भुटानको ४०० वर्षको कथाः अंक १०
अध्याय सत्ताइसः प्रहरी कुटेर आएका थिए, २१ वर्ष जेल परे
भुटानमा एउटा कहावत छ — राजासँग वैर कसैको नहोस्, कसैगरी भइहाल्यो भने पनि भुटानी जेलमा बन्दी हुनुपर्ने दिन चाहिँ आउँदै नआओस्!
यो कहावत त्यसै बनेको होइन।
भुटानी राजाले कुनै पनि व्यक्ति वा समुदायमाथि वैर साँधे कुन हदसम्मको अन्यायमा ओर्लिन सक्छन् भन्ने हामीले दक्षिण भुटानका नेपालीहरूको भोगाइबाट थाहा पाइसक्यौं। सबै राजतन्त्रको विशेषता यही हो, सायद!
सँगसँगै, टेकनाथ रिजालले भुटानी जेलमा बिताएका दस वर्षको वृत्तान्तबाट हामीले यो पनि थाहा पायौं, भुटानी राजाले व्यक्तिगत वैर साँधेर कसैलाई बन्दी बनाए भने उसमाथि अत्याचार र अमानवताको कुनै हद बाँकी राखिन्न!
टेकनाथ रिजालसँग जेल जीवनका अनुभवबारे कुराकानी गर्दा उनले हामीलाई भनेका थिए, ‘भुटानी जेलमा धेरै बन्दीले ज्यान गुमाएका छन्। ज्यान गुमाएका ती बन्दीहरूसँग तुलना गर्ने हो भने मैले दस वर्षमा भोगेको पीडा त त्यसको एक अंश पनि होइन।’
‘जो भुटानी जेलबाट जीवित फर्किए वा अहिलेसम्म त्यहाँ जीवितै छन्, उनीहरूको दाँजोमा पनि म आफूलाई भाग्यमानी नै ठान्छु,’ रिजालले भने, ‘मलाई भलै हातमा हतकडी, गोडामा पच्चीस किलोको फलामे साङ्ला र दिनरात, चौबीसै घन्टा चार जना सिपाहीको निगरानीमा राखिएको होस्; दिनकै असी खिली चुरोट पिउन बाध्य पारेर दुर्व्यसनी बनाइएको होस्, तर मैले जेलमा बिताएको अवधि दस वर्ष मात्र हो। धेरैलाई विश्वास नलाग्ला, भुटानी जेलमा अहिले पनि दर्जनौं नेपालीहरू बन्दी छन्। उनीहरूले पच्चीस वर्षभन्दा बढी समयदेखि कठोर यातनासहितको जेल जीवन बिताइरहेका छन्।’
उनका अनुसार दक्षिण भुटानको ल्होछाम्पा (नेपालीभाषी) समुदायका ४२ जना र पूर्वी भुटानको शारछोप समुदायका १७ जना राजद्रोह अभियोग लागेर विभिन्न जेलमा बन्दी छन्। तीमध्ये चेम्गाङ जेलमा मात्र ३७ जना छन्। यो त्यही जेल हो, जहाँ रिजाललाई अदालतले आजीवन कारावास सजाय सुनाएपछि राखिएको थियो। यसबाहेक सैनिक जेलमा पनि ठूलो संख्यामा नेपालीहरू हुन सक्ने उनको अनुमान छ, जसका बारेमा कसैलाई जानकारी दिइएको छैन।
‘कतिलाई न्यायिक सुनुवाइबिना गुपचुप जेलमा सडाएर राखिएको छ भने कतिलाई तीन वा चार जन्मकैदको सजाय सुनाइएको छ,’ उनले अगाडि भने, ‘भुटानको कानुनअनुसार एक जन्मकैद भनेको २५ वर्ष हो। यस हिसाबले जसले तीन वा चार जन्मकैदको सजाय पाउँछ, उसले कम्तिमा ७५ वा सय वर्षको कारावास भोग्नुपर्छ। यो भनेको उसको सम्पूर्ण जीवन जेलमै बित्ने हो। त्यस्ता व्यक्तिको सास होइन, लास मात्र परिवारले देख्न पाउँछ। धेरैको त लास पनि देख्न पाइँदैन। प्राण गएको दुई–तीन दिनभित्रै परिवारसँग सम्पर्क भएन भने त्यस्तो लास जेल वरपरै जंगलमा लगेर गाडिन्छ। परिवारले न सास देख्न पाउँछ, न लास!’
उनको यस्तो कुरा सुनेर हामीले सोध्यौं, ‘त्यसो भए अहिले पनि भुटानी जेलबाट छुटेका नेपालीहरू सरासर यहीँ आउँछन् होला नि, होइन?’
‘यहाँ नआएर कहाँ जाऊन्!’ जवाफमा उनले भने, ‘भुटानमा त टिक्न–बस्न दिए पो!’
रिजालले एक जना व्यक्तिको उदाहरण दिए, जो २१ वर्ष भुटानी जेलमा बिताएर सन् २०१७ मा नेपाल फर्केका थिए।
‘हामीले त मरिसक्यो भन्ठानेका थियौं। धन्न मारेको चाहिँ छैन रहेछ,’ उनले भने, ‘जेलबाट छुटेर सरासर यहीँ आए।’
हामीले उनको नाम र नम्बर टिप्यौं।
नाम — दिलकुमार राई, उमेर — ५८ वर्ष।
दिलकुमार राईलाई हामीले बेलडाँगी शिविरको उही झ्याम्म पिपलबोटनिर भेटेका थियौं र त्यही पिपलबोटको आडैमा रहेको होटलमा चिया पिउँदै लामो कुराकानी गरेका थियौं।
भुटानमा छँदा उनी सरकारी नोकरी गर्थे। सन् असी दशकको आखिरीतिरबाट राजा जिग्मे सिंघे वाङचुकको आदेशअनुसार भुटानभरि राष्ट्रिय पोसाक अनिवार्य गरियो। भुटानको राष्ट्रिय पोसाक बख्खु उत्तरी भेगको हिमाली हावापानी सुहाउँदो थियो, तर दक्षिणको न्यानो मौसममा बाक्लो बख्खु लगाएर बस्न सम्भव थिएन। भुटान सरकारले दक्षिण भुटानका नेपालीहरूको यो समस्या बुझेन। उनीहरूलाई दैनिक जीवनमा पनि बख्खु लगाउन बाध्य पारियो। खेतबारीमा काम गर्दा होस् वा बिहे–ब्रतबन्धमा जाँदा, पूजापाठ गर्दा होस् वा बजार जाँदा; उनीहरूले सधैं बख्खु नै लगाएर हिँड्नुपर्ने भयो। बख्खु नलगाउनेलाई प्रहरीले पक्राउ गरेर जरिवाना तिराउँथ्यो। बाटोमा भेटियो भने तीन–चार घन्टा यत्तिकै उभ्याएर दुर्व्यवहार गर्थ्यो। कहिलेकाहीँ त जेलमा हालेर यातना पनि दिन्थ्यो।
दसैंको कुरा हो। दिलकुमार राई आफन्तको हातबाट टीका थाप्न दौरा–सुरूवाल लगाएर हिँडेका थिए। त्यही बेला प्रहरीले उनलाई रोक्यो।
‘तेरो लुगा के हो यो?’ प्रहरीले भन्यो।
‘म दसैंको टीका थाप्न हिँडेको सर, त्यही भएर आज यो लुगा लगाएको,’ दिलकुमारले जवाफ दिए।
‘दसैं होस् कि ससैं, भुटानमा अबदेखि गोर्खाली लुगा लगाउन पाइँदैन भन्ने थाहा छैन तँलाई,’ प्रहरीले उनलाई हप्काउँदै भन्यो।
उनीहरू दौरा–सुरूवाललाई ‘गोर्खाली’ लुगा भन्थे। कसै–कसैले हेपेर ‘गोर्खे’ लुगा वा ‘विदेशी’ लुगा पनि भन्थे।
‘थाहा छ सर,’ दिलकुमारले विनम्र हुँदै भने, ‘आज दसैं भएर मात्र लगाएको।’
प्रहरीले उनको कुरा सुनेन।
उनलाई केही बेर बाटोमै उभ्याएर राखियो र सय रूपैयाँ जरिवाना तिराएर छाडियो।
‘मलाई यति रिस उठ्यो, त्यही रिसको झोँक मैले तिहारमा डुग्–पाहरूमाथि पोखेँ,’ दिलकुमारले भने।
तिहारमा केही डुग्–पा बख्खु लगाएर देउसी खेल्न आएका थिए। राज्यले जातीय विभेद गरे पनि स्थानीय स्तरमा डुग्–पा र नेपालीहरूबीच खासै रिसराग थिएन। दक्षिण भुटानमा बस्ने थोरै संख्याका डुग्–पा नेपाली भाषा फर्रर बोल्थे। उनीहरू नेपाली संस्कृतिका चाडपर्वमा सरिक पनि हुन्थे। त्यही क्रममा तिहारको देउसी खेल्दै हिँडेका थिए। तर प्रहरीको रिसले मुर्मुरिएर बसेका दिलकुमारले बख्खु लगाएर देउसी खेल्न आएका डुग्–पालाई देख्नेबित्तिकै झम्टिहाले र बेस्कन कुटे। चाडबाड बेला हुलमुल भएपछि प्रहरीहरू आए। दिलकुमारले हातमा भाटा लिएर प्रहरीलाई पनि खेदे।
यो घटनापछि उनलाई भुटानमा टिक्न गाह्रो भयो। प्रहरी दिनरात उनलाई खोज्दै गाउँ घुम्न थाले। घरमा आएर परिवारका सदस्यलाई पनि दुःख दिन थाले।
त्यसपछि दिलकुमार भुटान छाडेर नेपाल आए।
सुरूमा उनी एक्लै आएका थिए। उनी आएपछि आमाबुवा पनि उता बसिरहन सकेनन्। प्रहरीहरू हरेक दिन घर गएर ‘तेरो छोरा खोइ’ भन्दै आमाबुवालाई हप्काउन थालेछन्। ‘कि छोरा फिर्ता ल्याइज, नभए त्यो जहाँ गयो, तिमीहरू पनि त्यहीँ जाओ’ भन्दै थर्काउँदा रहेछन्। पछि त भुटान छाडेर नगए जेलमा हाल्ने धम्कीसमेत दिएछन्।
सन् १९९१ मा नेपाल आउँदा दिलकुमार २६ वर्षका थिए। उनले बेलडाँगी शिविरमै पाँच वर्ष बिताए। तर यहाँ उनको मन अडिँदै अडिएन। सपना–बिपना यस्तरी छट्पटाइरहे, मानौं उनको आत्मा भुटानी माटोमै कतै छुटेको छ!
भुटानमा एउटा कहावत छ — चराले गुँड फेर्न सक्छ, जंगल फेर्न सक्दैन!
गुँड फेरेर अकै जंगलमा बसाइँ सरेको चरालाई पुरानै जंगलका रूख, रूखका लहरा, लहराका पातपतिंगर र पातपतिंगरका बीचमा फल्ने फलको सम्झनाले पछ्याइरहन्छ!
ऊ घरिघरि बाटो भुलेर पुरानै जंगलमा पुग्छ र पुरानै रूखको हाँगामा आफ्नो नयाँ गुँड खोज्छ!
चरालाई त आफ्नो जन्म–जंगलको यतिविधि माया हुन्छ भने मान्छेलाई किन नहोस्!
ऊ आफू जन्मे–हुर्केको वा आफू पुर्खौं पुर्खादेखि बस्दै आएको थातथलोसँग त्यसरी नै गाँसिएको हुन्छ, जसरी भर्खर जन्मेको बच्चालाई सालनालले आमाको कोखसँग गाँस्छ। उसलाई आफ्नो भूमि छाडेर जाँदा त्यस्तै पीडा हुन्छ, जस्तो पीडा आमासँग बिछोडिँदा छोराछोरीलाई हुन्छ। ऊ नयाँ अवसर छोप्न वा पुरानो अवस्थाबाट उम्किन स्वैच्छाले बसाइँ सरेको किन नहोस्, सालनालको साइनोले उसलाई घरि बिपनाको तन्द्रामा त घरि निद्राको सपनामा घच्घच्याउन आइरहन्छ। ऊ कुनै न कुनै रूपमा आफ्नो भूमिसँग गाँसिएकै हुन्छ, भूमिको यादलाई कुनै न कुनै रूपमा मनभरि साँचेकै हुन्छ।
बेलडाँगी शिविरमा पाँच वर्ष बस्दा दिलकुमार राईलाई पनि त्यस्तै भयो।
भुटान छाडेर हिँडे पनि भुटानको सम्झनाले उनलाई छाडेन। खासगरी ती भुटानी नेपालीहरूको सम्झनाले उनलाई व्यथित बनायो, जो उता भुटानी राजसत्ताले सल्काएको आगोको भुंग्रोमा जलिरहेका थिए, भुटानी राजसत्ताले घुमाएको अन्यायको जाँतोमा पिल्सिरहेका थिए।
यसरी भुटानमै छुटेका दाजुभाइ–दिदीबहिनीको दुःख सम्झेर भुट्भुटिने उनी एक्ला थिएनन्। त्यो बेला शिविरका धेरै युवाहरूको हालत यस्तै थियो। उनीहरूको मनमा विद्रोहको ज्वालामुखी दन्किएको थियो। अन्यायको प्रतिकार नगरी सुटुक्क देश छाडेर शरणार्थी बनेकामा उनीहरू थकथकी मान्दै थिए। शरणार्थी चोलाले उनीहरूको चैन खोसेको थियो। देशको सम्झनाले रात–दिन चिमोट्न आइरहन्थ्यो। फर्केर विद्रोहको आवाज उराल्ने हुटहुटीले उनीहरूलाई हुलुक्कै पारेको थियो।
यही हुटहुटीले दिलकुमार राई लगायत केही युवाहरूलाई भुटान फर्किन बाध्य बनायो।
उनीहरू भुटान त फर्के, तर त्यहाँबाट फर्किन पाएनन्। विद्रोहको आकांक्षा पनि अधुरै रह्यो।
त्यो समय दक्षिण भुटानमा सेनाको सख्त पहरा थियो। नेपाली समुदायलाई अनेक दुःख दिएर देश छाड्न विवश बनाइँदै थिए। जो सकभर देश नछाडूँ भन्ने मनस्थितिमा थिए, उनीहरूलाई पनि सकभर सीमा कटाउने प्रपञ्च रचिँदै थियो। सेना र प्रहरीका गुप्तचर दक्षिण भुटानभरि यस्तरी सल्बलाएका थिए, उनीहरूको अनुमतिबेगर रूखको पातधरि हल्लिन सम्भव थिएन। यस्तो निगरानीमा एकचोटि देश छाडेर हिँडिसकेको मान्छे फर्केर आएको थाहा पाउनेबित्तिकै सेनाले नियन्त्रणमा लिइहाल्थ्यो र भुटानमा आतंक मच्चाउन आएको भन्दै झ्यालखानामा हुलिहाल्थ्यो।
अनि त — न मुद्दा, न अदालत, न सुनुवाइ; उनीहरू भुटानका गुप्त कारावासहरूमा संसारका आँखाबाट ओझेल हुन्थे।
त्यसै पनि भुटानमा कतिवटा जेल छन् र कहाँ कहाँ छन् भन्नेबारे अन्तर्राष्ट्रिय समुदाय बेखबर नै थियो। रेडक्रस लगायत मानवअधिकार संगठनका प्रतिनिधिहरू अनुगमनमा जाँदा मुख्य मुख्य जेलको मात्र भ्रमण गराइन्थ्यो। धेरै जेल त यस्ता थिए, जसको सुइँको भुटानी नागरिकहरूलाई समेत थिएन।
दिलकुमार राईलाई पनि पक्राउ परेको केही समय त्यस्तै कुनै अज्ञात जेलमा गुमनाम राखिएको थियो।
यो सन् १९९६ को कुरा हो — उनी भुटान छिरेको तीन दिनमै पक्राउ परेका थिए।
जुन दिन उनी पक्राउ परे, त्यो औंसीको रात थियो। उनी ससुरालीतिरका एक नातेदारको गोठमा बास बसेका थिए। नेपालबाट गएको एक जना साथी पनि सँगै थियो।
दिलकुमारलाई रातभरि निद्रा परेन। छेउमा साथी मस्त सुतिरहेको थियो, उनी भने अँध्यारो गोठभित्र मैनबत्तीको धिपधिपे उज्यालोमा भित्तातिर एकोहोरो टोलाउँदै थिए।
उनले भित्तामा माकुरोले जाल बुनिरहेको देखे।
उनले देखे — एउटा माकुरो आफ्नो भुँडीबाट रेशमको रेसा छर्दैछ। त्यो रेसा हावामा झुल्दै, लहराउँदै अलि पर झ्यालको खापासम्म पुग्छ र टप्प टाँसिन्छ।
उनले देखे — माकुरो आफ्नै रेसामा तुन्द्रुंग झुन्डिँदैछ र झोलुंगेपुल तरेझैं रेसा समात्दै झ्यालको खापासम्म पुग्छ। एकछिन चुपचाप बस्छ, थकाइ मारेझैं। बिस्तारै चलमलाउँछ। त्यसपछि झ्यालबाट भित्तातिर फर्केर आफ्नो भुँडीबाट रेशमको अर्को रेसा छर्छ। त्यो रेसा पनि हावामा झुल्दै, लहराउँदै भित्तासम्म पुग्छ र टप्प टाँसिन्छ। ऊ नयाँ झोलुंगेपुलमा तुन्द्रुंग झुन्डिँदै झ्यालको खापाबाट भित्तातिर आउँछ।
त्यो माकुरो रेशमको रेसा छरेको छर्यै थियो। नयाँ झोलुंगेपुल बनाएको बनायै थियो। भित्ताबाट झ्याल र झ्यालबाट भित्तासम्म आउजाउ गरेको गर्यै थियो। कहिले रेसा तिनिक्क तन्काउँथ्यो, कहिले बत्ती कातेझैं रेसाको हाँगा तान्थ्यो। छिनमा यता घुमाउँथ्यो, छिनमा उता फर्काउँथ्यो। कहिले चट्टान चढाइ गरिरहेको आरोहीझैं रेसा बोकेर सुमसुम माथि उक्लिन्थ्यो, कहिले ओरालो झरिरहेको धावकझैं खुर्रर तल ओर्लिन्थ्यो। छिनमा खरायोझैं दौडिन्थ्यो, छिनमा कछुवाझैं लच्किन्थ्यो।
पलभरमै त्यो माकुरोले अँध्यारो गोठको भित्तादेखि झ्यालको खापासम्म रेशमका दस–बाह्रवटा झोलुंगेपुल बनाइभ्यायो।
उनले देखे — त्यो मिहिनेती माकुरो अब आफूले भर्खरै बनाएका झोलुंगेपुलहरूको बीचमा छ। ऊ भुँडीबाट निस्केको रेशमको रेसा समात्दै गोलगोल घुम्न थाल्छ। यस्तरी घुम्छ, मानौं हलुवाईले जेरी घुमाउँदैछ। मानौं, ती झोलुंगेपुलहरू उसको रंगमञ्च हो र ऊ रंगमञ्चमा माकुरीनृत्य देखाउँदैछ। ऊ एउटा रेसा समातेर एक चक्कर मार्छ, त्यसपछि फेरि अर्को रेसा समातेर अर्को चक्कर मार्छ। यही क्रममा तेस्रो, चौथो र पाँचौं चक्कर मार्छ। ऊ तबसम्म गोलगोल घुमेको घुम्यै गर्छ, जबसम्म भित्तादेखि झ्यालको खापासम्म तन्किएका झोलुंगेपुलहरू आपसमा जेलिएर जाली बन्दैनन्।
मैनबत्तीको धिपधिपे उज्यालोमा आँखा झिमिक्क नगरी भित्तातिर टोलाइरहेका दिलकुमार राईको अगाडि हेर्दाहेर्दै माकुरीजाल तयार भइसकेको थियो।
उनले देखे — जाल बुनिसकेपछि माकुरो शान्त छ। उसको लामो धपेडी सकिएको छ। ऊ अब आफ्नो व्यग्र मुटु हातमा लिएर पोथीको प्रतीक्षामा छ, सायद!
