आजभोलि दैनिकी अचम्मको भएको छ। आफ्नो घर छोडेर एक रात कतै नगएको महिनौँ हुन लागेछ। कामकाजको सिलसिलामा दिउँसो जहाँ पुगे पनि बेलुका घर फर्किएको छु। परिवारसँगै छु। समय छैन भनौं भने छ, छ भनौं भने लिभिङ रूममा भएको टेलिभिजन नखुलेको धेरै भइसकेको थियो। समाचारका बुलेटिनहरू नहेरेको त केही महिना नै भइसकेको थियो। टिभी, टेलिफोन, चेकबुक, किताब, कापी, टर्चलाइट, म्युजिक प्लेयर—जे भने पनि उही मोबाइल फोन त छ!
जीवनशैलीको पनि कुरा होला। सहरको एउटा सानो घरको बसाइँ छ। खेतीपाती छैन, मेला–पर्म गर्नै पर्दैन। न असार छ, न मंसिर छ। दस वटा पनि भोटा नफटालेका साना छोराछोरीलाई विद्यार्थी भन्नुपर्यो। कि त गृहकार्य, कि त खेल्नमै व्यस्त हुन्छन्। बाउ–आमाको नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार भनेजस्तो जागिरपेशा भइहाल्यो। बुढी आमालाई टिभीको रङ र मेसो दुवै छैन।
देश–विदेशमा कुनै ठूला घटना भए भने वा ‘डोमेस्टिक वाल्स’ हरू भत्काएर आममानिसलाई जोड्ने खेलकुद, सङ्गीत, साहित्य र कलाका ठूला कार्यक्रम भए भने मात्रै कहिलेकाहीँ खुल्छ त्यो टेलिभिजन। त्यसमा पनि छोराछोरीले गृहकार्य सके कि सकेनन्, भोलि कुनै विषयको परियोजना कार्य वा ‘टेस्ट’ छ कि छैन, आमालाई हिजो बेलुका निन्द्रा पर्यो कि परेन, श्रीमतीले भोलिको के–कस्तो तयारी गर्नुछ, आफूले पनि भोलि बिहान सबेरै के गर्नुपर्ने छ आदि कुराको ख्याल गरेर मात्रै खोल्नुपर्ने हुन्छ। टिभी खुल्नु त एउटा ‘सेलिब्रेसन’ जस्तै भएको छ—सबैकुरा अनुकूल भयो भने आत्मसन्तुष्टिका लागि बजाउने एउटा भाँडो!
पछिल्लो समय जेनजी आन्दोलन, टी–ट्वान्टी वर्ल्डकप र निर्वाचनका समयमा गरी तीन वटा अवसरमा टेलिभिजन खोलेर हेरिएछ। नत्र फेरि उही मोबाइल। टिभीले आकर्षण नै गर्दैन।
गरोस् पनि कसरी? टिभीमा आउने सबै कुरा त भइहाल्यो, त्यसमाथि अझ धेरै कुरा आउँछन् स्मार्ट मोबाइल फोनमा। एक/डेढ फिटको दूरीमा आफ्नै हातमा राखेर छिटोछरितो नियन्त्रणसहित जे चाह्यो त्यही हेर्न पाइन्छ। हुन त बानी परेर पनि होला। धेरै महत्त्वपूर्ण कुरा आयो भने टिभी स्क्रिनमा भन्दा मोबाइल स्क्रिनमा हेर्दा–सुन्दा मनलाई शान्ति मिल्छ।
मैले मोबाइल हेर्न थालेँ भने घरीघरी छोराछोरी पनि दायाँ–बायाँ लुसुक्क टाँसिन आइपुग्छन्। स्क्रिनभरि अंग्रेजी वा नेपाली टेक्स्ट मात्रै रहेछ भने उसैगरी लुसुक्क टाढिन्छन्। श्रव्य–दृश्य सामग्री रहेछ भने जे भए पनि हेरिरहन्छन्। घरीघरी त आफ्नै हात लम्काएर मोबाइल फोनलाई नै नियन्त्रणमा लिन थाल्छन्। स्क्रिनमा देखिएका सामग्रीबारे सवाल–जबाफ पनि गर्छन्—घरी उनीहरू आफै, घरी मसँग। यसरी मोबाइल फोनको सानो स्क्रिनमा तीनजनाले सँगै हेर्दा शारीरिक रूपमा त नजिक हुने भइहालियो, संवेगात्मक र भावनात्मक रूपमा पनि थप नजिक बनाउँदो रहेछ—आँखाको चाल, सासको गति र मुटुको धड्कनसँग एकाकार भएर।
