भुटानको ४०० वर्षको कथा– अंक ६
अध्याय पन्ध्रः एक दिन राजा हाम्रो आँगनमा आए
कोठामा जीवन शर्माको पुरानो गीत मसिनो आवाजमा बज्दै थियो।
आधी रातमा हुरी चल्दा
आँधीबेहरी तुफान चल्दा
कालो नीलो आकाशमुनि मुसलधारे पानी पर्दा
म त्यहीँ आउने छु
ए साथी
म त्यहीँ आउने छु
‘मलाई जीवन शर्माको यो गीत पनि एकदमै मन पर्छ,’ पहिलो र दोस्रो अन्तराको बीचमा पार्श्वधुन बजिरहँदा दिल महतले भोल्युम अलि ठूलो पारे, ‘आफ्नै देश फर्केझैं लाग्छ।’
आँखामा आगो, मनमा सपना
सागरजस्तो छाती, नदीझैं बिपना
जनताको अमर माया बोकेर
म त्यहीँ आउने छु
ए साथी
म त्यहीँ आउने छु
हामी झापाको बेलडाँगी शरणार्थी शिविरमा दिल महत उर्फ दिल भुटानीसँग कुरा गर्दै थियौं। उनले भर्खरै पकाएर ल्याएको चियाको बाफ झ्यालको कापबाट छिरेको चार धर्सो घामको किरणमा टिलिक्क टल्किँदै माथि माथि उड्दै थियो। यसपालि उनले हामीलाई कालो चिया खुवाएका थिए र त्यसको निम्ति अग्रिम माफी माग्दै भनेका थिए, ‘आज दूध छैन है सर!’
हामीले केही जवाफ दिएनौं। उनले नै अगाडि थपे, ‘तपाईंहरूलाई दूधभन्दा गुनिलो चिज हालेर चिया खुवाउँछु।’
उनले चियामा अलैंची र दालचिनी हालेका थिए।
अलैंची र दालचिनीको स्वाद मिसिएको तातो चिया सुरूप्प पार्दै उनले भने, ‘कथा सुन्नुहुन्छ?’
‘राजाको कथा?’ हामीले सोध्यौं।
‘हो, तर अर्कै राजाको।’
‘आमाले सुनाउनुभको?’
‘अँ।’
‘आमाले सधैं राजाको मात्र कथा सुनाउनुहुन्थ्यो?’
‘राजाको देशका जनता पर्यौं नि त हामी!’
दिल भुटानी यति भनेर मुसुक्क हाँसे।
उनले कथाको लय समात्न जीवन शर्माको गीतको लय साम्य पारिदिए। बन्द हुनुअघि जीवन शर्मा गाउँदै थिए —
वसन्तमा चट्याङ पर्दा
आकाशबाट आगो झर्दा
निस्सासिँदो नानीहरू जागै बसी विलाप गर्दा
म त्यहीँ आउने छु
ए साथी
म त्यहीँ आउने छु
झ्यालको कापबाट छिरेको चार धर्सो घामको किरणले दिल भुटानीको अनुहारमा चारवटा रेखा कोरेको थियो। उनी आँखा झिमझिम गर्दै ओछ्यानमा आफू बसिरहेको ठाउँबाट अलिकति पर सरे। घामको किरणमा दिल भुटानीले लगाइरहेको सादा सर्ट धर्से सर्टझैं देखियो।
सामसुम कोठामा अब दिल भुटानीको आवाज मात्र सुनिँदै थियो —
आजभन्दा धेरै धेरै, धेरै नै वर्षअघि भोटान्तमा एक जना राजा थिए।
राजा शूरवीर थिए। पराक्रमी थिए। चक्रवर्ती थिए। शस्त्रअस्त्र, विद्याबुद्धि, तपजप, दानपुण्य सबमा निपुण थिए। उनको गौरव गाथा टाढाटाढासम्म फैलिएको थियो। उनलाई देखेर शत्रुहरू पनि श्रद्धाले शिर निहुर्याउँथे।
उनी ऋषिमुनि र बौद्ध भिक्षुहरूलाई खुब मान्थे। हरेक महिनाजसो राज्यमा यज्ञ–अनुष्ठान आयोजना गर्थे। यज्ञ–अनुष्ठान निम्ति टाढाटाढाबाट ऋषिमुनिहरूलाई आमन्त्रण गर्थे। जब यज्ञ समाप्त हुन्थ्यो, उनी सबैलाई दरबारको प्रांगणमा बसालेर चौरासी व्यञ्जनको भरपेट भोजन गराउँथे। भिक्षुहरूलाई पनि हात फुकाएर दान गर्थे।
उनको शक्ति र भक्ति देखेर ऋषिमुनिहरू भन्थे– ‘हाम्रा राजा त साक्षात् इन्द्र भगवान हुन्।’
बौद्ध भिक्षुहरू चाहिँ उनलाई सम्राट अशोकसँग दाँज्थे।
कसैका इन्द्र भगवान र कसैका निम्ति सम्राट अशोकजस्ता भए पनि राजाको मनमा शान्ति थिएन। उनी सधैं बेचैन रहन्थे। उनको बेचैनीको कारण राज्यको भूमि थिएन। किनभने, उत्तरमा हिमालय पर्वतदेखि बीचमा पहाडका टाकुरा र दक्षिणमा बाह्रै महिना कलकल बग्ने नदीको तटसम्म उनको विजय ध्वज फहराइसकेको थियो। उनलाई आफ्नो भूगोल योभन्दा बढी तन्काउने कुनै रहर थिएन। हुन त कुनै बेला उनी समुद्री तटसम्म आफ्नो शासन फैलियोस् भन्ने चाहन्थे, तर गुरू पद्मसम्भवको भक्तिपछि उनको राज्य विस्तारको लालसा मर्यो। उनी युद्धमा भन्दा धर्ममा विश्वास गर्न थाले। शत्रुको रगतले भन्दा जनताको राहतले उनको मनलाई बढी सन्तोक दियो। हरेक दिन नित्यकर्मझैं तरबारमा धार लगाउने यी राजा गुरू पद्मसम्भवको भक्तिपछि आफ्नो शास्त्र ज्ञान तिखार्नमा बढ्ता एकोहोरिए।
उनको बेचैनीको कारण पारिवारिक चिन्ता पनि थिएन। किनभने, आफ्ना तीन रानीहरूबाट जन्मेका चार जना वीर पुत्र र तीन जना वीरंगना पुत्रीहरूले उनको दरबार हराभरा थियो। उनले आफ्ना पुत्रीहरूको विवाह छिमेकी देशका गुणवान राजकुमारहरूसँग गरिसकेका थिए। उनीहरूको गृहस्थ जीवन खुसहाल थियो। यता चारै जना छोराले छिमेकी राज्यका राजकुमारीहरूसँग विवाह गरेका थिए र उनीहरूको पनि गृहस्थ जीवन खुसहाल थियो।
दाजुभाइबीचको कलहको चिन्ता भनौं भने त्यो पनि थिएन। किनभने, उनका चार जना पुत्र राम, लक्ष्मण, भरत र शत्रुघ्नजस्ता थिए। यी चार दाजुभाइबीच राज्यको निम्ति कुनै लडाइँ-झगडा थिएन। जेठा दाजु नै गद्दीका उत्तराधिकारी हुन् भन्नेमा बाँकी तीन जनालाई रत्तिभर दुबिधा थिएन। जेठा दाजुले राजपाठ सम्हाल्ने र बाँकी तीन जनाले सीमा सुरक्षा र जनकल्याणको बागडोर सम्हाल्ने जिम्मेवारी बाँडिसकेका थिए।
राजालाई आफ्नो मन्त्रिपरिषदको चिन्ता पनि थिएन। किनभने, उनको मन्त्रिपरिषदमा एक–से–एक तीक्ष्ण बुद्धि भएका, शास्त्रको ज्ञान र कल्याणकारी मनले भरिपूर्ण सदस्यहरू थिए। राज्यको सेना उत्तिकै बलशाली थियो। सेनाध्यक्षको जिम्मेवारी स्वयं उनका माइला छोराले सम्हालेका थिए।
यी सब विचार गर्ने हो भने राजा यति भाग्यशाली थिए, उनको मनमा चिन्ताको रौं पनि नहुनुपर्ने हो। तर उनी चिन्तित थिए। सधैं बेचैन रहन्थे। मनको अशान्तिले उनको मुहारको कान्ति नै लुटेझैं थियो। र, यो चिन्ताको कारण के हो, स्वयं राजालाई यसको भेउ थिएन। उनको मनलाई केही न केही चिजले हरपल कुटुकुटु खाइरहन्थ्यो। तर त्यो चिज के हो, स्वयं राजालाई त्यसको भेउ थिएन।
मन बेचैन हुनु, तर बेचैनीको कारण पत्ता नलाग्नु भनेको ठ्याक्कै त्यस्तै अवस्था हो, जस्तो कुनै दीर्घरोगीलाई आफ्नो रोग पत्ता नलाग्दा हुन्छ।
मनको अशान्तिले चौबीस घन्टा, चौबीसै प्रहर घेरिरहने राजाले एकदिन सपनामा गुरू पद्मसम्भवलाई देखे।
रंगीचंगी वस्त्र, झलझलाकार आभूषण र शिरमा सुनको मुकुट धारण गरेका गुरू पद्मसम्भवले राजाको सपनामा आएर दर्शन दिँदै भने, ‘राजन, मृत्युले मान्छेलाई एकचोटि मार्छ, मनको चिन्ताले ऊ हरपल मरिरहन्छ।’
राजाले दुई हात जोडेर बिन्ती गरे, ‘हे गुरू पद्मसम्भव, मेरो मनमा चिन्ताले घर बनाएको त हजुरले देख्नुभयो, अब यो चिन्ताको कारण र चिन्ता निवारणको उपाय पनि बताइदिनुस्।’
गुरू पद्मसम्भवले जवाफमा भने, ‘तिम्रो चिन्ताको कारण र निवारण मसँग छ राजन, तर म तिमीलाई अहिले यहाँ सपनामा त्यो बाटो देखाउँदिनँ। त्यसको निम्ति तिमीले नेपाल मण्डल आउनुपर्छ।’
पद्मसम्भवले अगाडि भने, ‘नेपाल मण्डलको दक्षिणी डाँडोमा फर्पिङ भन्ने ठाउँ छ। तिमी त्यहीँ आएर तपस्या गर्नू। यो त्यही ठाउँ हो, जहाँ आजभन्दा धेरै युगपहिले मैले तपस्या गरेको थिएँ। त्यहाँ तपस्या गर्न आयौ भने तिमी र मेरो साक्षात्कार हुनेछ। अनि त्यहीँ म तिमीलाई शान्तिको मार्ग बताउँला।’
यति भनेर गुरू पद्मसम्भव राजाको सपनाबाट अन्तर्ध्यान भए।
त्यो रात राजा सपनाबाट ब्युँझेनन्। पद्मसम्भवको अन्तर्ध्यानपछि पनि उनलाई गहिरो निद्रा परिरह्यो।
भोलिपल्ट बिहान उनको आँखा एकदमै ढिला खुल्यो। उनको ज्यान अरू दिनभन्दा एकदमै चंगा थियो। दिमाग यस्तो छ्यांग थियो, मानौं वर्षौं वर्षदेखि लागेको माकुरीजालो कसैले कुचोले बढारिदिएको होस्!
एकाएक राजाको हाउभाउ बदलिएको देखेर जेठी रानीले भनिन्, ‘महाराज, आज धेरै कालपछि हजुरलाई गहिरो निद्रामा सुतेको देखेँ। त्यसैले हजुरको निद्रा बिथोल्न मन लागेन। निद्रामा हजुरको अनुहार पूर्णेको जूनझैं चम्किरहेको थियो। गाला अत्यन्तै धेरै रक्तप्रवाह भएजस्तो रसिलो र लाल देखिन्थ्यो। हजुर सपनामा मुसुमुसु हाँसिरहनुभएको थियो। त्यस्तो के सपना देख्नुभयो महाराज हजुरले, जसले तपाईंको अनुहारबाट चिन्ताको जालो हट्यो?’
अचम्म के भने, ब्युँझिने बेलासम्म राजालाई आफूले देखेको सपना अलिकति पनि याद थिएन। सपनामा गुरू पद्मसम्भवले दर्शन दिएको घटना उनको स्मृतिबाट विस्मृतिमा गइसकेको थियो। तर जसै रानीले सपनाको बाकस ढ्यापढ्याप पारिन्, विस्मृतिमा गइसकेका घटना फेरि स्मृतिमा फर्के। राजाका आँखामा रातको सपना तरोताजा बनेर नाच्न थाल्यो। सपनामा गुरू पद्मसम्भवले दर्शन दिएको र आफ्नो चिन्ताको कारण र निवारण खोज्न नेपाल मण्डलको फर्पिङ डाँडो आएर तपस्या गर्नु भनेको उनले सम्झे। पद्मसम्भवले फर्पिङमै आएर साक्षात्कार गर्छु र शान्तिको मार्ग बताउँछु भनेको पनि उनले सम्झे।
राजाले त्यसै दिन राजसभा बैठक डाके। तीनै जना रानी र चारै जना पुत्रलाई बैठकमा आमन्त्रण गरे। अनि सबैका अगाडि आफूले देखेको सपना सुनाउँदै भने, ‘म आजै नेपाल मण्डल जान्छु र गुरू पद्मसम्भवको तपस्या गर्छु।’
त्यसपछि राजपाठको जिम्मेवारी जेठा छोरालाई सुम्पेर दिन ढल्नुभन्दा अगाडि नै राजा नेपाल मण्डलको यात्रामा निस्के।
दस रात दस दिनको अविराम यात्रापछि उनी चोभार आइपुगे। यहाँ आएर उनले आफ्ना आभूषणहरू बागमती नदीमा बगाइदिए। मुकुट पनि चोभारको डाँडोमा कतै मिल्काइदिए। राजाले बगाएका ती आभूषण अहिले पनि बागमतीमा बेलामौका भेटिन्छन् रे! उनको मुकुट अहिले पनि चोभार डाँडाको माटोमुनि कतै दफन छ रे!