त्यही बेला आकाशै फाटेझैं चर्को आवाज निकाल्दै बिजुली चम्कियो। अँध्यारो गोठमा क्षणभरका लागि झिलिक्क उज्यालो छरियो। जोडसँग चलेको हावाले झ्यालको बन्द खापा एकै झट्कामा उघारिदियो। खुला झ्यालबाट हावाको तेज झोँका छिर्यो र मैनबत्तीको धिपधिपे लौह झ्याप्पै मारिदियो।
अँध्यारो कोठा झनै अन्धकार भयो — आँखाले आफ्नै हात मेसो नपाउने गरी!
निद्रा नपरेर भित्तातिर टोलाउँदै माकुरीनृत्यको मजा लिइरहेका दिलकुमार राई आकाशे–बिजुलीले तर्सेर बिछ्यौनाबाट जुरूक्क उठे र अँध्यारोमा छामछाम छुमछुम गर्दै झोलाबाट सलाइ झिके।
सलाइको झ्यार्रर उज्यालोमा उनले पुलुक्क भित्तातिर हेरे।
त्यहाँ माकुरोले भर्खरै बनाएको झोलुंगेपुल थिएन। झोलुंगेपुलका रेशमी रेसाहरू हावाको झोँकासँगै यताउति लहराउँदै थिए।
कुनै रेसा भित्तामा टाँसिएर फुरफुर उड्दै थिए।
कुनै रेसा खुल्दै–बन्द हुँदै गरेको झ्यालको खापासँगै भित्र–बाहिर हल्लिँदै थिए।
एउटा अचम्मको कुरो चाहिँ, ती रेशमी रेसाहरूलाई बाँध्ने बन्धन फुस्के पनि जग टुटेको थिएन। ती अझै पनि भित्ता र झ्यालका खापामा टपक्क टाँसिएकै थिए।
माकुरीजालोको हालत देखेर दिलकुमारको मन भरंग भयो।
उनले हतारहतार हावाले भुइँमा लडाएको मैनबत्ती खोजे। त्यति बेलासम्म सलाइको काँटी निभिसकेको थियो। उनले अर्को काँटी झ्यार्रर बाले र मैनबत्ती सल्काए।
भित्तामा झुन्डिरहेका रेशमी रेसाहरूतिर हेरे।
त्यहाँ माकुरो थिएन।
झ्यालको खापातिर हेरे।
त्यहाँ रेशमी रेसाहरू फिरफिर हल्लिँदै थिए, तर माकुरो थिएन।
झ्यालको ठ्याक्कै मुनि भुइँतिर हेरे।
त्यहाँ पनि माकुरो थिएन।
पछि देखे, माकुरो उनको खुट्टानिरै रहेछ — सिसाकलमले कोरेको चित्रझैं स्थिर।
उनले एकछिनसम्म हेरिरहे।
माकुरो चल्दै चलेन।
उनलाई त्यो मर्यो कि भन्ने लाग्यो।
खुट्टाको बूढीऔंलाले छुस्स छोए।
माकुरो बिस्तारै चलमलायो र खुर्रर दौडिएर अँध्यारोमा अलप भयो।
दिलकुमारले लामो सास फेरे।
त्यही बेला फेरि आकाश फाटेझैं चर्को आवाज निकालेर बिजुली चम्कियो। अँध्यारो गोठमा क्षणभरका लागि झिलिक्क उज्यालो छरियो। झ्यालबाट छिरेको हावाको झोँकाले मैनबत्तीको लौह फेरि झ्याप्प निभ्यो।
यसपालि दिलकुमारले सलाइ बाल्ने कष्ट गरेनन्।
उनलाई अब उज्यालो चाहिएको थिएन। माकुरीनृत्यमा पर्दा चढिसकेको थियो।
उनी बिछ्यौनामा पल्टे।
आँखाअगाडि माकुरोको नियति नाचिरह्यो।
उनलाई त्यो माकुरो र आफू उस्तै लाग्यो! माकुरोको नियति र आफ्नो नियति उस्तै उस्तै लाग्यो!
उनले सोचे — म भुटानमा छुटेका नेपाली दाजुभाइ–दिदीबहिनी सम्झेर यहाँसम्म आएको छु। पशुजस्तो गोठमा बसेको छु र उनीहरूलाई केही मद्दत गर्न सकिएला कि भनेर योजना बुन्दै छु। तर मेरो अवस्था माकुरोले बनाएको जालोभन्दा फरक छैन। यो जालो जस्तो रेसादार छ, मेरो योजना पनि रेसादार छ। यो जालो जति कमजोर छ, मेरो जीवन पनि कमजोर छ।
उनले सोचे — माकुरोले यति मिहिनेत गरेर बनाएको जालो हावाको एक झोँकाले उजाडिदियो। भुटानी राजसत्ताले मेरो योजना र मेरो जीवन पनि त्यसरी नै एक झमटमै उजाडिदिनसक्छ। हावाको झोँकासँग ठोक्किएर बन्धन फुस्केका यी रेशमी रेसाहरूझैं म पनि रेसा–रेसामा बाँडिन सक्छु।
उनले सोचे — जुन दिन भुटानी सेनाका गुप्तचरहरूले यो वासस्थान पत्ता लगाउला, म पनि जालोबाट खसेको माकुरोझैं भुइँमा पछारिनेछु र अन्धकारमा अलप हुनेछु।
उनले यो पनि सोचे — कसैगरी भुटानी सेनाका गुप्तचरहरू यहाँसम्म आइपुगे र मलाई पाता फर्काएर लगे भने सायद मैले जिन्दगीभरि नेपालमा रहेका आमाबुवा, श्रीमती, भर्खर जन्मेको छोरो र दाजुभाइको मुख देख्न पाउने छैन। मलाई भुटानी जेलमै आजीवन कैद गरिनेछ र मरेपछि मेरो लास यहीँ कतै जंगलमा दफन गरिनेछ। म गुमनाम मृत्युको भुक्तमानी हुनेछु।
मनभित्रबाट उम्लेर आएको आफ्नो नियति सम्झेर दिलकुमारको मनै सिरिंग भयो।
झ्यालबाट छिरेको हिउँदको चिसो हावामा पनि उनको ज्यान पसिनाले लुछुप्पै भिज्यो।
उनले बिछ्यौनामा सँगै सुतिरहेको साथीलाई हेरे — ऊ यी सबै तर्कनाबाट बेखबर मस्त निद्रामा थियो। उसले न माकुरोले जाल बुनेको देख्यो, न बिजुली चम्केको देख्यो। न तेज हावाले माकुरीजालो उजाडेको देख्यो।
दन्दन्ती दन्केको आगोको भुंग्रोमा पनि कोही निद्राले यस्तरी भुस भएर कसरी सुत्न सक्छ हँ!
दिलकुमारको रात भने यसरी नै सोचेको सोच्यै, टोलाएको टोलायै छर्लंग बित्यो।
झिसमिसेमा झपक्क निदाउन मात्र के आँटेका थिए, गोठबाहिर कसैको खासखुसले उनी झसंग ब्युँझे। कान थापेर सुने। एक हुल मान्छे बुटजुत्ता लगाएर गुटुटु हिँडेजस्तो सर्याकसुरूक आवाजले उनको जीउभरि सिहरन दौडियो।
उनले अड्कल काटे — बाहिर तेज हावा चल्न थालिसक्यो। अब हावाको झोँकाले झ्यालको खापा ठेल्न मात्र बाँकी छ। जसै खापा ठेलिएला, माकुरोको खेल खत्तम!
माकुरीजालो स्वाहा!
उनले आफ्नो साथीलाई बिस्तारै कोट्टयाए।
ऊ हाई काढ्दै उठ्यो र जसै भुटानी सुरक्षा फौजले गोठ घेरा हालिसकेको थाहा पायो, आत्तिँदै भाग्न खोज्यो।
दिलकुमारले उसको हात च्याप्प समाते र भने, ‘भागेर जाने ठाउँ छैन, हामी घेराबन्दीमा परिसकेका छौं। अब भाग्नु भनेको उनीहरूको गोलीको निशाना बन्नु हो।’
‘यिनीहरूले हामी यहाँ लुकेको चाहिँ कसरी थाहा पाएछन्?’ नेपालबाट सँगै गएको साथीले सोध्यो।
दिलकुमारसँग यो प्रश्नको जवाफ थिएन।
भए पनि उनले जवाफ दिन भ्याउने रहेनछन्, किनभने त्यही बेला भुटानी सिपाहीहरू गोठको ढोका फोडेर ग्वारग्वार्ती भित्र छिरे र दिलकुमार र उनको साथीतिर बन्दुक तेर्स्याए।
अब उनीहरूसँग आफूलाई समर्पण गर्नुको विकल्प थिएन।
उनीहरूले भुइँमा घुँडा टेके।
गोठभित्र छिरेका बन्दुकधारी सिपाहीहरूले वरिपरि घेरे। एक जना सिपाही अत्यन्तै क्रूद्ध थियो। उसले अगाडि बढेर बन्दुकको कुन्दा पालैपालो दुवैको छातीमा बजार्यो।
कुन्दा प्रहारले उनीहरू भुक्लुक्कै ढले। सास घाँटीमै अड्केझैं भयो।
त्यसपछि बाँकी सिपाहीले उनीहरूलाई घिसार्दै गोठबाट बाहिर निकाले र सैनिक जीपमा हुले।
सैनिक जीप बाटोको धूलो र इन्जिनको धुवाँ उडाउँदै मिलिक्कै बिलायो।
दिलकुमारले जीप हुइँकिनुअघि झ्यालबाट बाहिर चियाएका थिए। बाटोको दायाँबायाँ थुप्रै भुटानी नेपालीहरू हुल बाँधेर उभिएको उनले देखे।
नेपालबाट आएका आफ्ना बन्धुहरूलाई बन्दी बनाएको हेर्न झुम्मिएका ती भुटानी नेपालीहरूका आँखामा आँशु थियो, आगो थियो। तर ओठमा प्रश्न थिएन, प्रतिकार थिएन।
र, ती सबैले बाक्लो बख्खु लगाएका थिए।
त्यस दिन सैनिक जीपमा हुलेर कुन जेल लगियो, दिलकुमार राईलाई याद छैन। त्यो जेलमा कति दिन बन्दी बनाइयो, त्यो पनि उनलाई याद छैन।
यत्ति याद छ — जति दिन त्यहाँ राखियो, उनले एक–एक पल मृत्यु भोगे।
उनलाई सुरूका दिनमा जहाँ थुनिएको थियो, त्यो कुनै कोठा थिएन। अँध्यारो बाकसजस्तो ठाउँ थियो, जुन यति साँघुरो थियो, उनी ठिंग उभिन पनि सक्दैनथे। सधैं टुक्रुक्क बसिरहन पर्थ्यो। त्यसमाथि हातमा हतकडी र खुट्टामा नेल ठोकिएकाले हलचल गर्ने कुनै गुञ्जायस थिएन।
यति मात्र कहाँ हो र! त्यो अँध्यारो बाकसभित्र दिलकुमारलाई नांगै राखिएको थियो। उनलाई अत्याउन घरि मुसा छाडिन्थ्यो, घरि साङ्ला दौडाइन्थ्यो। मुसा र साङ्लाहरू उनको जीउमाथि ताण्डव मच्चाउँथे। पहिलो दिन त उनी चलमलाउँदा ती मुसा र साङ्ला डराएर यताउति खुर्रर भागे। पछि त भाग्न पनि छाडे। दिलकुमार चलमलाइरहन्थे, मुसा र साङ्लाहरू उनको जीउमाथि चलिरहन्थे। सायद यी बन्दीको हातगोडामा नेल ठोकिएको छ भन्ने मुसा र साङ्लाले पनि चाल पाए! यी बन्दीलाई जतिसुकै चिथोरे पनि चल्नहल्न सक्दैन भन्ने मुसा र साङ्लाले पनि बुझे!
मुसाका दाँतले कोपरेर उनको छालाका पाप्रा–पाप्रा उप्कन्थे। रक्तमुच्छेल हुन्थे। छिनमै होस गुमाउँथे, छिनमै बौरिन्थे।
बेलाबेला सास यस्तरी निमोठिन्थ्यो, उनलाई सास छ कि छैन भन्ने नै अलमल हुन्थ्यो। त्यस्तो बेला डाक्टरले रोग पर्गेल्न नाडी छामेजस्तो उनी आफ्नो प्राण पर्गेल्न पेटदेखिको शक्ति खिचेर मुखसम्म ल्याउँथे र भएभरको बल लगाएर चिच्याउँथे।
आवाजको वजन सुनेर दिलकुमार आफ्नो प्राणको परिमाण नाप्दै थिए।
जबसम्म आवाजमा ज्यान थियो, उनी आफू जिउँदै छु भनेर ढुक्क थिए। जसै आवाज पातलो हुँदै गयो, उनी आफ्नो प्राणपखेरू उड्न लाग्यो कि भनेर कहालिन थाले।
बिस्तारै उनको मुखबाट आवाज ट्याप्पै भयो र पानी सुकेको धाराझैं स्याइँ स्याइँ मात्र सुनिन थाल्यो।
मुसा र साङ्लाको ताण्डवपछि उनलाई केही समय पानीमा डुबाएर राखियो। त्यो पनि बाकसबाट झिकेर कुनै कुवामा डुबाएको भए त तैबिसेक सन्चै हुन्थ्यो होला — कम्तिमा ज्यान त तन्काउन पाउँथे! तर होइन, सिपाहीहरूले त्यही बाकसभित्र उनको नाक–नाकसम्म आउने गरी पानी खन्याइदिएका थिए। कुनै बेला बेहोसीमा झपक्क आँखा लाग्यो भने पानीमा सास थुनिएर निस्सासिन्थे र हस्याङफस्याङ गर्दै मुन्टो माथि उठाउँथे।
पानीमा कैद गरिएका दिलकुमारलाई निदाउने छुट पनि थिएन। पीडामा बेहोस हुने छुट पनि थिएन।
बरफझैं चिसो पानीमा कठ्यांग्रिएर धेरै दिन बस्दा उनको पूरै ज्यान फुस्रो भएको थियो। जीउका छालाहरू चाउरी परेका थिए। ठाउँ–ठाउँमा रगत चुहिएलाझैं राग्गिएको थियो। फोहोर पानीको संक्रमणले खुट्टाको औंलाका कापहरू, काखी, कुर्कुच्चा र घुँडाभन्दा पछाडि ढुसी परेर धेरै समय उनलाई सतायो। उनी ढुसी परेका ठाउँमा दिनरात कर्याङकर्याङ कन्याइरहन्थे, तैपनि चिलाइ मर्दैन थियो।
‘त्यो बेला भोगेको यातना सम्झिँदा अहिले पनि मलाई ऐँठन परेजस्तो हुन्छ। सपनामै बर्बराउँछु, चिच्याउँदै ब्युँझिन्छु,’ दिलकुमार राईले २७ वर्षअघिको घटना स्मरण गर्दै हामीसँग भने, ‘अदालतमा मुद्दाको सुनुवाइ सुरू भएपछि मात्र यातना अलि कम भयो।’
भुटानी राजसत्ताले दिलकुमारलाई राजद्रोहको अभियोग लगाएको थियो। उनीमाथि दक्षिण भुटानमा आतंक मच्चाएको, भुटानी राजाविरूद्ध जनता भड्काएको, बम पड्काएको, पुल भत्काएको, मान्छे मारेको, चोरी, डकैती लगायतका दर्जनौं आरोप थिए।
शरणार्थी चोला त्यागेर स्वदेश फिरेको आफ्नो नागरिकलाई भुटानी राजसत्ताले तीन दिनको बसाइमै तीसौं अपराधमा मुछ्दा पनि कोही चुइँक्क बोल्न सकेनन्। दिलकुमारलाई हुँदै नभएको अपराधमा फसाउन खोजिएको हो भन्ने भुटानमा सबैलाई थाहा थियो, तर निर्दोषलाई फसाउनु आफैंमा अपराध हो भनेर आवाज उठाउन चाहिँ कोही तम्सिएनन्।
दिलकुमार आफैंले पनि आफ्नो बचाउमा केही बोल्न चाहेनन्। केही बोल्दा थप यातनाको शिकार हुनुपर्ला भन्ने उनलाई डर थियो। त्यसै पनि भुटानी जेलमा थुप्रै नेपाली बन्दीहरूलाई चरम यातना दिएर मारियो र लासधरि गायब पारियो भन्ने उनले सुनेका थिए। लासमा परिणत हुनुभन्दा धिपधिपे सास भए पनि जोगाइराख्नमै उनले आफ्नो कल्याण देखे। र, आफूमाथि लगाइएका सबै आरोप कबुल गरे।
अदालतले उनलाई २१ वर्ष तीन महिनाको जेल सजाय सुनायो र चेम्गाङ जेल चलान गर्यो।
‘मैले पूरा २१ वर्ष जेलमा बिताएँ,’ उनले भने, ‘मेरो असल चालचलनका कारण तीन महिनाको सजाय चाहिँ माफ गरिदिए।’
‘तपाईंसँगै पक्राउ परेको साथी चाहिँ कति वर्ष थुनियो त?’ हामीले सोध्यौं, ‘उसलाई पनि राजद्रोहकै अभियोग लाग्यो होला!’
हाम्रो यो प्रश्नमा दिलकुमार केही बोल्न सकेनन्। झन्डै झन्डै उनको हिक्कै छुट्यो।
उनी एकछिन चुप्प लागे र हातका औंलाहरू पट्पटी पड्काइरहे।
उनको असमञ्जसले हामीलाई नै अप्ठ्यारो बनायो।
हामीले सोच्यौं, कतै दिलकुमारसँगै पक्राउ परेको साथीले मृत्युदण्ड त पाएन!