छोरा भन्दा छोरी सानी छन्, त्यसैले प्रश्न पनि धेरै गर्छिन्। भदौ २४ गते बेलुका मेरो छातीमै टाँसिएर टेलिभिजन हेर्दाहेर्दै एउटा प्रश्न गरिन्—‘के जलेको हो र, बाबा?’ मैले सजिलै उत्तर दिएँ—‘सिंहदरबार।’ खासमा उनले सिंहदरबार चिनेकी छैनन्, तर केही ठूलो र महत्त्वपूर्ण चिज हो भन्ने कुरा उनको मस्तिष्कमा रहेछ क्यारे। हुन सक्छ अरू कुनै प्रसङ्गमा सुनेकी होलिन्, किताबका पानामा देखेकी होलिन्, बालकथामा ‘दरबार’ को वैभवता सुनेकी होलिन्। त्यसैले मेरो जवाफपछि डर मिश्रित आश्चर्यका साथ प्रतिप्रश्न गरिन्—‘सिंहदरबार?’ ‘अँ,’ मैले छोटकरीमा भनेँ। छोरीले दन्त्यकथा वा बालकथामा सुनेजस्तै एउटा भव्य दरबार—देशको मुटु सिंहदरबार—डरलाग्दो गरी दनदनी जलिरहेको थियो। त्यस बेला मलाई सिंहदरबारबारे थप केही भन्ने जाँगर र तागत केही पनि भएन।
छोरीका प्रश्नहरू रोकिएनन्। अर्को प्रश्न गरिन्—‘कसले जलाएको र?’ मैले अघिको जस्तै सजिलै उत्तर दिन सकिनँ।
छोरीलाई अलि जोडले आफ्नो छातीमा च्यापेँ, कपाल सुम्सुम्याएँ, टाउकोमा एकपटक चुम्बन गरेँ। के भनौँ जस्तो भयो। छोरीको जिज्ञासा मेटियोस् र सिकाइ पनि होस् भनेर छोटो जवाफ दिएँ—‘बदमासहरूले होला नि, छोरी।’
छोरीले टिभी स्क्रिनमा एकटक हेर्दै गर्दा मेरो छातीमा टाँसिएको उनको अनुहारतिर एक नजर लगाएँ। मैले स्पष्ट बुझ्न सक्थेँ मेरो उत्तरले उनको चित्त बुझेको थिएन।
एकछिनपछि फेरि अर्को प्रश्न गरिन्—‘किन जलाएका र, बाबा?’ अब त मसँग उनलाई टार्ने उत्तर पनि थिएन। म अवाक भएँ। टेलिभिजन स्क्रिनमा सिंहदरबार जलिरहेको थियो, यता छोरी टाँसिएको छातीभित्रको मुटु जलिरहेको थियो।
आगो निभ्यो कि निभाइयो, कुन्नि। सिंहदरबार त भोलिपल्टैदेखि जल्न छोड्यो। अहिले पुनर्निर्माण चलिरहेको छ रे। फेरि उस्तै बन्ला, उस्तै देखिएला। तर छातीभित्रको मुटु भने जलिनैरह्यो—त्यसबेला छोरीका प्रश्नले, त्यसपछि मानिसका फगत शब्दहरूले।
भदौ २३/२४ पछि फागुन २१ सम्म आइपुगियो। यस अवधिका विकासक्रमबारे सबै नेपाली जानकार छन्। जब फागुन २१ को निर्वाचन नजिकिँदै गयो, तब एउटा बहस जबर्जस्त स्थापित हुँदै गयो—‘देश बनाउने’ र ‘देश जलाउने’ बीचको प्रतिस्पर्धा हो यो निर्वाचन भनेर।
