‘यो खट्टे, यो भुटेको भट्टमास अनि यो चाहिँ मकै। छुट्टाछुट्टै प्लास्टिकमा राख्द्या छु, काठमाडौं पुगेपछि एउटा बट्टामा राख्नु, नत्र ओसिन्छ।'
सत्र वर्षअघि आमाले मलाई यसरी सम्झाएकी थिइन्।
त्यो बेला म गाउँबाट एसएलसी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौं आउँदै थिएँ। काठमाडौँ—मेरो लागि अन्जान थियो। नाम मात्रै सुनेको थिएँ। प्रत्यक्ष देखेको थिइनँ, टेलिभिजन र पत्रिकाका तस्बिरमा बाहेक। त्यो पनि धरहरा, पशुपतिनाथको मन्दिर, स्वयम्भू आदि।
मनमा उत्साह थियो। डर पनि। अनि बिछोडले भारी बनाएको मन। सबै मिश्रित थिए। घर छाडेर त्यति टाढाको यात्रा पहिलो नै थियो, २–४ दिनका लागि बाहेक। केही पाउन केही गुमाउँदै थिएँ। जस्तैः आमासँग सधैंसँगै हुने समय, आमाको हातले बनाएको अर्गानिक खाना, साथीसंगीसँगको हाँसो–ठट्टा, भीर, पाखा–पखेरासँग जन्मदेखिको मितेरी।
मनको एउटा कुनामा भने पीडाले चुपचाप डेरा जमाउँदै थियो। अर्को कुनामा सहरको सपनाको बत्ती बलिरहेको थियो।
आमाको झोला मिलाउँदै थिइन्। उनका हात छिटोछिटो चलिरहेका थिए।
हतारमा थिइन्। पीडामा पनि।
आमाले पनि १० कक्षासम्म पढेको रे। त्यसपछि पढ्न नपाएकोमा पछुतो मानिरहन्छिन्। आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाएर सक्षम बनाउने सपना बाँकी नै थियो। पहिला हाम्रो गाउँमा बिजुली थिएन। हामी टुकी बत्तीको सहारामा पढ्थ्यौँ। आमा हामीलाई होमवर्क गर्न लगाएर आफू पनि केही न केही लेखेर बस्थिन्। कहिलेकाहीँ लेख्दा लेख्दै रून्थिन्। मलाई होमवर्क गर्दैगर्दा निद्राले झ्याप्पै छोप्थ्यो। कतिपटक जुँग्रुङ्ग भएर अगाडि आएको कपाल टुकीले जलाएर टुक्रा बनाउँथ्यो।
म एसएलसी प्रथम श्रेणीमा पास हुँदा आमा खुसीले रोएकी थिइन्। आफूले जस्तो सन्तानले दुःख नपाओस् भनेर पुकार गर्ने आमाको मनमा आशाको दियो झिलिमिली बलिरहेको हुँदो हो।
'तिउनहरू (तरकारी) झोलाको दायाँपट्टि छन्। पुगेपछि तुरून्त निकाल्नु है। बिर्सिएला र झोलामै कुहिएला नि।'
आमाले फेरि अर्थाइन्।

सँगसँगै संकेतले मुन्टो हल्लाएँ र शब्दले 'हुन्छ' भनेँ।
एकैछिनमा ठूलीआमा हातमा एउटा पोको बोकेर आइन्।
आमालाई दिँदै भनिन् - 'ए! माइली, पख पख। यो पनि झोलामा राखिदेऊ।'
आमा ठूलीआमाको माइली देउरानी। गाउँमा आमालाई प्रायः साइनो लगाउँदा अगाडि ‘माइली’ भन्थे—माइली, माइली काकी, माइली भाउजू...।
आमाले जिज्ञासा राखिन्- के हो र यो?
