कोरा कल्पना चाहिँ होइन। दिल महतको सपनाले केही यथार्थमा टेकेर यी घटनाक्रमको लहरो बुनेको छ। जस्तो —
भुटान छाड्दा दिलको उमेर सात वर्षकै थियो।
भुटान छाड्नुअघि उनको परिवार दुई दिन, दुई रात जंगलमा लुकेर बसेको थियो।
जुन दिन उनीहरूले भुटान छाडे, त्यो दिन आकाशै खस्लाझैं गरी पानी दर्किएको थियो।
र, जहाँसम्म आमाले सुनाएका कथाहरूको प्रसंग छ, त्यसले भुटान र भुटानी नेपालीहरूको इतिहास खोतल्ने दिल महतको हुटहुटी झल्काउँछ।
मान्छेको जीवन नै सपना र बिपनाको मेल हो। यथार्थ र कल्पनाको मिसमास हो। कहिले कल्पना यथार्थमा मिसिएर आउँछ, कहिले कल्पनामा यथार्थ मिसिन्छ। हाम्रो यो कथा शृंखलाको यात्रा पनि त्यस्तै रह्यो — कहिले हामी कल्पनामा उड्दै उड्दै भुटानको इतिहासमा पुग्यौं, कहिले भुटानी नेपालीहरूले बाँचेको जीवन सुन्दै सुनाउँदै कल्पनाको दुनियाँमा अवतरण गर्यौं।
आख्यान र गैरआख्यानको मिसमासले बनेको यो शृंखलाको अन्तिम पडावमा अब हामी तपाईंहरूलाई जुन कथा सुनाउन गइरहेका छौं, त्यो दिल महतको सपना होइन।
उनले बाँचेको जीवन हो।
दिल महतको जीवनमा सबथोक छ, जुन आमभुटानी शरणार्थीको जीवनमा हुन्छ।
डर छ — जुन उनले भुटानी सेनाबाट बच्न दुई दिन, दुई रात जंगलमा बस्दा भोगे।
दुःख छ — जुन भुटानको थातथलो छाडेर आउँदा बेहोरे।
रोग, भोक र शोक छ — जुन शरणार्थी शिविरको बसाइले दियो।
एक्लोपनको पीडा छ — जुन परिवारका सबै सदस्य पुनर्वासमा जाँदा अनुभव गरे।
आँशु छ — जुन उनले गरिबीबाट पाए।
र, यसबाहेक एउटा यस्तो चिज छ, जुन सबै भुटानी शरणार्थीको कथामा हुँदैन —
त्यो हो, प्रेम।
दिल महत र तिलारूपा अधिकारी भुटानको एकै ठाउँबाट आएका होइनन्। दिल सर्भाङका हुन्, तिला दागानाकी।
उनीहरूको शिविर पनि एउटै होइन। दिल मोरङको शनिश्चरे शिविरमा बस्थे, तिला झापाको बेलडाँगी शिविरमा।
अलग ठाउँबाट आएका र अलग–अलग शिविरमा बस्ने दिललाई तिलासँग भेटायो, स्वदेश फिर्ती अभियानले।
दिल स्कुल पढ्दादेखि नै यो अभियानमा लागेका थिए। अरू साथीभाइ छुट्टीपछि खेल्न दौडिन्थे, दिलको दौड अभियान कार्यक्रमतिर हुन्थ्यो। अरू साथीभाइ घुमफिरमा रमाउँथे, दिलको रमाइलो राजनीतिक भेलाहरूमा नेताका भाषण सुन्नमा थियो। ठूलाबडाका कार्यक्रममा हाम्रो के काम भन्दै अरू साथीभाइ तर्किएर हिँड्दा दिल भने कसैले नबोलाए पनि लुसुक्क छिर्थे र कुनामा टुसुक्क बसेर नेताहरूका कुरा सुनिरहन्थे। उनलाई नाचगानमा रूचि थिएन, उनको रूचि या त साहित्यिक कार्यक्रममा थियो, या राजनीतिक धर्ना र मोर्चाहरूमा।
सन् १९९६ मा भुटानी शरणार्थीहरूले पहिलो चरणको स्वदेश फिर्ती आन्दोलन गरे। शिविरबाट थिम्पुसम्म ‘शान्ति पदयात्रा’ आयोजना गरियो। शरणार्थीहरू हातहातमा ब्यानर र प्लाकार्ड बोकेर ‘भुटान हामी जान्छौं जान्छौं’ भन्दै पदयात्रामा निस्के।
जसै मेची पुल तरे, भारतीय प्रहरीले धरपकड सुरू गर्यो।
प्रहरीको गोली लागेर एक जना विद्यार्थीको ज्यान गयो। लठ्ठी र अश्रुग्यास खाएर कयौं घाइते भए। दर्जनौं पक्राउ परे। एउटा समूह पक्राउ पर्थ्यो, त्यसलाई प्रतिस्थापन गर्न अर्को समूह जान्थ्यो। त्यो समूह पक्राउ परेपछि फेरि अर्को समूहले प्रतिस्थापन गर्थ्यो।
यो सिलसिला धेरै दिन चल्यो।
उनीहरूले भुटानी सीमा टेक्न त के, भारतीय भूमि छिचोल्नधरि पाएनन्।
सयौं शरणार्थीले स्वदेश फिर्तीको नारा घन्काउँदै आमगिरफ्तारी दिए।