‘मैले धेरैपछि थाहा पाएँ,’ यसो भन्दै गर्दा दिलकुमारका ओठ थर्थराएका थिए।
‘हजुर, के थाहा पाउनुभयो धेरैपछि?’ हामीले सोध्यौं।
‘मैले धेरैपछि थाहा पाएँ,’ उनले भने, ‘ऊ त जेल नै परेनछ।’
‘हजुर, के भन्नुभयो? जेल नै परेन? कसरी?’
‘खोइ कसरी कसरी?’ उनले लामो सास ताने, लामै सास छाडे, अनि भने, ‘हामीलाई गोठबाट सँगसँगै पक्राउ गरिए पनि एकै ठाउँ लगिएको थिएन। बीच बाटोबाटै उसलाई गाडी फेरेर अन्तै लगियो जस्तो लाग्छ।’
‘पहिले त मलाई पनि केही थाहा थिएन। उसलाई कुन जेलमा कति अमानवीय ढंगले राखिएको होला भनेर साह्रै चिन्ता लागिरहन्थ्यो। तर उसलाई त पक्राउ परेको १८ दिनमै सुटुक्क छाडिएछ,’ उनले अगाडि भने, ‘अहिले त क्यानडा गइसक्यो। उतै सुखी जीवन बिताउँदै होला!’
‘के तपाईंलाई आफू पक्राउ पर्नुमा उसैको हात छ जस्तो लाग्छ?’ हाम्रो यो प्रश्नमा उनले एक निमेष नबिराई जवाफ फर्काए, ‘लाग्दैन लाग्दैन। उसको केही हात छैन बरा! हामी एउटै उद्देश्य लिएर नेपालबाट गएका थियौं। एउटै गोठमा बास बसेका थियौं। सँगसँगै पक्राउ परेका थियौं। सायद उसले भुटानी जेलको यातना सहन सकेन। केही सम्झौता गरेर छुट्यो होला!’
उनका अनुसार नेपालबाट फर्केका अरू साथीहरूको नाम बताउन भुटानी सिपाहीहरूले तारन्तार केरकार गरेका थिए। दिलकुमारले जति यातना सहनुपरे पनि ज्यानजाला मुख खोलेनन्, जसको मूल्य २१ वर्षको कारावासबाट चुकाउनुपर्यो। आफ्नो साथीले चाहिँ हालतसँग सम्झौता गरे कि भन्ने दिलकुमारलाई लाग्छ।
जसरी छुटेको भए पनि अहिले उनको मनमा आफ्नो साथीप्रति कुनै मनखत छैन।
‘जसको पुर्पुरोमा जे लेखिएको छ, उसले त्यही भोग्छ,’ उनले भने, ‘आफ्नो विवेकले जे ठिक ठान्यो, उसले त्यही गर्यो। मेरो विवेकले जे ठिक ठान्यो, मैले त्यहीँ गरेँ। उसले गल्ती गर्यो भनेर म दोष थोपर्न चाहन्नँ, मैले ठिक गरेँ भनेर जस लिन पनि चाहन्नँ।’
यति भनेर उनी निकै बेर केही बोलेनन्।
खाली हातका औंलाहरू पट्पटी पड्काइरहे।
एक्काइस वर्ष जेल बसेर सन् २०१७ मा मुक्त भएका दिलकुमार राईले चाहेका भए भुटानमै बस्न सक्थे।
बसेनन्।
भुटानमै बसेका भए उनी बाँच्न त सक्थे, तर उनले आफ्नो नागरिक हकको आस त्याग्नुपर्थ्यो।
उनलाई अर्काको खेतबारी खन्न छुट थियो। अनौपचारिक क्षेत्रमा श्रम गर्न छुट थियो। घर वा कोठा भाडामा लिएर बस्न पनि छुट थियो।
तर उनले नागरिकता पाउँथेनन्। सरकारी जागिर खान पाउँथेनन्। घरजग्गा किन्न पाउँथेनन्।
‘पुर्खौं पुर्खादेखि भुटान मेरै भूमि हो, म भुटानी नै हुँ। मलाई आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक भएर बस् भनियो, म किन बसूँ?’ उनले भने, ‘त्योभन्दा त शरणार्थी भएर नेपाल पस्नु नै मलाई निको लाग्यो। कम्तिमा यहाँ मेरो शरणार्थीको हैसियत त छ। भुटानले खेदेर पठाएको नेपाली शरणार्थी भन्ने परिचय त पाएको छु। त्यहाँ त त्यही पनि छैन।’
‘भुटानमा बसेको भए म गैरकानुनी रूपले छिरेको विदेशी नागरिकभन्दा बढ्ता केही हुन्न थिएँ। मैले काम गर्न पाउँथेँ होला, राम्रो खान–लाउन पाउँथेँ होला, तर खानु–लाउनु मात्र त जीवन होइन नि!’ दिलकुमार राईले अगाडि भने, ‘जसलाई भुटानी राजसत्ताले आफ्नो घरको धूलो जत्ति पनि ठान्दैन र जुन बेला मन लाग्यो त्यही बेला टक्टक्याएर मिल्काइदिन सक्छ, त्यस्तो दुर्बल जिन्दगी त के जिउनु हौ!’
उनी नेपाल फर्किनुको अर्को कारण पनि छ — उनको परिवार।
परिवारसँग पुनर्मिलनको आसले आफूलाई चुम्बकले झैं यतै तानेको उनी स्वीकार गर्छन्।
उनको यो इच्छा अझै अधुरै छ।
जेलबाट छुटेर नेपाल फर्किँदासम्म उनको परिवारका सबै जना तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका उडिसकेका थिए। अहिले उनकी आमा, श्रीमती, छोरा, दाजु–भाउजू र दुई जना दिदी अमेरिकामा छन्। बुवाको भने शिविरमै निधन भयो।
‘परिवारसँग फोनमा कुराकानी हुन्छ होला नि?’ हामीले सोध्यौं।
‘कहिलेकाहीँ आमा र दिदीहरूसँग हुन्छ,’ उनले भने।
‘अनि श्रीमती र छोरा?’
यो प्रश्नमा उनी फेरि केही बेर चुप्प लागे र हातका औंलाहरू पट्पटी पड्काइरहे।
निकै सोचमग्न भएर दसैवटा औंला पड्काइसकेपछि सुस्तरी भने, ‘श्रीमतीले अमेरिका गएर अर्कैसँग बिहे गरी। छोराको पनि बिहे भइसक्यो। दुई जना नाति–नातिना छन् भन्ने सुनेको छु। तर सम्पर्क छैन।’
‘किन, उसलाई तपाईं जेलबाट छुट्नुभयो भन्ने थाहा छैन?’
‘थाहा त होला कि, तर बोल्नै मान्दैन,’ उनले मसिनो स्वरमा भने, ‘मैले उसलाई सानोमै छाडेर गएँ, त्यसैको रिस बोकेर बसेको छ। हुन पनि त्यो मबिनै हुर्कियो, बाबुको मायाबिनै बाँच्न सिक्यो। जति बेला उसलाई बाबुको खाँचो थियो, त्यति बेला म यहाँ थिइनँ। अहिले मलाई खाँचो पर्दा ऊ यहाँ छैन। टाइम–टाइमको कुरा हो!’
उनी फिस्स हाँसे र अगाडि भने, ‘अलि जान्नेबुझ्ने भएदेखि मलाई घृणा गर्थ्यो रे! मलाई छाडेर जाने बाउको मुख पनि हेर्दिनँ भन्थ्यो रे। जस्तो भन्थ्यो, त्यस्तै गर्यो।’
दिलकुमारलाई मन मारेर बसेको छोराप्रति कुनै मनखत छैन।
माया मारेर जाने श्रीमतीप्रति पनि कुनै मनखत छैन।
दुवै जना आ–आफ्नो घरगृहस्थी गरेर बसेका छन् भन्ने खबरले उनी खुसी नै छन्।
बस्, जिन्दगीमा एकचोटि आमा, बुहारी र नाति–नातिनाको मुख हेर्न पाए हुन्थ्यो भन्ने मात्र उनलाई लाग्छ।
उनलाई अब अवसर पाए अमेरिका जाने कि नागरिक हकसहित भुटान फर्किने भन्नेमा पनि दोमन छ, ‘कहिलेकाहीँ परिवार सम्झेर अमेरिका जाऊँ जाऊँ जस्तो लाग्छ। छोराले नभेटे पनि आमासँग भेट होला, नाति–नातिनाहरूको मुख देख्न पाइएला भनेर हुरूक्कै हुन्छु। फेरि अर्को मनले सोच्छु, म भँगालो फाटिसकेको मान्छे, यतिका वर्षपछि उही नदीमा मिसिन के जाऊँ!’ दिलकुमारले भने।
‘बरू त्योभन्दा त भुटान सरकारले यिनीहरू मेरै नागरिक हुन् भनेर फिर्ता लग्न राजी भयो भने खुसी खुसी आफ्नै माटो फर्किन्छु,’ उनले भने, ‘आफ्नै माटोमा मिसिन्छु।’
त्यही माटो, जहाँ दिलकुमारका पुर्खाहरू मिसिए।
व्यक्तिगत कुराकानीपछि दिलकुमार राईले आफ्नो गोजीबाट दुई पन्ना कागज झिकेर हामीतिर तेर्स्याए।
चेम्गाङ जेलमा रहेका राजनीतिक बन्दीहरूको सूची रहेछ।
हामीले सर्रर सूची हेर्यौं। उनले ३७ जनाको नाम टिपेर ल्याएका रहेछन्, जुन यस प्रकार छ —
रामबहादुर चाम्लिङ राई, भक्तबहादुर चाम्लिङ राई, गंगाराम ढकाल, मधुकर मगर, मणिकुमार प्रधान, नरबहादुर मगर, डम्बरसिंह पुलामी, प्रकाश मगर, चन्द्रराज राई, ओमनाथ अधिकारी, बिर्खबहादुर क्षत्री, कुमार गौतम, सुकमान मगर, हस्तबहादुर राई, नन्दलाल बस्नेत, आइतराज राई, खगेन्द्र खंदाल, गोविन्द निरौला, चतुरमान तामाङ, सनमान गुरूङ, रूपनारायण राई, बलराम राई, युगुप्रसाद सुब्बा, चन्द्रमान लिम्बू, घनश्याम गुरूङ, नरेन्द्र खुलाल, रामबहादुर खुलाल, खड्गबहादुर राई, प्रतापसिंह भट्टराई, सेराप वाङ्छुक शेर्पा, भीमबहादुर राई र हर्कबहादुर गुरूङ।
दक्षिण भुटानका नेपालीहरूबाहेक पूर्वी भुटानको शारछोप समुदायका केही राजनीतिक बन्दीको नाम पनि सूचीमा छ — छेवाङ रिन्जिन, रिन्जिन वाङ्दी, उगेन फुन्सो, टासी वाङ्दी र आता मेमे।
‘यी साथीहरू नेपाल सरकार वा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट आफूहरूलाई छुटाउन पहल होला कि भन्ने आस गरेर बसेका छन्,’ दिलकुमारले भने, ‘म रिहा भएर निस्किँदा पनि ‘हामीलाई छुटाउने प्रयास गर्नुहोला है’ भनेर बिन्ती गरेका थिए।’
आफू रिहा भएको पाँच वर्ष बितिसक्दा पनि दिलकुमारले जेलका ती साथीहरूको अनुनय बिर्सेका छैनन्। उनीहरूले देखाएको विश्वास बिर्सेका छैनन्। त्यत्रो अनुनय र विश्वासका बाबजुद अहिलेसम्म कसैलाई रिहा गराउन नसकेकोमा उनी थकथकी मान्छन्। त्यही भएर बेलडाँगी शिविरमा जोसुकै आगन्तुक आओस् — चाहे नेता होस् या मन्त्री, विदेशी पाहुना होस् या मानवअधिकारकर्मी, कलाकार होस् या हामीजस्ता पत्रकार — उनी ३७ जना बन्दीहरूको सूची फोटोकपी गर्छन् र थपक्क हातैमा थमाउन पुगिहाल्छन्।
सूची मात्र थमाएर उनको चित्त बुझ्दैन, सँगसँगै यो पनि भन्छन्, ‘तपाईंहरू आउनुभएको थाहा पाएर यो लिस्ट दिन आएको। यो चेम्गाङ जेलका बन्दीहरूको लिस्ट हो। म त्यहीँबाट आएकाले मलाई त्यहाँको मात्र जानकारी छ। भुटानका अरू जेलमा पनि दर्जनौं नेपाली बन्दीहरू होलान्, जसको हामीलाई अत्तोपत्तो छैन। ती साथीहरू अहिलेसम्म भुटानी जेलमा नारकीय जीवन बिताइरहेका छन्। एक–एक पल मृत्युसँग जुधिरहेका छन्। त्यसैले कृपया नेपाल सरकारलाई भनेर हुन्छ कि भारत सरकारलाई भनेर हुन्छ, संयुक्त राष्ट्रसंघलाई भनेर हुन्छ कि अरू कसैलाई भनेर हुन्छ; उनीहरूलाई छुटाउने कोसिस गरिदिनुहोला।’
उनी अगाडि भन्छन्, ‘आज सवा लाखभन्दा बढी भुटानी शरणार्थीहरू अमेरिका, क्यानडा, युरोप र अस्ट्रेलिया उडिसके। हामी यहाँ शिविरमा पाँच–छ हजार बाँकी छौं। उता नेपाल र भुटानबीच शरणार्थी समस्यालाई लिएर वार्ता हुन छाडेका वर्षौं भइसक्यो। यो समस्यामा हामी शरणार्थीबाहेक अरू कसैको चासो छैन। त्यसैले अझै पनि यिनीहरूलाई बन्दी बनाइराख्नुको कुनै औचित्य छैन। यिनले कुनै अपराध गरेका पनि होइनन्। यिनको अपराध भनेको आफ्नो माटोलाई हुरूक्कै हुने गरी माया गर्नु हो। माटोलाई माया गरेबापत् बीस–पच्चीस वर्षभन्दा बढी समय जेलमा बिताइसके, त्योभन्दा बढ्ता त कति सजाय दिनु हौ!’
उनका अनुसार सूचीमा रहेका ३७ जनामध्ये १५ जनाले जन्मकैदको सजाय पाएका छन्। भुटानको कानुनअनुसार जन्मकैद भनेको २५ वर्ष हो। तर त्योभन्दा बढी समय जेलमा बिताइसक्दा पनि रिहा नभएका बन्दी थुप्रै रहेको उनको भनाइ छ।
उनले गंगाराम ढकालको उदाहरण दिए, जो जन्मकैद पाएर पनि झन्डै ३० वर्षदेखि जेलमै छन्।
उनले भीमबहादुर राईको उदाहरण दिए, जसले तीन जन्मकैदको सजाय पाएका छन्। यो भनेको ७५ वर्ष हो।
उनले नरबहादुर मगरको उदाहरण दिए, जो ३२ वर्षदेखि जेलमै छन्। उनका आमाबुवा, दाजुभाइ, दिदीबहिनी कोही छैनन्। अवस्था एकदमै नाजुक छ। मानसिक स्थिति खल्बलिसकेको छ। हातले इसारा गर्दै फोनमा कुरा गरेझैं बोलेका बोल्यै गर्छन्। कहिले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई फोन गरेको भन्छन्। कहिले बौद्ध धर्मगुरू दलाई लामासँग बोलेको भन्छन्। त्यस्तो हालतको मान्छेलाई पनि फलामे साङ्लाले हातगोडा बाँधेर राखिएको छ।
‘हामीले पहल गरेनौं भने यो लिस्टमा नाम परेका धेरै जना जीवित फर्किने अवस्था छैन,’ दिलकुमारले भने, ‘उनीहरूको लास मात्र भुटानी जेलबाट बाहिर आउनेछ। त्यो पनि उतै जंगलतिर गुपचुप पुरिदिन सक्छन्।’
उनले आइतसिंह तामाङ भन्ने बन्दीको उदाहरण दिए, जसको राति बिछ्यौनामै मृत्यु भएको थियो। यता उनका आमाबुवा छोरा फर्केर आएपछि सँगै अमेरिका जाने भन्दै कुरेर बसेका थिए। छोरा त फर्किएन, लास चाहिँ फर्कियो। भुटान सरकारले आइतसिंहको शव फुन्सोलिङ सीमासम्म ल्याइदिएको थियो। आमाबुवाको इच्छाअनुसार भुटानभित्रै उनको दाहसंस्कार गरियो। आइतसिंहका आमाबुवा अस्ट्रेलिया उडिसकेका छन्। यहाँ एक जना बहिनी मात्र बाँकी छ।
बन्दीहरूको अर्को दुःखद अवस्था पनि दिलकुमारले हामीलाई सुनाए —
उनले जेलबाट छुटेर आएपछि चेम्गाङमा बन्दी रहेका केही भुटानी नेपालीका परिवारको खोजी गरेका थिए। यस क्रममा के थाहा पाए भने, धेरैका आफन्त विदेश उडिसकेछन्। तिनको न भुटानमा कोही बाँकी छ, न यहाँ शिविरमा कोही छन्। परिवारमा आमाबुवा, दाजुभाइ, दिदीबहिनी सब हुँदा पनि उनीहरू नितान्त एक्लो छन्। जेलमा त त्यसै पनि एक्लो हुने भइहाले, पछि जेलबाट छुटेर आउँदा पनि उनीहरूको जाने ठाउँ कहीँ छैन।
‘सबैको अवस्था मेरोजस्तै छ,’ उनले आफ्नै उदाहरण दिए, ‘भन्नलाई त सब छन्, देखाउनलाई कोही छैनन्। बथानबाट छुटेको वनचरीझैं झुपडीमा एक्लो जीवन बिताउनुपरेको छ। न खुसीमा सँगै हाँस्ने कोही छ, न दुःख पर्दा सँगसँगै रोइदिने कोही छ!’
उनले आखिरीमा एकै सासमा भने —
‘भुटानी राजसत्ताले अहिले आफूलाई संसारकै खुसी राष्ट्रका रूपमा चिनाइरहेको छ। बर्सेनि खुसी मापक परिसूचक सार्वजनिक गरेर भुटानी नागरिकहरू कति सम्पन्न छन्, कति खुसी छन् भनेर डंका पिटिन्छ। हामी भुटानको अत्याचार भोगेर आएका शरणार्थीहरूलाई त यो सब सुन्दा हाँसो उठ्छ।
‘जुन देशबाट सवा लाखभन्दा बढी नेपालीभाषीलाई जबर्जस्ती लखेटियो, त्यो देशलाई संसारकै खुसी मान्नु जत्तिको हास्यास्पद अर्को के होला!
