कर्णाली प्रदेशका विकट जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा शुरु गर्ने भएको छ।
सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफल पछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा.लि.का वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाईसेवा संचालन सम्वन्धि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतिवद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रवहादुर सिंह प्रमुख वजार व्यवस्थापक रिजेश थापा उपस्थिति थियो ।
प्रतिवद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ।
सीता एअरले यसअघि नेपालगंजबाट हवाई सेवा संचालन गरिरहेको थियो ।
प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरिकहरुलाई नेपालगंज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहात मिल्ने भएको छ।
यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमण गर्दा नेपालगञ्जदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था थियो।
प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताए।