भुटानको ४०० वर्षको कथा- अंक ३
अध्याय सातः एक जोडी आँखा
विशन थापा मगरले गोरखा छाड्दै गर्दा स्वयं राजा राम शाह उनलाई बिदाइ गर्न दरबारको प्रांगणमा ओर्लेका थिए।
साथमा रानीहरू, मन्त्रीगण, सेनापति र अरू भारदारहरू पनि थिए।
दिनको पहिलो प्रहरमा पनि गोर्खालीहरूको ठूलै हुजुम जम्मा भएको थियो।
त्यही हुजुममा एक जोडी आँखा यस्तो थियो, जो मान्छेको टाङ मुनि मुनि छिर्दै बल्लतल्ल यहाँसम्म आइपुगेको थियो।
उसलाई दरबारको मूलढोकामै द्वारपालेहरूले रोकेका थिए। ऊ फर्केर अलि परसम्म गयो। मौका ढुकेर बसिरह्यो। जसै एक हुल मान्छे भित्र छिर्यो, ऊ तिनै मान्छेको छेल पर्दै लुकिछिपी दरबारको प्रांगणसम्म पुग्यो। द्वारपालेहरूले ऊ छिरेको पत्तै पाएनन्।
उसका आँखा अरूका भन्दा तेजिला थिए। त्यसैले मान्छेको भीडभाड र अँध्यारोमा पनि उसले विशन थापा मगरलाई प्रस्टै चिन्यो।
जसै उसको आँखा विशनमा पर्यो, उसले आफ्नो आँखा हटाउँदै हटाएन।
तल गोरखनाथ मन्दिरमा बिहानीको पहिलो घन्ट बजेको सुनिँदै गर्दा उसले देख्यो — विशन राजाको पाउमा दाम चढाउँदै छन्।
दाम चढाउन भुइँमा झुकेका विशनलाई राम शाहले कुम समातेर माथि उठाए र उनको आँखामा हेर्दै भने, ‘गोरखाको मान राखेस्।’
विशन फेरि भुइँतिर झुके र दाहिने घुँडाले भुइँमा टेकेर राजातिर हेर्दै भने, ‘भोटान्तमा गोर्खाली शिर उँचो राख्नेछु महाराज।’
यस्तो जवाफ सुनेर राम शाह प्रसन्न भए। अँध्यारोमा पनि उनको मुहार जूनको प्रकाश परेझैं टिलिक्क टल्कियो।
उनले पछाडि उभिरहेका आफ्ना सेवकलाई हातले इसारा गरे। हातमा काँसको किस्ती बोकेर उभिएको सेवक तीन कदम अगाडि आयो। किस्तीमाथि राखेको रातो मलमलको कपडा हटायो। त्यहाँ केही पुष्पगुच्छाहरू थिए।
राम शाहले एउटा पुष्पगुच्छा टिपेर विशनको हातमा राखिदिए।
विशनले पुष्पगुच्छा लिँदै राजालाई साष्टांग दण्डवत् गरे।
त्यो एक जोडी आँखाले लगातार विशनलाई पछ्याइरहेको थियो।
विशनपछि भोटान्त जाने तयारीका साथ आएका चालीस–पचास गोर्खाली परिवारले पालैपालो राम शाहलाई दाम चढाए र दण्डवत् गरे।
राम शाहले सबैका हातमा एउटा–एउटा पुष्पगुच्छा राखेर उनीहरूलाई बिदाइ गरे।
आखिरीमा पालो आयो, भुटानका पहिलो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल र उनीसँगै आएका भुटानी लामाहरूको।
राम शाहले स्वयं चार कदम अगाडि बढेर धर्मराजालाई प्रणाम गरे। धर्मराजाले पनि त्यसरी नै अभिवादन फर्काए।
धर्मराजालाई बोकेर लैजान पालकी तयार थियो। राम शाहले उनलाई पालकीसम्मै पुर्याए र हात जोडेर भने, ‘मैले आफ्ना जनता हजुरको हातमा सुम्पेको छु धर्मराज। आशा छ, आजको दिनबाट गोरखा र भोटान्तको दौत्य सम्बन्धको नयाँ अध्याय सुरू हुनेछ।’
राम शाहको कुराले धर्मराजा निकै भावुक भए र भने, ‘म यी गोर्खाली जनताको बलमा देश बनाउने अभियानमा लागेको छु महाराज। मैले आज हजुरबाट केही गोर्खाली जनहरू मात्र उपहार पाएको छैन, सिंगो भोटान्तको भविष्य उपहारमा पाएको छु। आज यो भूमिबाट भोटान्तको भविष्य आफूसँग लिएर जान पाउँदा म धन्य छु महाराज।’
राम शाहले धर्मराजा नमग्यालको हात समाते र उनलाई आफ्नै हातले पालकीमा बसाले।
दरबारको मूलढोकामा उभिएका ब्राह्मणहरू गायत्री मन्त्र जप्दै थिए। एक ब्राह्मणले आकाश घन्किने गरी शंख फुके।
धर्मराजाको पालकी उठ्यो र अघि बढ्यो।
पालकीको ठ्याक्कै पछाडि भुटानी लामाहरू थिए। उनीहरू पनि अघि बढे।
त्यसको ठ्याक्कै पछाडि थिए, विशन थापा मगर, उनकी पत्नी र केटाकेटी। साथमा थिए, विशनसँगै पहिलो खेपमा भोटान्त बसाइँ सर्दै गरेका चालीस–पचास गोर्खाली परिवार।
उनीहरू सबै दरबारको प्रांगणबाट अघि बढे।
त्यो एक जोडी आँखा निरन्तर विशनलाई पछ्याउँदै थियो।
राजा राम शाह र धर्मराजा ङवाङ नमग्यालको दौत्य सम्बन्धको सेतु चढेर भोटान्त हिँडेका गोर्खालीहरूले मर्स्याङ्दीको तिरमा पुगेपछि आखिरीपटक आफ्नो राज्य र आफ्नो गाउँलाई फर्केर हेरे।
सबैका आँखा रसाएका थिए।
बिदाइ गर्न आएका गाउँलेहरूको साथ अब यहीँसम्म मात्र थियो।
अश्रुपूर्ण बिदाइपछि गाउँलेहरू फर्के।
धर्मराजाको पालकीलाई बीचमा राखेर भुटानी लामा र गोर्खालीहरूको लश्कर नयाँ देशतर्फ बढ्यो।
साथीभाइको साथ छुट्यो, देशको सीमा छुट्यो।
मर्स्याङ्दीको कलकल मसिनो सुनिँदै गयो।
गोर्खाली माटोको बास्ना हावाबाट बिलाउँदै गयो।
तर त्यो एक जोडी आँखा अहिले पनि विशनलाई पछ्याउँदै थियो।
पछाडिबाट कोही हिँड्दै आइरहेजस्तो सर्याकसुरूक आवाज सुनेर विशन चनाखो भए।
उनले फर्केर हेरे।
कोही थिएन।
उनी अगाडि बढे।
अलि बेरसम्म मानव लश्करको सुमसुम आवाज मात्र उनको कानमा ठोक्किरह्यो।
फेरि एकछिनमा उस्तै सर्याकसुरूक सुने।
फर्केर हेरे।
कोही थिएन।
यसपालि विशनको दाहिने हात कम्मरमा भिरेको खुकुरीको दापमा थियो।
उनले अलि पर झ्याङमा केही चलेजस्तो खस्याकखुसुक आवाज सुने। ध्यान दिएर हेरे। झ्याङमा पातपतिंगरहरू फिरफिर हल्लिरहेका थिए।
त्यो हावाको हल्लाइ होइन भन्ने बुझ्न विशनलाई एक निमेष पनि लागेन।
उनीहरू जंगलको छेउमा थिए। त्यसैले कुनै जंगली जनावरले पछ्याइरहेको हो कि भन्ने विशनलाई शंका भयो। उनले आफ्ना केटाकेटी र श्रीमतीलाई पछाडि हेर्दै नहेरी सुइँसुइँ अगाडि जान अह्राए। र, आफू चाहिँ त्यहीँ ठिंग उभिइरहे।
अलि बेरमा झ्याङका बुट्टयानहरू फेरि खस्याकखुसुक हल्लिए। विशन सतर्क भए।
बुट्टयानको कापबाट एक जोडी आँखा पिलिक्क देखा पर्यो — उही कालो एक जोडी आँखा।
चमचम चम्किरहेको एक जोडी आँखा।
विशन छक्क परे।
‘पुन्टु!’
विशनले यसो भन्नु के थियो, त्यो एक जोडी आँखा झ्याङबाट उफ्रेर बाहिर निस्कियो र मृगभन्दा तेज गतिमा दौडिँदै विशनको नजिक आइपुग्यो।
उसले विशनको वरिपरि तीन फन्को मार्यो। विशनको गोडामा लडिबुडी गर्यो। बुर्लुक बुर्लुक उफ्रिँदै विशनको कम्मरसम्म छुन खोज्यो।
र, भौ भौ भुक्दै लगातार पुच्छर हल्लाएको हल्लायै गर्यो।
त्यो एक जोडी आँखा विशनको प्यारो कुकुर ‘पुन्टु’ को थियो।
बसाइँ सरेर हिँडेका विशनलाई राजाले दरबारको आँगनमै बिदाइ गरे। गाउँलेहरू बिदाइ गर्न मर्स्याङ्दीसम्म आए। तर यो पुन्टुले विशनलाई बिदाइ गरेन। ऊ लश्कर पछ्याउँदै यहाँसम्मै आइपुग्यो।
विशनले आफ्नो गोडामा लडिबुडी गरिरहेको पुन्टुलाई भावुक हुँदै अँगालो मारे।
पुन्टुले आफ्ना रसिला आँखा चिमचिम गर्दै विशनलाई हेरिरह्यो।
त्यति बेलासम्म विशनका श्रीमती र केटाकेटीले पनि पुन्टुको भौ भौ सुनिसकेका थिए। केटाकेटीहरू आमाको हात छाडेर दौडिँदै पुन्टुनजिक आए र उसलाई अँगालो मारे। पुन्टुले पनि आफ्ना ती साथीहरूको गाला लपलप चाट्यो। खुसीले फनफनी घुम्यो। पुच्छर हल्लायो।
विशनलाई भने अब आपत् पर्यो। उनी अपरिचित नयाँ ठाउँ जाँदै थिए। यात्रा लामो थियो। यति लामो यात्रामा पुन्टुलाई सँगसँगै लैजान कसरी सकिएला भनेर उनलाई दुबिधा भयो।
उनले पुन्टुलाई आफ्नो छातीमा टाँसेर सम्झाए, ‘हामी त धेरै टाढाको नयाँ देश जाँदैछौं। त्यहाँ के छ, कस्तो छ, मलाई केही थाहा छैन। त्यहाँ तेरो निम्ति बास हुन्छ कि हुन्न भन्ने पनि मलाई थाहा छैन। म त राजाको आज्ञाले देश छाडेर जाँदैछु, तँ किन मेरो पछि लाग्छस्। तँ यहीँ बस्।’
पुन्टु कत्ति न मान्छेको लवज बुझुँलाझैं गरी टुलुटुलु विशनतिर हेर्दै थियो। सायद उसको ध्यान विशनको ओठतिर थियो। सायद ऊ ओठको भाकाले विशनको भाव बुझ्न खोज्दै थियो।
र, सायद उसले विशनको भाव बुझ्यो पनि, किनभने उनको बोली टुंगिनासाथ ऊ विशनको गोडामा घोप्टै परेर लडिबुडी गर्न थाल्यो।
विशन असमञ्जसमा परे।
मानव लश्कर उनीहरूलाई छाडेर निकै अगाडि पुगिसकेको थियो।
विशनसँग अब अर्को कुनै उपाय थिएन। उनी केटाकेटीका हात समातेर ठमठम अगाडि बढे। श्रीमती पछि लागिन्।
पुन्टु उनीहरूलाई उछिन्दै, बुर्लुक बुर्लुक उफ्रिँदै, भौ भौ गर्दै, पुच्छर हल्लाउँदै अगाडि अगाडि दौडियो।
विशन छिटो छिटो पाइला सारेर धर्मराजाको पालकीछेउ गए र उनका सेवकहरूलाई धर्मराजासँग कुरा गर्न चाहेको इसारा गरे।
पालकी टक्क अडियो।
धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले पालकीको पर्दा हटाए।
विशनलाई देखेर मुसुक्क हाँसे। पुन्टुलाई देखेर छक्क परे।
‘धर्मराज, यो मेरो पुन्टु हो। गाउँदेखि मलाई पछ्याउँदै यहाँसम्म आइपुगेछ,’ विशनले हात जोडेर धर्मराजालाई बिन्ती गरे, ‘म एकदमै धर्मसंकटमा छु। न यसलाई यहाँ बीच बाटोमा छाड्न सक्छु, न आफूसँगै लैजान सक्छु।’
धर्मराजा नमग्याल आधाआधी नेपाली भाषा बुझ्थे। तिब्बतको रालुङ गुम्बा छाडेर हिँडेपछि उनले केही समय काठमाडौं उपत्यकामा बिताएका थिए। त्यहाँ उनले स्वयम्भुमा बसेर बौद्ध शिक्षा ग्रहण गरेका थिए। त्यही क्रममा नेपाली र नेवारी भाषा आधाआधी जानेका थिए। गोरखाको सीमावर्ति तिब्बती क्षेत्रमा रहेका गुम्बाहरूमा पनि उनको धेरै आउजाउ थियो। त्यहीँ नेपाली बौद्ध भिक्षुहरूको संगतले उनलाई भाषाको ज्ञान भएको थियो।
नमग्याल पालकीबाट बाहिर ओर्ले र आफ्ना दुवै हातले विशनका दुवै पाखुरा थपथपाउँदै भने, ‘यसमा दुबिधा मान्नुपर्ने कुनै कारण छैन विशन। मैले तिमीलाई स्वीकार गरिसकेँ। र, तिमीलाई स्वीकार गर्नुको मतलब मैले तिम्रो सबथोक स्वीकार गरिसकेँ। तिमीलाई माया गर्नेहरूको माया पनि मैले स्वीकार गरिसकेँ। तिमीलाई घृणा गर्नेहरूको घृणा पनि मैले स्वीकार गरिसकेँ। तिम्रो मनको धर्म अब मेरो हो, तिम्रो मनको पाप पनि मेरो हो। तिम्रो चैन मेरो हो, तिम्रो चिन्ता पनि मेरो हो। तिम्रो हाँसो मेरो हो, तिम्रो आँशु पनि मेरो हो। तिमीले मेरो निम्ति आफूलाई बदल्नु पर्दैन, तिमीले मेरो निम्ति कसैलाई त्याग्नु पर्दैन। तिमी जो हौ, तिमी जस्तो छौ, मैले त्यही रूपमा तिमीलाई स्वीकार गरिसकेँ।’
धर्मराजाले अगाडि भने, ‘विशन भोटान्तको भइसकेपछि विशनको सबथोक अब भोटान्तको हो। जुन भूमिमा विशनले आफ्नो पाइला राख्दैछ, त्यहाँ विशनलाई पछ्याउँदै आउने जसलाई पनि पाइला राख्ने हक छ। भोटान्त अब तिम्रो हो विशन। त्यसैले भोटान्त तिम्रो श्रीमती, तिम्रो केटाकेटी र तिम्रो पुन्टुको पनि हो।’
धर्मराजाको मुखबाट अमृत घोलिएजस्तो वाणी निस्किँदै गर्दा भुटानी लामाहरू हात जोडेर उनको कुरा सुन्दै थिए। गोरखाबाट बसाइँ सरेर हिँडेकाहरू पनि धर्मराजाको कुराले मन्त्रमुग्ध थिए।
प्रवचन लम्बिँदै जाने छाँट देखेर भुटानी लामाहरूले त्यहीँ नजिकै पिपलको बोटमुनि सफासुग्घर गरेर धर्मराजाको निम्ति आसन तयार पारे।
धर्मराजाले पिपलको बोटमुनि गएर कमलको फूलझैं आसन बाँधे।
भुटानी लामा र गोर्खालीहरू उनको अगाडि भुइँमा पलेँटी कसेर बसे। पुन्टु विशनको काखमा बस्यो।
त्यति बेला त्यहाँको दृश्य यस्तो देखिन्थ्यो, मानौं गौतम बुद्ध आफ्ना शिष्यहरूलाई ज्ञान दिँदै छन्।
रूखका लहराहरूमा चराचुरूंगी आफ्नो मुन्टो दाहिनेतिर कोल्टे पारेर बसेका थिए, मानौं तिनीहरू धर्मराजाको प्रवचनमा कान गाड्दै छन्।
आकाशमा अघिसम्म को अगाडि भन्ने हानाथाप गरिरहेका बादलहरू ठाउँको ठाउँ टक्क अडिएका थिए, मानौं ती बादल धर्मराजाको कुरा सुन्न व्यग्र छन्।
सिरसिर बतास पनि सामसुम थियो। बतासले हल्लिरहेका पातहरू स्थिर थिए।
धर्मराजाले भने —
‘मानिस र कुकुर भनेका सालनाल गाँसिएका प्राणी हुन्। जस्तो, यो पुन्टु र विशनको सालनाल गाँसिएको छ।
‘मानिस र कुकुरबीच जस्तो प्रेम हुन्छ, त्यस्तो प्रेम यो धर्तीमा कुनै प्राणीहरूबीच हुँदैन। जस्तो, यो पुन्टु र विशनको प्रेम छ। फरक यत्ति हो, विशनले प्रेमको खातिर पुन्टुलाई त्याग गर्न खोज्यो। उसलाई आफू गइरहेको नयाँ ठाउँमा पुन्टुले दुःख पाउला कि भन्ने डर थियो। त्यो डर अरू केही होइन, पुन्टुप्रति विशनको प्रेम हो। पुन्टु पनि विशनलाई कति प्रेम गर्छ भने, ऊ विशन जहाँसुकै जाओस्, चाहे त्यो जुनसुकै ठाउँ होस्, उसले लगातार विशनलाई पछ्याइरह्यो। उसलाई आफ्नो भविष्यको सुर्ता छैन, किनभने उसले विशनबिनाको आफ्नो वर्तमान नै कल्पना गरेको छैन। ऊ सेवक हो। संसारकै सबभन्दा आज्ञाकारी सेवक। ऊ आफ्नो सेवाबाटै प्रेम अभिव्यक्त गर्छ। त्यसैले विशन जहाँ जान्छ, ऊ पछ्याइरहन्छ। किनभने, ऊ हरपल विशनको सेवा गर्न चाहन्छ। उसलाई आफ्नो प्रेम पोखिरहन चाहन्छ।
‘साँचो प्रेम यस्तै हुन्छ। कोही प्रेमको खातिर त्याग्न खोज्छ, कोही प्रेमकै निम्ति टाँसिइरहन्छ। प्रेम प्रकट हुने भाव यही दुइटा मात्र हो। र, आखिरमा यी दुवै भाव एकै विन्दुमा आएर जोडिन्छन् र प्रेम अमर हुन्छ। प्रेम गर्नेहरू एकअर्काभित्र विलय हुन्छन्। चाहे त्यो आत्मिक विलय होस् वा शारीरिक विलय।’
भुटानी लामा र गोर्खालीहरू धर्मराजाको कुरा यस्तरी ध्यानमग्न सुन्दै थिए, मानौं उनीहरूले सास फेर्नधरि बिर्सिए।
पुन्टु पनि विशनको काखमा बसी बसी आफ्नो पुच्छर मन्द मन्द हल्लाउँदै थियो।
प्रवचन सकिएको थिएन।
धर्मराजाले भने, ‘म तिमीहरूलाई एउटा कथा सुनाउँछु, सुन्छौ?’