ठूलीआमा- अलौटा मकै। सुन् त नानी, दिदी (कल्पना) लाई नि दे। मिलेर खानू। अरू त खै के छ पठाउने।
पूर्व क्षितिजबाट घाम उदाउने तयारी गर्दै थियो। हाम्रो अनुहारसँगै सूर्य पनि मलिन थियो। सूर्यलाई बादलले छेकिरहेको थियो। रातिको मध्यम वर्षाले टिनको छानो बज्थ्यो। कुनै कुनै बेला छाना छेड्ने गरी पानी दर्किरहन्थ्यो। उज्यालो हुन लाग्दा भने वर्षाले बिदा लिइसकेछ।
एकैछिनमा ठूला बाको घरबाट लौरीको सहारामा नौ दशक कट्नुभएका हजुरबा पनि आइपुग्नुभयो। त्यति उमेरमा पनि उहाँ कान राम्रै सुन्नुहुन्थ्यो, आँखा पनि राम्रोसँग देख्नुहुन्थ्यो। एउटा पनि सिटामोल समेत नखानुभएको रे। केही वर्षपछि बित्नुभयो। उहाँलाई सबैले ‘मुखिया बा’ भन्थे।
'नानी, जाने नै भए, छिटो गर। अनि भुसुण्डे खोला बढ्या रहेछ भने कसरी तर्छौ? बौरा दुःख पो पाउँछौ कि।'
'हैन हजुरबा, अरू पनि भइहाल्छन्,' उहाँलाई सम्झाएँ ।
'लौ, म त अस्ताउँदो घाम। तिमीहरू फर्किँदा बाँच्छु कि मर्छु,' हजुरबाको भावुक शब्दले मनमा सन्नाटा छायो।
'हजुरबा, दशैंमा आउने हो। केही हुँदैन,' सन्नाटा छाएको मनले सान्त्वना दियो।
एकैछिनमा आमाले राता अक्षता लगाउँदै भनिन्- 'भगवान् सधैं दायाँ होऊन्। बाटो कहिल्यै नबिराओस्। पढेर राम्रो गरेस्। राम्रोसँग पुगेस्। पुगेर फोन गर। म मोबाइल धन्सारको झ्यालमै राखिरहूँला।'
हाम्रो घरको पूर्वपट्टि धन्सार थियो। तल भैंसी बाँध्ने र माथि मान्छे सुत्ने गरिन्थ्यो। धन्सारको झ्यालमा मात्रै मोबाइलको टावरले सिग्नल दिन्थ्यो।
दाइ विपिनसँग काठमाडौँ जान तयारी सकिएको थियो। आमाका गला आँसुले भरिए। चाउरी पर्न बाँकी नै रहेका उहाँका गाला, त्यही गालाको बाटो हुँदै आँसु बगिरहेका थिए।
बहिनीहरू ज्योति र बिनिता मलिन अनुहार लगाउँदै टुलुटुलु हेरिरहेका थिए।
रुन्चे स्वरमा आमाले दाइलाई अर्थाइन्- 'बहिनीलाई गह्रौँ झोला बोक्न नलगा। अनि सुन् त, त्यहाँ खाना पकाउने, भाँडा माझ्ने काम बहिनीलाई मात्रै नलगा नि। मिलेर गर। झगडा नगर।'
घरको पिँढी, बलेनी, आँगनी र तगारो हुँदै पाइला अगाडि बढे। टारी खेतमा रोपिएका धान भर्खर हरिया हुँदै थिए। त्यही टारीका चिप्ला आली हुँदै घरदेखिको दूरी लम्बिँदै गयो। टारीको चौतारोसम्म आमा, बहिनीहरू र हजुरबाले हेरिरहे। चौतारो कटेपछि भने घर छेकिन्छ। आमा रोएकी छिन् कि भनेर घरिघरि आँखा घरतिरै जान्थ्यो। बाल्यकालमा मलाई ताते ताते गर्दै डोर्याएका आमाका हत्केलाले आँसु पुछिरहेको देखेँ। मुटु नै चुँडिएजस्तो भएको हुँदो हो। हेर्दाहेर्दै चौतारो कटेपछि घर देखिएन। आमा छेक्किन्, हजुरबा अनि बहिनीहरू पनि। छेक्कियो मेरो प्यारो गाउँ अनि बाल्यकालका सम्झना आउने ठाउँ।