‘जुन देशमा आज पनि दर्जनौं नेपालीहरूलाई बिनाकसुर बन्दी बनाएर राखिएको छ, त्यो देशलाई संसारकै खुसी मान्नु जत्तिको नाटक अर्को के होला!
‘जुन देशले आजसम्म आफूले गरेको मानवअधिकार हनन् र मानवताविरोधी अपराधको माफी मागेको छैन र आफूले लखेटेर पठाएका नेपालीहरूलाई ससम्मान नागरिकको दर्जा दिन मानेको छैन, त्यो देशलाई संसारकै खुसी मान्नु जत्तिको भ्रम अर्को के होला!
‘जुन भ्रम भुटानी राजसत्ताले छरिरहेको छ, आज पश्चिमा मुलुकहरू त्यसैलाई पत्याएर बसेका छन्। उनीहरू भुटानले गरेको चमत्कारी आर्थिक वृद्धि देखेर दंग छन्। त्यहाँका एक–से–एक उम्दा होटल, जलविद्युत आयोजना, सफा सहर र सफा हावापानी देखेर फुरूंग छन्। हुँदा हुँदा भुटानी राजसत्ताको अत्याचार प्रत्यक्ष देखे–भोगेको नेपालमा समेत भुटानको आर्थिक तरक्कीको तथ्यांक देखाएर तारिफको पुल बाँध्ने गरिन्छ। मानवताविरोधी अपराधलाई आर्थिक वृद्धिको तथ्यांकले ढाकछोप गर्नु जत्तिको दोगलापन अर्को के होला!
‘भुटानको चमत्कारी आर्थिक वृद्धिमुनि कति नेपालीको लास लुकेको छ भन्ने संसारले बिर्सिसक्यो। त्यहाँको सफा सहरभित्र कति नेपालीहरूको रगत बगेको छ भन्ने संसारले बिर्सिसक्यो। त्यहाँको स्वच्छ हावापानीमा कति नेपालीहरूको चित्कार र पीडा गुम्सिएको छ भन्ने पनि संसारले बिर्सिसक्यो।
‘संसारले यी सबथोक बिर्से बिर्सून्, हामीलाई केही छैन। तर कम्तिमा अहिलेसम्म भुटानी जेलमा रहेका नेपालीहरूलाई कसैलाई नबिर्सिदिऊन्। उनीहरूलाई छुटाउन सबैले पहल गरिदिऊन्।’
दिलकुमार राई चाहन्छन् — यो आवाज सुनेर नेपाल सरकारले भुटानसँग कूटनीतिक पहल गरिदिए हुन्थ्यो। कुन जेलमा कति जना नेपाली थुनिएका छन् थाहा नभए पनि कम्तिमा थाहा भएका यी ३७ जनाले रिहाइ पाउँथे कि!
‘उनीहरूको आशा र भरोसा अब नेपाल सरकारमाथि नै छ,’ दिलकुमारले हाम्रो अगाडि हात जोड्दै भने, ‘कृपा गरेर तपाईंहरूले पनि ती बन्दीहरूको रिहाइका लागि केही गर्दिनुस्। हाम्रो कुरा माथिल्लो निकायसम्म पुर्याइदिनुस्।’
‘तपाईंहरूले यत्ति गरिदिनुभयो भने उनीहरू लास भएर होइन, जीवितै बाहिर आउन पाउने छन्। तपाईंहरूलाई ती सबैको आशीर्वाद लाग्नेछ। तिनका आमाबा, श्रीमती, छोराछोरीको आशीर्वाद लाग्नेछ।’
अध्याय अठ्ठाइस
जेलका सबै नेपाली बन्दीहरूका यी दुई आमा
भुटानको चेम्गाङ जेलमा २१ वर्ष थुनामा रहँदा दिलकुमार राईलाई भेट्न आउने कोही थिएनन्।
सुरू सुरूमा उनकी श्रीमती आउँथिन्। पछि आउन छाडिन्।
डम्बरकुमारी अधिकारी भने वर्षको दुईचोटि झापाको बेलडाँगी शिविरबाट भुटानको चेम्गाङ जेल धाइरहन्थिन्।
उनी खासमा आफ्नो छोरा भेट्न जान्थिन्। बिस्तारै अन्य भुटानी नेपाली बन्दीहरूसँग पनि उनको घनिष्ठ नाता गाँसियो। उनी सबैसँग झ्याम्मिइन्, सबै उनीसँग झ्याम्मिए।
पहिलोचोटि चेम्गाङ जेल जाँदा उनी एक जनाकी आमा थिइन्, बिस्तारै सबै नेपाली बन्दीकी आमा भइन्।
डम्बरकुमारीसँग हाम्रो परिचय दिलकुमार राईले नै गराएका थिए। परिचय गराउँदै उनले भनेका थिए, ‘उहाँको छोरा र म एउटै जेलमा थियौं। उहाँ छोरा भेट्न आउँदा मसँग पनि भेट भयो। नेपालको शरणार्थी शिविरबाट आएको भनेपछि हामीलाई त आफ्नै मान्छे आएजस्तो लाग्ने भइहाल्यो। त्यसमाथि मेरो परिवारका सबैलाई उहाँ राम्ररी चिन्नुहुन्थ्यो। उहाँको मुखबाट म परिवारको खबर थाहा पाउँथेँ। मेरो खबर पनि उहाँले नै लगिदिनुहुन्थ्यो। कहिलेकाहीँ मेरो निम्ति कोसेली बोकेर आउनुहुन्थ्यो। बिस्तारै उहाँलाई भेट्दा मलाई यस्तो लाग्न थाल्यो, म आफ्नै आमालाई भेटिरहेको छु।’
दिलकुमारले यसो भन्दै गर्दा ६२ वर्षीया डम्बरकुमारीको आँखाभरि ममता छचल्किएको प्रस्टै देखिन्थ्यो। नछचल्कियोस् पनि किन, उनलाई आज पनि दिलकुमार आफ्नै छोराजस्तै लाग्छ!
डम्बरकुमारीका छोरा ओमनाथ अधिकारी जेल परेको ठ्याक्कै पन्ध्र वर्ष बित्यो। किन जेल परे, कति सजाय सुनाइयो; यसबारे डम्बरकुमारीलाई अत्तोपत्तो छैन। दिलकुमारले चेम्गाङ जेलमा रहेका ३७ जना बन्दीहरूको जुन सूची हामीलाई दिएका थिए, त्यसमा ओमनाथ अधिकारीको नाम पनि छ।
सन् २००८ मा ओमनाथ भारततिर काम गर्न जान्छु भनेर बेलडाँगीबाट निस्केका थिए। त्यति बेला उनी २४ वर्षका थिए। धेरै महिना उनको कुनै खबर आएन। पछि एकैचोटि रेडियो समाचारमा नाम आयो। भुटानमा आतंककारी गतिविधि गरेको भन्दै एघार जनालाई पक्राउ गरिएछ, जसमा ओमनाथको पनि नाम थियो। ती एघार जना सबै बेलडाँगी शिविरकै केटाहरू थिए।
‘म अझै पनि त्यो दिन बिर्सन्नँ,’ डम्बरकुमारीले हामीसँग भनिन्, ‘रेडियोमा समाचार सुन्दै थिएँ। दक्षिण भुटानमा हुलदंगा मच्चाएको, भुटान सरकारविरूद्ध जनता भड्काएको, आतंककारी गतिविधिमा सामेल भएको र अरू पनि के–के गरेको भन्दै मेरो छोरोको नाम फुक्यो। बेलडाँगी शिविरकै छरछिमेकका छोराहरूको नाम पनि आयो। भारततिर काम गर्न जान्छु है आमा भनेर हिँडेको मेरो छोरो कसको पछाडि लागेर भुटान पुग्यो, किन गयो, कसरी पक्राउ पर्यो मलाई केही थाहा थिएन।’
आज आउला, भोलि आउला भन्दै कुरेर बसेको छोरा अनायासै जेल परेको खबर सुनेर डम्बरकुमारी खङरङ्गै भइन्।
उनको श्रीमानको भुटानमै निधन भएको थियो। सन् १९९२ मा बालखा छोरा र छोरी च्यापेर उनी भुटानको दागानाबाट नेपाल पसेकी थिइन्। यहाँ आउँदा ओमनाथ आठ वर्षका थिए, छोरी धनमाया तीन वर्षकी थिइन्।
जुन देशको शासकबाट नेपाली समुदायमाथि भएको अत्याचार सहन नसकेर डम्बरकुमारी शरणार्थी भइन्, आफ्नो छोरा त्यही देशमा पक्राउ परेपछि उनको हंशले ठाउँ छाड्यो। भुटानी जेलमा नेपाली बन्दीहरूमाथि कति अमानवीय व्यवहार गरिन्छ भन्ने उनलाई राम्ररी थाहा थियो। जेल परेर फर्केकाहरूको मुखबाट चरम यातना वृत्तान्त सुन्दै आएकी डम्बरकुमारीलाई आफ्नो छोरा त्यही अवस्थामा पुगेको थाहा पाएर कहाली लाग्यो।
उनी छोराको रिहाइ निम्ति मद्दत माग्न रेडक्रसको अफिस गइन्। शरणार्थीसम्बन्धी राष्ट्रसंघीय आयोगको कार्यालय धाइन्। शरणार्थी नेताहरूसँग हारगुहार पनि मागिन्। तर कसैबाट छोरा छुटाउने उपाय नदेखेपछि उनले कम्तिमा छोरासँग भेट गराइपाऊँ भन्दै रेडक्रसलाई निवेदन लेखेर दिइन्।
रेडक्रसले उनको निवेदन भुटान सरकारसम्म पुर्यायो र आमाछोराको भेट गराउन संस्थागत पहल पनि गर्यो।
सुरूमा त भुटान सरकार कसैगरी मानेन। डम्बरकुमारीका निवेदन धेरैचोटि खारेज भए।
जतिचोटि निवेदन खारेज भए पनि डम्बरकुमारीले हार मानिनन्।
उनले लेखेको लेख्यै गरिन्, रेडक्रसले पनि पहल गरिह्यो।
आखिरमा भुटान सरकारले वर्षको दुईचोटि डम्बरकुमारीलाई चेम्गाङ जेलमै गएर छोरासँग भेट्ने अनुमति दियो।
अनुमति त दियो, तर प्रक्रिया सजिलो छैन।
सबभन्दा पहिला फलानो बन्दीलाई भेट्ने भनेर लिखित निवेदन पठाउनुपर्छ। त्यो निवेदन सही हो कि होइन भनेर विभिन्न तहमा जाँच गरिन्छ। सबै तहबाट पास भएपछि अन्ततः भुटानको सम्बन्धित जेलमा निवेदन पेस हुन्छ। त्यसपछि भेट्न चाहेको बन्दीलाई कार्यालयमा डाकेर केरकार गरिन्छ। फलानो मान्छेले भेट्न आउँछु भनेर निवेदन पठाएको छ, ऊ तिम्रो आफन्त हो कि होइन? आफन्त हो भने ऊसँग तिम्रो नाता के हो? नाता प्रमाणित हुने कुनै दस्तावेज पेस गर्न सकिन्छ कि सकिँदैन? यस्ता अनेक प्रश्न बन्दीलाई सोधेपछि बल्ल निवेदक नातेदारलाई भुटानी सीमाभित्र प्रवेश गर्ने अनुमति दिइन्छ। नाता प्रमाणित गर्दा अलिकति पनि शंका लाग्यो भने निवेदन तुरून्तै खारेज हुन्छ। सोधपुछ क्रममा बन्दीको जवाफ र निवेदनमा उल्लिखित बेहोरा मिलेन भने पनि प्रक्रिया अघि बढ्दैन।
सबै तहबाट प्रक्रिया अघि बढ्दै गयो भने निवेदन लेखेको कम्तिमा पाँच महिनापछि मात्र बन्दी भेट्न अनुमति पाइने डम्बरकुमारी बताउँछिन्।
‘एकचोटि प्रक्रिया पूरा गर्नै पाँच महिना लाग्ने हुँदा वर्षको दुईचोटिभन्दा बढी भेट्न त सम्भवै छैन,’ डम्बरकुमारीले हामीसँग भनिन्, ‘हामी सकभर चाडपर्वको समय पारेर भेट्न जान्छौं। त्यसका लागि छ महिनाअगाडि नै निवेदन दिन्छौं। दसैंमा भेट्न जानुछ भने वैशाख महिनातिरै निवेदन दिइसक्नुपर्छ। वैशाखमा निवेदन दियो भने बल्ल असोजमा भेट्ने अनुमति पाइन्छ।’
अनुमतिपत्र हात परेपछि पनि भुटान छिर्न पाइन्छ कि पाइँदैन यकिन हुँदैन। यसका लागि सीमा सुरक्षा अधिकारीले भुटानभित्र छिर्न छुट्टै अनुमति दिनुपर्छ।
नेपालबाट जाने आफन्तहरू जेलको अनुमतिपत्र लिएर भुटानी सीमासम्म पुग्छन् र फलानो जेलमा फलानो नामको मान्छे भेट्न जान लागेको भनेर अनुमतिपत्र देखाउँछन्। त्यसपछि सीमा सुरक्षा अधिकारीबाट थप सोधखोज हुन्छ। अनुमतिपत्र देखाउने सबैलाई सीमाभित्र प्रवेश दिनैपर्छ भन्ने बाध्यात्मक नियम छैन। कसलाई प्रवेश दिने र कसलाई नदिने भन्ने सीमा अधिकारीको स्वविवेकमा भर पर्छ। उनीहरूलाई चित्त बुझेन भने सबै कागजपत्र दुरूस्त देखाउँदा पनि यसै फर्काइदिन सक्छन्।
‘हामीले कतिचोटि अनुमतिपत्र देखाउँदा पनि भुटानमा प्रवेश पाएका छैनौं,’ डम्बरकुमारीले भनिन्, ‘भुटानमै छिर्न नपाएपछि जेलसम्म पुग्ने त सवालै आएन।’
यसरी एकचोटि पाएको अनुमतिपत्र त्यही समयका लागि मात्र प्रयोग गर्न पाइन्छ। त्यो बेला सीमा अधिकारीको स्वविवेक वा अन्य कुनै कारणले भुटान छिर्न पाइएन भने अनुमतिपत्र स्वतः खारेज हुन्छ। अर्को अनुमति लिन फेरि शून्यबाट प्रक्रिया सुरू गर्नुपर्छ। भन्नुको मतलब, एकचोटि अनुमतिपत्र खेर गएपछि अर्को अनुमति पाउन फेरि पाँच महिना कुर्नुपर्छ।
सबै चरण पार गरेर भुटानी सीमामा प्रवेश गर्न सफल भइयो भने बल्ल बन्दीसँगको भेट निश्चित हुन्छ। त्यसपछि यताबाट गएका आफन्तले जेलको पाहुना घरमा तीन दिनसम्म बस्न पाउँछन्। यसबीच हरेक दिन दिनभरि बन्दीसँग समय बिताउन पाइन्छ। रात परेपछि भने बन्दी आफ्नो थुनुवा कक्ष र आफन्त पाहुना घर फर्किनुपर्छ।
डम्बरकुमारी सुरूका वर्षहरूमा सालिन्दा दुईचोटि जान्थिन्। पछि सालको एकचोटि जान थालिन्।
‘बूढी भएँ। दम पनि बढेको छ। पहिलेजस्तो कुदाकुद गर्न सक्दिनँ,’ उनले भनिन्, ‘बेलडाँगीबाट भुटानको चेम्गाङ जेलसम्म पुगेर फर्किनु भनेको कम्तिमा सात दिनको यात्रा हो। यति धेरै धपेडी ज्यानले सहन नसक्ने भइसक्यो। त्यसैले छोरालाई वर्षको एकचोटि मात्र आउँछु है भनेर सम्झाएको छु। पहिले त मुख निन्याउरो पारेको थियो, अहिले कुरा बुझिसक्यो।’
हामीले अघिल्लोचोटि डम्बरकुमारीलाई भेट्दा उनी सोह्र दिनअघि मात्र छोरा भेटेर फर्किएकी थिइन्। उनको अनुहारमा छोरासँगको सानिध्यले ल्याएको उज्यालो ताजै थियो।
‘के भन्यो त छोराले?’ हामीले डम्बरकुमारीलाई सोधेका थियौं।
‘सधैं भन्ने उही त हो,’ जवाफमा उनले भनिन्, ‘मेरो चिन्ता नलिनुस् है आमा भन्छ। मिल्यो भने मलाई छिटो यहाँबाट छुटाउन पहल गर्दिनुस् भनेर भन्छ। अरू के छ र भन्ने कुरा!’
यसपालि चाहिँ छोराले एउटा नमिठो कुरा पनि गरेछन् —
एक नेपाली बन्दीको जेलमै मृत्यु भएछ। तीन दिन लास राख्दा पनि परिवारको कोही लिन नआएपछि जेलका सिपाहीहरूले नै माथि डाँडामा लगेर गाडिदिएछन्।
यही घटना सुनाउँदै ओमनाथले आमालाई भनेछन्, ‘म पनि यहीँ मरेँ पनि तपाईंको मुखै देख्न पाउँदिनँ है आमा। मलाई पनि त्यसरी नै डाँडामा लगेर गाड्ने छन्।’
छोराको यस्तो विदारक बयानले डम्बरकुमारीको मुटु उफ्रेर मुखसम्मै आइपुगेको थियो।
‘मैले उसको मनको अत्यास नबुझेको होइन। आमाले भन्दा बढी छोराको मन बुझ्ने अरू को होला र! ऊ जेलमा कति आत्तिएको छ भन्ने मलाई राम्ररी थाहा छ। तर म एक्ली बूढी मान्छे कहाँ जाऊँ? कसलाई गुहारूँ? मसँग न टेक्ने हाँगो छ, न समाउने लट्ठी,’ उनले भनिन्, ‘छोरा जेल परेदेखि चिन्तै चिन्ताले सुकेर पराल भइसकेँ। कसरी छुटाएर ल्याउने होला, केही मेलोमेसो पाएको छैन!’
‘बाबुहरू पत्रकार हुनुहुँदो रहेछ, नानीहरूको रिहाइ निम्ति एक जना बूढी आमा बिन्ती बिसाइरहेको छ भनेर लेख्दिनू न है,’ उनले अगाडि भनिन्, ‘तपाईंहरूको खबरले भुटानको जेलमा रहेका हाम्रा नानीहरूको खबर सरकारसम्म पुग्थ्यो कि!’
