नलेखूँ भन्छु। तर लेख्ने मन लाग्छ। याद आउँछन् ती पलहरूको। याद आउँछन् ती दिनहरूको। याद आउँछ ती आफन्तहरूको र ती कार्यालय प्रमुख साथीहरूको। दिन, तिथि र पलहरू त आउँदा रहेछन् तर ती दिवंगत आफन्तहरू कहिल्यै आउँदैनन्। देखिन्छन् ती दिनहरूले उजाड बनाएका परिवारहरू। उजाड बनाएका ती सिउँदाहरू र जिउँदाहरू। अनि नलेखूँ कसरी?
यहाँ मैले प्रस्तुत गरेको यस लेखमा नेपालको हवाई दुर्घटनाको इतिहासमा देशलाई पुगेको ठुलो क्षति र जुम्लाले गुमाएका ती होनहार युवाहरू मात्र नभएर देशको भौतिक क्षति र दक्ष जनशक्तिहरू गुमाएको दिनहरूको सम्झनामा हार्दिक श्रद्धाञ्जली स्वरूप यो लेख प्रस्तुत गरेको छु।
यो हवाई घटनामा धेरैको आँसु बग्यो। सिउँदो पुछियो। कैयौँ टुहुरा भए। कसैले आमाबुवा सँगै गुमाए। कसैले पति गुमाए। कसैले पत्नी गुमाए। कसैले छोरा गुमाए। कसैले छोरी गुमाए। कसैले बुहारी गुमाए। कसैले साथी गुमाए। कसैले आफन्त गुमाए। कसैले आफ्नो कुलको वंश नै गुमाए। समग्रमा देशले भौतिक क्षतिका साथै ठुलो जनशक्ति गुमायो, ठुलो क्षति बेहोर्यो।
यहाँ काठमाडौँबाट जुम्ला आउने उडानको क्रममा २०७० साल फागुन ४ गते भएको हवाई दुर्घटना र ती विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुहरू बारे प्रस्तुत गरिएको छ।
जुम्लामा कालो बादलले घेरेको थियो। हप्ताको एक दिन मात्र काठमाडौँबाट पोखरा टेकअप गरी जुम्ला आउने नेपाल एयरलाइन्सको नियमित उडान र कार्यक्रम थियो। काठमाडौँबाट जुम्ला आउन करिब १ घण्टा ४० मिनेट समय र त्यति नै समय फर्कन लाग्ने भएकोले करिब ३ घण्टासम्म पुग्ने हवाई इन्धन भर्न पोखरा विमानस्थलमा आएर भर्नु पर्ने हुन्थ्यो। जुम्लामा हवाई इन्धन भर्ने व्यवस्था थिएन र आजसम्म पनि छैन। नेपाल एयरलाइन्स बाहेक अरू कुनै पनि एयरलाइन्सको विकल्प थिएन। काठमाडौँबाट जुम्ला आउने टिकट पाउन पनि कठिन नै मानिन्थ्यो काठमाडौँमा। त्यस दिन काठमाडौँको मौसम पनि खासै राम्रो नभएको भन्ने कुरा त्यहाँबाट जुम्ला आउने यात्रुहरूले फोनबाट आफ्ना आफन्तलाई बताइरहेका थिए।
संयोग नै भन्नु पर्छ त्यस दिनको फ्लाइटको यात्रुहरूमा जुम्लाका प्रतिष्ठित व्यक्तित्वका साथै जुम्लाका सुरक्षा निकायका प्रमुख लगायत विभिन्न महत्वपूर्ण कार्यालयका कार्यालय प्रमुखहरूको यात्रा थियो। त्यसैले त्यो फ्लाइट एक प्रकारको भिआइपी नै थियो। महत्वपूर्ण यात्रुहरू भएकाले नेपाल एयरलाइन्सले उडानलाई रद्द नगरी प्राथमिकता दियो।
करिब दिउँसो १ बजे काठमाडौँबाट प्लेन उड्यो। प्लेन थियो नेपाल एयरलाइन्सको ट्विनअटर विमान 9N-ABB कल साइनको र क्याप्टेन थिए शंकर श्रेष्ठ।