हाम्रो घर गोरखा जिल्ला साविकको हर्मी गाविस र हाल सिरानचोक गाउँपालिकामा पर्छ। अहिलेजस्तो गाउँसम्म पिच सडक थिएन। झन्डै ५–६ घण्टा हिँडेपछि मात्रै गोरखाको बाह्रकिलो भन्ने ठाउँबाट बस चढ्न पाइन्थ्यो। हिउँदमा भए कटहरेबाटै चढ्न पाइन्थ्यो, जहाँ २ घण्टामा पुगिन्थ्यो। बर्खायाम भएकाले थप ३ घण्टा हिँडेपर्ने थियो।
बाटोमा दाजुबहिनी गफ गर्दै अगाडि बढिरह्यौँ।
दाइले भन्दै थिए- 'ओइ, काठमाडौंमा त अग्ला अग्ला घर हुन्छन्। बाटोभरि गाडी हुन्छ। मान्छे नै मान्छे हुन्छन्। त्यहाँ त ख्याल गरेन भने हराइन्छ नि।'
दाइ भने पहिल्यै बाहिर बस्थे। म जत्तिको दुःखी थिएनन् सायद। पाइलाले घरको दूरी जति बढिरहेको हुन्थ्यो, उति उति आमाको झल्को आउँथ्यो। निरन्तर बुबासँग बस्न पाएनौँ। ३ दशकभन्दा बढी समय शिक्षण पेसामा रहनुभयो। घरबाट २ दिन लाग्ने ठाउँ रसुवामा। एक्लै ४ जना सन्तान हुर्काउँदा आमालाई कति सकस भयो होला ? जीवनको धेरै समय आमासँगै बिताएर होला, छुट्नुपर्दा मन असाध्यै भारी भएको थियो।
मेरा मनस्पटलमा ती सम्झनाहरू थचल्किए: सन्तान भोको राखिनन्। हामीलाई अघाएर बचेको खान्थिन्, नत्र भोकै सुत्थिन्। कति पटक रित्तो कसौडी कोरकार गरेर चाटेको हुन्थिन्। कहिलेकाहीँ खोले पकाएर खान्थिन्। दिनभर मेलापात—थाक्थिन्, तर थाकेँ भन्ने छुट थिएन। फाटेको कपडामा भित्रबाट टालो राखेर सिलाउँथिन्। चप्पललाई कहिले पोलेर लगाउँथिन्, कहिले ल्याक्टो चकलेटको खोल तन्काएर बाँध्थिन्, कहिले खाली खुट्टा हिँड्थिन्। कयौँपटक पैतालामा बिझेको काँडा सियोको टुप्पोले निकाल्थिन्। सायद बुबाको तलबले पुगेन, वा आवश्यकता अरू थिए। आफू संघर्षको पहाड बोकेर पनि छोराछोरीलाई सक्षम बनाउने उनको दृढ संकल्प थियो।
आमाको याद आउन रोकिएन। सायद मध्याह्न हुँदो हो। हामी बाह्रकिलो पुग्यौँ।
'ल है, काठमाडौँ ! काठमाडौँ !' भन्दै यात्रुको प्रतीक्षामा गाडी बसिरहेको रहेछ। हामी गाडी छेउ पुग्दै थियौँ, सहचालक झोला लिन आइहाले।
दाइले सहचालकलाई भने- 'फुट्ने सामान छन् नि, जतनसँग राख्दिनु।'
सहचालकले सुनेनन् वा सुनेर नसुनेझैँ गरे, कुन्नि। दाइको कुरा वास्ता नै गरेनन्।
फेरि दाइले अथ्र्याए- 'दाइ, सुन्नु भयो त? त्यहाँ फुट्ने सामान छन्, जतनसँग राख्नु है।'
सहचालकः 'हुन्छ क्या भाइ। तपाईंहरू चढिहाल्नु न।'
मैले तेस्रो पटक बस चढेँ। त्यसअघि २ पटक नारायणघाट सानिमाको घर गएको थिएँ। किन पो त्यतिबेला बस चढ्दा आफू बसमा बसेको र घर अनि रूखहरू चाहिँ हिँडिरहेको अनुभूति हुन्थ्यो, आजभोलि हुँदैन।
