भुटानको ४०० वर्षको कथा– अंक ५
अध्याय बाह्रः थ्राम नम्बर कति?
बेलडाँगी शरणार्थी शिविरको मूल बाटो छेवैमा एउटा झ्याम्म परेको पिपलबोट छ। त्यो पिपलबोटको आडैमा एउटा होटल छ। हामी त्यही होटलको आँगनमा, पिपलबोटमुनि बसेर भुटानी शरणार्थीहरूसँग कुरा गर्दै थियौं।
हामीसँग कुरा गर्न जम्मा भएका शरणार्थीहरू अनुशासित ढंगले पालैपालो आफ्नो अनुभव र भोगाइ सुनाउँदै थिए।
उनीहरूमा एउटा समानता थियो — जो जो आफ्नो कुरा सुनाउन अघि सर्थे, उनीहरू आफूलाई चिनाउँदा नाम, उमेर र गाउँ सँगसँगै थ्राम नम्बर पनि भन्थे।
म फलानो, मेरो उमेर यति।
मेरो गाउँ फलानो, मेरो थ्राम नम्बर यति यति।
हामीलाई लाग्यो — नाउँ, उमेर र गाउँ त ठिकै हो, तर यो थ्राम नम्बर भनेको चाहिँ के हो? किन यो भुटानी शरणार्थीहरूको परिचयसँग झुन्डिएको छ?
हाम्रो यो जिज्ञासा दलबहादुर दर्जीको कुरा सुनेपछि छर्लंग भयो।
साठी वर्षीय दलबहादुर ए१/०९३ नम्बरको झुपडीमा बस्छन्। उनी आजभन्दा ३३ वर्षअघि सन् १९९० मा साम्ची जिल्लाको घुमाउने गाउँबाट शरणार्थी बनेर नेपाल छिरेका थिए। अहिले परिवारका सबै सदस्य विदेश उडिसके, उनी चाहिँ भुटान फिर्तीको माग राख्दै शिविरमा एक्लै छन्।
भुटानमा दलबहादुरको तेह्र एकड घडेरी र नौ एकड खेत थियो। ती सबै जमिनको ‘असली थ्रामपट्टा’ उनीसँगै थियो। भुटान सरकारले पहिला झुक्याएर थ्रामपट्टा हडपेछ, अनि उनलाई भूमिहीन बनाएर देशबाट लखेटेछ।
त्यो बेला कयौं दिनदेखि गाउँमा भुटानी सेनाले चक्कर काट्दै थियो। उनीहरू नेपालीका घर–घरमा गुटुटु छिर्ने, तथानाम गाली गर्दै भाँडाबर्तन मिल्काउने र बिनाकारण पिटपाट पार्ने गर्दै थिए। सेनाले बूढापाकालाई जेल हाल्छ भन्ने हल्ला पनि गाउँमा फैलिएको थियो। त्यसैले दलबहादुरका बुवा र अरू बूढापाकाहरू गाउँमा सेना पसेको थाहा पाउनेबित्तिकै जंगलमा लुक्न जान्थे।
एकदिन सेनाको उच्च अधिकारी आएर दलबहादुरसँग थ्रामपट्टा मागेछ र भनेछ, ‘तँ आफ्नो थ्रामपट्टा हामीलाई दे, त्यसबापत् तैंले पैसा पाउँछस् र ढुक्कसँग भुटानमा बस्न पाउँछस्।’
दलबहादुरलाई अलमल भयो।
दिऊँ भने भुटानी सेनाले थ्रामपट्टा के गर्ने हो थाहा थिएन! नदिऊँ, त्यही निहुँमा यातना देला र देशबाटै निकाल्ला भन्ने डर!
बरू थ्रामपट्टा जिम्मा लगाए पैसा पनि पाइने र भुटानमै आनन्दसँग बस्न पाइने हो कि भन्ने उनलाई आस जाग्यो।
दलबहादुरले थ्रामपट्टा सेनाको जिम्मा लगाए।
तेह्र एकड घडेरी र नौ एकड खेतको थ्रामपट्टाबापत् सेनाले ३१ हजार रूपैयाँ नगद उनको हातमा राखिदियो, दुई प्रति कागजमा दस्तखत गर्न लगायो र भन्यो, ‘यो कागज पैसा बुझेको रसिद हो।’
यति भनेर त्यो अधिकारीले कागजको एक प्रति दलबहादुरलाई दियो र एक प्रति आफैंसँग राख्यो।
त्यसपछि एक जना सैनिक क्यामरा बोकेर अगाडि आयो।
दलबहादुरलाई ङिच्च दाँत देखाएर हाँस्न लगायो।
उनलाई फिटिक्कै हाँसो उठेको थिएन। तर सेनाको डरले जबर्जस्ती मुख फट्टयाएर ङिच्च दाँत देखाए।
क्यामरा बोकेको सैनिकले खिचिक्क फोटो खिच्यो।
अक्षर नचिनेका दलबहादुरले सैनिक अधिकारीले जहाँ जहाँ भन्यो, त्यहाँ त्यहाँ दस्तखत गरिदिए।
केही दिनपछि फेरि अर्को हुल सेना घोडा चढेर आयो।
थ्रामपट्टा माग्यो।
दलबहादुरले भने, ‘मैले त थ्रामपट्टा अस्ति नै सेनाको जिम्मा लगाइसकेँ हजुर। यी हेर्नुस् त कागज!’
उनले आफ्नो दस्तखत भएको कागज सेनाको नयाँ अधिकारीलाई देखाए।
नयाँ अधिकारीले कागज हेर्यो र अट्टहास गर्दै हाँस्यो।
भन्यो, ‘तँलाई थाहा छ, यो कागजमा के लेखिएको छ?’
दलबहादुर वाल्ल परे।
उनलाई साँच्चै थाहा थिएन, त्यो कागजमा के लेखिएको छ! उनले त अस्ति आएको सैनिक अधिकारीले भनेजस्तै पैसा बुझेको रसिद होला भन्ठानेका थिए।
नयाँ अधिकारीले एकछिन अट्टहास गरिरह्यो, अनि आफ्नो गोजीबाट त्यस्तै अर्को कागज निकाल्दै भन्यो, ‘यही होइन तैंले दस्तखत गरेको कागज? यी हेर् मसँग पनि छ।’
दलबहादुरले हेरे।
त्यो उनीसँगै भएको कागजको अर्को प्रति थियो।
त्यसपछि नयाँ सैनिक अधिकारीले भन्यो, ‘यो कागजमा तैंले जानीबुझी, राजीखुसी मनले आफ्नो घरजग्गा भुटान सरकारलाई जिम्मा लगाएँ र त्यसबापत् ३१ हजार रूपैयाँ नगद बुझेँ, अबउप्रान्त म भुटानमा बस्ने छैन र देश छाडेर जानेछु भनेर लेखिएको छ।’
‘तेरो दस्तखत होइन यो?’ नयाँ सैनिक अधिकारीले हप्काउँदै सोध्यो।
दलबहादुर खङरङ्ग भए।
त्यसपछि त्यो सैनिक अधिकारीले एउटा फोटो पनि देखायो र भन्यो, ‘यी हेर्, देश छाडेर जान्छु भनेर पैसा बुझेपछि तैंले हाँसी हाँसी फोटो खिचाएको होइन?’
दलबहादुरले फोटो हेरे।
उनी हाँसेका त थिएनन्, तर जबर्जस्ती मुख फट्टयाएर ङिच्च दाँत देखाएकाले फोटोमा हाँसेझैं देखिएका रहेछन्।
‘अब दायाँबायाँ हैन,’ सैनिक अधिकारीले धम्की दियो, ‘रातभरिमा के के पोको पार्नुछ पार्नू, भोलि बिहानसम्म आमाबा, बालबच्चा सब बोकेर गाउँ छाड्नू।’
यति भनेर त्यो सैनिक अधिकारीले घोडाको लगाम तान्यो र पछाडि फर्केर भन्यो, ‘भोलि आउँदा पनि यही गाउँमा भेटिइस् भने बालबच्चासहित जेलमा जाकिन्छस्।’
त्यसपछि त्यो अधिकारी आफूसँगै आएको सैन्य टुकडीका साथ धूलो उडाउँदै फर्कियो।
‘मसँग अर्को विकल्प थिएन,’ दलबहादुर दर्जीले रूँला रूँलाझैं गर्दै हामीसँग भने, ‘हामी भुटानकै मान्छे हौं भनेर प्रमाणित गर्न त्यही एउटा थ्रामपट्टाको भर थियो, त्यही पनि जालीहरूले जाल गरेर हडपे। हामी त घरको न घाटको भयौं।’
सेनाको उर्दीपछि दलबहादुरले त्यो रातभरि चाहिँदो चाहिँदो सामान पोको पारे र भोलिपल्ट घाम नलाग्दै गाउँ छाडे।
‘मेरो जग्गा–जमिन दक्षिण भुटानको भारतीय सीमा नजिकै पर्छ, भारतबाटै हेर्ने हो भने पनि देखिन्छ होला,’ भुटान फिर्तीको माग राखेर शिविरमा बसिरहेका दलबहादुरले भने।
उनका अनुसार भुटानी सेनाले अरू धेरै नेपालीलाई यही उपाय गरेर लखेटेको रहेछ। कतिको थ्रामपट्टा उनलाई जस्तै झुक्याएर खोसेछ, कतिको चाहिँ जानाजान धम्क्याएर लगेछ।
‘उनीहरूले भनेजस्तो खुरूखुरू थ्रामपट्टा जिम्मा लगाएर पैसा बुझ्न र ङिच्च दाँत देखाएर फोटो खिच्न मान्यो भने यातना दिँदैनथ्यो। चुपचाप गाउँ छाडेर निस्कन समय दिन्थ्यो। नभए जेलमा कोचेर खुब पिट्थ्यो। केटाकेटीहरूको बिचल्ली पार्थ्यो। महिलाहरूको शरीर लुट्थ्यो,’ दलबहादुरले भने, ‘धेरै मान्छेले त यातनाको डरले नै आफ्नो थ्रामपट्टा जिम्मा लगाए।’
र, भुटानी नेपालीहरूको निम्ति थ्रामपट्टा जिम्मा लगाउनु भनेको आफ्नो परिचय जिम्मा लगाउनु!
दलबहादुरका अनुसार भुटानमा स्थानीय प्रशासनले जग्गा–जमिन दर्ता गरेर जग्गाधनीलाई एउटा प्रमाणपत्र दिने चलन छ, जसलाई ‘थ्रामपट्टा’ भनिन्छ। नेपालमा जग्गाको लालपुर्जाजस्तै भुटानको थ्रामपट्टामा जग्गाधनीको नाम, जग्गा भएको ठेगाना, क्षेत्रफल र जग्गाको नम्बर खुलाइएको हुन्छ। खेत हो कि, बारी हो कि, घडेरी हो भन्ने पनि थ्रामपट्टामै लेखिएको हुन्छ।
‘भुटानमा जसको जग्गा छ, उसको थ्रामपट्टा छ। जसको थ्रामपट्टा छ, ऊ भुटानी हो,’ दलबहादुरले हामीसँग भने, ‘जसको थ्रामपट्टा छैन, ऊ भुटानी रहन्न। उसको भुटानी हुने हक पनि रहन्न।’
‘हाम्रो थ्रामपट्टा थियो, तर सरकारले खोसेर हामीलाई अनागरिक बनायो। आफ्नै देश छाडेर हिँड्न बाध्य पार्यो।’
दलबहादुरको कुरा सुनेपछि हामीले भुटानीका रूपमा चिनिन थ्रामपट्टाको महत्व कति रहेछ भन्ने बुझ्यौं।
त्यही महत्वले त भुटान सरकारले पहिले दलबहादुरको थ्रामपट्टा खोस्यो, अनि देश पनि खोस्यो।
हुन त थ्रामपट्टा खोस्दै नखोसी देश छाड्न बाध्य पारिएका उदाहरण पनि छन्।
जस्तो — टेकबहादुर मगर।
हामीले बेलडाँगी शिविरको पिपलबोटमुनि बसेर भुटानी शरणार्थीहरूसँग कुरा गरिरहँदा उनी पहिले चुपचाप अर्काको कुरा सुन्दै थिए। अन्तिममा सबैले सकेपछि कक्षाका अनुशासित विद्यार्थीझैं हात उठाए र भने, ‘म पनि आफ्नो कुरा राख्छु है।’
यति भनेर टेकबहादुरले आफ्नो अनुभव सुनाए।
उनी सन् १९९२ मा भुटान छाडेर आउँदा १८ वर्षका थिए। अहिले ४९ वर्ष भए।
उनी भुटानको सर्भाङ गाउँबाट आएका हुन्। उनको थ्रामपट्टा खोसिएको छैन, आफैंसँग छ। तर त्यो बेला गाउँमा सेनाको यस्तो आतंक थियो, थ्रामपट्टा छ भनेर ढुक्क बस्ने अवस्थै नभएको उनी बताउँछन्।
‘सैनिकहरू आएर हाम्रो घर जलाउन थाले। हामीलाई लखेट्न थाले। कुटपिट गरे। कतिलाई त कयौं दिन जेलमा थुनेर यातना दियो। छोरीबेटीलाई घरबाट निस्कनै मुस्किल पर्न थाल्यो,’ उनले भने।
त्यही क्रममा एक दिन उनलाई प्रहरी चौकीबाट बोलावट आयो।
टेकबहादुर डराई डराई चौकी गए। उनलाई आफू पक्राउ परियो भन्ने पक्कापक्की थियो। तर प्रहरीले त्यस दिन उनलाई पक्राउ गरेन। खाली यत्ति भन्यो, ‘तँलाई थुन्न, पिट्न हामीलाई कुनै रहर छैन। त्यसैले दुई दिनभित्र चुपचाप गाउँ छाडेर जानू। दुई दिनभन्दा तीन दिन बसिस् भने तेरो घरमै आएर घिसार्दै ल्याउँछौं।’
त्यस दिन उनले प्रहरीले माग्ला र देखाउँला भनेर थ्रामपट्टासहित आफ्नो भुटानी परिचय खुल्ने सम्पूर्ण कागजपत्र बोकेरै गएका थिए। तर प्रहरीले सिधै धम्की दिएपछि ती कागजपत्र देखाउने उनले हिम्मत गरेनन्।
उनले बुझिसकेका थिए, कागजपत्र देखाएर पनि अब उनको देशनिकाला टर्नेवाला थिएन।
त्यहाँ प्रहरी नै सर्वेसर्वा थियो।
उजुरबाजुर गर्ने ठाउँ थिएन।
त्यसमाथि सिंगो नेपालीभाषी समुदायको ‘सफाया’ भइरहेका बेला टेकबहादुरको उजुरी सुन्ने कसले?
उनको थ्रामपट्टा हेर्ने कसले?
उनलाई देशनिकालाको उर्दीबाट बचाउने कसले?