चोभारमा आफ्नो राजसी चोला फेरेपछि भोटान्तका ती राजा फर्पिङ डाँडातिर उक्ले र जंगलको बीचमा पिपलबोटमुनि कमल फूलको आसन बाँधेर तपस्यामा लीन भए।
दिन बित्यो। महिना बित्यो। साल बित्यो।
फर्पिङ डाँडालाई कहिले प्रचण्ड घामले सेक्यो, कहिले लुगलुग ज्यान कमाउने ठन्डीले रूखका पातपतिंगरहरू चाउरिए। कहिले तेज वर्षाले जंगलको बीचोबीच दलदल बनायो, कहिले तेज हावाहुरीले रूखलाई जडसमेत उखेलेर लग्यो।
राजा भने घामपानी, हुरीबतास झेल्दै तपस्यामै एकाग्र भइरहे।
आखिरमा एकदिन गुरू पद्मसम्भवले तपस्यामा लीन राजालाई दस्तक दिए, ‘उठ राजन! आँखा खोल। म तिमीसँग साक्षात्कार गर्न आएको छु।’
राजाले आफ्ना आँखा पुलुक्क खोले। वर्षदिनको तपस्यापछि पहिलोपटक आँखा उघार्दा राजालाई यस्तो लाग्यो, मानौं कयौं दिनदेखि लागेको कालो बादलको पर्दा उघारेर घाम मुसुक्क हाँसेको छ।
राजाले गुरू पद्मसम्भवलाई साष्टांग दण्डवत् गरे।
पद्मसम्भवले राजाको दुवै कुम समातेर उठाए र उनलाई त्यहीँ पिपलबोटमुनि लगेर आफ्नो समीप राखे।
‘राजन, तिम्रो दुःखको कारण तिमी स्वयं हौ,’ पद्मसम्भवले भने, ‘तिमीभित्र दुःखको हुन्डरी चलेको छ, किनभने तिमीले सुखको बाटोमा आफैंले तगारो हालेर बसेका छौ।’
राजा छक्क परे। उनले पद्मसम्भवको कुरा बुझेनन्।
राजालाई अन्यौलमा देखेर पद्मसम्भवले अगाडि भने, ‘मान्छेको सुख अरूको सुखमा हुन्छ। अरूको मुस्कानमै मान्छेको मुस्कान लुकेको हुन्छ। जसरी घाम झुल्किँदा दिन खुल्छ, चराहरू चिरबिर गर्छन्, फूलहरूमा ज्यान आउँछ; त्यसरी नै जब मान्छेको बाहिरी संसार घामजस्तै झलमल हुन्छ, तब उसको भित्री संसार पनि झलमलाउँछ। अन्तरआत्मा झलमलाउँछ। तिम्रो दुःखको निवारण पनि बाहिरी संसारमा छ राजन।’
राजा चुपचाप उनको कुरा सुनिरहे।
गुरू पद्मसम्भवले भने, ‘मान्छेको बाहिरी संसार भनेको के हो? उसको परिवार हो, आफन्त हो, उसले माया गर्ने सबै व्यक्तिहरू हो। त्यस्तै, राजाको बाहिरी संसार भनेको उसको राज्य हो। उसको जनता हो। तिमीले आफ्नो शक्ति र सामर्थ्यले बलियो राज्य बनायौ। तिम्रो नाम सुन्दा शत्रुहरू थरथर काम्छन्। तिम्रो बुद्धि र विवेकलाई परास्त गर्ने तागत कसैसँग छैन। तिम्रो परिवार सुखी छ, तिम्रो घरबार सुखी छ, तिम्रो दरबार सुखी छ। तर राजन, तिम्रो राज्य सुखी छैन। तिम्रो राज्यका जनता सुखी छैनन्।’
‘मैले बुझिनँ गुरूदेव,’ राजाले सोधे, ‘मेरो राज्यलाई केको दुःख छ? मेरा जनता किन सुखी छैनन्।’
‘किनभने तिम्रा जनता आफ्नो जडबाट अलग्गिएका छन्। उनीहरूको सालनाल टुटेको छ,’ गुरू पद्मसम्भवले अगाडि भने, ‘तिम्रो पुर्खा धर्मराजा ङवाङ नमग्यालले यही नेपाल भूमिबाट थुप्रै जनतालाई आफूसँगै लगेर उता भोटान्तमा बसोबास गराएका थिए। उनीहरूको जड यहाँ थियो, उता गएपछि उनीहरू आफ्नो जडबाट अलग्गिए। उनीहरूको सालनाल यही भूमिसँग गाँसिएको थियो, उता गएपछि उनीहरूको सालनाल टुट्यो।’
‘राजन, जसको जड छुट्छ, जसको सालनाल टुट्छ, उसको आत्मा बाँडिन्छ। ऊ आधा यताको हुन्छ, जहाँको ऊ थियो र आधा उताको हुन्छ, जहाँ ऊ अहिले छ। धर्मराजा नमग्यालले उनीहरूलाई आफ्नो भूमिमा त बसाए, आफ्नो आँखामा बसाउन सकेनन्। त्यसैले तिम्रा ती जनता भित्रभित्रै दुःखी छन् राजन। तिनका आत्मा बेचैन छन्, यताउति भट्किरहेका छन्। बाहिरबाट हेर्दा त उनीहरू खुसी देखिएलान्; हाँसिरहेका, नाचिरहेका, रमाइरहेका देखिएलान्, तर उनीहरू त्यस्तै अवस्थामा छन्, जस्तो अवस्था आमाबाट टाढिएको सन्तानको हुन्छ।’
‘तिमी आफ्ना ती जनतालाई आफ्नो भूमिमा मात्र होइन, आफ्नो आँखामा बास देऊ। उनीहरूलाई आफ्नो आँखाको नानी बनाऊ। उनीहरूको आँगनमा जाऊ। उनीहरूसँग वार्ता गर। उनीहरूका कुरा सुन। उनीहरूको कुममा हात राख। पसिनाले भिजेको उनीहरूको आङ मुसार। उनीहरूलाई आफू हुनुको अनुभूति गराऊ। त्यही भूमिसँग उनीहरूको जड जोड, त्यहीँको माटोमा उनीहरूको सालनाल गाँस। यति गरेपछि तिमी उनीहरूको ढुकढुकी सुन। त्यो ढुकढुकीबाट चाल पाउने छौ तिमी, उनीहरूको खुसी।’
‘जब ती जनताको खुसी छातीमा धड्किन थाल्नेछ नि राजन, तब तिम्रो बेचैनी स्वतः हट्नेछ। तिमीले आफ्नो दुःखबाट पार पाउने छौ। तिमी अहिलेको निस्सासिँदो जकडबाट सधैंका लागि मुक्त हुने छौ। तिमी पूर्ण रूपमा उनीहरूको हुने छौ, उनीहरू पूर्ण रूपमा तिम्रा हुने छन्।’
राजा एक शब्द नबोली गुरू पद्मसम्भवका कुरा सुन्दै थिए।
‘अर्को कुरा पनि छ तिमीलाई भन्नुपर्ने,’ पद्मसम्भवले भने।
राजाले दुवै हात जोडेर शिर झुकाउँदै भने, ‘आज्ञा होस् देव।’
‘धर्मराजाले धेरैअघि यो नेपाल भूमिलाई भोटान्त राज्यसँग जोड्न गुप्त सुरूङ मार्ग खनाएका थिए। यहाँबाट नेपालीहरूको लावालश्कर लिएर जाँदा उनी त्यही सुरूङ मार्ग हुँदै जान्थे। त्यो मार्गले यो भूमि र त्यो भूमिको आत्मा जोडेको थियो। अहिले त्यो बाटो हराएको छ। विस्मृतिमा बिलाएको छ। त्यो बाटो नेपाल मण्डलको उत्तरपूर्वबाट सुरू हुन्छ। तिमी त्यो बाटो खोज, बीचमा कहीँ कतै अवरूद्ध छ भने अवरोधहरू पन्छाऊ। अनि त्यही बाटो हुँदै आफ्नो राज्य फर्क,’ पद्मसम्भवले भने, ‘त्यो बाटोले तिमीलाई सिधै भोटान्तको त्यो भेगमा लैजानेछ, जहाँ तिम्रा ती दुःखी जनहरू छन्। तिमी सिधै उनीहरूको आँगनमा जाऊ, उनीहरूको खेतमा जाऊ, उनीहरूको झुपडीमा जाऊ। उनीहरूलाई चिन, उनीहरूलाई चिनाऊ।’
पद्मसम्भवले अगाडि भने, ‘नेपाल र भोटान्त भूमिलाई जोड्ने त्यो हराएको बाटो जसै भेटिएला, तिमीले तिम्रो हराएको शान्ति पनि भेट्ने छौ राजन।’
यति भनेर गुरू पद्मसम्भवले राजासँग बिदा मागे र उनको सफलताको कामना गर्दै अन्तर्ध्यान भए।
वर्षदिनको घनघोर तपस्याले गलेको राजाको ज्यानमा पद्मसम्भवसँगको साक्षात्कारले फूर्ति दौडिन थालिसकेको थियो।
उनी पिपलबोट मुनिबाट जुरूक्क उठे।
जुन ठाउँमा अघिसम्म गुरू पद्मसम्भव विराजमान थिए र जुन ठाउँबाट उनी विलीन भए, त्यो ठाउँमा सेतो कमलको फूल फुलेको थियो। राजाले कमलको फूल आफ्नो हातमा लिए। पद्मसम्भव अन्तर्ध्यान भएको भूमिमा शिर निहुर्याए। दुवै हातले त्यो भूमिको माटो टिपेर आफ्नो निधारमा दले र त्यहाँबाट नेपाल मण्डलको उत्तरपूर्वी दिशातर्फ लम्के।
वर्षौंअघि हराएको गुप्त सुरूङ मार्ग खोज्नु चानचुने काम थिएन, तर राजासँग पद्मसम्भवको साथ र आशीर्वाद थियो।
नेपाल मण्डलको उत्तरपूर्वी भेगमा पर्ने साँखुमा उनले भोटान्त जाने सुरूङ मार्गको मुख फेला पारे।
सुरूङ अँध्यारो थियो, वर्षौं वर्षदेखि अँध्यारो राजाको मनजस्तै!
सुरूङ विरान थियो, वर्षौं वर्षदेखि विरान राजाको आत्माजस्तै!
सुरूङमा जमेर बसेको नेपालीहरूको आँशुको ढिक्का उस्तै नुनिलो थियो, वर्षौं वर्षदेखि बगिरहेको राजाको आँशुजस्तै!
जसै राजाले सुरूङभित्र आफ्नो पहिलो पाइला बढाए, अँध्यारो चिर्दै घामको रोशनी फैलियो। त्यही क्षण राजालाई आफ्नो अँध्यारो मनमा झिलिक्क बत्ती बलेझैं भयो। बेचैनीले गलेको आत्मा कपासझैं हल्का भएर आयो।
उनी जति जति पाइला बढाउँदै जान्थे, सुरूङ झलझलाकार हुँदै आउँथ्यो। राजालाई आफ्नो अन्तरआत्मा पनि झलझलाकार हुँदै गएझैं भयो।
उनी सुरूङभित्र हिँड्दै थिएनन्, मृगको बच्चाझैं बुर्लुकबुर्लुक उफ्रिँदै थिए। एक एक पाइलासँगै राजाको छातीमा चैन र उमंगको सास भरिँदै थियो। उनको मुहारमा कान्ति फर्किँदै थियो।
उनी तृप्त हुँदै थिए।
त्यो सुरूङ मार्गले राजालाई मिलिक्कै भोटान्तको दक्षिणी भेगमा पुर्यायो।
एक वर्षअघि जुन यात्रा उनले दस दिन दस रात अविराम हिँडेर पूरा गरेका थिए, त्यो दूरी पार गर्न उनलाई दस सेकेन्ड पनि लागेन; दस पाइला पनि हिँड्नुपरेन।
सुरूङको अर्को मुख दक्षिणी भेगमा बस्ने नेपालीहरूको आँगनमै खुल्यो।
एकाएक आफ्नो आँगनमा अपरिचितलाई देखेर दक्षिणी भोटान्तका नेपालीहरू जिल खाए।
‘तिमी को हौ? हाम्रो आँगनमा कसरी झुल्कियौ? कुन बाटो आयौ? यहाँ त कुनै बाटो छैन!’
राजाले उनीहरूका सबै प्रश्न र सबै जिज्ञासाको जवाफ दिए।
राजाले त्यहाँ आफूलाई चिनाए। र, दस दिन दस रात त्यही ठाउँमा बसेर उनीहरूलाई चिने।
उनीहरूको खेत घुमे। झुपडीमा बसे। उनीहरूको कुममा हात हाले। उनीहरूको पसिनाले भिजेको आङ मुसारे। र, आफू उनीहरूका राजा मात्र होइन, अभिभावक भएको अनुभूति पनि गराए।
हिँड्ने बेला राजाले भने, ‘तिमीहरू मेरा आँखा हौ। तिमीहरूमाथि कुनै भेदभाव म गर्दिनँ। अबउप्रान्त तिमीहरूको सबै जिम्मेवारी म लिन्छु। म तिमीहरूको राजा हुँ, तिमीहरू मेरा प्रजा हौ। तिमीहरू मेरो भूमिमा मात्र होइन, मेरो आँखामा पनि बस्ने छौ। जब जब तिमीहरूलाई मेरो खाँचो पर्छ, मलाई आफ्नो समीप पाउने छौ।’
यति बेलासम्म राजा दक्षिणी भेग आइपुगेको खबर दरबारसम्म पुगिसकेको थियो। राजालाई लिन उनका तीनै जना पत्नी, चारै जना छोरा र मन्त्रीहरू सेनाको टुकडी र हात्ती–घोडासहित आएका थिए।
राजाले तपस्वीको चोला फेरेर राजसी चोला पहिरे र आफ्ना जनतासँग बिदा मागे।
घोडा चढेर दरबारतिर बत्तिने बेला उनले फर्केर हेरे — त्यहाँ नेपाली गाउँ थियो, नेपाली ढाँचामा बनेका झुपडीहरू थिए, झुपडी बाहिर आँगन थियो र हरेक आँगनमा राजालाई बिदा गर्न जम्मा भएका नेपालीभाषी जनता सहश्रधारा आँशु बगाउँदै उभिएका थिए।
एक थोक भने राजाले कतै देखेनन्। उनले चारैतिर आँखा डुलाए, तैपनि देखेनन्।
त्यहाँ नेपाल र भोटान्त जोड्ने त्यो सुरूङ मार्ग थिएन।
त्यो मार्ग फेरि गुम भइसकेको थियो।
तर फेरि गुम हुनुअघि त्यो मार्गले राजाको गुमेको खुसी फर्काइदिएको थियो।
गुरू पद्मसम्भव माथि आकाशमा कतै मुस्कुराउँदै थिए!
यसपालि कथा पूरा हुञ्जेलसम्म सात वर्ष उमेरका दिल भुटानी उर्फ ‘दिलु’ चुइँक्क बोलेन। आमाको काखमा लुटुपुटु परेर चुपचाप कथा सुनिरह्यो।
अनन्त आकाश छेक्ने गरी आपसमा घम्साघम्सी गरिरहेका रूखका लहराहरूतिर एकोहोरो टोलाउँदै कथा सुनाइरहेकी आमाले पुलुक्क दिलुतिर हेरिन्।
दिलु आमालाई हेरेर मुसुक्क हाँस्यो।
‘ओहो यी त साह्रै असल राजा रैछन् नि आमा,’ दिलुले सोध्यो, ‘यस्ता राजा पनि थिए हगि हाम्रो भोटान्तमा।’
आमा केही बोलिनन्।
उनीसँग बोल्ने शब्द नै थिएन।
त्यस्ता राजा हुनु र नहुनुको अब कुनै अर्थ पनि थिएन। किनभने, तिनै राजाले आफ्ना आँखासरी मानेका जनता आज घना जंगलको बीचमा मुसलधारे झरीमा रूझ्दै अनिश्चित भविष्यतर्फ डोरिँदै थिए।
जसलाई न हिँड्ने गोरेटो थाहा थियो, न पुग्ने गन्तव्य।
आमाको मनमा कुन तर्कनाको उफान मच्चियो कुन्नि, उनका आँखाबाट तररर आँशु झरे। सारीको सप्कोले पुछ्न खोज्दा खोज्दै आँशुका तीनटा थोपा दिलुका गालामा परे।
तप्प, तप्प, तप्प।
दिलुले केही भनेन।
ऊ चुपचाप फेरि आमाको काखमा गुट्मुटियो। उसले बुझिसकेको थियो, यो ठाउँलाई उसकै आमाको आँशुको सराप लागेको हो।
त्यो ठाउँ अहिले पनि आमाको आँशुको सरापबाट मुक्त भइसकेको छैन। त्यहाँ अहिले पनि दिनरात, चौबीसै घन्टा पानी परिरहेकै छ। रूखका लहराहरू उसैगरी जेलिएकै छन्। जेलिएका ती लहराले आकाश ढाकेकै छन्। ती लहराहरू रातको समय राक्षसी आकृति बनाउँदै तर्साउन आउँछन्।
त्यहाँ अहिले पनि मध्यरात कोही रोएजस्तो, कोही चिच्याएजस्तो आवाज सुनिन्छ। बेलाबेला हुलका हुल मान्छे भुइँमा झरेका पातपतिंगर टेक्दै हिँडेजस्तो सर्याकसुरूक आवाज पनि आउँछ।
त्यो दिल भुटानी उर्फ दिलुजस्ता हजारौं हजार भुटानी नेपालीहरूले आफ्नो भूमि छाड्दाको आवाज हो।
उनीहरू शरणार्थी बन्दाको सर्याकसुरूक हो।
आमाले सुनाएको कथा जस्ताको तस्तै हामीलाई सुनाएपछि दिल भुटानी एकछिन साह्रै गम्भीर देखिए। उनका आँखा रसाएका थिए।
उनी एकछिन ओछ्यानको कुनामा मूर्तिवत् बसिरहे — चुपचाप।
झ्यालको कापबाट छिरेको घामको किरणले उनको अनुहारमा फेरि धर्सा पार्यो। यसपालि धर्सा चारवटा थिएन, सातवटा थियो। घामपानी बेला आकाशमा देखिने इन्द्रधुनष जस्तो!
‘एक राउन्ड चिया फेरि खाऊँ है,’ अलि बेरमा दिल भुटानीले भने।
‘हुन्छ, दूधभन्दा गुनिलो चिज हालेको चिया,’ हामीले हाँस्दै भन्यौं।
‘कालो चियामा अलैंची र दालचिनी,’ उनले भने, ‘मेरो भुटानको कालो सत्तालाई पनि यस्तै अलैंची र दालचिनीको खाँचो छ।’
उनी यति भनेर चिया पकाउन भान्छातिर छिरे।
चिया पकाउन जानुअघि उनले क्यासेट प्लेयर अन गरेका थिए।
मलिनो कोठामा जीवन शर्माको गीत गुञ्जियो —
उषाको लाली, गुराँसको थुंगा
देख्नै नसक्ने ती दुष्टसँग
झुक्दै नझुक्ने शिर बोकी
म त्यहीँ आउने छु
ए साथी
म त्यहीँ आउने छु
वरिपरि काला सर्प, अजिंगरले तर्साउँदा
माथिबाट दुश्मनले बम–गोला बर्साउँदा
तिम्रो छाती रंगिएर हातबाट बन्दुक झर्दा
म त्यहीँ आउने छु
ए साथी
म त्यहीँ आउने छु...