सबैले ‘सुन्छौं’ भन्ने भावमा तलमाथि मुन्टो हल्लाए।
पुन्टुको पुच्छर पनि खुसीले फिरफिरेजस्तै हल्लियो।
धर्मराजा नमग्यालले कथा सुरू गरे —
आजभन्दा एक्काइस सय वर्षअघिको कुरा हो। शान्तिको खोजीमा कपिलवस्तुको राजपाठ त्यागेर हिँडेका राजकुमार सिद्धार्थ गौतमले भर्खरै बुद्धत्व प्राप्त गर्नुभएको थियो।
उहाँ आफूले पाएको ज्ञान बाँड्न गाउँ गाउँ डुल्नुहुन्थ्यो र यसरी नै पिपलबोटको काखमा आसन जमाएर शिष्यहरूलाई प्रवचन सुनाउनुहुन्थ्यो।
उहाँले प्रवचन दिने ठाउँ फेरियो, शिष्यहरू फेरिए। एक थोक चाहिँ कहिल्यै फेरिएन।
गौतम बुद्धले जहाँ जहाँ ज्ञान दिनुभयो, त्यहाँ त्यहाँ कुकुरहरू पनि उहाँको प्रवचन सुन्न आए। ती कुकुरहरू गौतम बुद्धलाई प्रश्न सोध्न सक्दैनथे, तर उनीहरूको ध्यान यति एकाग्र थियो, न बुद्धबाट उनीहरूको आँखा हट्यो, न बुद्ध वचन उनीहरूको कानले बिरायो।
मान्छेको ध्यान बरू घरिघरि भट्किरहन्थ्यो। मान्छे भोकाउँथ्यो, तिर्खाउँथ्यो, गर्मीले सुस्ताउँथ्यो र थकानले झपझपाउँथ्यो। तर कुकुर न कहिले भोकायो, न तिर्खायो। न ऊ गर्मीले सुस्तायो, न थकानले झपझपायो। यहाँसम्म कि, उसलाई निदाउन पनि परेन। ऊ ध्यानमै लीन रह्यो। वायुमण्डलमा हावा चलेजस्तो दिनरात चौबीसै घन्टा गौतम बुद्धलाई पछ्याइरह्यो।
एकदिन एउटा प्रवचनमा एक जना शिष्यले गौतम बुद्धलाई सोधेछन्, ‘हे भन्ते, म निरन्तर हजुरलाई पछ्याइरहेको छु। हजुरको प्रवचन एकदिन नबिराई सुनिरहेको छु। के म पनि हजुरजस्तै बुद्ध हुन सक्छु?’
शिष्यको यस्तो प्रश्न सुनेर गौतम बुद्ध मन्द मन्द मुस्कुराउनुभएछ र शिष्यहरू जहाँ बसिरहेका छन्, त्योभन्दा अलि पछाडि भुइँमा टुक्रुक्क बसिरहेको कुकुरतिर इसारा गर्दै सोध्नुभएछ, ‘तिमीले सधैं हामी सँगसँगै हिँड्ने यो कुकुरको आनीबानी याद गरेका छौ?’
बुद्धको प्रतिप्रश्न सुनेर शिष्यले जिल्ल पर्दै पछाडि फर्केर कुकुरतिर हेरेछन्।
बुद्धले भन्नुभएछ, ‘तिमी एकछिन यो कुकुरलाई राम्ररी नियाल र उसको आनीबानी सम्झ। ऊ आफ्नो मालिकलाई उत्पातै प्रेम गर्छ। मालिक दिनभरि घर बाहिर हुँदा ऊ कुरेर बस्छ। बेलुकी जसै मालिक फर्किन्छ, पुच्छर हल्लाउँदै स्वागत गर्न जान्छ। मालिकसँगै लडिबुडी खेल्छ। गाला चाटेर प्रेम देखाउँछ। यस्तो प्रेम तिमीले अन्त कहीँ देखेका छौ?’
बुद्धले अगाडि भन्नुभएछ, ‘ऊ सधैं वर्तमानमा बाँच्छ। मालिकको खुसीमा खुसी हुन्छ। मालिक दुखी छ भने छेउमा झोक्राएर बस्छ। तर कुनै पनि अवस्थामा मालिकको साथ छाड्दैन।’
‘उसको प्रेम निःसर्त छ, निस्वार्थ छ। तिमी उसलाई माया गर, ऊ खुसीले नाच्छ। तिमी उसलाई गाली गर, ऊ कुइँकुइँ रूञ्जेल लौरोले हिर्काऊ, तैपनि ऊ इख पालेर बस्दैन। बेलुकी तिमी घर आउँदा ऊ ङ्यार्रङुर्र गर्दै तिमीलाई झम्टन आउँदैन। चाहे तिमीले गाली गरेको होस् वा कुटेको होस्, ऊ तिम्रो अगाडि पुच्छर हल्लाउँदै नै आउँछ। यस्तो प्रेम तिमीले अन्त कहीँ देखेका छौ?’
बुद्धले फेरि भन्नुभएछ, ‘उसलाई कुनै चिजको मोह छैन। उसको कुनै माग छैन। जे छ, त्यसैमा खुसी हुन्छ। मालिक धनी छ भने ऊ मासुभातमा रमाउँछ। मालिक गरिब छ भने बासीभात पनि खान्नँ भन्दैन। दुःखसुखमा भेद नगर्ने यस्तो समभाव तिमीले अन्त कहीँ देखेका छौ?’
बुद्धको यो जवाफ शिष्यले राम्ररी बुझेनन् र सोधे, ‘मैले हजुरको आसय बुझिनँ भन्ते!’
बुद्धले जवाफ दिनुभएछ, ‘यो संसारमा सबभन्दा पहिला बुद्धत्व प्राप्त गरेको प्राणी कुकुर हो। त्यसैले मेरो आसय के हो भने, जुन दिन तिमी कुकुरजस्तै वर्तमानमा बाँच्न सिक्छौ, कुकुरले जस्तै निःसर्त र निस्वार्थ प्रेम गर्न सिक्छौ, कुकुरले जस्तै दुःखसुखमा समभाव राख्छौ र कुकुरले जस्तै मोह र इख त्याग गर्छौ, त्यो दिन तिमी बुद्ध हुन्छौ।’
गौतम बुद्धको यस्तो वचन सुनेर शिष्यहरू खुसी भए। पछाडि टुक्रुक्क बसिरहेको कुकुरले पनि फिर्रर पुच्छर हल्लायो।
त्यही बेला आफ्नो आँखा चिमचिम गर्दै, कान ठाडोठाडो पार्दै धर्मराजाको कथा सुनिरहेको पुन्टुको पुच्छर हावामा पात हल्लिएझैं हल्लियो।
धर्मराजा आसनबाट उठे, पुन्टुको नजिक आए र उनको शिरमा हात फेरे।
पुन्टु धर्मराजाको गोडामा लडिबुडी गर्न थाल्यो।
चौंतीस दिनको अविराम यात्रापछि धर्मराजा ङवाङ नमग्यालको पछि लागेर हिँडेको विशन थापा मगरको टोली भोटान्तको सीमा प्रवेश गर्यो।
भोटान्तको दक्षिणी सीमामा निकै घना जंगल थियो। यस्तो घना, जहाँ सूर्यको प्रकाशधरि छिर्दैन थियो।
विशनले यस्तो भयंकर जंगल यसअघि कहिल्यै देखेका थिएनन्।
त्यहाँ रूखको फेद र टुप्पा यस्तरी बांगिएका थिए, मानौं त्यो रूख होइन, धनुको कमान हो। हरेक रूखको आकार द्वितीयाको चन्द्रमाजस्तै थियो। मुन्टो सोझो राखेर हेर्दा प्रत्येक दुइटा रूखको बीचमा एउटा लाम्चो आकारको शून्य बनेझैं लाग्थ्यो।
रूखका जराहरू भुइँको सतहबाट बाहिरसम्मै निस्केका थिए, मानौं ती जरा होइनन्, माटो खोस्रेर बाहिर निस्केका गँड्यौला हुन्।
त्यो जंगलमा रूखका लहराहरू आपसमा यस्तरी जेलिएका थिए, मानौं ती लहरा होइनन्, माकुरीजालो हुन्। एउटा रूखका झ्याम्म लहरा अर्को रूखका झ्याम्म लहरासँग जेलिएकाले भुइँबाट उँभो हेर्दा माथि आकाशधरि देखिँदैन थियो।
दिउँसै रात पार्ने घनघोर जंगल देखेर विशन तर्सिए।
उनीसँगै आएका अरू गोर्खालीहरू पनि जिन्दगीमा कहिल्यै नदेखेको घना जंगल देखेर छक्क परे।
उनीहरूको मनोदशा बुझेर धर्मराजा नमग्यालले भने, ‘नतर्स, तिमीहरू अब यहाँबाट भोटान्तको सीमा प्रवेश गर्यौ। तिमीहरूले यस्तै जंगल–पाखा फाँडेर यहाँ आबादी बसाउनुछ। यहाँको माटो मलिलो छ, तर यो मलिलो माटोलाई परिश्रमी पाखुराले खनजोत गरेको छैन। यहाँको माटोलाई पसिनाले भिजाएको छैन। तिमीहरूले यो माटोलाई आफ्नो पसिनाले सिँचेर यो भूमिलाई आफ्नो नयाँ देश बनाउनुछ। मेरो यो अभियानमा तिमीहरू साथ दिन्छौ?’
अरूले त केही बोलेनन्, विशन थापा मगर चाहिँ अगाडि सरे र आफ्नो दाहिने मुठ्ठी छातीमा राख्दै भने, ‘धर्मराज, म विशन थापा मगर, भोटान्तको नयाँ नागरिक, म यो भूमिलाई आफ्नो नयाँ कर्मभूमि बनाउने प्रण गर्छु। अबउप्रान्त हाम्रा सन्तान–दर–सन्तानको निम्ति यो भूमि नै उसको मातृभूमि हुनेछ। उनीहरू यहीँ जिउने छन्, यहीँ मर्ने छन्।’
‘धर्मराज, हजुरले जसरी कुकुरको निःसर्त र निस्वार्थ प्रेमको कथा सुनाउनुभयो, हामी पनि यो भूमिलाई त्यस्तै निःसर्त र निस्वार्थ प्रेम गर्नेर्छौं। हाम्रो अबको जीवन यही भूमिको निम्ति समर्पित छ।’
विशन थापा मगरको अगुवाइमा गोरखाबाट पहिलो खेपमा भोटान्त बसाइँ सरेका चालीस–पचास परिवारका सबैले ‘हो हो’ भन्दै सही थापे।
गोर्खालीहरूको यस्तो प्रण सुनेर धर्मराजाले भावुक हुँदै भने, ‘म पनि आज एउटा प्रण गर्छु, तिमीहरूका सन्तान–दर–सन्तानले यो भूमिमा कहिल्यै भेदभाव र अन्यायको अनुभूति गर्नुपर्ने छैन। जुन दिन तिमीहरूमध्ये कसैले आफूमाथि अन्याय भएको महसुस गर्नेछ, जुन दिन तिमीहरूमध्ये कसैको आँशुले यहाँको माटो भिजाउनेछ, तिमीहरूमध्ये कसैको आर्तनाद यहाँको हावामा गुञ्जिनेछ, त्यो दिन यो भूमिलाई तिमीहरूको आँशु र तिमीहरूको आर्तनादको सराप लाग्नेछ। यो भूमिमा दिनरात चौबीसै घन्टा पानी परिरहनेछ। यो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालको प्रण हो।’
रात झमक्क परिसकेको थियो। धर्मराजाले त्यो रात जंगलमै बास बस्ने आदेश दिए।
जंगलका ती झ्याम्म परेका लहराहरूलाई छत बनाएर, गँड्यौलाझैं माटो खोस्रेर बाहिर निस्केका रूखका ठुल्ठूला जरालाई चकटी बनाएर उनीहरूले रात त्यहीँ काटे।
रात थोरै बाँकी नै थियो, तर गोर्खालीहरूको पहिलो सूर्योदय भोटान्तको राजधानीमै होस् भन्ने धर्मराजाले चाहे।
हिँड्ने बेला विशन थापा मगरले आकाशै छुँलाझैं गरी अग्लिएका रूखहरूलाई हेरे। अँध्यारोमा जति घाँटी तन्काएर हेर्दा पनि रूखको टुप्पोसम्म उनको नजर पुगेन।
उनले कम्मरमा झुन्ड्याएको दापबाट चमचमाउँदो खुकुरी झिके र जुन रूखको फेदमा उनको परिवारले भोटान्तको पहिलो रात काट्यो, त्यो रूखमा खुकुरीले खोपेर केही टेढेमेढे अक्षर लेखे।
जंगलभित्र आक्कलझुक्कल मात्र छिर्ने जूनको किरणमा विशनले लेखेको टेढेमेढे अक्षर झिलिक्क टल्कियो।
उनले एउटा त आफ्नै नामको पहिलो अक्षर ‘व’ लेखेका थिए, अर्को ‘ग’ लेखेका थिए, जुन उनको जन्मभूमि गोरखाको पहिलो अक्षर थियो।
पुन्टुले एकछिन टाउको नचाउँदै ती दुवै अक्षर टुलुटुलु हेर्यो र पुच्छर हल्लाउँदै विशनको पछाडि लाग्यो।
चार सय वर्षपछि भोटान्तबाट खेदिएर निस्किँदा जब दिलु र उनकी आमा यही रूखको फेदमा बास बसेका थिए, त्यो बेला घना जंगलभित्र रूखमा खोपिएको धमिलो ‘व’ र ‘ग’ अक्षर देखेर दिलु तीनछक खाएको थियो।
त्यति बेला यो जंगलमा दिनरात चौबीसै घन्टा पानी परेको पर्यै थियो।
अध्यायः आठ
चार सय वर्षअघि भुटान पुगेका १६ जना नेपाली
विशन थापा मगरको अगुवाइमा पहिलो खेप गएको ठ्याक्कै सोह्र वर्षपछि दोस्रो भुटान बसाइँसराइ भयो — विक्रम सम्बत् १६९७ मा।
भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल आफ्नो दोस्रो औपचारिक भ्रमणमा गोरखा र काठमाडौं उपत्यका आएका थिए, दलबलका साथ। त्यो बेला राम शाहको निधन भइसकेको थियो। गोरखाको गद्दीमा डम्बर शाह थिए, जसको जन्म उनै धर्मराजाले पठाइदिएका एक भुटानी लामाले गोरखा दरबारमा गरेको तान्त्रिक अनुष्ठानको फलस्वरूप भएको थियो।
यसपालिको भ्रमणमा पनि भुटानी धर्मराजाले गोर्खाली जनताका केही परिवार र काठमाडौंका केही कालिगढलाई आफूसँगै लगे। यसपटक काठमाडौं आउँदा उनले स्वयम्भुको जीर्णोद्धारसमेत गरेका थिए। त्यसपछि पनि स्वयम्भु जीर्णोद्धार र पूजा–दर्शनका लागि विभिन्न समयमा भुटानी लामाहरू काठमाडौं आएका थुप्रै प्रमाण पाइने इतिहासकार रमेश ढुंगेल बताउँछन्।
नमग्यालले दोस्रो खेपमा गोरखाबाट लगेकाहरूलाई पश्चिम भुटानको पहाडी भूभाग तथा दक्षिण भुटानको समथर प्रदेशमा बसोबास गराएको ढुंगेलको किताबमा उल्लेख छ। यस आधारमा हामी पहिलो खेपमा लगिएका गोर्खालीहरूलाई पनि तिनै दुई प्रदेशमा बसोबास गराइएको थियो भनेर भन्न सक्छौं। काठमाडौंबाट लगिएका कालिगढलाई त थिम्पु वरपरका विभिन्न ठाउँमा बसोबास गराइएको थियो भनेर हामीले अघिल्लो अंकमा उल्लेख गरिसकेका छौं।
गोरखा र काठमाडौंबाट लगिएका नेपालीलाई फरक फरक ठाउँमा बसोबास गराउनुको कारण एउटै हुनसक्छ– उनीहरूलाई लगिनुको प्रयोजन।
गोरखाबाट लगिएकाहरूलाई शासन व्यवस्थाको थिति बाँध्ने विभिन्न कार्यमा प्रयोग गरिएको थियो। उनीहरूलाई लडाइँभिडाइँमा लगाइयो। जंगल फँडानी गराइयो। बन्जर भूमिको खनजोत र खेतीपातीमा प्रयोग गरियो। कतिले उच्च सरकारी ओहोदा पनि पाए। त्यसैले उनीहरूको बसोबास विभिन्न जिल्लामा छरियो। काठमाडौंबाट लगिएका कालिगढहरूको काम भने मूलतः नयाँ गुम्बा बनाउनु र पुराना गुम्बा जीर्णोद्धार गर्नु थियो। उनीहरूले मूर्ति बनाए। स्तुपहरू निर्माण गरे। भुटानलाई कलाशिल्पले सिँगारे। त्यसैले उनीहरूको बसोबास थिम्पु वरिपरि नै सीमित हुन पुग्यो।
पहिलो खेपमा भुटान गएका गोर्खालीहरूको नेतृत्व विशन थापा मगरले गरेका थिए भनेर थाहा भएजस्तै दोस्रो खेपको नेतृत्व जिम्मा राजा डम्बर शाहले कसलाई दिएका थिए, हामीलाई जानकारी छैन।
के दोस्रो खेपमा नेपालीहरू लैजाँदा पनि धर्मराजा नमग्यालले पहिलेजस्तै चारै वर्णका परिवार समावेश गरेका थिए?