टेकबहादुर चुपचाप चौकीबाट घर फर्के। परिवारका सबैलाई प्रहरीको धम्की सुनाए। र, अब कुनै उपाय छैन भनेर रातभरिमा गुन्टा कसे।
‘राज्य लागेपछि कागजपत्र हुनुको कुनै अर्थ हुँदैन रहेछ,’ टेकबहादुरले हामीसँग भने, ‘त्यो थ्रामपट्टाले म भुटानी हुँ भनेर त भन्छ, तर भुटानले त्यो थ्रामपट्टा मेरो हो भनेन।’
राज्यले आफैंले दिएको थ्रामपट्टा स्वीकार नगरेपछि टेकबहादुरको थातथलो खोसियो।
राष्ट्रियता खोसियो।
मुलुक खोसियो।
बेलडाँगी शिविर भ्रमणकै क्रममा हाम्रो भेट ८७ वर्षीय नरबहादुर क्षत्रीसँग भयो। उनी आठ जनाको परिवार लिएर सन् १९९० मा नेपाल आएका थिए। अहिले उनको खलक तीन ठाउँमा बाँडिएको छ। एउटा हाँगो उता भुटानतिरै छ। उनीसँगै आएकाहरू चाहिँ जम्मै अमेरिका उडिसके। पहिले उनका छोराछोरी गए, त्यसपछि श्रीमती पनि गइन्। नरबहादुर भने ‘स्वदेश फिर्ती’ भन्दै एक्लै शिविरमा छन्।
‘म एक्लै भए पनि भुटान जान्छु,’ उनले भने, ‘मेरो माटो त्यहीँ छ, मेरो आत्मा त्यहीँ छ।’
नरबहादुरसँग वार्ता गर्दा हामीले एउटा कुरा याद राखेका थियौं — उनी आफ्नो खलकलाई ‘थ्रामपट्टा’ भनेर सम्बोधन गर्थे।
उनी भन्थे, ‘हामी एउटै थ्रामपट्टाका मान्छे, अहिले तीनतिर भएका छौं।’
नरबहादुरको यो शैलीले हामीलाई भुटानीहरूमा थ्रामपट्टाको कति ठूलो महत्व हुँदो रहेछ भन्ने बुझाएको थियो।
हामीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि यसबारे सोधेका थियौं। उनको जवाफ थियो, ‘सन् १९८० दशक सुरू हुँदासम्म भुटानमा नागरिकताको चलनै थिएन। त्यसैले भुटानी हो कि होइन भनेर प्रमाणित गर्ने कागज भनेको उसको जमिनको थ्रामपट्टा नै थियो।’
‘कसैलाई कुनै कारणले आफू भुटानी नागरिक भएको प्रमाणित गर्नुपर्यो भने ऊ सबभन्दा पहिला स्थानीय प्रशासककहाँ जान्थ्यो र आफ्नो थ्रामपट्टा देखाउँथ्यो। उसको थ्रामपट्टा हेरेर प्रशासनको कर्मचारीले भुटानी नागरिक हो भनेर कागज बनाइदिन्थ्यो,’ रिजालले भने, ‘यो नियम नेपाली र डुग्–पा दुवै समुदायका लागि समान थियो।’
नेपाल वा भारत आउजाउ गर्न पनि थ्रामपट्टा देखाएर राहदानी फारम भर्नुपर्ने नियम थियो। फारम भरेपछि सम्बन्धित निकायले पास बनाइदिन्थ्यो। त्यही पास देखाएर नेपाल वा भारत आउजाउ गर्न पाइन्थ्यो। पास देखाउनुपर्ने एक मात्र ठाउँ चाहिँ भुटानी सीमा नै थियो। नेपाल वा भारतमा अन्त कसैले पास खोज्थेन, रिजालले भने, ‘भुटानको सीमानामा प्रवेशद्वार छ। त्यहाँबाट बाहिर निस्किँदा पनि पास देखाएर आफू भुटानी नागरिक भएको प्रमाणित गर्नुपर्थ्यो, भित्र छिर्दा पनि प्रमाणित गर्नुपर्थ्यो।’
उनका अनुसार परिवारमा अंशबन्डा भयो भने छोराका नाममा नयाँ थ्रामपट्टा जारी गर्ने नियम थियो। यसका लागि बाबु र छोरा दुवै स्थानीय प्रशासनमा हाजिर हुन जानुपर्थ्यो। स्थानीय अधिकारीले बाबु र छोरा दुवैलाई ‘छुट्टभिन्न’ हुन लागेको हो कि होइन भनेर सोधपुछ गर्थ्यो। त्यसपछि बाबुले आफ्नो स्वामित्वमा रहेको जग्गाको केही हिस्सा छोराको नाममा सार्नुपर्थ्यो। यसरी जग्गा सारेपछि बल्ल छोराका नाममा नयाँ थ्रामपट्टा जारी गरिन्थ्यो।
‘थ्रामपट्टा भनेको जग्गा भोगचलन गर्ने स्वामित्व मात्र होइन, भुटानी नागरिक हो भनेर चिनाउने परिचयपत्र पनि हो,’ रिजालले भने, ‘आर्थिक गतिविधिमा सहभागी हुन, पढाइलेखाइ गर्न, देशभित्र आउजाउ गर्न र देशबाहिर जाँदा पनि थ्रामपट्टा नभई हुन्थेन।’
नेपालीहरूलाई लखेट्दा भने भुटान सरकारले थ्रामपट्टावालाहरूलाई पनि कुनै भेद गरेन। जसले थ्रामपट्टा देखाएर आफू भुटानी नागरिक हुँ भनी दाबी गर्न खोज्यो, उसको थ्रामपट्टा नै खोसियो। चरम यातना पनि दिइयो।
‘त्यो बेला धेरै नेपाली यातना सहनुपर्ने डरले आफ्नो राष्ट्रियताको परिचय देखाउनधरि हच्किए,’ रिजालले भने।
र, रातारात, चुपचाप देश छाडे।
थ्रामपट्टापछि कुरा गरौं कर प्रणालीको।
हामीले शिविरमा भेटेका शरणार्थीहरूले जुन उत्साहका साथ आफूसँग भएको ‘थ्रामपट्टा’ देखाएका थिए, त्यति नै उत्साहका साथ देखाएका थिए आफूले वर्षौं वर्षदेखि जोगाएर राखेका करका रसिदहरू।
एक जनाले त हामीलाई आफूसँग भएका करका रसिद देखाउन कर गरेर आफ्नो झुपडी नै लगे। हामी उनलाई पछ्याउँदै सानो नागबेली बाटो अघि बढ्यौं। उनको झुपडी निकै भित्र रहेछ।
झुपडीमा पुग्नेबित्तिकै उनले हामीलाई बाहिर आँगनमा ‘बस्दै गर्नुस् है’ भने र आफू हतारहतार भित्र छिरे। बाहिर तीन–चार जना अट्ने लाम्चो बेन्च थियो। हामी त्यही बेन्चमा बस्यौं। भित्रबाट उनले घर्याकघुरूक दराज खोलेको आवाज आयो। प्लास्टिकको झोला खोलेको सर्याकसुरूक आवाज पनि सुनियो।
अलि बेरमा नीलो प्लास्टिकको झोलामा पोको पारेर राखेका केही कागजपत्र उनले देखाउन ल्याए। र, एक–एक कागज ओल्टाइपल्टाइ हाम्रासामु राखे। त्यसमा एउटा त उनको ‘थ्रामपट्टा’ नै थियो। शिविरभित्र विभिन्न शुल्क तिर्दाका रसिदहरू पनि थिए। बसको टिकटदेखि नानीबाबुको स्कुलको शुल्क तिर्दाको रसिदसम्म उनले जोगाएर राखेका रहेछन्।
‘पख्नुस् है, यहीँ छ के म देखाउँछु,’ उनले यति भनेर झुत्रा कागजपत्र फेरि ओल्टाइपल्टाइ पारे।
पन्ना पन्ना पल्टाएपछि तीनवटा पुराना रसिद भेट्टाए। ढुसीले अक्षर जम्मै खाइसकेका रहेछन्। हामीले निकै मिहिनेत गर्दा पनि दुई–चारवटा भन्दा बढ्ता अक्षर बुझिएन। रसिदको सिरानमा अंग्रेजी अक्षरमा ‘भुटान गभर्मेन्ट’ लेखिएको बुझियो। तल रसिदको विवरण उल्लेख हुने भागमा गाई हो कि गोठ हो छुट्टयाउन गाह्रो अक्षर पनि चिनियो। बाँकी केही बुझिएन।
‘यही हो हामीले भुटान सरकारलाई तिरेको करको रसिद,’ उनले भने।
‘यो त अब के गर्नू! केही त बुझिन्न,’ हामीले भन्यौं।
‘भुटानको सम्झना त हुन्छ नि!’ उनले जवाफ दिए।
हुन पनि वर्षौं वर्षअघि तिरेको करको रसिद अब केही कामको छैन। बकाइदा थ्रामपट्टा देखाउँदा त भुटानले आफ्नो नागरिक स्वीकार गरेन भने, अब यी झुत्राझात्रा, अक्षरको रङसमेत उडिसकेका रसिद देखाएर उनीहरूको गुमेको परिचय फिर्ता आउने होइन। तर यिनै झुत्रा कागजले भए पनि भुटानसँग नाता जोडेको छ भन्ने उनीहरूलाई लाग्छ। भुटानबाट आफूसँगै आएका यी कागज उनीहरूलाई आफूजत्तिकै भुटानी लाग्छ। त्यसैले त, एक–एक पन्ना यस्तरी जोगाएर राखेका छन्, मानौं यी पन्नामै उनीहरू भुटानी हुनुको प्रमाण बसेको छ।
शिविरका शरणार्थीसँग भुटानको कर प्रणालीबारे कुरा गर्दा कतिपय बूढापाकाले नेपालीले नगदमा र डुग्–पाहरूले जिन्सीमा कर तिर्नुपर्ने चलन रहेको सुनाए। यो चलन तन्नेरीहरूको सम्झनामा थिएन। बूढापाकाले पनि यसबारे विस्तृतमा बताउन सकेनन्। यति मात्र भने, ‘जुन दिनबाट डुग्–पा र हामी नेपालीहरू दुवैले पैसा (नगद) मा कर तिर्नुपर्ने भयो, हामीले पहिलोपटक बराबरीको अनुभूति गर्यौं। सबैले पैसामै तिर्नुपर्ने भएपछि हामीलाई राहत पनि भयो।’
हामीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग पनि यसबारे सोध्यौं।
‘सन् १९६० दशकसम्म डुग्–पाहरूले राज्यलाई तिर्नुपर्ने कर जिन्सीमा तिर्थे, जबकि नेपालीहरूलाई नगदमा तिर्न अनिवार्य थियो,’ रिजालले भने, ‘नेपालीहरूलाई दक्षिण भुटानको घना जंगल फाँडेर आबादी गर्न छुट्टयाउनुको एउटा प्रयोजन नै खेतीपाती गराएर, आर्थिक गतिविधि बढाएर बढी कर असुल्न पाइन्छ भन्ने हो।’
‘जब बसोबास गराउनुको प्रयोजन नै कर असुल्ने भएपछि नेपालीहरूका निम्ति नगदमा कर तिर्न अनिवार्य गरिनु स्वाभाविक थियो,’ उनले अगाडि भने, ‘बीसौं शताब्दीको मध्यदेखि जब दक्षिण भुटानमा नेपालीहरूको बसाइ तीव्र भयो, त्यही बेलादेखि नेपालीहरूले तिर्ने कर साल–बसाली बढोत्तरी हुँदै गएको पाइन्छ।’
उनका अनुसार परम्परागत वस्तु विनिमय प्रणाली चलनचल्तीमा हुँदासम्म जसले जे काम गर्ने हो, त्यही कामबाट प्राप्त हुने वस्तु राज्यलाई करका रूपमा बुझाउनुपर्थ्यो। कुनै किसानले अन्न उब्जाउँछ भने उसले अन्नमै कर बुझाउँथ्यो। जो कुखुरा पाल्थ्यो, उसले जिउँदो कुखुरा वा अन्डाका रूपमा कर तिर्थ्यो, रिजालले यस्ता केही उदाहरण दिँदै भने, ‘दूधको सट्टा दूध, फलको सट्टा फल; यही पुरानो कर प्रणालीको नियम थियो।’
यसरी कुखुरा, दूध, फल, अन्डा लगायतका वस्तुमा कर तिर्ने नियमले राज्यको भण्डारमा त्यस्ता वस्तुको संकलन त बढ्थ्यो, तर शासन व्यवस्थामा त्यसले कुनै फाइदा गर्दैन थियो। नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा थिम्पुको एउटा उदाहरण दिएका छन्, जहाँ करका रूपमा सबैले आफूले उत्पादन गर्ने फलाम राज्यलाई बुझाउँथे।
सबै करदाताबाट फलाम जम्मा भएपछि राज्यले फलामको त्यो रास के गर्नु!
‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तै राज्यकोषमा फलामको रास त छ, तर विकास निर्माणमा लगानी गर्न रकम नभएपछि, ज्याला दिन रकम नभएपछि, कर्मचारीलाई तलब खुवाउन रकम नभएपछि त्यो फलामको के फल!
पछि नेपालीहरूका हकमा यो व्यवस्था परिवर्तन गरी नगदमा कर असुल्न थालिएको र यसको सुरूआत भारतस्थित अंग्रेज सरकारले उत्पादन गर्ने चाँदीका सिक्काहरूबाट भएको रिजाल बताउँछन्।
जब चाँदीका सिक्कामा कर तिर्ने चलन सुरू भयो, दक्षिण भेगका नेपालीहरू सिक्काको भारी बोकेर भारतको कालिम्पोङमा बस्ने दोर्जी परिवारकहाँ बुझाउन जान थाले। दरबारले दक्षिण भुटानका नेपालीहरूबाट कर असुल्ने जिम्मा भुटानी काजी उर्ग्येन दोर्जी र उनका छोरा सोनाम तोब्गे दोर्जीलाई दिएको थियो। बाबुछोरा दुवै कालिम्पोङमा बस्थे।
‘भुटानमा व्यवस्थित नगद कारोबार सुरू नभइसकेकाले ती सिक्काको व्यवस्थापन कालिम्पोङतिरै गरिन्थ्यो,’ रिजालले भने, ‘प्रत्येक जिल्लामा कर संकलन गर्ने कार्यालय खुलेपछि कालिम्पोङ जाने चलन हट्यो। सन् १९०७ मा उगेन वाङचुक राजा भएपछि भुटानले भारतको कलकत्ता टक्सारबाट आफ्ना लागि छुट्टै सिक्का टंकन पनि गर्न थाल्यो।’ भुटानमा सन् १९७४ पछि मात्र बैंक नोट प्रचलनमा आएको हो।
बेलायती सिक्काका अतिरिक्त नेपालबाट बनाएर लगिएका मुद्रा पनि चलनचल्तीमा रहेको रिजालले सुनाए। त्यसको परिमाण भने थोरै थियो।
भुटानले मल्लकालमै चाँदीका मुद्राहरू काठमाडौंबाट बनाएर लग्ने गरेको इतिहास छ। भुटानमा मल्लकालीन चाँदीका मोहर धेरै पछिसम्म चलनचल्तीमा रहेको इतिहासकार रमेश ढुंगेलले आफ्नो किताबमा उल्लेख गरेका छन्। नेपाली मोहर ‘टंका’ कै प्रभावले भुटानी मुद्रालाई पनि ‘डुल्–टं’ भन्ने गरिएको उनको भनाइ छ। काठमाडौं उपत्यका लगायत मेची र कोसीका व्यापारीले प्राचीन कालदेखि भुटानको व्यापारमा प्रभुत्व जमाएकाले त्यहाँ नेपाली मुद्रा प्रयोग हुनु अस्वाभाविक होइन।
नगद र जिन्सी कर सँगसँगै सरकारी श्रमबाट पनि कर असुलिने गरेको रिजालको भनाइ छ। यो नियम चाहिँ नेपाली र डुग्–पा दुवैलाई बराबर लागू हुन्थ्यो। कुनै सरकारी भवन बनाउनुछ, गुम्बा बनाउनुछ वा बाटो खन्नुछ भने त्यस भेगका जनतालाई ‘सरकारी श्रम’ मा आउन अनिवार्य उर्दी जारी गरिन्थ्यो। उर्दी जारी गर्ने र हरेक घरबाट सरकारी श्रममा मान्छे गएको छ कि छैन भनेर हेर्ने काम स्थानीय मण्डलहरूको हुन्थ्यो।
‘फुन्सोलिङ–थिम्पु सडक खन्दा धेरै नेपाली काम गर्न गएका थिए,’ रिजालले भने, ‘भुटानको हरेक बाटोमा, हरेक गुम्बा र हरेक सरकारी कार्यालयमा नेपालीहरूको पसिना बगेको छ।’
भुटानको तत्कालीन आर्थिक प्रचलनबारे माइकल हटले पनि आफ्नो किताबमा विस्तारपूर्वक लेखेका छन्।
उनका अनुसार बीसौं शताब्दीको मध्यसम्म भुटानको अर्थतन्त्र एकदमै कमजोर थियो। सरकारले रकम अभावको ठूलो समस्या झेलेको थियो। त्यसैले सन् १८६५ मा भुटान र बेलायतीहरूबीच सिन्चुला सन्धि भएपछि भुटानले आसाम र बंगाल डुवर्स क्षेत्रका दुई हजार सात सय वर्गमाइलभन्दा बढी क्षेत्रफलको भूमि अंग्रेजहरूलाई सुम्पेर त्यसबापत् वार्षिक ५० हजार भारतीय रूपैयाँ क्षतिपूर्ति लिन थाल्यो। पछि सन् १९१० मा सन्धि संशोधन गरेर क्षतिपूर्ति रकम दोब्बर पारियो। त्यसको सात वर्षपछि १९१७ मा भुटानले दक्षिणी सीमान्त बजारको पन्ध्र किलोमिटर क्षेत्रसम्म रक्सी बेच्न निषेध गरेबापत् भारतको पश्चिम बंगाल सरकारबाट वार्षिक एक लाख भारतीय रूपैयाँ अनुदान पनि प्राप्त गर्यो।
यस्ता वैदेशिक सहायताबाहेक भुटानसँग आन्तरिक राजस्व आम्दानीको खासै ठूलो स्रोत थिएन। समग्र अर्थतन्त्र नै परम्परागत वस्तु विनिमय प्रणालीमा आधारित थियो। आन्तरिक राजस्व असुली धेरैजसो जिन्सीमा हुन्थ्यो। त्यसैले भुटानसँग नगद मौज्दात मात्र होइन, विभिन्न कार्यमा लगानी गर्न पैसाको समेत अभाव थियो, माइकल लेख्छन्, ‘त्यसैले आम्दानीको उद्देश्य राखेर नै भुटानले दक्षिणी भूमिमा नेपालीहरूको बसाइ प्रवर्द्धन गरेको प्रस्ट हुन्छ।’
डुग्–पाहरूले जिन्सीमा कर तिर्ने छुट पाइरहँदा नेपालीहरूलाई भने नगदमै तिर्न अनिवार्य गरिनुको कारण पनि देशको आर्थिक आम्दानी बढाउनु नै हो भन्ने माइकलको ठहर छ।
‘दक्षिणबाट हुने आम्दानी तीव्र रूपमा बढेको थियो। त्यसैअनुरूप कर लाग्ने वस्तुको सूची पनि लगातार बढाइएको थियो,’ माइकल लेख्छन्, ‘तर उठेको सबै कर राज्यकोषमा जम्मा हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा चाहिँ शंका छ।’
अब हामी दक्षिण भुटान बसाइका क्रममा नेपालीहरूले के–कति कर तिर्थे, त्यो हेरौं।
अंग्रेज सरकारका तर्फबाट भारतमा खटिएका उच्च सैन्य अधिकारी क्याप्टेन विलियम मोरिसले सन् १९३३ मा दक्षिण भुटानको सर्वेक्षण गरेर तयार पारेको प्रतिवेदनमा त्यति बेलाको करको दर पनि उल्लेख छ।
उनका अनुसार चिराङ जिल्लामा प्रत्येक घरले वार्षिक ६ देखि ९ रूपैयाँ कर तिर्नुपर्थ्यो। यो दर घरको पुरूष सदस्य संख्याका आधारमा फरक पर्थ्यो। यसबाहेक गाई, भैंसी, भेडा, कुखुरा लगायतमा पनि २ आनादेखि २ रूपैयाँसम्म कर लाग्थ्यो। कसैले घरमा बन्दुक राखेको छ भने त्यसबापत् वर्षको २ रूपैयाँ कर बुझाउनुपर्थ्यो। धान खेती गरेको जग्गाको कर वार्षिक प्रतिएकड ३ रूपैयाँ थियो। साम्ची जिल्लामा यो दर अझ महँगो थियो। त्यहाँ प्रत्येक घरले वर्षको १० रूपैयाँ कर तिर्नुपर्ने मोरिसको प्रतिवेदनमा छ।
नगद र जिन्सी करको प्रसंग यसअघि गर्जमान गुरूङको अध्यायमा पनि हामीले उल्लेख गरेका थियौं। त्यति बेला राज्य आफैं पैसा नभएर अरूसँग हात फैलाउनुपर्ने अवस्थामा नेपालीहरूलाई मात्र नगद कारोबारको बोझ बोकाइनुले उनीहरू आर्थिक कष्टमा थिए। त्यसमाथि अन्नपातदेखि घरगोठ र गाईभैंसीदेखि भेडाबाख्रासम्मको छुट्टाछुट्टै कर तिर्नुपर्ने र करको दर पनि उच्च हुँदा नेपालीभाषीहरूको ढाड नै भाँचिएको थियो। करको यस्तो विभेदपूर्ण नियमले भुटानी नेपालीहरू असन्तुष्ट भए पनि त्यसबाट भइरहेको नगद आयले दरबार भने सन्तुष्ट थियो।
हामीले शिविरमा भेटेका कतिपय शरणार्थीले भने भुटानमा नगद कारोबार चलनचल्तीमा ल्याउने श्रेय गर्जमान गुरूङलाई दिए। उनीहरूका अनुसार गर्जमान र उनका बुवा दालचन गुरूङले जमिनदारीको अधिकार पाउँदासम्म भुटानमा नगद कारोबार चलनचल्तीमा आइसकेको थिएन। मान्छेहरू धानसँग कुखुरा साट्थे, खसीसँग घीउ। गर्जमानले यो थिति बदल्दै आफ्नो हकभोगमा रहेको दक्षिणी सीमान्त भूमिबाट नगद कारोबारको थालनी गरेको उनीहरूको दाबी थियो।
यो दाबी सही पनि हुनसक्छ, अतिरञ्जित पनि।
गर्जमानले नयाँ थिति बसाल्न स्वयं नगद कारोबार सुरू गरेका पनि हुनसक्छन्, वा राज्यले नै आफ्नो आर्थिक उपार्जनका लागि दक्षिण भुटानलाई नगदमा कारोबार गर्न र नगदमै कर तिर्न बाध्य पारेको पनि हुनसक्छ!