अध्याय सोह्र
कथासँग मेल खाने राजा
दिल भुटानीकी आमासँग कथा भन्ने गज्जबको कला थियो।
कला पनि कस्तो भने, इतिहास नै हुबहु उतार्ने।
यसपालिको कथा पनि भुटानको इतिहाससँग मेल खान्छ — केही कथ्य र केही तथ्य मिश्रण गरिएको। ऐतिहासिक घटनाक्रमलाई अलौकिक ढंगमा प्रस्तुत गर्न पात्रहरूलाई पनि अलौकिक बनाइएको, तर घटनाहरू दुरूस्तै।
यो वाङचुक वंशका तेस्रो राजा जिग्मे दोर्जी वाङचुक (सन् १९२८–१९७२) को कथा हो। उनले २३ वर्षको उमेरमा सन् १९५२ मार्च ३०, अर्थात् विक्रम सम्बत् २००८ चैत १८ गते आइतबार भुटानको राजगद्दी सम्हालेका थिए।
त्यति बेलासम्म दक्षिण भुटानका नेपालीभाषीहरूको बसाइ र बन्दोबस्त कस्तो थियो भनेर हामीले अघिल्ला अध्यायहरूमा चर्चा गर्यौं। भारत र नेपालको प्रजातान्त्रिक क्रान्तिले केही भुटानी नेपालीहरूलाई आफ्नो समान अधिकार र मौलिक हकको निम्ति लड्न कसरी प्रेरणा दियो भनेर पनि हामीले चर्चा गर्यौं। भुटानको पहिलो प्रजातान्त्रिक लडाइँ कसरी सुरू भयो र कसरी त्यसको अन्त्य भयो भनेर पनि हामीले तपाईंहरूलाई विस्तारमा बतायौं।
त्यस्तै, उत्तरी भेगमा बस्ने डुग्–पा र दक्षिणी भेगका भुटानी नेपालीहरूबीच कस्तो सम्बन्ध थियो भन्ने कुरा हामीले गरिसकेका छौं। लामो समयदेखि एकै ठाउँमा बस्दा खेतीपाती र चरनको विषयलाई लिएर कहिलेकाहीँ ठाकठुक परे पनि नेपाली र डुग्–पा समुदायबीच आपसी मनोमालिन्यको खासै ठूलो मुद्दा उठेको थिएन। भुटान दरबारले नेपाल दरबारलाई पठाएको एउटा राजकीय पत्रमा उल्लेख भएझैं नेपाली र डुग्–पा समुदाय ‘एकै आँतका दाजुभाइजस्तो प्रेम र वात्सल्यका साथ’ बसेका थिए।
यति हुँदाहुँदै राजा जिग्मे दोर्जी वाङचुकको शासन सुरू हुँदासम्म उत्तरी र दक्षिणी भुटानबीच राजनीतिक ऐक्यबद्धता थिएन। उनीहरू एकै देशका नागरिक त थिए, तर एकै देशका नागरिकजस्ता थिएनन्। उत्तरी भेगका डुग्–पा र दक्षिणी भेगका भुटानी नेपाली एकै राज्यभित्र दुई अलग राज्यका रूपमा बसेका थिए। दक्षिण भुटान भौगोलिक रूपले बाँकी राज्यसँग जोडिएको भए पनि राजनीतिक र सांस्कृतिक रूपले बाँकी राज्यबाट अलग थियो। उनीहरूको बसाइ अलग थियो, बन्दोबस्त अलग थियो। उनीहरूको पहिचान र अधिकार पनि अलग थियो।
राजा जिग्मे दोर्जी वाङचुकले भुटानको इतिहासमै पहिलोपटक दक्षिण भेगलाई राजनीतिक रूपमा बाँकी राज्यसँग जोड्ने कोसिस गरे। उनले भुटानी नेपालीहरूलाई भुटानको राजनीतिक मूलधारमा ल्याए, प्रशासनमा ल्याए, सुरक्षामा पनि ल्याए — भुटानी नेपालीलाई भुटानी नागरिक बनाए।
यसका लागि जिग्मे दोर्जी वाङचुकले भुटानी नेपालीहरूलाई के–कस्ता राजनीतिक अधिकार दिए? के कस्ता सुधारका उपाय अपनाए? र, सबभन्दा ठूलो कुरा, उनले इतिहासमै पहिलोपटक सुधारको बाटो किन अपनाए?
यो अध्यायमा हामी यिनै प्रश्नमाथि चर्चा गर्नेछौं।
त्योभन्दा अगाडि कुरा गरौं– भुटानमा नेपालीहरूको प्रवेश भएको तीन सय वर्ष नाघिसक्दा पनि उनीहरूलाई किन बाँकी राज्यबाट अलगथलग पारिएको थियो? के त्यस्तो कारण थियो, जसले दक्षिण भुटानमा बस्ने नेपालीभाषीहरू बाँकी राज्यका डुग्–पाहरूसँग समाहित हुन सकेनन्?
यसबारे थाहा पाउन हामीले भुटानको जातीय बनोट बुझ्नुपर्छ।
भौगोलिक रूपले नेपालभन्दा एकतिहाइ क्षेत्रफलको भुटानमा मुख्य गरी चार थरीका जातीय समुदायको बसोबास छ —
पूर्वी भुटानमा बाहुल्य रहेको शारछोप जाति आफूलाई भुटानको सबभन्दा पुरानो बसोबासी भएको दाबी गर्छ। उनीहरू भोट वा तिब्बती मूलका बासिन्दा हुन्। उनीहरू बाह्रौं शताब्दीभन्दा पहिले नै भारतको अरूणाञ्चल प्रदेश तथा बर्माबाट तत्कालीन ल्हो मोन वा आजको भुटानी सीमाभित्र बसाइँ सरेको इतिहासकारहरूले उल्लेख गरेका छन्।
शारछोपपछि आउँछ ङालोङ, जसको बाहुल्य पश्चिम भुटानमा छ। उनीहरू पनि आफूलाई तिब्बतबाट सबभन्दा पहिला आएर भुटानमा बसोबास गरेको दाबी गर्छन्। भुटान आएर बौद्ध धर्म अँगाल्ने पहिलो समुदाय भएकाले नै उनीहरूलाई ‘ङालोङ’ भनिएको भनाइ छ। तिब्बती भाषामा ङालोङको अर्थ ‘उदय’ हो। कतिले ‘प्राचीन भूमि’ को अर्थमा ङालोङ भनिएको तर्क गर्छन्। यिनीहरू भुटानमा राजनीतिक रूपले शक्तिशाली छन्।
भुटानको मध्य भूमिमा पर्ने बुम्थाङ उपत्यकामा छुट्टै सांस्कृतिक सभ्यता बोकेको ‘खेङ’ समुदायको बसोबास छ। यी खेङहरू आफूलाई मध्य भुटानका आदिवासी मान्छन्। कुनै समय मध्य भुटानमा खेङहरू शक्तिशाली थिए। त्यहाँ उनीहरूकै राजनीतिक वर्चश्व थियो। सत्रौं शताब्दीसम्म आइपुग्दा खेङ र शारछोपलाई पछि पारेर ङालोङहरू शक्तिमा उदाए।
चौथोमा आउँछ, दक्षिण भुटानमा बाहुल्य रहेको अर्को जातीय समूह — ल्होछाम्पा। नेपाली मूलका भुटानीहरू यही ल्होछाम्पा समूहका हुन्।
भुटानका यी चार जातीय समुदायमा ल्होछाम्पा वा नेपाली मूलका भुटानीहरूको धर्म, संस्कृति, भाषा र रहनसहन अरूको भन्दा बिल्कुलै फरक छ।
अरू तीन जातीय समूह — ङालोङ, शारछोप र खेङ — तिब्बती शैलीको महायान बौद्ध धर्म मान्छन्। नेपाली मूलका भुटानी भने धेरैजसो हिन्दु धर्मावलम्बी छन्।
अरूको वेशभूषा भुटानको राष्ट्रिय पहिरन ‘घो’ (पुरूष) र ‘कीरा’ (महिला) सँग मिल्दोजुल्दो छ। नेपाली मूलका भुटानी भने त्योभन्दा पूरै फरक नेपाली पहिरन लगाउँछन्।
अरू जातीय समूहहरू तिब्बती बौद्ध धर्मअनुसारका चाडपर्व मनाउँछन्। नेपाली मूलका भुटानी भने दसैं, तिहार र फागुमा रमाउँछन्।
भाषा भने सबैको भिन्दाभिन्दै छ। ङालोङहरू भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’ बोल्छन्। शारछोपहरू ‘शाङ्ला’ बोल्छन्। खेङहरूको पनि आफ्नै भाषा छ। तर यी भाषा तिब्बती भाषासँग थोरबहुत मिल्दाजुल्दा छन्। नेपाली मूलका भुटानी भने अरूको भन्दा एकदमै फरक नेपाली भाषा बोल्छन्। धेरैलाई त जोङ्खा बोल्न पनि आउँदैन।
यी चार जातीय समूहका मान्छेलाई एक ठाउँ लश्करै उभ्याउने हो भने नेपालीभाषी भुटानीहरू सर्लक्कै भिन्न देखिन्छन्।
अब तपाईंहरूलाई लाग्यो होला; हामीले शारछोप भन्यौं, ङालोङ भन्यौं, खेङ भन्यौं, ल्होछाम्पा पनि भन्यौं, तर यी समूहमा डुग्–पा चाहिँ खोई त? को हुन् त डुग्–पा?
प्रथम भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले भुटानलाई ‘डुग् युल’ अर्थात् ‘ड्रयागन देश’ भनेजस्तै भुटानका जनतालाई ‘डुग्–पा’ भन्ने नाम दिएका थिए। त्यसैले चाहे ती ङालोङ हुन् वा शारछोप, खेङ हुन् वा दक्षिण भुटानका नेपालीभाषी ल्होछाम्पा; ती सबै एकै शब्दमा भन्दा ‘डुग्–पा’ हुन्।
अर्थात्– ड्रयागन देशका जनता।
दक्षिण भुटानका नेपालीहरू भने आफूलाई ‘डुग्–पा’ भन्न रूचाउँदैनन्। उनीहरू यसलाई आफूमाथिको सांस्कृतिक अतिक्रमण ठान्छन्। भुटानी शरणार्थीहरूसँग कुरा गर्दा उनीहरूले ‘डुग्–पा’ भनेको भुटानका बौद्धमार्गी जनता हुन् भनेर बुझ्नुपर्छ। उनीहरू आफूलाई चिनाउनुपर्दा ‘भुटानी नेपाली’ नै भन्छन्। कतिले त ‘नेपाली’ मात्र पनि भन्छन्।
यसरी मूलतः धर्म, संस्कृति, भाषा र वेशभूषाले भुटानी नेपालीहरूलाई सदियौंदेखि राज्यभित्रै अलग्याएको थियो। राज्यले उनीहरूलाई दक्षिण भुटानको घना जंगल–पाखा फाँडेर आबाद गर्न लगायो, कुस्त राजस्व उठायो र दक्षिण सीमान्त भूमिको सीमा रक्षा गर्ने जिम्मेवारी पनि दियो, तर राज्यका अरू जनतासरह ठानेन। त्यही सरहको हकअधिकार दिएन। बसोबासका हिसाबले पनि उत्तर र दक्षिणलाई घना जंगलले ढाकिएको पहाडी भूभागले छुट्टयाएको थियो, जसले यी दुई भूगोलबीच ‘नो म्यान्स ल्यान्ड’ को काम गर्थ्यो। यो ‘नो म्यान्स ल्यान्ड’ नाघेर न डुग्–पाहरू तल ओर्ले, न भुटानी नेपालीहरू माथि उक्ले।
यहाँसम्म कि, भुटानी राजा र उनका डुग्–पा प्रशासकहरू पनि विरलै मात्र दक्षिण भुटानका गाउँहरूमा आउँथे। राजा र दक्षिणका जनताबीच तीन तहका इकाईहरू थिए, जसले जनतामाथि प्रत्यक्ष–अप्रत्यक्ष शासन गर्थे।
राजाले दक्षिण भेगको बन्दोबस्त मिलाउन र कर असुल गर्न भारतको कालिम्पोङ बस्ने दोर्जी परिवारलाई जिम्मेवारी सुम्पेको थियो। दोर्जी परिवारले आफू मातहत गर्जमान गुरूङ, झुलेन्द्रबहादुर प्रधान उर्फ सिप्चु काजी, नन्दलाल क्षत्री, लालसिंह गुरूङ लगायत कम्तिमा चार जना ठेकेदार वा जमिनदार नियुक्त गरेको हुन्थ्यो र यिनै ठेकेदारबाट भुटानी नेपालीहरूको बन्दोबस्तीदेखि कर असुलीसम्मको काम फत्ते गरिन्थ्यो। ठेकेदारमुनि गाउँ–गाउँमा मण्डलहरू नियुक्त गरिएका हुन्थे, जसले भुटानी नेपालीहरूसँग कर उठाउने, उनीहरूलाई सरकारी श्रममा लगाउने लगायतका काम गर्थे। कतिपय अवस्थामा स्थानीय स्तरको न्याय–निसाफदेखि नेपालीहरूलाई कहाँ बसोबास गराउनेसम्मको निर्णय मण्डलहरूबाटै हुन्थ्यो। यी तीन तहका इकाईबारे हामीले अघिल्लो अध्यायमा विस्तृत चर्चा गरिसकेका छौं।
उत्तरी भुटानको अवस्था भने यस्तो थिएन। त्यहाँका डुग्–पा समुदायमाथि राजाको प्रत्यक्ष नियन्त्रण र प्रत्यक्ष शासन थियो।
भन्नुको मतलब, भुटान भौगोलिक रूपले त सिंगै राजाको थियो, तर दक्षिण भुटानका नेपालीहरू राजाका थिएनन्। उनीहरूलाई राजनीतिक रूपमा राजाले आफ्नो ठानेकै थिएनन्। यही भेदभावले दक्षिण भुटानमा पहिलो प्रजातान्त्रिक लडाइँको बीउ रोप्यो।
पहिलो प्रजातान्त्रिक लडाइँले भुटानी नेपालीहरूलाई एउटा ठूलो उपलब्धि दियो — जिग्मे दोर्जी वाङचुक समस्त भुटानमा प्रजातान्त्रिक सुधारको प्रक्रिया थाल्न र भुटानी नेपालीहरूलाई राजनीतिक अधिकार दिन बाध्य भए।
र, यहीँबाट सुरू हुन्छ भुटानी नेपालीहरूको ऐक्यबद्धताको कथा।
राजाजिग्मे दोर्जी वाङचुकलाई ‘आधुनिक भुटानका निर्माता’ मानिन्छ। उनकै पालामा विभिन्न राजनीतिक तथा प्रशासनिक सुधार कार्यक्रम लागू गरिएको हुँदा उनलाई ‘सुधारवादी राजा’ का रूपमा पनि लिइन्छ।
उनले जमिनको हदबन्दी लागू गरे। प्रहरी बल गठन गरे। पञ्चवर्षीय विकास योजना उनकै पालामा सुरू भयो। दासप्रथाको अन्त्य उनकै पालामा भयो। उनले भुटानको जनप्रतिनिधिमूलक संसद राज्यसभा तथा राजकीय सल्लाहकार परिषद स्थापना गरे। उनले भुटानको एक मात्र अखबार ‘कुइन्सेल’ सुरू गरे। उनकै शासनकालमा भुटान राष्ट्रसंघको सदस्य पनि बन्यो।
भौतिक निर्माणको कुरा गर्ने हो भने राजधानी थिम्पुलाई भारतीय सीमासँग जोड्ने १७० किलोमिटर लामो राजमार्ग उनकै शासनको देन हो। यो सडक निर्माण हुँदा दक्षिण भुटानका प्रत्येक घरबाट एक जनालाई काममा जान अनिवार्य गरिएको थियो। त्यस्तै, उनी राजा भएपछि भुटानभरि स्कुल निर्माणलाई तीव्रता दिएका थिए। उनको शासनकालमा ६० वटाभन्दा बढी स्कुल खुले, जहाँ जोङ्खा भाषा पढ्न त अनिवार्य थियो नै, दक्षिण भुटानका हकमा नेपाली भाषा पनि पढाइन्थ्यो। स्कुलमा नेपाली भाषा पढाउने सिलसिला सन् नब्बे दशकको प्रारम्भसम्मै जारी रह्यो।
यसअतिरिक्त जिग्मे दोर्जीको मुख्य योगदान भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउनु हो, जसको सुरूआत सन् १९५४ बाट भएको थियो।
जिग्मे दोर्जीले सन् १९५३ मा जिग्मे पाल्देन दोर्जीलाई दक्षिण भुटानको जिम्मेवारी सम्हाल्ने अख्तियारीसहित भुटानका पहिलो प्रधानमन्त्री नियुक्त गरेका थिए। त्यसैको अर्को वर्ष उनले प्रधानमन्त्रीसहित दक्षिण भुटानको सर्भाङ जिल्ला भ्रमण गरे।
त्यो भ्रमण भुटान स्टेट कंग्रेस पार्टीले आयोजना गरेको सत्याग्रह आन्दोलनलगत्तै भएको थियो। त्यही सत्याग्रह आन्दोलन, जसमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासहित सात सालमा नेपाली क्रान्ति लडेको मुक्तिसेनाका लडाकुहरूले भाग लिएका थिए, जसका बारेमा हामीले अघिल्लो अंकमा चर्चा गर्यौं।
त्यति बेला पक्राउ परेका आन्दोलनकारीहरूलाई सर्भाङ जेलमा बन्दी बनाइएको थियो। जिग्मे दोर्जीले जेलमै गएर ती बन्दीहरूलाई भेटेका थिए र त्यसपछि दक्षिण भुटानका ठेकेदार र मण्डलहरूसहित नेपाली मूलका बासिन्दाहरूको ठूलो भेला आयोजना गरेर उनीहरूलाई प्रत्यक्ष सम्बोधन गरेका थिए। उनीभन्दा अगाडिका वाङचुक राजाहरू यसरी नेपालीभाषी बसोबास गर्ने दक्षिण भुटानमा विरलै जान्थे।
त्यसै क्रममा जिग्मे दोर्जीले पक्राउ परेका आन्दोलनकारीलाई सबैका अगाडि सार्वजनिक गरे, जसमा नेपालबाट गएका मुक्तिसेनाका सदस्य पासाङ शेर्पा पनि थिए।
उनले दक्षिण भुटानका जनतालाई सम्बोधन गर्दै भने, ‘तिमीहरूलाई मसँग समस्या छ रे! के समस्या छ? यी मान्छेहरू मैले तिमीहरूमाथि अत्याचार गरेँ भन्दै नेपालबाट आन्दोलन गर्न आएका छन्। मैले तिमीहरूलाई के अत्याचार गरेँ?’