त्यस दिन काठमाडौँबाट आ-आफ्ना आफन्त आउने खुसियालीमा र खुसी साट्ने प्रतीक्षामा थिए जुम्ला विमानस्थलमा रहेका आफन्तहरू र विभिन्न कार्यालयका कर्मचारीहरूका साथै जुम्लाबाट काठमाडौँ जाने यात्रुहरूले गर्दा जुम्ला विमानस्थलमा ठुलो भीड थियो। जुम्लाबाट काठमाडौँ जाने यात्रुहरूको पनि नेपाल एयरलाइन्सको जुम्ला स्टेशन काउन्टर जाँच सुरु गर्यो। सबै खुसी थिए। जहाजले फ्युल भर्न पोखरा विमानस्थलमा अवतरण गरेको पनि थाहा भयो। पोखरामा मौसम झनै बिग्रेको पनि सम्बन्धित यात्रुले जुम्लामा रहेका आ-आफ्ना परिवार र आ-आफ्ना कार्यालयका कर्मचारीलाई जानकारी दिइरहेका थिए।
पोखरामा मौसम राम्रो नभएकोले सो दिन पोखरामा नै बस्ने मनसाय क्याप्टेन शंकर श्रेष्ठले गरेका थिए रे। तर महत्वपूर्ण व्यक्तिहरूको उडान भएकोले त्यसो गर्न क्याप्टेनले चाहेनन् र यात्रुहरूले पनि मानेनन्।
केही समयपछि पोखराबाट पनि जुम्लाको लागि सो विमान उड्यो। यी सबै पलपलको जानकारी जुम्लामा रहेका आफन्तहरू र सम्बन्धित यात्रुहरूको सम्पर्क भई नै रहेको थियो। यतिखेर दिनको करिब साढे दुई बजिसकेको थियो।
तर दुर्भाग्य, जहाज उडेको ६ मिनेटपछि उक्त जहाजको नेपालमा रहेका कुनै पनि हवाई टावरसँग सम्पर्क नभएको जानकारी यत्रतत्र फैलियो। सबैको मनमा चिसो पस्यो। त्यसपछि जहाज हराएको समाचार सबै ठाउँ फैलियो। अब भने सम्हालिने ठाउँ रहेन।
त्यसपछि जुम्ला एयरपोर्टमा सन्नाटा छायो। एकैछिन अघि मात्र आफन्तको स्वागत गर्ने प्रतीक्षामा बसेका आफन्तहरूको चिच्याहट सुरु भयो। देश तथा विदेशमा समेत सन्नाटा छायो। तुरुन्त हवाईमार्फत खोजी कार्य सुरु भयो तर कहिँकतै पत्तो लागेन। त्यति खेरसम्म मौसम पुरै बिग्रिसकेको थियो। पानी परिरहेको, हावा र हुरीले जुम्ला आउने पूरा हवाई रुट पोखरा-स्याङ्जा-गुल्मी-पाल्पा-रुपन्देही-अर्घाखाँची-प्युठान-दाङ सम्म पानी परेको थाहा भयो। अब भने आशा मान्ने ठाउँ नै रहेन।
भोलिपल्ट दिउँसोसम्म जहाज कहाँ गयो? कता खस्यो? अथवा कतै संकटकालीन अवतरण गरेको छ कि? केही अत्तोपत्तो थाहा भएन। अचम्म नै मान्नु पर्छ, केही प्यासेन्जरको एनसेलको सिम भएका यात्रुको मोबाइल फोन लागिरहेको थियो।
दुःखद खबर संचार माध्यममा थाहा भयो, अर्घाखाँचीको मसिने डाँडामा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटियो। अब भने सबैतिर कोलाहल, सन्नाटा, चिच्याहट अनि भक्कानिएका मनहरू, गहभरि आँसु र मुटुभरि माया बाहेक अब के नै बाँकी रह्यो र।
को-को थिए ज्यान गुमाउने यात्रुहरू?