यसको पनि ठ्याक्कै उत्तर भेटिएको छैन। तर उनले चारै वर्णको समूह बनाएको हुनुपर्छ भन्ने हामी अनुमान गर्न सक्छौं। किनभने, त्यसपछि तेस्रो खेपमा जुन समूह गोरखाबाट भुटान बसाइँ सर्यो, त्यसमा परेका नाम हेर्दा चारै वर्णका छन् — ब्राह्मण छन्, क्षत्री छन्, वैश्य छन्, शुद्र पनि छन्।
तेस्रो बसाइँसराइ विक्रम सम्बत् १७१७ मा भएको थियो। यो भनेको पहिलो खेप गएको ३६ वर्ष र दोस्रो खेप गएको २० वर्षपछि हुन आउँछ।
तेस्रो बसाइँसराइमा तीनवटा कुरा उल्लेखनीय छन् —
पहिलो, यो बसाइँसराइ हुँदा भुटानका पहिलो धर्मराजा ङवाङ नमग्यालको निधन भएको नौ वर्ष बितिसकेको थियो।
शाब्द्रुङ ङवाङ नमग्यालको निधन विक्रम सम्बत् १७०८ मा भएको थियो। निधन हुनुभन्दा केही समयअघिदेखि उनी पुनाखा जोङको एकान्तवासमा थिए। उनको निधनको खबर ५४ वर्षसम्म गोप्य राखिएको थियो।
यसबाट हामी के बुझ्छौं भने, ङवाङ नमग्यालले भुटानको शासन व्यवस्था चलाउन नेपालीहरूलाई बसाइँ सार्ने जुन थिति चलाएका थिए, त्यसले उनको निधनपछि पनि निरन्तरता पाइरह्यो।
दोस्रो, अघिल्ला बसाइँसराइमा धर्मराजा नमग्याल स्वयं नेपाल भ्रमणमा आएका थिए। उनले यहाँ आउँदा विभिन्न जात र वर्णका नेपालीहरू सँगै लगेका थिए। यसरी धर्मराजा स्वयं आएको अवसरमा नेपालीहरू पठाइनुले त्यसलाई गोरखा वा काठमाडौंका तर्फबाट भुटानप्रति देखाइएको सद्भावका रूपमा पनि लिन सकिन्थ्यो। तर तेस्रो खेप जाँदा नमग्यालको निधन भइसकेको थियो भने अर्को कुनै धर्मराजा नेपाल आएको देखिँदैन।
यसबाट हामी बुझ्छौं, राजकीय भ्रमण नहुँदा पनि नेपालीहरूको भुटान यात्रा रोकिएन।
यति हुँदाहुँदै तेस्रो बसाइँसराइभन्दा अगाडि वा पछाडि तत्कालीन धर्मराजा नेपाल आएका भने हुन सक्छन्। किनभने, भुटानमा नयाँ धर्मराजा फेरिएसँगै गोरखाको सौहार्द भ्रमण गर्नुपर्ने परम्परा नै चलेको थियो भनेर ढुंगेलले आफ्नो किताबमा उल्लेख गरेका छन्।
‘गोर्खाली राजा राम शाह र भुटानी धर्मराजा ङवाङ नमग्यालले सौहार्द सम्बन्ध जोडेपछि गोरखा वा अन्य नेपाली भूभागबाट भुटान गएर बसोबास गर्ने यस्तो सिलसिला सुरू भयो, जसले सत्रौं र अठारौं शताब्दीभरि निरन्तरता पाइरह्यो,’ ढुंगेलले हामीसँग भने, ‘यसले नेपालीहरूलाई नयाँ मुलुकमा नयाँ कामको अवसर त दियो नै, सँगसँगै जनसंख्या कम भएको भुटानलाई खेतीपाती र सुरक्षादेखि प्रशासन र अन्य राजकीय कामकाजका लागि दक्ष जनशक्तिको अभाव पूर्ति गर्यो। सबभन्दा ठूलो कुरा त, भुटानले गोर्खालीका रूपमा दक्ष कृषि श्रमिक प्राप्त गर्यो, जसले उनीहरूको अन्नको आवश्यकता पूरा गर्न धेरै मद्दत गरे।’
तेस्रो कुरा, अघिल्ला बसाइँसराइको दाँजोमा यो ठूलो थियो। पहिलो चरणमा गोरखाबाट चालीस–पचास परिवार भुटान गएको विवरण हामी भेट्छौं। दोस्रोको तथ्यांक उपलब्ध छैन। तेस्रो खेपमा भने एकैचोटि साठी परिवार भुटान लगिएको इतिहासकार ढुंगेलले उल्लेख गरेका छन्। यसले बसाइँसराइको संख्या समयक्रममा ठूलो हुँदै गएको देखिन्छ।
ती साठी नेपाली परिवारमध्ये सोह्र जनाको नाम ढुंगेलले आफ्नो किताबमा समावेश गरेका छन्। भुटानमा पाइएका ऐतिहासिक लेखोट उद्धृत गर्दै ढुंगेलले समावेश गरेका ती नामहरू यस्ता छन् —
वेणु पाध्या
कालु पाध्या
सेतु थापा
बुधिन थापा मगर
वीरू गुरूङ
दाङसाङ गुरूङ
माने मुर्मी
विष्णु शाही ठकुरी
सुने मुर्मी
विष्णु जैसी
सेतुमान नेवार
न्याहुले नेवार
जिम्मे खम्बु किराँती
नैमी पाँडे
जिमु आले मगर
र, सन्ने कामी।
माथिका यी सोह्र जनाको सूची हेर्ने हो भने ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी चारै वर्ण समावेश देखिन्छ। यसबाट भुटानले नेपालीहरू लिएर जाँदा सबै वर्णका व्यक्तिलाई समावेशी ढंगमा लैजाने गरेको पुष्टि हुन्छ।
‘यो समूहलाई भुटान लगिँदा त्यहाँ जे खन् पो दम्–छो पेकार भन्ने धर्मराजा थिए भने गोरखामा कृष्ण शाह (विसं १७०९–१७२०) राजा थिए,’ ढुंगेल लेख्छन्।
उनले त्यो समूहमा भुटान गएका नेपालीहरूले धर्मराजालाई बुझाएको एउटा धर्मपत्र किताबमा उद्धृत गरेका छन्।
नेपाल र भुटानको ऐतिहासिक सम्बन्धबारे अन्वेषण गरेका स्वर्गीय विपीनदेव ढुंगेलले उक्त धर्मपत्र फेला पारेका थिए, जसमा लेखिएको छ —
‘उप्रान्त हामी हिजो गोर्खाका थियौं, आज हामी धर्माका छौं। धर्मा राजाका रीतिथिति मान्ने संकल्प गरेका छौं। उँधो टिष्टा, उँभो पगला कटमपतन, दक्षिण गोहाई ढीप, उत्तर भोट जाने हिमालभित्रको रेखदेख गर्न र दुश्मनलाई खलबल पार्न, देशमा छिर्न नपाउने गर्ने गरी वेणु पाध्या, कालु पाध्या, सेतु थापा, विष्णु शाही ठकुरी, बुधिन थापा मगर, वीरू गुरूङ, दाङसाङ गुरूङ, माने मुर्मी, सुने मुर्मी, विष्णु जैसी, सेतुमान नेवार, न्याहुले नेवार, जिम्मे खम्मु किराँती, नैमी पाँडे, जिमु आले मगर, सन्ने कामी तीन कोरी (६०) घर थर मिले धर्मराजा मानी सुरक्षा पाएका छौं।’
‘यो धर्मपत्रमा गोरखाबाट बसाइँ सरी गएका नेपालीले हामी भुटानी धर्मराजाको नियम मान्छौं भनी शपथ गरेको देखिन्छ,’ ढुंगेल लेख्छन्।
उनले हामीसँगको कुराकानीमा भने, ‘धर्मराजाले गोरखाबाट लगेका चार वर्णका जनतालाई टिष्टा नदीभन्दा पूर्वको ठगु जिल्लादेखि टुर्सा नदीसम्मको भुटानी भूभागमा बस्ती बसाउने र जनसंख्या बढाउने अधिकार दिएका थिए।’
यति मात्र होइन, धर्मपत्रअनुसार भुटान गएका नेपालीहरूलाई सीमा रेखदेख गर्ने, दुश्मनहरूको आक्रमणबाट जोगाउने र दुश्मनहरूलाई भुटानी सीमाभित्र प्रवेश गर्न नदिने जिम्मेवारी पनि दिएको देखिन्छ। तत्कालीन भारतको बिहारबाट तिब्बत जाने बाटो रेखदेख गर्नुका साथै त्यही बाटोबाट हुनसक्ने विदेशी घुसपैठ नियन्त्रणको जिम्मा पनि गोर्खालीहरूले नै पाएको ढुंगेल बताउँछन्। यसको मतलब, तत्कालीन समयमा नेपालीहरूले भुटानको सीमा रक्षा गर्ने सेनाका रूपमा काम गरेका थिए। भुटानी धर्मराजाले गोर्खालीहरूलाई आफ्नो राज्य सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सुम्पेर अगाध विश्वास देखाएको यो धर्मपत्रले पुष्टि गर्छ।
यसै सन्दर्भमा एउटा रोचक घटना ढुंगेलले हामीलाई सुनाए —
जुन राम शाहले आफ्ना गोर्खाली परिवारलाई भुटान बसाइँमा पठाए, धेरै वर्षपछि उनकै पुस्ताका राजाहरूले तिनै गोर्खालीसँग युद्ध मैदानमा भिड्नुपरेको थियो।
भयो के भने, पृथ्वीनारायण शाहले सुरू गरेको राज्य विस्तार अभियानकै सिलसिलामा राजा रणबहादुर शाहको गोर्खाली फौजले विक्रम सम्बत् १८४५ मा सिक्किमको तल्लो भूभागमाथि विजय हासिल गर्यो। गोर्खाली सैनिकहरू सिक्किममाथि विजय पताका फहराएपछि त्यहाँबाट अझ अगाडि बढ्दै गए। यस क्रममा उनीहरू टिष्टा नदी नाघेर पूर्वतर्फ लम्किन खोजे।
जसै गोर्खाली सेना टोलीले टिष्टा नदी तर्यो, उनीहरूको सामना पूर्वगोर्खालीहरूको फौजसँग भयो।
टिष्टा नदीपारि रणबहादुर शाहको बाटो छेक्न तैनाथ थियो भुटानी फौज, जसमा बहुसंख्यक तिनै नेपालीभाषी सिपाहीहरू थिए, जसका पूर्वज राम शाहका पालामा गोरखाबाट भुटान पुगेका थिए।
यसरी एउटै गोर्खाली पूर्वज भएका दुई देशका सिपाही एकअर्काविरूद्ध आमनासामना भए।
‘त्यो एकदमै रोचक युद्ध थियो,’ ढुंगेलले हामीसँग भने, ‘युद्धभूमिमा लडिरहेका दुवैतर्फका सिपाहीलाई हाम्रा पूर्वज एकै हुन् भन्ने थाहा थियो होला। यताबाट गएको गोर्खाली फौजले पनि यी भुटानी सिपाहीहरू विगतमा गोरखाबाटै गएका हुन् भन्ने जानेको थियो होला र उताबाट लड्न आएका सिपाहीले पनि यही गोर्खालीहरू हाम्रा पूर्वज हुन् भन्ने चिनेका थिए होलान्। तर दुवै पक्षको सैन्य अनुशासन हेर्नुस्, उनीहरूले युद्धभूमिमा आफ्ना पूर्वज को हुन् भन्ने वास्ता गरेनन्। उनीहरू त्यसरी नै भिडे, जसरी कुनै शत्रुसँग भिड्नुपर्छ। त्यो बेला ती दुवै समूह एउटै पूर्वजका सन्तति थिएनन्, अलग अलग राज्यका सिपाही थिए। आ–आफ्नो देशको निम्ति ज्यान दिएर लड्नु उनीहरूको सैन्य कर्तव्य थियो।’
‘यो घटनाले भुटान गएका गोर्खालीहरू कसरी समयक्रममा उतैका भए र उतैको राष्ट्रियता नै उनीहरूको निम्ति सर्वोपरि भयो भन्ने देखाउँछ,’ ढुंगेलले भने।
धर्मपत्रले ‘गोरखा र भुटानबीच राम शाह र ङवाङ नमग्यालकै पालादेखि शिष्य–शाखाको जस्तो सम्बन्ध विकास भएको थियो’ भन्ने थप पुष्टि पनि गरेको छ। यहाँबाट गएका नेपालीहरूले ‘दुवै एकै राज्य हुन् र एक भएर रहन्छौं’ भन्ने आसयको बचनबद्धता गरेको धर्मपत्रमा उल्लेख छ —
‘... उप्रान्त राम शाहले धर्मराजासँग मित्रता गरी शिष्य–शाखाजस्तो भएका हुन्। हाम्रो राज्य र तिम्रो राज्य एउटै हो, एक भएर रहनुपर्छ। यो बचन मानेर बाचाबन्धन गरेका थिए। धर्मका समर्थ गरेका छौं ...।’
नेपालीहरूलाई उनीहरूको ल्याकत हेरेर जातपातअनुसार विभिन्न काममा लगाइएको पनि धर्मपत्रमा छ।
‘... धर्मराजा देवराजा गोर्खानाथ नेपाल पशुपतिनाथ समेतबाट ल्याएका घरथरलाई उनीहरूको ल्याकत (पौरख) हेरेर जातभातअनुसार राज्यको कजांगी, बिर्ता, मण्डल, पर्गना (क्षत्री) भाग गरेर छुट्टयाइदिए। तिब्बत ल्हासा जाने आउने निकासको बाटो बनाई घर बनाई बस्ने, बुधिन थापाले राजा पछि पाए, सेतु पाध्याय गेरू गोस्वामी भए। पिथुं आले, बिजु गुरूङ काजी सिम्पोन भए। न्याहुलीका देवान पेनलप भए। अरू घरथर सैन्य सिपाहीलाई पनि बिर्ता बाँधिदिए। त्यो आपते जंगलका तस्कर लखेटी गाईभैंसी पाल्ने इलम बाँडिदिए...।’
धर्मराजाका नाममा जारी यो धर्मपत्र नेपालीभाषी भुटानीहरूको गौरवपूर्ण इतिहास झल्काउने एउटा महत्वपूर्ण दस्तावेज हो। यसले आजभन्दा चार सय वर्षअघि सत्रौं शताब्दीमा गोरखा र भुटानबीच राजकीय स्तरमा भएको सम्बन्ध विस्तारपछि नै नेपालीहरूलाई भुटान लगेर बसोबास गराउने थिति थालनी भएको पुष्टि हुन्छ। यसरी भुटान लगिएका नेपालीहरूले राज्यका विभिन्न तहमा रहेर काम गरेका थिए भन्ने पनि यो धर्मपत्रले प्रस्ट पार्छ।
यस्तै वा यस्तै आसयका धर्मपत्र भुटान गएका सबै नेपालीलाई लेख्न लगाइएको हुनसक्ने हामी अनुमान गर्न सक्छौं। उनीहरूले पनि ‘अबउप्रान्त भुटानी धर्मराजाको नियम मान्छौं’ भनी शपथ खाएको हुनुपर्छ।
विशन थापा मगर र उनीसँगै गएका नेपालीहरूले खाएको शपथ भुटानको इतिहासमा कतै दफन हुनुपर्छ!