डम्बरकुमारीको अर्को समस्या पनि छ — जुन देशले उनलाई साना भुराभुरीसहित लखेटेर पठायो, अहिले छोरा भेट्न त्यही देश धाउनुपरिरहेको छ। हरेकचोटि भुटान जाँदा पुराना यादहरू रोटेपिङझैं आँखाअगाडि नाच्न थाल्छन्। उनी भुटानी माटोमा आफूले गरेको दुःख सम्झन्छिन्, भुटानी राजसत्ताले आफूलाई दिएको दुःख पनि सम्झन्छिन्। त्यस्तो बेला मुटुभित्र जम्मा भएका पीडाका पत्रपत्र घाउको पाप्रा उप्केझैं आलो भएर आउँछन्।
कहिलेकाहीँ त हिँड्दै हिँड्दै ठ्याक्कै त्यही ठाउँमा पुग्छिन्, जहाँ कुनै दिन भुटानी सेनाले बन्दुकको नाल तेर्स्याएर उनलाई हकारेको थियो। ज्यान मार्ने धम्की दिँदै चौबीस घन्टाभित्र भुटान छाडेर जान उर्दी सुनाएको थियो। त्यो ठाउँ पुग्दा आज पनि उनी आफूलाई सम्हाल्न सक्दिनन्। बिनाकारण आफूहरूमाथि गरिएको अत्याचार सम्झेर भक्कानिन्छिन्।
तर आमाको मन न हो — पुरानो घाउ जतिसुकै आलो भए पनि छोरा भेट्न भुटान नगई धर छैन।
लाख पीडाको भारी मनमा बोकेर भए पनि उनी भुटान आउजाउ गरिरहेकै छिन्।
भुटानमा एउटा कहावत छ — बूढाबूढीको सम्बन्ध सात जन्म, आमा र छोराछोरीको जन्म–जन्म।
यो कहावतको पछाडि गहिरो दर्शन लुकेको छ। त्यो के भने, जुनसुकै सम्बन्धमा मायाको हद हुन्छ। आमा र छोराछोरीको सम्बन्ध मात्र यस्तो हो, जसमा माया बेहद हुन्छ। एउटी आमाले आफ्ना सन्तानलाई जीवनभर ओखाइपोखाइ माया गर्छिन्, तैपनि उनलाई बढी माया गरेँ भन्ने लाग्दै लाग्दैन। हुने भए एक थोपा रगत पनि निचोरेर सन्तानको मुटुमा भरिदिऊँ कि भन्ने आमाको धोको हुन्छ। मिल्ने भए आफूले फेरिरहेको एकमुठी सास पनि सन्तानको फोक्सोमा भरिदिऊँ कि भन्ने आमाको चाहना हुन्छ। यस्तोमा जुन आमाले आफ्नो मुटुभरिको माया सन्तानलाई ओखाइपोखाइ न्यौछावर गर्न पाउँदिनन्, उनको आत्मा कति तड्पिन्छ होला!
आमाको यो तडप डम्बरकुमारीलाई भन्दा बढ्ता कसलाई थाहा होला, जो चाहेर पनि सन्तानलाई नित्य आँखाअगाडि देखिरहन पाउँदिनन्। सन्तानको सन्चो–बिसन्चोको समाचार नित्य सुन्न पाउँदिनन्।
सबभन्दा ठूलो कुरा त, छोराको एउटै धोको — जेलबाट मुक्त हुने — त्यो पनि पूरा गर्न पाउँदिनन्।
‘छोराछोरीले जतिसुकै ठूलो चिज मागे पनि त्यो चिज पूरा होस् भन्ने आमाको कामना हुन्छ। ऊ आफ्नो छोराछोरीको खुसीका लागि जुनसुकै दुःखबाट गुज्रन तयार हुन्छ,’ उनले भनिन्, ‘मै एउटी यस्ती अभागी आमा हुँला, जसले छोराको एउटै धोको पनि पूरा गर्न सकेको छैन। उसको रिहाइका लागि म कहाँ कहाँ मात्र धाइनँ होला! क–कसलाई मात्र गुहारिनँ होला! तर खोइ, कसैबाट केही उपाय लागेन!’
डम्बरकुमारीले यति भनेर लामो सुस्केरा हालिन् र आकाशतिर हेर्दै निकै बेर टोलाइरहिन्।
आकाशमा कपासको भुवाजस्ता सेता बादलका टुक्राहरू हुरहुर्ती उड्दै पूर्वतिर बग्दै थिए। बादलका ती टुक्रा सायद काँकरभिट्टाको आकाशमाथि मेची पुल तरेर भारततिर प्रवेश गर्दै थिए। अब केही बेरमै दार्जिलिङको आकाश छिचोलेर सिक्किम छिर्ला, अनि सिक्किमबाट भुटानी सीमामा प्रवेश गर्ला।
भुटानको चेम्गाङसम्म पुग्ला कि नपुग्ला हँ!
कतै चेम्गाङ पुग्नुभन्दा अगाडि नै हावासँग ठोक्किएर छरपस्ट हुने त होइन!
आमाको मन सायद बादलमा लुटुपुटु पारेर आफ्नो माया छोरालाई पठाउन चाहँदै थियो!
‘बादल बन्न पाए पनि हुन्थ्यो नि है बाबु,’ डम्बरकुमारीले हामीलाई पनि आफ्नो छोराजस्तै माया देखाउँदै भनिन्।
छोरालाई ओखाइपोखाइ खन्याउन नपाएको आमाको माया छोराजस्तो जो भेट्यो, उसैमाथि पोखिन्छ! संसारभरिका आमाहरूको माया सायदै यस्तै हुन्छ! डम्बरकुमारीको मायाको केही अंश दिलकुमार राईले पाए, चेम्गाङ जेलका अन्य नेपाली बन्दीहरूले पाए; अहिले हामीमाथि पनि त्यही माया छचल्किँदै थियो।
‘कुनै दिन भगवानले ‘ए डम्बरकुमारी तँ कुन अवतार लिन्छेस्’ भनेर सोध्नुभयो भने म त बादल बन्छु होला बाबु!’ उनले अगाडि भनिन्, ‘मन लाग्यो कि हुर्रर उडेर चेम्गाङ गयो, छोरासँग सुटुक्क भेट्यो, अनि आकाशै आकाशको बाटो फर्केर आयो।’
यति भनेर उनी फिस्स हाँसिन् र फेरि पूर्वी आकाशतिर टोलाइन्।
सेतो बादलको टुक्रा निकै पर पुगिसकेको थियो — हावाको वेगसँग जम्काभेट भएन भने अब केही बेरमै चेम्गाङको आकाशमाथि मडारिन थाल्ला!
त्यति बेला ओमनाथ आकाशतिर हेरिरहेका होलान् कि नहोलान्!
हेरिरहेका भए आकाशमा मडारिएको बादलको टुक्रा उनकी आमा डम्बरकुमारीको नजरमा परेर नेपालदेखि उड्दै आएको हो भन्ने उनले थाहा पाउलान् कि नपाउलान्!
पुत्र वियोगमा बादलसँगै बग्न थालेको आमाको मन सम्हाल्दै हामीले सोध्यौं, ‘तपाईंसँग छोराको फोटो छ?’
‘घरमा छ,’ उनले भनिन्।
‘घर कति टाढा छ?’
‘अलिकति पर छ, म ल्याउन सक्छु।’
डम्बरकुमारीले यसो भन्दै गर्दा उनकी छोरी धनमाया फोटो लिन जान तम्सिइन्। उनले नेपालमै बिहे गरेकी थिइन्। एउटा दस वर्षको छोरा पनि छ। एक महिनाको गर्भवती हुँदा श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले आमासँगै बस्छिन्।
‘म सुत्ने कोठाको कुनामा लुगा राखेको बाकस छ नि, त्यही बाकसमा होला फोटो,’ डम्बरकुमारीले घर जान तम्सिएकी छोरीलाई सम्झाउँदै भनिन्, ‘त्यहाँ नभए दराजमाथि हरियो झोला छ, त्यही झोलामा होला।’
धनमाया फोटो लिन कुदेपछि डम्बरकुमारीले छोरीको दुःख पनि हामीसँग बिसाइन्।
‘यसको बूढा सम्बन्ध विच्छेद गरेर अस्ट्रेलिया गयो। सानो छोरो र बूढी आमा स्याहारेर बसेकी छे। ओम जेल परेपछि हामी आमा–छोरी नै एकअर्काको सहारा भएका छौं,’ उनले भनिन्, ‘दुःखमा नातिको मुख हेरेर अलिकति भए पनि सन्चो हुन्छ मलाई।’
‘अनि तपाईंहरू विदेश चाहिँ किन जानुभएन?’ हामीले सोध्यौं, ‘कागजपत्र मिलेन कि?’
‘होइन नि,’ उनले भनिन्, ‘कागजपत्र सब तयार छ। तर छोरालाई उता जेलमा एक्लै छाडेर कसरी जानू! उसैलाई कुरेर बसेको। छोरीलाई एक्लै भए पनि जा भनेको थिएँ। त्यो पनि मानिन। म बूढीले गर्दा छोरी पनि जान पाइन बरा!’
‘जुन दिन छोरो फर्केर आउला, त्यसै दिन सबै जना जाउँला भनेर बसेका छौं,’ उनले अगाडि भनिन्, ‘युएनएचसिआर (शरणार्थीसम्बन्धी राष्ट्रसंघीय आयोग) ले पनि छोरो फर्केर आएपछि हामीलाई खबर गर्नू, हामी प्रोसेस सुरू गर्दिन्छौं भनेका छन्। हेरौं के हुन्छ अब!’
‘तपाईंहरूको घर खर्च चाहिँ कसरी चल्छ त?’
‘कसरी चल्छ भन्नु, म त दिनभरि नाति हेर्दै बस्ने हो। छोरीले सानोतिनो काम गर्छे,’ उनले भनिन्, ‘मेरो दाजु विदेशमा हुनुहुन्छ। उहाँले नै पाँच–छ महिनामा पाँच–छ हजार पठाइदिनुहुन्छ। त्यही फारो गरेर चलाउँछौं।’
त्यही बेला फोटो लिन गएकी धनमाया फर्केर आइन्।
उनको हातमा पुरानो एल्बम थियो। डम्बरकुमारीले एल्बम पल्टाएर एउटा रंगीन फोटो हामीलाई देखाइन्।
‘यो जिन्स पाइन्ट लगाएको मेरो छोरो हो,’ उनले भनिन्, ‘यहीँ शिविरका केटाहरूसँग पिकनिक जाँदा खिचेको।’
हामीले उनको हातबाट ओमनाथको फोटो लियौं।
पातलो खोलामा कुर्कुच्चासम्म डुबाएर उभिएका उनी जिन्स पाइन्ट र जिन्स ज्याकेटमा खुब ठाँट्टिएका थिए।
बेलडाँगी शिविरमा अर्की आमा पनि छिन्, जो डम्बरकुमारी अधिकारीकै साथ लागेर भुटानी जेल आउजाउ गरिरहन्छिन्।
उनी हुन्, कलावती मगर।
कलावती ५७ वर्ष पुगिन्। उनका छोरा सुकमान मगर पनि पन्ध्र वर्षदेखि भुटानको चेम्गाङ जेलमा बन्दी छन्। दिलकुमार राईले तयार पारेको बन्दीहरूको सूचीमा सुकमानको नाम पनि छ।
कलावती भुटानको गेलेफुबाट आएकी हुन्। उनी नेपाल आउँदा २७ वर्षकी थिइन्। त्यति बेला सुकमान जम्मा छ वर्षका थिए। उनी बेलडाँगी शिविरमै हुर्केबढे, यतै पढेलेखे।
सन् २००८ को कुरा। सुकमान बाह्र कक्षा पढ्दै थिए। एकदिन उनी ‘साथीकहाँ गएर आउँछु है आमा’ भन्दै घरबाट निस्के।
कलावती राति अबेरसम्म छोराको बाटो हेरेर बसिरहिन्।
सुकमान फर्केनन्।
भोलिपल्ट फर्केनन्, पर्सिपल्ट पनि फर्केनन्।
कलावतीले शिविरका सबै झुपडी चहारिन्। साथीभाइ सबैकहाँ सोधखोज गरिन्। दमक र बिर्तामोडदेखि काँकरभिट्टा र भद्रपुरसम्म पुगिन्। भारतको सिलगुढी पो गए कि भनेर त्यहाँ पनि खोजबिन गरिन्।
उनले सुकमानको खबर कहीँ पाइनन्। सुकमानलाई भेटेको थिएँ भन्नेहरू पनि कोही भेटिनन्।
लगभग हरेस खाएर बसेका बेला एक बिहान रेडियोमा सुकमानको नाम सुनेर उनका कान ठाडा भए। रेडियोले कुन प्रसंगमा उनको नाम फुक्यो, कलावतीलाई होस भएन। बिहानको समाचार बुलेटिनमा झट्ट छोराको नाम सुनेपछि उनी पूरा समाचार थाहा पाउन दिउँसोको बुलेटिन कुरेर बसिन्।
दिउँसो फेरि सुकमानको नाम बज्यो। उनीसहित एघार जनालाई आतंककारी गतिविधिमा सामेल भएको र दक्षिण भुटानमा हुलदंगा मच्चाएको भन्दै भुटानी सेनाले पक्राउ गरेको खबर रहेछ।
सुरूमा त उनले पत्याउनै सकिनन्। गलत खबर आयो कि भन्ने पनि लाग्यो। वा, सुकमान मगर नामको अरू नै व्यक्ति पक्राउ परेको हो कि भन्ने पनि उनले सोचिन्।
जब शिविरका अरू व्यक्तिहरूले भुटानकै विभिन्न स्रोतबाट खबर पुष्टि गरे र शिविरका अरू केटाहरू पनि सँगसँगै पक्राउ परेको सूचना ल्याए, तब कलावतीको मुटु ढक्क फुल्यो। उनलाई आफू उभिरहेको धर्ती फाटेर त्यसैभित्र धस्सिएझैं भयो। छोरा सानो हुँदा जुन राक्षसको कथा सुनाएर उनी फकाउने गर्थिन्, त्यही राक्षसले रातको अँध्यारोमा छोरालाई टपक्क टिपेर लगेझैं उनी कहालिइन्।
साथीको घर जान्छु भनेर हिँडेको छोरो के रनाहामा भुटान पुग्यो र कसको साथ लागेर गयो भन्ने उनलाई चालचुल केही थाहा थिएन। छोरा भित्रभित्रै भुटान जान भुट्भुटिएका छन् भन्ने सुइँको पनि उनलाई थिएन।
‘भुटानी सेनाले समात्यो भने कति वीभत्स यातना दिन्छ भन्ने मैले जेलबाट छुटेर आएका मान्छेहरूबाट सुनेको थिएँ। मेरो छोरा तिनै भुटानी सेनाको फन्दामा परेको थियो। झ्यालखानामा उसमाथि कस्तो व्यवहार गरियो होला भन्ने कल्पनाले नै मेरो आँत थरथरी काम्यो,’ कलावतीले हामीसँगको कुराकानीमा भनिन्, ‘उसको मनमा भुटान जाने योजना खेलिरहेको छ भन्ने अलिकति पनि आभास भइदिएको भए म उसलाई पहिल्यै सम्हाल्थेँ, सम्झाउँथेँ; उसै परे हप्काउँथेँ पनि। तर मलाई केही थाहापत्तो नदिइकन सुटुक्कै हिँड्यो।’
जति बेला सुकमान जेल परे, उनी २२ वर्षका थिए। अहिले ३७ वर्ष पुगिसके। अझै कति वर्ष जेल बस्न बाँकी छ भन्ने पनि कलावतीलाई जानकारी छैन।
‘जन्मकैद राख्यो भने कम्तिमा २५ वर्ष बस्नुपर्छ भन्ने सुनेको छु। त्यसो हो भने अझै १० वर्ष जेलमा बिताउनुछ,’ उनले भनिन्, ‘ओहो, सम्झिँदा पनि मुर्छै पर्छु कि जस्तो पो लाग्छ हौ!’
उनी पछिल्लो पन्ध्र वर्षमा छोरा भेट्न आठचोटि चेम्गाङ जेल पुगिसकिन्। हरेकचोटि भेट्दा सुकमान रून्चे मुख लगाएर एउटै कुरा भन्छन्, ‘यहाँबाट बाहिर निकाल्ने कुनै उपाय लगाउनुस् न आमा!’
कलावतीले उपाय नलगाएकी कहाँ हो र! छोराको रिहाइका लागि उनले चिनेजानेका सबै नेतालाई भनिसकिन्। अन्तर्राष्ट्रिय संघ–संगठन पनि गुहारिसकिन्। भगवानले पो पुकार सुन्छन् कि भनेर थुप्रै मन्दिरमा माथा पनि टेकिसकिन्। चौतर्फी याचनाका बाबजुद छोरा रिहा हुने छेकछेन्द भने अहिलेसम्म देखेकी छैनन्।
‘जति टाउको फोडे पनि हाम्रो कुरा कसैले नसुनेपछि के लाग्छ! अब त खाली ईश्वरले नै कुनै चमत्कार गर्देला कि भन्ने मात्र आस छ,’ उनले भनिन्।
कलावतीले भुटानी राजसत्ताबाट एकपछि अर्को अन्याय खेपिरहेकी छन् — भुटान छाडेर हिँड्नुअघि त्यहाँका सबै जग्गा–जमिन राज्यले हडपेको थियो। भुटानी सेना आएर जग्गा नामसारीको कागजमा जबर्जस्ती सहीछाप गर्न लगायो। त्यसबापत् थोरै पैसा हातमा राखिदियो, ङिच्च दाँत देखाएर फोटो खिचायो, अनि रातारात देशबाट लखेट्यो।
लखेटिएपछि पनि उनले अन्यायबाट मुक्ति पाइनन् — जवान छोरालाई बन्दी बनाएर भुटानी राजसत्ताले उनको भविष्य नै अन्धकारमा झोँकिदियो।
‘छोरो भइदिएको भए हामी पनि अरूजस्तै अमेरिका वा अस्ट्रेलिया उडिसक्थ्यौं। कम्तिमा जिन्दगी अहिलेभन्दा धेरै राम्रो हुन्थ्यो होला,’ कलावतीले दुःखमनाउ गरिन्, ‘भुटानी सत्ताले मेरो वर्तमान त बिगार्यो बिगार्यो, भविष्य पनि अन्धकार बनाइदियो।’
कलावती अहिले श्रीमान नरबहादुर र कान्छा छोरा सञ्जीवसँग शिविरमा बस्छिन्। सुकमानले शिविरमै छँदा विवाह गरेका थिए। एउटी छोरी पनि छे। तेस्रो देश पुनर्वास कार्यक्रम सुरू भएपछि सुकमानकी श्रीमती र छोरी अमेरिका गए। कलावतीलाई पनि सबैले अमेरिका जान सुझाएका थिए। ठूलो छोरालाई त जे हुनु भइहाल्यो, कम्तिमा सानो छोराको भविष्य बन्छ भनेर सम्झाएका थिए। तर एउटा छोरा जेलमा छाडेर आफूहरू मात्र अमेरिका उड्न आमाको मन मानेन।
‘त्यो बेला सुकमानले आमा तपाईं जाँदै गर्नू, म रिहा भएपछि मिलाएर आउँला भनेको थियो। तर मैले मान्दै मानिनँ। बुहारी पनि नातिनी लिएर गइहाली। हामी पनि गएपछि त उसको यहाँ टेक्ने जमिन र समाउने लट्ठी नै रहन्न भन्ने लाग्यो,’ कलावतीले भनिन्, ‘हामी यहाँ हुँदा त बरू यताउता बिन्ती गर्छौं। तपाईंहरू जस्तो सरहरू आउँदा आफ्नो कथा सुनाउँछौं। तपाईंहरूले लेखेर पहल गरिदिनुभयो भने आज नभए भोलि छुटिहाल्ला कि भन्ने आस पनि छ।’
‘हामीले नै माया मारेर गएपछि उसलाई छुटाउन कसले दौडधुप गरिदिने? उसलाई बेलाबेला जेलमा भेट्न को जाने? एकदमै एक्लो हुन्छ नि बरा!’