भेलामा उपस्थित कोही चुइँक्क बोलेनन्।
उनले आन्दोलनकारीको समूहबाट नेपाली मूलका भुटानीहरूलाई पहिचान गरेर अलग्याउन आदेश दिए। जो जो भुटानी नेपाली थिए, उनीहरूलाई आजीवन कारावास सजाय भयो। पासाङ शेर्पासहित नेपालबाट गएका आन्दोलनकारीलाई भने सीमासम्म लगेर मुक्त गरियो।
त्यही भेलामा जिग्मे दोर्जीले भुटानी नेपालीहरूलाई भने, ‘म तिमीहरूमाथि कुनै भेदभाव गर्दिनँ। अबउप्रान्त तिमीहरूको सबै जिम्मेवारी म लिन्छु। म तिमीहरूलाई हेर्छु र तिमीहरूलाई नागरिकता पनि दिन्छु। म तिमीहरूको राजा हुँ, तिमीहरू मेरा प्रजा हौ। तिमीहरू मेरो भूमिमा मात्र होइन, मेरो आँखामा पनि बस्ने छौ। जब जब तिमीहरूलाई मेरो खाँचो पर्छ, मलाई आफ्नो समीप पाउने छौ।’
उनले यो पनि भने, ‘डुग्–पा र ल्होछाम्पा भनेका मेरा लागि दुई आँखा समान हुन्। म यी दुई समुदायबीच कुनै विभेद हुन दिन्नँ। मैले एउटा आँखाको बदलामा अर्को आँखालाई भेदभाव गरेँ भने म कसरी राम्ररी देख्न सक्छु?’
राजाको यो भ्रमणले दक्षिण भुटानमा उत्साहको लहर दौडियो। भुटान स्टेट कंग्रेस पार्टीको प्रभाव फितलो भयो। उनीहरूले साम्ची लगायत केही जिल्लामा विरोध कार्यक्रम आयोजना गर्न खोजे, तर सफल हुन सकेनन्। भुटानी नेपालीहरूले त्यसमा भाग लिन कुनै रूचि वा उत्साह देखाएनन्।
जिग्मे दोर्जी पछिपछि पनि बारम्बार दक्षिण भुटानको भ्रमणमा गइरहन्थे र हरेकचोटि त्यहाँका नेपाली समुदायलाई राष्ट्रिय मूलधारमा आबद्ध गराउने आश्वासन दिन्थे।
उनले भुटानी नेपालीहरूलाई दिएको आश्वासन पूरा गरेर पनि देखाए।
‘सन् १९५० दशकको मध्यबाट समस्त भुटान र खासगरी दक्षिण भुटानको सरकारी नीतिमा उल्लेखनीय परिवर्तन आयो,’ भुटानी शरणार्थीहरूमाथि किताब लेखेका डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनका अनुसार, ‘राजा जिग्मे दोर्जी वाङचुकको शासनकालमा भुटानको भौतिक विकास मात्र सुरू भएन, उनले भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा जोड्ने काम पनि गरे। उनले नेपालीहरूको संस्कृतिको सम्मान गर्नुका साथै उनीहरूलाई सरकारमा सहभागी गराए।’
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हट यसमा सहमत छन्।
‘जिग्मे दोर्जीले लागू गरेका कतिपय सुधार कार्यक्रम नेपालीभाषीहरू बसोबास गर्ने दक्षिण भुटानको अर्थतन्त्र र प्रशासनलाई बाँकी मुलुकसँग जोड्ने उद्देश्यले प्रेरित थिए,’ माइकल लेख्छन्, ‘उनी आफ्ना सुधार कार्यक्रमका माध्यमबाट दक्षिण भेगमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन चाहन्थे।’
जिग्मे दोर्जीले भुटानमा प्रजातान्त्रिक प्रक्रिया सुरू गर्नु र भुटानी नेपालीहरूलाई पहिलेभन्दा बढी राजनीतिक अधिकार दिनुमा केही आन्तरिक र केही भूराजनीतिक कारण छन्।
आन्तरिक कारणमा सबभन्दा पहिलो त भुटान स्टेट कंग्रेस पार्टीले सुरू गरेको आन्दोलन नै भइहाल्यो। उक्त आन्दोलनले दक्षिण भुटानीहरूलाई खासै ठूलो संख्यामा जोड्न नसके पनि र अन्तिममा आन्दोलन नै तुहिएर गए पनि त्यसले भुटानी राजसंस्थालाई झस्काउन ठूलो भूमिका खेल्यो। दक्षिण भुटानको माग सुनुवाइ भएन भने भुसको आगोझैं भित्रभित्रै सल्केको असन्तोष कुनै दिन विद्रोहमा परिणत हुन सक्छ भन्ने दरबारले मनन् गरेको हुनसक्छ।
योभन्दा ठूलो कुरा, त्यो समय दक्षिण एसियाभरि नै प्रजातन्त्रको लहर चलेको थियो। भारत अंग्रेज शासनबाट मुक्त भएको थियो भने नेपालमा पनि राणा शासन अन्त्य भएको थियो। छिमेकी देशहरूमा चलेको प्रजातन्त्रको हावाले कुनै दिन भुटानमा हुन्डरी ल्याउन सक्छ भन्ने बुझेर प्रजातान्त्रिक सुधारको प्रक्रिया थाल्न भुटानी राजसंस्था बाध्य भएको हुनसक्छ। त्यसमाथि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भुटानी नेपालीहरूमाथि अन्यायपूर्ण व्यवहार नगर्न र राजनीतिक सुधार गर्न सम्झाउनुले पनि राजा जिग्मे दोर्जी वाङचुकलाई दबाब परेको हुनसक्छ। यसबारे हामीले अघिल्लो अंकमा चर्चा गरिसकेका छौं।
‘भुटानको सुधारलाई जिग्मे दोर्जीको व्यक्तित्व र भर्खरै स्वतन्त्र भएको भारतसँगको उसको सम्बन्धका आधारमा हेर्नुपर्छ,’ माइकल हटले आफ्नो किताबमा लेखेका छन्, ‘चीनमा कम्युनिस्ट शासनको उदयपछि हिमाली क्षेत्रको राजनीतिक प्रभाव र सुरक्षालाई लिएर भारत एकदमै सतर्क थियो। यही परिवर्तित भूराजनीतिक अवस्थाबारे विमर्श गर्न नेहरूले सन् १९५८ मा भुटान भ्रमण गरेका थिए। भारतको यति ठूलो चासोबीच भुटान सरकार अब पहिलेजस्तो अलगथलग रहेर शासन व्यवस्था चलाउने अवस्थामा थिएन।’
माइकल अगाडि लेख्छन्, ‘अंग्रेज साम्राज्यसँगको लामो लडाइँ जितेर सत्तामा आएको भारतीय कंग्रेस पार्टीको प्रजातान्त्रिक र समाजवादी छविले पनि यसमा ठूलो काम गरेको छ। नेहरूले आफ्नो र पार्टीको छविका कारण भुटानमा सामाजिक र राजनीतिक सुधार प्रवर्द्धन गर्न भूमिका खेले।’
नेहरूले भुटान स्टेट कंग्रेस पार्टीका नेताहरू र राजा जिग्मे दोर्जी वाङचुकलाई सँगै राखेर वार्ता गराउनुले यो पुष्टि गर्छ।
यसबाहेक अर्को एउटा आन्तरिक कारणको पनि माइकल हटले किताबमा चर्चा गरेका छन्।
उनका अनुसार दक्षिणी र पूर्वी भुटानमा जनसंख्याको चाप बढ्दो थियो भने उत्तरी छिमेकी तिब्बतसँगको व्यापारमा केही समस्या उत्पन्न भएका थिए। त्यस्तो अवस्थामा भुटानलाई रोजगार र उत्पादन बढाउने नयाँ स्रोत विकास गर्न ठूलो दबाब थियो।
यहाँनिर भुटानले नेपालीभाषीहरूको बाहुल्य रहेको दक्षिण भेगको आर्थिक सम्भाव्यता उपयोग गर्दै मुलुकलाई योजनागत विकासमा लैजाने निर्णय लियो। दक्षिण भुटानको आर्थिक सम्भाव्यता उपयोग गर्न भुटानी नेपालीहरूको असन्तोष साम्य पार्न जरूरी थियो।
अब हामी भुटानको राजनीतिक सुधार र भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा आबद्ध गराउने प्रक्रियाको कुरा गरौं।
राजा जिग्मे दोर्जी वाङचुकले आफ्नो शासनकालमा भुटानी नेपालीहरूलाई दुईवटा महत्वपूर्ण राजनीतिक अधिकार दिएका थिए — पहिलो, राज्यसभा स्थापना गरेर त्यसमा नेपालीहरूको सहभागिता सुनिश्चित गराए र दोस्रो, उनीहरूलाई नागरिकताको हक प्रदान गरे।
सबभन्दा पहिला कुरा गरौं, राज्यसभाको।
भुटानले सन् १९५३ मा जनप्रतिनिधिमूलक संसद राज्यसभा गठन गरेको थियो, जसलाई स्थानीय जोङ्खा भाषामा ‘शोग्दु’ भनिन्छ। राज्यसभा स्थापनालाई माइकल हटले ‘राजतन्त्र स्थापनायताकै भुटानको सबभन्दा ठूलो आधारभूत सुधार’ भनेका छन्।
राज्यसभामा प्रत्येक जिल्लाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूका अतिरिक्त राजाले नियुक्त गर्ने मन्त्री, सचिव, प्रमुख जिल्ला अधिकारी (जोङ्दा) र विभिन्न बौद्ध गुम्बाका लामा सदस्य रहने व्यवस्था थियो। राज्यसभाको आकार स्थायी थिएन। सन् १९५३ को संविधानले नै प्रत्येक पाँच वर्षमा राज्यसभा सदस्य संख्या पुनरावलोकन गर्ने भनेको थियो। त्यसयता राज्यसभाको आकार हेरफेर हुँदै आएको छ। सुरूमा यो १३० सदस्यीय थियो, जसमध्ये ११० जना निर्वाचित जनप्रतिनिधि रहन्थे। सन् १९६० दशकमा राज्यसभाको आकार ठूलो पारेर १५२ सदस्यीय बनाइयो।
भुटानमा सर्वप्रथम राज्यसभा गठन गरिँदा सभा भवनको अभावले पारोको खुला मैदानमा उद्घाटन गरिएको भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सम्झिन्छन्। उनका अनुसार उक्त राज्यसभामा दक्षिण भुटानबाट चुनिएर गएका सांसदहरू रणबहादुर मगर (जन्तरे), पण्डित भोलानाथ अधिकारी, पण्डित दण्डपाणि खनाल, बुद्धमणि बराल र मण्डलहरूमा मधुलाल अधिकारी, लक्ष्मण गुरूङ, गंगाराम खनाल, जयनारायण तिम्सिना र नन्दु गुरूङ थिए।
लेखकद्वय डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रन भने राज्यसभा गठन गरिँदा सुरूमा दक्षिण भुटानका नेपालीभाषीहरूलाई सहभागी नगराइएको बताउँछन्। भुटानका अन्य जातीय समुदायले यो राजनीतिक अधिकार प्राप्त गर्दा नेपालीहरू भने वञ्चित थिए। सन् १९५४ को सत्याग्रह आन्दोलनबाट उत्पन्न दबाबपछि भुटानी नेपालीहरूलाई देशको राजनीतिक मूलधारमा ल्याउन उनीहरूकै मागअनुसार राज्यसभामा प्रतिनिधित्व गराइएको ढकाल र स्ट्रनले आफ्नो किताब ‘भुटानः अ मुभमेन्ट इन एक्जाइल’ मा लेखेका छन्। उनीहरूका अनुसार यसको सुरूआत सन् १९५८ बाट भएको थियो।
प्रतिनिधित्व जहिले गराइएको भए पनि राज्यसभामा भुटानी नेपालीहरूको सहभागिता जनसंख्या अनुपातमा एकदमै कम थियो। उनीहरूले सुरूदेखि यसमा असन्तोष जाहेर गरेका थिए।
माइकल हटले आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा उल्लेख गरेअनुसार उत्तर भुटानको एउटै जिल्लाबाट पाँच जनासम्म सदस्य राज्यसभामा निर्वाचित भएर आउँथे, जबकि दक्षिण भुटानको एउटा जिल्लाबाट एक जना मात्र निर्वाचित हुन्थे। कुल १५२ सदस्यीय राज्यसभामा १३६ जना अन्य क्षेत्रबाट प्रतिनिधित्व हुँदा दक्षिण भुटानका प्रतिनिधि जम्मा १६ जना रहेको उदाहरण माइकलले दिएका छन्।
तुलनात्मक रूपले हेर्दा दक्षिण भुटानका नेपालीभाषी र पूर्वको शारछोप समुदायलाई राज्यसभामा कम प्रतिनिधित्व गराइएको देखिन्छ। पश्चिमका ङालोङ र मध्य बुम्थाङ उपत्यकाका खेङहरूको प्रतिनिधित्व भने जनसंख्याको अनुपातमा निकै बढी थियो। यी दुई समुदायलाई भुटानमा राजनीतिक रूपले शक्तिशाली मानिन्छ।
सन् १९७३ को राज्यसभा सदस्यहरूलाई भूगोल र जनसंख्याका आधारमा दाँज्ने हो भने कुल जनसंख्यामा २८ प्रतिशत हिस्सा ओगट्ने पश्चिम र मध्य क्षेत्रले राज्यसभामा ३७ प्रतिशत प्रतिनिधित्व गरेका थिए। जनसंख्यामा ५७ प्रतिशत हिस्सा ओगट्ने पूर्वी क्षेत्रको प्रतिनिधित्व भने ४८ प्रतिशत थियो। यसको दाँजोमा १५ प्रतिशत जनसंख्या रहेको दक्षिण भुटानले राज्यसभामा पनि १५ प्रतिशत नै ओगटेको माइकलको किताबमा छ।
यहाँ जनसंख्याको अनुपात सन् १९६९ को जनगणना तथ्यांकबाट निकालिएको हो। यसमा दक्षिण भुटानको जनसंख्या १५ प्रतिशत मात्र देखाइनु नै शंकास्पद छ। किनभने, बाइस वर्षअघि सन् १९४७ मा कालिम्पोङस्थित भुटानी एजेन्टले भारतस्थित अंग्रेज सरकारका प्रतिनिधि (भाइसराय) लाई बुझाएको एउटा ज्ञापनपत्रमा दक्षिण भुटानका नेपालीभाषीहरूको संख्या त्यति बेलाको कुल जनसंख्याको २५ प्रतिशत रहेको उल्लेख थियो। ज्ञापनपत्रमा भुटानको जनसंख्या पाँच लाख भनिएको छ। त्यस आधारमा नेपाली मूलका भुटानीहरूको संख्या त्यति बेलै १ लाख २५ हजार हुन आउँछ।
यसरी २२ वर्ष अवधिमा भुटानी नेपालीहरूको जनसंख्या २५ बाट १५ प्रतिशतमा घटेको पुष्टि गर्ने कुनै विश्वसनीय आधार छैन। त्यसका लागि त नेपालीहरू ठूलो संख्यामा भुटानबाट बसाइँ सरेको हुनुपर्यो, जुन तत्कालीन घटनाक्रमबाट देखिँदैन। बरू त्यसबीच प्राकृतिक रूपले पनि जनसंख्या बढेको चाहिँ पक्कै हुनुपर्छ।
हामीले यसबारे टेकनाथ रिजालसँग कुरा गर्दा उनले ‘जनगणनाको अवास्तविक तथ्यांकमा टेकेर राज्यसभामा नेपालीहरूको प्रतिनिधित्व संकुचित पारिएको’ बताएका थिए।
‘दक्षिण भुटानका आठ ब्लकबाट एक जना मात्र प्रतिनिधि निर्वाचित हुन्थे,’ उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘पूर्व र पश्चिमका हकमा भने एउटै ब्लकबाट कम्तिमा दुई जना प्रतिनिधि छान्ने व्यवस्था थियो। यसले त्यहाँको एउटा सानो बजार क्षेत्र, गोठखर्क लगायतबाट समेत प्रतिनिधि छानिन्थ्यो।’
जनसंख्यालाई बेवास्ता गरी भौगोलिक विभाजन गरिएकाले राज्यसभाको प्रतिनिधित्वमा पक्षपात भएको रिजालको भनाइ छ।
डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनले पनि राज्यसभाको प्रतिनिधित्व जनसंख्यासँग समानुपातिक नरहेको उल्लेख गरेका छन्। उनीहरूले आफ्नो किताबमा लेखेअनुसार दक्षिण भुटानका नेपालीभाषीहरूले कुल जनसंख्याको कम्तिमा एकतिहाइ हिस्सा ओगट्थे, जबकि राज्यसभामा उनीहरूको उपस्थिति १५ प्रतिशत मात्र थियो।
‘निर्वाचित भएर आउने जनप्रतिनिधिहरूको संख्या मात्र हेर्ने हो भने ङालोङबाहेक अन्य जातीय समूहको बहुमत देखिन्छ, तर राजाले नियुक्त गर्ने पदाधिकारी र बौद्ध गुम्बाका लामाहरूको संख्यासमेत जोड्दा राज्यसभामा सधैं ङालोङहरू नै बहुमतमा रहन्थे,’ ढकाल र स्ट्रन लेख्छन्, ‘करिब १५० सदस्यीय राज्यसभामा ८० सिट ङालोङहरूले नै ओगट्थे। बाँकी सदस्य अरू जातीय समूहका हुन्थे।’
यसरी जातीय प्रतिनिधित्वका आधारमा भेदभावपूर्ण रहेको राज्यसभामा राजा जिग्मे दोर्जीले केही राम्रा प्रचलन पनि सुरू गरेका थिए।
दक्षिण भुटानमा हुने राज्यसभा सदस्यको निर्वाचन होस् वा ब्लक मण्डलको निर्वाचन, त्यसमा भुटानी नेपाली समुदायबाहेकका अन्य व्यक्ति उम्मेदवार हुनै पाउँदैनथे। दक्षिणका प्रायः ठाउँमा प्रशासकसमेत नेपाली समुदायबाटै नियुक्त गर्ने चलन थियो। झट्ट हेर्दा यो परिपाटी साम्प्रदायिक र क्षेत्रीयजस्तो देखिए पनि यसले राज्य व्यवस्थामा भुटानी नेपालीहरूको प्रतिनिधित्व सुनिश्चित गरेको रिजाल बताउँछन्।