दिल महत गिरफ्तारीमा त परेनन्, तर उनी पनि भुटानी शरणार्थी नेता टेकनाथ रिजालको तस्बिर छातीमा टाँसेर तातो घाममा नारा लगाउँदै मेची पुलसम्म पुगेका थिए। त्यति बेला उनी जम्मा एघार वर्षका थिए।
उमेर बढ्दै गयो, उमेर सँगसँगै राजनीतिक चेतना पनि चुलिँदै गयो।
देशबाट अन्यायपूर्वक निकालिएका भुटानीहरूको न्यायका लागि लड्नुपर्छ भन्ने विचारलाई दिलले आफ्नो दर्शन बनाए। र, यो न्यायका लागि स्वदेश फिर्ती नै न्यूनतम सर्त हो भन्ने मान्यतालाई आफ्नो मन्त्र माने।
त्यो समय शिविरका युवाहरू एक ढिक्का भएर स्वदेशी फिर्तीको नारा उचाल्दै थिए। तिला तिनैमध्ये एक थिइन्।
दिल र तिलाको भेट राजनीतिक कार्यक्रमकै बीचमा भयो।
दुवैको विचार मिल्यो, दर्शन मिल्यो।
दुवै एकअर्कासँग प्रेम गर्न थाले।
पहिलो प्रस्ताव दिलले राखेका थिए। दुई सातापछि तिलाले हुन्छ भनिन्।
उनीहरू अभियानमा सँगसँगै हिँड्थे। सँगसँगै धर्नामा उभिन्थे। सँगसँगै नारा लगाउँथे, सँगसँगै विचार साट्थे। र, यही मेलोमा मायाप्रेम पनि साटासाट गरे।
यता अभियान घनिभूत हुँदै गयो, उता दिल र तिला घनिष्ठ हुँदै गए।
सन् २००७ को आखिरीतिर तेस्रो देश पुनर्वास कार्यक्रम सुरू भयो। यसले स्वदेश फिर्ती अभियान शिथिल हुन पुग्यो। धेरैलाई अमेरिका र अस्ट्रेलियाको आकर्षणले तान्यो। भुटानबाट लखेटिएर नेपाल आएदेखि दुःख, पीडा र अभावमा बाँचिरहेका शरणार्थीहरूले पुनर्वासमा आफ्नो पुनर्जीवन देखे। कतिले भने भ्रम पनि माने र यो भ्रममा अल्झिएर स्वदेश फिर्तीको सपनाबाट नभट्किन अरूलाई सम्झाए।
शिविरको जनमत बञ्चरोले मूढा चिरेजस्तो फक्लक्क दुई चिरामा बाँडियो। बहुसंख्यकले पुनर्वास रोजे, थोरै स्वदेश फिर्तीको पक्षमा उभिए।
के त्यो बञ्चरोले दिल र तिलाको प्रेमलाई पनि चिरा पार्यो?
के उनीहरूबीच पुनर्वास र स्वदेश फिर्तीको पर्खाल खडा भयो?
शिविरमा पुनर्वासको हुन्डरी चलेका बेला दिल र तिलाको जिन्दगीलाई पनि त्यसले नहल्लाउने त कुरै थिएन।
सन् २०११ मा दिलको सारा परिवार — आमाबुवा, पाँच दाजुभाइ, दुई दिदीबहिनी, हजुरबुवा, हजुरआमा, पाँच जना काकाहरू, काकाका छोराछोरी, तीन जना फुपू, फुपूका छोराछोरी — पालैपालो अमेरिका गए।
परिवारका सबै सदस्य अमेरिका जाँदै गर्दा दिललाई पनि दबाब आयो। तर उनले पुनर्वासको प्रक्रिया नै सुरू गरेनन्।
आमाले सम्झाइन्। उनी मानेनन्।
धर्धर्ती रोइन्। तैपनि मानेनन्।
बुवा रिसाए। उनी मानेनन्।
हप्काए। तैपनि मानेनन्।
हजुरबुवा, हजुरआमाले पनि ‘तँलाई एक्लै छाडेर कसरी जाने बाबु’ भन्दै आँशु बगाए। दिल मान्दै मानेनन्।
उनी स्वदेश फिर्ती अभियानमा अटल रहे।
जन्मेदेखि बाक्लो परिवारमा बस्दै आएका दिल एकदिन अचानक एक्लो भए।
‘सबै जना अमेरिका उडेको दिन म खुब रोएको थिएँ,’ दिलले हामीसँगको कुराकानीमा भने, ‘मलाई एकदमै एक्लो अनुभूति भएको थियो। एक्लोपनले रातभरि छोप्न आएको थियो।’
उनलाई परिवारको मायाले नतानेको होइन, तर एक्लै भए पनि भुटान फर्किने निश्चयको धागोले मन बाँधेर राखे।
त्यो समय दिलको एक्लोपनमा सहारा बनिन्, तिला।
तिलाको परिवारले पनि अस्ट्रेलिया जाने प्रक्रिया सुरू गरिसकेको थियो। तिलाको त्यसमा सहमति थिएन। उनी दिललाई छाडेर जान चाहन्न थिइन्। भुटान फर्किएर आफ्नो आन्दोलन टुंगोमा पुर्याउने उनको पनि धोको थियो।
आमा रिसाइन्। उनी मानिनन्।
घुर्की देखाइन्। तैपनि मानिनन्।
बुवाले सम्झाए। उनी मानिनन्।
बोल्नै छाडे। तैपनि मानिनन्।
दुवैलाई पृथ्वीको दुई विपरीत गोलार्द्धले तान्दै थियो, जहाँ मौसम पनि एक समान थिएन। एकातिर लुगलुग काम्ने जाडो भए अर्कातिर पसिना छुट्ने गर्मी!