दुवै अवस्थामा एउटा निष्कर्ष चाहिँ के निस्किन्छ भने, जुन बेला डुग्–पाहरू परम्परागत जिन्सीमा कारोबार गर्दै थिए, धानसँग कुखुरा साट्दै थिए; त्यो बेला दक्षिण भुटानका नेपालीहरूले भने नगद कारोबार सुरू गरिसकेका थिए। वा, उनीहरूलाई नगद कारोबार गर्न बाध्य पारिएको थियो।
यसै आधारमा पनि भुटानको अर्थतन्त्रलाई आधुनिकीकरण गर्नमा नेपालीहरूको बाहुल्य रहेको दक्षिण भेगको हात महत्वपूर्ण छ भन्ने पुष्टि हुन्छ। शिविरका शरणार्थीहरू यसको ठूलो श्रय गर्जमान गुरूङलाई नै दिन्छन्।
उनै गर्जमान, जो पारो दरबारबाट कहिल्यै फिरेनन्।
भैरूपाले जसको सास र लास दुवै देख्न पाइनन्।
अध्याय तेह्र
महसुर क्षत्री — भुटानका पहिलो सहिद
उनी महसुर थिए, त्यसैले उनको नाम महसुर रह्यो।
या,
उनको नामै महसुर थियो, त्यसैले उनी महसुर भए।
यसको ठ्याक्कै जवाफ हामीलाई थाहा छैन।
हामीलाई यत्ति थाहा छ, महसुर क्षत्री भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका एक योद्धा थिए।
यो आन्दोलनको सुरूआत सन् १९४७ (विक्रम सम्बत् २००४ साल) तिर भएको थियो।
त्यो समय दक्षिण एसियामै क्रान्तिको उफान मच्चिएको थियो। भारतीयहरू करिब सय वर्षको बेलायती उपनिवेशबाट मुक्त हुन ‘अंग्रेजों, भारत छोडो’ को नारा घन्काउँदै थिए। यता नेपालमा पनि एक सय चार वर्षीय जहानियाँ राणा शासन फालेर प्रजातन्त्र ल्याउन क्रान्तिको बिगुल घन्किँदै थियो। कुनै एक व्यक्ति, वंश, खलक वा विदेशी साम्राज्यको हुकुमत रहेसम्म जनताले मौलिक हक पाउँदैनन्, स्वतन्त्रता सुनिश्चित हुँदैन र देशको समृद्धि र विकास पनि हुन सक्दैन भन्ने आधुनिक चेतनाले भारत र नेपालका जनतालाई प्रजातान्त्रिक लडाइँमा होमिन उत्प्रेरित गरेको थियो।
छिमेकी देशहरूमा जागृत स्वतन्त्रताको चेतले केही भुटानी नेपालीहरूको पनि अन्तरआत्मा हल्लाइदियो।
दक्षिण भुटानको घना जंगल–पाखा फाँडेर आबादी गरेका र मुलुकको आर्थिक उपार्जनमा योगदान गर्दै आएका भुटानी नेपालीहरू आफूमाथि राज्यबाट विभेद गरिएको भन्दै असन्तुष्ट थिए। डुग्–पा भुटानीहरूले जिन्सीमा कर तिर्ने छुट पाइरहँदा पनि आफूलाई नगदमै तिर्न बाध्य पारिएको उनीहरूको गुनासो थियो। करका दर उच्च रहेको र अन्नपातदेखि घरगोठ, गाईभैंसीदेखि भेडाबाख्रासम्मको छुट्टाछुट्टै कर तिर्नुपर्ने नियमले ढाड भाँचेको उनीहरू महसुस गर्दै थिए।
सरकारी श्रमको प्रावधान पनि नेपाली भुटानीहरूका लागि बढी नै कडिकडाउ थियो। डुग्–पाहरूलाई श्रममा नजान जति छुट थियो, नेपालीहरूलाई थिएन। प्रत्येक घरधुरीबाट वर्षको कम्तिमा १५ दिन सरकारी काममा जानैपर्ने नियम थियो। जो जाँदैन, उसलाई अनिवार्य जरिवाना तिराइन्थ्यो; त्यो पनि नगदमा। भुटान सरकारले नै पैसा नभएर अरूसँग हात फैलाइरहेको त्यो समयकालमा नेपालीहरूलाई मात्र नगदको बोझ बोकाइनुले उनीहरू आर्थिक कष्टमा थिए र भुसको आगोझैं भित्रभित्रै सल्किँदै थिए। त्यति बेला भुटानी नेपालीहरूको निम्ति लागू गरिएको करका दर, सरकारी श्रम लगायतका आर्थिक व्यवहारबारे हामीले अघिल्लो अध्यायमा चर्चा गरिसकेका छौं।
आर्थिक विभेदका अतिरिक्त भुटानमा राजनीतिक अधिकार पनि शून्य थियो। पहिले धर्मराजा र पछि वाङचुक वंशको एकतन्त्रीय शासनमा जनताले आधारभूत मौलिक हकहरू पाएका थिएनन्। हुन त त्यही धर्मराजाको शासनले नेपालीहरूका लागि गाँस, बास र कपासको बन्दोबस्त गर्यो, तर मान्छेलाई गाँस, बास र कपाससँगै निर्धक्क सास फेर्ने जुन माहोल चाहिन्छ, त्यो चाहिँ भुटानमा थिएन।
र, अर्को कुरा, गर्जमान गुरूङको हत्याले दक्षिण भुटानको शान्त तलाउमा कंकड उछालेजस्तो तरंग उरालेको थियो।
यी सब घटनाक्रमबीच दक्षिण भुटानको दागाना जिल्लाका दुई जना मण्डल जेसी गुरूङ र एसबी गुरूङ भुटानको सामाजिक तथा राजनीतिक परिवर्तनका लागि मद्दत माग्न उत्तरपूर्वी भारतमा क्रियाशील अखिल भारत गोरखा लिगको सम्पर्कमा पुगे।
गोरखा लिगको स्थापना सन् १९२४ मा भारतको देहरादूनमा भएको थियो। भारतमा अंग्रेज साम्राज्यविरूद्ध आन्दोलन चलिरहँदा गोरखा लिगले नेपाली मूलका बासिन्दालाई संगठित गर्ने र उनीहरूको हक–अधिकारका पक्षमा वकालत गर्ने काम गरेको थियो। गर्जमान गुरूङ पनि स्थापनाकालतिर थोरै समय त्यसमा आबद्ध थिए भनिन्छ।
उत्तरपूर्वी भारतका सिक्किम, आसाम सबैतिर प्रभाव फैलाएको गोरखा लिगको मद्दतले दक्षिण भुटानमा पहिलोपटक सामाजिक र राजनीतिक अधिकारको नारा गुञ्जियो।
यो आन्दोलनलाई दक्षिण भुटानीहरूले नाम दिएका थिए — जय गोर्खा।
यति बेलासम्म भुटान दरबार सतर्क र सक्रिय भइसकेको थियो। दरबारले दक्षिण भुटानको हर्ताकर्ता बनाएर कालिम्पोङमा राखेको दोर्जी परिवारलाई जसरी भए पनि आन्दोलन दबाउने हुकुम दियो। दक्षिण भुटानको मामिला हेर्ने जिम्मेवारीसहित नियुक्त गरिएका सोनाम तोब्गे दोर्जीका जेठा छोरा जिग्मे पाल्देन दोर्जीले आन्दोलनमा संलग्न भुटानी नेपालीहरू एक–एकलाई आफ्नो दरबार बोलाएर केरकार गरे।
थर्काए, धम्की दिए।
त्यही क्रममा जुन दिन भुटानी नेपालीहरू दक्षिणी सीमान्त चिराङ जिल्लाको दागापेलामा ‘जय गोर्खा’ को नारा लगाउँदै थिए, त्यही बेला भुटानी सुरक्षा फौजले धरपकड गर्यो।
शान्त आन्दोलनमा घारघुर भयो, घम्साघम्सी मच्चियो।
भुटानी प्रहरीले क्रूरतापूर्वक आन्दोलन दबाउँदा थुप्रै आन्दोलनकारी घाइते भए, थुप्रैको ज्यान गयो। कतिलाई बेपत्ता पारियो भने कतिलाई सूचनासम्म नदिई बन्दी बनाइयो।
त्यही ‘जय गोर्खा’ आन्दोलनमा होमिएका कार्यकर्ता थिए, महसुर क्षत्री।
दक्षिण भुटानको सुन्तले गाउँ, लप्सीबोटेका महसुर क्षत्री भुटानी काजी जिग्मे पाल्देन दोर्जीकै एक कामदार थिए पनि भनिन्छ। आफ्नै कामदार भुटानी राज्यसत्ताविरूद्ध लागेको दोर्जीलाई सह्य भएन। त्यसैले उनलाई पक्राउ गर्न प्रहरीले धुइँपत्ताल खोजी गर्न थाल्यो।
आफूलाई पक्रिन प्रहरीले खोजतलास गरिरहेको छ भन्ने थाहा पाएपछि महसुर क्षत्री लुकिछिपी लामीडाँडाको हर्राबोटे गाउँ पुगे। त्यहाँ उनको भिनाजु पर्ने एक व्यक्तिको घर थियो।
महसुरले प्रहरीबाट बच्न भिनाजुसँग आश्रय मागे र भने, ‘मलाई आज एक रात तपाईंकहाँ बास बस्न दिनुहोस्। म भोलि बिहानै यहाँबाट निस्किन्छु।’
भिनाजु पर्ने ती व्यक्तिले महसुरलाई सान्त्वना दिँदै भने, ‘तिमी जति दिन मन लाग्छ, त्यति दिन बस। तिमीले यहाँ कुनै सुर्ता मान्नुपर्दैन।’
भिनाजुको यस्तो कुरा सुनेर महसुर ढुक्क भए।
उनले त्यो रात भिनाजुकै घरमा खानपिन गरे। राति भिनाजुले धान राख्ने धनसारमा महसुरलाई सुत्ने व्यवस्था मिलाइदिए र बाहिरबाट आग्लो लगाइदिए।
त्यो रातभर महसुर राम्ररी निदाउन सकेनन्। आँखा निद्राले भारी थियो, तर कान यति सतर्क थिए, बाहिरबाट छिसिक्क आवाज आए पनि उनी हड्बडाउँदै उठ्थे।
उनको हालत त्यो पन्छीको जस्तो थियो, जसलाई लुछ्न चिलहरू आकाशमा मडारिरहेका छन्। अलिकति पनि ध्यान भंग भयो भने ती चिलहरू बिजुली गतिमा तल आएर उनलाई च्याप्प समातेर भुर्रर उड्न सक्थे। त्यसैले निद्राले जतिसुकै क्लान्त भए पनि उनी आफ्ना कान चनाखो पारेर बिछ्यौनामा पल्टेका थिए।
राति सायद दुई बजेको थियो। महसुरलाई बाहिर केही सल्बलाएजस्तो भान भयो। उनको मुटु फुलेर आयो। उनी बिछ्यौनाबाट बिस्तारै उठे र झ्याल नजिक गए।
झ्यालका खापा बन्द थिए। उनले बन्द खापा थोरै उघारे र दुई खापाको बीचबाट बाहिर चियाए।
रात चकमन्न थियो।
उनले चारैतिर आँखा घुमाए।
झ्यालको ठ्याक्कै मुनि दाउराको भारी थुपारिएको थियो। अलि पर बाख्राको खोर थियो। तारजालीले बारेको खोरमा चारवटा बाख्रा सायद मस्त निद्रामा थिए। किनभने, त्यो बेला खोरबाट साइँसुइँ आवाज केही आइरहेको थिएन।
खोरबाट दस कदम दुरीमा तुलसीको मठ थियो। त्यहाँबाट पाँच कदम दुरीमा भिनाजुको घरको पिँढी सुरू हुन्थ्यो। पिँढीको खाँबोमा मोटो डोरी झुन्ड्याएर पिङ बनाइएको थियो। सायद भिनाजुले अघिल्लो दसैं बेला केटाकेटीलाई खेल्न भनेर बनाइदिएको पिङ अहिलेसम्म नझिकी राखेका होलान्!
यता बाख्राको खोरको आडैमा जुठेल्नु थियो र जुठेल्नुको छेउमा सुन्तलाको बोट। सुन्तलाको बोटभन्दा एक कान्लामुनि मकैबारी थियो।
जूनको उज्यालोमा महसुरले देखे — मकैका केही बोट सुस्तरी हल्लिरहेका थिए।
त्यो हावाले हल्लाएको होइन भन्ने बुझ्न महसुरलाई कत्ति बेर लागेन। त्यस्तरी बोटै हल्लाउने गरी हावा चलेको भए बारीका जम्मै बोट हल्लिरहेका हुन्थे। तर त्यो बेला त्यही एक ठाउँका बोट मात्र फिरफिर हल्लिरहेका थिए। हावाको स्याइँय्य आवाज पनि सुनिएको थिएन।
महसुरलाई मकैबारीमा कोही लुकेर बसिरहेको छ भन्ने शंका लाग्यो।
मकैबारीमा लुकेको कसैको जोडी आँखाले धनसारको झ्यालबाट चियाइरहेको आफ्नो जोडी आँखाको चियो गरिरहेको सम्झेर महसुरको आँत चिसो भयो।
उनले बिस्तारै खापा बन्द गरे, बिछ्यौना छेउमा राखेको मैलो झोला टिपे र जुत्ताको तुना कसेर ढोकातिर बढे।
ढोका बाहिरबाट बन्द थियो। भिनाजुले आफूलाई धनसारमा हुलेर आग्लो लगाइदिएका थिए भन्ने त उनले भुसुक्कै बिर्सेछन्!