राजा जिग्मे दोर्जीले ङालोङ, शारछोप, खेङ र ल्होछाम्पा समुदायका जनप्रतिनिधिलाई आ–आफ्नो जातीय पोसाक लगाएर राज्यसभा बैठकमा भाग लिन अनिवार्य गरेका थिए। सबै जातजातिका प्रतिनिधिलाई आ–आफ्नो मातृभाषामा बोल्ने छुट थियो। यही नियमका कारण लामीडाँडा, चिराङ, चाङ्खा, दागापेला, कालीखोला, सर्भाङ, गेलेङफुंग, फुन्सोलिङ, साम्ची, दोरोखा, च्याङबारी, दहिफाम, भाङटार र देछिलिङ गरी दक्षिण भुटानका चौधवटा सब–डिभिजनबाट राज्यसभामा प्रतिनिधित्व गर्ने चौध जना नेपाली प्रतिनिधि आफ्नो जातीय पोसाक लगाएर बैठकमा भाग लिने गरेको रिजाल बताउँछन्। यी नेपाली मूलका सदस्य राज्यसभामा बोल्दा नेपाली भाषा नै प्रयोग गर्थे। यति मात्र होइन, कुनै पनि अड्डा–अदालतमा जाँदा दक्षिण भुटानका मानिस आफ्नो परम्परागत पहिरन लगाउन र मातृभाषा नेपालीमा बहस र लेखापढी गर्न स्वतन्त्र थिए।
भुटानी नेपालीहरूको राजनीतिक प्रतिनिधित्वकै कुरा गर्दा सन् १९५८ मा स्थापना गरिएको राजकीय सल्लाहकार परिषदको सन्दर्भ पनि उल्लेखनीय छ।
राष्ट्रिय महत्वका विषयमा राजाको ध्यानाकर्षण गराउने उद्देश्यले स्थापना गरिएको राजकीय सल्लाहकार परिषदलाई पछि आलंकारिक भूमिकामा सीमित गरिएको थियो। यसमा शाही प्रतिनिधि, बौद्ध गुम्बाका प्रतिनिधि र राज्यसभाका सदस्यसमेत गरी दस जना रहने व्यवस्था थियो। राज्यसभाबाट प्रतिनिधित्व गर्ने छ जना सदस्यमध्ये दुई सिट भुटानी नेपालीहरूका लागि सुरक्षित गरिएको थियो। बाँकी चार सिटमा दुई सिट ङालोङका लागि र एक–एक सिट शारछोप र खेङ समुदायका लागि छुट्टयाइएको थियो।
सन् असी दशकको अन्त्यमा नेपालीहरूलाई लखेट्नुभन्दा अगाडिसम्म टेकनाथ रिजाल र विद्यापति भण्डारीले राजकीय सल्लाहकार परिषदमा दक्षिण भुटानको प्रतिनिधित्व गरेका थिए। सन् नब्बे दशकको अन्त्यसम्म आइपुग्दा यो चलन पूरै फेरियो। सन् १९९८ मा गठन गरिएको आठ सदस्यीय राजकीय सल्लाहकार परिषदमा भुटानी नेपाली सदस्य एक जना पनि नरहेको माइकल हटले उल्लेख गरेका छन्।
राज्यसभा र राजकीय सल्लाहकार परिषदका लागि निश्चित समयमा निर्वाचन हुने व्यवस्था थियो। यसबाहेक परिषदका अध्यक्षको चुनाव प्रत्येक छ–छ महिनामा गर्ने भनिएको थियो, जुन व्यवहारमा लागू भएन। राजाले नै कुनै एक सरकारी पदाधिकारीलाई परिषदको अध्यक्षमा मनोनयन गर्ने चलन सधैं रहिरह्यो।
भुटानी नेपालीहरूको राजनीतिक प्रतिनिधित्वको प्रसंगपछि अब हामी जिग्मे दोर्जी वाङचुकको शासनकालमा भुटानी नेपालीहरूले पाएको दोस्रो राजनीतिक अधिकारको कुरा गरौं।
त्यो हो, नागरिकताको हक।
नेपालीहरूको नागरिकताको हक सम्बोधन गर्न भुटानले सन् १९५८ अर्थात् २०१५ सालमा नागरिकता कानुन लागू गरेको थियो। यसलाई प्रचलित नागरिकता कानुनको संशोधन भनिए पनि नागरिकता र राष्ट्रियतासम्बन्धी भुटानको पहिलो कानुन नै मानिन्छ।
उक्त कानुनले भुटानको नागरिक बन्न निम्न व्यवस्था गरेको थियो —
१) कुनै पनि व्यक्तिलाई जन्मका आधारमा मात्र भुटानको नागरिक मानिनेछ। यसका लागि उसको बुवा भुटानी नागरिक हुनुपर्नेछ र भुटान अधिराज्यमै बसोबास गरिरहेको हुनुपर्नेछ। कसैको जन्म भुटानको सीमाभन्दा बाहिर भएको रहेछ भने पनि यदि उसको बुवा भुटानी नागरिक हो भने उसलाई भुटानी नागरिक नै मानिनेछ।
२) कुनै विदेशीले भुटानी नागरिकता प्राप्त गर्नुछ भने उसले राजासमक्ष याचिका दायर गर्नुपर्नेछ र सरकारी अधिकारीहरूसमक्ष आफ्नो निष्ठाको शपथ खानुपर्नेछ। यसरी नागरिकता प्राप्त गर्न याचिका दायर गर्ने व्यक्ति बालिग हुनुका साथै ऊ भुटानमा बसोबास गरिरहेको कम्तिमा १० वर्ष पुगेको हुनुपर्नेछ। सँगसँगै, उसले भुटानको सीमाभित्र कृषियोग्य जग्गा किनेको हुनुपर्नेछ वा भुटानको सरकारी सेवामा पाँच वर्ष सन्तोषजनक काम गरेको हुनुपर्नेछ।
३) भुटानी नागरिकसँग विवाह गर्ने विदेशी पत्नीका हकमा उनले स्वतः नागरिकता प्राप्त गर्ने छिन्। यसका लागि उनी बालिग हुनुका साथै आफ्नो निष्ठाको शपथ खानुपर्नेछ।
भुटानको यो कानुनले द्वैध नागरिकता स्वीकार गरेको छैन। त्यसैले कुनै भुटानी नागरिकले अन्य मुलुकको नागरिकता लिएको खण्डमा उसको नागरिकता रद्द हुनेछ। कसैले आफ्नो कृषियोग्य जमिन बेच्यो वा स्थायी रूपले बसाइ सर्यो भने पनि उसको नागरिकता रद्द गर्ने प्रावधान कानुनमा छ। एकचोटि नागरिकता रद्द गरिएपछि भुटानी राजाको अनुमतिमा मात्र उसलाई पुनः नागरिकता प्रदान गर्ने व्यवस्था कानुनले गरेको छ।
यो कानुन लागू हुनुअघिसम्म कुनै पनि नेपालीभाषी भुटानको वैधानिक नागरिक थिएन। उसको पुर्खा चाहे राजा राम शाह र पहिलो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालकै पालामा भुटान गएको होस् वा पछि कुनै कालखण्डमा भुटान गएर पुर्खौं पुर्खादेखि त्यहीँ बसिरहेको किन नहोस्, उसलाई भुटानले आफ्नो वैधानिक नागरिक मानेको थिएन। उसको नागरिकताको हक सुनिश्चित गरेको थिएन। यस्तो अवस्थामा सन् १९५८ को कानुनले निश्चित रूपमा नेपालीहरूलाई पहिलोपटक भुटानको नागरिक बन्ने अवसर प्रदान गर्यो। यो भुटानी नेपालीहरूले प्राप्त गरेको महत्वपूर्ण राजनीतिक अधिकार हो।
यति हुँदाहुँदै कानुनको प्रावधान र भुटानमा बसोबास गरिरहेका नेपालीभाषीहरूको अवस्था विश्लेषण गर्ने हो भने यसले पनि नेपालीहरूमाथि विभेद गरेकै छ।
माथि उल्लिखित पहिलो बुँदाअनुसार यो कानुनले त्यो व्यक्तिलाई मात्र भुटानको नागरिक मानेको छ, जसको बुवा पहिले नै भुटानी नागरिक थियो। भन्नुको मतलब, जसको बुवा यो कानुन लागू हुने बेलासम्म भुटानी नागरिक थिएन, उसको सन्तान जन्मका आधारमा भुटानी नागरिकता पाउन योग्य भएन। यस आधारमा दक्षिण भुटानमा बस्ने कुनै पनि नेपाली जन्मका आधारमा भुटानी नागरिक बन्न योग्य ठहरिने अवस्था देखिँदैन। किनभने, नेपालीहरूको पुस्ता जतिसुकै वर्षदेखि भुटानमा बसिरहेको भए पनि उसलाई त्यसअघिसम्म नागरिकताको हक दिइएकै थिएन। जसलाई नागरिकताको हक दिइएकै छैन, ऊ भुटानी नागरिक हुने कुरै भएन। र, जो नेपाली आफैं भुटानी नागरिक छैन, उसको सन्तान जन्मका आधारमा भुटानी नागरिक कसरी होला?
यसको अर्थ के हुन्छ भने, भुटानी नेपालीले आफू जतिसुकै पुस्तादेखि भुटानमा बसोबास गरिरहेको भए पनि विदेशीका रूपमा राजासमक्ष याचिका दायर गरेर निष्ठाको शपथ खाएपछि मात्र ऊ भुटानी नागरिक बन्न योग्य हुने भयो। यसका लागि ऊ बालिग त हुनुपर्यो नै, सँगसँगै भुटान बसेको कम्तिमा १० वर्ष पुगेको हुनुपर्यो।
यति मात्र कहाँ हो र! उसले भुटानको सीमाभित्र आफ्नो स्वामित्वमा कृषियोग्य जग्गा किनेको हुनुपर्यो वा भुटानको सरकारी सेवामा पाँच वर्ष सन्तोषजनक काम गरेको हुनुपर्यो।
नेपालीहरूलाई नागरिक स्वीकार गर्न यस्तो विभेदपूर्ण प्रावधान राखिएको भए पनि उक्त कानुनले त्यति बेला धेरै नेपालीलाई भुटानी नागरिक हुने हक सुनिश्चित गरेकै थियो।
यो कानुनले सन् १९५८ भन्दा अगाडि नै भुटान आएर बसोबास गरिरहेका नेपालीलाई मात्र भुटानी नागरिक बन्न योग्य मानेको तर्क पनि सुनिन्छ। माइकल हटले आफ्नो किताबमा यो तर्क अस्वीकार गरेका छन्।
‘कानुनले भुटान आएर बसोबास गरिसकेको हुनुपर्ने अन्तिम मिति तोकेको छैन,’ माइकल लेख्छन्, ‘सन् १९५८ अगाडि वा पछाडि भुटान आएकाहरूबीच कानुनले कुनै भेद गर्दैन। ती सबै व्यक्ति जसको स्वामित्वमा भुटानभित्र कृषियोग्य जग्गा छ वा जसले भुटानको सरकारी सेवामा पाँच वर्ष काम गरिसक्यो, उसले आफू भुटान आएर बसोबास गर्न थालेको १० वर्षपछि नागरिक बन्न याचिका दायर गर्न सक्नेछ। यदि १९५८ सम्म भुटानमा बसिरहेका नेपालीलाई एकचोटि मात्र अवसर दिने उद्देश्यले कानुन ल्याइएको थियो भने प्रस्टसँग लेखिएको हुनुपर्थ्यो। तर कानुनमा त्यस्तो कुनै प्रावधान उल्लेख छैन।’
‘यो कानुनले १९५८ डिसेम्बर ३१ पछि भुटान आएकाहरूलाई पनि कानुनमा उल्लिखित सर्तहरू पूरा गरेपछि भुटानी नागरिक बन्न पाउने अधिकार दिएको छ,’ उनी अगाडि लेख्छन्, ‘तर यो अधिकार व्यवहारमा लागू भएन।’
दक्षिण भुटानका धेरै नेपालीले यो कानुन लागू भएपछि पनि भुटानी नागरिकता प्राप्त गरेनन्।
यसका दुइटा कारण हुन सक्छन् —
पहिलो, दक्षिण भुटानमा बस्ने धेरै नेपालीले यस्तो कानुन आएको छ भनेर पत्तै पाएनन्। त्यसैले पुर्खौं पुर्खादेखि भुटानमा बस्दै आएका नेपालीभाषीले समेत कानुनले दिएको नागरिकताको हक प्राप्त गरेनन्। अर्कातिर, उनीहरूलाई सन् १९५८ पछि भुटान आएर बसोबास गरेको भए पनि १० वर्ष पूरा भएपछि नागरिकता निम्ति याचिका दायर गर्न सकिन्छ भन्ने सूचना नै दिइएन।
दोस्रो, दक्षिण भुटानमा ५० वर्षभन्दा बढी समयदेखि गाउँका मण्डलले नै जन्म दर्ता, मृत्यु दर्ता र जग्गा दर्ता गर्दै आएका थिए। कर उठाउनेदेखि सरकारी श्रमको हिसाब राख्ने कामसमेत मण्डलहरूले नै गर्थे। यही क्रमले सन् १९५८ पछि पनि निरन्तरता पाइरह्यो। आफ्नो गाउँभन्दा परको संसार नदेखेका र मण्डलभन्दा ठूला सरकारी अधिकारीसँग कहिले कामै नपरेका धेरै भुटानी नेपालीले त्यति बेला नागरिकताको हक उपयोग गर्ने दरकारै ठानेनन्। यसले पनि उनीहरूलाई नागरिकताको हकबाट वञ्चित राख्यो।
यहाँ रोचक कुरा त के भने, धेरैजसो भुटानी नेपालीले करिब २० वर्षपछि सन् १९७७ मा मात्र नागरिकता कानुनबारे थाहा पाए, जब त्यसमा पहिलो संशोधन गरियो।
नागरिकतापछि कुरा गरौं, भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउन राजा जिग्मे दोर्जी वाङचुकले चालेका अन्य कदमहरूको।
जिग्मे दोर्जीले सन् १९६० दशकको सुरूबाट दक्षिण भुटानका नेपालीभाषीहरूलाई सेनामा पनि सामेल गराउन थालेका थिए। भुटान स्टेट कंग्रेस पार्टीले लामो समयदेखि यसको माग गर्दै आएको थियो।
सन् १९५८ सेप्टेम्बर १७ मा भुटान स्टेट कंग्रेसले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सिक्किमको गान्तोकमा एउटा ज्ञापनपत्र बुझाएको थियो। नेहरू त्यति बेला भुटान भ्रमणमा जाँदै थिए। पार्टी अध्यक्ष डिबी गुरूङले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा प्रधानमन्त्री नेहरूलाई पाँचवटा बुँदामा ध्यानाकर्षण गराइएको थियो, जसमध्ये एउटा बुँदा ‘भुटानी सैनिकमा डुग्–पाबाहेक अन्य समुदायलाई पनि भर्ती लिइयोस्’ भन्ने थियो।
त्यही भ्रमण क्रममा नेहरूले राजा जिग्मे दोर्जी वाङचुकलाई राजनीतिक सुधार गर्न सल्लाह दिएका थिए। देशमा योजनाबद्ध विकासको थालनी गर्नुका साथै भुटान स्टेट कंग्रेस पार्टीसँग सम्बन्ध सुधार्न पनि उनले राजालाई सम्झाएका थिए। त्यही बेला सेनाको विषयमा पनि जिग्मे दोर्जी र नेहरूबीच छलफल भएको हुनसक्ने हामी अनुमान गर्न सक्छौं।
‘नेपालीहरूलाई भुटानी सेनामा सामेल गराउने कुरा सन् १९५० दशकबाटै सुरू भए पनि कार्यान्वयनमा आउन सकेको थिएन,’ ढकाल र स्ट्रन लेख्छन्, ‘सन् १९६२ को भारत–चीन युद्धपछि जब भुटानले चिनियाँ खतरा महसुस गर्यो, तब दक्षिण भुटानीहरूलाई सेनामा भर्ती गर्न थालियो। सन् १९७० र १९८० दशकसम्म आइपुग्दा भुटानको सेना र प्रहरीमा दक्षिण भुटानीहरू उल्लेख्य संख्यामा पुगिसकेका थिए।’
यति मात्र होइन, राजा जिग्मे दोर्जीले भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउन सरकारी सेवामा नियुक्त गर्नुका साथै दक्षिण भुटानको धर्म, संस्कृति र भाषालाई सम्मानजनक स्थान दिएका थिए।
यस क्रममा केही भुटानी नेपालीहरू सरकारी सेवाको उच्च ओहोदामा पुगेका र केहीलाई भुटानको प्रतिनिधित्व गर्दै विदेशसमेत पठाइएका उदाहरण छन्। सन् १९७५ मा स्थापना गरिएको उच्च अदालतमा पनि एक जना न्यायाधीश भुटानी नेपाली हुनैपर्ने व्यवस्था थियो। त्यस्तै, नेपाली भाषालाई दक्षिण भुटानको बोलीचालीको भाषाका रूपमा आधिकारिक रूपले स्वीकार गरिएको थियो। त्यही भएर आज पनि धेरै भुटानीलाई नेपाली भाषा बोल्न आउँछ। स्कुलहरूमा जोङ्खा भाषाका अतिरिक्त नेपाली भाषा पनि पढाइ हुन्थ्यो। कतिपय ठूला उत्सव र समारोहहरूमा नेपाली लोकगीत र नृत्यहरू प्रस्तुत गरिन्थे। नेपालीहरूले दौरा–सुरूवाल र ढाका टोपी लगाउनु आम कुरा थियो। यसलाई भुटान सरकारले राजनीतिक रूपमै स्वीकार गरेको थियो। राजा जिग्मे दोर्जी वाङचुकले नै दक्षिण भुटानका सांसदहरूलाई दौरा–सुरूवाल र ढाका टोपी लगाएर राज्यसभा बैठकमा उपस्थित हुन अनुमति दिएको हामीले माथि उल्लेख गरिसकेका छौं।