दुई गोलार्द्धको आकर्षणले चुम्बकझैं तानेको तान्यै गर्दा पनि यी दुई प्रेमी कसैगरी आसक्त भएनन्। बरू त्यही समयतिर उनीहरूले विवाह गर्ने निधो गरे।
निधो त गरे, तर भोलि कुनै दिन पुनर्वासले सम्बन्धमा अन्तरविरोध ल्याउला कि भन्ने डर दिलको मनमा थियो।
उनले तिलालाई भने, ‘अहिले हाम्रो विचार एउटै छ, उद्देश्य एउटै छ। सधैं एउटै रहन्छ भन्ने छैन। म पुनर्वासमा जाँदै जान्नँ, यसमा अटल छु। तर आफ्नो विचार र उद्देश्यका लागि तिम्रो बाटो पनि रोक्ने छैन।’
‘कुनै दिन तिमीलाई पुनर्वासमा जान मन लाग्यो भने मलाई हेरेर मन मार्नुपर्दैन। निःसंकोच जान सक्छौ। म तिमीलाई रोक्दिनँ,’ दिलले भने, ‘एउटा बाचा चाहिँ तिमीले पनि गर्नुपर्छ। तिमीले पुनर्वासमा जाने मन बनायौ भने मलाई सँगै जाऔं भनेर कर गर्न पाउँदिनौ।’
तिलाले बाचा गरिन् र भनिन्, ‘म तिम्रो सिद्धान्तको सम्मान गर्छु। सधैं गरिरहनेछु। त्यसैले तिम्रो सिद्धान्तमा सारथि भएर बस्न सकिनँ भने पनि तिमीलाई आफ्नो उद्देश्यबाट अल्मल्याउने काम म कहिल्यै गर्दिनँ।’
उनले यो पनि भनिन्, ‘सके जीवनभर सारथि बनूँला, नसके पनि जीवनभर तिम्रो साथ चाहिँ छाड्दिनँ।’
यो बाचा तिलाको मात्र थिएन, तिलाको हात समातेर दिलले पनि यस्तै बाचा गरेका थिए।
प्रेमिल जोडीको मनालापबाट एउटा प्रेमिल निष्कर्ष निस्किएको थियो — कसैको बाटोमा कोही अवरोध नबन्ने, साथ पनि कसैले कसैको नछाड्ने!
यस्तो बाचा गर्दै गर्दा सायद आकाश र धर्ती पनि इन्द्रधनुषले आपसमा गाँसिएका थिए कि!
यही इन्द्रधनुषी बाचाका साथ सन् २०१२ मा दिल र तिलाले विवाह गरे।
विवाहपछि सन् २०१३ डिसेम्बर २ मा उनीहरू शनिश्चरे शिविरबाट बेलडाँगी सरे।
‘शनिश्चरेमा म एक्लै थिएँ, परिवारको कोही बाँकी थिएन,’ दिलले भने, ‘बेलडाँगीमा तिलाको माइती थियो। अरू नातेदार पनि थिए।’
बेलडाँगी सरेकै महिना डिसेम्बर २९ मा छोरी अश्लेषाको जन्म भयो।
छोरीको आगमनले दिल र तिलाको आँगनमा यस्तो रौनक छरियो, मानौं जिन्दगीको मिठासमा केशरको रङ थपिएको होस्!
मौसम बदलिँदै गयो — घाम रापियो, सेलायो। झरी दर्कियो, थामियो। कहिले फूल फुले, कहिले फल फले।
मौसमसँगै अश्लेषा हुर्किँदै गइन्।
यसबीच स्वदेश फिर्ती अभियान झन् झन् शिथिल हुँदै गयो। पुनर्वास कार्यक्रमले झन् झन् व्यापकता पायो।
शिविरका मान्छे हरेक दिनजसो अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपेली मुलुक उड्न थाले। पुनर्वासमा जानेहरूको रौनकले शिविरलाई छपक्कै छोप्यो। हरेक साँझ कुनै न कुनै झुपडीमा मादल घन्किन्थ्यो, नाचगान चल्थ्यो।
पुनर्वासमा जान्नँ भनेर बस्नेहरू बिस्तारै नगन्य हुँदै गए।
तिलाको परिवार पनि अस्ट्रेलिया उड्यो। माइतीबिना एक्लिएर उनी निन्याउरी भइन्। अस्ट्रेलिया गएका आमाबुवा, दाजुबहिनीले स्वदेश फिर्तीको हठ छाडेर अस्ट्रेलिया आउन कर गरिरहे।
परिवारको करकापलाई तिलाले कुनामा पन्छाएर बसिन्।
दिन बित्दै जाँदा छोरीको भविष्यले उनलाई पिरोल्न थाल्यो। उनले शिविरको दसा हेरिन् र पुनर्वासमा गएका आफन्तहरूको दिशा हेरिन्। दुवैलाई एकअर्कासँग दाँजिन्।
उनले सोचिन् — दुःख दुवैतिर छ, तर शिविरको दुःख अनन्त छ! यहाँ अन्धकार सिवाय केही छैन! पुनर्वासमा भलै अहिले दुःख होला, तर त्यो दुःखले उज्यालो भविष्यको ढोका खोल्न सक्छ!
उनले यो पनि सोचिन् — शिविरको दुःखमा छोरीको भविष्य सप्रिँदैन! ऊ दुःखमै हुर्किन्छे, दुःखमै बाँच्छे! अस्ट्रेलिया गई भने कम्तिमा राम्रो स्कुल पढ्न पाउँछे! राम्रो वातावरणमा हुर्किन पाउँछे! भविष्य सप्रिन्छ!