अब महसुरको अगाडि एउटै उपाय थियो — झ्यालबाट हाम्फालेर कुलेलम ठोक्ने।
उनी फेरि झ्याल नजिक आए। खापा बिस्तारै खोले। बारीतिर हेरे।
मकैका बोट अहिले पनि सुस्तरी हल्लिरहेकै थिए।
त्यही बेला मकैबारीमा एक जना मान्छेको छाया सल्बलाइरहेको उनले देखे। हो न हो त्यो आफूलाई पक्रिन आएको भुटानी प्रहरी नै हो भन्ने उनलाई लाग्यो। उनी डरले झ्यालबाट हाम फाल्न तम्तयार भए।
जसै झ्यालबाट आधा जीउ बाहिर निकालेका थिए, उनको मनमा बिजुली चम्केजस्तो फ्याट्ट एउटा विचार आयो।
उनले सोचे — मकैबारीमा लुकेर बसेको त्यो मान्छेले अहिलेसम्म मलाई देखेको छ कि छैन थाहा छैन, तर झ्यालबाट हाम फालेँ भने उसले पक्कै मलाई देख्ने छ!
उनले यो पनि सोचे — मकैबारीमा लुकेर बसेको त्यो मान्छे एक्लै छ कि ऊसँग अरू पनि कोही छ! एक्लै छ भने त म भिडुँला, तर अरू पनि छ भने मलाई एकैछिनमा करप्प समातेर पाता फर्काइहाल्नेछ! त्यसपछि त म उम्किने बाटै हुँदैन!
यति कुरा मनमा आएपछि महसुरले झ्यालबाट हाम फाल्ने विचार त्यागिदिए।
उनले बाहिर निकालिसकेको आधा ज्यान भित्र हुले र खापा ढप्काएर बीचको कापबाट मकैबारीतिर एकटक नियाल्न थाले।
अलि बेरमा मकैबारीभित्र सल्बलाइरहेको छाया फुत्त बाहिर निस्क्यो। अँध्यारोमा फ्याट्टै खुट्टयाउन नसके पनि उनलाई त्यो छाया आफ्नै भिनाजुको हो कि भन्ने लाग्यो।
उनले घोरिएर हेरे।
छाया अलिकति नजिक आइपुगेपछि उनलाई त्यो भिनाजु नै हो भन्ने पक्का भयो।
भिनाजु मकैबारीबाट निस्केर बाख्राको खोर हुँदै घरको आँगनसम्म आए र तुलसीको मठ नाघेर सुस्तरी घरको पिँढीतिर बढे। उनी पिसाब फेर्न मकैबारीभित्र पसेका होलान् भन्ने महसुरलाई लाग्यो!
भिनाजु घरको पिँढीबाट भित्र पसेपछि महसुर ढुक्क भए।
घाँटीमा अड्केको सास उनले भित्रैसम्म ताने र मनको डरलाई भित्रैदेखि खिचेर बाहिर फाले।
लामो सास तान्ने र लामो सास फाल्ने क्रम दुई–तीनचोटि नै दोहोरियो।
यसले महसुरको उथलपुथल दिमाग शान्त भयो, तर मुटु अझै पनि खरायोझैं बुर्लुकबुर्लुक उफ्रिरहेकै थियो।
उनले दुई–चारवटा कपडा बोकेको थोत्रो र मैलो झोला छातीमा बेस्कन च्यापे, मानौं बुर्लुकबुर्लुक उफ्रिरहेको मुटुलाई छातीभित्रै अँठ्याएर राख्न खोज्दै छन्!
मुटुको रेल–रफ्तार समेट्ने कोसिस गर्दै उनी थोत्रो र मैलो झोला काँधमै भिरेर बिछ्यौनामा कोल्टो परेर पल्टे।
त्यो बेला महसुरको अवस्था ठ्याक्कै त्यो नदीको जस्तो थियो, जुन बर्खेबाढी सेलाएपछि शान्त हुने कोसिस गर्दैछ।
दिनभरिको हिँडाइ, प्रहरीको डर र भर्खरै छातीभित्र मच्चिएको अफरातफरीले महसुरलाई यति आलसतालस पारेछ, उनी बिछ्यौनामा कोल्टो पल्टिनासाथ झपक्क निदाइहाले। मन मनमा त निदाउँदिनँ भनेर निधो गरेकै थिए, तर आँखाले उनलाई साथ दिएन।
जसै आँखा झप्प भयो, धनसारको दलिनमा झुन्डिरहेको कालो सर्प महसुरको छातीमा फ्यात्त खस्यो!
महसुरको सातोपुत्लो उड्यो।
असिनपसिन हुँदै आँखा पिर्लिक्क खोल्दा उनले आफ्नो छातीमाथि छुचुन्द्रो उफ्रिरहेको देखे।
उनी हडबडाउँदै बिछ्यौनाबाट जुरूक्कै उठे।
छुचुन्द्रो महसुरको छातीबाट खसेर भुइँमा बजारियो।
धान खान आएको छुचुन्द्रो चोट खाएर चुइँचुइँ गर्दै भित्ताको कुन दुलोमा पस्यो, महसुरले पत्तै पाएनन्।
उनले चारैतिर आँखा डुलाए। सायद उनी भर्खरै दलिनबाट खसेको कालो सर्प खोज्दै थिए।
तर सपनामा देखेको कालो सर्प सपनामै बिलाइसकेको थियो!
सपना र बिपनाको अलमलबाट होस सम्हालेका मात्र के थिए, बाहिर ग्वारग्वार्ती मान्छे दौडेको आवाज उनको कानमा ठोक्कियो।
उनले फेरि झ्यालका खापाबाट बाहिर चियाए।
यसपालि न मकैका बोट हल्लिरहेका थिए, न मान्छेको छाया सल्बलाइरहेको थियो।
झिसमिसे उज्यालोमा महसुरले देखे — उनलाई पक्रिन भनेर पछ्याउँदै आएका भुटानी प्रहरीहरूले धनसारलाई चारैतिरबाट घेरा हालिसकेका थिए।
उनले यो पनि देखे — सुन्तलाको बोटभन्दा एक कान्लामुनिको मकैबारीमा मकैका बोटहरू लठपत्र ढलेका थिए।
उनले भिनाजुको घरतिर हेरे। त्यहाँ चालचुल केही थिएन।
यत्ति देखेपछि महसुरको दिमाग छ्यांग भयो। आफूलाई धनसारमा हुलेर बाहिरबाट आग्लो लगाउनु, राति मकैबारीबाट सुनिएको त्यो सरसराहट, भिनाजुको छाया र अहिले एकाबिहानै प्रहरीको घेराबन्दी — यी चार घटना संयोगवश भएका होइनन् भन्ने महसुरले ठम्याइहाले।
उनलाई आफू प्रहरीको फन्दामा परेकोमा त्यति अप्ठ्यारो भएन, जति भिनाजुको दोगलापन सम्झेर भयो।
उनले सपनामा देखेको कालो सर्प सम्झे। त्यो सर्पले सपनाबाट बिपनामा आउँदासम्म कसरी छुचुन्द्रोको रूप धारण गर्यो र कसरी हेर्दाहेर्दै दुलोभित्र मिलिक्कै बिलायो भन्ने सम्झे।
आफूले विश्वास गरेर आश्रय माग्न आएको भिनाजुले त्यसैगरी रूप फेरेर विश्वासघात गरेको अनुभूतिले उनको पेट हुँडलिएर आयो। गोडा बाउँडियो। आँखा टिलपिल टिलपिल भए। शत्रुबाट हार खाएको मान्छेले भन्दा मित्रबाट धोका खाएको मान्छेले आफूलाई बढी निस्सहाय महसुस गर्छ!
शिकारीको गुलेली लागेर ठाउँको ठाउँ ठहरै भएको पन्छीझैं महसुर उभिएको उभियै हल न चल भए।
यसबीच प्रहरीहरू आग्लो खोलेर धनसारभित्र गुटुङटुङ छिरिसकेका थिए। चार जनाले उनलाई करप्प समातिसकेका थिए र दुई जनाले अगाडि र पछाडिबाट लात्तै लात्ताले भकुर्न थालिसकेका थिए।
महसुर प्रहरीको लात्तीले उँधोमुन्टो भुइँमा पछारिए। नाकबाट हुलहुल्ती रगत बग्यो।
प्रहरीले दुई हात समातेर घिसार्दै उनलाई भर्याङबाट तल झारे।
काठको भर्याङमा छाती, पेट, कम्मर र घुँडा पालैपालो ठोक्किँदै उनी मुढा खसेझैं गडङगडङ मुनि आइपुगे।
प्रहरीले त्यहाँबाट पनि घिसार्दै उनलाई घरको आँगनसम्म ल्याइपुर्याए।
महसुरले रगतपच्छे आँखा आधाआधी खोले र वरिपरि नियाले। यति बेलासम्म गाउँभरिका मान्छे जम्मा भइसकेका थिए, तर गाउँलेहरूको हुलमा उनका भिनाजु थिएनन्। भिनाजुको परिवारका पनि त्यहाँ कोही थिएनन्। भिनाजुको घर नै सामसुम्म थियो।
महसुरको आँखाबाट रगत र आँसु एकैचोटि बग्न थाल्यो।
आँसु मिसिएपछि रगत थोरै पातलो र बढी नुनिलो हुँदो रहेछ भन्ने महसुरले जिन्दगीमा पहिलोचोटि चाल पाए!
त्यो बेला प्रहरीको चोटले रगतपच्छे भएका महसुरलाई त सबैले देखे, आफ्नाको चोटले आँसुपच्छे महसुरलाई त्यहाँ कसैले देखेनन्।
घरको आँगनबाट प्रहरीले उनलाई झ्याइँकुटी पार्दै घोडामा चढाए र त्यहाँबाट सिधै लप्सीबोटे जेलमा लगेर बन्दी बनाए।
उनलाई त्यसपछि कति दिन जेलमा थुनियो कसैलाई थाहा छैन।
यति मात्र थाहा छ, महसुरलाई लप्सीबोटे जेलभित्र आफ्नै आँखाले आफ्नै हातगोडाधरि नदेख्ने घनघोर अँध्यारो कालकोठरीमा नेल ठोकेर राखिँदा एकदिन जिग्मे पाल्देन दोर्जी उनलाई धम्क्याउन गएका थिए।
‘ए मसुरे, तँ त खुब भुटानमा प्रजातन्त्र चाहियो भनेर जय गोर्खा भन्दै हिँडेको रैछस्,’ दोर्जीले भनेछन्, ‘के हो तेरो पारा?’
हातखुट्टामा नेल ठोकिएका महसुर जिग्मे पाल्देन दोर्जीका अगाडि महसुर भएर उभिइरहे।
रातभरिको यातनाले लत्रेको टाउको उठाउन नसके पनि, मुखबाट एक शब्द नफुटे पनि महसुरका ओठ चलमलाए।
सायद उनी भन्दै थिए, ‘जय गोर्खा!’
महसुरका ओठ निकै बेर चलमलाइरहे, एकनासले।
दोर्जीले ओठको चलमलाहट पढेर त्यसको भाव पक्रेछन् सायद, किनभने त्यसपछि उनले आँखा राता राता पार्दै महसुरलाई जेलभित्रै रहेको ओखरको बोटमा बाँध्ने आदेश दिए।
चार जना प्रहरीले महसुरलाई दुइटा हात समातेर घिच्याउँदै ओखरको बोटनिर लगे र फलामको साङ्लाले रूखको फेदमा फनफनी कसे।
महसुरको अनुहार सुन्निएको थियो। दुइटै आँखा उघार्नै नमिल्ने गरी फुलेका थिए। जीउका लुगाहरू आधाउधि फाटेका थिए। फाटेका लुगाबाट रगत बगिरहेको आलो घाउ चियाउँदै थियो। उनलाई घिसारेर रूखमा बाँध्न लैजाँदा जीउबाट तपतप चुहिएको रगतले ठाउँ–ठाउँमा भुइँ भिजेको थियो। माटोमा आलो रगतको दाग पछिसम्मै रह्यो।
महसुरलाई तीन घन्टा ओखरको बोटमा बाँधियो।
टन्टलापुर घाममा घाइते महसुर घुँडा भुइँमा धसेर अर्धमुर्छित हालतमा झुन्डिएका थिए।
घुँडा धस्सिएको भुइँमा दुइटा गोलाकार आकृति बनेको थियो। घुँडाबाट चुहिएको रगतले फुस्रो माटो लाल थियो।
ओखरको बोटमा बाँधिँदा महसुरका मुखभरि झिँगा भन्केका थिए। रगत चाट्न आएका झिँगाहरू भुइँभुइँ गर्दै अनुहारभरि छपक्कै बस्दा कालो पोतेझैं देखिएको थियो।
बेलाबेला उनका ओठ चलमलाउँथे। ओठ चलमलाउँदा अनुहारभरि भनभनाएका झिँगा भुर्रर उड्थे। अरू बेला भइदिएको भए त्यस्तरी झिँगा भनभनाउँदा काउकुती लागेर सहनै गाह्रो पर्थ्यो। यति बेला भने घाउ नै घाउले अनुहारको छाला यति अचेत भइसकेको थियो, झिँगा र हावाको झोँकाबीच फरक गर्ने चेतना पनि उनमा थिएन।
यसबीच जिग्मे पाल्देन दोर्जीले सुरक्षाकर्मीहरूसँग खासखुस गरे।
लाग्थ्यो, त्यहाँ महसुरको जीवन–मरणको फैसला हुँदैछ।
दोर्जीले जेलका सुरक्षाकर्मीहरूलाई केही आदेश दिए र आफू घोडा चढेर त्यहाँबाट निस्के।
घोडाको लगाम खिच्नुअघि उनले ओखरको बोटमा बाँधेर राखिएका महसुरतिर क्रूर नजरले हेरेका थिए। त्यो बेला महसुरको आँखा पनि दोर्जीतिरै सोझिएको थियो। रगतले लतपत र पीडाले लोलाएका आँखाले हेर्दा सायद उनले दोर्जीलाई धमिलो धमिलो र लाल लाल देखे होलान्।
निमेषभरका लागि दुवैका आँखा जुधे।
दोर्जीले एक्लै बुदबुदाउँदै महसुरलाई धिक्कारे, महसुरले ओठ चलमलाउँदै ‘जय गोर्खा’ भने।
जिग्मे पाल्देन दोर्जीको आदेशपछि जेलभित्र सुरक्षाकर्मीहरूको हाँपदाँप बढ्यो। एउटा टोली गाउँतिर दौडियो, अर्को टोलीले ओखरको बोटमा बाँधिएको फलामको साङ्ला खोले र महसुरलाई दुई हात समातेर घिसार्दै जेलको आँगनमा ल्याएर पछारे। उनको हात र खुट्टामा बाँधिएको फलामको नेल जस्ताको तस्तै नै थियो। जेलका अन्य कैदीहरू अलि टाढा उभिएर भुइँमा घिटिघिटी गरिरहेका महसुरलाई हेर्दै थिए।
त्यही बेला गाउँतिर दौडिएका सुरक्षाकर्मीहरू फर्किए। उनीहरूका साथमा एउटा अजंगको गोरू थियो।
गोरूलाई केही बेर महसुरकै छेउमा लगेर छाडियो।
परबाट यी सब दृश्य हेरिरहेका कैदीहरूले सोचे — अब यो गोरूले आफ्नो धारिलो सिङले हिर्काएर महसुरको प्राण लिनेछ।
तर त्यहाँ त्यस्तो केही भएन।
गोरूले महसुरमाथि हमला गरेन। ऊ केही बेर महसुरको वरिपरि घुम्यो अनि अलि पर गएर भुइँमा टुक्रुक्क बस्यो र उघ्राउन थाल्यो।
एक घन्टापछि काँधमा बन्दुक भिरेका प्रहरीहरूको एउटा टुकडी छाउनीबाट निस्केर जेलको आँगनमा आयो। तीमध्ये एक जना गोरूको नजिक गयो र उसको घाँटीमा बाँधिएको दाम्लो समातेर तान्यो। दाम्लोको बलले गोरू भुइँबाट जुरूक्क उठ्यो र प्रहरीको पछि लाग्यो।
चार जना प्रहरीले चाहिँ हातखुट्टामा फलामको नेल कसिएको महसुरलाई घिसार्दै जेलको द्वारसम्म लगे। द्वारमा एउटा घोडा थियो। ती प्रहरीले महसुरको अर्धमुर्छित शरीरलाई घोडाको ढाडमाथि चढाए।
त्यसपछि बन्दुकधारी सुरक्षाकर्मीहरूको एउटा समूह अगाडि बढ्यो। त्यसको ठ्याक्कै पछाडि गोरूको दाम्लो समातिरहेको प्रहरी थियो भने उसको पछाडि महसुरको अर्धमुर्छित शरीर बोकेको घोडालाई एक जना प्रहरीले डोर्याउँदै थियो। घोडाको चालले थर्किएर महसुरको अनुहारमा रगत चाटिरहेका झिँगाहरू भुरभुर उड्दै थिए। यी सबका पछाडि बन्दुकधारी सुरक्षाकर्मीहरूको अर्को जत्था थियो।
र, ती सबलाई पछ्याउँदै थिए जेलबाहिर कुरिरहेका गाउँलेहरू, जो अश्रुधारा बगाउँदै महसुरलाई हेर्न आएका थिए।
महसुरलाई कहाँ लगिँदैछ, के सजाय दिइँदैछ, त्यसबारे उनीहरू कसैलाई अत्तोपत्तो थिएन।
त्यति बेला घाम पश्चिम डाँडामाथि पुगेको थियो। अस्ताउँदो घामको किरणले आकाश सुनौलो देखिन्थ्यो। बादलको बाक्लो टुक्राले बेलाबेला घामलाई सर्लक्क ढाक्थ्यो। फेरि एकैछिनमा बादलको छाती चिरेर घामको किरण टिलिक्क टल्किन्थ्यो।
सुरक्षाकर्मीहरूले पौने घन्टाजति जंगलको बाटो हिँडेर गोरू र महसुरलाई सुनकोसी नदीको किनारमा पुर्याए।
त्यति बेला सुनकोसी नदी कति गड्गडाउँदै थियो थाहा छैन, तर दक्षिण भुटानका नेपालीहरूमाथि ठूलो गडबडको लक्षण देखिँदै थियो।
नदी किनार पुगेपछि भुटानी प्रहरीहरूले आफूसँगै ल्याएको चमचमाउँदो खुँडा झिके र त्यहीँको एउटा ठूलो ढुंगामा रेट्दै खुँडामा धार लगाउन थाले।
यो देखेर गाउँलेहरूको सास हुलुक्कै भएर आयो।
अब यही खुँडाले महसुरको घाँटी रेटिने भयो भनेर उनीहरू सबै तर्सिए।
तर त्यहाँ त्यस्तो केही भएन।
ती सुरक्षाकर्मीहरूले चमचमाउँदो खुँडामा धार त लगाए, तर त्यसले महसुरको घाँटी रेटेनन्।