बसको झ्यालतिरको सिटमा बसेँ। बाहिर निहालिरहेँ। तन बसमा थियो, मन घरमा। बस घरदेखिको दूरी बढाउँदै अघि बढिरह्यो। मनमा भने यादको गहिराइ बढिरहेको थियो। आँखा भरिएर आँसु डिलसम्म आइपुग्न लागेछन्। अरूले देख्नु अघि हतारहतार पुछेँ। आमासँग बिताएका यादहरू मनस्पटलमा नाच्न छोडेन।
यतिबेला मेरी आमा के गर्दै होलिन्? पीरमै होलिन् कि घाँस काट्न खरबारीको भीरमा गएकी होलिन्? या बेसी खेतमा धान गोड्न? बाख्रा चराउन गएकी होलिन् कि ? के गर्दै होलिन् ? खुब खुल्दुली बढ्यो।
केही समयपछि बस खाजा खाने ठाउँमा रोकियो। अरू झरे। म भित्रै बसेँ। आमाले खुदोँमा मोलेर पठाएको खट्टेको पोको फुकाएँ। त्यो पोकोमा खाजा मात्रै थिएन, आमाको माया थियो। यादलाई पनि पोको पारिछिन्। उनको यादरूपी बास्ना हर...हर... आइरहेको थियो।
झ्यालबाट नजर बाहिरियो। दायाँपट्टिको पसलका मिठाई, जेरी, सेल, पुरी, समोसामा आँखा पुग्यो। मेरी आमालाई कस्तो मन पथ्र्यो! 'भोलिपर्सि जागिर खान्छु, पैसा भएपछि आमाका लागि दिनहुँ किन्दिन्छु,' भन्ने सोच आयो।
एकैछिनमा त्यो पसलबाट एउटी महिला—सुकिलो साडी, सुनको हार र चुरा लगाएर—बाहिर निस्किएको देखेँ। उनलाई मात्रै होइन, सँगै सपना पनि देखेँ। मेरी आमालाई यस्तै सुकिलो र राम्रो साडी कत्ति सुहाउँदो हो ! सुनका हार र चुराले आहा ! कति राम्री देखिन्थिन् होला ! मैले धेरै पैसा कमाउन सकेँ भने यी सबै किनिदिन्छु। राम्रा राम्रा गहना लगाउने आमाको रहर हुँदो हो। मैले गहना किन्न नसकुन्जेल मेरी आमा बुढी नहोउन् जस्तो लाग्यो। बुढेसकालमा रहर फेरिएला फेरि । उमेर छदैँमा बढी सुहाँउला।
एकैछिनपछि 'ल, अंगुर, स्याउ, केरा' भन्दै हिँडिरहेको अधबैंसे पुरूष देखेँ। फेरि सपना सजाएँ— मेरी आमालाई यी फलफूल दिनदिनै किनेर खुवाउन सक्ने बन्नु छ। मक्क पर्दिहुन्। भोलिपर्सि चाउरिएका गाला खुम्च्याउँदै मुसुक्क हाँस्दिहुन्। आमा–बुबा मिलेर आधा–आधा खाँदा हुन्।
सानादेखि ठूला–ठूला सपनाहरू सजिसकेका थिए, आमाका लागि। थाहा थिएन, कति पूरा हुने थिए?
घुम्ती मोड्दै, हर्न बजाउँदै केही घण्टामै गाडी मुलुकको राजधानी छिर्यो। पहिलोपटक देखेको राजधानीले एकैछिन अचम्मित बनायो। बाफ्रे ! कति अग्ला घर ! एकैछिनमा एउटा बुढी आमा छतमा यताउता हिँडडुल गरेको देखेँ। हाम्रो पनि यस्तै घर भइदिएको भए, मेरी आमा छतमा बसेर वरपर हेर्दिहुन् अनि तलमान्छे ओहोरदोहोर गरेको पनि। गाउँबाट आएको एउटी सामान्य केटीको मनमा कति असामान्य सपनाहरू सजिएका होलान् ?