उनीहरूलाई हिन्दु धर्मअनुसारका चाडवाड मनाउन र पूजापाठ गर्न धार्मिक स्वतन्त्रता थियो। सर्भाङमा बालाचतुर्दशी पर्वका अवसरमा दुई महिनासम्म ठूलो मेला लाग्थ्यो। महिनौं दिनसम्म रामलीलाजस्ता धार्मिक नाटक देखाइन्थे। भारततिरका कयौं साधुसन्तको मेलामा ठूलो जमघट हुन्थ्यो। कतिपय ठूला चाड र समारोहहरूमा राजा स्वयं उपस्थित हुन्थे।
दक्षिणका नेपाली र उत्तरका डुग्–पाहरूबीच सांस्कृतिक एकता कायम होस् भनी आपसी बिहेबारीसमेत प्रवर्द्धन गरिएको ढकाल र स्ट्रनले आफ्नो किताबमा उल्लेख गरेका छन्।
‘भुटानी नेपालीहरूलाई डुग्–पाहरूको सांस्कृतिक जीवनमा आबद्ध गराउन मुख्यगरी दुइटा उपाय अपनाइएका थिए,’ उनीहरू लेख्छन्, ‘पहिलो, यी दुई समुदायबीच अन्तरजातीय विवाह प्रवर्द्धन गर्न सरकारले पाँच हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको थियो। र दोस्रो, दक्षिण भुटानमा कोही भूमिहीन छ भने उसलाई उत्तर भुटानमा कृषियोग्य जमिन दिएर बसोबास गराइएको थियो।’
दुई समुदायबीच सांस्कृतिक एकता कायम गराउन विद्यार्थी आदानप्रदान कार्यक्रमसमेत ल्याइएको माइकल हटले लेखेका छन्। उनका अनुसार डुग्–पा र ल्होछाम्पा विद्यार्थीहरूलाई सँगै राखेर पढाउने व्यवस्था गरिएको थियो। डुग्–पा समुदायका विद्यार्थीलाई बेलाबेला सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत दक्षिण भुटान ल्याइन्थ्यो र ल्होछाम्पाहरूसँगै छात्रावासमा राखिन्थ्यो भने ल्होछाम्पाहरूलाई पनि उत्तर भुटान लगेर डुग्–पाहरूसँगै छात्रावासमा राखिन्थ्यो। तर यसका बाबजुद डुग्–पा र ल्होछाम्पाहरू सांस्कृतिक रूपले घुलमिल भएका उदाहरण कमै पाइन्छन्। उनीहरूको धार्मिक विश्वास, सांस्कृतिक पृष्ठभूमि, भाषा र वेशभूषा बिल्कुलै फरक भएकाले पनि आपसमा जोडिन गाह्रो थियो। यसका लागि सरकारले जे जति प्रयास गर्यो, त्यो आफैंमा पर्याप्त थिएन। डुग्–पा र ल्होछाम्पाहरूबाट पनि एकअर्कासँग सांस्कृतिक रूपले जोडिन खासै पहल भएन।
राजा जिग्मे दोर्जी वाङचुकको शासनकालमा भएको राजनीतिक सुधारका सन्दर्भमा सन् १९६८ को संविधान संशोधन पनि महत्वपूर्ण छ। उक्त संशोधनले राज्यसभाका सबै निर्णयलाई अन्तिम मानेको थियो। जबकि, त्यसअघिसम्म अन्तिम निर्णयको अग्राधिकार राजामा निहित थियो। राजाले गर्ने निर्णयमा चुनौतीको कुनै गुञ्जायस थिएन। यो संशोधनपछि पनि राज्यसभाले गरेको कुनै निर्णय राजालाई चित्त बुझेन भने त्यसमा पुनर्विचार निम्ति आग्रह गर्न सक्ने राजाको अधिकार सुरक्षित राखिएको माइकल हटको किताबमा छ।
‘सन् १९६९ मा राजाकै इच्छाअनुसार एउटा अर्को अग्रगामी प्रावधान लागू गरिएको थियो,’ माइकल लेख्छन्, ‘राज्यसभालाई राजाविरूद्ध पनि अविश्वास प्रस्ताव ल्याउने अधिकार दिइयो। राज्यसभाका दुईतिहाइ सदस्यको बहुमतले अविश्वास प्रस्ताव पारित गरेको खण्डमा राजाले गद्दी छाड्नुपर्थ्यो।’
जिग्मे दोर्जी वाङचुकले भुटानमा प्रजातान्त्रिक प्रक्रिया सुरू गरेको छनक दिन यस्तो प्रावधान ल्याएको अनुमान गर्न सकिन्छ। तर व्यवहारमा हेर्दा सधैं राजाकै पल्ला भारी रहने गरी गठन गरिएको राज्यसभामा उनीविरूद्ध अविश्वास प्रस्ताव आउने र त्यो प्रस्ताव दुईतिहाइ बहुमतले पारित हुने कुनै सम्भावना थिएन। पछि जिग्मे दोर्जी वाङचुकका छोरा जिग्मे सिंघे वाङचुक राजा भएपछि सन् १९७३ मा यो प्रावधान खारेज गरियो।
यो मात्र होइन, जिग्मे सिंघे वाङचुकको शासनकालमा यस्ता धेरै प्रावधान खारेज वा संशोधन गरिए, जुन उनका बुवाले भुटानको राजनीतिक सुधार र भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा जोड्ने उद्देश्यले ल्याएका थिए। त्यसैले दक्षिण भुटानका नेपालीभाषीहरूका लागि जिग्मे दोर्जी वाङचुकको शासनकाल ‘छोटो अवधिको हनिमुन’ का रूपमा सीमित रहेको माइकल हटले लेखेका छन्।
जिग्मे दोर्जीको निधनपछि सन् १९७२ जुलाई २१, अर्थात् विक्रम सम्बत् २०२९ साउन ६ गते शुक्रबार वाङचुक वंशका चौथो राजा जिग्मे सिंघे वाङचुकले १७ वर्ष उमेरमा गद्दी सम्हालेका थिए। उनको शासनकाल भने दक्षिण भुटानका नेपालीभाषीहरूको निम्ति ‘त्रासदी’ बनेर आयो।
जिग्मे सिंघे वाङचुकले आफ्ना बुवाले सुरू गरेका सुधार कार्यक्रमहरू लत्याउँदै नेपालीभाषी ल्होछाम्पाहरूमाथि नागरिकता, जमिनको हक, विवाह लगायतमा भेदभावपूर्ण कानुन लागू गरे। उनीहरूको नागरिकताको हक खोसे। जमिनको हक खोसे। भाषा र संस्कृतिको हक खोसे। र, यसरी नै एकपछि अर्को कसिकसाउ गर्दै आखिरमा सन् १९८० दशकको अन्त्यबाट भुटान छाडेर शरणार्थी जीवन बिताउन बाध्य पारे।
नेपालीभाषी भुटानीहरूलाई देश छाड्न बाध्य पार्ने गरी षड्यन्त्रपूर्वक ल्याइएका ती विभेदपूर्ण कानुनहरू के थिए?
जिग्मे सिंघे वाङचुकले कसरी भुटानी नेपालीहरूको जमिनको हक खोसे? कसरी उनीहरूलाई नागरिकबाट अनागरिक बनाए?
र, कसरी भुटानी नेपालीहरूलाई देश छाडेर शरणार्थी बन्न बाध्य पारे?
यसबारे हामी आगामी अध्यायहरूमा विस्तृत चर्चा गर्नेछौं।
अर्को अध्यायमा फड्किनुभन्दा अगाडि हामी तपाईंहरूलाई एउटा पुरानो घटना सुनाउन चाहन्छौं।
यो घटनाले दक्षिण भुटानमा सदियौंदेखि बसिरहेका नेपालीभाषीलाई हेर्ने भुटान दरबारको दृष्टि राजा जिग्मे सिंघे वाङचुकको शासनकालमा कसरी बदलियो भनेर बुझ्न मद्दत गर्नेछ।
यो सन् १९३२ को घटना हो — विक्रम सम्बत् १९८९ को।
त्यति बेला नेपाल सरकारले सिक्किम, आसाम र भुटानको बसाइमा गएका नेपालीलाई स्वदेश फर्किन आह्वान गर्दै सूचना जारी गरेको थियो।
फर्किन राजी हुनेहरूलाई बसोबास र खेतीपाती गर्न मोरङमा ५० देखि ६० बिघा जंगल फाँडिएको थियो। उनीहरूलाई घर बनाउन निःशुल्क काठ दिने, खानेपानीका लागि इनार खनिदिने, स्वास्थ्य चौकीको व्यवस्था गर्ने र दस वर्षसम्म खेतीपातीमा कर मिनाहा दिने भनिएको थियो। ठूलो संख्यामा आएर बसोबास गर्नेलाई अझ विशेष छुट दिने सरकारको बाचा थियो। हत्या वा अन्य अपराधमा दोषी ठहर भई भागेको व्यक्तिलाई समेत १२ वर्षसम्म देशबाहिर रहेको भए फर्किन भनिएको थियो।
यसरी व्यापक प्रचारप्रसार गरेपछि केही नेपालीलाई फर्काउन सरकार सफल पनि भयो। त्यति बेला जोगबनी सीमा नजिक करिब तीन हजार परिवारलाई पुनर्स्थापना गरिएको थियो भने त्यसको तीन वर्षपछि नै थप नेपालीहरूको पुनर्स्थापनाका निम्ति विराटनगर र धरानबीच हजार बिघा जग्गा छुट्टयाइएको थियो।
नेपाल सरकारको यो अभियान भुटान दरबारलाई भने चित्त बुझेको थिएन।
यस सम्बन्धमा माइकल हटले आफ्नो किताबमा लेखेका छन्, ‘त्यो बेला नेपाललाई तराई क्षेत्रमा खेती गर्न जनशक्तिको खाँचो पर्यो। तत्कालीन राणा शासकहरूले देश छाडेर गएका नेपालीहरूलाई फिर्ता आउन आह्वान गरे। देश छाडेर गएकाहरू पनि नेपाली नागरिक नै हुन् भन्ने राणा सरकारको दाबी थियो।’
‘अर्कातिर, भुटानका शासक वा कम्तिमा दक्षिण भुटानका शासकहरू भने नेपालबाट बसाइ सरेर आएका कृषकहरूले नियमित कर तिरिरहेकामा खुसी थिए,’ माइकल अगाडि लेख्छन्, ‘दक्षिण भुटानका नेपालीहरूबाट भइरहेको नगद राजस्व कमाइले सिंगो देशलाई लाभ पुगिरहेको थियो। उनीहरू यो सुविधा कायम राख्न चाहन्थे र दक्षिण भुटानमा बसिरहेका नेपालीलाई फिर्ता पठाउन अनिच्छुक थिए।’
भुटानीहरूको त्यो बेलाको तर्क थियो — राष्ट्रियताको सम्बन्ध भूमि र बसोबाससँग हुन्छ। जन्मलाई मात्र आधार मान्ने हो भने भुटानमा बसिरहेका ठूलो जनसंख्याप्रति सरकारको अधिकार गुम्छ वा कमजोर हुन्छ। त्यसैले जो जहाँ बसिरहेको छ, ऊ त्यहीँको नागरिक हो, माइकल लेख्छन्, ‘आधा शताब्दीपछि यही सवालमा दुवै देशका सरकारहरूको राय फरक छ।’
आजभन्दा नब्बे वर्षअघिको यो घटनाबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने त्यति बेलासम्म दक्षिण भुटानमा बस्ने नेपालीहरूलाई भुटान सरकार आफ्नै जनता सम्झिन्थ्यो र उनीहरू भुटानमै बसिरहून् भन्ने उसको अपेक्षा पनि थियो। राजा जिग्मे दोर्जी वाङचुकले तत्कालीन भुटान दरबारको यही सोच र अपेक्षालाई निरन्तरता दिए। उनले आफूभन्दा अगाडिका राजाहरूभन्दा एक कदम अघि बढेर डुग्–पा र भुटानी नेपालीहरूलाई सांस्कृतिक रूपमा जोड्न खोजे। उनीहरूबीच बिहेबारी गराउन खोजे। विद्यार्थीहरूलाई सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत एकअर्काको जनजीवन देखाउन खोजे। उनले भुटानी नेपालीहरूलाई सरकारी प्रशासनमा ल्याए, सेना र प्रहरीमा पनि ल्याए। राजनीतिक अधिकार दिँदै राष्ट्रिय मूलधारमा ल्याउने कोसिस पनि गरे। यसका लागि भुटानी नेपालीहरूलाई इतिहासमै पहिलोपटक नागरिकताको हक दिए र भुटानको राज्यसभा र राजकीय सल्लाहकार परिषदमा राजनीतिक प्रतिनिधित्व पनि गराए।
भुटानी नेपालीहरूलाई राष्ट्रिय मूलधारमा जोड्ने जिग्मे दोर्जी वाङचुकको यो अभियानमा ब्रेक लगाइदिए, उनकै छोराले।
जसै जिग्मे सिंघे वाङचुक राजा भए, भुटान दरबारको नियत बदलियो; दिशा बदलियो।
र, यसले भुटानी नेपालीहरूको पनि नियति बदलियो, दशा बदलियो।
अध्याय सत्र
अनन्तपुरको त्यो बैठक
जुन दिन जिग्मे सिंघे वाङचुकले भुटानको राजगद्दी सम्हाले, ठ्याक्कै त्यही दिन आकाशमाथि अनन्तपुरमा एउटा बृहत् सभा आयोजना भएको थियो।
त्यो बृहत् सभामा जो उपस्थित थिए, उनीहरू झट्ट हेर्दा हामी मान्छेजस्तै देखिन्थे, तर उनीहरूको शारीरिक बनोट फरक थियो। उनीहरू हामीभन्दा निकै होचो कदका थिए — लगभग चार फुट अग्ला। उनीहरूको जीउभरि भुत्ला थियो। हातका औंलाहरू जम्मै एकअर्कासँग टाँसिएका थिए। खप्पर लाम्चो थियो। गाला र च्यापुका हड्डीहरू पुट्ट बाहिर निस्केका थिए। अनुहारमा चिउँडोको आकृति बनेकै थिएन। टाउकोको तल्लो भागमा जहाँ लाम्चो हड्डीले चिउँडो निर्माण गर्छ, त्यहाँ हड्डीको सट्टा थिलथिलो मासु झुन्डिएको थियो। उनीहरूको नाक थ्याप्चो थियो। आँखाहरू चिम्सा थिए र दुवै आँखामाथि बाक्लो आँखीभौंको धर्सो कोरिएको थियो। उनीहरूका कान पनि हामी मान्छेको जस्तो बान्की परेका थिएनन्। कान हुनुपर्ने ठाउँमा आधी चन्द्रमा आकारको मासु टाँसेर हिँडेजस्तो देखिन्थ्यो। उनीहरूका दाँत ठुल्ठूला थिए। अझ मुखको माथिल्लो लहरमा दुइटा र तल्लो लहरमा दुइटा गरी चारवटा दाँत त बन्चरोको फालीजस्ता तिखा र धारिला थिए। दाँत ठूलो भएकाले मुखको आकार पनि ठूलै थियो। त्यो ठूलो र लाम्चो मुखमा हाम्रोजस्तै बत्तीसवटा दाँत अटेका थिए कि थिएनन्, त्यो चाहिँ भन्न मुश्किल थियो।
एउटा कुरा सबैको फरक थियो। पुट्ठाभन्दा माथि, कम्मरको ठ्याक्कै पछाडि भागमा जहाँ हामी सानो हड्डी टुसुक्क उठेको देख्छौं, उनीहरूको शरीरमा त्यही हड्डी अलि बेग्लै ढंगको थियो। कसैको हड्डी बाहिरसम्मै निस्केर बाँदरको पुच्छरझैं तुन्द्रुङ्ग झुन्डिएको थियो भने कसैको हड्डी हाम्रो गोडाको गोलीगाँठोजत्रो थियो। कसैको हड्डी त चक्कुले बीचमा छ्याक्क काटिदिएजस्तो पनि देखिन्थ्यो। यस्तो लाग्थ्यो, उनीहरूको शरीरबाट पुच्छर या त बिलाउँदैछ, या बिस्तारै उम्रिँदैछ।
अनन्तपुरको त्यो बृहत् सभामा उपस्थित यी मान्छेहरू आजभन्दा लगभग साठी लाख वर्षअघिका आदिम मानवजस्ता थिए।
खासमा के हुँदो रहेछ भने, जब पृथ्वीमा मान्छेको मृत्यु हुन्छ, ऊ यहाँबाट सिधै अनन्तपुर पुग्दो रहेछ। यसरी पृथ्वीदेखि अनन्तपुरसम्मको यात्रा गर्दा ऊ बिस्तारै त्यही रूपमा फर्किँदै जाँदो रहेछ, जुन रूपबाट विकास हुँदै ऊ आजको युगसम्म आइपुगेको छ। भन्नुको मतलब, मृत्युपछि मान्छेको आत्माले साठी लाख वर्षअगाडिको त्यही आदिम चोला पहिरिँदो रहेछ, जुन चोला पहिरिएर उसले पहिलोपटक यो धर्तीमा मानव जुनी पाएको थियो।
अब यसको अर्थ पृथ्वीबाट अनन्तपुरसम्म पुग्न अर्को साठी लाख वर्ष यात्रा गर्नुपर्छ भन्ने चाहिँ होइन नि! यी दुई लोकबीच समयको हिसाबकिताबमा आनका तान फरक छ। यहाँ पृथ्वीलोकमा एक दिन बित्दा, आकाशमाथिको अनन्तपुरमा दस लाख वर्ष बितिसकेको हुन्छ। यस हिसाबले हाम्रो आत्मा जम्मा छ दिनमै साठी लाख वर्षअघिको आदिम चोला पहिरिएर अनन्तपुर पुगिसकेको हुन्छ।
यो सम्पूर्ण यात्रामा उसले पृथ्वीमा सिकेको एकथोक भने बिर्सिँदैन रहेछ। ऊ त्यसलाई आफू सँगसँगै अनन्तपुर लैजाँदो रहेछ— त्यो हो, यहाँको भाषा।
त्यसैले त, अनन्तपुरको त्यो बृहत् सभामा के–के कुराकानी भइरहेको थियो भन्ने हामी बुझ्न सकिरहेका थियौं। त्यहाँ को–को उपस्थित थिए भन्ने पनि हामी चिन्न सकिरहेका थियौं।
त्यहाँ आदिम मानव आकृतिका सत्र जना थिए। ती सबैको नाम हामीलाई थाहा छ —
विशन थापा मगर, वेणु पाध्या, कालु पाध्या, सेतु थापा, बुधिन थापा मगर, वीरू गुरूङ, दाङसाङ गुरूङ, माने मुर्मी, विष्णु शाही ठकुरी, सुने मुर्मी, विष्णु जैसी, सेतुमान नेवार, न्याहुले नेवार, जिम्मे खम्बु किराँती, नैमी पाँडे, जिमु आले मगर र सन्ने कामी।
तपाईंहरूले चिन्नुभयो यी को हुन्?