उनीहरूले बरू महसुरलाई घोडाको ढाडबाट झिकेर नदी किनार बालुवामाथि ढलाए। महसुरको छाती सुस्तरी तलमाथि गर्दै थियो, तर जीउमा हलचल केही थिएन।
त्यसपछि उनीहरूले गाउँबाट ल्याएको अजंगको गोरूलाई दाम्लोले तानेर नदी किनारमा लगे। एक जनाले दाम्लो समातिरह्यो, चार जनाले गोरूका चारवटा खुट्टा च्याप्प समाते।
एक जना अलि मोटोघाटो प्रहरी खुँडा हातमा लिएर अगाडि बढ्यो।
उसले दुवै हातले खुँडा चरप्प समात्यो। खुँडालाई गोरूको घाँटीसम्म लैजाँदै, त्यहाँबाट माथि उठाउँदै तीनचोटि निशाना साँध्यो।
चौथोचोटि गोरूको घाँटीसम्म पुगेको खुँडा माथि उठेन।
उसले एकै मारमा गोरूको गर्दन छिनाल्यो।
छिनेको गर्दनबाट छुटेको रगतको फोहोराले सुनकोसीको पानी लाल भयो।
नदी किनारको बालुवामाथि एकापट्टि गोरूको टाउको बल उफ्रेझैं उफ्रँदै थियो, अर्कोपट्टि गोरूको ज्यान चार खुट्टा फट्याकफट्याक फालेर फड्फडाउँदै थियो।
अलि बेरमा टाउको उफ्रिन छाड्यो, गोरूको ज्यान पनि फड्फडाउन बन्द भयो।
गाउँलेहरू यी सब दृश्य सास थामेर हेर्दै थिए।
सबैलाई भुटानी प्रहरीहरूले अब के गर्लान् भन्ने कौतूहल थियो।
प्रहरीले त्यसपछि गोरूको छाला काढे, रगताम्मे छालाको धोक्रो बनाए र महसुरलाई त्यही रगताम्मे धोक्रोभित्र कोचे।
जिउँदै।
यसरी छालाको धोक्रोभित्र कोच्नुअघि महसुरको पेटमा ठुल्ठूला ढुंगा बाँधिएको थियो। उनलाई ढुंगासहित छालाको धोक्रोभित्र कोचेर मोटो डोरीले धोक्रोको मुख टम्म सिलाइयो। अनि पाँच–छ जना प्रहरीले छालाको धोक्रो र महसुरलाई छ–सातचोटि झ्याइँकुटी पार्दै सुनकोसी नदीमा मिल्काइदिए।
जिउँदै।
गोरूको छालाको धोक्रो सुनकोसी नदीको भेलमा झ्वाम्म खस्यो।
त्यो झ्वाम्म आवाजबीच गाउँलेहरूले छाडेको लामो सुस्केरा दबियो।
नदीको सतहमा उर्लिएको गोलो गोलो छालको लहर पर परसम्म हुत्तिँदै थियो। भुटानी प्रहरीहरूले पानीमा डुबेको छालाको धोक्रोलाई निकै बेरसम्म पहरा दिइरहे। जब पानीका फोकाहरू फुकफुक उम्लिन बन्द भयो, उनीहरूले गोरूको टाउको र जीउ पनि महसुरलाई मिल्काएझैं झ्याइँकुटी पार्दै सुनकोसी नदीमा मिल्काइदिए।
झ्वाम्म।
महसुर क्षत्री भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका पहिलो सहिद भए।
यो सन् १९५२ मार्च ७, अर्थात् विक्रम सम्बत् २००८ फागुन २४ गते शुक्रबारको घटना हो।
त्यस दिन महसुर क्षत्रीको हत्या सबैको निम्ति पाठ बनोस् भनेर भुटान सरकारले जानाजान सयौं गाउँलेलाई प्रत्यक्षदर्शी बनाएको टेकनाथ रिजालको भनाइ छ। यहाँसम्म कि, महसुरकी पत्नीलाई समेत गाउँबाट पक्रेर सुनकोसी नदी किनारमा ल्याइएको थियो र उनकै आँखाअगाडि श्रीमानको हत्या गरिएको थियो।
महसुरकी पत्नी यो दृश्य सहन नसकेर मुर्छा परिन्।
गाउँलेहरू पनि सातो गएझैं आँखा झिमिक्क नगरी निकै बेर मूर्तिवत् टोलाइरहे।
रिजालका अनुसार भुटानका पहिलो सहिद महसुर क्षत्रीका सन्तान अहिले पनि जीवित छन्। उनलाई शरण दिएको नाटक गरेर प्रहरीकहाँ सुराकी लगाउने भिनाजुको भने अत्तोपत्तो छैन।
‘महसुरको ज्यान गयो, तर उनी आज पनि भुटानी नेपालीहरूको स्मरणमा जिउँदै छन्। उनको नाम लिँदा भुटानी नेपालीहरूको शिर गर्वले उँचो हुन्छ,’ रिजालले भने, ‘ती भिनाजु भने त्यही दिनबाट मरेतुल्य भए। उनलाई भुटानको नेपाली समाजले एउटा गद्दारका रूपमा सम्झिन्छ।’
महसुर क्षत्रीको प्राण आहुतीले परिवर्तनको उज्यालो त कहिल्यै देख्न पाएन, तर त्यो घटनाले भुटानको राजसंस्था र भुटानको राजनीतिमा केही तरंग भने ल्यायो।
महसुरको हत्यापछि जनतालाई भड्किन नदिन राजा जिग्मे दोर्जी वाङचुकमाथि दबाब पर्यो। उनले हतार हतारमा केही राजनीतिक सुधारका निर्णयहरू गरे।
महसुर मारिएकै वर्ष भुटानमा भूमिसुधार कार्यक्रम लागू गरियो। त्यसको एक वर्षपछि सन् १९५३ मा राजा जिग्मे दोर्जीले भुटानको जनप्रतिनिधिमूलक संसद राज्यसभा गठन गरे, जसलाई स्थानीय जोङ्खा भाषामा ‘शोग्दु’ भनिन्छ। राज्यसभा स्थापनालाई माइकल हटले ‘राजतन्त्र स्थापनायताकै भुटानको सबभन्दा ठूलो आधारभूत सुधार’ भनेका छन्। पछि राज्यसभामा दक्षिण भुटानका नेपाली समुदायको प्रतिनिधित्व पनि सुनिश्चित गरियो।
यति मात्र होइन, राजा जिग्मे दोर्जीले नेपालीहरूको नागरिकताको हक सम्बोधन गर्न सन् १९५८ मा नागरिकता कानुन लागू गरे, जसलाई नागरिकता र राष्ट्रियतासम्बन्धी भुटानको पहिलो कानुन मानिन्छ।
अर्कातिर, ‘जय गोर्खा’ आन्दोलन क्रममा भएको शाही दमनपछि भुटानबाट निर्वासित राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई संगठित हुने प्रेरणा पनि महसुर क्षत्रीको प्राणले नै दिएको दियो। भारतका पश्चिम बंगाल, आसाम लगायत विभिन्न ठाउँमा निर्वासित जीवन बिताइरहेका ती नेता तथा कार्यकर्ताहरूले भुटानमा प्रजातान्त्रिक आन्दोलन गर्न भुटान स्टेट कंग्रेस पार्टी स्थापना गरेका थिए। यो भुटानको पहिलो राजनीतिक दल हो।
भुटान स्टेट कंग्रेस पार्टीकै नेतृत्वमा सन् १९५४ मा सत्याग्रह आन्दोलन भयो, जसमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासहित सात सालको नेपाली क्रान्ति लडेको मुक्तिसेनाका थुप्रै लडाकुहरूले भाग लिएका थिए।
अध्याय चौध
गिरिजाप्रसादले साथ दिएको भुटानको प्रजातान्त्रिक आन्दोलन
जतिखेर महसुर क्षत्रीलाई पक्राउ गरियो, त्यति बेलै भुर गाउँका मण्डल डम्बरसिंह चोक्दाक राई पनि पक्राउ परेका थिए। उनलाई घरबाटै समातेर लगिएको थियो। उनीमाथि भुटान दरबारविरूद्ध गाउँलेहरूलाई भड्काएको आरोप लगाइएको थियो।
उनी जेलबाट भागे भन्ने सुनिन्छ। कहाँ गए कसैलाई थाहा छैन। न कसैले उनको सास देखे, न लास।
महसुरको हत्या, डम्बरसिंह बेपत्ता र भुटानी सुरक्षा फौजको व्यापक धरपकडपछि दक्षिण भुटानका विभिन्न गाउँबाट मान्छेहरू असुरक्षित महसुस गर्दै भागेर भारत छिरे।
‘जय गोर्खा’ आन्दोलनमा लागेका करिब पन्ध्र जना कार्यकर्ता पनि भारतीय भूमिमा निर्वासित जीवन बिताउन थाले।
र, ती सबैको सक्रियतामा जन्मियो, भुटानको पहिलो राजनीतिक संगठन — भुटान स्टेट कंग्रेस पार्टी।
भुटानी शरणार्थीहरूको इतिहासमाथि अध्ययन गरेका डिएनएस ढकाल र क्रिष्टोफर स्ट्रनले आफ्नो किताब ‘भुटानः अ मुभमेन्ट इन एक्जाइल’ मा यसबारे विस्तृत विवरण दिएका छन्। उनीहरूका अनुसार भुटानी सुरक्षा फौजले ‘जय गोर्खा’ आन्दोलन दमन गरेपछि चिराङ गाउँका गणेशप्रसाद शर्मा प्रसाईं भुटानबाट निर्वासित राजनीतिक कार्यकर्ताहरूलाई भेट्न भारत गए। त्यति खेरसम्म निर्वासित भुटानी नेपालीहरू संगठित भइसकेका थिएनन्। गणेशप्रसाद शर्माले नै महसुर क्षत्री लगायत ‘जय गोर्खा’ आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदहरूको स्मरण गराउँदै ती असंगठित कार्यकर्ताहरूको हौसलामा प्राण भरे र भुटानको प्रजातान्त्रिक लडाइँलाई मर्न नदिन राजनीतिक संगठन निर्माणको प्रस्ताव अघि सारे।
गणेशप्रसादको प्रस्तावमा सबैको मत मिल्यो।
महसुरले सहादत पाएको वर्षदिन नबित्दै सन् १९५२ नोभेम्बर ४, अर्थात् विक्रम सम्बत् २००९ कात्तिक १९ गते मंगलबार भारतको आसामस्थित गोलपाडा जिल्लाको पतगाउँमा भुटान स्टेट कंग्रेस पार्टीको औपचारिक घोषणा भयो।
पार्टीका संस्थापक अध्यक्ष थिए, डिबी गुरूङ।
यी डिबी गुरूङ दक्षिण भुटानका सर्वमान्य गर्जमान गुरूङका पनाति हुन्। हजुरबुवालाई पारो दरबार बोलाएर हत्या गरिएपछि नै उनी भुटानी राजसत्ताको विरोधी बनेका थिए र भुटानमा प्रजातन्त्र ल्याउन राजनीतिक आन्दोलन गर्नुपर्ने अभियानमा लागेका थिए।
भुटान स्टेट कंग्रेस पार्टीको प्रथम केन्द्रीय समन्वय समितिमा दलबहादुर क्षत्री र तीलबहादुर गुरूङ उपाध्यक्ष थिए भने गणेशप्रसाद शर्मा प्रसाईं महासचिव र दलमर्दन राई, नन्दलाल शर्मा र डम्बरसिंह सुनुवार सदस्य थिए।
पार्टी गठन भएपछि राजनीतिक मुद्दा लागेर भुटानबाट निर्वासित व्यक्तिहरू जोडिन पुगे। भारतको स्वतन्त्रतापछि पश्चिम बंगाल, सिक्किम, आसाम लगायत ठाउँमा गएर बसोबास गर्न थालेका भुटानी नेपालीहरू पनि पार्टीमा आबद्ध भए। दक्षिण भुटानको विद्वत समूह पनि पार्टीसँग जोडियो, ढकाल र स्ट्रन लेख्छन्, ‘पार्टीको उद्देश्य भुटानी नेपालीहरूलाई करमा सहुलियत, जमिनको स्वामित्व र नागरिकता अधिकार प्रदान गर्नुका साथै भुटानमा मानवअधिकार र प्रजातन्त्र स्थापना गर्ने थियो।’
उनीहरूले आफ्नो राजनीतिक एजेन्डामा भर्खरै अंग्रेज साम्राज्यबाट मुक्त भएको भारतसँग पनि सहयोगको अपेक्षा राखेका थिए। त्यही भएर पार्टी गठनलगत्तै डिबी गुरूङ र गणेशप्रसाद शर्मा प्रसाईं भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न दिल्ली गए।
प्रधानमन्त्री नेहरूसँगको भेटमा भुटानी नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै गुरूङ र प्रसाईंले भुटान स्टेट कंग्रेस पार्टीका तर्फबाट राजनीतिक ज्ञापनपत्र बुझाएका थिए। भुटानको प्रजातान्त्रिक लडाइँमा आफूहरूले भारतबाट सहयोगको अपेक्षा राखेको उनीहरूको भनाइ थियो। भुटानको राजसत्ता चीनसँग नजिक रहेकाले उत्तरी सीमा सुरक्षित राख्ने हो भने भारतले आफ्नो सेना पठाउनुपर्ने जिकिर पनि उनीहरूले गरेको ढकाल र स्ट्रनको किताबमा दाबी गरिएको छ।
नेहरू भने भुटानमा भारतीय सेना पठाउने पक्षमा थिएनन्।
‘भुटान स्टेट कंग्रेस पार्टीले गान्धीजीको बाटो समात्नुपर्छ,’ नेहरूले भने, ‘तपाईंहरू अहिंसात्मक सत्याग्रह आन्दोलनबाट प्रजातन्त्र ल्याउने प्रयास गर्नुहोस्।’
गुरूङ र प्रसाईंसँगको भेटवार्तापछि नेहरूले आफ्ना एक सहायक मन्त्रीलाई भुटानी सीमावर्ति क्षेत्रको अवस्था निरीक्षण गर्न पठाए।
त्यसको केही समयपछि नेहरूले तत्कालीन भुटानी राजा जिग्मे दोर्जी वाङचुक र भुटान स्टेट कंग्रेस पार्टीका प्रतिनिधिहरूलाई नयाँदिल्लीको राजभवनमा त्रिपक्षीय वार्ताका लागि बोलाए। वार्तामा भुटान स्टेट कंग्रेसका तर्फबाट अध्यक्ष डिबी गुरूङ र महासचिव गणेशप्रसाद शर्मा प्रसाईं सहभागी थिए।
‘त्रिपक्षीय वार्तामा गुरूङ र प्रसाईंले नेपाली मूलका भुटानीहरूमाथि भइरहेको विभेद र मौलिक हक हननको विषय उठाए। उनीहरूको कुरा सुनेपछि नेहरूले भुटानी नेपालीहरूमाथि अन्यायपूर्ण व्यवहार नगर्न र प्रजातान्त्रिक सुधारका प्रक्रिया थाल्न राजा जिग्मे दोर्जी वाङचुकलाई सम्झाए,’ ढकाल र स्ट्रनले आफ्नो किताबमा लेखेका छन्, ‘जिग्मे दोर्जीले नेहरूको भनाइमा सहमति जनाउँदै भुटानी नेपालीहरूको अवस्थामा सुधार ल्याउने र प्रजातान्त्रिक प्रक्रिया सुरू गर्ने बचन दिए।’
नयाँदिल्लीमा त्रिपक्षीय वार्ता हुँदा भुटान स्टेट कंग्रेस दक्षिण भुटानमा सत्याग्रह आन्दोलनको तयारी गर्दै थियो। उसले सत्याग्रह आन्दोलनको व्यापक प्रचारप्रसार गरिसकेको थियो। नेपालबाट नेपाली कांग्रेसका केही नेता र सात सालको क्रान्तिमा सहभागी मुक्तिसेनाका लडाकुहरू पनि निम्त्याइएका थिए।
व्यापक प्रचारप्रसार भइसकेकाले राजा र भारतसँगको त्रिपक्षीय वार्ताका बाबजुद भुटान स्टेट कंग्रेसले सत्याग्रहको पूर्वघोषित कार्यक्रम जारी राख्यो। यो सन् १९५४ (२०११ साल) को कुरा हो। त्यति बेला नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला स्वयं भुटानको प्रजातान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सत्याग्रहमा भाग लिन गएका थिए। पत्रकार जगत नेपालले लेखेको गिरिजाप्रसाद कोइरालाको आत्मसंस्मरण ‘आफ्नै कुरा’ मा यसबारे वर्णन गरिएको छ।
किताबमा उल्लेख भएअनुसार त्यो समय गिरिजाप्रसाद नेपाली कांग्रेस मोरङका सभापति थिए। विश्वबन्धु थापाले बिपी कोइराला र सूर्यप्रसाद उपाध्यायकहाँ गएर उक्त पद दाबी गरेछन्। बिपीले पनि गिरिजाप्रसादलाई डाकेर मोरङ कांग्रेसको सभापति विश्वबन्धुलाई बनाइदिन भनेछन्।
बिपीको यस्तो भनाइ सुनेर गिरिजाप्रसादले जवाफ दिएछन्, ‘सान्दाजुले भन्नुहुन्छ भने म छाडिदिन्छु। ऊ निर्विरोध हुन्छ, केही छैन।’
कुरा यतिमै टुंगिएन।
विश्वबन्धुले गिरिजाप्रसादकहाँ आएर भनेछन्, ‘तपाईं मसँग चुनाव लड्नुस् र हार्नुस्। म चुनाव जितेर सभापति हुन्छु। यसो गर्दा मात्र मोरङ कांग्रेसमा मेरो वर्चश्व हुन्छ, नत्र हुँदैन।’
विश्वबन्धुको यो प्रस्ताव गिरिजाप्रसादलाई सह्य भएन।
उनले जवाफ दिए, ‘म जे भए पनि यो कुरा चाहिँ मान्दिनँ।’
गिरिजाप्रसादको यस्तो जवाफ विश्वबन्धुले बिपीलाई सुनाइदिए।
एकदिन सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय लगायत नेताहरू भएको बैठकमा बिपीले गिरिजाप्रसादलाई डाके र भने, ‘तँ चुनाव उठेर हारिदिएको भए के हुन्थ्यो?’