तिलाले आफ्नो सोच दिलसँग बाँडिन्।
छोरीको भविष्यको कुरा उठेपछि दिलले पनि नाइँ भन्न सकेनन्।
भारी मनले जवाफ दिए, ‘हुन्छ जाऊ।’
‘अनि तिमी?’ तिलालाई जवाफ थाहा थियो, तैपनि उनले सोधिन्।
दिलले कुनै जवाफ दिएनन्। मुसुक्क हाँसे मात्र।
त्यो हाँसो नै उनको जवाफ थियो।
तिलाले थप केही भनिनन्।
विवाहअघिको प्रेमिल मनालापले निकालेको प्रेमिल निष्कर्ष उनले भुलेकी थिइनन्।
तिलाले दिलको हात समातिन् र भनिन्, ‘म तिमीलाई कर गर्दिनँ। हामीले एकअर्काको निर्णय स्वीकार गर्ने बाचा गरेका छौं। म तिमीसँग दुःखै दुःख सहेर पनि हाँसी हाँसी जिन्दगी बिताइदिन सक्छु। तर हामीले आफ्नो दुःखको बीचमा छोरीको सुख खोज्न सक्छौं भने उसलाई त्यो सुखबाट टाढा किन राख्नू!’
‘तिमीलाई यहाँ एक्लै छाडेर मलाई एक पल सन्तोक हुने छैन भन्ने थाहा छ,’ तिलाले अगाडि भनिन्, ‘यो पनि थाहा छ, हाम्रो यहाँको दुःखले छोरीलाई पनि दुःखबाहेक केही दिँदैन। म अस्ट्रेलिया गएँ भने हामीलाई दुःख त हुन्छ, तर त्यो दुःखले छोरीको भविष्य सपार्नेछ, उसलाई भोलि सुख दिनेछ।’
दिलले तिलाको हात च्याप्प समाते।
नजिक ताने।
दिल र तिला निकै बेर न्यानो र कसिलो अँगालोमा बाँधिए।
विछोडको अनुभूतिले ल्याएको पीडा आँशु बनेर पोखियो।
तिलाले आफू र छोरी अश्लेषाको निम्ति अस्ट्रेलिया जाने प्रक्रिया सुरू गरिन्। यसका लागि दिलसँग सम्बन्ध विच्छेद गर्नुपर्थ्यो। श्रीमान र श्रीमतीमध्ये एक जना मात्र पुनर्वासमा जाँदा सम्बन्ध विच्छेद अनिवार्य थियो। यही नियमले शिविरमा धेरैको जोडी छुट्टिएको थियो। कति जोडीले त एकअर्कालाई थाहापत्तो नदिई सम्बन्ध विच्छेद गरेका उदाहरण छन्।
रोचक कुरा के भने, चन्द्रगढी जिल्ला अदालतले भुटानी शरणार्थीका हकमा सम्बन्ध विच्छेदको फाइल एकै दिनमा पास गरिदिन्थ्यो। अरूलाई जस्तो सम्बन्ध विच्छेदका नियम उनीहरूका लागि लागू हुन्थेन।
बिहान दस्तखत गरेर अदालतमा सम्बन्धको फाइल पेस गर्यो, दिउँसोभरिमा विच्छेद भइसक्थ्यो।
दिल र तिला पनि एकदिन बिहानै चन्द्रगढी गए।
त्यसो त बेलडाँगीबाट चन्द्रगढी बढीमा दुई घन्टाको सफर हो, तर त्यो दिन दिल र तिलालाई सफर कहिल्यै नटुंगियोस् झैं लाग्यो। फेरि त्यही दिन यस्तो भान भयो, मानौं दुई घन्टाको सफर दुई मिनेटमै कटेको होस्!
सम्बन्ध र सफर उस्तै हुन्छ — मन मिल्ने साथी छ भने दुरी कटेको पत्तै हुँदैन!
बिहान सँगसँगै गएका उनीहरू बेलुकी फर्किँदा पनि सँगसँगै फर्के। जाँदा र आउँदा सम्बन्धमा धर्ती–आकाशको दुरी आइसकेको थियो — जाँदा एक थिए, फर्किँदा कानुनी रूपले दुई भएका थिए।
धर्ती र आकाशमा जति दुरी होस्, क्षितिजमा दुवै एक हुन्छन्। दिल र तिलाको सम्बन्धमा पनि कागजी दुरीको अर्थ थिएन। कागजी प्रक्रिया फगत नाटक हो भन्ने उनीहरूले बुझेका थिए। मान्छेको सम्बन्ध मनले गाँस्छ, कागजले होइन भन्ने पनि उनीहरूलाई थाहा थियो।
सब थाहा हुँदाहुँदै कहिलेकाहीँ मनको भारी अथाह हुँदो रहेछ! थाहा पाएको मनले पनि त्यो भारी थाम्नै सक्दो रहेनछ!