यिनको नाम यही कथा शृंखलाको अघिल्लो अध्यायमा तपाईंले पढिसक्नुभएको छ!
सम्झिनुस् त!
यिनीहरू तिनै व्यक्ति हुन्, जो पहिलो चरणमा गोरखा र काठमाडौंबाट भुटान बसाइँ सरेका थिए।
भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले गोरखाका राजा राम शाह र काठमाडौं उपत्यकाका मल्लराजाहरू लक्ष्मीनरसिंह र सिद्धिनरसिंह मल्लसँग बाँधेको सम्बन्धको सेतु चढेर आजभन्दा चार सय वर्षअघि नै यिनीहरू भुटान पुगेका थिए। कतिलाई त स्वयं धर्मराजा नमग्यालले गोरखा र काठमाडौं उपत्यका भ्रमणमा आउँदा आफूसँगै लिएर गएका थिए र उतै बसोबास गराएका थिए।
आज हामी जसलाई भुटानी शरणार्थी भनेर चिन्छौं, तिनका पुर्खाहरूका आत्मा नै आदिम मानवको चोला पहिरिएर अनन्तपुरको त्यो सभामा गम्भीर विमर्श गर्दै रहेछन्।
विमर्शको विषय चाहिँ के रहेछ हँ?
के त्यस्तो विपत् परेछ, जसले उनीहरूलाई अनन्तपुरमा पनि आमनेसामने बसेर विमर्श गर्न बाध्य बनाएछ?
हामीले ध्यान दिएर उनीहरूका कुरा सुन्यौं। तपाईंहरू पनि सुन्नू है त!
गोरखाका राजा राम शाहको आदेशमा नेपालीहरूको पहिलो खेप नेतृत्व गर्दै भुटान पुगेका विशन थापा मगर भन्दै थिए, ‘यो सब मेरै कारणले भएको हो। त्यस दिन मैले महाराज (राम शाह) को हुकुम नमानेको भए आज हाम्रा सन्ततिहरूले यो दिन देख्नुपर्ने थिएन!’
जिम्मे खम्बु किराँतीले भने, ‘हैन, अहिलेसम्म केही भइहालेको त छैन नि हौ! हामी यत्तिकै तिललाई पहाड बनाएर आत्तिएका त होइनौं? म के भन्छु भने...’
‘तिललाई पहाड बनाएर आत्तिएका होइनौं जिम्मेजी,’ सन्ने कामीले बीचैमा कुरा काटे, ‘त्यो त अब हुनु नै छ। यहाँ अनन्तपुरमा आइसकेपछि हामीले पृथ्वीको भविष्य देख्ने दिव्यदृष्टि यसै पाएका हौं र! त्यही दिव्यदृष्टिले हेरेर त हामी यो समस्याको केही हल खोज्न सकिन्छ कि भनेर यहाँ उपस्थित भएका हौं नि!’
‘त्यो त हो सन्ने, तर हामी यति टाढा अनन्तपुरमा बसेर पृथ्वीलोकको समस्या कसरी सल्टाउन सकौंला र!’ वेणु पाध्या निराश सुनिए।
‘खोइ मैले त केही कुरै बुझिनँ,’ सभामा अलि ढिला हाजिर भएका सेतुमान नेवारले भने, ‘मैले हिजोदेखि आफ्नो दिव्यदृष्टि प्रयोग गरेको छैन, त्यसैले पृथ्वीमा के हुँदैछ भन्ने मलाई मेसो नै छैन। खास कुरा के हो?’
सभाको सभापतित्व गरिरहेका विशन थापा मगरले जवाफमा भने, ‘सेतुमानजस्तै अरू पनि केही साथीहरू सभामा ढिला आउनुभएको छ, म उहाँहरूको जानकारीका लागि फेरि एकचोटि समस्या दोहोर्याएर राख्न चाहन्छु।’
विशन थापा मगरले त्यसपछि एकदमै छोटो सूचनामा यो सभा डाक्नुको उद्देश्य विस्तार लगाए —
‘हामीलाई दिनको दुईचोटि आफ्नो दिव्यदृष्टि प्रयोग गरेर पृथ्वीलोक घुम्न जाने अनुमति छ भन्ने त यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म हरेक दिन बिहान र बेलुकी दिव्यदृष्टि प्रयोग गर्छु। कहिले आफ्नो पुर्ख्यौली थलो गोरखा जान्छु, कहिले आफू बसाइँ सरेको भुटान पुग्छु।
‘आज बिहान चाहिँ म झसंगै भएँ। मैले भुटानमा रहेका हाम्रा नेपालीभाषी सन्ततिहरूको भविष्य ठिक देखिनँ। त्यहाँ अब जिग्मे सिंघे वाङचुक नयाँ राजा हुँदैछन्। उनको शासनकालमा हाम्रा भुटानी नेपाली सन्ततिहरूले धेरै दुःख पाउने छाँट मैले देखेँ।‘
‘कसरी विशे?’ सेतुमानले बीचैमा सोधे, ‘राजा जिग्मे दोर्जी वाङचुक त निकै असल छन्, होइन र? उनले त हाम्रा सन्ततिहरूको राम्रै ख्याल राखिरहेको देख्छु त म!’
विशनसँग सेतुमानको घनिष्ठ दोस्ती थियो, त्यसैले उनी विशनलाई विशे भन्थे। विशन पनि सेतुमानलाई सेते भनेर बोलाउँथे।
‘तैंले ठिक भनिस् सेते, राजा जिग्मे दोर्जी वाङचुकले हाम्रा सन्ततिहरूको राम्रो ख्याल राखेकै हुन्। यसमा हामीले कुनै दुबिधा मान्नुपर्दैन,’ विशनले भने, ‘तर उनका छोरा जिग्मे सिंघे वाङचुकको स्वभाव बाबुको भन्दा बिल्कुलै फरक छ। उनी १७ वर्षकै उमेरमा गद्दीमा बस्दैछन्। त्यसैले उनले आफ्नो शासनमा आलोकाँचो उमेरको हडबडी र उत्ताउलोपन देखाउने छन्।’
‘कस्तो हडबडी? कस्तो उत्ताउलोपन?’ सेतुमानले सोधे।
‘मैले दिव्यदृष्टिबाट हेर्दा के देखेँ भने, यी नयाँ राजा जिग्मे सिंघे वाङचुकले हाम्रा नेपालीभाषी ल्होछाम्पा सन्ततिहरूको दिन साह्रै कष्टकर बनाउँदै छन्। उनीहरूको नागरिकताको हक खोस्दै छन्। उनीहरूको जमिनको हक खोस्दै छन्। भाषा र संस्कृतिको हक पनि खोस्दै छन्,’ उनले भने, ‘र, आखिरमा हाम्रा सन्ततिहरूलाई भुटान छाडेर शरणार्थी जीवन बिताउन बाध्य पार्दै छन्।’
उनले अगाडि भने, ‘हामी धर्मराजा ङवाङ नमग्यालको पछि लागेर नेपालबाट भुटान गयौं र त्यहीँ आफ्नो थातथलो बसाल्यौं, अब हाम्रा सन्ततिहरूले त्यही भुटानबाट शरणार्थी बनेर नेपाल छिर्नुपर्ने दिन आउँदैछ।’
‘ओहो! साह्रै दुःखको कुरा पो सुनाइस् त विशे,’ सेतुमानले यति भनेर लामो सास ताने।
उनले तानेको लामो साससँगै सभामा उपस्थित अरूले पनि लामो सास छाडे।
सभामा एकछिन शून्यता छायो।
‘यसको हल के होला त अब?’ सुने मुर्मीको स्वरमा विवशताको भाव सुनियो।
‘हामी यहाँ अनन्तपुरमा आफ्ना पुस्ताले दुःख पाएको टुलुटुलु हेरेर बस्नेभन्दा अरू के गर्न सक्छौं र!’ जिमु आले मगरले भने।
‘तर केही त गर्न सकिन्छ होला नि, हँ विशनजी!’ दाङसाङ गुरूङले भने, ‘केही त उपाय होला नि, राजा जिग्मे सिंघे वाङचुकको बुद्धि फिराउने?’
‘हामीमध्ये सबभन्दा जान्नेबुझ्ने भनेको तपाईं नै हो,’ विष्णु जैसीले विशन थापा मगरतिर हेर्दै भने, ‘हामी नेपालीहरूलाई भुटान जान पहिलो बाटो खनेको पनि तपाईंले नै हो। त्यसैले यो समस्या हल गर्ने उपाय पनि अब तपाईंले नै सुझाउनुपर्यो।’
‘हो हो, तपाईंले नै सुझाउनुपर्यो,’ न्याहुले नेवारले सही थापे।
सभामा उपस्थित सबैको एकमत भयो।
विशन थापा मगर एकछिन एकचित्त भए — चुपचाप।
अरू पनि केही बोलेनन्।
‘म पनि तपाईंहरूजस्तै यहाँ अनन्तपुरमा छु, त्यसैले समस्या सुल्झाउने उपाय त के गर्न सक्छु र!’ विशनले बोले, ‘म सिद्ध तान्त्रिक भइदिएको भए पनि यहीँबाट जिग्मे सिंघे वाङचुकको दिमाग वशमा लिएर उनको मनमा खेलिरहेको योजना भंग गरिदिन सक्थेँ, तर मेरो त्यस्तो औकात छैन।’
उनी फेरि एकछिन सोचमग्न भए, अनि भने, ‘एउटा काम चाहिँ गर्न सकिन्छ कि भन्ने लाग्दैछ।’
‘के काम हो त्यो?’ सबैले सोधे।
‘हामी सबै राजा राम शाह र धर्मराजा ङवाङ नमग्यालको कक्षमा गएर उहाँहरूलाई यसको जानकारी दिऊँ,’ विशनले उपाय सुझाए, ‘बरू मिल्यो भने काठमाडौं र पाटनका राजालाई पनि डाकौंला।’
‘उहाँहरूसँग पो यसको केही उपाय छ कि,’ विशनले सबैलाई सोधे, ‘के भन्नुहुन्छ तपाईंहरू?’