नेपालीहरूको भुटान बसाइँसराइको कुरा गर्दा हामीले गोरखा र भुटानबीचको सौहार्द सम्बन्धमाथि पनि विचार पुर्याउनुपर्छ।
यी दुई राज्यबीच सौहार्द सम्बन्ध नगाँसिएको भए बसाइँसराइको सिलसिला सुरू नै हुने थिएन।
र, त्यो सिलसिला सुरू नभएको भए आज नेपालीभाषी भुटानीहरूले शरणार्थी बन्ने नौबत नै आउने थिएन।
‘गोरखा र भुटानबीचको सौहार्द सम्बन्धबारे चर्चा गर्दा विक्रम सम्बत् १६९६ सालको तिब्बत–भुटान युद्धलाई हामीले भुल्नु हुँदैन,’ इतिहासकार रमेश ढुंगेलले मंसिर महिनाको एउटा घमाइलो दिन आफ्नै घरको कौसीमा हामीसँग कुरा गर्दै भनेका थिए।
उनले नेपाल–भुटानसँग जोडिएका केही पुराना ऐतिहासिक अभिलेखका पाना पल्टाउँदै तिब्बत–भुटान युद्धको कथा हामीलाई सुनाए।
तिब्बतबाट विद्रोह गरेर आएका ङवाङ नमग्याललाई भुटानको राजकाज सम्हालेपछि पनि तिब्बतीहरूले दुःख दिन छाडेका थिएनन्। उनका पुराना प्रतिद्वन्द्वी तिब्बतको चङ प्रान्तका शासकले नमग्यालकै रिसमा धेरैचोटि भुटानमाथि हमला गरेका थिए। त्यसमध्ये १६९६ सालमा भएको आक्रमण महत्वपूर्ण छ। त्यस बेला भुटानी सेनाले पारो किल्ला नजिकै तिब्बती सेनालाई हराएका थिए। उक्त युद्धमा भुटान विजयी भएको अवसरमा गोरखाका तत्कालीन राजा डम्बर शाहले भुटानी धर्मराजा नमग्याललाई बधाइ ज्ञापन गर्न एक प्रतिनिधिमण्डल पठाएका थिए।
‘गोरखाका राजाहरूले विभिन्न समयमा भुटानी धर्मराजालाई गुम्बाहरू दान दिएको घटनाले पनि दुई देशको प्रगाढ सम्बन्ध झल्काउँछ,’ ढुंगेलले भने।
उनका अनुसार राम शाहकै पालामा गोरखाले भुटानी लामालाई छवटा गुम्बा चढाएको देखिन्छ। त्यसबारे हामीले पहिलो अध्यायमा विस्तृत चर्चा गरेका छौं। यो क्रम डम्बर शाह हुँदै कृष्ण शाह र नरभूपाल शाह हुँदै पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा झन् झन् गाढा हुँदै गएको ढुंगेलको भनाइ छ।
राजा कृष्ण शाहका पालामा गोरखाको ‘राख्यिग्’ भन्ने बस्ती र त्यहाँका केही खेत भुटानी धर्मराजालाई दानबिर्ता दिइएको थियो। त्यस क्षेत्रका गुम्बा र गाउँको सम्पूर्ण अधिकारसमेत कृष्ण शाहले भुटानी धर्मराजालाई सुम्पिएका थिए। राजा नरभूपाल शाह (विसं १७१६–१७४३) ले पनि थप केही गुम्बा र ती गुम्बाले चर्चेका जग्गा–जमिन भुटानी धर्मराजालाई दान दिएका थिए।
नरभूपालको शासनकालमा नेपाल र भुटानबीच परम्परागत धार्मिक र सांस्कृतिक सम्बन्धका अतिरिक्त विशेष राजनीतिक सम्बन्ध पनि कायम भएको थियो। विक्रम सम्बत् १७४१ को एउटा ताम्रपत्रअनुसार नरभूपाल शाहले नागथली गुम्बा, त्यस छेउछाउका जग्गा–जमिन र गाउँको जजमानी अधिकार ल्होपा लामा नामक एक भुटानी लामालाई सुम्पेका थिए। यिनै ल्होपा लामालाई नेपालतर्फका भुटानी गुम्बाहरूका नायक र भुटानको धार्मिक प्रतिनिधिको जिम्मेवारी दिइएको थियो।
‘भुटानबाटै तोकिने यस्ता धार्मिक प्रतिनिधिले सम्बन्धित क्षेत्रका शासकहरूसँग सौहार्द र मैत्री सम्बन्ध कायम गर्ने जिम्मेवारी पाउँथे,’ ढुंगेलले भने, धार्मिक प्रतिनिधि भनिए पनि यस्ता लामाले भुटानी धर्मराजाको स्थायी दूतको भूमिका निर्वाह गर्थे। आजको सन्दर्भमा भन्दा, त्यति बेलाका धार्मिक प्रतिनिधि भनेका भुटानले नेपालका लागि नियुक्त गरेका राजदूत बराबर हुन् भन्न सकिन्छ।
नरभूपालका छोरा पृथ्वीनारायण शाहले पनि नेपाल राज्य एकीकरण क्रममा पूर्वी किराँत क्षेत्र विजय गरेपछि पूर्वका छवटा गुम्बा भुटानी धर्मराजालाई दान दिएको इतिहास छ। राम शाहदेखि पृथ्वीनारायण शाहको पालासम्म भुटानी धर्मराजालाई दान दिइएका गुम्बामा चरिकोट, नागथली, योल्मो, नगरे, तेरी, लिच्याखु, स्वयम्भुको एउटा गुठी लगायत छन्।
पृथ्वीनारायण शाहको जन्मसँग जोडिएको एउटा किम्बदन्तीले गोरखा–भुटान सम्बन्धको गहनता थप उजागर गर्छ।
जसरी राम शाहले भुटानी लामा डाकेर तान्त्रिक अनुष्ठान गराएपछि उनका उत्तराधिकारी डम्बर शाह लगायत तीन राजकुमारको जन्म भएको थियो, पृथ्वीनारायणको जन्मका सम्बन्धमा पनि यस्तै किम्बदन्ती सुनिन्छ।
नरभूपाल शाहको कुनै सन्तान नभएपछि उनलाई आफ्नो शेषपछि गोरखाको राजगद्दी कसले सम्हाल्ला भन्ने चिन्ता भएछ।
उनले गोरखनाथको भाकल गरेछन्। मनकामना माईलाई पुकारेछन्। अरू थुप्रै देवदेवीहरूको तीर्थस्थलमा माथा टेक्न पनि पुगेछन्।
तमाम तीर्थव्रत र तन्त्रमन्त्र, झारफुक र वैद्य विधिबाट पनि गद्दीका उत्तराधिकारीको जन्म नभइरहेको दुखद घडीमा एकरात उनको सपनामा एक दैवीशक्ति प्रकट भएछन्।
वायुपंखी सेतो घोडाको रथमा सवार ती दैवशक्ति श्वेत पहिरनमा थिए। उनको शिरमा श्वेत मुकुट थियो। हातमा श्वेत कमलको फूल र शिरको पछाडि घडीको सुईजस्तै दाहिनेबाट देब्रेतिर गोलगोल चक्कर काटिरहेको श्वेत आभा।
त्यो वायुपंखी सेतो घोडाको रथले आकाशमार्ग हुँदै गोरखा दरबारमाथि तीन चक्कर काटेछ र ठ्याक्कै त्यही कोठाको झ्यालबाहिर टक्क अडिएछ, जुन कोठा राजा नरभूपाल शाहको शयनकक्ष थियो।
‘राजन, राजन!’ झ्यालबाहिरबाट आएको मधुर आवाजले नरभूपाल ब्युँझिएछन्।
उनले आँखा खोलेर वरिपरि हेरे।
कोही देखेनन्।
छेउमा रानी कौशल्यावती देवी मस्त निद्रामा थिइन्।
उनले आफूलाई भ्रम भएको होला भन्ठाने र आँखा चिम्ले। फेरि त्यही आवाज उनको कानमा पर्यो। यसपालि आवाज पहिलेभन्दा स्पष्ट र पहिलेभन्दा नजिकबाट आइरहेको उनलाई अनुभूति भयो।
रानी कौशल्यावती देवी अझै निद्रामै थिइन्।
नरभूपाल बिछ्यौनाबाट उठे। एकछिन बिछ्यौनाको एक कुनामा टुसुक्क बसेर त्यो आवाज फेरि आउँछ कि आउँदैन भनेर ध्यान दिइरहे।
एकछिनसम्म आवाज आएन। नरभूपाललाई साँच्चै भ्रम हो कि भन्ने लाग्यो।
उनी बिछ्यौनामा पल्टिने सुर मात्र कस्दै थिए, फेरि ‘राजन, राजन’ भन्ने आवाज सुनियो।
त्यो आवाज झ्यालबाहिरबाट आइरहेको छ भन्ने आभाष भएपछि नरभूपाल जुरूक्क उठेर झ्यालतिर लम्किए।
खापा उघारे।
उनको आँखाअगाडि अविश्वसनीय दृश्य थियो — श्वेत वायुपंखी घोडाको रथमा सवार श्वेत वस्त्रधारी, श्वेत कमलको फूलधारी र शिरपछाडि श्वेत आभा टल्किरहेका दैवीशक्ति!
नरभूपालले दुई हात जोडेर, ज्यान आधा झुकाउँदै ती दैवशक्तिलाई प्रणाम गरे।
‘हे देव! हजुरले साक्षात् मलाई दर्शन दिनुभयो, म धन्य भएँ देव,’ नरभूपालले भनेछन्।
दैवीशक्तिबाट आदेश भएछ, ‘म तिम्रो भक्तिबाट प्रसन्न छु राजन। त्यसैले तिम्रो मनको दुःख दूर गर्न आएको हुँ।’
नरभूपाल दुई हात जोडेर बिन्तीभावमा झ्यालनिर उभिइरहे।
‘यहाँ आऊ राजन, मेरो समीप आऊ,’ दैवीशक्तिको यस्तो बचन सुनेपछि नरभूपाललाई अलमल भयो।
उनी कसरी दरबारको झ्यालबाट बाहिर निस्किन सक्छन्! र, कसरी हावामा तैरिरहेका ती दैवीशक्तिको समीप पुग्न सक्छन्!
दैवीशक्तिहरू पो आफ्नो तन्त्रको बलमा जहाँसुकै उभिन, जहाँसुकै हिँड्न, उड्न–तैरिन र मिलिक्कै बिलाइदिन सक्छन्। राजा भए पनि एक सामान्य मान्छेसँग त्यस्तो अद्भूत चमत्कारी शक्ति कहाँ हुनू!
यही सोच्दै नरभूपाल एकछिन दुबिधामा परेछन्।
दैवशक्ति भने आफ्नो हात बढाउँदै निरन्तर उनलाई पुकारिरहेका थिए, ‘आऊ राजन, मेरो समीप आऊ।’
त्यसपछि नरभूपालले आँट गरेर सबभन्दा पहिला आफ्नो दाहिने खुट्टा झ्यालबाट बाहिर निकालेछन् र त्यसपछि देब्रे खुट्टासहित आफ्नो पूरै जीउ बाहिर निकालेछन्। यति बेलासम्म उनी आफ्ना दुवै हातले खापालाई अँठ्याइरहेका थिए, ज्यान पूरै छाडिसकेका थिएनन्।
त्यति बेला धन्न कसैले दरबारको झ्यालतिर हेरेन! हेरेको भए कुनै जनावर झुन्डिरहेजस्तो देख्थ्यो होला!
यही सोचेर नरभूपाललाई एकछिन संकोच लाग्यो र दायाँबायाँ चारैतिर आँखा डुलाए।
उनले कतै कोही देखेनन् — श्वेत वस्त्रधारी दैवीशक्तिबाहेक, जो निरन्तर हात बढाउँदै उनलाई पुकारिरहेका थिए।
नरभूपालले त्यसपछि ‘जेसुकै होस्’ भनेर आफूलाई समर्पण गरिदिए र हावामा ज्यान छाडिदिए।
नभन्दै चमत्कार भयो, उनको ज्यान हावामा तैरिन थाल्यो।
उनी पनि दैवीशक्तिजस्तै हावामा हिँड्न सक्ने भए। सुरूमा एक एक पाइला बिस्तारै चाले, पछि ढुक्क भएर सामान्य चालमा सुमसुम हिँड्न थाले।
श्वेत वस्त्रधारी दैवीशक्तिको समीप पुगेपछि राजा नरभूपाल शाहले फेरि आफ्नो शरीर आधा झुकाएर हात जोड्दै प्रणाम गरे।
यति नजिकबाट हेर्दा दैवीशक्तिको शिरपछाडिको श्वेत आभा यस्तरी टल्किँदै थियो, मानौं सेतो हिँउमा घामको किरण टल्किँदै छ।
नरभूपाल नजिकै पुगेपछि दैवीशक्तिले भनेछन्, ‘राजन, तिम्रो समस्याको निदान भुटानी धर्मराजाले गर्न सक्छन्। जसरी तिम्रो पुर्खा राम शाहको दरबारमा उत्तराधिकारीको जन्म नहुँदा भुटानी धर्मराजाको आशीर्वादले पुत्रलाभ भयो, तिमी पनि उनै भुटानी धर्मराजालाई पुकार। उनको आशीर्वादले तिमीलाई पनि अधिराज्यभर शासन गर्न सक्ने शक्तिशाली पुत्रलाभ हुनेछ, जसले जहाँ जहाँ पाइला टेक्यो, त्यहाँ त्यहाँको भूमि भोग गर्नेछ।’
यति भनेर उनले आफ्नो दाहिने हातको श्वेत कमलको फूल नरभूपालतिर बढाए।
जसै नरभूपालले त्यो कमलको फूल आफ्नो हातमा लिए, दैवीशक्ति वायुपंखी घोडाको रथसहित अन्तर्ध्यान भए।
नरभूपाल शाह प्रसन्न थिए। रातको तेस्रो प्रहरमा पनि उनको मुहार सूर्यजत्तिकै चम्किलो थियो।
तर दैवीशक्ति अन्तर्ध्यान भएपछि उनलाई अब हावामा ज्यान धान्न मुश्किल हुन थाल्यो। उनी ढलमल भए। र, हावाको वेगमा पात बत्तिएझैं बत्तिन थाले।
हावामा बत्तिँदै थिए, बत्तिँदै थिए, एक्कासि बिछ्यौनामा झसंग ब्युँझे।
हावामा बत्तिँदै सपनाबाट ब्युँझिँदा पनि उनको अनुहारको कान्ति हराएन, अझै तेजिलो देखियो।
‘ओहो, कस्तो शुभ लक्षणको सपना देखेँ,’ उनले मनमनै सोचे।
उनी त्यही क्षण रानी कौशल्यावती देवीलाई उठाएर आफ्नो सपना सुनाउन चाहन्थे, तर सुनाएनन्।
रातको तेस्रो प्रहरमा देखेको राम्रो सपना कसैलाई कहन हुन्न भन्ने उनले सुनेका थिए।
उनले भोलिपल्टै भुटानका धर्मराजालाई गोरखा दरबार निम्ता गर्न आफ्नो दूत पठाए।
धर्मराजाले गोरखा आएर तान्त्रिक अनुष्ठान सम्पन्न गरे र राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीलाई आशीर्वाद दिए।
धर्मराजाको आशीर्वादपछि केही समयमै पृथ्वीनारायण शाहको जन्म भयो।
भुटानी धर्मराजाको आशीर्वादपछि पृथ्वीनारायण शाहको जन्म भएको प्रसंग भाषा वंशावलीमा छ। यो विवरण नागथली गुम्बाको ऐतिहासिक टिपोटमा पनि परेको छ। भुटानी लामाहरूले नै तयार पारेको उक्त टिपोटको ५३औं बुँदामा ‘राजा नरभूपाल शाहले एउटा शुभ लक्षणको सपना देखेपछि भुटानी लामा छो–ढगलाई गोरखा दरबार निम्ता गरेको र उनले तान्त्रिक अनुष्ठान गरी आशीर्वाद दिएपछि सम्पूर्ण अधिराज्यभर अधिकार गर्न सक्ने पृथ्वीनारायणजस्तो पुत्र प्राप्त भएको’ भनिएको छ।
यति मात्र होइन, नागथलीको टिपोट र भुटानबाट विभिन्न समयमा आएका पत्रहरू उद्धृत गर्दै ढुंगेल लेख्छन्, ‘नरभूपाल शाहको समयमा गोरखा र भोटबीच युद्ध हुँदा भुटानी लामाले निकै मिहिनेतसाथ मध्यस्थकर्ताको भूमिका खेलेर सन्धि गराएका थिए।’
नागथलीको टिपोटमा उक्त युद्धमा मध्यस्थकर्ता भई सन्धि गराउने भुटानी धर्मराजा ढोगोन ङवाङ ढुगग्याल हुन् भन्ने उल्लेख छ।
‘गोरखा र भोटबीच भएको अर्को एउटा युद्धमा त झन् भुटानी धर्मराजाले ठूलै गुन लगाए,’ ढुंगेलले हामीसँग भने।
त्यो युद्धमा गोर्खाली सेनामाथि घनघोर विपत्ति आइलागेको थियो।