‘तपाईंसँग छोराको फोटो त होला नि!’ हामीले सोध्यौं।
‘एउटा पुरानो फोटो छ,’ उनले भनिन्, ‘अहिले त त्योभन्दा कत्ति फेरिइसक्यो कति!’
‘फोटोमा त ख्वाउटे देखिन्छ, अहिले त उमेर बढेर होला, राम्रो भएको छ,’ कलावतीले खुसी हुँदै भनिन्।
चेम्गाङ जेलमा पन्ध्र वर्षदेखि सँगसँगै बन्दी रहेका ओमनाथ अधिकारी र सुकमान मगरबीच चार समानता छन् —
पहिलो, उनीहरूका आमा डम्बरकुमारी अधिकारी र कलावती मगर बेलडाँगी शिविरका साथी हुन्। साथी भएकाले उनीहरू आफ्ना छोरा भेट्न प्रायः सँगसँगै जान्छन्।
दोस्रो, ओमनाथ र सुकमान पनि बेलडाँगी शिविरमै साथी थिए।
तेस्रो, उनीहरू सन् २००८ मा सँगसँगै भुटान गएका थिए र सँगसँगै पक्राउ परेका थिए।
र चौथो, यी दुवैले आफूहरू भुटान जान लागेको घरपरिवारलाई भनेका थिएनन्। ओमनाथले भारतमा काम गर्न जाने बहाना बनाएका थिए भने सुकमानले साथीकहाँ गएर आउँछु भनेका थिए। उनीहरूको योजना भने अर्कै थियो।
चेम्गाङ जेलमा धेरै वर्ष सँगै बसेका दिलकुमार राईले ल्याएको सन्देशअनुसार, उनीहरू आफ्नो पुर्ख्यौली थातथलो हेर्ने उद्देश्यले भुटान छिरेका थिए। जसै सीमा काटेर अघि बढे, भुटानी सेनाको फन्दामा परिहाले। त्यति बेला पक्राउ पर्नेमा एघार जना थिए। उनीहरू सबै चेम्गाङ जेलमा सँगसँगै छन्। सबैलाई दक्षिण भुटानमा आतंककारी गतिविधि गरेको र भुटानी राजसत्ताविरूद्ध जनता भड्काएको भन्दै राजद्रोहको अभियोग लगाइएको छ, दिलकुमारले हामीसँग भने, ‘जबकि उनीहरू कोही पनि राजनीतिक गतिविधिमा संलग्न थिएनन्। खाली आफ्नो पुर्ख्यौली भूमिको मायाले एकचोटि भुटान टेकेर आऊँ भनेर गएका थिए।’
‘भुटानी राजसत्ताले देखी नसहने नेपालीभाषी युवाहरूले आफ्नो भूमिलाई माया गर्नुको ठूलो मूल्य चुकाउनुपर्यो,’ उनले भने, ‘नेपालीहरूलाई हेर्ने राज्यको दृष्टिमा आज पनि खासै बदलाव नआएको यसबाट छर्लंग बुझिन्छ।’
डम्बरकुमारी र कलावती चेम्गाङ जेल जाँदा प्रायः ती एघारै जनालाई भेटेर आउँछन्। तीमध्ये केहीका घरपरिवार अहिले पनि बेलडाँगी शिविरमै छन्। उनीहरू आफ्ना छोराहरूलाई कोसेली पठाउँछन् र त्यसको बदलामा डम्बरकुमारी र कलावतीको मुखबाट उनीहरूको सन्देश सुन्छन्।
प्रायः ती सबैको सन्देश एउटै हुन्छ — भुटानी जेलको कुनै भर छैन। यहाँ जसलाई जतिसुकै वर्ष थुनेर राखिन्छ। कतिको त जेलमै ज्यान जान्छ। त्यसैले जसरी हुन्छ हामीलाई यहाँबाट छुटाउने कोसिस गर्नू!
पहिले वर्षको दुईचोटि र त्यसपछि वर्षको एकचोटि चेम्गाङ जेल धाइरहेका डम्बरकुमारी र कलावतीले कोरोना महामारी सुरू भएपछि भने छोराहरूको मुख देख्न पाएका छैनन्। महामारीका कारण भुटानले बन्दी भेट्ने अनुमतिपत्र जारी गर्न बन्द गरेको थियो। यसै वर्ष २०८० वैशाख अन्तिम साता उनीहरूले फेरि चेम्गाङ जेल जाने अनुमति पाए। तर यसपालि पनि छोराहरूको मुख हेर्ने धोको अधुरै रह्यो।
भुटान–भारत सीमावर्ति जयगाउँस्थित भारतीय अध्यागमन कार्यालयका अधिकारीहरूले अनुमतिपत्रमा समस्या औंल्याउँदै र नागरिकता र पासपोर्ट माग्दै यसै फर्काइदिएको डम्बरकुमारी बताउँछिन्।
हामीले यो पछिल्लो यात्राबारे कुराकानी गर्न डम्बरकुमारीलाई मेसेन्जरमा भिडिओ कल गरेका थियौं।
धेरै दिनपछि देखादेख भएकाले डम्बरकुमारी खुसी भइन् र भनिन्, ‘धेरै भयो बाबुलाई नभेटेको है!’
पछिल्लोचोटि भेट्दा डम्बरकुमारीका दाँत टम्म थिए, अहिले तल्लो लहरका जम्मै र माथिल्लो लहरका आधाआधी फुस्किसकेछन्। गाला र निधार पनि पहिलेभन्दा बढ्तै चाउरिएछन्।
‘दाँत त जम्मै झरेछन् नि आमा!’ हामीले भन्यौं।
‘बूढी भएँ नि हौ,’ डम्बरकुमारीले हाँस्दै जवाफ फर्काइन्।
हामीले उनलाई भिडिओ कल गर्नुको कारण बतायौं। त्यसपछि उनले वैशाखमा छोरा भेट्न जाँदाको वृत्तान्त सुनाइन् —
यसपालि चेम्गाङ जेलमा रहेका बन्दी भेट्न एघार जनाले अर्जी दिएका थिए। तीमध्ये चार जनाको अर्जी पास भयो र उनीहरूका नाममा अनुमतिपत्र आयो। तर ती चार जनामध्ये शिविरमा दुई जना मात्र थिए — डम्बरकुमारी र कलावती। बाँकी दुई जना विदेश उडिसके।
डम्बरकुमारीले यही कुरा काठमाडौंस्थित रेडक्रस कार्यालयमा खबर गरिन्।
रेडक्रसले दुई जना मात्र भए पनि जानू भन्यो। थोरै खर्च पनि पठाइदियो।
डम्बरकुमारी र कलावती वैशाखको अन्तिम आइतबार बिहानै बेलडाँगीबाट निस्के र अपराह्न तीन बजेतिर जयगाउँ पुगे।
जयगाउँ पुग्नेबित्तिकै उनीहरू सधैंजसो भुटानी सीमा फुन्सोलिङ छिर्न खोजे।
यसपालि भने भारतीय सीमाचौकीबाटै छिर्न दिइएन।
सीमाचौकीका अध्यागमन अधिकारीहरूले डम्बरकुमारी र कलावतीको नागरिकता मागे, पासपोर्ट मागे।
डम्बरकुमारी र कलावतीले आफूहरू भुटानी शरणार्थी भएको बताउँदै परिचयपत्र देखाए। भुटानी जेलमा परेका छोराहरू भेट्न जान लागेको भन्दै अनुमतिपत्र पनि देखाए।
भारतीय अधिकारीहरूले ज्यानजाला मानेनन्।
‘तपाईंहरू यत्तिकै त कुनै हालतमा जान पाउनुहुन्न,’ उनीहरूले भने, ‘पहिले नागरिकता र पासपोर्ट ल्याउनुस्, अनि पानीटंकी गएर भुटान जाने भिसा लगाएर आउनुस्।’
लाख बिन्ती गर्दा पनि नसुनेपछि डम्बरकुमारीले उपाय लगाइन्।
उनीहरू भारतीय अधिकारीको आँखा छलेर जबर्जस्ती भुटान प्रवेशद्वारसम्म पुगे।
त्यहाँ संयोगले नेपाली मूलकै प्रहरी ड्युटीमा रहेछन्। सधैं यही बाटो चेम्गाङ जेल गइरहने हुँदा ती प्रहरीसँग डम्बरकुमारीको व्यक्तिगत चिनजान थियो।
‘आमै, म माथि खबर गरेर राख्छु,’ ती प्रहरीले डम्बरकुमारीलाई भने, ‘भोलि बिहान ९ बजे आउनुस् है।’
उनीहरू त्यो रात जयगाउँको अन्नपूर्ण होटलमा बास बसे।
भोलिपल्ट चाहिँ उनीहरू भुटान प्रवेश द्वारसम्म पुग्नै पाएनन्। भारतीय सीमाचौकीका अधिकारीहरूले नागरिकता र पासपोर्टबिना कुनै हालतमा नछाड्ने अड्डी कसे। अघिल्लो दिनजस्तो आँखा छलेर जबर्जस्ती घुस्ने मौका पनि जुरेन। बरू सीमाचौकीका प्रहरीसँग जोरजबर्जस्ती गर्न खोज्दा डम्बरकुमारी र कलावतीलाई कर्यापकुरूप समातेर अटोमा हुलियो र प्रहरी कार्यालय लगियो।
‘त्यो दिनभरि हामीले प्रहरी कार्यालयमै बितायौं,’ डम्बरकुमारीले हामीसँगको भिडिओ कलमा भनिन्, ‘मैले त्यहीँबाट छोरीलाई फोन गरेँ। यस्तो यस्तो भयो भनेर सुनाएँ।’
छोरी धनमायाले त्यसपछि काठमाडौंस्थित रेडक्रस कार्यालयमा सम्पर्क गरिन्। रेडक्रसले भुटानको थिम्पुमा खबर गरिदियो। थिम्पुबाट फुन्सोलिङमा खबर आयो। फुन्सोलिङका सीमा अधिकारीहरूले भारतीय प्रहरीसँग कुरा गरेर उनीहरूलाई छुटाए। र, फेरि अर्को अनुमतिपत्र लिएर आउनू भन्दै फर्काइदिए।
उनीहरूलाई छुटाउन आएका भुटानी प्रहरी पनि नेपाली मूलकै थिए।
‘यस्तो त कहिल्यै भएको थिएन बाबु,’ डम्बरकुमारीले भनिन्, ‘पहिले यही अनुमतिपत्र देखाएर भुटान छिर्न पाइन्थ्यो, यसपालि चाहिँ भारतीय चौकीबाटै छिर्न दिइएन। चार जनाको अनुमतिपत्रमा दुई जना मात्र किन आएको भन्दै फर्काइदिए। नागरिकता र पासपोर्ट लिएर आउनू भन्ने अड्को पनि थापे। हामी शरणार्थीसँग नागरिकता र पासपोर्ट त भए पो लैजानू! हुँदै नभएको चिज कहाँबाट लैजानू!’
‘हामीले यसबारे रेडक्रसलाई जानकारी गराइसकेका छौं,’ उनले अगाडि भनिन्, ‘नयाँ प्रक्रिया सुरू गरेर खबर गर्छौं भनेका छन्। हामी अर्को अनुमतिपत्रको प्रतीक्षामा छौं।’
नयाँ अनुमतिपत्र आउन कति समय लाग्छ, त्यो उनीहरूलाई थाहा छैन। पहिलेजस्तै हो भने थप पाँच महिना कुर्नुपर्ने हुनसक्छ!
हामीले डम्बरकुमारी अधिकारी र कलावती मगरसँग भुटानको चेम्गाङ जेलसम्म जाने रूटबारे पनि कुराकानी गरेका थियौं।
उनीहरूका अनुसार बेलडाँगीबाट हिँडेको दिन भारत र भुटानको सीमाना जयगाउँमा बास बस्नुपर्छ। पुगेकै दिन भुटानको फुन्सोलिङस्थित सीमाचौकीमा विवरण बुझाएपछि उनीहरूलाई भोलिपल्टको समय दिइन्छ। भोलिपल्ट तोकिएको समयमा फुन्सोलिङ सीमाचौकी गएर उनीहरूले आफ्नो परिचयपत्रका साथै बन्दी भेट्ने अनुमतिपत्र देखाउनुपर्छ। सबै कागजपत्र रूजु भएपछि उनीहरूले भुटान भ्रमण गर्ने अस्थायी पास पाउँछन्।
‘बिहान ९ बजे सीमाचौकीमा डाकेको छ र फटाफट काम भएर ११ बजेको गाडी चढ्न पाइयो भने बेलुकी ४–५ बजेतिर चेम्गाङ जेलमै पुगिन्छ,’ डम्बरकुमारीले भनिन्, ‘सीमा काट्नै ढिलो भयो भने गाडी पाउन मुश्किल पर्छ।’
कलावतीका अनुसार एकचोटि सीमाचौकीको काम सकेर गाडी चढ्दा लगभग ५ बजिसकेको थियो। त्यति बेला चेम्गाङ पुग्दा रातको १२ बजेको थियो।
‘सामान्यतया बेलडाँगीबाट हिँडेको बढीमा सात दिनभित्र यहीँ आइपुगिन्छ,’ उनीहरू भन्छन्।
ओमनाथ अधिकारी र सुकमान मगरसँगै पक्राउ परेका र चेम्गाङ जेलमा सँगसँगै रहेका अर्का एक बन्दीको परिवारलाई पनि हामीले बेलडाँगी शिविरमा भेटेका थियौं।
बन्दीको नाम हो, सनमान गुरूङ।
उनी पनि सन् २००८ मा आफ्नो पुर्ख्यौली थलोको मायाले भुटान छिर्न खोज्दा पक्राउ परेका थिए। पन्ध्र वर्षदेखि जेलमा रहेका सनमानको उमेर ४० कटिसकेको छ।
हामीले सनमानका दाइ गंगालाल र भाउजू दुर्गामाया गुरूङसँग उनका बारेमा कुराकानी गर्यौं।
ओमनाथ र सुकमानजस्तै उनी पनि भुटान जान लागेको सुइँकोसम्म नदिई घरबाट हिँडेका थिए।
‘त्यो बेला उसको एसएलएसी बिग्रेको थियो। केही समय इन्डिया गएर काम गर्छु भन्थ्यो,’ भाउजू दुर्गामायाले भनिन्, ‘यहाँबाट हिँडेको अलि समयपछि भुटानमा पक्राउ पर्यो भन्ने खबर सुन्यौं।’
हामीले तीन वर्षअघि यो कथा शृंखलाका लागि कुराकानी गर्दा दुर्गामायाले कम्तिमा वर्षको एक खेप देवर भेट्न चेम्गाङ गइरहेको बताएकी थिइन्। त्यही बेला उनले भनेकी थिइन्, ‘हाम्रो अस्ट्रेलिया जाने सबै प्रक्रिया पूरा भइसकेको छ। परिवारमा दस जना छौं, बाबु (देवर) लाई मात्र उता जेलमा एक्लै छाडेर जाने कि नजाने भन्ने दोमनले धेरै समय अल्झेर बस्यौं। आधा परिवार जाने, आधा यतै बस्ने कि भन्ने सल्लाह पनि भयो। अब चाहिँ हामीले सबै जना जाने निधो गरिसक्यौं। बाबु कहिले छुट्ने हो, त्यसको टुंगो पनि त भएन!’