दिल र तिलालाई चन्द्रगढी अदालतमा उभिएर सम्बन्ध विच्छेदमा दस्तखतको मोहर लगाउँदा त्यस्तै भयो।
जसरी नाटक खेलिरहेका कलाकारहरू काल्पनिक पात्रको भावनामा डुबेर सक्कली आँशु धर्धर्ती बगाउँछन्, सम्बन्ध विच्छेदको यो नाटकमा पनि दिल र तिला यस्तरी डुबे, उनीहरूका आँखाबाट सक्कली साउनेझरी थामिँदै थामिएन।
दस्तखत नै लतपत होलाझैं गरी हात थरथर कामे।
उभिनै ढलपल होलाझैं गरी गोडा लगलग हल्लिए।
जीउभरि दुःख र विस्मातको सिहरन दौडिएर उनीहरू असिनपसिन भए।
‘हामीले आफूलाई सम्हाल्नै सकेनौं,’ दिलले हामीसँग भने, ‘तिला रोइन्, म पनि खुब रोएँ।’
त्यसको केही समयमै तीन वर्षकी छोरी अश्लेषालाई लिएर तिला अस्ट्रेलिया उडिन्। यो सन् २०१६ को कुरा हो।
दिल महत फेरि एकचोटि शिविरमा एक्लो भए।
श्रीमती र छोरीको बानी लागिसकेको थियो, दुवै नहुँदा शिविर नै उनलाई बिरानो लाग्यो।
सँगै बसेर दुःखसुखमा साथ दिनुपर्ने श्रीमान–श्रीमती दुःखसुखको सूचना मात्र दिन सक्ने भए।
कसिलो र न्यानो अँगालो मेसेन्जरको लभ इमोजीमा बदलियो।
काखमा राखेर माया गर्दै हुर्काउनुपर्ने छोरी मेसेन्जरमै हुर्किँदै गइन्।
झुपडी नै उज्यालो पार्ने छोरीको मुहारलाई मोबाइलमै हेरेर चित्त बुझाउनुपर्ने भयो।
श्रीमती, छोरी र आफूलाई एउटै फ्रेममा देख्ने रहर भिडिओ कलको दृश्यमा खुम्चियो।
यो साल दिल र तिलाले सम्बन्ध विच्छेद गरेको सात वर्ष पूरा भयो। अश्लेषा नौ वर्षकी भइन्। यहाँबाट जाँदा अक्षर चिनेकी थिइनन्, अहिले तीन कक्षा पुगिसकिन्। उनीहरू अस्ट्रेलियाको तास्मानियामा बस्छन्।
कसैको निम्ति मन कतिसम्म बेचैन हुन सक्दो रहेछ भन्ने दिलले यो सात वर्षमा थाहा पाए। अचेल उनी मनको उकुसमुकुस कवितामा उरूङ लाउँछन्। साहित्यिक कार्यक्रमहरूमा समय कटाउँछन्। तैपनि उनलाई समय ढिलो हिँडिरहेझैं लाग्छ। एक्लो मुटुको ढुकढुकी यति तेज छ, समयको सुस्त रफ्तारले त्यसलाई भेट्दै भेट्दैन!
समयभन्दा छिटोछिटो दौडिँदा सास फेर्न पनि गाह्रो हुन्छ सायद, किनकि बेलडाँगीको हावामा तिला र अश्लेषाको सुगन्ध जो छैन!
सास फेर्नलाई यो हावा पनि प्रिय लाग्दैन सायद, किनकि त्यसले तिला र अश्लेषालाई छोएर जो आउँदैन!
कसले भन्यो मान्छेलाई बाँच्न हावा र पानी चाहिन्छ। गलत हो त्यो — बाँच्नलाई त सिर्फ आफ्नोको साथ चाहिन्छ!
यो कथा शृंखला लेखन क्रममा हामी एकदिन दिल महतको झुपडी गएका थियौं। उनले भित्तामा छोरी र श्रीमतीको तस्बिर टाँसेका थिए र त्यही तस्बिर हेर्दै हामीसँग भनेका थिए, ‘छोराछोरीको माया कस्तो हुँदो रहेछ भन्ने मैले अहिले आएर बुझेको छु। छोरीलाई सम्झँदा मलाई जति पीडा हुन्छ, मलाई सम्झँदा मेरा आमाबुवालाई त्यस्तै पीडा हुँदो हो! छोरी नहुँदा मलाई जति एक्लो महसुस हुन्छ, मलाई यहाँ एक्लै छाडेर जाँदा आमाबुवालाई त्यस्तै भएको हुँदो हो!’
यसो भन्दै गर्दा दिल भावुक सुनिएका थिए। शब्दपिच्छे स्वर भासिँदै गएको थियो। आँखाको सरोवर टिलपिल हुँदै थियो।
‘अहिले पनि आमाबुवाले अमेरिका आइज भन्न छाड्नुभएको छैन,’ दिलले भने, ‘फोनमा कुरा गरेपिच्छे ‘तँ साँच्चिकै नआउने’ भन्नुहुन्छ, मसँग उहाँहरूलाई दिने कुनै जवाफ छैन।’
दिलसँग कुरा गर्दा उनका आमाबुवालाई जस्तो हुन्छ, अश्लेषासँग बोल्दा दिललाई त्यस्तै हुन्छ।
हरेकचोटि फोनमा अश्लेषा भन्छिन्, ‘बाबा तिमी नआउने? मेरा सबै साथीका बाबामामु सँगै बस्छन्, तिमी चाहिँ किन सधैं फोनमा मात्र आउँछौ, किन हामीसँग बस्दैनौ?’
दिलसँग छोरीलाई दिन पनि कुनै जवाफ छैन!
उनलाई बेलाबेला डर पनि लाग्छ —
हिजोभन्दा आज हलक्क बढ्दै गएकी छोरी आजभन्दा भोलि मबाट टाढिँदै जाने त होइन!
कुनै दिन उसले अचानक मलाई चिन्नै छाडी भने!
कुनै दिन ऊ मसँग कुरा गर्न मेसेन्जरमै आइन भने!
मेरो फोन आउला भन्ने डरले मेसेन्जर नै अफ राखी भने!
जसै यस्तो खयाल मनमा आउँछ, उनलाई मुटु उफ्रेर घाँटीसम्मै आइपुगेझैं हुन्छ।
अनि तिला?
के तिला र दिलको सम्बन्ध अहिले पनि उस्तै छ?
सात वर्षको विछोडले सात जुनीको सम्बन्धमा कुनै असर त पारेन? दुरीले प्रेममा दरार त ल्याएन?
भन्नेहरू भन्छन् — मान्छे टाढिएपछि सम्बन्ध पनि टाढिन्छ!