केरूङ र ङरी सीमानाको वुम–प–छेही जोङ भन्ने ठाउँमा गोर्खाली फौजलाई तिब्बती सैनिकले चारैतिरबाट घेरा हाले र सबै मिलेर एक स्वरमा हुडहुड, हुडहुड भन्दै तर्साउन थाले।
तरबार र भाला उज्याउँदै हुडहुड, हुडहुड गर्दै घेरा हालेर मार्न आँटेका तिब्बती फौजको आतंकले गोर्खाली सिपाहीहरू लगभग आफ्नो हतियार मिल्काएर आत्मसमर्पण गर्ने स्थितिमा पुगिसकेका थिए।
त्यही बेला भुटानी धर्मराजा गोर्खाली सेनाको पक्षमा उभिन आइपुगे।
‘जब भुटानी धर्मराजा स्वयं गोर्खाली सेनाको पक्षमा उभिए, युद्धले कोल्टे फेर्यो,’ ढुंगेलले भने।
भुटानी धर्मराजाले त्यति बेलाका तिब्बती राजालाई भनेछन्, ‘तिमीहरू पछि हटेनौ भने भुटान र गोरखा मिलेर चढाइ गर्नेछ, त्यसपछि हाम्रो संयुक्त बलले तिमीहरूको सैन्य शक्ति ध्वस्त हुनेछ।’
धर्मराजाको यस्तो धम्कीपछि तिब्बती सेना हच्केको र घेरा हालेर मार्न आँटेका गोर्खाली सैनिकलाई मुक्त गरेको ढुंगेलले सुनाए।
‘नरभूपाल शाहका पालामा भुटानी लामाको खर्चवर्च बन्दोबस्त गर्न नियमित रूपमा सलामी चढाउने चलन थियो,’ उनले भने, ‘यसले पनि दुई राज्यको प्रगाढ सम्बन्ध झल्काउँछ।’
भुटानी लामाहरूलाई गुम्बा वा जग्गा दान दिने चलन गोरखामा मात्र थिएन। काठमाडौं उपत्यकाका मल्लराज्यहरूमा पनि उत्तिकै व्यापक थियो। यसमध्ये एउटा मुख्य त स्वयम्भुमा डुग्–प काग्यू गुम्बा निर्माण गर्न काठमाडौंका मल्लराजाले भुटानी धर्मराजालाई आवश्यक जग्गा–जमिन दान दिएको घटना भइहाल्यो। यसबाहेक राजा रणजीत मल्लले विक्रम सम्बत् १८०५ मा ताम्रपत्र नै जारी गरेर भक्तपुरको ठगु गुम्बाले चर्चेको पचासौं रोपनी जग्गासहित भक्तपुर सहरभित्रका थप जग्गा–जमिन भुटानी लामालाई दान दिएको विवरण नागथली गुम्बाको टिपोटमा छ।
काठमाडौं उपत्यकाका मल्लराजाहरूले विभिन्न समयमा उपत्यकाभित्रका करिब १३५ रोपनी जग्गा भुटानी धर्मराजालाई दान दिएको पनि विभिन्न दस्तावेजमा उल्लेख पाइन्छ। पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि १८२९ सालमा ताम्रपत्र जारी गरी मल्लराजाहरूले दान गरेका सबै जग्गा भुटानी धर्मराजाकै नाममा कायम गरिदिएका थिए।
यसरी लडाइँभिडाइँमा सहयोग गर्दै र डुग्–प सम्प्रदायको गुम्बा निर्माण गर्दै भुटानले गोरखा र काठमाडौं उपत्यकासँग राजनीतिक तथा धार्मिक सम्बन्ध विस्तार गरेको ढुंगेल बताउँछन्।
‘त्यति बेला धर्मराजा ङवाङ नमग्यालले गोरखा र उपत्यकाका मल्लराज्यहरूसहित तिब्बतका केही भाग, लद्दाख र वर्तमान नेपालको मुस्ताङसम्म दौत्य सम्बन्धको हात बढाउँदै धार्मिक तथा सामाजिक मर्यादा कमाउने र भुटानको आर्थिक उत्थान गर्ने रणनीति लिएको देखिन्छ,’ उनले भने, नमग्यालले भुटानी लामाहरूको धार्मिक तथा तान्त्रिक विशेषताहरू प्रदर्शन गर्दै अन्य राज्यका शासक र जनतालाई प्रभावमा पारेर चारैतिर डुग्–प सम्प्रदायको गुम्बा विस्तार गर्ने परम्परा बसालेका थिए। यसरी गुम्बा विस्तार गरिसकेपछि त्यस वरपरका गाउँ, जग्गा–जमिन लगायतका स्थायी सम्पत्तिहरू दानका रूपमा भुटानी धर्मराजाका नाममा बिर्ता लिने परम्परासमेत भुटानले चलाएको देखिन्छ।
‘आफ्नो धर्म सम्प्रदायका गुम्बाहरू धेरै भएका ठाउँमा त्यहाँका सम्पत्तिको उठ्ती–पुठ्ती, पूजाआजा र मठमन्दिरको हेरविचार तथा स्याहारसम्भार निम्ति भुटानबाट धार्मिक प्रतिनिधि राख्ने परम्परा पनि धर्मराजा ङवाङ नमग्यालले नै चलाएका थिए,’ ढुंगेलले किताबमा लेखेका छन्, ‘धार्मिक प्रतिनिधिको यो परम्परा धेरै पछिसम्म जारी रह्यो।’
उनका अनुसार मुस्ताङ क्षेत्रमा भुटानी लामाले अधिकार पाएका दुई गुम्बामध्ये एउटा अझै छ भने अर्को करिब एक शताब्दीअघि बाढीले नष्ट भयो। गोर्खाली शाहराजाले नेपाल एकीकरणपछि भुटानलाई दान दिएकामध्ये मुस्ताङका यी गुम्बा पनि पर्छन्।
कथा शृंखलाको यहाँसम्म आइपुग्दा हामीले सत्रौं शताब्दीमा कसरी भुटानसँग गोरखा र काठमाडौंको सम्बन्ध गाँसियो भन्नेबारे चर्चा गर्यौं। त्यो सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्यौं। सम्बन्धको सुरूआत र नेपालीहरूको पहिलो भुटान प्रवेश सातौं शताब्दीमा तिब्बती सम्राट स्रङ–चङ–गम्पोका पालामा र आठौं शताब्दीमा गुरू पद्मसम्भवका पालामै भएको हुनसक्ने सम्भावनाका विषयमा पनि हामीले चर्चा गर्यौं।
त्यही सम्बन्धको सेतु चढेर गोर्खाली र काठमाडौंका नेवार कालिगढहरू भुटान पुगेका थिए। त्यति बेला गोर्खालीहरूको विविध शासकीय ज्ञान, सैन्य क्षमता र खेतीपातीको खुबी तथा काठमाडौंका नेवारहरूको कलाशिल्पलाई आफ्नो राज्य निर्माणमा प्रयोग गर्न कसरी भुटानी धर्मराजाले नेपालीहरूको औपचारिक बसाइँसराइ गराए भन्नेबारे हामीले तपाईंहरूलाई विस्तारमा बतायौं।
यो त भयो बसाइँसराइको सुरूआती चरणको कथा। के यो बसाइँसराइले नेपाल एकीकरणपछि पनि निरन्तरता पायो? के एकीकरणपछि पनि नेपाल र भुटानको सम्बन्ध उस्तै घनिष्ठ रह्यो?
राज्यस्तरमा भएको बसाइँसराइले कसरी सामाजिक रूप लिँदै गयो। कसरी नेपालीहरू पछि पछिसम्म रोजीरोटी र बसोबासको खोजी गर्दै भुटान गइरहे?
नेपालीहरूको भुटान बसाइँसराइको दोस्रो चरणको कथा अर्को अध्यायमा।
अध्यायः नौ
चन्द्रशमशेरले मित लगाएका थिए भुटानी राजासँग
विक्रम सम्बत् १८३१ को कुरा हो।
त्यति बेला भुटानमा धर्मराजा ठिन्ले ढुगग्यालको शासन थियो। यता गोरखाका राजा पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका मल्लराज्यहरू जितेर पूर्वी नेपालतर्फ माझ किराँत, पल्लो किराँत र तराईका सप्तरी, मोरङ विजय गर्ने अभियानमा थिए।
त्यसैबीच एकदिन पृथ्वीनारायण शाह पूर्वको कुनै रण मैदानबाट फर्केर आफ्नो छाउनीमा आराम गरिरहेका बेला एउटा सन्देश आयो, ‘भुटानी धर्मराजाका दूत भेट्न आएका छन् महाराज!’
पृथ्वीनारायणले ती दूतलाई तुरून्तै आफ्नो शिविरमा डाके।
भुटानी धर्मराजाले आफ्ना एक उच्च अधिकारी सिम्पोन वाङचुकलाई दूत बनाएर पठाएका रहेछन्।
सिम्पोन वाङचुक आफू एक्लै आएका थिएनन्, धर्मराजाका तर्फबाट पृथ्वीनारायण र एकीकरण अभियानमा संलग्न गोर्खाली फौजका निम्ति सौगातहरू पनि लिएर आएका थिए।
उनले राजा पृथ्वीनारायणसँग ती सौगात सामग्री टक्र्याउने अनुमति मागे।
जसै पृथ्वीले अनुमति दिए, भुटानी दूत शिविरबाट बाहिर निस्के र आफ्ना सहयोगीहरूलाई भित्र आउन आदेश दिए।
भुटानबाट आएको एक हुल पृथ्वीनारायणको शिविरभित्र पस्यो। ती सबैले आफ्ना हातमा भुटानी सौगातको किस्ती बोकेका थिए। काँसको किस्तीलाई रातो मलमलको कपडाले ढाकिएको थियो।
सिम्पोन वाङचुकले प्रत्येक किस्तीबाट मलमलको कपडा हटाए र पृथ्वीनारायणसमक्ष भुटानी धर्मराजाको सौगात पेस गरे।
धर्मराजाले पठाएका सौगातमा युद्धलाई चाहिने बन्दुक, गोलीगठ्ठा, बारूद, अन्य सैन्य सामग्रीहरू, रासनपानी र घाउ–चोटपटक लागेका सैनिकलाई आराम दिने जडिबुटीहरू थिए। ती सौगातहरू दसौं घोडा–खच्चरमा भुटानदेखि बोकाएर ल्याइएको थियो। त्यसका केही नमूना मात्र पृथ्वीनारायण शाहलाई नजर गराउन काँसका किस्तीमा मलमलको कपडाले ढाकेर प्रस्तुत गरिएको थियो।
जिजु–हजुरबुवा राम शाहको पालादेखि दौत्य सम्बन्ध रहेको भुटानका धर्मराजाले आफ्नो राज्य एकीकरण अभियानमा सघाउ पुग्ने सामग्रीहरू सौगात पठाइदिएको देखेर पृथ्वीनारायण प्रसन्न भए।
उनले ती सामग्री सहर्ष ग्रहण गरे र आफ्ना सहयोगीहरूलाई त्यसको व्यवस्थापन गर्न हुकुम दिए।
भुटानी दूतसँग आएको समूह राजाको शिविरबाट बाहिर निस्कियो।
शिविरमा पृथ्वीनारायण र सिम्पोन वाङचुक मात्र बाँकी रहे।
पृथ्वीले सिम्पोन वाङचुकलाई बस्न आग्रह गरे।
राजाको आज्ञा पाएपछि उनी भुइँमा बिछ्याएको गद्दीमा बसे।
पृथ्वीले सोधे, ‘धर्मराजाको हालखबर के छ दूत?’
सिम्पोनले भने, ‘धर्मराजा कुशल मंगल हुनुहुन्छ, उहाँले हजुरलाई एउटा जरूरी सन्देश पठाउनुभएको छ।’
सौगातसँगै आएको सन्देश सुन्न पृथ्वी तयार भए।
‘सिक्किम, कुचबिहार र आसामबाट भुटानलाई लडाइँको खतरा छ। यी राज्यहरूले जुनसुकै बेला भुटानमाथि हमला गर्न सक्छन्,’ दूतले भने, ‘अंग्रेज साम्राज्य पनि भुटानमाथि हस्तक्षेप निम्ति तम्तयार भएर बसेको छ।’
दूतले अगाडि भने, ‘यी सबैसँग भुटान एक्लै लड्नभिड्न सक्दैन। त्यसैले धर्मराजाले यी शक्तिहरूको हस्तक्षेप सामना गर्न गोर्खाली महाराजसँग सहयोगको आश गर्नुभएको छ।’
‘गोर्खाली फौजले भुटानलाई लडाइँमा सहयोग गरोस् र दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहोस् भन्ने धर्मराजाको सदिक्षा छ,’ धर्मराजा ठिन्ले ठुगग्यालको सन्देश सुनाउँदै भुटानी दूत सिम्पोन वाङचुकले भने।
शिविरमा एकछिन मौनता छायो।
बाहिर गोर्खाली सिपाहीहरू लडाइँको अभ्यास गर्दै थिए। उनीहरूले आपसमा तरबार र भाला जुधाएको टङटङ आवाज शिविरभित्र सुनिँदै थियो।
अलि बेरमा पृथ्वीनारायणले खुसी हुँदै भने, ‘धर्मराजालाई मेरो तर्फबाट सन्देश सुनाइदिनू, गोर्खाली सेना सधैं भुटानको साथ छ। मेरा पुर्खा राम शाह र प्रथम भुटानी धर्मराजा ङवाङ नमग्यालले थालनी गरिबक्सेको यो दौत्य सम्बन्ध अटुट राख्न म प्रतिबद्ध छु। त्यसैले धर्मराजालाई ढुक्क भएर बस्न भनिदिनू। शत्रुले भुटानको सीमामा चढाइ गरे, गोर्खाली सेना छाती थापेर उभिनेछ।’
पृथ्वीनारायणको यस्तो बचन सुनी भुटानी दूत ढुक्क भए र उनको जयजयकार गर्दै शिविरबाट निस्के।
त्यस दिन धर्मराजाले आफ्ना दूतमार्फत् पठाएको सदिक्षा र पृथ्वीनारायणको बचन समावेश गरेर लालमोहरसमेत आदानप्रदान गरिएको थियो।
नेपाल र भुटानको ऐतिहासिक सम्बन्धबारे अन्वेषण गरेका स्वर्गीय विपीनदेव ढुंगेलले यस्ता केही लालमोहर संकलन गरेका थिए, जसअनुसार पृथ्वीनारायण शाहको पूर्वी विजय अभियानदेखि उनको शासनकालको अन्त्यसम्म चार थान लालमोहर भुटानी लामाहरूका नाममा जारी भएको पाइएको छ। त्यसमा १८२९ सालमा जारी भएका लालमोहर दुई थान र १८३० र १८३१ मा जारी भएका एक–एक थान छन्।
इतिहासकार रमेश ढुंगेलले आफ्नो किताबमा ती लालमोहरहरू उद्धृत गर्दै लेखेका छन्, ‘१८२९ सालको एउटा लालमोहरमा नागथली गुम्बामा बस्ने भुटानी लामाहरूलाई काठमाडौं आउँदा–जाँदा झारामा भारी ढुवानी गर्ने सुविधा दिइएको छ। १८३१ सालको लालमोहरमा नेपालबाट भुटानलाई सहयोग होस् र दुई देशबीच सन्तान–दर–सन्तानसम्म मैत्री सम्बन्ध कायम रहिरहोस् भन्ने भुटानी धर्मराजाको सदिक्षा समावेश छ। त्यस्तै, अन्य लालमोहरमा जग्गा–जमिन बिर्ता दान दिइएको कुरा उल्लेख पाइन्छ।’
खासमा ती लालमोहरले लामो समयदेखि कायम गोरखा–भुटान सम्बन्धलाई नयाँ परिस्थितिमा नवीकरण गर्ने काम गरेका थिए। यसैको फलस्वरूप ‘गोर्खाली सेनाले एकीकरण अभियानकै सिलसिलामा सिक्किम प्रदेशसमेत जित्दै टिष्टामा साँध लगाउँदा भुटान चुप लागेर बसेको’ ढुंगेल लेख्छन्।
पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरिरहँदा भुटानसँग भएको सम्बन्ध नवीकरणले हामीलाई दुइटा कुरा बुझाउँछ —
एक, पृथ्वीनारायणको राज्य विस्तार अभियानमा भुटानको पूर्ण समर्थन र सहयोग थियो।
दुई, सन्तान–दर–सन्तानसम्म दुई देशबीच मैत्री सम्बन्ध कायम रहोस् भन्ने स्वयं भुटानी धर्मराजाको सदिक्षा उल्लेख हुनुले यति बेलासम्म गोर्खाली वा नेपालीहरूको भुटान बसाइँसराइले निरन्तरता पाइरहेको संकेत गर्छ।