नेपाली कांग्रेस जुम्ला जिल्ला पार्टी सभापति, युवा नेता, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट विज्ञान तथा प्रविधि संकाय अन्तर्गत वनस्पति विज्ञानमा कर्णाली अञ्चलबाट पहिलो स्नातकोत्तर गर्ने युवा नेता मानव सेजुवाल (जुम्ला), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रमुख सर्जन डा. विकल्प ढकाल (काठमाडौँ), कृषि विकास बैंक जुम्लाका प्रबन्धक राजेन्द्रप्रसाद देवकोटा (जुम्ला), जिल्ला हुलाक कार्यालय जुम्लाका प्रमुख उमा श्रेष्ठ (जुम्ला), नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य गौरी कठायत (जुम्ला), शिक्षक टेकबहादुर महतारा र उनकी धर्मपत्नी शिक्षिका नन्दा महतारा (जुम्ला), शिक्षक कृष्णनाथ योगी (जुम्ला), शिक्षक राजेन्द्र चौलागाईँ (जुम्ला), स्टाफ नर्स वर्षा हमाल र निजको सानो छोरा एकेश हमाल (जुम्ला), नेपाली सेना चन्दननाथ गण जुम्लाका क्याप्टेन (काठमाडौँ), हुम्ला घर भई जुम्ला मामाघरमा आइरहेका एमबिबिएस अध्ययनरत विद्यार्थी दीपेश शाही (हुम्ला), क्याप्टेन शंकर श्रेष्ठ (काठमाडौँ) सहित चालक दलका ३ जना गरी जम्मा १८ जनाको दुःखद निधन भयो। कोही जन्मथलो र कोही कर्मथलो आउन लागेका ती सबै बाटोमा नै अस्ताए।
सोही दिन दुर्घटना बारे छानबिन समिति गठन भयो। ३ महिनापछि रिपोर्ट पनि आयो— ‘लामो रुट र खराब मौसमको कारणले दुर्घटना’ भएको भन्ने पुष्टि भयो।
उक्त दुर्घटनापछि काठमाडौँ-जुम्ला-काठमाडौँ हवाई सेवा बन्द गरियो। आजसम्म पनि बन्द छ।
हाल उक्त जहाजमा ज्यान गुमाएका सर्जन डाक्टर विकल्प ढकालको सम्झनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको शैक्षिक भवनलाई ‘डा. विकल्प स्मृति भवन’ नामाकरण गरिएको छ भने उक्त घटनामा ज्यान गुमाएका नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति युवा नेता मानव सेजुवालको सम्झनामा चन्दननाथ नगरपालिका-२ मा निजको शालिक निर्माण गरिएको छ। नेपाल वायुसेवा निगमको उक्त दुर्घटनाग्रस्त ट्विनअटर विमानको डेमो बिपी कोइराला संग्रहालय सुन्दरीजल काठमाडौँमा राखिएको छ।
उपरोक्त सबै अनुहारहरू मेरा लागि चिरपरिचित साथीहरू र नजिकका आफन्त थिए। त्यसमा पनि कृषि विकास बैंक जुम्लाका म्यानेजर राजेन्द्रप्रसाद देवकोटा मेरा नजिकका नाताले भतिजा पर्दथे। उनीसँग सो घटना हुनुभन्दा एक हप्ता अगाडि मात्र काठमाडौँमा भेट भई हामी छुट्टिएका थियौँ। त्यो नै अन्तिम भेटघाट हुन गयो।
मैले यो लेख लेखी मेटिएको र बिर्सिएको घाउलाई कोट्याउन खोजेको होइन। प्रत्येक वर्ष आउने फागुन ४ गतेको पुण्य तिथि र मिति पर्ने भएकोले उपरोक्त ज्यान गुमाउनेहरू सबैको सम्झनामा हार्दिक श्रद्धाञ्जली स्वरूप यो लेख प्रकाशन गरेको हुँ। सबै दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धासुमन।