त्यसपछि जीवनमा कहिले खुसी आए कहिले दुःख, कहिले सफलता त कहिले असफलता। तिनै दुःखमा होस् या सुख, सफलतामा होस् या असफलतामा मेरी आमा पहिलो याद बनेर आइरहेकी हुन्छिन् । मानौँ, जीवनका हरेक मोडमा आमाकै छायाँसँगै हिँडिरहेको छु म।
काठमाडौँ छिर्दै गर्दा आमालाई सुखी र खुसी बनाउने मनका ती ठूला आकांक्षाहरू—कति पूरा भए, कति समयको पर्खाइमा अड्किएर बसेका छन्।
मनमा सजाएका सपनाको महल, महँगा चाहनाहरू—सबै तिमीलाई खुसी देख्नकै लागि थिए, आमा। तर ती सबै पूरा गर्नु सोचेजस्तो सजिलो रहेनछ। सपना बुन्न त सजिलो हुन्छ नै , तर जीवनमा उतार्न भने कति कठोर हुने रहेछ भन्ने बिस्तारै बुझ्दै गएँ।
तिनै महत्त्वाकांक्षालाई पछ्याउँदै आज म अधिकृत तहको सरकारी जागिरे भएकी छु। माहिली बहिनी पनि सरकारी जागरिमा नै छिन् र कान्छी बैकिङ क्षेत्रमा।
'छोरी त अर्काको घर जाने जात, पढाएर के पाउँछेस्?' भनेर तिमीलाई प्रश्न गर्नेहरूलाई आज उत्तर शब्दले होइन, कर्मले दिएको जस्तो लाग्छ। तिम्रा ३ ओटै छोरीहरू आफ्नै खुट्टामा उभिन सक्ने बनेका छन्- तिम्रो विश्वास, तिम्रो अडानकै परिणाम हो यो।
तिमी आफ्ना संकल्पमा अडिग रह्यौ, त्यसैले त तिम्रा यी सपना पूरा भए। अझै तिमीलाई सुखी देख्ने चाहनाले सजाइएका कति सपना अधुरै छन्। सायद जीवनका अनेक जिम्मेवारीहरूले ती सपनालाई थिचिरहेका छन्, अलि पछाडि धकेलिरहेका छन्।
जे होस् तिमीलाई एकसरो लुगा लगाउन, केही किनिदिन अब कसैसँग हात फैलाउनु पर्दैन। जसरी तिमी बाध्य थियौ। मलाई तिमीले चाहेका साना खुसीहरू दिन कसैको अनुमति कुर्नु पर्दैन। जसरी तिमीले बुबाको कुरेकी थियौ।
आजभोलि आमालाई 'के किन्दिऊँ?' भनेर सोध्दा, उत्तर आउँछ- 'केही पर्दैन।'
त्यो ‘केही पर्दैन’ भित्र कति गहिरो चाहना लुकेको रहेछ। उपहारभन्दा आमालाई सन्तान चाहिन्छ; आँखाअघि, साथमै। हाम्रो समय नै उनका लागि सबैभन्दा बहुमूल्य उपहार रहेछ। भौतिक वस्तुभन्दा सन्तानको सफलता र मुस्कानले नै आमाको मन उज्याएको हुन्छ।
आफै छोरीकी आमा बनेपछि अझ प्रस्ट भयो- सन्तानको मुस्कानभन्दा ठूलो कुनै सम्पत्ति हुँदैन। त्यसैले होला, आमाले कहिल्यै केही माग्नुभएन, केवल हामीलाई देख्न चाहनुभयो।
आमा तिमीलाई पर्याप्त समय दिन नसक्नुको बाध्यताले मनलाई भारी बनाउँछ।
मन त छ, तिमीसँग बसूँ, कुरा गरूँ, थकान साटिरहूँ। तिमीलाई समय दिएर खुसी बनाइरहूँ। तर त्यो चाहना सधैं भोलिमा धकेलिएको छ। उधारोमा छ।
हामी खुसी उपहार किनेर दिन खोज्छौ। तर बुझ्दैछु आमाहरू हाम्रो उपस्थिति खोजिरहेका हुने रहेछन्। आमाका लागि ठूलो उपहार न त महल हो, न गहना। मात्रै साथ अनि समय रहेछ।
सम्पूर्ण आमाहरूलाई मातातीर्थ औँसीको शुभकामना।