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियनमा भुटानको पूर्ण समर्थन र सहयोग रहेको पुष्टि गर्ने अन्य केही ऐतिहासिक घटना पनि हामीसँग छन्।
गोर्खाली सेनालाई काठमाडौं उपत्यकाका मल्लराज्यहरूमाथि विजय प्राप्त गर्न धेरै समय लागेको थियो। कीर्तिपुर युद्धमा त दुई–दुईचोटि नराम्रो हार सामना गर्नुपरेको थियो। कीर्तिपुरसँगको दोस्रो युद्धमा गोर्खाली सेनाका सेनापति कालु पाँडेको ज्यान गएको थियो। त्यही पराजयबाट रन्थनिएका पृथ्वीनारायणले विजयको बाटो देखाइदिन तत्कालीन भुटानी धर्मराजालाई गुहारेका थिए।
दरबारको गृहकलह होस्, शत्रुको डर होस् वा गद्दीका उत्तराधिकारीको आकांक्षा होस्; जुनसुकै अवसरमा भुटानी धर्मराजालाई निमन्त्रणा गरेर तान्त्रिक अनुष्ठान गराउने गोर्खाली राजाहरूको पुरानै परम्परा हो। राजा राम शाहकै पालादेखि यो परम्परा बसेको हामीले अघिल्ला अध्यायहरूमा चर्चा गरिसकेका छौं। विगतमा राम शाहका उत्तराधिकारी राजा डम्बर शाहको जन्म र स्वयं पृथ्वीनारायण शाहको जन्म भुटानी धर्मराजालाई डाकेर तान्त्रिक अनुष्ठान गराएपछि भएको थियो भन्ने कथन पाइन्छ। पृथ्वीनारायणले पनि राज्य विस्तार अभियानमा आएको संकट टार्न गोर्खाली दरबारको यही परम्परा पछ्याउँदै भुटानी धर्मराजालाई निमन्त्रणा गरेका थिए।
धर्मराजा आफ्ना केही लामाभिक्षुका साथ गोरखा दरबार आए।
पृथ्वीनारायणले बिन्ती गरे, ‘हे धर्मराजा, गोर्खाली दरबारले अहिलेसम्म आफ्नो जे जति प्रभाव विस्तार गरेको छ, त्यो सबै भुटानी धर्मराजाका लामा र धर्मपालहरूको आशीर्वादबाटै सम्भव भएको हो।’
उनले अगाडि भने, ‘मलाई अब नेपाल उपत्यकाका तीन मल्लराज्यहरू लगायत पूरै नेपाल अधिराज्य जितेर शासन गर्ने विचार आएको छ। मैले यो अभियानमा धर्मराजाबाट यथाशक्य सहयोगको अपेक्षा गरेको छु। त्यही अपेक्षा राख्दै हजुरलाई यहाँ निम्ता गरेको हुँ।’
उनले यो पनि भने, ‘उपत्यका विजय गरेपछि त्यहाँका नागरिकहरूमाथि गोर्खाली शासन हुनेछ। तर उपत्यकाका विभिन्न गुम्बाहरूमा शिर मुण्डन गरी बसेका भिक्षुहरू म धर्मराजालाई चढाउनेछु।’
पृथ्वीनारायणले यति बिन्ती गरेपछि धर्मराजा र उनीसँगै आएका लामाभिक्षुहरूले गोर्खाली विजयका नाममा तान्त्रिक अनुष्ठान सम्पन्न गरे।
भुटानी धर्मराजाले तान्त्रिक अनुष्ठान गरी आशीर्वाद दिएपछि नै पृथ्वीनारायणको विजय यात्रा कहिल्यै नरोकिएको भनाइ छ। उनले त्यसपछि तेस्रो लडाइँमा कीर्तिपुर जिते, काठमाडौं जिते र पाटन र भक्तपुरसमेत कब्जा गरेर सिंगो काठमाडौं उपत्यकामा गोर्खाली ध्वज फहराए। उनको विजय यात्रा अन्य राज्यतर्फ पनि बढ्यो।
पृथ्वीनारायणको उपत्यका विजयसँग जोडिएको यो वृत्तान्त नागथली गुम्बामा भुटानी लामाहरूले लेखेको ऐतिहासिक टिपोटमा परेको छ।
उक्त टिपोटको ५३औं बुँदामा भनिएको छ, ‘धार्मिक सम्बन्ध अतिशुद्ध भएको शुभलक्षणले गर्दा राजा (पृथ्वीनारायण) को प्रभाव धेरै विस्तार हुन गयो ... यसरी प्रभाव विस्तार भएका बेला राजाको मुखारविन्दबाट मलाई पहिले पनि त्यस्तो सबै भएको भुटानी धर्मराजाका लामा र धर्मपालको प्रभावबाट हो। अझै पनि नेपाल उपत्यकाका तीन द्विप (तीन राज्य) लगायत सबै अधिराज्य वशमा लिई कब्जा गर्ने विचार भएको हुनाले लामाले पनि मेरो यथाशक्य सहयोग गर्नुपर्दछ।’
नागथली गुम्बाको टिपोटमा अगाडि भनिएको छ, ‘उपत्यकाका तीन राज्य कब्जा गरिसकेपछि गृहस्थ जातिहरू राजाको अधिकारमा र गुम्बामा मुण्डन गरी बसेका भिक्षु जातिहरू लामालाई चढाइनेछ भन्ने हुकुम भएबमोजिम लामाले पनि युद्धमा यथाशक्य सहयोग गर्नुभएको हुनाले सम्पूर्ण अधिराज्यमा कब्जा भयो।’
पृथ्वीनारायण र भुटानी धर्मराजाबीच एउटा अर्को सम्झौता पनि भएको थियो। विजय अभियान पूरा भएपछि नेपालभित्रका सम्पूर्ण गुम्बाको अधिकार आफूलाई दिनुपर्ने सर्त भुटानी धर्मराजाले राखेका थिए। यो सर्त पृथ्वीनारायणले पूरा गरे। यही सर्तअनुरूप पूर्वका छवटा डुग्–प गुम्बाहरूसहित प्रशस्त जग्गा–जमिन र गाउँसमेत पृथ्वीनारायणले भुटानी धर्मराजाका नाउँमा बिर्ता दान गरिदिएको इतिहासकार रमेश ढुंगेलले किताबमा उल्लेख गरेका छन्।
‘पृथ्वीनारायणले आफ्ना पूर्वज र उपत्यकाका मल्लराजाहरूले विगतमा दान दिएका गुम्बा र जग्गा–जमिन लगायत अन्य सम्पत्तिको अधिकारसमेत भुटानी धर्मराजाकै नाममा कायम गरिदिएका थिए,’ ढुंगेल लेख्छन्, ‘एकीकरण अभियान पूरा हुँदासम्म पश्चिमका छ र पूर्वका छ गरी बाह्रवटा घ्याङ गुम्बाहरू भुटानी धर्मराजाको अधिकारमा रहने गरी शाह राजाहरूबाट कायम गरिएको थियो। भुटानी धर्मराजाकै इच्छाअनुसार पृथ्वीनारायणले काठमाडौंको स्वयम्भुमा परम्परागत पूजा आयोजना गर्नुका साथै ‘२२ (वा २०) वटा विभिन्न गाउँ’ धर्मराजाका नाममा चढाएको नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटको किताबमा छ। भुटानी धर्मराजालाई चढाइएका गुम्बाहरूमध्ये नागथली, गडलाङ लगायत केही गुम्बामा प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालको शालिक निर्माण गरिएको र ती शालिक कम्तिमा २०२९–३० सालसम्मै कायम रहेको माइकलले लेखेका छन्।’
गोर्खाली राज्य विस्तार अभियानमा भुटानी सहयोग पुष्टि गर्ने अर्को दृष्टान्त पनि पाइन्छ।
पृथ्वीनारायणले पूर्वमा विजयपुरमाथि हमला गर्ने योजना गर्दा त्यो ठाउँ भुटानको अधिकारक्षेत्रमा पर्थ्यो। विजयपुरबाट वार्षिक रूपमा उठ्ने सिर्तो (कर) भुटानले नै पाउँथ्यो। विजयपुरका तत्कालीन राजा कर्ण सेनले एक वर्षको तिरो नतिरेपछि भुटानी धर्मराजा रिसाएका थिए।
त्यही मौकामा पृथ्वीनारायणले विजयपुर जित्ने इच्छा देखाउँदै नेपालमै रहेका एक भुटानी लामालाई आफ्नो दरबारमा आमन्त्रण गरेछन् र भनेछन्, ‘हे लामाज्यू! तपाईं ल्हो (भुटान) पाल्नुहोस् र मेरा साथी धर्मराजालाई यस प्रकार बिन्ती गरिदिनुहोस् — विजयपुरको राजा त नोकर हो, नोकरले राजाको काम बिगार्दैन। विजयपुरले हजुरलाई वार्षिक रूपमा जति सिर्तो बुझाउँदै आएको छ, त्यति त म आफैं पनि बुझाउन सक्छु। त्यसैले अबउप्रान्त विजयपुरमाथि मलाई अधिकार गर्न दिनुहोस्। त्यसबापत् म हजुरलाई विजयपुरबाट प्राप्त हुने सिर्तोको सट्टा हागो (हाकु) गाउँ र स्वयम्भुछेउको पाँच बिर्ता खेत र भगवानको उपासनाको जग्गासमेत ताम्रपत्र खोपेर टक्र्याउँछु।’
लामाले पृथ्वीनारायणको सन्देश धर्मराजासमक्ष पुर्याए।
त्यसपछि भुटानले विजयपुरमा आफ्नो अधिकार छाडेरै पृथ्वीनारायणलाई सहयोग गरेको विवरण नागथली गुम्बाको टिपोटमा छ।
युद्ध जितेपछि पृथ्वीले आफ्नो बचन पूरा गरे। विजयपुरबाट वार्षिक रूपमा भुटानी कोषमा जाने सिर्तोको सट्टा हागु गाउँ र स्वयम्भुछेउको पाँच बिर्ता खेत भुटानी धर्मराजाका नाउँमा बिर्ता दान गरिदिए।
यसरी गोर्खाली राज्य विस्तार अभियानमा सुरूदेखि साथ र सहयोग गर्दै आएको भुटानी धर्मराजाले जब पृथ्वीनारायण शाह पूर्वका माझ किराँत र पल्लो किराँत हमला गर्ने सुर कस्दै छन् भन्ने थाहा पाए, उनले शुभकामना र सम्बन्ध नवीकरणको सन्देश पुर्याउन आफ्ना अधिकारी सिम्पोन वाङचुकलाई दूत बनाएर कोसेलीसहित भेट्न पठाए।
जवाफमा पृथ्वीले पनि आपसी दौत्य सम्बन्ध अटुट राख्ने बचन दिए।
धर्मराजाले दूतमार्फत् पठाएको सदिक्षा र पृथ्वीनारायणको बचन समावेश गरेर लालमोहरसमेत आदानप्रदान गरिएको हामीले अगाडि नै उल्लेख गरिसक्यौं।
नेपाल र भुटानबीच सम्बन्ध विस्तारको लालमोहर आदानप्रदान गर्ने क्रम पृथ्वीनारायणको शेषपछि पनि जारी रह्यो।
उनका छोरा राजा प्रतापसिंह शाहका पालामा यसैगरी लालमोहर आदानप्रदान गरेर सम्बन्ध नवीकरण गरिएका प्रमाणहरू उपलब्ध छन्। विक्रम सम्बत् १८८३ को लालमोहर त्यसैमध्ये एक हो।
प्रतापसिंहको निधनपछि त भुटानी धर्मराजा ठिन्ले ढुगग्याल स्वयं नेपाल दरबार आएको प्रसंग इतिहासमा पाइन्छ। त्यति बेला उनले रानी राजेन्द्रलक्ष्मी देवीको आग्रहमा दुई वर्षका राजा रणबहादुर शाहको दीर्घायुका लागि तान्त्रिक अनुष्ठान गराएका थिए। यसको बदलामा रानी राजेन्द्रलक्ष्मी देवीले भुटानी धर्मराजाका नाममा सिन्धुरी र छेने भन्ने ठाउँमा जग्गा दान दिएकी थिइन्।
रणबहादुर शाहको शासनकालबाटै भुटानसँग रणनीतिक साझेदारी सुरू भएका केही उदाहरणसमेत छन्।
जस्तो — नागथली गुम्बाको ऐतिहासिक टिपोटअनुसार बालक राजा रणबहादुरको नायबी चलाइरहेका राजकुमार बहादुर शाहले एकपटक भुटानी लामा तन्–जिन् ढुगग्याललाई नेपाल दरबार निमन्त्रणा गरी युद्धको रणनीतिबारे मन्त्रणा गरेका थिए।
त्यति बेला बहादुर शाह सिक्किममाथि चढाइ गर्न चाहन्थे। यसमा भुटानको सहमति वा असहमति के छ भनेर उनले लामाको राय सोधे। लामाले सहमति जनाउँदै भुटानले सिक्किमको पक्ष नलिई नेपाललाई साथ दिने निर्णय सुनाए। उनकै सरसल्लाहमा सिक्किम आक्रमणको योजना पनि बुनियो। यसको बदलामा नेपालले थोरमोन र कलारी भन्ने दुइटा गाउँ भुटानी धर्मराजालाई दानस्वरूप चढाएको थियो। यसबारे विक्रम सम्बत् १८३३ मा राजा रणबहादुर शाहका नाममा लालमोहर जारी गरिएको थियो।
पछि, नेपाल–भोट–चीन युद्ध हुँदा पनि मेलमिलाप गराउन भुटानी धर्मराजा ठिन्ले ढुगग्याल र उनका निजी सचिव शेरव तावग्ये नेपाल आएको नागथली गुम्बाको टिपोटमा उल्लेख छ।
त्यति बेला भुटानी धर्मराजाले ‘महाभोट क्षेत्र सम्पूर्ण प्राणी जगतको उद्गम तीर्थस्थल भएकाले त्यहाँ युद्ध छेड्दा कसैको भलो नहुने र सबै जना संकटमा पर्ने’ भन्दै नेपाललाई सम्झाएका थिए। उनले बहादुर शाहलाई भनेका थिए, ‘तपाईंको यो राज्य अहिले कसैको अन्तर्गत छैन। तपाईं चक्रवर्ती सम्राटजस्तो हुनुभएको छ। तर यस्तो दुष्काम (भोटमा हमला गर्ने) गरेको खण्डमा चीनको अधिकारमा पर्ने खतरा भएकाले त्यसो नगर्नुहोस्।’
धर्मराजाले यति सम्झाएर नेपाल र भोटबीच सन्धि गराई चीनलाई केही कोसेली पनि पठाइदिएका थिए।
अझै पछि, बहादुर शाहकै नायबीकालमा आसाम हान्ने योजना बुन्दै नेपालले भुटानसँग सहयोग मागेको थियो। यसका लागि आक्रमण गर्ने बाटोसमेत दिन नेपालले आग्रह गरेको थियो। तर यसपालि भुटानले असहमति जनायो र बाटो दिन पनि अस्वीकार गर्यो।
भुटानी धर्मराजाले ‘यसअघि भोटमा लडाइँ नगर्नुभन्दा नमानेर दुर्नियत देखाएको’ भन्दै आसाम हान्ने योजना मन नपराएर बाटो नछाडेको प्रसंग नागथली गुम्बाको टिपोटमा छ।
राम शाहको शासनकालदेखि जारी भुटानसँगको सौहार्दपूर्ण सम्बन्धमा बीचमा एकचोटि कचमच पनि परेको देखिन्छ।
यो विक्रम सम्बत् १९१२ को कुरा हो। नेपालमा जंगबहादुर राणाको शासन थियो।
त्यति बेला नेपालले भोटसँग युद्ध गर्दा भुटान भोटतर्फ लागेको शंका गर्दै जंगबहादुरले युगौं युगदेखि भुटानी लामाहरूलाई बिर्ता दान दिइएका जग्गा–जमिन, गुम्बा–गुठी र परम्परागत रूपमा दिइएका केही सहुलियत फिर्ता लिए।
यसले केही समय नेपाल–भुटानको परम्परागत मैत्रीपूर्ण सम्बन्ध टुट्यो, इतिहासकार ढुंगेलले हामीसँग भने, ‘यही कारणले नेपालमा रहेका भुटानी गुम्बाहरू हेरविचार र स्याहार–सम्भारको अभावले जीर्ण अवस्थामा पुगे।’
‘अनि त्यो अवस्था कहिलेसम्म रह्यो त? के भुटानसँग त्यसपछि सम्बन्ध जोडिँदै जोडिएन?’