दिल र तिलालाई भने एकदिन पनि टाढिएको अनुभूति छैन। टाढाको ढोलक सुमधुर सुनिन्छ भनेजस्तै टाढाको माया झन् झन् सुमधुर हुँदैछ।
यस्तो लाग्छ, मानौं तिलाको ढुकढुकी कोसौं टाढाबाट दिलको कानमा ठोक्किन आइपुग्छ!
र, दिलको ढुकढुकी हावासँग बहँदै, हावालाई पछ्याउँदै कोसौं टाढा तिलाको ढुकढुकीमा समेटिन पुग्दैछ!
‘जीवनमा धेरै उतारचढाव आए, तर हाम्रो माया उस्तै छ,’ दिलले हामीसँग भने, ‘उसले चाहेकी भए अस्ट्रेलिया गएर अर्को बिहे गर्न सक्थी। कानुनी रूपमा हाम्रो डिभोर्स भइसकेको थियो, उसलाई अर्को बिहे गर्न कसैले रोक्न सक्थेन — न मैले, न अरू कसैले! मान्छेहरू सधैं सँगै हुँदा त कुरा नमिलेर छुट्टिन्छन्, अर्को बिहे गरेर बस्छन्, हामी त सात–सात वर्षदेखि अलग छौं। यो बीचमा उसले अर्को बिहे गरेकी भए गरेको गर्यै हुन्थ्यो। तर हाम्रो सम्बन्धमा त्यस्तो दरार कहिल्यै आएन। दरार त के, दिवार पनि आएन!’
मायाको विशेषता यही हो — माया भनेको घट्दैन, बढ्छ मात्र! माया घट्नु भनेको माया नै नलाग्नु हो! जबसम्म माया लागिरहन्छ, माया निरन्तर बढिरहन्छ!
दिल र तिलाको प्रेम यस्तै छ।
यसको सबभन्दा ठूलो प्रमाण के हो भने, गत वर्ष सन् २०२२ अप्रिलमा दिल र तिलाले फेरि विवाह गरे।
तिला यसका लागि सन् २०१८ मै नेपाल आएकी थिइन्। कागजी प्रक्रिया नमिलेर यसै फर्किइन्। अर्को वर्ष फेरि आउने भनेकी थिइन्, कोरोना लकडाउनले उतै थुनिइन्।
सोचेभन्दा ढिलो भयो, तर दिल र तिला फेरि एकचोटि कानुनी रूपमा श्रीमान–श्रीमती भएका छन्।
जुन चन्द्रगढी अदालत गएर उनीहरूले सम्बन्ध तोडेको कागजमा दस्तखत गरेका थिए, त्यही अदालत गएर उनीहरूले सम्बन्ध जोडेको अर्को कागज बनाएका छन्।
स्वदेश फिर्ती र पुनर्वासको रोटेपिङमा फनफनी घुमेको दिल महत र तिलारूपा अधिकारीको प्रेमकथा सात वर्षको कठिन परीक्षापछि सुखद मोडमा प्रवेश गरेको छ।
सुन पनि आगोमा गलेर मात्र गहना बन्छ — दिल र तिलाको प्रेमका लागि यो सात वर्ष त्यस्तै अग्निपरीक्षा थियो, सायद!
अहिले दिल र तिलाको मन हर्षले फुर्रर छ।
पूरै परिवार पुनर्वासमा जाँदा पनि र श्रीमती र छोरीसँग छुट्टिएर बस्नुपरे पनि दिल महतले आखिर स्वदेश फिर्ती अभियान किन छाड्न सकेनन्?
न उनले आफ्नो पूरा बाल्यकाल भुटानमा बिताएका हुन्, न उनको किशोरावस्था भुटानमा बितेको हो!
जम्मा सात वर्षको उमेरमा भुटान छाडेका दिल महतको पढाइ–लेखाइ नेपाल आएपछि नै सुरू भएको थियो। उनी भुटानमा पूर्व–प्राथमिक कक्षा भर्ना त भएका थिए, तर छ महिनाभन्दा बढी स्कुल जान पाएका थिएनन्।
तैपनि किन दिल भुटानीलाई भुटानले तानिरहन्छ?
हामीले यो प्रश्न उनैलाई सोधेका थियौं। जवाफ थियो, ‘उमेर सानै भए पनि मैले नेपालीभाषीहरूमाथि भएको दमन देखेँ। त्यो दमन म चाहेर पनि बिर्सिन सक्दिनँ। भुटानी सेनाले गाउँमा आतंक मच्चाइरहँदा कान्छी बहिनी जन्मिएकी थिइन्। हामीले उसको जन्ममा खुसी मनाउनधरि पाएनौं। सरकारी ज्यादती यति चर्को भयो, हामी ज्यान जोगाउन सात दिनकी सुत्केरी आमालाई लिएर घरबाट भाग्नुपर्यो।’
‘त्यो बेला हाम्रो परिवार र छरछिमेकका दुई–चार घर गाउँबाट कोसौं टाढाको घना जंगलमा लुकेर बसेका थियौं,’ उनले अगाडि भने, ‘डरलाग्दो जंगलमा बिताएका ती भयभीत रातहरू म चाहेर पनि बिर्सिन सक्दिनँ। आफ्नो सारा श्रीसम्पत्ति छाडेर लालाबालाको लश्करसहित भुटान छाडेर हिँडेका नेपालीहरूको ताँती म चाहेर पनि बिर्सिन सक्दिनँ।’
‘हो, म सानैमा नेपाल आएँ। मेरो बाल्यकाल र किशोरावस्था यहीँ बित्यो। तर कसरी बित्यो, त्यो महत्त्वपूर्ण कुरा हो। मैले होस सम्हालेदेखि आफूलाई शरणार्थीका रूपमा पाएको छु। सम्झिनुस् त, सात वर्षको उमेरमा शरणार्थी बनेर झुप्रोबाट जिन्दगी सुरू गरेको एउटा बालक आज लगभग चालीस वर्ष पुगिसक्दा पनि शरणार्थी नै छ। उसको जीवन आज पनि झुप्रोमै बितिरहेको छ। न ऊ झुप्रोबाट माथि उठ्यो, न उसको नामबाट शरणार्थीको पहिचान हट्यो। आज पनि बर्खा लाग्यो कि झुप्रोमा पानीको आहाल जम्छ। भाँडा, बटुका थापेर रात अनिँदो काट्नुपर्छ। ओछ्यान पानीले लुछुप्पै भिजेर सुत्न गाह्रो हुन्छ। हामीले झेलेका यी सब दुःख र पीडाको जिम्मेवार को? जसको कारणले हामीमाथि दुःखको बज्रपात भयो, ऊ त्यसको जवाफदेही हुनुपर्छ कि पर्दैन?’