विशनको प्रस्तावमा सबैले सहमति जनाए।
त्यसपछि उनीहरू सभाबाट उठे र सरासर गोरखाका राजा राम शाहको कक्षमा गए।
संयोगले त्यो क्षण काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल र पाटनका राजा सिद्धिनरसिंह मल्लसँग राम शाहकै कक्षमा भेट भयो। यी तीनै जनाले बिहानै आफ्नो दिव्यदृष्टिबाट भुटानी ल्होछाम्पाहरूले पाउन लागेको दुःख चाल पाइसकेका रहेछन् र त्यसैको निम्ति मन्त्रणा गर्न जुटेका रहेछन्।
उनीहरूको शारीरिक बनोट पनि आदिम मानव स्वरूपको थियो। एउटै फरक चाहिँ के भने, धर्तीका राजालाई यहाँ अनन्तपुरमा पनि अरूभन्दा विशेष सुविधा दिइँदो रहेछ। उनीहरूको छुट्टै कक्ष हुँदो रहेछ। धर्तीमा जस्तै राजसी ठाँटबाँट, राजसी पहिरन र राजसी मुकुट पनि लगाउन पाउँदा रहेछन्।
गोरखा र काठमाडौं उपत्यकाका आफ्ना पुराना जनता हुल बाँधेर आएको देखेपछि राम शाह, लक्ष्मीनरसिंह र सिद्धिनरसिंह मल्लले उनीहरूको मनसाय बुझिहाले। ती सबैको अनुहार औंसीको रातजस्तो अँध्यारो थियो। अनन्तपुरमा यस्तो अँध्यारो अनुहार कसैको हुन्थेन। सांसारिक दुःखबाट मुक्ति पाइसकेका आत्माहरू यहाँ सदैव प्रसन्नचित्त रहन्थे। सबैका अनुहार सदैव पूर्णिमाको जूनझैं चम्किरहेको हुन्थ्यो। यस्तोमा कोही दुःखी भयो भने उसको दुःखको कारण अरूले चाल पाइहाल्थ्यो। शरीरको तरंगबाटै मनको भाव आदानप्रदान हुन्थ्यो, अनन्तपुरमा।
राम शाहको कक्षभित्र छिरेर सबैले तत्कालीन नेपालका तीनै जना समकालीन राजाहरूलाई प्रणाम गरे।
त्यसपछि एक–एकले आ–आफ्नो दिव्यदृष्टिबाट देखेको दृश्य राजाहरूलाई सुनाए र भने, ‘महाराज, हजुरहरूले नै हामीलाई भुटान जाने बाटो देखाइदिनुभयो। हजुरहरूले धर्मराजा नमग्यालसँग गाँस्नुभएको दौत्य सम्बन्धकै कारण हामी भुटान गयौं र त्यहीँ बसोबास गर्न थाल्यौं। आज भुटानका नयाँ राजाले हाम्रा शाखा–सन्तानलाई उठिबास पार्दैछन्। उनीहरूलाई अनागरिक बनाएर देशबाट लखेट्दै छन्। हाम्रा सन्ततिले साह्रै दुःख झेल्नुपर्ने दिन आउँदैछ महाराज। उनीहरूले भविष्यमा पाउन लागेको दुःख देखेर हामी विचलित भएका छौं। त्यसैले यसको केही हल खोज्न सकिन्छ कि भनेर हजुरहरूलाई बिन्ती गर्न आएका हौं।’
तीनै जना राजा एकछिन चुप्प लागे।
एकछिन अघिसम्म उनीहरू आफैं पनि यही विषयमा विमर्श गर्दै थिए, तर समाधान सुझेको थिएन।
राम शाहले मौनता तोड्दै भने, ‘यसको सारा दोष मेरै हो। न मैले भुटानी धर्मराजासँग दौत्य सम्बन्ध गाँस्थेँ, न तिमीहरू भुटान जान्थ्यौ र न आज तिमीहरूका सन्तानले भुटानबाट लखेटिनुपर्ने नौबत आउँथ्यो।’
‘हजुर मात्र होइन राजन,’ काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्लले भने, ‘हामी पनि यसमा उत्तिकै दोषी छौं। भुटानी धर्मराजाले बढाएको मित्रताको हात हामीले पनि बराबर थामेका हौं। हामीले पनि आफ्ना जनतालाई धर्मराजा नमग्यालसँग भुटान पठाएकै हौं। त्यसैले आज भुटानी नेपालीहरूले जे नियति भोग्ने अवस्था आउँदैछ, त्यो नियति लेखिनुमा हामी पनि बराबर भागीदार छौं।’
पाटनका राजा सिद्धिनरसिंह मल्लले सही थापे, ‘आज यस्तो स्थिति आउँछ भन्ने अलिकति पनि आभाष भइदिएको भए हामी चार सय वर्षअघि भुटानसँग दौत्य सम्बन्ध गाँस्ने नै थिएनौं।’
‘अब जे हुनु भइहाल्यो,’ सिद्धिनरसिंहले अगाडि भने, ‘हिजो भएको घटनामा पश्चाताप गरेर केही फाइदा छैन। बरू हामी सबै धर्मराजा ङवाङ नमग्याललाई भेट्न जाऊँ। उहाँलाई नै यी सबै कुरा सुनाएर समाधानको बाटो खोजौं।’
सिद्धिनरसिंह मल्लको सुझाव राम शाह र लक्ष्मीनरसिंहलाई पनि चित्त बुझ्यो।
त्यसपछि उनीहरू सबै अनन्तपुरको भुटान कक्षमा गए, जहाँ धर्मराजा ङवाङ नमग्याल ध्यानमा लीन थिए।
आदिम मानवको चोला ओढेर बसेको धर्मराजाको आत्माले नेपालका तीन जना राजा र जनता आफ्नो कक्षमा आएको सन्देश पाइसकेको थियो। त्यसैले जसै उनीहरू भुटान कक्षभित्र प्रवेश गरे, धर्मराजा नमग्यालको ध्यानमा लीन आँखा उघ्रियो।
सबैले धर्मराजालाई अभिवादन गरे। धर्मराजाले पनि आफ्नो जीउ झुकाएर अभिवादन फर्काए।
यो अप्रत्यासित भेटघाटको कारण धर्मराजाबाट लुकेको थिएन। उनी स्वयंले आफ्नो दिव्यदृष्टिबाट भुटानको हाल देखिसकेका थिए। शरीरको तरंगबाट मनको भाव सट्टापट्टा पनि भइसकेको थियो।
धर्मराजाले सबैलाई आफ्नो कक्षमा आसन ग्रहण गराए।
अनि, अरूले एक शब्द बोल्नुभन्दा अगाडि नै उनले भने, ‘आज म साह्रै लज्जित छु। मैले आफ्नो राज्यमा शासन व्यवस्थाको थिति बसाल्न भनेर नेपालीहरूलाई भुटान लगेँ। उनीहरूलाई आफ्नो भूमिबाट अलग्याएँ, आफ्नो जडबाट छुट्टयाइदिएँ। तपाईंहरूलाई पनि थाहा होला, यसमा मेरो कुनै कुत्सित मनसाय थिएन। मैले भुटान राज्यको र नेपालीहरूको पनि भलो होस् भनेर नै त्यसो गरेको हुँ। तर आज मेरै देशको नयाँ राजाले भुटानी नेपालीहरूमाथि अत्याचार गर्न खोजिरहेको देख्दा, म आफूले आफैंलाई माफ गर्न सकिरहेको छैन। बिहान दिव्यदृष्टिबाट त्यो दृश्य देखेदेखि म पश्चातापमा जलिरहेको छु र त्यही बेलादेखि ध्यानमा लीन छु। जिग्मे सिंघे वाङचुकले भुटानी नेपालीहरूलाई लखेट्ने जुन कुत्सित योजना बुनिरहेका छन्, त्यसको निम्ति म तपाईंहरू सबैसँग माफी माग्न चाहन्छु।’
‘भुटानी नेपालीहरूमाथि जे हुन गइरहेको छ, त्यसको पहिलो कारक मै हुँ,’ उनले अगाडि भने, ‘मेरो यो अपराधको निम्ति श्री स्वयम्भुनाथ र मेरा आराध्य गुरू श्री पद्मसम्भवसँग पनि मैले माफी मागेको छु।’
यति भनेर भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले गोरखाका राजा राम शाह, काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल, पाटनका राजा सिद्धिनरसिंह मल्ल र पहिलो चरणमा काठमाडौंबाट भुटान बसाइँ सरेका नेपालीहरूका अगाडि शिर झुकाउँदै दुवै हात जोडे।
धर्मराजाले यसरी हात जोड्नासाथ राम शाहले सबभन्दा पहिला अगाडि बढेर आफ्ना दुवै हातले धर्मराजाका दुवै हात च्याप्प समाते र भने, ‘सुदूर अतीतमा भएको घटनालाई लिएर हजुरले आज यस्तरी अपराधबोध गर्नुपर्दैन धर्मराज। यदि अपराध भएकै थियो भने पनि त्यसमा हामी सबै बराबर भागीदार छौं। हजुरले आफूलाई मात्र दोषी ठान्नुपर्दैन।’
त्यसपछि सिद्धिनरसिंह मल्लले आफू बसिरहेको ठाउँबाट दुई पाइला अगाडि सरेर भने, ‘हे धर्मराज, हामीले एकअर्कासँग माफी माग्नेभन्दा पनि नयाँ राजा जिग्मे सिंघे वाङचुकको मन र मस्तिष्कभित्रै छिरेर उनलाई यस्तो कुकर्म गर्नबाट रोक्ने कुनै उपाय पो छ कि?’
सिद्धिनरसिंहले यसो भन्दै गर्दा भुटानी धर्मराजाको कक्षमा उपस्थित सबैले उनलाई हेरिरहेका थिए। जसै उनको भनाइ सकियो, त्यसपछि सबैको आशा र अनुनयमिश्रित आँखा धर्मराजातिर सोझिए।
धर्मराजा एकछिन मौन रहे।
मानौं, उनी आँखा खोलेरै ध्यानमा लीन भए!
त्यति बेला धेरै मान्छेले एकसाथ सास फेरेको स्वाँस्वाँ मात्र कक्षभित्र सुनिँदै थियो।
लगभग नौ मिनेटको मौनधारणपछि धर्मराजाले भने, ‘हे राजन, हे मेरा जनहरू, पहिले भइदिएको भए म यहीँ तान्त्रिक अनुष्ठान गराएर जिग्मे सिंघे वाङचुकको मनलाई वशमा लिन सक्थेँ। तर अनन्तपुरमा आइसकेपछि मसँग त्यो तान्त्रिक शक्ति छैन। हाम्रो विडम्बना के भने, हामी आफ्नो दिव्यदृष्टिबाट भविष्यको दिशा त देख्न सक्छौं, तर दशा बदल्न सक्दैनौं। मान्छेको नियत त पढ्न सक्छौं, तर नियति बदल्न सक्दैनौं। हामीसँग अब जिग्मे सिंघे वाङचुकले नेपालीहरूमाथि गर्ने अत्याचार हेर्दै रिसले दाँत किटकिटाउनुको विकल्प छैन। यी भुटानी नेपालीका पुर्खालाई मैले नै लगेर बसोबास गराएको हुँ, अब उनीहरू आफ्नो भूमिबाट लखेटिएर शरणार्थी भएको दृश्य हेर्दै आँशु बगाउनुको विकल्प मसँग छैन।’
धर्मराजाको यस्तो कुरा सुनेर कक्षमा उपस्थित सबै खिन्न भए।
कोही केही बोल्न सकेनन्।
विशन थापा मगर अरूभन्दा बढी नै आहत देखिए। छातीदेखि भरिएर आएको उनको आँशु घाँटीको किलकिलेमा थुप्रिएर बसेको थियो। आँखाबाट चुहिन चुहिन खोजेको आँशुलाई घाँटीमै रोक्न खोज्दा बेलाबेला उनको किलकिले किक्लिक किक्लिक भएर आउँथ्यो।
उनले नेपालका तीनै जना राजा र भुटानी धर्मराजालाई प्रणाम गरे र भने, ‘आज म हजुरहरू चारै जनालाई साक्षी राखेर समस्त भुटानी नेपालीहरूसँग माफी माग्न चाहन्छु। जिग्मे सिंघे वाङचुकको शासनकालमा भुटानी नेपालीहरूले जे बेहोर्नुपर्नेछ, उनीहरूलाई त्यहाँसम्म पुर्याउन अगुवाइ गरेको पहिलो नेपाली मै हुँ। उनीहरूलाई यो नियतितर्फ डोर्याउने पहिलो नेपाली मै हुँ। इतिहासले मलाई माफ गर्ला कि नगर्ला थाहा छैन, तर म चाहिँ आफूलाई कहिल्यै माफ गर्ने छैन। चार सय वर्षअघि मेरो पाइला जुन दिशातर्फ बढ्यो, त्यो दिशा मेरो सन्ततिको अन्धकार भविष्यतिर सोझिएको छ भन्ने अलिकति पनि भेउ पाएको भए मबाट त्यो कुकर्म हुने थिएन। मेरो आत्मा शरणार्थी जीवन बिताउने ती तमाम भुटानी नेपालीहरूको सदैव ऋणी रहनेछ।’
विशन थापा मगरले यति भन्दाभन्दै धर्मराजाको कक्षमा आदिम मानवको चोला धारण गरेको एक नयाँ आत्माको प्रवेश भयो।
उनले सबभन्दा पहिला धर्मराजा नमग्याललाई प्रणाम गरे र त्यसपछि नेपालका तीनै जना राजालाई प्रणाम गरे।
उनको प्रणाम फर्काउँदै धर्मराजा नमग्यालले भने, ‘अनन्तपुरमा स्वागत छ, राजा जिग्मे दोर्जी वाङचुक।’
भर्खरै भुटानमा स्वर्गीय भएर यहाँ अनन्तपुर आइपुगेका जिग्मे दोर्जी वाङचुकको उपस्थितिले कक्षमा हल्का तरंग छायो।
भुटानी नेपालीहरूलाई आसन्न समस्याबाट मुक्ति दिलाउने उपाय यी नवदिवंगत राजाले पो जुराउँछन् कि भन्ने त्यहाँ उपस्थित सबैलाई आस जाग्यो।
पृथ्वीका यी नवदिवंगत र अनन्तपुरका नवसदस्य राजा जिग्मे दोर्जी वाङचुकले सबैको उत्सुकतामा पानी छर्दै भने, ‘मेरो हातमा केही छैन। म पनि अब हजुरहरूजस्तै आदिम मानवको चोला ओढेको आत्मा हुँ। मेरो छोराको अभीष्ट चाल पाएर सबभन्दा दुःखी मै छु। जुन ल्होछाम्पा नेपालीहरूलाई मैले आफ्नो एउटा आँखा ठानेँ र उनीहरूमाथि कुनै अन्याय हुन दिन्नँ भनेर बाचा गरेँ, आज मेरै छोराले उनीहरूमाथि अत्याचार गर्न लागेको देखेर मेरो हृदय छियाछिया भएको छ।’
‘म भुटानी राजा जिग्मे दोर्जी वाङचुक, मेरो छोराको तर्फबाट तपाईंहरू सबैसँग माफी माग्छु।’
‘म मेरो छोराको तर्फबाट समस्त भुटानी नेपालीहरूसँग माफी माग्छु।’
‘म मेरो छोराको तर्फबाट इतिहाससँग माफी माग्छु।’
आकाशमाथि अनन्तपुरमा जिग्मे दोर्जी वाङचुकले यसो भन्दै गर्दा तल भुटानमा उनका छोरा राजा जिग्मे सिंघे वाङचुक भुटानी नेपालीहरूमाथि अत्याचार गर्ने षड्यन्त्रतर्फ पहिलो पाइला चाल्दै थिए।
अनन्तपुरमा सबैका आँखा भुटानतिरै सोझिएका थिए।
हामीले बेलडाँगी शरणार्थी शिविर भ्रमण क्रममा नागरिकता कानुनबारे हेम गुरागाईं र टिबी राईसँग लामो छलफल गरेका थियौं।
पहिलो दिन शिविर भ्रमणमा जाँदा मूल बाटो छेवैको पिपलबोटमुनि अन्य शरणार्थीहरूसँगै यी दुई जना पनि भेटिएका थिए। उनीहरूले हामीसँग छुट्टै कुरा गर्ने इच्छा देखाए र भोलिपल्ट टिबी राईको झुपडीमा डाके।
टिबी राईको एककोठे झुपडी सानो थियो, तर सफासुग्घर थियो। भुइँदेखि भित्तासम्म उनले टिलिक्क टल्काएर राखेका थिए। झुपडीबाहिर सानो आँगन थियो। आँगनको छेउमा करेसाबारी थियो। हामी आँगनको फलैंचामा बसेर गफिएका थियौं। कुराकानीकै बीचमा टिबी राईकी पत्नीले चिया पकाएर ल्याइन्। उनले बाहिर पसलबाट ममः पनि मगाइन् र हामीले नाइँ भन्दाभन्दै निकै कर गरेर खुवाइन्। भुटानी शरणार्थीहरूमा हामीले एउटा बानी आम भेट्यौं, उनीहरू पाहुनालाई धेरैजसो ममः खाऊँ भन्थे।
हेम गुरागाईं र टिबी राईसँग हामीले विभिन्न विषयमा कुराकानी गरेका भए पनि नागरिकतासम्बन्धी प्रसंग मात्र यहाँ समावेश गर्दैछौं।
हेमले भनेका थिए, ‘सन् १९५८ मा ‘जय गोर्खा’ आन्दोलन र भुटान स्टेट कंग्रेस पार्टीको सत्याग्रहका कारण राजा जिग्मे दोर्जी वाङचुकले भुटानको पहिलो नागरिकता कानुन लागू गरेका थिए। भुटानको प्रजातान्त्रिक संघर्षको इतिहास हेर्ने हो भने पहिलो चरणमा भएको त्यो आन्दोलनलाई सफल मान्न सकिन्न। त्यति बेला भुटानको राज्यसत्ताले आन्दोलन दबायो। धेरै नेता मारिए। केही पैसामा पनि बिके। तर त्यो आन्दोलनबाट के फाइदा भयो भने भुटानमा पहिलोचोटि नागरिकता कानुन आयो र त्यसैअनुसार नेपालीहरूको पनि नागरिकताको हक सुनिश्चित भयो।’
‘तर बीस वर्ष नपुग्दै सन् १९७७ मा नागरिकता कानुन संशोधन गरियो। त्यसले चाहिँ दक्षिण भुटानका धेरै नेपालीभाषीलाई अनागरिक बनायो। त्यो संशोधित नागरिकता कानुनले भारतको सिक्किम, आसाम, दार्जिलिङ वा डुवर्स क्षेत्रबाट बिहेबारी गरी आएका व्यक्तिलाई अनागरिक बनाउने काम गरेको थियो,’ हेमले अगाडि भने, ‘यति हुँदाहुँदै व्यावहारिक रूपमा राज्य उदार नै थियो। तर १९८५ मा आएर जब नागरिकता कानुन दोस्रोचोटि संशोधन गरियो, त्यसले चाहिँ धेरैभन्दा धेरै नेपालीलाई अनागरिक बनायो। नेपालीभाषीहरू भुटानबाट लखेटिनु वा भाग्नुको कारण त्यही १९८५ को संशोधन हो।’
उता टिबी राई भने १९५८ को कानुनले पहिलोचोटि नागरिकताको हक स्थापित गरे पनि १९७७ को संशोधनपछि मात्र धेरैले यसबारे थाहा पाएको बताउँछन्। भुटानी नेपालीहरूलाई नागरिकता प्रमाणपत्र बाँड्ने प्रक्रिया त सन् १९८० दशकमा मात्र सुरू भयो, उनले भने, ‘त्यही नागरिकता पनि १९८८ मा खोसेर हामीलाई शरणार्थी बनाइयो।’
सन् १९८० को विवाहसम्बन्धी कानुन र १९८८ को जनगणनाले पनि नेपाली मूलका भुटानीहरूको नागरिकता खोस्न धेरै ठूलो भूमिका खेलेको उनको भनाइ छ।
‘जनगणना गर्दा १९५८ डिसेम्बर ३१ सम्म मालपोत तिरेको रसिद देखाउन सक्ने व्यक्तिलाई मात्र भुटानको नागरिक हुन योग्य मानिएको थियो,’ राईले भने, ‘तपाईं अहिले पनि शरणार्थी शिविरमा रहेका व्यक्तिहरूको चेतना स्तर हेर्नुस्, झन् त्यो बेलाको चेतना स्तर कस्तो थियो होला? त्यस्तो समयमा ३० वर्ष पुरानो मालपोत रसिद माग्यो भने कसले देखाउन सक्थ्यो? कसले राखेको हुन्थ्यो त्यति पुरानो रसिद?’
यसरी १९५८ को नागरिकता कानुनमा विभिन्न समयमा गरिएका संशोधन, १९८० को विवाहसम्बन्धी कानुन, १९८८ को जनगणना र त्यो जनगणनाले तोकेका नियमहरू भुटानी नेपालीलाई अनागरिक बनाउन रचिएको षड्यन्त्रको सिलसिला थियो। त्यही षड्यन्त्रको शिकार भएर सवा लाख भुटानी नेपाली शरणार्थी हुन बाध्य भए।
कानुन संशोधनको जाल बुनेर भुटानी नेपालीहरूमाथि गरिएको अन्यायको पराकाष्ठाबारे हामी अर्को अंकमा विस्तृत चर्चा गर्नेछौं।
अर्को अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः भुटानका तेस्रो राजा जिग्मे दोर्जी वाङचुक र चौथो राजा जिग्मे सिंघे वाङचुक।