उही, कहिलेकाहीँ खुल्ने टेलिभिजनका बुलेटिन र बहसहरूमा, अखबारका हेडलाइनहरूमा, पडकास्टहरूमा, आमसभा र प्रशिक्षण कार्यक्रमहरूमा, अनलाइन टिभी र युट्युबका श्रव्य–दृश्यहरूमा, सामाजिक सञ्जालका पोस्टहरूमा, सुपरमार्केट र चिया पसलहरूमा सबैतिर बारम्बार सुनियो, जोडदार रूपमा सुनियो—‘देश बनाउने’ र ‘देश जलाउने’ बारेको बहस। यी सबै फोरमहरूमा प्रत्यक्ष पहुँच न मेरो थियो, न सानी छोरीको। तर ती सबै कुरा सपाट रूपमा छर्लङ्ग देखाउँथ्यो त्यही मोबाइल फोनले। घरमा भएका मोबाइल फोनहरू यस्सो खोल्दा सुन्न र पढ्न परिहाल्ने—उही ‘देश बनाउने’ र ‘देश जलाउने’ बीचको कित्ताकाट। एक दिन अलि महत्त्वपूर्ण लागेर एउटा भिडियो सामग्री हेर्दै थिएँ मोबाइल फोनमा। एकजना ठूला नेताको सम्बोधन रहेछ। दमदार रूपमा उठाइएको थियो ‘देश जलाउने’ लाई सिध्याउनु पर्ने र ‘देश बनाउने’ लाई जिताउनु पर्ने युगीन आवश्यकताको विषय।
छोराछोरी लुसुक्क आइहाले—दायाँ र बायाँ। छोरी दायाँपट्टि टाँसिइन्, छोरा बायाँपट्टि। मसँगै एकोहोरिएर हेरिरहे। प्रश्न गर्न छोरी नै अगाडि थिइन्।
आज फेरि अर्को प्रश्न गरिन् ‘कहाँ जलेको हो र हाम्रो देश, बाबा?’ छोरी आफु प्रश्न गर्छिन्, मुटु मेरो जलाउँछिन्। कहाँ जलेको भन्दिउँ, काठमाडौँमा कि पोखरामा? विराटनगरमा कि वीरगञ्जमा? सिंहदरबारमा कि संसद् भवनमा? सर्वोच्च अदालतमा कि वाणिज्य बैंकमा? नख्खु जेलमा कि भाटभटेनी सुपरमार्केटमा? मिडिया हाउसमा कि फलानाका घरमा?
‘कहाँ जलेको हो र हाम्रो देश?’ भनेर सोध्नुको अर्थ उनी ‘देश जल्नु’ भनेको के हो भनेर बुझ्न चाहन्थिन्। बुझून् पनि कसरी? भदौ २३/२४ पछि २/४ दिन स्कुल छुट्टी भयो। उनी घरमै बसिन्। जलेका ठाउँहरू हेर्न गइनन्। घरअगाडि खेल्न आउने साथीहरू उस्तै थिए, धर्ती उस्तै थियो, आकाश उस्तै थियो। सडकमा सवारी उसैगरी चलिरहेका थिए। बटुवाहरू उसैगरी हिँडिरहेका थिए। गमलामा फूलहरू उसैगरी फुलिरहेका थिए। कुकुरहरू उसैगरी भुकिरहेका थिए। उनको सम्पूर्ण परिवेश उस्तै थियो।
छोरीको प्रश्नको आशयले मलाई पनि कता–कता घोचिरह्यो। तत्कालका लागि केही उत्तर दिन सकिनँ। मात्र ‘हँ…’ भनेर ठूलो नेताको सम्बोधन सुन्दै गर्दा डिस्टर्ब नगर्न संकेत मात्र गरेँ। उनले पनि प्रश्न दोहोर्याइनन्। एकछिनपछि सम्बोधन सकियो। छोराछोरी पनि उठेर खुर्र दौडाहाले।
छोराछोरी त खेल्न गए होलान्, तर छोरीको प्रश्नले मलाई निकै अधैर्य बनायो। खुल्दुली उनलाई भन्दा अब मलाई बढी भएको थियो, ‘साँचै देश जल्नु भनेको के हो?’ यो जान्नका लागि फेरि अर्को एउटा अहम् प्रश्न उब्जियो—खासमा ‘देश’ भनेको नै के हो? बुढापाकाले भन्ने गरेको मानिसको खाट्टी आयु बिताइसकेँ। आफूले सकेसम्मको उच्च शिक्षा हासिल गरेँ। तर आजसम्म ‘देश’ शब्दको अर्थ किताबमा पढेको सम्झना भएन। शब्दकोशमा त हेरेको नै रहेनछु।