हामी चुपचाप दिल महतका कुरा सुन्दै थियौं।
उनी पहिलेभन्दा जोशिलो भावमा भन्दै थिए —
‘हामी आफूमाथि भएका अन्याय, अत्याचार सरक्क बिर्सेर चुपचाप तेस्रो देश पुनर्वासमा जाने हो भने भुटानी राजसत्तासँग अन्यायको हिसाब माग्ने को? के हामीलाई कुनै अपराधको दण्डस्वरूप देशनिकाला गरिएको हो र? होइन भने हामीले आफ्नै देश फर्किन कोसिस गर्ने कि लाचार भएर अर्को देशमा शरण लिन जाने?’
‘स्वदेश फिर्ती आन्दोलन भुटानी शरणार्थीहरूको न्यायसँग जोडिएको छ। पुनर्वासले मान्छेको व्यक्तिगत समस्या त समाधान गर्ला, तर भुटानी राजसत्ताले दिएको घाउको न्यायिक उपचार गर्दैन। त्यो घाउ त्यति बेला मात्र भरिन्छ, जब हामीले नागरिक हकसहित भुटान फिर्ता जान पाउने छौं। अमेरिका, अस्ट्रेलिया गएका शरणार्थीहरूको मुटुमा आज पनि भुटानी राजसत्ताले दिएको घाउ आलै छ। उनीहरूले बाँच्ने आधार त पाए होलान्, जीवन सजिलो पनि भयो होला, तर आत्मसम्मान फिर्ता पाएका छैनन्।’
‘हाम्रो आत्मसम्मान तबसम्म फिर्ता आउँदैन, जबसम्म आफ्नै भूमिबाट लखेटिएका भुटानीहरूले स्वदेश फर्किने अधिकार पाउँदैनन्,’ उनले अगाडि भने, ‘भुटानी शरणार्थीहरू चाहे संसारको जुनसुकै कुनामा पुगेका होऊन्, उनीहरूले त्यो अधिकार पाउनुपर्छ। कोही फर्किन मानून् या नमानून्, तर भुटानी राजसत्ताले हामीलाई फर्किने बाटो दिनुपर्छ। ताकि, आज अमेरिका वा अस्ट्रेलियामा रहेका भुटानीहरूलाई भोलि भुटानकै माटोमा मिसिने इच्छा जाग्यो भने उनीहरूको हक सुनिश्चित होस्। हाम्रो आन्दोलन यही हक सुनिश्चित गर्ने लडाइँ हो।’
स्वदेश फिर्ती आन्दोलनसँग जोडिएको यो उद्देश्यमा दिल महत आज पनि टसमस छैनन्।
लामो समयको अन्तरालले विचारमा एउटा परिवर्तन भने ल्याएको छ। अचेल उनलाई संसारको जुनसुकै कुनामा रहेर यो अभियान जारी राख्न सकिन्छ भन्ने लागेको छ।
‘स्वदेश फिर्ती हाम्रो न्यूनतम सर्त नै हो, यसमा सम्झौता गर्दैनौं,’ उनले भने, ‘तर पछिल्लो समय मलाई के लाग्न थालेको छ भने, यो अभियान संसारको जुनसुकै देशबाट चलाउन सकिन्छ। नेपालमै बसेर स्वदेश फिर्तीको माग राख्नु र अमेरिका वा अस्ट्रेलिया गएर यही माग राख्नुमा खासै अन्तर हुँदैन भन्ने मलाई लागेको छ।’
‘अझ अमेरिकामा रहेका भुटानी शरणार्थीहरूले राष्ट्रसंघको कार्यालयअगाडि, अस्ट्रेलियामा रहेका शरणार्थीहरूले त्यहाँको संसद भवनअगाडि धर्ना दिने, प्रदर्शन गर्ने हो भने हाम्रो माग अझ प्रभावकारी होला। हाम्रो मागमा अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि जाला,’ उनले अगाडि भने, ‘भुटानी शरणार्थीहरू अहिले जुन–जुन देशमा छन्, ती–ती देशका सांसदहरूसम्म आफ्नो कुरा पुर्याएर भुटानी राजसत्ताले गरेको अत्याचारको वृत्तान्त संसदमा सुनाउने हो भने हाम्रो आवाज संसारभरि गुञ्जिनेछ। हामीलाई जबर्जस्ती अनागरिक बनाएर लखेटिएको इतिहास अन्तर्राष्ट्रिय रूपमा स्थापित हुनेछ।’
उनको यस्तो परिवर्तित मनस्थितिको कारण श्रीमती र छोरीको माया हुनसक्छ!
परिवारसँग छुट्टिँदाको पीडा पनि हुनसक्छ!