‘होइन, यो कचमच खासै धेरै समय टिकेन,’ ढुंगेलले हाम्रो प्रश्नको जवाफमा लामै व्याख्या गरे, ‘त्यति बेला नेपालले भुटान तिब्बतसँग लागेको हो भन्ने आफ्नो आरोपमा प्रमाण जुटाउन सकेन। त्यो हल्ला मात्र थियो भन्ने पुष्टि भयो। त्यसलगत्तै भुटानी धर्मराजाले नेपालको मनमा पसेको चिसो मेट्न र आपसी सम्बन्ध फेरि सुधार्न बिन्तीपत्रहरू पठाए। विभिन्न कोसेली र सौगातहरू पनि पठाए।’
उनले अगाडि भने, ‘करिब सात वर्षपछि, १९१९ सालमा नेपाल सरकारले पहिले फिर्ता लिएका जग्गा–जमिन, गुम्बा–गुठी र परम्परागत सहुलियतहरू पुनर्स्थापना गर्यो।’
एउटा फरक चाहिँ के भयो भने, पहिले दान दिइएका सबै जग्गा–जमिन र गुम्बा–गुठी भुटानी लामाहरूलाई फिर्ता गरिएन। पूरै फिर्ता नभए पनि स्वयम्भुसहित केही मुख्य गुम्बा र जग्गा–जमिन फिर्ता पाएपछि भुटानीहरूले चित्त दुखाएनन्।
त्यही क्रममा १९२१ सालको एउटा घटना यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ।
त्यस वर्ष भुटानी धर्मराजा, थागा प्रान्तका पोनलोप, भुटानी काजी दालचन गुरूङ र मण्डल कीर्तिमान बुढाथोकीसहित भुटानी मन्त्रीमण्डलका केही वरिष्ठ सदस्यहरू नेपाल आएका थिए। उनीहरू बीसौं घोडा–खच्चरमा बन्दुक, गोलीगठ्ठा, बारूद लगायत सौगात र कोसेली बोकेर काठमाडौं आएको ढुंगेलले किताबमा लेखेका छन्।
यो घटनाले दुईवटा महत्वपूर्ण तथ्य उजागर गर्छ —
पहिलो, धर्मराजासहित वरिष्ठ भुटानी मन्त्रीहरू लावालश्करसहित कोसेली बोकेर काठमाडौं आउनुले दुई देशबीचको सम्बन्ध फेरि सुमधुर भएको बुझिन्छ। जंगबहादुर राणाले खोसेको जग्गा–जमिन र गुम्बा–गुठी सबै फिर्ता नपाए पनि भुटानीहरूले चित्त बुझाएको देखिन्छ।
दोस्रो, काठमाडौं भ्रमणमा आएका तत्कालीन वरिष्ठ भुटानी अधिकारीहरूको सूचीमा दुईवटा नाम यस्ता छन्, जसले विगतमा नेपालबाट बसाइँ सरेर गएकाहरूले भुटानमा प्राप्त गरेको हैसियत झल्काउँछ। ती नाम हुन् — दालचन गुरूङ र कीर्तिमान बुढाथोकी।
यी दुवै नेपालीभाषी भुटानी हुन् र यी दुवै राजा राम शाहकै पालामा वा त्यसपछिको कुनै कालखण्डमा भुटान बसाइँ सरेका नेपालीका पुस्ता हुन्। यसबाहेक काजी गर्जमान गुरूङ, धनवीर बुढा, हेमराज गुरूङ, डिबी गुरूङ, नन्दलाल क्षत्री, लालसिंह गुरूङ, बलबहादुर लगायतको नाम पनि उच्च ओहोदामा पुगेका नेपालीभाषीहरूको सूचीमा आउँछ।
‘नेपालबाट गएकाहरूले भुटानमा खेतीपाती मात्र गरेनन्, चिया बगानको कुल्ली काममा मात्र सीमित भएनन्, सेनामा भर्ती मात्र भएनन्; उनीहरू सरकारको उच्च ओहोदामा पनि पुगेछन् भन्ने यो घटनाले छर्लंग पार्छ,’ ढुंगेलले भने।
यहीँनिर भुटानका सैनिक प्रमुख ताना राङ जुङले विक्रम सम्बत् १९१२ देखि १९१६ को बीचमा जंगबहादुर राणालाई पठाएको एउटा चिठी पनि उल्लेखनीय छ।
उक्त चिठीमा ‘दुई देशबीचको सम्बन्ध राम शाहकै पालादेखि आत्मा र चेतनाजस्तै गरी प्रगाढ रहेको’ चर्चा गरिएको छ। दुई देशका जनताबाट दुवैतर्फ सहयोग आदानप्रदान भइरहेको बेहोरा चिठीमा परेको छ। यो पनि भनिएको छ, ‘भुटानी लामाले पूजा र अनुष्ठान गरी नेपालको सेवा गरेका छन् भने गोरखा मूलका भुटान बस्ने दुनियाँले भुटानी राजाको सेवामा सहयोग पुर्याएका छन्।’
भुटानी सैनिक प्रमुखले पठाएको यो चिठी र माथि उल्लिखित तमाम घटनाक्रमहरूबाट नेपाल एकीकरणपछि राणा शासनसम्म आइपुग्दा पनि नेपाल–भुटान सम्बन्धले उत्तिकै प्रगाढ रूपमा निरन्तरता पाइरहेको पुष्टि हुन्छ। यसरी सम्बन्धले निरन्तरता पाइरहेको अवस्थामा विगतमा जस्तै त्यही सम्बन्धको सेतु चढेर नेपालीहरू भुटान बसोबासमा जाने क्रम उन्नाइसौं र बीसौं शताब्दीसम्म यथावत् रह्यो भनेर हामी भन्न सक्छौं। सैनिक प्रमुख ताना राङ जुङको चिठीमा ‘गोरखा मूलका भुटान बस्ने दुनियाँले भुटानी राजाको सेवामा सहयोग पुर्याएको’ सन्दर्भ उल्लेख हुनुले पनि नेपालीहरूको औपचारिक बसाइँसराइले निरन्तरता पाइरहेको संकेत गर्छ।
सम्बन्धको यो कसिलो डोरीले भुटानको राजनीतिमा वाङचुक वंशको उदय भएपछि पनि निरन्तरता पाइरहेका प्रमाणहरू छन्।
विक्रम सम्बत् १९६४ पुस २ गते मंगलबारका दिन (सन् १९०७ डिसेम्बर १७) पुनाखामा आयोजित भव्य समारोहबीच उगेन वाङचुक भुटानका राजा बनेका थिए। पूर्वी भुटानको तोङ्सा प्रान्तका शासक (पोनलोप) रहेका उगेन वाङचुकले समस्त भुटानमा आधिपत्य जमाउँदै आफूलाई राजा घोषणा गरेका थिए। उनी वाङचुक वंशबाट भुटानको राजगद्दी सम्हाल्ने पहिलो राजा हुन्। र, योसँगै भुटानमा पहिलोपटक वंश परम्परामा आधारित राजतन्त्रको सुरूआत भएको थियो। भुटानी राजनीतिको यो महत्वपूर्ण मोडमा नेपालको पनि स्वीकृति, समर्थन र सहयोग थियो।
उगेन वाङचुकले भुटानको राजगद्दी सम्हाल्नुभन्दा केही समयअघि १९६३ सालमै केही वरिष्ठ भुटानी अधिकारीहरू काठमाडौं आएका थिए। उक्त टोलीमा टोङ्सार पोनलोप उगेन दोर्जी, काजी गर्जमान गुरूङ, मण्डल धनवीर बुढा, कीर्तिमान बुढाथोकी र बलबहादुर सहभागी थिए। उनीहरूले उगेन वाङचुकले भुटानको राज्यव्यवस्था नियन्त्रणमा लिन गइरहेको र अबउप्रान्त भुटानमा वंश परम्परामा आधारित वाङचुकहरूको शासन चल्ने सूचना दिए। सदियौंदेखि मित्रवत् सम्बन्ध रहेको नेपालले भुटानको यो महत्वपूर्ण राजनीतिक परिवर्तनमा पनि स्वीकृति, सहयोग र समर्थन गरोस् भन्ने भुटानी अधिकारीहरूको अपेक्षा थियो।
नेपालले भुटानी टोलीसँग नाइँनास्ती गरेन।
त्यति बेला नेपालमा चन्द्रशमशेर जंगबहादुर राणाको शासन थियो। उनले उगेन वाङचुकलाई भुटानका नयाँ राजा स्वीकार गरेको लालमोहर जारी गरे।
यति मात्र होइन, उगेन वाङचुकलाई भुटानी राजाका रूपमा स्वीकार गर्न अंग्रेजहरूलाई मनाउनमा पनि चन्द्रशमशेरको महत्वपूर्ण भूमिका रह्यो।
चन्द्रशमशेरको अंग्रेजहरूसँग अत्यन्त राम्रो सम्बन्ध थियो। उनले भारतस्थित अंग्रेज सरकारका भाइसराय लर्ड मिन्टोसँग उगेन वाङचुकको भेटघाटको बन्दोबस्तसमेत मिलाएको इतिहासकार रमेश ढुंगेलको भनाइ छ।
उनी लेख्छन्, ‘चन्द्रशमशेरले उगेन वाङचुकसँग मित लगाएका थिए।’
यसलाई पुष्टि गर्ने आधार दिँदै ढुंगेलले हामीसँग भने, ‘उगेन वाङचुकले आफू भुटानको नरेश भएपछि चन्द्रशमशेरलाई लेखेका चिठीहरूमा ‘मितज्यू चक्रपति गोरखा महाराजा’ भनेर सम्बोधन गरेको पाइएको छ। उनले चन्द्रशमशेरलाई चक्रवर्ती महाराजसरह सम्मान दिन खोजेको देखिन्छ।’
नेपालका शक्तिशाली राणा प्रधानमन्त्री र भुटानमा सत्तारोहण गरेका नयाँ राजाबीच मितकै नाता गाँसिनुले राजकीय स्तरमा दुई देशको सम्बन्ध अझै दरिलो बनेको बुझ्नुपर्छ।
उगेन वाङचुकले आफू राजा बनेपछि दक्षिण भुटानका मुख्य मुख्य ठाउँहरू नेपाली मूलका भुटानीहरूलाई बसोबासको निम्ति छुट्टयाउने निर्णय गर्नुले यो दरिलो सम्बन्ध पुष्टि गर्छ।
राजकीय सम्बन्ध दरिलो हुनुको अर्थ जनस्तरमा पनि पुरानो थिति कायम रहनु हो।
यसबाट सत्रौं शताब्दीमा राम शाह र ङवाङ नमग्यालले सुरू गरेको बसाइँसराइको परम्परा चन्द्रशमशेर र उगेन वाङचुकको पालासम्म सौहार्द ढंगले चलिरहेको हामी सहजै अनुमान लगाउन सक्छौं।
सत्रौं शताब्दीबाट बीसौं शताब्दीसम्म आइपुग्दा बसाइँसराइको यो परम्परामा एउटा परिवर्तन चाहिँ पक्कै भयो — अब पहिलेजस्तो राजा स्वयं राजकीय भ्रमणमा आएर नेपालीहरूलाई भुटान लैजानुपरेन। ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी चारै वर्णका मान्छे छानेर समूह बनाउनु पनि परेन।
यसको मतलब, नेपालीहरूको भुटान बसाइँसराइ तीन सय वर्ष अवधिमा जनस्तरको आवागमनमा परिणत भयो। यसले नेपाल र भुटानबीच सामाजिक परम्पराको रूप लियो।
नेपालीहरू अब स्वयं पनि रोजीरोटी र बसोबासको खोजीमा भुटानको बाटो रोज्न थाले।
‘राजकीय स्तरमा सुरू बसाइँसराइले सामाजिक रूप कसरी लियो?’
हामीले यो प्रश्न इतिहासकार रमेश ढुंगेलसँगको लामो कुराकानीमा सोधेका थियौं।
जवाफमा उनले भने, ‘राज्य निर्माण भनेको लामो प्रक्रिया हो। यसका लागि विभिन्न तह र विभिन्न क्रियाकलापमा संलग्न हुन विभिन्न दक्षताका मान्छेहरू चाहिन्छन्। सरकारमा रहेर शासकीय काम गर्ने मान्छे चाहिन्छ, प्रशासनमा रहेर प्रशासकीय काम गर्ने मान्छे चाहिन्छ, सेना चाहिन्छ, कालिगढहरू चाहिन्छन्, बन्द–व्यापार र खेतीपाती गर्ने मान्छे चाहिन्छ।’
‘जनशक्तिको आवश्यकता एकैचोटि सिर्जना हुने पनि होइन,’ उनले अगाडि भने, ‘राज्य निर्माणको क्रम जति अघि बढ्दै गयो, नयाँ नयाँ क्षेत्रमा नयाँ नयाँ जनशक्तिको माग हुन थाल्छ। यसले रोजगारीको अवसर ल्याउँछ। नयाँ अवसरले नयाँ मान्छेको दरकार पर्छ। त्यो नयाँ मान्छे कहाँबाट पूर्ति हुन्छ त?’
‘त्यसको पूर्ति त्यहीँबाट हुने सम्भावना अधिक हुन्छ, जहाँबाट पहिल्यैदेखि हुँदै आएको थियो,’ ढुंगेलले हामीलाई सोधेझैं गरी राखेको प्रश्नको जवाफ आफैं दिए, ‘नयाँ बाटो खन्न गाह्रो हुन्छ, एकचोटि खनिसकेको बाटो हिँड्न सजिलो। नेपाल र भुटानका हकमा त्यही भयो। चार सय वर्षअगाडि राम शाह र ङवाङ नमग्यालले जनताको बसाइँ सार्ने जुन थिति बसाले, त्यसले नयाँ बाटो खन्यो। त्यसपछिका पुस्ता त्यही बाटो हिँड्दै भुटान पुगे। जनशक्ति कम भएको भुटानलाई जब जब मान्छेको खाँचो पर्यो, स्वाभाविक रूपमा त्यही पुरानो बाटो बढी चल्तीमा आयो।’
हामी चुपचाप उनको कुरा सुन्दै थियौं।
‘यहाँनिर अर्थशास्त्रको सिद्धान्त पनि लागू हुन्छ — माग र आपूर्तिको सिद्धान्त,’ उनले भने।
इतिहासकार ढुंगेलले उद्धृत गरेको यो सिद्धान्त नेपालीहरूको भुटान बसाइँसराइमा कसरी लागू हुन्छ, अब हामी त्यसबारे चर्चा गरौं।
बसाइँसराइ पानीको प्रवाहजस्तै हुन्छ। जसरी पानीले अलिकति ओरालो बाटो फेला पारेपछि निरन्तर त्यो बाटो पछ्याइरहन्छ, मान्छेहरू पनि सधैं अवसरको बाटो हेरिरहेको हुन्छ। जहाँ अवसर, त्यहाँ मान्छे। नहुने र होला जस्तो लाग्ने ठाउँ वा अवस्थाको भेद मान्छेले छिट्टै गर्छ। जो नहुने ठाउँमा छ, उसका आँखा हुने ठाउँको खोजीमा सधैं चलायमान रहन्छ। अनि त, केही होलाजस्तो ठाउँ भेट्नेबित्तिकै ऊ फड्किहाल्छ।
नेपाल र भुटानबीच पनि यही ‘नहुने र होलाजस्तो लाग्ने’ भेदले जनशक्ति चलायमान बनायो।
विगतमा भुटानी धर्मराजाले गोरखा र काठमाडौं आएर राजकीय स्तरमै मान्छे ओसारेपछि अवसरको खोजीमा रहेका नेपालीहरूले नयाँ गन्तव्य भेटे। पानीले बाटो भेटेजस्तै!