बिपीको कुरा सुनेर गिरिजाप्रसादले झोक्किँदै भने, ‘सान्दाजु, मैले यत्रो दिन काम गरेँ। यदि यस्तो गर्ने भन्नुहुन्छ भने सान्दाजुको उम्मेदवार विश्वबन्धु, मेरो उम्मेदवार कालो कुकुर। ल कसले चुनाव जित्छ हेर्छु म पनि।’
यसैबीच विश्वबन्धुसँगको खटपटले दिक्दार मानेर बसेका गिरिजाप्रसादलाई भुटानका नेताहरू भेट्न आए। उनीहरूले भने, ‘नेपालमा त प्रजातन्त्र आइहाल्यो, अब भुटानमा पनि ल्याउनुपर्यो। यसका लागि तपाईं उतै आएर हामीलाई मद्दत गर्नुपर्यो।’
त्यसपछि गिरिजाप्रसाद भुटानको प्रजातान्त्रिक आन्दोलनमा सघाउन गए भने यता नेपाली कांग्रेस मोरङको सभापति विश्वबन्धु थापा भए।
‘भर्खरै विवाह भएकाले श्रीमती छाडेर जाने मन त थिएन, तर मलाई यति ‘ह्युमिलेसन’ भएको थियो, मैले उनीहरूलाई हुन्छ भनिदिएँ र भुटान जाने निर्णय लिएँ,’ गिरिजाप्रसाद कोइरालाको संस्मरणमा उल्लेख छ।
गिरिजाप्रसादले केही महिना भुटानमै बसेर त्यहाँका नेपालीलाई संगठित गरेको उनका पुराना राजनीतिक सल्लाहकार हरि शर्माले हामीलाई बताएका छन्।
गिरिजाप्रसादले त्यति बेला भुटानको प्रजातान्त्रिक आन्दोलनमा समर्थन र सहयोग गरेको भुटानी दरबारलाई चित्त बुझेको थिएन। उनीहरूले लामो समय त्यसको इख पालेर बसे। राजाको उत्तराधिकारी जन्मेजस्तै रिस र इखको पनि उत्तराधिकारी जन्मिन्छ। धेरै वर्षपछि जब भुटानी शरणार्थी समस्या सुरू भयो र दुई देशबीच चरणबद्ध वार्ता हुन थाल्यो, तब भुटानी राजा जिग्मे सिंघे वाङचुकले आफ्ना बाबु जिग्मे दोर्जीको पालामा भएको घटना सम्झेर गिरिजाप्रसादसँग इख राख्दै वार्ता गर्न इच्छा नदेखाएको शर्माको भनाइ छ।
हरि शर्माले त्यसै सन्दर्भसँग जोडिएको एउटा संस्मरण हामीलाई सुनाए —
शरणार्थी समस्याबारे वार्ताको पहल भइरहेकै बेला भुटानी राजा जिग्मे सिंघे वाङचुकको अन्तर्वार्ता भारतको ‘इलुस्ट्रेटेड विक्ली’ मा छापिएको थियो, जसमा उनले भनेका थिए, ‘म त्यस्तो मान्छेसँग कसरी कुरा गर्छु, जसले भुटानमा प्रतिरोधको बीउ रोप्यो!’
शर्माले भुटानी राजाको आसय बुझेनन्। उनले गिरिजाप्रसादलाई अन्तर्वार्ताको सार सुनाउँदै सोधे, ‘तपाईंसँग भुटानी राजा किन यस्तरी रिसाएको?’
जवाफमा गिरिजाप्रसादले भने, ‘ओहो, कस्तो सम्झेको! कति इखालु मान्छे रहेछन्!’
उनले अगाडि भने, ‘म भुटान स्टेट कंग्रेस पार्टीले आयोजना गरेको सत्याग्रहमा भाग लिन गएको थिएँ। त्यही बेला केही महिना उतै बसेर भुटानी नेपालीहरूलाई संगठित गर्न मद्दत गरेको थिएँ। त्यसैलाई भुटानी राजाले ‘प्रतिरोधको बीउ रोपेको’ भनेका हुन्। अहिलेसम्म सम्झेर बसेका रहेछन्!’
उक्त सत्याग्रह आन्दोलन क्रममा भुटानी सुरक्षा फौजसँग कुनै किसिमको मुठभेड नगर्ने, शान्तिपूर्ण गिरफ्तारी दिने र भुटानी जेलहरू बन्दीले भरिभराउ पार्ने भुटान स्टेट कंग्रेस पार्टीको उद्देश्य थियो। यसका लागि सयौं आन्दोलनकारीको समूह भारतबाट दक्षिण भुटानको सीमातर्फ बढेको थियो, जसको नेतृत्व सात सालको नेपाली क्रान्ति लडेको मुक्तिसेनाका सदस्य पासाङ शेर्पाले गरेको ढकाल र स्ट्रनले आफ्नो किताबमा लेखेका छन्। तीमध्ये थोरै मात्र आन्दोलनकारी सीमाभित्र पस्न पाए।
जब उनीहरू भुटानी सीमाभित्र प्रवेश गरे, सुरूमा सुरक्षा फौजले कुनै अवरोध गरेन। केही समयपछि एकाएक धरपकड सुरू भयो। आन्दोलनकारीहरूमाथि अन्धाधुन्ध गोली चलाइयो। थुप्रैलाई कुटपिट गर्दै पक्राउ गरियो। पासाङ शेर्पा पनि पक्राउ परे। केही आन्दोलनकारी भागेर भारतीय सीमामा छिरे।
‘यो घटनामा २५ जनाको ज्यान गयो,’ ढकाल र स्ट्रन लेख्छन्, ‘१७ जना घाइते भए।’
मृतक र घाइतेहरूको संख्या विवादित छ। किनभने, भुटान स्टेट कंग्रेसले तीन वर्षपछि जारी गरेको पर्चामा चार जनाको मात्र ज्यान गएको भनी उल्लेख गरेको माइकल हटले आफ्नो किताबमा लेखेका छन्।
त्यही सत्याग्रहका सम्बन्धमा गिरिजाप्रसाद कोइरालाको संस्मरणमा यस्तो लेखिएको छ —
‘हामी दुई–तीन सय जना मानिस थियौं। जंगलजस्तो ठाउँ थियो। एकैपटक गोलीको आवाज सुनियो। ड्याङ, ड्याङ, ड्याङ। एकदम चर्को हल्ला भयो। के भयो भनेर रूखको छेउमा छेकिएर हेर्न गएको त उताबाट गोली चलेछ। धेरै प्रदर्शनकारी रगताम्मे भएर आए। कसैलाई कता, कसैलाई कता गोली लागेको थियो। सबै मानिस फर्किए।
‘गोली चलेको दिन यति आतंक भयो, कसैको घरमा बत्ती बलेन, खाना पाकेन। यता भारतका सबैजसो अखबारमा गोली लागेर थुप्रै मानिस मारिए भन्ने खबर छापियो, एकदमै हाइलाइटका साथ। हुन त अखबारमा खबर आएजस्तो धेरै मानिस घाइते भएका र मरेका थिएनन्। तर को को मरे भन्ने समाचारमा नखुलाइएकाले कतै गिरिजा पनि मर्यो कि भन्ने चिन्ता घरमा भएछ।’
यो घटनापछि बिपीले ‘तत्काल नेपाल फर्क’ भनेर गिरिजाप्रसादलाई चिठी पठाए।
गिरिजाप्रसाद मानेनन्।
त्यही बेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको चिठी गिरिजाप्रसादकहाँ आइपुग्यो। नेहरूले पनि ‘तत्काल नेपाल फर्कनू’ भनेर लेखेका थिए।
‘भारतलाई कतै गिरिजा त्यहाँ गएर ‘ग्रेटर नेपाल’ बनाउने अभियानमा लागेको त छैन भन्ने शंका भएछ। यही कुराले भारत तर्सिएको रहेछ,’ गिरिजाप्रसादले आफ्नो संस्मरणमा भनेका छन्, ‘सयकडौं प्रहरी आएर हामीलाई घेरे। भुटानीहरू तपाईंलाई फर्किन दिन्नौं भनेर बसिरहेका थिए, तर म नेपाल फर्किनैपर्ने भयो।’
भुटान बसाइकै क्रममा राजा जिग्मे दोर्जीले भेट्न आग्रह गर्दै गिरिजाप्रसादलाई खबर पठाएको पनि संस्मरणमा उल्लेख छ।
‘मैले हुन्छ त भनिदिएँ, तर साथीहरूको अनुहार हेरेको त सबैको मुड खराब छ,’ गिरिजाप्रसाद भन्छन्, ‘मलाई राजालाई भेटेर कुरा मिलाउन सकिन्छ कि भन्ने लागेको थियो, तर साथीहरूसँग कुरा बुझ्दा त त्यहाँका धेरै मानिस प्रजातन्त्रवादीलाई ठगेर राजासँग मिल्दा रहेछन्। उनीहरू राजासँग भेटेर पैसा लिएर फर्किँदा रहेछन्। उनीहरूलाई गिरिजाप्रसाद पनि राजालाई भेटेर पैसा लिएर फर्किन्छन् भन्ने लागेछ। यो कुरा थाहा पाएपछि मैले राजासँग भेट्दिनँ भनेर खबर पठाइदिएँ।’
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि आफ्नो संस्मरणमा ‘भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाली कांग्रेसका नेता बिपी कोइरालालाई भुटानको आन्तरिक मामिलामा हस्तक्षेप नगरिदिन आग्रह गर्दै खाँचो परे भुटानको प्रजातान्त्रिक आन्दोलनलाई भारतले सहयोग गर्ने आश्वासन दिएको’ लेखेका छन्।
यसरी सत्याग्रह आन्दोलनमा सहयोग गर्न गएका गिरिजाप्रसाद नेपाल फर्केपछि आन्दोलनमा पक्राउ परेका पासाङ शेर्पासहित कम्तिमा चार जनालाई भुटान सरकारले सर्भाङ जेलमा बन्दी बनायो।
उनीहरूलाई पर्याप्त खाना र औषधि उपचारको सुविधासमेत नदिई अमानवीय व्यवहार गरिएको ढकाल र स्ट्रनको दाबी छ।
‘पासाङ शेर्पालाई २१ दिन अमानवीय ढंगले बन्दी बनाइयो। अरू केहीको जेलभित्रै हत्या गरियो,’ ढकाल र स्ट्रन लेख्छन्, ‘एक्काइसौं दिनमा राजा जिग्मे दोर्जी वाङचुक पासाङलाई भेट्न सर्भाङ जेलमै गए र उनलाई भुटानको शान्तिमा खलल् पुर्याएको आरोप लगाए।’
त्यसपछि जिग्मे दोर्जीले नेपाली मूलका बासिन्दाहरूको भेला आयोजना गरे। उनले पासाङ शेर्पा लगायतका बन्दीहरूलाई सबैका अगाडि सार्वजनिक गर्दै भने, ‘तिमीहरूलाई मसँग समस्या छ रे! के समस्या छ? यी मान्छेहरू मैले तिमीहरूमाथि अत्याचार गरेँ भन्दै नेपालबाट आन्दोलन गर्न आएका छन्। मैले तिमीहरूलाई के अत्याचार गरेँ?’