‘अहिलेसम्म म स्वदेश फिर्ती भन्दै नेपालमा एक्लै बसेँ। भविष्यमा के गर्छु, थाहा छैन। जे गरे पनि, जहाँ रहे पनि स्वदेशी फिर्तीको अभियानमा लागिरहनेछु,’ दिल भुटानीले भने, ‘हामीले नागरिक हकसहित भुटान फर्किन पाउनैपर्छ, यसका लागि म आवश्यक पर्यो भने जीवनभर लडिरहनेछु। एक्लै भए पनि लडिरहनेछु।’
उनले यो पनि भने, ‘झट्ट हेर्दा हामीलाई गाँस, बास र कपास सबभन्दा ठूलो आवश्यकता हो भन्ने लाग्छ। तर यो तबसम्म हो, जबसम्म हामीमा चेतना हुँदैन। जब चेतना आउँछ, तब मान्छेलाई सबभन्दा बढी खट्किने भनेको पहिचान हो।’
‘पहिचान गुमेको अनुभूति भोको पेट र नांगो जीउभन्दा कष्टकर हुन्छ,’ उनले भने, ‘भुटानी शरणार्थीहरू तीस वर्षदेखि यही अनुभूतिसहित बाँचिरहेका छन्।’
दिल महतकी आमाले आफ्नो पूरा जिन्दगी शरणार्थीका रूपमा काटिन्, दुःखपूर्ण जीवन बिताइन्।
दिल महत चालीस वर्षको उमेरसम्म शरणार्थी नै छन्, पहिचानविहीन जीवन बिताउँदै छन्।
अब छोरी अश्लेषाले भुटानी परिचय पाउने हो कि होइन? भुटानले उनलाई नागरिक स्वीकार गर्ने हो कि होइन?
चार सय वर्षअघि पितापुर्खाले भुटानी माटोमा नेपाली जातिको जुन जड रोपे, त्यो जडसँग अश्लेषाको जीवन–वृक्ष गाँसिने हो कि होइन?
वा, उनले पनि हजुरआमा र आमाजस्तै पराई मुलुकमा भुटानी पहिचानबिनै जीवन काट्नुपर्ने त होइन?
यस्ता थुप्रै प्रश्न छन्, जसले सवा लाखभन्दा बढी भुटानी शरणार्थीलाई तीस वर्षदेखि पछ्याइरहेको छ।
दिल महतलाई अस्ट्रेलियामा हुर्किरहेकी आफ्नी छोरीको भविष्यको जति चिन्ता छ, त्यति नै चिन्ता छोरी भुटानी पहिचानबाट पूर्णतया अलग होलिन् कि भन्नेमा छ।
नेपालीहरू कसरी भुटान पुगेका थिए, कसरी त्यहाँको घना जंगल–पाखा फाँडेर आबाद गरेका थिए र कुन परिस्थितिमा उनीहरू देशबाट निकालिएका थिए भन्ने कथा अश्लेषाको पुस्तासम्म आइपुग्दा लोप भएर जाने त होइन भन्ने चिन्ता पनि दिल महतलाई छ।
उनी भुटानलाई जति माया गर्छन्, छोरीको मनमा पनि भुटानप्रति त्यति नै माया जागृत होस् भन्ने चाहन्छन्।
उनको एउटा इच्छा छ — छोरीलाई अन्तर्राष्ट्रिय कानुन पढाउने। ताकि, अन्तर्राष्ट्रिय मञ्चमा उभिएर भुटानी शरणार्थीहरूको मुद्दा वकालत गर्न सकून्!
भुटानी राजासँग नेपालीभाषीमाथि गरिएको अन्यायको हिसाब माग्न सकून्!
भुटानले भ्रमपूर्ण रूपमा फैलाएको ‘ह्याप्पिनेस इन्डेक्स’ माथि टिप्पणी गर्न सकून्!
र, भुटानी राजसत्तालाई सोध्न सकून् —
आफ्नै नागरिकलाई लखेटेर आँशुको सागरमा डुबाउने तिमी कुन मुखले सुख, शान्ति र समृद्धिको कुरा गर्छौ?
अधिकारको आवाज उठाउने नागरिकलाई बीसौं वर्षदेखि जेलमा थुनेर राख्ने तिमी कुन मुखले लोकतन्त्रको कुरा गर्छौ?
आफ्नै नागरिकलाई उसको अधिकारबाट वञ्चित राख्ने तिमी कुन मुखले विकास र समानताको कुरा गर्छौ?
संसारभरि छरिएर रहेका सवा लाखभन्दा बढी भुटानी शरणार्थी र देशभित्रै दोस्रो दर्जाको जीवन बाँचिरहेका दुई लाख भुटानी नेपालीहरूका आँखा अश्लेषातिर छ, भुटानी शरणार्थीको नयाँ पुस्तातिर छ।
के यो पुस्ताले तीस वर्षको अत्याचारलाई न्यायिक टुंगोमा पुर्याउन सक्ला?
हाम्रो यो कथा शृंखलाको उद्देश्य अश्लेषा र उनीजस्तै नयाँ पुस्तालाई भुटानी शरणार्थीहरूको भोगाइ र नेपालीभाषी भुटानीको इतिहास सम्झाउनु हो। ताकि, आफ्नै भूमिबाट खेदिएका भुटानी शरणार्थीहरूको कथा समयको धुवाँमा बिलाएर नजाओस्, भुटानी नेपालीको इतिहास विस्मृतिमा नहराओस्।
र, कुनै पनि भुटानी शरणार्थीले आफ्नो परिचय दिँदा भन्नु नपरोस् —
‘मेरो नाम चन्द्र ढुंगाना हो। र, म नक्कली भुटानी शरणार्थी होइन।’
आवरण तस्बिरः दिल भुटानी उर्फ दिल महत र उनकी श्रीमती तिलारूपा अधिकारी।
***