हामीसँग कुराकानी हुनुभन्दा केही महिनाअघि मात्र दुर्गामाया र उनका श्रीमान गंगालाल चेम्गाङ गएर सनमानलाई भेटेर आएका थिए। त्यही बेला अस्ट्रेलिया जान लगेको खबर पनि सुनाएछन्।
‘अब हामी जान्छौं,’ उनीहरूले भनेछन्, ‘जेलबाट छुटेपछि तिमीलाई पनि केही उपाय लगाएर उतै डाकौंला।’
सधैं हाँसी हाँसी बोल्ने सनमान यसपालि दाजु–भाउजूको कुरा सुनेर खुब रोएछन्। हुन पनि परिवार नेपालमै हुनु र नहुनुमा त्यति नै फरक हुन्छ, जति रात र दिनमा। यहीँ हुँदा वर्षको एकचोटि भए पनि कोही भेट्न आउला कि भन्ने आस भइरहन्छ। सबै अस्ट्रेलिया जाने भएपछि त्यो आस पनि बाँकी रहन्न। यस्तै मनोदशाका कारण कम्तिमा तीन जना बन्दीले मानसिक रोगको औषधि खानुपरेको दिलकुमार राईले हामीलाई सुनाएका थिए।
दाजु–भाउजूसँगको अन्तिम भेटमा केही बेर रोएपछि सनमानले आफूलाई सम्हाल्दै भनेछन्, ‘राम्ररी जानू। मेरो चिन्ता लिनु पर्दैन।’
अहिले सनमान साँच्चै एक्लै परेका छन्।
दाजु–भाउजू र परिवारका अरू सदस्य सबै अस्ट्रेलिया उडिसके।
अब उनलाई पनि कोही भेट्न जाने भनेको उही डम्बरकुमारी अधिकारी र कलावती मगर नै हुन्।
डम्बरकुमारी र कलावतीले आफ्ना छोराहरू भेट्न चेम्गाङ जेल जाँदा हरेकचोटि भेट्ने बन्दी हुन्, टेकबहादुर मगर।
उनी सन् १९९२ मा भुटानको चिराङबाट नेपाल आएका हुन्।
भुटानी सेना र प्रहरीले नेपालीका घर–घरमा आगो झोस्दै मान्छे लखेट्न थालेपछि १८ वर्षका टेकबहादुर आमाबुवा र भाइबहिनीलाई लिएर नेपाल पसेका थिए।
‘कुटीकुटी गाउँबाट लखेट्थे। आफैं देश छाडेर नगए चौकीमा बोलाएर यति दिनभित्र छाड्नू भन्दै धम्की दिन्थे,’ उनले हामीसँगको कुराकानीमा भने, ‘हाम्रो कागजपत्र सब ठिक थियो। तर राजनीतिक गतिविधिमा लाग्यो भनेर भुटान छाड्न बाध्य पारियो।’
उनी सपरिवार रातारात हिँडेर सर्भाङसम्म आए, अनि त्यहाँबाट गाडी चढेर नेपाल छिरे।
केही महिना शरणार्थी भएर बसेपछि उनलाई फेरि भुटान फर्किन मन लाग्यो। उनकी फुपू भुटानमै थिइन्। उनी फुपू भेट्न भनेर आफ्नो गाउँ गए।
जसै गाउँमा पाइला राखे, भुटानी गुप्तचरहरू सल्बलाउन थालिहाले।
एकचोटि देश छाडेर गइसकेको मान्छे फेरि किन फर्कियो, यो देश बिगार्न आएको हो, मान्छे भड्काउन आएको हो भन्दै उनलाई पक्राउ गरियो।
‘मेरो कुनै राजनीतिक गतिविधिमा संलग्नता थिएन। फुपाजु सरकारी सेवामा हुनुहुन्थ्यो। नेपालबाट कोही आए खबर गर्नू भन्ने उहाँलाई आदेश रहेछ। उहाँले नै म आएको खबर पुर्याइदिनुभयो। त्यही खबरका आधारमा म पक्राउ परेँ,’ टेकबहादुरले भने, ‘यही पिरले हुनसक्छ, पछि म जेलमै छँदा फुपूले दबाई खाएर आत्महत्या गर्नुभयो।’
टेकबहादुरलाई पक्राउ गरेपछि सबभन्दा पहिला चिराङ जिल्लाको डम्फो जेलमा राखिएको थियो। अदालतले २४ वर्षको सजाय तोकेपछि चेम्गाङ जेल चलान गरियो।
सुरूका तीन वर्ष उनले खुब यातना भोगे। चौबीसै घन्टा हातमा हतकडी र गोडामा नेल ठोकेर राखियो। हरेक दिन सेना र प्रहरीका सिपाही आएर मरणासन्न कुटपिट गर्थे। त्यही कुटपिट सहन नसकेर धेरैको ज्यान गएको उनी बताउँछन्।
चौबीस वर्षको जेल जीवनमा एकचोटि उनलाई आमा भेट्न आएकी थिइन्। त्यसपछि कहिल्यै कोही आएनन्। आफ्नो परिवारबाट केही नआएपछि उनले ओमनाथकी आमा डम्बरकुमारी र सुकमानकी आमा कलावतीलाई नै आमाजस्तो ठान्न थाले।
‘उहाँहरू जेलमा आउँदा आफ्ना छोराहरू सँगसँगै हामीलाई पनि भेट्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरूलाई भेट्दा हामीलाई पनि आफ्नै आमा भेटेझैं लाग्थ्यो।’
सन् २०१६ मा रिहा भएका टेकबहादुर जेलबाट सिधै नेपाल आए। यहाँ आउँदा आमाबुवा, दाजुभाइ, दिदीबहिनी सबै अमेरिका गइसकेका थिए।
उनी एक वर्ष शिविरमा एक्लै बसे।
सन् २०१७ मा उनले बेलडाँगीकै नेपाली केटीसँग विवाह गरे। अहिले उनीहरूको एउटा छोरा छ।
उनलाई पनि आफ्नो परिवारसँगै अमेरिका जाने इच्छा नभएको होइन। तर जति बेला उनी जेलबाट छुटेर आए, तेस्रो देश पुनर्वासको प्रक्रिया समाप्त भइसकेको थियो। प्रक्रिया नै सकिएपछि उनको नाम पनि परेन। उनी अमेरिका जाने सूचीबाट बाहिरिएका बाहिरियै भए।
अहिले अमेरिकामा रहेका आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग फोनमा सम्पर्क भइरहन्छ। उनीहरू जसरी भए पनि मिलाएर उतै आऊ भनिरहेका छन्। तर टेकबहादुरलाई कुनै उपाय सुझेको छैन।
‘तपाईं पनि भुटान फिर्ता जान चाहनुहुन्छ कि?’ हामीले सोध्यौं।
जवाफमा उनले भने, ‘भुटान फर्केर जाने अवस्था म देख्दिनँ। जुन देशले नेपालीहरू बेसी भयो भनेर खेदेर पठायो, उसले फेरि हामीलाई स्वीकार गर्ला भन्ने मलाई विश्वासै छैन। बरू उसको वश चल्यो भने त्यहाँ भएका नेपालीहरूलाई पनि खेदेर पठाउने छ।’
‘भुटानी राजसत्ताका लागि नेपालीहरू बाख्राको बथानमा भेडा मिसिएजस्तो भएको छ,’ उनले भने, ‘त्यसैले भुटान फर्केर जाऊँ जस्तो त मलाई लागेकै छैन। कुनै संघ–संस्थाले पहल गरेर तेस्रो देश पुनर्वासको प्रक्रिया फेरि सुरू गर्यो भने अमेरिका नै जानुपर्ला। शाखासन्तान सब उतै छन्।’
‘त्यो सम्भव नभए दुःखसुख नेपालमै बसिन्छ। बरू हाम्रा लागि यतै स्थायी बसोबासको व्यवस्था गरिदिए सन्चो हुन्थ्यो।’
भुटानले नेपालीभाषी ल्होछाम्पा समुदायलाई मात्र अन्यायपूर्वक लखेटेको हो भन्ने धेरैलाई लाग्छ।
यो सही होइन।
भुटानी राजसत्ताको मुख्य निशाना नेपाली समुदायमाथि थियो। त्यही निशानामा परेर सवा लाखभन्दा बढी नेपालीभाषीहरू देश छाड्न बाध्य भएका थिए। तर भुटानी शरणार्थीहरूमा थोरै संख्या यस्तो समुदायको पनि छ, जो नेपाली मूलको होइन, जो नेपाली भाषा बोल्दैन।
उनीहरू पनि नेपाली सँगसँगै लखेटिएका थिए र शरणार्थी भएर यहीँ आएका थिए।
भुटानी राजसत्ताको निशानामा परेको त्यो गैरनेपालीभाषी समुदाय हो — शारछोप।
अबको अध्यायमा हामी यिनै शारछोप शरणार्थीहरूको कुरा गर्नेछौं, जो बेलडाँगी शिविरमा भुटानी नेपालीहरूसँगै मिसिएर बसेका छन्।
अध्याय उनन्तीस
नेपालीलाई मात्र खेदेको होइन भुटानले
हाम्रो आँखै अगाडिबाट एउटा तीर स्याइँय्य गयो।
हावाको झोँकाभन्दा तेज गतिमा कुदेको तीरको दिशातिर मुन्टो फर्काउँदासम्म त्यसले निशाना भेदिसकेको थियो।
अहिले हामी जहाँ छौं, त्यहाँ हावा र तीर दुवैको भर हुँदैन — जुनसुकै दिशाबाट आउनसक्छ!
यही सोचेर हामी दुई कदम पछाडि सर्यौं र धेरै मिटर पर, हामीले अन्दाज गर्न सक्ने दुरीभन्दा टाढाबाट देब्रे हातले धनुष समातेर दाहिने हातले निशाना साँधिरहेको व्यक्तिलाई एकटक हेरिरह्यौं।
उनले बाण आफूतिर खिँचे र त्यही अवस्थामा केही सेकेन्ड मूर्तिवत् उभिइरहे।
जुन एकाग्रता उनको शारीरिक हाउभाउमा थियो, त्यस आधारमा उनले एउटा आँखा चिम्लेको हुनुपर्छ!
उनको अर्जुनदृष्टि आफ्नो निशानातिर थियो, हाम्रो दृष्टि उनीतिर।
उनले आफ्नो चोर औंला र बूढी औंलाको बीचमा च्यापेर आफूतिर खिँचेको बाण फ्याट्ट छाडिदिए।
स्याइँय्य आवाज निकाल्दै अर्को तीर हाम्रो आँखै अगाडिबाट गयो।
यसपालि पनि हामीले मुन्टो फर्काएर हेर्दासम्म तीरले निशाना भेदिसकेको थियो।
उनले फेरि अघिकै शैलीमा अर्को तीर प्रहार गरे। तेस्रो तीर पनि निशानाबाट चुकेन।
पर्रर ताली बज्यो।
लगातार तीनचोटि अचुक निशाना लगाएका निशानेबाजलाई सबैले घेरा हाले र ‘गज्जब गज्जब’ भन्दै बधाई दिए।
हामी यिनै निशानेबाज रिन्जेन दोर्जीलाई भेट्न बेलडाँगी शरणार्थी शिविरको यो धनुबाण मैदानमा आएका हौं।
रिन्जेन दोर्जी भुटानबाट खेदिएका शरणार्थी हुन्, तर उनी नेपालीभाषी होइनन्। शारछोप समुदायका हुन्।
पूर्वी भुटानमा बाहुल्य रहेको शारछोप जाति आफूलाई भुटानको सबभन्दा पुरानो बसोबासी भएको दाबी गर्छ। उनीहरू भोट वा तिब्बती मूलका बासिन्दा हुन्। बाह्रौं शताब्दीभन्दा पहिले नै भारतको अरूणाञ्चल प्रदेश तथा बर्माबाट तत्कालीन ल्हो मोन वा आजको भुटानी सीमाभित्र बसाइँ सरेको इतिहासकारहरूले उल्लेख गरेका छन्।
‘शाङ्ला’ भाषा बोल्ने शारछोपहरू कुनै बेला राजनीतिक रूपले शक्तिशाली थिए। समयक्रममा उनीहरूलाई पछि पारेर ङालोङहरू शक्तिमा उदाए। त्यही भएर आज पनि शारछोपहरूलाई भुटानको संस्थापन ङालोङ समुदायले आफ्नो राजनीतिक प्रतिस्पर्धी ठान्छ।
यही कारण हो, सन् असी दशकको आखिरीबाट जब भुटानले नेपालीहरूलाई लखेट्न थाल्यो, त्यही भीडमा केही शारछोपहरूलाई पनि देश छाड्न बाध्य पारियो।
बेलडाँगी शिविर आउनुअघिसम्म हामीलाई भुटानी राजाले गैरनेपालीहरूलाई पनि लखेटेका थिए र उनीहरू यही शिविरमा बस्छन् भन्ने थाहा थिएन। जसै उनीहरूका बारेमा थाहा भयो, हामी शारछोप समुदायका सदस्य भेट्न उत्सुक भयौं। दिल भुटानी उर्फ दिल महतले हामीलाई रिन्जेन दोर्जीको नम्बर दिए र उनीहरूको बसोबास स्थलसम्म आफैंले पुर्याइदिए।
बेलडाँगी शिविरको मूलगेटबाट छिरेपछि निकै तल, मूल बाटोसँगै जोडिएको झ्याम्म पिपलबोटभन्दा पनि निकै तल शारछोप समुदायको बस्ती रहेछ। काठका झुरूप्प झुपडीहरूको त्यो बस्तीमा बौद्धमार्गीहरू बस्छन् भन्ने टाढाबाटै थाहा हुन्थ्यो। किनभने, त्यहाँको प्रत्येक झुपडीमा बौद्ध धर्मावलम्बीहरूले आस्था गर्ने कपडाका ध्वजाहरू टाँगिएका थिए। बस्तीको बीचमा भुटानी शैलीको बौद्ध गुम्बा थियो। कतिपय घरबाट ‘ओम माने पेमे हुँ’ को ध्वनि पनि गुञ्जिँदै थियो।
गुम्बाकै आँगनमा हामीले माने घुमाइरहेका केही बूढाबूढी भेट्यौं। उनीहरू नेपाली भाषा फर्रर बोल्न जान्दैन थिए। शिविरमा रहँदाबस्दा नेपालीहरूको संगतले बुझ्न चाहिँ थालेछन्।
हामीले तिनै बूढाबूढीलाई रिन्जेन दोर्जीको घर कहाँ हो भनेर सोध्यौं।
उनीहरूले हात इसारा गरेर देखाइदिए। सँगसँगै यो पनि भने, ‘रिन्जेन त धनुबाण खेल्न गाको छ हौ बाबु!’
त्यसपछि हामीले आफ्नो परिचय दिँदै कुराकानी गर्न सकिने अरू कोही छन् कि भनेर सोध्यौं।
‘अहिले त यहाँ कोही पनि छैन हौ,’ एक जना बूढी आमैले भनिन्, ‘सब केटाहरू धनुबाण खेल्न गाका छन्। रिन्जेनलाई भेट्ने भए मैदानमै जाऊ, भेट भइहाल्छ।’
हामी ‘धन्यवाद’ भन्दै अघि बढ्यौं। दिल भुटानी सँगै भएपछि हामीलाई मैदानको बाटो चिन्न गाह्रो थिएन।
उनले बाटो देखाए, हामी उनको पछि लाग्यौं।
बाटोमै दिल भुटानीले भने, ‘धनुबाण भुटानको राष्ट्रिय खेल हो।’
‘तपाईंहरू पनि खेल्नुहुन्छ?’
‘नेपालीहरू त खासै खेल्दैनन्,’ उनले भने, ‘शारछोपहरूको निम्ति चाहिँ धनुबाण भनेको खेल मात्र होइन, अभिन्न परम्पराजस्तै हो। जसरी हामी कबड्डी, फुटबल र भलिबल खेल्दै हुर्किन्छौं, उनीहरू धनुबाण चलाउँदै हुर्किन्छन्।’
मैदान खासै टाढा रहेनछ। दिल भुटानीसँग अलिकति कुरा गर्दागर्दै हामी पुगिसकेका थियौं।
‘यहाँ पहिले स्कुल थियो। नौ र दस कक्षाको पढाइ यहीँ हुन्थ्यो,’ उनी भन्दै थिए, ‘तेस्रो देश पुनर्वास कार्यक्रम सुरू भएपछि शिविरमा जनसंख्या पातलो भयो। त्यसपछि नौ र दस कक्षा खारेज गरियो। कक्षा भवनहरू पनि भत्काइए। अहिले साना–ठूला सबैलाई खेल्ने मैदान भएको छ।’
हामी पुग्दा केही केटाकेटी फुटबल खेल्दै थिए भने मैदानको अर्को छेउमा शारछोपहरूको निशानेबाजी चल्दै थियो।
फोनमा पहिल्यै कुराकानी भइसकेकाले हामीलाई देखेर — वा, दिल भुटानीलाई चिनेर — रिन्जेन दोर्जीले परैबाट हात हल्लाए र ‘पाँच मिनेट पख्नुस् है’ भन्ने भावमा दाहिने हातका पाँचवटा औंला हामीतिर फर्काए।
हामी मैदानको डिलमा उभिएर भुटानको राष्ट्रिय खेल हेर्न थाल्यौं।
लगातार तीनवटा तीर ठ्याक्कै निशानामा पारेपछि रिन्जेन दोर्जीले आफ्नो धनुषबाण एउटा बाकसमा बन्द गरे, झोलातुम्ला बोके र सुमसुम हामीतिर बढे।
हामी पनि आफू उभिरहेको ठाउँबाट उनी आइरहेको दिशातर्फ अघि बढ्यौं।
मैदानको बीचतिर हाम्रो भेट भयो।
‘सरी है तपाईंहरूलाई कुराएँ,’ उनले निकै नम्र हुँदै भने, ‘घरै गएर कुरा गरौं न है।’
हामीले ‘हुन्छ’ भन्यौं।
फर्किने क्रममा हाम्रो योजना बदलियो।
रिन्जेनले आफ्नो घरभन्दा गुम्बाको आँगनमा बस्ने हो कि भनेर सुझाए। साँझ बेला गुम्बामा अरू शारछोपहरू पनि भेट हुन्छन् भन्ने उनको भनाइ थियो।
एकै ठाउँमा धेरै जना भेटिने भएपछि हामीले नाइँ भन्ने कुरै थिएन।
अर्का एक शारछोपलाई त उनले बाटोमै हामीसँग परिचय गराए। सोनाम वाङचुक रहेछ उनको नाम।
‘वाङचुक भएर पनि तपाईंलाई निकाल्यो भुटानी राजाले!’ हामीले ठट्टा गर्यौं।
उनले मजा माने र भने, ‘दरबारिया वाङचुक परिएन नि, त्यही भएर निकाले।’
उनले ठट्टामै जवाफ फर्काएका भए पनि कुरो गम्भीर थियो।
‘भुटानको राजसंस्था ङालोङ समुदायको हो। हामी चाहिँ शारछोप। ङालोङ र हाम्रो धेरै थोक मिल्छ, धेरै थोक मिल्दैन,’ उनले भने, ‘एउटा मिल्ने कुरा त यही थर भइहाल्यो। वाङचुकहरू ङालोङ पनि हुन्छन्, शारछोप पनि हुन्छन्। जस्तो, राजा जिग्मे सिंघे वाङचुक ङालोङ भए, सोनाम वाङचुक शारछोप। मान्छेहरू मेरो थर सुनेर झुक्किन्छन्, तपाईंहरू चाहिँ नझुक्किनुस् है!’