भेलामा कोही चुइँक्क बोलेनन्।
जिग्मे दोर्जीले आन्दोलनकारीको समूहबाट नेपाली मूलका भुटानीहरूलाई पहिचान गरेर अलग्याउन आदेश दिए।
जो जो भुटानी नेपाली थिए, उनीहरूलाई आजीवन कारावास सजाय भयो। यस्तो सजाय पाउनेमा चिराङ जिल्लाका बासिन्दा तथा भुटान स्टेट कंग्रेसका सदस्य दलमर्दन राई पनि थिए।
‘पासाङ शेर्पासहित नेपालबाट गएका आन्दोलनकारीलाई भने सीमासम्म लगेर मुक्त गरियो,’ ढकाल र स्ट्रनले आफ्नो किताबमा लेखेका छन्।
यो घटनापछि भुटान स्टेट कंग्रेसको प्रभाव फितलो भयो। उनीहरूले साम्ची लगायत भुटानका केही जिल्लामा विरोध कार्यक्रम आयोजना गर्न खोजे, तर सफल हुन सकेनन्। भुटानी नेपालीहरूले त्यसमा भाग लिन कुनै रूचि वा उत्साह देखाएनन्।
त्यति बेला अधिकांश भुटानी नेपालीहरू अशिक्षित थिए। उनीहरूलाई आफूमाथि विभेद गरिएको चेत थियो, ढाडै भाँच्ने करका दर र अनिवार्य सरकारी श्रमले गरिबीबाट मुक्ति पाउन नसकेको अनुभूति पनि थियो, तर ती सबैको दोष राजामाथि थोपरेर दरबारविरूद्ध आन्दोलन गर्ने पक्षमा उनीहरू थिएनन्। परिवर्तनको चेतभन्दा राजाको चेतावनी उनीहरूमा बढ्ता हाबी भयो। राजाको विरोध गर्दा देशबाटै निकालिनुपर्ला भन्ने डरले पनि उनीहरूलाई बाँध्यो।
भुटानी जनताले उत्साहपूर्ण सहभागिता नजनाएको अवस्थामा भुटान स्टेट कंग्रेस पार्टीले नेपालबाट लगिएका नेपाली कांग्रेसका कार्यकर्ता र सात सालको क्रान्ति लडेको मुक्तिसेनाका लडाकुहरूका बलमा भुटानमा प्रजातन्त्र ल्याउने सपना देखेको थियो, जुन सम्भव थिएन। आफ्ना जनताको साथ, सहयोग, समर्थन र सहभागिताबिना अर्काको भरमा प्रजातान्त्रिक लडाइँ जित्न सकिँदैन। आन्दोलनको जड आफ्नै माटोसँग जोडिनुपर्छ। शुभेच्छुक छिमेकीहरूले आन्दोलनमा भर त दिन सक्छ, तर पूरै थेग्न सक्दैन। भुटानका हकमा त्यहाँका तत्कालीन नेताहरूले आफ्नो संगठन विस्तार गरेर जरा फैलाउने काम गरेका थिएनन्। हक–अधिकारको कुरा जनतालाई बुझाएका थिएनन्। प्रजातन्त्र किन चाहिन्छ भन्ने चेत नै आमजनतालाई दिएका थिएनन्। यसैको असर भुटानको पहिलो चरणको प्रजातान्त्रिक लडाइँमा पर्यो।
हामीले यो कथा शृंखलाको तयारी क्रममा भुटानी शरणार्थी नेता डाक्टर भम्पा राईसँग पहिलो चरणको प्रजातान्त्रिक लडाइँबारे कुरा गरेका थियौं। डा. राईको अहिले निधन भइसकेको छ। हामीसँगको कुराकानीमा उनले ‘जय गोर्खा’ आन्दोलनदेखि भुटान स्टेट कंग्रेसको अहिंसात्मक सत्याग्रहसम्मको चर्चा गरेका थिए। ‘जय गोर्खा’ आन्दोलनमा त आफ्नै हजुरबुवा सहवीर राई प्रत्यक्ष संलग्न रहेको उनले सम्झे।
उनका अनुसार ‘जय गोर्खा’ भनेको आन्दोलनको नारा मात्र थिएन, भुटानी नेपालीहरूले खोलेको पहिलो राजनीतिक संगठन थियो। यही पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूले निर्वासित भएपछि भुटान स्टेट कंग्रेसका रूपमा संगठन र आन्दोलनलाई निरन्तरता दिएको डा. राईले बताएका थिए।
हामीले उनलाई ‘पहिलो चरणको आन्दोलन किन सफल हुन सकेन त?’ भनेर सोध्यौं।
‘यसका दुइटा कारण छन्,’ डा. राईले भने, ‘राज्यको दमन र तत्कालीन नेताहरू आमजनतासँग जोडिन नसक्नु।’
यसलाई व्याख्या गर्दै उनले अगाडि भने, ‘नेताहरू आमजनतासँग जोडिन नसकेकाले आन्दोलनको बृहत् आधार बनेन। केही कार्यकर्ता र शुभेच्छुकहरूमै आन्दोलनको दायरा सीमित हुन पुग्यो। त्यस्तो बेला जब फौजी बलमा आन्दोलन निस्तेज पार्ने अभियानमा सरकार लाग्यो, ती थोरै संख्याका कार्यकर्ता र शुभेच्छुकहरू निर्वासित भएर भारततिर लागे। अनि त भुटानमै रहेकाहरूको पनि आवाज दबियो।’
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटको भनाइ लगभग यस्तै छ।
‘भुटान स्टेट कंग्रेसको आन्दोलन सरकारको दमनले भन्दा बढी आमजनताको बृहत् साथ पाउन नसक्नुले असफल भएको हो,’ उनले आफ्नो किताबमा लेखेका छन्।
राजनीतिशास्त्री लियो रोसले पनि आफ्नो किताब ‘द पोलिटिक्स अफ भुटान’ मा भनेका छन्, ‘भुटानीहरू आधुनिक राजनीतिक अवधारणाका विरोधी थिएनन्; खास कारण के हो भने, उनीहरूले त्यस्तो अवधारणा पहिले सुनेकै थिएनन्।’
हामीले झापाको बेलडाँगी शिविरमा भेटेका वयोवृद्ध भुटानी शरणार्थी दुर्गा शर्माले भने यसबारे फरक धारणा राखे। उनको विचारमा राजा जिग्मे दोर्जी वाङचुक, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र भुटान स्टेट कंग्रेसका नेताहरूबीच भएको त्रिपक्षीय वार्तापछि नै आन्दोलनको सान्दर्भिकता लगभग समाप्त भइसकेको थियो।
‘त्रिपक्षीय वार्तामा नेहरूले भुटानका नेपालीहरूमाथि अन्याय भइरहेको मकहाँ रिपोर्ट आएको छ, सुधार गर्नुस् भनेर भन्नु र त्यसको जवाफमा भुटानी राजा जिग्मे दोर्जीले अबदेखि भुटानी नेपालीहरूको अवस्थामा सुधार ल्याउँछु भनेर बचन दिनुले सत्याग्रहको सान्दर्भिकता नै सकिएको थियो,’ सन् १९८९ मा भुटानबाट लखेटिएर नेपाल आएका दुर्गा शर्माले हामीसँग भने।
उनी भुटानबाट लखेटिँदा सुरूमा एक्लै आएका थिए। त्यसको तीन वर्षपछि श्रीमती र दुई जना छोरा पनि भागेर यतै आए। श्रीमती शिविरमै बितिन्। अहिले दुर्गा र उनका छोराहरू स्वदेश फिर्तीको माग राखेर शिविरमै बसिरहेका छन्।
‘हामी भुटानमै मर्न पाए हुन्थ्यो भन्ने आत्मा लिएर बसेको। माटोको माया हुन्छ नि त मान्छेलाई,’ दुर्गा शर्माले भने, ‘भुटान जान नपाए बरू यहीँ मर्छौं।’
उनी त्यति बेलाको सत्याग्रह आन्दोलनपछि भुटान स्टेट कंग्रेसमा टुटफुट आएको सम्झिन्छन्।
‘आन्दोलनपछि भुटान स्टेट कांग्रेस आफैं कमजोर भयो। नेताहरू नै फुटेर लाखापाखा लागे। यसले पनि भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनले गति समात्न सकेन,’ उनले भने।
ढकाल र स्ट्रनले पनि भुटान स्टेट कंग्रेसका नेताहरूबीच फुट आउनुले आन्दोलनको प्रभाव फितलो भएको बताएका छन्।
‘साम्चीमा भएको प्रदर्शनपछि महासचिव गणेशप्रसाद शर्मा प्रसाईंले पूर्वी भुटानमा सत्याग्रह आन्दोलन गर्न खोजेका थिए। तर अध्यक्ष डिबी गुरूङ र उपाध्यक्ष दलबहादुर क्षत्रीले अस्वीकार गरे। सत्याग्रहबाट केही हासिल नहुने उनीहरूको भनाइ थियो,’ ढकाल र स्ट्रन लेख्छन्, ‘त्यसपछि प्रसाईं एक्लै गएर सत्याग्रह आन्दोलन गर्ने प्रयास गरे। तर आर्थिक सहायता र जनसहभागिताको अभावमा उनी सफल भएनन्।’
यसबीच सन् १९५८ सेप्टेम्बर १७ मा भुटान स्टेट कंग्रेसले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सिक्किमको गान्तोकमा एउटा ज्ञापनपत्र बुझायो। नेहरू त्यति बेला भुटान भ्रमणमा जाँदै थिए। पार्टी अध्यक्ष डिबी गुरूङले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रको पूर्ण दस्तावेज माइकल हटले आफ्नो किताबमा उद्धृत गरेका छन्।
‘धेरै छिमेकी देशहरूले भारत सरकारको आर्थिक सहयोग पाएर प्रगति गर्न थालेका छन्। भुटान भने अहिले पनि अन्धकार युगबाट बाहिर आउन सकेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘भुटानका राजा प्रगतिशील छन्, तर उनका प्रमुख सल्लाहकारहरूका कारण मुलुकले सुधारको बाटो समात्न सकेको छैन। यो अवस्था जारी रहे कुनै दिन भुटानमा ठूलो अशान्ति उत्पन्न हुने खतरा छ।’
भुटान स्टेट कंग्रेसले भारतीय प्रधानमन्त्री नेहरूलाई पाँचवटा बुँदामा ध्यानाकर्षण गराएको थियो —
१) भुटानमा राजाको अध्यक्षतामा प्रजातान्त्रिक सरकार गठन होस् र आमनिर्वाचन गरियोस्।
२) भुटानबाट भारत जोड्ने सडक निर्माण गरियोस्।
३) भुटान सैनिकमा डुग्–पाबाहेक अन्य समुदायलाई पनि भर्ती लिइयोस्।
४) भुटान स्टेट कंग्रेसमाथि लगाइएको प्रतिबन्ध हटाइयोस् र निर्वासित नेताहरूलाई स्वदेश फर्किने वातावरण बनाइयोस्।
५) आजीवन कारावास सजाय पाएका भुटान स्टेट कंग्रेसका नेता दलमर्दन राईलाई रिहा गरियोस्।
यो ज्ञापनपत्रले केही सकारात्मक प्रभाव पार्यो। नेहरूले आफ्नो भुटान भ्रमण क्रममा राजा जिग्मे दोर्जी वाङचुकलाई राजनीतिक सुधार गर्न सल्लाह दिए। उनले देशमा योजनाबद्ध विकासको थालनी गर्नुका साथै भुटान स्टेट कंग्रेस पार्टीसँग सम्बन्ध सुधार्न पनि राजालाई सम्झाए।
डिबी गुरूङले त्यसपछि पनि विज्ञप्ति जारी गर्ने र पत्रपत्रिकामा लेख लेख्ने काम गरिरहे। दक्षिण भुटानका नेपालीहरूलाई समान अधिकार दिऊँ भनेर निरन्तर बोलिरहे। सरकारका अलोकतान्त्रिक नीतिहरूको आलोचना गरे। राजनीतिक सुधारको माग पनि राखे, ढकाल र स्ट्रन लेख्छन्, ‘पार्टीको उपस्थिति वास्तविकतामा भन्दा कागजमा बढ्ता सीमित हुन पुग्यो।’
यहाँसम्म आइपुग्दा भुटान स्टेट कंग्रेस पार्टी लगभग अस्तित्वविहीन भइसकेको थियो। यसको ‘क्लाइमेक्स’ चाहिँ सन् १९६९ अगष्ट ६ मा देखियो, जब भुटानी राजा जिग्मे दोर्जी वाङचुकले भुटान स्टेट कंग्रेसका नेताहरूलाई आममाफीको घोषणा गरे र निर्वासित नेताहरूलाई स्वदेश फर्किन अनुमति दिए।
यसरी सन् १९४७ मा सुरू भुटानको प्रजातान्त्रिक लडाइँ महसुर क्षत्री लगायत थुप्रै ज्ञात–अज्ञात सहिदहरूको बलिदान र बाइस वर्षको उतारचढावपछि आममाफीमा आएर तुहिनुका पछाडि सन् १९६४ को एउटा राजनीतिक हत्याकाण्डलाई मुख्य कारण मानिन्छ।
त्यो काण्ड हो, दक्षिण भुटानका हर्ताकर्ता तथा भुटानका पहिलो प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको हत्या।
जिग्मे पाल्देन दोर्जी सन् १९५३ मा दक्षिण भुटानको जिम्मेवारी सम्हाल्ने अख्तियारीसहित भुटानका पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए।
उनी दक्षिण भुटानको जिम्मेवारी पाउने दोर्जी परिवारका तेस्रो पुस्ता हुन्। सबभन्दा पहिला काजी उर्ग्येन दोर्जीलाई यो जिम्मा दिइएको थियो। त्यसपछि उनका छोरा सोनाम तोब्गे दोर्जीले पाए। सोनाम तोब्गेको मृत्युपछि उनका जेठा छोरा जिग्मे पाल्देनमा जिम्मेवारी सर्यो।
जति बेला राजा जिग्मे दोर्जी वाङचुकले नातामा आफ्नो सालो पर्ने जिग्मे पाल्देनलाई दक्षिण भुटानको अख्तियारीसहित देशको पहिलो प्रधानमन्त्री नियुक्त गरे, उनले त्योभन्दा अगाडि नै आफ्ना सौतेनी भाइ नामगेल वाङचुकलाई पारोका स्थानीय शासक (पोनलोप) घोषणा गरिसकेका थिए। जिग्मे पाल्देनलाई प्रधानमन्त्री बनाएपछि दरबारभित्रको शक्ति सन्तुलन मिलाउन उनले नामगेल वाङचुकलाई भुटानको सेना प्रमुख बनाए।
पारोका पोनलोप र सेना प्रमुख भए पनि दक्षिण भुटानका नेपालीभाषीहरू नामगेल वाङचुकको तुलनामा प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीप्रति बढ्ता झुकाव राख्थे। यसो हुनु स्वाभाविक पनि थियो। किनभने, दोर्जी परिवारले तीन पुस्तादेखि दक्षिण भुटानको जिम्मेवारी सम्हाल्दै आएको थियो। उनीहरूले दक्षिण भुटानको प्रतिनिधि भएर नेपाली समुदायको बसोबास, शिक्षादिक्षा र व्यवसायको बन्दोबस्त मिलाएका थिए। त्यसमाथि प्रधानमन्त्री नै नियुक्त भएपछि जिग्मे पाल्देन दक्षिण भुटानसँग थप नजिकिए। उनले विगतमा महसुर क्षत्रीलाई जिउँदै खोलामा फ्याँकेर हत्या गरेको घटना बिर्सेर भए पनि भुटानी नेपालीहरूले उनीप्रति विशेष स्नेह राखेको शरणार्थी नेता टेकनाथ रिजाल बताउँछन्। यसले नामगेल वाङचुकलाई समस्त दक्षिण भुटानी नेपालीभाषी र जिग्मे पाल्देनप्रति रूष्ट बनायो।
त्यो समय भुटानमा तीन प्रकारका शक्ति सतहमा देखिएको रिजालले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्। तीमध्ये एकथरी भुटान स्टेट कंग्रेसमा आबद्ध प्रजातन्त्रका पक्षपाती थिए भने अर्काथरी प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको प्रभावमा रहेका आन्तरिक सुधारका पक्षपाती र तेस्रो समूह नामगेल वाङचुकको प्रभावमा रहेका परम्परावादी कट्टरपन्थी भारदारहरू थिए।
यही आन्तरिक द्वन्द्वबीच सन् १९६४ को घटना भयो।
त्यो अप्रिल ५ को रात थियो। प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जी दिउँसो मात्र साम्चीबाट फुन्सोलिङ आएका थिए। उनी भ्रमण दलका सदस्यहरूसँग फुन्सोलिङको एउटा होटलमा बास बसेका थिए।
त्यसै रात आफ्ना भाइ र अरू केही साथीहरूसँग तास खेलिरहेका बेला होटलको झ्याल बाहिरबाट गोली हानेर उनको हत्या गरियो।
दरबारभित्रको आन्तरिक शक्तिसंघर्ष र खिचातानी उच्च विन्दुमा पुगेका बेला भएको त्यो हत्या कसबाट कुन प्रयोजनले गरियो भन्ने आजसम्म रहस्यकै गर्भमा रहेको रिजाल बताउँछन्। जिग्मे पाल्देनको परिवारले भने उक्त हत्या नामगेल वाङचुकले गराएको भनी सप्रमाण दाबी गरेको रिजालको भनाइ छ।
‘जिग्मे पाल्देनको हत्यापछि उनका भाइ लेन्डुप दोर्जी, बहिनी आजी टासी र दक्षिण भुटानका कमिस्नर रिन्जिन आफ्नो पक्षका सैन्य अधिकारी र आसेपासेसहित सुरक्षित स्थलको खोजी गर्दै नेपालमा शरण लिन पुगे,’ रिजालले आफ्नो संस्मरणमा लेखेका छन्।