सम्बोधन सकियो। छोराछोरी गए। अब के गर्ने त? मोबाइलमा भएको ‘प्रज्ञा नेपाली वृहत् शब्दकोश’ को एप खोलेर जिन्दगीमा पहिलोपटक ‘देश’ शब्दको अर्थ खोजेँ। लेखिएको थियो—‘१) कुनै प्रणालीको शासनअन्तर्गतको निश्चित भूभाग, राष्ट्र २) चारैतिर फैलिई अनेकौँ गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रदेश मिलेर बनेको एक विशिष्ट भूभाग, मुलुक।’
मन अझै शान्त भएन। चार कक्षादेखि अंग्रेजी पढ्न थालेको हुँ। झन्डै १६ वर्ष अंग्रेजी विषय पढिएछ। अंग्रेजी विषय नै पढाउन थालेको पनि १८ वर्ष पुग्न लागेछ। ‘देश’ भनेको अंग्रेजीमा 'कन्ट्री' हो भनेर कहिले जानियो, त्यसको पनि सम्झना छैन। तुरून्तै मेरियम–वेबस्टर डिक्सनरी हेर्न मन लाग्यो। त्यसमा लेखिएको थियो— १) दि ल्यान्ड अफ अ पर्सनस् बर्थ, रेसिडेन्स, ओर सिटिजनसीप, २) अ पोलिटिकल स्टेट ओर नेसन ओर इटस टेरिटोरी ।
म जान्दछु र बुझ्दछु पनि देशको अर्थ शब्दकोशमा लेखिएको भन्दा धेरै व्यापक, बहुआयामिक र गहिरो छ। शब्दकोश त आमालाई ‘आफूलाई जन्मदिने स्त्री’ को रूपमा अर्थ्याएर उम्किन्छ। हाम्री ‘आमा’ त्यति मात्रै हुन् त?
शब्दकोशको सोझो अर्थअनुसार पनि ‘देश’ भनेको कुनै निश्चित भूभागमा बनेका संरचनाहरू मात्र त होइनन् नि। आमा जस्तै व्यापक र गहन छ देशको अर्थ। सार्वभौम राजनीतिक अस्तित्व मुख्य हो। यससँगै जोडिएका सामाजिक र भावनात्मक सम्बन्धहरू पनि आमाका आयामहरूजस्तै महत्त्वपूर्ण हुन्छन्।
देशका महत्त्वपूर्ण संरचनाहरू जलेका पक्कै हुन्। त्यसभन्दा अझ महत्त्वपूर्ण कुरा ती अमूल्य जीवनहरूले सहादत प्राप्त गरेका हुन्। साहित्यमा ‘देशै जल्यो’ भनेर पनि भन्न मिल्ला। तर सामाजिक सञ्जाल, आमसञ्चार र सार्वजनिक सम्बोधनमा राजनीतिज्ञ, बुद्धिजीवी र सर्वसाधारणहरूले बारम्बार ‘देश जल्ने’ र ‘देश जलाउने’ प्रसङ्ग जोडतोडका साथ उठाइरहँदा मेरी छोरीजस्ता अबोध विद्यार्थीहरूलाई देशको अर्थ कसरी बुझाउने?
शाब्दिक अर्थको मात्र कुरा होइन यो। ‘देश जल्यो, देश जल्यो’ भनेर बारम्बार सुन्दा एउटा जिम्मेवार नागरिकको मुटु जल्दैन? ती संरचनाहरू किन जले? ती छोराछोरीहरू किन सहिद बने? अब कहिल्यै त्यसरी फेरि नजल्न र कोही सहिद नबन्न कसले के गर्नुपर्ने हो? सोच्ने कसले हो? यसको रोडम्याप कसले बनाउने हो? आशा, भरोसा र सान्त्वना दिने कसले हो? यसका लागि राजनीति बाहेक अरू त्यस्तो कुनै संरचना छ यो संसारमा?
आशा, भरोसा, सान्त्वना र भोलिको रोडम्यापबारे एउटा साझा ‘बटम लाइन’ बिना देश निर्वाचनमा होमियो। तर यसबीचमा पसिना बगाएर गुजारा गरिरहेका श्रमिक र पेशाकर्मी, उद्यमशीलता गरिरहेका उद्योगी–व्यवसायीहरूमा कस्तो मनोवृत्ति पैदा भयो होला? विद्यार्थीहरू के आशाले पढ्दै होलान्? शिक्षकहरूले के उदाहरण दिएर पढाउँदै होलान्? समाजले कसलाई आदर्श मान्ने होला? जनताले कसलाई नेता मान्ने होला? यी प्रश्नहरूको उत्तर कसले खोज्ने हो?