जो धर्मराजाको पछि लागेर गए, उनीहरूले त्यहाँको चालचलन बुझे, अवसर पर्गेले र सुविधाहरू तौले। हावापानीका हिसाबले भुटान नेपालभन्दा फरक थिएन। बौद्ध धर्मको व्यापकता पनि नेपालीहरूका लागि अनुकूल नै थियो। जहाँसम्म अवसर र सुविधाको प्रश्न छ, त्यो उनीहरूले त्यहाँ प्रशस्तै देखे।
त्यसपछि त चुम्बकले फलाम तानेझैं भुटान गएकाहरूले यताबाट आफ्ना मान्छे तान्न थाले।
नातागोता ताने। इष्टमित्र ताने। निकटका साथीसंगी ताने।
जसलाई कसैले तानेन, उसलाई अवसरले तान्यो।
भुटानमा ‘भर छ’ भन्ने हल्लाले तान्यो।
र, यही क्रम सत्रौं शताब्दीदेखि निरन्तर चलिरह्यो।
बीसौं शताब्दीको पूर्वार्द्धसम्म आइपुग्दा भुटानमा नेपाली मूलका बासिन्दाको जनसंख्यामा उल्लेख्य वृद्धि भइसकेको थियो। यसले स्वाभाविक रूपमा रोजगारको अवसर संकुचित हुँदै गएको हुनुपर्छ। त्यसपछि अवसरको दायरा फराकिलो पार्न नेपाली मूलका मान्छेलाई दक्षिण भुटानमा बसोबास गराउनेबारे चर्चा चल्न थाल्यो।
त्यति बेलासम्म भुटानको दक्षिण भूभागमा जनसंख्या एकदमै कम थियो। अधिकांश क्षेत्र घना जंगलले ढाकिएकाले बसोबासयोग्य बनिसकेको थिएन। त्यसमाथि औलोको भय उत्तिकै थियो। हुन त प्रथम धर्मराजा ङवाङ नमग्यालले नै गोरखाबाट लगेका केही नेपालीलाई दक्षिणमा बसोबास गराई खेतीपाती थालनी नगरेका होइनन्, तर त्यसले दक्षिण भूभाग पूर्ण उपयोगमा आइसकेको थिएन। नमग्यालले गोरखाबाट लगेजति मान्छेले सम्पूर्ण दक्षिण भुटानको जंगल फाँडेर खेती गर्न र बसोबासयोग्य बनाउन सम्भवै थिएन। तर बीसौं शताब्दीको पूर्वार्द्धसम्म आइपुग्दा नेपाली मूलका बासिन्दाको बढेको जनसंख्याले त्यो सम्भव देखियो।
अर्कातिर, नगन्य मात्र आबादी भएको इलाकामा जंगल–पाखा फँडानी गरी बसोबास गराउँदा भुटानको आयस्रोत बढ्न सक्थ्यो। त्योभन्दा ठूलो कुरा त, अन्न उत्पादन बढेर खाद्य सुरक्षाको समस्या नै सम्बोधन हुन सक्थ्यो। राज्य व्यवस्थित हुँदै जान्थ्यो।
यही आर्थिक सम्भावना देखेर समस्त भुटानमा आफ्नो एकल परिवारको एकाधिकार स्थापना गर्दै राजगद्दी सम्हालेका राजा उगेन वाङचुकले दक्षिण भुटानको जंगल क्षेत्र नेपाली मूलका भुटानीहरूलाई आबाद गराउन छुट्टयाइदिए।
‘यसका लागि पहाडे नेपालीहरूको कडा परिश्रम गर्ने बानी एउटा आकर्षक पक्ष थियो। उनीहरूलाई काममा लगायो भने घना जंगल–पाखा फाँडेर, कडा चट्टान फोडेर आबादी गराउन सक्छन् भन्ने भुटानी शासकको सोच रह्यो। नेपालीहरूले विगतमा दक्षिणका केही भूभाग आबाद गरेर आफूलाई साबित पनि गरिसकेका थिए,’ ढुंगेलले भने, ‘त्यसैले नेपाली मूलका बासिन्दालाई दक्षिण भुटानमा बसोबास गराए नयाँ बस्ती विकास हुने र मुलुकको ठूलो भूभागमा आर्थिक क्रियाकलाप वृद्धि भई आय बढ्ने फाइदा तत्कालीन भुटानी शासकले देखे। सँगसँगै, यसो गर्दा नेपाली मूलका भुटानी जनताको पैतृक सम्पत्तिको अधिकार व्यवस्था गर्न सकिन्छ भन्ने पनि उनीहरूको सोच रह्यो।’
दक्षिण भूभागको जंगल फँडानी गरेर बसालिएको नयाँ इलाकालाई भुटानीहरूले ‘जोङ्सार’ नाम दिए र त्यहाँ बस्ने नेपालीभाषी भुटानीहरूलाई ‘जोङ्सारपा’ भन्न थालियो।
पछि यही नाम परिवर्तन हुँदै दक्षिणी इलाकामा बस्ने नेपालीभाषीहरूलाई ‘ल्होछाम्पा’ भनियो।
‘साँचो अर्थमा भन्दा ल्होछाम्पाहरूले भुटानको राष्ट्र निर्माणमा सहयोग गरेका थिए,’ ढुंगेलले भने, ‘जंगल फाँडेर बस्ती बसाले। खेर गइरहेको भूमिमा खेती गरे। राज्यको स्रोतसाधन बढाए। राज्यको आम्दानी बढाए। आज पनि भुटानको अन्न उत्पादन हुने ठाउँ भनेको त्यही दक्षिण भूभाग हो, जहाँ खेती सुरू गरेको नेपालीभाषीहरूले नै हो।’
ढुंगेलले भनेको अर्थशास्त्रको सिद्धान्त — माग र आपूर्तिको सिद्धान्त — यहाँ फेरि लागू हुन्छ।
‘जब जंगल फँडानी र खेतीपातीको काम सुरू भयो, त्यसका लागि थप जनशक्तिको माग हुन थाल्यो। नेपाली मूलका भुटानीहरूले स्वाभाविक रूपमा यता आफ्नो पुर्ख्यौली थलोबाट नातेदार र इष्टमित्र डाके। अरू नेपालीहरू पनि अवसर देखेर पछि लागे। मागले आपूर्ति गरायो,’ उनले भने, ‘भुटान सरकारको आँखाबाट त्यो लुकेको थिएन। तर दक्षिण भूभाग आबाद गराउन र मुलुकको आयस्रोत बढाउन उनीहरूलाई थप जनशक्ति चाहिएकै थियो। यसले नेपालीहरूको भुटान बसाइँसराइले सामाजिक रूप लियो।’
उन्नाइसौं र बीसौं शताब्दीमा अंग्रेजहरूले सुरू गरेको चिया खेतीले पनि भुटान जाने नेपालीहरूको संख्या बढाइदिएको ढुंगेलको भनाइ छ।
अंग्रेजहरूले सन् १८३९ बाट दार्जिलिङलाई ‘हिल स्टेसन’ का रूपमा प्रयोग गर्न थालेका थिए। तल समुद्री किनारको कलकत्तामा बसेर भारतमा शासन गर्दै आएका अंग्रेजहरूको निम्ति गर्मी याममा कलकत्ताको प्रचण्ड तातो झेल्नु निकै दुष्कर थियो। त्यसैले उनीहरू यस्तो ठाउँको खोजीमा थिए, जहाँ कलकत्ताको गर्मी छल्न पाइयोस्, छुट्टी बिताउन पाइयोस्। त्यही बेला सिक्किमका तत्कालीन राजाले दार्जिलिङको पहाडी भूभाग अंग्रेजहरूलाई उपहार टक्र्याए। अंग्रेजहरूले त्यसपछि कलकत्तामा गर्मी चर्किएका बेला चिसो हावा खान, आराम गर्न वा छुट्टी मनाउन दार्जिलिङ जाने परम्पराको थालनी गरे। यो परम्परा आजसम्म पश्चिम बंगालका सम्भ्रान्त परिवारहरूमा जीवित छँदैछ।
दार्जिलिङको पहाडी भूबनोट चिसो खान, आराम गर्न वा छुट्टी मनाउन मात्र होइन, चिया खेतीका लागि पनि उपयुक्त थियो। अंग्रेजहरूले यो अवसर तुरून्तै छोपिहाले। यही क्रममा सिक्किम, आसाम हुँदै भुटानमा पनि चिया खेती फस्टायो। अत्यधिक श्रमको खाँचो पर्ने चिया बगानहरू फस्टाएपछि कामदारको माग पनि तीव्र रूपमा बढ्यो।
‘त्यो समय ब्रिटिस भारतको व्यापारिक चासो र स्वार्थले ठूलो संख्यामा नेपालको पूर्वी पहाडी क्षेत्रका मान्छेलाई डोर्याउँदै भुटान पुर्याएको देखिन्छ,’ ढुंगेलले भने, ‘त्यस भेगमा ब्रिटिस कम्पनीका चिया बगानहरू धमाधम खुल्दै गएका थिए। चिया बगानमा काम गर्न धेरैभन्दा धेरै जनशक्तिको खाँचो परेको थियो। यसको पूर्ति पूर्वी पहाडका नेपालीहरूले गरे।’
बीसौं शताब्दीको मध्यसम्म नेपालको पहाडी इलाकाका बाहुन, क्षत्री, गुरूङ, मगरबाहेक याक्थुङ (लिम्बू), खम्बू, याम्फू, लोहरूङ लगायतका किराँतहरू ठूलो संख्यामा सिक्किम हुँदै भुटान बसाइँ सरेका ऐतिहासिक प्रमाण भेटिएको उनले किताबमा लेखेका छन्।
चिया बगानमा काम गर्ने श्रमिकका रूपमा भएको नेपालीहरूको बसाइँसराइलाई माइकल हटले पनि आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा चर्चा गरेका छन्।
‘दार्जिलिङका पहाडी क्षेत्रहरूमा जनसंख्या अत्यन्तै कम थियो। अंग्रेजहरूले त्यहाँ चिया खेती सुरू गरेपछि उनीहरूलाई बगानमा काम लगाउन ठूलो संख्यामा श्रमिकहरूको आवश्यकता पर्यो। यही मौका छोपेर नेपालको पूर्वी पहाडी भेगबाट दसौं हजार मान्छे चिया बगानमा काम गर्न दार्जिलिङतिर लागे,’ माइकल लेख्छन्, ‘यही बेला अंग्रेजहरूले सिक्किममा पनि नेपालीहरूको बसाइँसराइ प्रवर्द्धन गर्ने नीति लिए।’
सिक्किममा नेपालीहरूको बसाइँसराइ गराउनुका पछाडि बेलायतीहरूको तत्कालीन भूराजनीतिक स्वार्थ देखिन्छ। त्यति बेला सिक्किममा तिब्बती मूलका बासिन्दाको बाहुल्य थियो। उनीहरू आफ्ना पुर्खाको हाँगा जोडिएको तिब्बत वा चीनप्रति बढ्ता झुकाव राख्थे। यसले समग्र सिक्किम राज्य नै चीनतिर ढल्केला कि भन्ने डर अंग्रेजहरूलाई थियो। त्यसैले उनीहरूले सिक्किमलाई चिनियाँ प्रभावमा पर्न नदिन त्यहाँको जनसांख्यिक बनोटमा तिब्बती मूलका बासिन्दासँग सराबरी हुने गरी पूर्वी पहाडका नेपालीहरूको प्रवेश गराए र सिक्किमको भूराजनीतिक सन्तुलन मिलाउन खोजे।
अंग्रेजको यस्तो रणनीतिले पूर्वी पहाडका नेपालीहरू पनि सिक्किम बसाइँ सर्न उत्साहित भए। पहाडको बेरोजगारी र गरिबीले दुष्कर जीवन बाँचिरहेका बेला उनीहरूको निम्ति चिया बगानमा काम गर्ने नयाँ अवसर सिर्जना भएको थियो। यसरी बसाइँ सार्ने र बसाइँ सर्ने — अर्थात् अंग्रेज र नेपालीहरू — दुवै पक्षको स्वार्थ मिल्न गएपछि बसाइँसराइले स्वाभाविक रूपमा तीव्रता लियो।
त्यही कालखण्डमा आप्रवासी नेपालीहरूले आसामको दुग्ध व्यवसायमा एकाधिकार जमाएको माइकलले किताबमा उल्लेख गरेका छन्, उनी लेख्छन्, ‘सन् १८४० देखि १८६० को बीचमा (विक्रम सम्बत् १८९७–१९१७) नेपालको पूर्वी पहाडी क्षेत्रबाट १२ देखि १५ प्रतिशत किराँती जनसंख्या दार्जिलिङ लगायतका ठाउँमा बसाइँ सरेको अनुमान गरिन्छ।’
आज पनि भारतका दार्जिलिङ, सिक्किम, आसाम लगायत उत्तरपूर्वी ठाउँहरूमा नेपाली मूलका बासिन्दाको बसाइ निकै बाक्लो छ।
यसरी अंग्रेजको भूराजनीतिक रणनीतिअनुरूप पूर्वी पहाडी नेपालबाट दार्जिलिङ, आसाम र सिक्किममा बसाइँ सारिएका नेपालीहरूको ठूलो हिस्सा बिस्तारै त्यहाँबाट चुहिँदै नयाँ सम्भावना र अवसरको खोजीमा भुटान प्रवेश गरेको इतिहासले देखाउँछ। भुटानको राज्यसत्ता नेपालीमैत्री छ र त्यहाँ सदियौंदेखि नेपालीहरूले निर्वाध बसोबास गर्दै आएका छन् भन्ने थाहा हुनुले पनि धेरैलाई भुटानले तानेको हुनसक्छ। चुम्बकले फलाम तानेझैं!
त्यही समयकालतिर एउटा अर्को पनि घटना भएको थियो, जसले पूर्वी पहाडका नेपालीहरूलाई भारतका उत्तरपूर्वी राज्य र भुटानतिर बसाइँ सर्न बाध्य बनायो।
यो घटना पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसँग जोडिन्छ।
काठमाडौं उपत्यकाका मल्लराज्यहरू जितेर पूर्वी नेपालको एकीकरण अभियानमा निस्केका पृथ्वीनारायणले माझ किराँत र पल्लो किराँत राज्यमा भीषण लडाइँ लड्नुपरेको थियो। त्यति बेला गोर्खाली सेनाको पक्ष नलिने र गोर्खाली शासन स्वीकार नगर्ने किराँतीहरूलाई आफ्नो थातथलो छाडेर भाग्न बाध्य पारियो। यसरी गोर्खाली सेनाबाट आत्मरक्षार्थ भागेका पूर्वका विभिन्न समुदायका किराँतीहरूको ठूलो जनसंख्या पूर्व सिक्किम हुँदै भुटानसम्म पुगेको इतिहास छ।
यति मात्र होइन, लामो समयदेखि लडाइँमा होमिएका पृथ्वीनारायण शाहलाई आफ्नो सेना पाल्न, युद्धको खर्च जोहो गर्न र राज्य चलाउन प्रशस्त आर्थिक स्रोतको खाँचो थियो। उनले काठमाडौं उपत्यका जितेर तिब्बतसँगको व्यापारमा एकाधिकार जमाएपछि युद्धको धेरै खर्च त्यताबाट उठेको थियो। तर युद्धको खर्च भनेको हात्तीको पेटजस्तै हो, जसलाई जति खुवाए पनि पुग्दैन। पृथ्वीनारायण आफ्नो राज्य विस्तार अभियानमा जति अगाडि बढ्दै थिए, उनको आर्थिक आवश्यकता हात्तीको पेटजत्रो ठूलो हुँदै थियो। त्यसैले उनले नयाँ जितेका मध्य तथा पूर्वी पहाड र तराई–मधेस राज्यका किसानहरूबाट उत्पात् कर असुल्न थाले। यस्तो कर नगद वा जिन्सी सामानमा उठाइन्थ्यो। नगद तिर्ने ल्याकत आमकिसानको थिएन। उनीहरू ज्यादातर जिन्सीमा, अर्थात् आफूले उब्जनी गर्ने अन्नकै अंश राज्यलाई लगानस्वरूप बुझाएर आफ्नो थाप्लोमाथि परेको कर दायित्व फर्छ्यौट गर्थे।
गोर्खाली साम्राज्यको निम्ति बन्दोबस्त गर्न लागू गरिएको यो कर प्रणालीले किसानहरूको ढाड नै भाँच्यो।
गोर्खाली अधीनमा परेका किराँती राज्यहरूमा कर वा लगान असुल्न जमिनदारहरू नियुक्त गरिएका थिए। ती जमिनदारले लगान असुलीमा कुनै सहुलियत दिन्थेनन्। कुनै सहानुभूति देखाउँथेनन्। जसले आफ्ना लालाबालाहरूको पेट काटेर लगान तिर्यो, ऊ राज्यको अत्याचारबाट बच्यो। तर जसले तिर्न सकेन, ऊ राज्य वा जमिनदारहरूको अत्याचारको भागीदार हुनुपर्थ्यो। उनीहरूको पुर्ख्यौली जमिन खोसिन्थ्यो र लगभग दाससरह छाला काढिने गरी काम गर्न बाध्य पारिन्थ्यो।
गोर्खाली राज्यको यस्तो अत्याचार सहन नसकेर पूर्वी पहाडका धेरै बासिन्दा बसाइँ सर्न बाध्य भए। त्यसमा राई, लिम्बू लगायतका किराँतीहरूको संख्या एकदमै ठूलो थियो, जसलाई माइकल हटले आफ्नो किताबमा दिएको माथिको तथ्यांकले पुष्टि गर्छ।
‘त्यो समय आफ्नो थातथलो छाडेर हिँडेका नेपालीहरू ज्यादातर पूर्वतिर बसाइँ सरे,’ माइकल लेख्छन्, उनीहरूले यस्तो ठाउँलाई आफ्नो मुकाम बनाए, जहाँको हावापानी र माटो उनीहरू जन्मे–हुकेको पहाडी गाउँसँग दुरूस्तै मिल्थ्यो। जहाँ उनीहरू त्यसरी नै खेती गर्न सक्थे, जसरी आफ्नो पहाडी गाउँमा गर्दै आएका थिए। त्यसरी नै वस्तुभाउ हुर्काउन सक्थे, जसरी आफ्नो पहाडी गाउँमा हुर्काउँथे।
जन्मथलो छाडेर हिँडेका ती पूर्वी पहाडी किराँती वा अन्य बासिन्दाका लागि केही किलोमिटर दक्षिण झरेर तराईको समथर भूमिमा खेती गर्ने विकल्प पनि थियो। तर उनीहरूले त्यो विकल्प रोजेनन्। उनीहरूले सायद त्यो विकल्प यस कारण रोजेनन्, किनभने दक्षिणको त्यो समथर भूमिमा गोर्खाली राजाकै आधिपत्य जमिसकेको थियो। जुन राजाको अत्याचार सहन नसकेर विद्रोह गर्दै उनीहरू गाउँ छाडेर हिँडे, फेरि त्यही राजाको जमिनमा नयाँ बसोबास बसाउन सायद उनीहरूले इच्छा गरेनन्। त्यो त आगोबाट निस्केर भुंग्रोमा पस्नु जत्तिकै हुन्छ भन्ने पो उनीहरूले ठाने कि!
सँगसँगै, पहाडको चिसो हावापानीमा बस्ने बानी परेका ती जनताका लागि तराईको गर्मी असह्य हुन्थ्यो होला। त्यसैले मौसमी कारणले पनि उनीहरूले आफ्नो पुर्ख्यौली थलोबाट केही किलोमिटर दुरीमा रहेको नेपालकै दक्षिणी समथर तराई झर्नुको सट्टा सयौं किलोमिटर पूर्व यात्रा गर्दै भारतका दार्जिलिङ, सिक्किम, आसाम हुँदै भुटानसम्मको बाटो तय गरेका हुन सक्छन्।
यस सन्दर्भमा माइकल हटले नेपालका आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीलाई उद्धृत गर्दै लेखेका छन्, ‘उन्नाइसौं शताब्दीमा कृषिजन्य उत्पादकत्व निकै कम थियो। राज्यलाई तिर्नुपर्ने कर र लगानको भार उच्च थियो। बहुसंख्यक किसानहरू गरिबी र निर्वाहमुखी जीवन बिताउन बाध्य थिए।’
त्यही गरिबी र निर्वाहमुखी जीवनको भार थाम्न नसकेर नै उन्नाइसौं शताब्दीमा नेपालका पहाडी किसानहरूले नयाँ अवसर खोज्दै नयाँ मुलुकतर्फ पाइला चालेका हुन सक्ने सम्भावना एकदमै धेरै छ।
यहाँ आएर नेपालीहरूको भुटान बसाइँसराइको कथा पूर्ण हुन्छ।
र, सुरू हुन्छ उनीहरूको बसाइको कथा।
नेपालबाट गएका बासिन्दाले भुटानको घना जंगलले ढाकिएको दक्षिण भेग कसरी आबाद गरे?
नेपाली मूलका बासिन्दा भुटानको कति उच्च ओहोदासम्म पुगे?
उच्च ओहोदामा पुगेका नेपाली मूलका भुटानीहरूमध्ये क–कसको नाम भुटानको इतिहासमा दर्ज छ, जसलाई भुटानले चाहेर पनि नकार्न सक्दैन?
यी विषयमा हामी आगामी अध्यायहरूमा चर्चा गर्नेछौं।
अर्को अंकमा हामी तपाईंहरूलाई परिचय गराउने छौं दालचन गुरूङ र गर्जमान गुरूङसँग, जो उच्च ओहोदामा पुगेका र भुटानका पुराना प्रान्तीय शासकहरूले समेत पत्याएका र खतरा महसुस गरेका नेपाली मूलका भुटानी हुन्।
अर्को अंक अर्को शुक्रबार।
...
आवरण तस्बिरः चन्द्रशमशेर जंगबहादुर राणा र भुटानी राजा उगेन वाङचुक।