दोर्जी परिवारका सदस्यहरू यसरी देश छाडेर नेपालमा शरण लिन जालान् भन्ने राजा जिग्मे दोर्जीले सोचेका पनि थिएनन्। उनीहरूको अनपेक्षित कदमले भुटानी राजा अत्तालिए। उनले लेन्डुप दोर्जी, आजी टासी लगायत सबैलाई फिर्ता गरिदिन नेपालका तत्कालीन राजा महेन्द्रलाई पटकपटक आग्रह गरे।
राजा महेन्द्रले भने ‘शरण पर्न आएकालाई मरण गर्ने मेरो नीति छैन’ भन्दै उनीहरूलाई फिर्ता पठाउन अस्वीकार गरे र नेपालमै संरक्षण दिएर राखे।
नेपाल बस्ने क्रममा लेन्डुप दोर्जीले यहाँको राजपरिवारसँग मिलेर विभिन्न व्यवसायमा हात हालेका थिए। उनले काठमाडौंको सोल्टी होटलमा क्यासिनो खोले र डिस्को पनि चलाए। सन् १९७२ मा जिग्मे सिंघे वाङचुक भुटानको राजा भएपछि उनले आफ्ना मामा लेन्डुप दोर्जी र ठूली आमा आजी टासीसहित नेपाल निर्वासनमा रहेका सबैलाई बिनासर्त भुटान फिर्ता बोलाएका थिए। तीमध्ये प्रायः भुटान फर्किए भने केही नेपालमै बसे।
इतिहासको कटु सत्य के हो भने, राजा महेन्द्रले भुटानबाट विस्थापित भएर आएका लेन्डुप दोर्जी लगायतलाई शरण दिएको २५ वर्षपछि सन् १९८९ मा यसरी नै भुटानबाट भागेर नेपालमा शरण पर्न आएका टेकनाथ रिजाललाई राजा वीरेन्द्रले झापाको डेराबाट मध्यरातमा पक्राउ गरी भुटान सरकारलाई सुम्पिदिएका थिए।
त्यति बेला राजा महेन्द्रले आफ्नो आग्रह अस्वीकार गरेपछि भुटान दरबार झस्किएको थियो। निर्वासनमा रहेको दोर्जी परिवार र भुटान स्टेट कंग्रेस मिलेर आन्दोलन चर्काउन सक्ने र यसले राजतन्त्रको भविष्य खतरामा पर्ने मनगढन्ते त्रासले भुटान दरबार ग्रस्त भएको रिजालले लेखेका छन्।
यही त्रासका कारण भुटान दरबारले नेपालीभाषी समुदायका व्यक्तिलाई देशको सीमाबाट बाहिर जानुपर्दा अग्रिम अनुमति लिनुपर्ने सूचना जारी गर्यो, रिजाल लेख्छन्, ‘नेपालीभाषी समुदायका नातागोता कालिम्पोङ, दार्जिलिङ, आसाम, सिक्किम, बर्मादेखि नेपालसम्म छरिएर रहेका थिए। हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ लगायत भारतका काशी, गया र वनारसका कयौं तीर्थस्थल दर्शन गर्न जाने प्रचलन पनि नेपालीभाषी समुदायमा व्यापक थियो। उनीहरू आफ्ना नातागोता भेट्न वा तीर्थ गर्न नेपाल र भारतमा जाँदा राजनीतिक रूपले संगठित हुनसक्ने र प्रतिरोधमा ओर्लिन सक्ने काल्पनिक शंकाबाट ग्रसित भएर दरबारले बाहिरी जगतसँगको आवतजावतमा प्रतिबन्ध लगाइदियो। यसले नेपालीभाषी समुदाय विश्व जगतको सम्पर्कबाट टाढिन पुग्यो।’
यति मात्र कहाँ हो र! भुटानका मानिसहरूमा एउटा जिल्लाबाट अर्को जिल्ला बसाइ सर्ने चलन धेरै पहिल्यैदेखि चल्दै आएको थियो। यसबाट नेपालीभाषीहरू देशभरि छरिनसक्ने डरले आन्तरिक जग्गा किनबेचमा पनि प्रतिबन्ध लगाइयो। नेपाली समुदायलाई दक्षिण भुटानबाहेक अन्य जिल्लामा गएर बसोबास गर्न लगभग निषेध नै गरियो।
त्यो समय भुटानी राजामाथि चार किसिमको दबाब एकैचोटि परेको थियो — प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको हत्याले आममानिसमा डर र त्रास व्याप्त थियो भने उनको हत्यापछि भुटानी राजनीतिको एउटा शक्ति दोर्जी परिवार निर्वासित भएर नेपाल जानुले राजनीतिक प्रतिरोध भड्किन सक्ने खतरा पनि उत्तिकै थियो। यसबाहेक भुटान स्टेट कंग्रेसको प्रभाव र भुटानमा राजनीतिक सुधारको थालनी गर्न भारतीय नेताहरूले दिइरहेको निरन्तर सल्लाहले राजा जिग्मे दोर्जी वाङचुक दबाबमा थिए।
यही दबाबका कारण राजा जिग्मे दोर्जीले सन् १९६८ मा भुटान स्टेट कंग्रेसका अध्यक्ष डिबी गुरूङसँग सम्झौताको पहल गरेको रिजाल बताउँछन्।
राजाबाट भएको पहलकदमीपछि गुरूङ वार्ता गर्न राजी भए।
निर्वासनमा रहेका गुरूङसँग वार्ता गर्न राजाले नामगेल वाङचुकलाई आफ्नो दूत बनाएर भारतको सिलगुडी पठाए।
राजाले नामगेलका हातमा डिबी गुरूङलाई एउटा पत्र पनि पठाएका थिए, जसमा ‘सबै किसिमका आन्दोलन कार्यक्रम फिर्ता लिन र भुटान स्टेट कंग्रेस पार्टी विघटन गरी निर्वासनमा रहेका सबै नेतालाई स्वदेश फर्किएर शान्तिपूर्ण जीवन बिताउन’ आग्रह गरिएको थियो।
भुटान स्टेट कंग्रेसले यसको बदलामा प्रजातान्त्रिक प्रक्रियाको सुरूआत र दक्षिण भुटानका नेपालीभाषी समुदायको हकहित सुनिश्चित गरिनुपर्छ भन्ने सर्त राख्यो। राजाले आफ्ना दूतमार्फत् उक्त सर्त पूरा हुने आश्वासन दिए। आन्दोलनमा लागेर निर्वासित जीवन बिताइरहेका सबै नेतालाई आममाफी दिँदै स्वदेश फर्किन वातावरण बनाउने र उनीहरूको जफत गरिएको सम्पत्तिको क्षतिपूर्ति दिने सहमति पनि जनाए।
उक्त वार्तामा कमिस्नर झुलेन्द्र प्रधान, सल्लाहकार दुर्गादास लामा, राज्यसभा सदस्य रणबहादुर मगर (जन्तरे), डेपुटी कमिस्नर आसबहादुर सुब्बा, गृहसचिव जंगबहादुर क्षत्री, सल्लाहकार शिवराज गुरूङ, मण्डल जयधर्म तिम्सिना, मण्डल गंगाराम खनाल र मण्डल नन्दु गुरूङको उपस्थिति रहेको रिजालले आफ्नो किताबमा उल्लेख गरेका छन्।
यही वार्ताका आधारमा सन् १९६९ अगष्ट ६ मा राजा जिग्मे दोर्जी वाङचुकले भुटान स्टेट कंग्रेसका नेताहरूलाई आममाफीको घोषणा गरे र सबै निर्वासित नेताहरूलाई स्वदेश फर्किन अनुमति दिए।
भुटानको शाही सरकारले ती नेताहरूबाट जफत गरेको जग्गा–जमिन र सम्पत्ति पनि फिर्ता गर्यो।
भुटानी राजा जिग्मे दोर्जीले आफ्नो शाही घोषणामा भनेका थिए, ‘भुटान स्टेट कंग्रेस पार्टी भंग गरिने र डिबी गुरूङसहित उनका भुटानी सहकर्मीहरू यहाँ फर्केर कुनै पनि किसिमको दलीय राजनीतिमा आबद्ध नहुने समझदारीका आधारमा यो आममाफी घोषणा गरिएको हो।’
शाही घोषणासँगै भुटान स्टेट कंग्रेस पार्टीका निर्वासित नेताहरू स्वदेश फर्के। ‘जय गोर्खा’ आन्दोलनपछि भागेका दक्षिण भुटानका विभिन्न गाउँका जनता पनि घर फिर्ता आए। सँगसँगै, तीस वर्षअघि सन् १९२७ मा देश निकाला गरिएका लामीडाँडा गाउँका मण्डल पशुपति अधिकारीका पुस्ताले पनि भुटानमै पुनर्स्थापना हुने अवसर पाए। पशुपति अधिकारीले भुटानी नेपालीहरूले तिर्नुपरेको उच्च करविरूद्ध आवाज उठाउँदा दक्षिण भुटानका हर्ताकर्ता सोनाम तोब्गे दोर्जीले पक्राउ गरेर मरणासन्न कुटेका थिए र भनेका थिए, ‘मण्डलहरूलाई हाम्रो नीतिविरूद्ध बोल्ने कुनै हक छैन।’
भुटानी नेपालीहरूको प्रतिरोधको इतिहास हेर्ने हो भने पशुपति अधिकारीले उठाएको आवाज पहिलो हो। त्यही घटनापछि पशुपतिको परिवारलाई सर्वस्वहरणसहित देश निकाला गरिएको थियो। निर्वासित अवस्थामै भारतको आसाममा उनको निधन भयो। लामीडाँडामा रहेको उनको घर र पाँच एकड जग्गा सन् सत्तरी दशकसम्म भुटान सरकारको कब्जामा थियो। पछि राजाकै एक जना नेपाली कामदारलाई त्यो जग्गा कमाउन दिइएको ढकाल र स्ट्रनको किताबमा छ।
सन् १९६९ को आममाफीपछि भुटानको पहिलो चरणको प्रजातान्त्रिक आन्दोलन निष्कर्षमा नपुग्दै तुहियो। आन्दोलन हाँकेको भुटान स्टेट कंग्रेस पार्टी आफैं राजासँगको समझदारीअनुसार भंग भयो। पार्टीका सात जना संस्थापकमध्ये अध्यक्ष डिबी गुरूङ, उपाध्यक्ष दलबहादुर क्षत्री र सदस्य डम्बरसिंह सुनुवार आममाफी स्वीकार गर्दै भुटान फर्के। महासचिव गणेशप्रसाद शर्मा प्रसाईंले आममाफी घोषणा हुनुअघि नै पार्टीबाट राजीनामा दिइसकेका थिए। उनी केही वर्ष भारतको मणिपुरमा बसे र पछि नेपाल आएर मोरङ जिल्लाको रमाइलो गाउँमा बसोबास गर्न थाले।
रोचक कुरा के भने, राजाको आममाफी स्वीकार गरेर भुटान फर्केका डम्बरसिंह सुनुवारलाई समेत सन् १९९० मा नागरिकता खोसेर भुटानबाट खेदिएको थियो। उनी झापाको खुदुनाबारी शिविरमा शरणार्थी भएर बसेका थिए।
भुटान स्टेट कंग्रेस पार्टी विघटन भएपछि पनि भुटानी नेपालीहरूले संगठित हुने प्रयास नगरेका होइनन्। चिराङ जिल्लाको लप्सीबोटेका देवीभक्त लामिटारे तिनैमध्ये एक हुन्। डिबी गुरूङ राजाको आममाफी स्वीकार गर्दै भुटान फर्केपछि देवीभक्तले आफूलाई भुटान स्टेट कंग्रेस पार्टीको अध्यक्ष दाबी गरेका थिए। उनले भंग भइसकेको पार्टी ब्युँताएर प्रजातान्त्रिक आन्दोलनलाई निरन्तरता दिने प्रयास गरे, तर सफल हुन सकेनन्। भुटान सरकारको खरो आलोचना गर्ने देवीभक्त पछि संन्यासी भए र भारतको हरिद्वारमा निर्वासित जीवन बिताए। उनले ‘मर्डर अफ डेमोक्रेसी इन द हिमालयन किङडम’ र ‘दन्किँदो भुटान’ भन्ने किताब लेखेका छन्।
यसबाहेक भारतको वनारस हिन्दु विश्वविद्यालयमा पढ्ने भुटानी नेपाली विद्यार्थीहरूले पनि प्रजातान्त्रिक आन्दोलन जारी राख्ने कोसिस गरेका थिए। त्यसै क्रममा सन् १९७० डिसेम्बर १२ मा ‘राष्ट्रसेवक भुटानी छात्र संघ’ स्थापना भएको ढकाल र स्ट्रनले आफ्नो किताबमा लेखेका छन्। उक्त संघमा हरि अधिकारी अध्यक्ष थिए भने लोकनाथ सुवेदी महासचिव, गौरीशंकर अधिकारी कोषाध्यक्ष, लक्ष्मीप्रसाद दाहाल प्रवक्ता र हरिभक्त दाहाल सल्लाहकार थिए।
सन् १९७१ को अन्त्यमा विद्यार्थीहरूको यो समूहले ‘अमर भुटान’ भन्ने पत्रिका प्रकाशन गरेको थियो। त्यसको एक वर्षपछि १९७२ को अक्टोबर वा नोभेम्बर महिनामा संघका केही सदस्य पत्रिका बाँड्न भुटान गएका थिए, ढकाल र स्ट्रन लेख्छन्, ‘त्यही बेला भुटानले उक्त छात्र संघमाथि प्रतिबन्ध लगाइदियो र अध्यक्ष हरि अधिकारीसँग स्पष्टीकरण सोध्यो।’
वनारस हिन्दु विश्वविद्यालयका भुटानी नेपाली विद्यार्थीहरूले त्यसपछि पनि संस्कृत छात्र परिषद, प्रगतिशील भुटानी विद्यार्थी परिषद लगायतका संगठनहरू खोलेर आन्दोलनको मशाल जलाइराख्न खोजेका थिए। तर ती कुनै पनि प्रयासले भुटानको सत्ता हल्लाउने आन्दोलनको रूप लिन सकेन।
‘जय गोर्खा’ र सत्याग्रह आन्दोलनबाटै भुटानको राजतन्त्र यस्तरी झस्किएको थियो, नेपाली मूलका भुटानीहरूलाई दरबारले सधैं खतराका रूपमा हेर्यो र दक्षिण भुटानमा कुनै पनि किसिमको संगठित राजनीतिक गतिविधि हुन नदिन दरबार सधैं सतर्क र सचेत रह्यो। त्यही भएर नै सन् १९६९ मा भुटान स्टेट कंग्रेस भंग भएपछि दुई दशकसम्म भुटानमा अर्को राजनीतिक संगठन स्थापना हुन सकेन। दक्षिण भुटानको नेपाली समुदायलाई अनागरिक बनाउने खेल सुरू भएपछि त्यसको प्रतिकार गर्न सन् १९८९ जुलाई ७ मा टेकनाथ रिजालले ‘भुटान मानव अधिकार सार्वजनिक मञ्च’ भन्ने संगठन स्थापना गरेका थिए, जसका अध्यक्ष उनी स्वयं थिए। त्यसको एक वर्षपछि सन् १९९० मा भुटान पिपल्स पार्टी र १९९१ मा भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टी भन्ने राजनीतिक दलहरू गठन भए।
पहिलो प्रजातान्त्रिक आन्दोलन राजासँग समझदारी गरेर तुहिनुको ठूलो मूल्य भुटानी नेपालीहरूले बीस वर्षपछि चुकाउनुपर्यो, जब उनीहरूलाई नागरिकता खोसेर देशबाट लखेटियो। जब उनीहरू शरणार्थी बनेर नेपाल प्रवेश गर्नुपर्यो, जहाँबाट चार सय वर्षअघि उनीहरूका पुर्खा भुटान छिरेका थिए।
भुटानी नेपालीहरूलाई अनागरिक बनाएर देशबाट लखेटिएको घटनामा प्रवेश गर्नुअघि हामीले राजा जिग्मे दोर्जी वाङचुकको बीसवर्षे शासनकालबारे केही चर्चा गर्नुपर्ने हुन्छ। उनलाई ‘आधुनिक भुटानका निर्माता’ मानिन्छ। उनकै पालामा विभिन्न सुधार कार्यक्रम लागू गरिएको हुँदा ‘सुधारवादी राजा’ का रूपमा पनि लिइन्छ।
जिग्मे दोर्जीको शासन सुरू हुँदासम्म उत्तरी र दक्षिणी भुटानीबीच राजनीतिक ऐक्यबद्धता थिएन। उनीहरू एकै देशका नागरिक त थिए, तर एकै देशका नागरिकजस्ता थिएनन्। उत्तरी भेगका डुग्–पा र दक्षिणी भेगका भुटानी नेपाली एकै राज्यभित्र दुई अलग राज्यका रूपमा बसेका थिए। दक्षिणी भुटान भौगोलिक रूपले बाँकी राज्यसँग जोडिएको भए पनि राजनीतिक र सांस्कृतिक रूपले बाँकी राज्यबाट अलग थियो। उनीहरूको बसाइ अलग थियो, बन्दोबस्त अलग थियो। उनीहरूको पहिचान र अधिकार पनि अलग थियो। राजा जिग्मे दोर्जीले भुटानको इतिहासमै पहिलोपटक दक्षिणी भेगलाई राजनीतिक रूपमा बाँकी राज्यसँग जोड्ने कोसिस गरे। उनले भुटानी नेपालीहरूलाई भुटानको राजनीतिक मूलधारमा ल्याए, प्रशासनमा ल्याए, सुरक्षामा पनि ल्याए — भुटानी नेपालीलाई भुटानी नागरिक बनाए।
राजा जिग्मे दोर्जी वाङचुकले भुटानी नेपालीहरूलाई के–कस्ता राजनीतिक अधिकार दिए? के–कस्ता सुधारका उपाय अपनाए? र, सबभन्दा ठूलो कुरा, उनले इतिहासमै पहिलोपटक सुधारको बाटो किन अपनाए?
यी प्रश्नहरूको चर्चा हामी अर्को अंकमा गर्नेछौं।
अर्को अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः गिरिजाप्रसाद कोइराला। तस्बिर: चन्द्रशेखर कार्की