प्रश्नका उत्तरहरू नपाइकन फागुन २१ आयो। जलेको देश कसरी चलेको हो फेरि? चलेछ। जलेको देशमा शान्तिपूर्ण निर्वाचन भयो। देश जलेको हो कि आक्रोश पोखिएको हो भन्ने छुट्याउन नसक्ने दलहरू पनि उत्साहका साथ निर्वाचनमा होमिए। नतिजा सबैलाई थाहा छ। तर फागुन २१ अघि यो देशका कसैलाई पनि जनताले यस्तो मत जाहेर गर्छन् भन्ने थाहा थिएन।
राजनीतिको सोपानमा झन् तल भुइँ तहका मतदातालाई केही आकलन थियो होला, तर जति माथि गयो, त्यति भ्रमित धरातलमा रहेको हुनाले वर्षौँदेखि मूलधारका पार्टी हाँकिरहेका उच्च तहका नेतालाई त अत्तोपत्तो थिएन। यसको एउटै कारण थियो—जनताको मन बुझ्नै नखोज्नु वा बुझ्न नसक्नु, अथवा जनताका मुटुहरू बारम्बार जलाइरहनु।
अहिलेलाई कम्तीमा हार–जित स्वीकारिएको छ। जनताको अभिमत स्वीकारिएको छ। निर्वाचनको नतिजाभन्दा ठूलो कुरा देशको संविधानले एउटा चौतर्फी आलोचनाबाट मुक्ति पाएको छ। हावाहुरी भन्नुस् या एल्गोरिदम—यही संविधानबाट कुनै दलले बहुमत प्राप्त गर्न सक्छ, दुईतिहाइ मत ल्याउन सक्छ भन्ने अभूतपूर्व उदाहरण स्थापित भएको छ। गलत रूपमा बुझिएको संविधानको यथार्थ फरक भएजस्तै अझै पनि दलहरूको चुनौती भनेको जनताको मन बुझ्नु हो। शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सुशासन आदि क्षेत्रका आवश्यकताबारे दलहरू र कर्मचारीतन्त्रको ठूलो हिस्सा संविधानबारे जस्तै ठूलो भ्रममा छ। यी तमाम क्षेत्रका आवश्यकता र प्राथमिकताबारे भोग्ने जनतालाई राम्रोसँग थाहा छ।
तर भोग्ने कुरा मात्र ठूलो होइन रहेछ, भाष्यहरूको निर्माण बढी घातक हुँदो रहेछ। भोगाइको त सबैलाई जीवन्त अनुभव नै हुन्छ। कोही कसैले सिर्जना गरेको भाष्यको जरुरत नै पर्दैन। तर जब यथार्थविनाका गलत भाष्यहरू सिर्जना गरिन्छन्, त्यो भाष्यकारहरूकै लागि अत्यन्त प्रतिउत्पादक बन्न जान्छ।
होला, ‘देश जलाउनेहरू’ परिचालित थिए होलान्, स्वार्थप्रेरित थिए होलान्, आपराधिक मनोवृत्तिका थिए होलान्, आन्दोलन नै हरण भयो होला। तर यो सबै गर्न मैदानमा निस्कनेहरू यो देशका नागरिक थिए कि थिएनन्? भदौ २३ र २४ मा सडकमा निस्कनेहरू, बोल्नेहरू, नाराबाजी गर्नेहरू, सहादत प्राप्त गर्नेहरू र ‘देश जलाउनेहरू’ यो देशका नागरिक थिए कि थिएनन्? तसर्थ, लामो राजनीतिक र प्रशासनिक कुसंस्कारविरूद्ध नवयुवाहरूको ठूलो आन्दोलन भयो। ऐतिहासिक रूपमा भन्दा तेस्रो जनआन्दोलन भयो। जनताले ठूलो आक्रोश पोखे, देशका अत्यन्त महत्त्वपूर्ण संरचनाहरू जले, कैयौँ नेपाली नौजवानहरूले सहादत प्राप्त गरे—यो भोगाइ हो। ‘देश जल्यो’ मात्रै भन्नु र ‘देश जलाउने अपराधीहरू’ मात्रै भनेर फलाक्नु गलत भाष्य हो। गलत भाष्यले मुटु जलाउँदो रहेछ। जब आफ्नै शरीरभित्रको मुटु जल्छ, त्यो देश जल्नु वा देशको मुटु जल्नु भन्दा निकै पीडादायक हुँदो रहेछ।
ताजा र अभूतपूर्व मतादेशबाट ‘जलेको देशमा’ बलियो सरकार बन्दैछ। नयाँ सरकारले जनताको कोमल मुटु नजलाओस्। सतत् शुभकामना।