‘तपाईंसँग भेट नभएको भए पक्कै झुक्किन्थ्यौं,’ हामीले भन्यौं, ‘धन्न तपाईंले बचाइदिनुभयो।’
उनी फिस्स हाँसे।
‘तपाईं समानता र अन्तरको कुरा गर्दै हुनुहुन्थ्यो नि!’ हामीले सोनाम वाङचुकलाई विषयवस्तुमा फर्काउन खोज्यौं।
उनी कुराकानीको विषय सम्झेझैं गर्दै फेरि फिस्स हाँसे।
‘अर्को समानता हाम्रो धर्म हो। हामी दुवै बौद्ध धर्म मान्छौं। हामीले लगाउने सांस्कृतिक पहिरन पनि लगभग उस्तै छ। सबभन्दा ठूलो अन्तर भनेको हामी अलग–अलग भाषा बोल्छौं। उनीहरू जोङ्खा बोल्छन्, हामी शाङ्ला भाषा बोल्छौं,’ उनी यसपालि विषयवस्तुबाट भट्किएनन् र एकै सासमा भने।
‘इतिहास हेर्ने हो भने हामी शारछोपहरू भुटानका धेरै पुराना आदिवासी हौं, उनीहरू चाहिँ पछि आएका हुन्,’ सोनामले लामो इतिहासको सार सुनाए, ‘बाह्रौं शताब्दीमा हाम्रा पुर्खाहरू बर्माबाट त्यहाँ पुग्दा भुटान भन्ने देश नै बनेको थिएन। त्यसलाई ‘ल्हो मोन’ भनिन्थ्यो। हाम्रा पुर्खाहरूले त्यहाँ बसोबास बसाले। पछि धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल तिब्बतबाट आउनुभएपछि त्यो भूमिले देशको रूप लियो। प्राचीन ‘ल्हो मोन’ आधुनिक भुटान भयो। यसबीच ङालोङहरू पनि आए र राजनीतिक शक्तिमा उदाए।’
ङालोङहरूले भन्ने यही कथा चाहिँ अलि फरक छ।
पश्चिम भुटानमा बाहुल्य रहेको ङालोङहरू पनि आफूलाई तिब्बतबाट सबभन्दा पहिला आएर भुटानमा बसोबास गरेको दाबी गर्छन्। भुटान आएर बौद्ध धर्म अँगाल्ने पहिलो समुदाय भएकाले नै उनीहरूलाई ‘ङालोङ’ भनिएको भनाइ छ। तिब्बती भाषामा ङालोङको अर्थ ‘उदय’ हो। कतिले ‘प्राचीन भूमि’ को अर्थमा ङालोङ भनिएको तर्क गर्छन्।
‘को कहिले आयो भन्ने चाहिँ राजनीतिक वर्चश्वले निर्धारण गर्छ होला है!’ हाम्रो यो टिप्पणीमा सोनामले भने, ‘हुनसक्छ, पहिले भुटानको राजनीतिमा शारछोपहरू शक्तिशाली थिए, अहिले त्यही हैसियत ङालोङहरूको छ। उनीहरू आफ्नो राजनीतिक वर्चश्वको दुरूपयोग गर्दै कमजोर समुदायमाथि थिचोमिचो गर्छन्। सुरूमा दक्षिण भुटानका ल्होछाम्पाहरूमाथि अन्याय गरे, त्यसपछि हाम्रो पालो आयो।’
सोनाम वाङचुकले यसो भन्दै गर्दा हामी गुम्बाको आँगनमा पुगिसकेका थियौं।
हामीभन्दा अगाडि अगाडि फटाफट हिँडेका रिन्जेन दोर्जीले गुम्बाको आँगनमा केही कुर्सीको व्यवस्था गरिसकेछन् र बस्तीका केही व्यक्तिलाई पनि डाकिसकेछन्।
हामीले सोनामसँग भइरहेको कुराकानीलाई नै सबैका अगाडि निरन्तरता दियौं।
रिन्जेन दोर्जीका अनुसार शारछोपहरूलाई लखेट्ने क्रम मुख्य रूपमा सन् १९९७ बाट सुरू भएको थियो। भुटानी नेपालीहरूलाई जस्तो उनीहरूलाई दसौं हजारको संख्यामा एकैचोटि खेदिएको थिएन। दस जना, पचास जना गर्दै चरणबद्ध रूपले देश छाड्न बाध्य पारिएको थियो।
‘हामी यहाँ आउँदा दुई सय पचास परिवार थियौं। कुल संख्या बाह्र सय थियो,’ रिन्जेनले भने, ‘त्यसैले एक लाखभन्दा बढी संख्यामा निकालिएका ल्होछाम्पाहरूसँग त हाम्रो तुलनै हुँदैन। तर संख्या चाहे लाख होस् या हजार, अन्याय त अन्याय नै हो! बाह्र सय जना मात्र निकालिएका भए पनि जो निकालिए, उनीहरूको जीवन त शतप्रतिशत प्रभावित भयो नि!’
रिन्जेनको कुरा सुनेर हामीले गुम्बा वरिपरिको शारछोप बस्ती नियाल्यौं। औंलामा गन्न सकिने झुपडीहरू थिए। उनले भनेको संख्या र झुपडी संख्याबीच तालमेल नमिलेपछि हामीले सोध्यौं, ‘अहिले चाहिँ कति जना छन् त?’
‘सब अमेरिका, अस्ट्रेलिया गइहाले नि,’ उनले भने, ‘अब त नौ–दस घर बाँकी छौं, कुल संख्या ८० भन्दा बढी छैन।’
शारछोप शरणार्थीबारे थाहा पाएदेखि र उनीहरूको बस्ती देखेदेखि हाम्रो मनमा एउटा प्रश्न खेल्दै थियो —
भुटानी राजसत्ताले भाषा, धर्म र संस्कृति नै फरक भएको नेपालीभाषीहरूलाई त ‘जातीय सफाया’ गर्न देशबाट निकाले, तर यी शारछोपहरू बौद्ध धर्मावलम्बी नै हुन्, यिनको संस्कृति पनि खासै भिन्न छैन; यिनलाई चाहिँ देशनिकाला गर्नुपर्ने दरकार किन पर्यो होला?
रिन्जेन दोर्जीका अनुसार नेपाली समुदायलाई लखेटेपछि शारछोपहरूलाई पनि राजनीतिक र सांस्कृतिक रूपमा किनारा पार्न खोजियो। राज्यसभा, राजकीय सल्लाहकार परिषद लगायत देशका महत्वपूर्ण राजनीतिक संस्थाहरूमा शारछोपहरूको प्रतिनिधित्व नियोजित रूपले कम गरियो। सेना, प्रहरी, अदालत लगायतका निकायमा पनि शारछोपहरूले कम अवसर पाउन थाले।
यति मात्र होइन, राष्ट्रियता प्रवर्द्धनका नाममा जोङ्खा भाषा अनिवार्य गरिएपछि जसरी ल्होछाम्पाहरूले नेपालीमा पढ्न–लेख्न र सरकारी कामकाज गर्न पाएनन्, त्यसरी नै शाङ्ला भाषाको प्रयोग पनि वर्जित गरियो। पहिले राज्यसभामा शाङ्ला भाषामै बोल्न पाउने शारछोपहरू जोङ्खा बोल्न बाध्य भए। उनीहरूका केटाकेटीले पनि स्कुलमा शाङ्ला भाषा पढ्न पाएनन्।
जहाँसम्म धर्मको कुरा छ, बौद्ध धर्मावलम्बी नै भए पनि शारछोपहरूको आफ्नै धर्मगुरू छ, जसलाई भुटानभित्र बस्न निषेध गरियो। भुटानका ऐतिहासिक धर्मराजाको अवतारप्रति उनीहरू गहिरो आस्था राख्छन् र पूजा गर्छन्। पहिलेजस्तो राजनीतिक अधिकार नदिए पनि धर्मराजाको अवतारलाई सांस्कृतिक मान्यतासहित भुटानभित्रै बस्न दिनुपर्छ भन्ने शारछोपहरूको माग थियो।
भुटानी राजसत्तालाई यो स्वीकार्य भएन, रिन्जेन दोर्जीले भने, ‘हामीले वाङचुक राजा चाहिएन, धर्मराजाकै शासन हुनुपर्यो भनेर कहिल्यै भनेका थिएनौं, तर भुटानले त्यही रूपमा बुझिदियो। भुटानबाट विस्थापित धर्मराजाको अवतारलाई स्वदेश फर्काएर नयाँ राजा बनाउन खोज्यो भन्ने उनीहरूले सोचे। हाम्रो त्यस्तो कुनै मनसाय थिएन, र छैन पनि।’
यसरी शारछोपहरूले वाङचुक वंशको सत्ता उल्ट्याउन खोजेका छन् भन्ने शंका मनमा पसेपछि भुटान सरकार उनीहरूविरूद्ध पनि खनियो।
यही क्रममा सन् १९९७ मा राजनीतिक रूपले सचेत केही शारछोप नागरिकलाई देश छाडेर जान बाध्य पारियो।
रिन्जेन दोर्जी तिनैमध्ये एक थिए। त्यति बेला उनी ४४ वर्षका थिए।
उनीहरू केही समय भारतका विभिन्न ठाउँमा निर्वासित भएर बसे र आफूलाई राजनीतिक रूपमा संगठित बनाए। त्यसपछि भुटान फर्केर आन्दोलन गरे।
पूर्वी भुटानमा भएको शारछोपहरूको राजनीतिक आन्दोलन क्रममा कम्तिमा पाँच जना मारिएको र दर्जनौं जेल परेको उनी बताउँछन्। चेम्गाङ लगायत भुटानका विभिन्न जेलमा अहिले पनि शारछोप बन्दीहरूलाई चरम यातना दिएर राखिएको उनको भनाइ छ। दिलकुमार राईले चेम्गाङ जेलका राजनीतिक बन्दीहरूको जुन सूची हामीलाई दिएका थिए, त्यसमा केही शारछोपको नाम पनि समावेश छ।
‘त्यही आन्दोलन क्रममा हाम्रा नेता गोन्छेन कर्मा लामाको हत्या गरियो,’ रिन्जेन दोर्जीले भने, ‘उनको हत्यापछि आन्दोलनकर्मीहरूमाथि व्यापक धरपकड सुरू भयो। जंगलमा लुकेर बस्दा हेलिकप्टरबाट खोजी गरिन्थ्यो। भुटानी सैनिकहरू घर–घरमा खानतलासी गर्दै हिँड्थे। शंका लागेका हरेक व्यक्तिलाई अपहरण शैलीमा पक्राउ गरिन्थ्यो र गुमनाम जेलमा लगेर अनिश्चितकालसम्म बन्दी बनाइन्थ्यो। उनीहरूले अदालती सुनुवाइको अवसरसमेत पाएनन्।’
त्यति बेला चार सयभन्दा बढी पक्राउ परेको उनको अनुमान छ।
यही धरपकडका कारण राजनीतिक आन्दोलनमा सहभागी नेता, कार्यकर्ता र शुभेच्छुकहरू देश छाड्न बाध्य भए, उनले भने, ‘जो त्यहीँ बसे, उनीहरूलाई पनि दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरियो। सरकारी जागिर खान दिइएन, केटाकेटीलाई सरकारी स्कुलमा पढ्न दिइएन। अन्य सरकारी सेवा उपयोग गर्ने अधिकारबाट पनि उनीहरूलाई वञ्चितै राखियो।’
यसरी देशनिकाला भएका शारछोपहरू ल्होछाम्पा शरणार्थीको पदचिह्न पछ्याउँदै नेपाल आए। तर सिधै शरणार्थी शिविरमा पसेनन्। केही समय बाहिरै बसे। पछि उनीहरूलाई पनि शिविरभित्रै राख्ने भनियो। ल्होछाम्पा शरणार्थीहरूको साथ र सहयोगले नै आफूहरूले शिविरमा प्रवेश पाएको रिन्जेन बताउँछन्।
उनले शिविरमै रहेकी एक वृद्ध महिलाको उदाहरण दिए।
ती महिला सन् १९९७ मा नेपाल आएकी थिइन्। कसैले ‘किन आएको’ भनेर सोध्दा उनी भन्थिन्, ‘राजाले कुटेर आएको।’
‘राजाले नै कुटेको त होइन होला?’ यस्तो प्रश्नमा उनको जवाफ हुन्थ्यो, ‘मलाई कुटेको त अरूले नै हो, तर जसले कुटेको भए पनि त्यो व्यक्तिलाई सजाय दिने काम त राजाकै थियो नि! यदि मलाई कुट्ने मान्छेले राजाबाट सजाय पाउँदैन भने मलाई राजाले नकुटेर कसले कुटेको त?’
उनी अगाडि भन्थिन्, ‘हात जोसुकैको होस्, त्यो हात मलाई कुट्न उठाएको राजाले नै हो।’
‘उनी धेरै पछिसम्म भुटानी राजालाई घृणा गर्थिन्। कसैको घर जाँदा भित्तामा राजाको तस्बिर देखिन् भने डराउँथिन्,’ रिन्जेन दोर्जीले भने, ‘यो भय त्यसै जन्मेको होइन। राजाप्रतिको विश्वास एकैचोटि चकनाचुर भएपछि त्यसले भयको रूप लिएको हो।’
उनी भुटानी राजसत्ताबाट भएको अत्याचारलाई ‘जातीय सफाया’ भन्दा ‘निरंकुशता’ को संज्ञा दिन्छन्।
‘जातीय सफाया’ भइदिएको भए नेपालीभाषी ल्होछाम्पाहरूलाई मात्र देशनिकाला गरिनुपर्ने उनको भनाइ छ, ‘भुटानमा जे भयो, त्यसलाई धेरैले जातीय समस्याका रूपमा लिन्छन्, नेपालीभाषीहरूको ‘जातीय सफाया’ भन्छन्। तर मलाई यो राजनीतिक निरंकुशता हो भन्ने लाग्छ। जातीय समस्या भइदिएको भए हामी शारछोपहरूलाई किन निशाना बनाउँथे?’
शारछोपहरूलाई निशाना बनाउनुको अर्को कारण पनि उनले औंल्याएका छन्। त्यो हो — भुटानी नेपालीहरूप्रति शारछोप समुदायले देखाएको सहानुभूति।
जब नागरिकता कानुन, विवाहसम्बन्धी कानुन र जनगणनाका माध्यमबाट दक्षिण भुटानका नेपालीहरूमाथि अन्यायको अन्तहीन शृंखला सुरू भयो र उनीहरूलाई देशनिकाला गर्न थालियो, तब पूर्वी भुटानका केही शारछोपहरूले विरोध गरेका थिए। दक्षिण भुटानको घना जंगल फाँडेर आबादी गरेका र पुर्खौं पुर्खादेखि बसोबास गर्दै आएका नेपालीभाषीहरूको हक–अधिकार खोस्नु गलत हो भन्दै उनीहरूले आवाज उठाएका थिए।
ल्होछाम्पाहरूको समर्थनमा शारछोपबाट उठेको आवाज भुटानी राजसत्तालाई सह्य भएन।
‘दक्षिण भुटानमा भएको अन्याय, अत्याचार हामीले पूर्वी भुटानबाट हेरिरहेका थियौं,’ रिन्जेन दोर्जीले आफ्नै अनुभव सुनाउँदै भने, ‘म एकचोटि गेलेफु जाँदा ट्रकमा साना नानीहरू बोकेर थुप्रै भुटानी नेपालीहरू देश छाडेर जाँदै गरेको देखेँ। त्यो दृश्य देखेर मेरो मुटु भक्कानियो। आज ल्होछाम्पाहरूमाथि बर्सेको अत्याचार भोलि शारछोपहरूमाथि पनि बर्सिनसक्छ। दक्षिण भुटानलाई टोक्ने कुकुरले कुनै दिन पूर्वी भुटानलाई पनि टोक्न सक्छ। यही सोचले हामीलाई नेपालीहरूको समर्थनमा आवाज उठाउन प्रेरित गर्यो।’
आवाज त उठाए, तर त्यो आवाजको मूल्य निकै महँगो पर्यो — उनीहरूले भुटानी नेपालीहरूजस्तै देश छाडेर हिँड्नुपर्यो!
भुटानी राजसत्ता निरंकुश हुनुमा राष्ट्रिय एकताको कमीलाई उनी मुख्य कारण मान्छन्।
उनका अनुसार फरक धर्म र फरक जातिका फरक–फरक समुदाय बसोबास गर्ने हुँदा भुटानमा एकीकृत आवाज सुनिँदैन। समुदायपिच्छे चासो फरक छ, आवाज फरक छ। कसैले जातीय अधिकारको कुरा उठाए भने कसैले लोकतन्त्रको माग राखे। कसैलाई भने बख्खु लगाउन परेर वा जोङ्खा भाषा बोल्नु परेर नै बढी समस्या भयो।
‘हाम्रा आवाजहरू आपसमै बाझिएकाले सत्तापक्षले खेल्ने मौका पायो,’ उनले भने, ‘जातीय कुरा बिर्सेर पूर्व, दक्षिण र मध्य भुटानका समुदायहरूले लोकतन्त्रको माग राख्दै एकीकृत आन्दोलन गरेका भए कसैले पनि शरणार्थीको नियति भोग्नुपर्ने थिएन। हामी सबै आफ्नै देशमा हुन्थ्यौं।’
‘लोकतन्त्रको माग त अहिले पनि उठ्छ होला नि?’
हाम्रो यो प्रश्नमा रिन्जेनले भने, ‘अब त के उठ्नु! त्यत्रा मान्छेलाई अन्यायपूर्वक देशबाट निकालेपछि त्यहाँ बसिरहेकाहरू पनि भय र आतंकमा बाँच्न विवश छन्। उनीहरूलाई आवाज उठाउन गाह्रो छ। जो देश छाडेर आए, उनीहरू पनि यहाँबाट परदेश पुगिसके।’
‘त्यसमाथि भुटानले आफूलाई नयाँ रूपमा ब्रान्डिङ गरिरहेको छ। खुसी राष्ट्रको परिचय संसारलाई बेचिरहेको छ,’ उनले थोरै हाँसो र थोरै रिसाएको भावमा भने, ‘एक लाखभन्दा बढी जनता निकाल्ने र लाखौं जनता रूवाउने देशलाई संसारले खुसी राष्ट्र मानेको छ। भुटानी राजसत्ताले बनाएको भ्रामक ब्रान्डिङ पत्याएको छ।’
‘भुटानी नागरिकहरू खुसी छन् भनेर मान्ने पश्चिमा संसारले हामीलाई सोधून् वा अमेरिका–अस्ट्रेलिया उडेका शरणार्थीहरूलाई सोधून्। खुसी भइदिएका भए देश छाडेर हिँड्थे होलान् र!’ रिन्जेन दोर्जीले भने।
यति बेलासम्म झमक्क साँझ परिसकेको थियो। वृद्धवृद्धाहरू गुम्बामा बत्ती बाल्दै थिए।
छुट्टिने बेला रिन्जेन दोर्जीले भने, ‘एक न एक दिन भुटानीहरू जुर्मुराउँछन् भन्ने मलाई आस छ। कम्तिमा अमेरिका उडेकाहरू एकजुट भएर राष्ट्रसंघको मुख्यालयअगाडि भुटानी राजसत्ताको अत्याचारविरूद्ध धर्ना दिन्छन् कि भन्ने लाग्छ।’
उनले यसो भन्दै गर्दा गुम्बा भित्रबाट ‘ओम माने पेमे हुँ’ को ध्वनि गुञ्जिँदै थियो।
के साँच्चै रिन्जेनको आशा पूरा होला?
के भुटानी जनता आफ्नो राजनीतिक अधिकारका लागि जुर्मुराउलान्? भुटानी नेपाली र शारछोपहरूमाथि भएको अत्याचारविरूद्ध आवाज उठाउलान्? उनीहरूको देश फिर्तीका लागि आन्दोलन गर्लान्?
के अमेरिकामा रहेका भुटानी शरणार्थीहरूले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर धर्ना दिँदै आफूमाथि भएको मानवताविरोधी अपराधका लागि भुटानी राजसत्तासँग प्रश्न गर्लान्?
भुटानी जेलमा बन्दी रहेका नेपालीहरूको रिहाइ निम्ति पहल गर्न राष्ट्रसंघसमक्ष माग राख्लान्?
के बेर!
अर्को अंकमा हामी भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वासबारे चर्चा गर्नेछौं। पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका गएका पूर्ण न्यौपानको कथा पनि सुन्नेछौं।
अर्को अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः भुटानको चेम्गाङ जेलमा रहेका आफ्ना छोरा भेट्न पन्ध्र वर्षदेखि धाइरहेकी आमा डम्बरकुमारी अधिकारी। तस्बिर: नारायण महर्जन/सेतोपाटी