प्रायः म स्याङ्जा-बुटवल आवतजावत धेरै गर्ने गर्छु। केही वर्ष अघिसम्म यो बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरूको चहलपहल देखिन्थ्यो। तर अचेल स्थिति फरक छ। सिद्धार्थ राजमार्गमा गुड्ने गाडीहरूमा भारतीय नम्बर प्लेटका गाडीहरूको उपस्थिति यति बाक्लो भइसकेको छ कि कहिलेकाहीँ लाग्छ, म नेपालमा होइन, कुनै सीमावर्ती भारतीय सडकमा यात्रा गरिरहेको छु।
ती गाडीहरू देख्दा एउटा रोचक अनुभूति हुन्छ, एकातिर देशमा तेस्रो मुलुकका पर्यटक घट्दै गइरहेका छन्, अर्कोतिर भारतबाट आउने पर्यटकको आगमन बढ्दो छ। यो अवस्थालाई सकारात्मक रूपमा लिन सकिन्छ। किनकि सीमा खुला छ, धार्मिक र सांस्कृतिक सम्बन्ध पुराना छन् अनि भारतबाट आउने पर्यटकले नेपालको साना सहरदेखि हरेक व्यापारिक केन्द्रलाई चलायमान बनाइरहेका छन्।
केही दिनअघि भारतमै जन्मेका र हुर्केका मेरा एक आफन्त दाइ पोखरा घुम्न निस्कनु भएको थियो। फर्किएर भन्दै हुनुहुन्थ्यो- ‘बुटवल कटेपछि त लाग्यो, मानौँ म उत्तराखण्डको कुनै पहाडमा हिँड्दै छु। पोखरा पुगेपछि नैनीताल आएको अनुभव भयो यार! जता ततै भारतीय नम्बरका गाडी, जता हेर्यो त्यतै भारतीय व्यक्ति, होटेलवाला समेत हिन्दीमै कुरा गर्ने, म त अलमलिएँ!’
केही वर्ष अघिसम्म पोखरा खैरेहरूको सहर भनेर चिनिन्थ्यो। त्यति बेला नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठुलो हिस्सा ओगटेको थियो। तर अहिले देशको अस्थिर राजनीतिक अवस्था, कमजोर प्रशासन र वैदेशिक प्रतिस्पर्धाका कारण पश्चिमी पर्यटकहरू हराउँदै गएका छन्। पोखराका होटेल व्यवसाय अहिले भारतीय पर्यटकले नै चलाइदिएका छन् भन्दा पनि अन्यथा हुँदैन। तर हामी उनीहरूलाई लोभ्याउने योजना बनाउनभन्दा पनि तुच्छ दृष्टिले हेर्छौँ।
समस्या हाम्रो दृष्टिकोणमा छ। हामीले भारतबाट आउने पर्यटक वा ती गाडीका यात्रुहरूलाई हेर्ने नजर अझै तल्लो स्तरमै अड्किएको छ। सडक छेउका चोकमा बोलेको सुनिन्छ- ‘यी त यहाँ दिसा-पिसाब गर्न मात्रै आउने हुन्, सबै सामान त उतैबाट ल्याउँछन्।’
हो, उनीहरूले केही सामान आफ्नै देशबाट ल्याउलान् तर नेपाल आइपुगेपछि यहाँको होटेल-लज, पसल, पेट्रोल पम्प, चिया-नास्ता सबै प्रयोग गर्छन्। उनीहरूकै कारण सीमावर्ती सहरहरूमा दर्जनौँ व्यवसाय चलायमान छन्।
पर्यटक भनेको केवल फोटो खिच्ने व्यक्ति होइनन्। उनीहरू जहाँ पुग्छन्, त्यहाँको स्थानीय अर्थतन्त्रमा सानो भए पनि केही टेवा पुर्याउँछन्। बुटवल, भैरहवा यी सहरहरूमा भारतीय पर्यटकहरू आउने क्रमले व्यवसायलाई केही सास दिएको छ। तर हामी उनीहरूलाई पर्यटक होइन, घुसपैठिया झैँ व्यवहार गर्छौँ।
यसभन्दा दुखद त ट्राफिक प्रशासनको व्यवहार हो। सिद्धार्थ राजमार्गका हरेक मोडमा भारतीय नम्बर प्लेटका गाडीहरूलाई रोक्ने, कागजपत्र चेक गर्ने, स-साना कारण देखाएर झन्झट दिने प्रवृत्ति बढ्दो छ। यात्राको मज्जा लिन आएका ती पर्यटकलाई बारम्बार यस्तो व्यवहार सहनु परेपछि उनीहरू फेरि कसैलाई नेपाल घुम्न सल्लाह कसरी सल्लाह दिन्छन्?
केही समयअघि म भारतीय नम्बरको गाडी रिजर्भ गरेर उत्तरप्रदेशको चार दिने यात्रा गरेको थिएँ। यात्राभरि कहिल्यै भारतको ट्राफिक प्रहरीले रोक्ने, कागजपत्र हेर्ने वा अनावश्यक सोधपुछ गर्ने झन्झट गरेन। तर नेपालमा भने कथा उल्टो छ। यहाँ केवल भारतीय नम्बरका गाडीहरू मात्रै होइन, नेपाली नम्बरकै गाडीमा यात्रा गर्दा पनि हरेक मोड र चोकमा रोकिँदै झन्झट बेहोर्नुपर्छ।
केही समयअघि खप्तड यात्राका क्रममा त झन् हरेक प्रहरी चौकीमा रोकेर कागजपत्र जाँच्ने, कति जना कहाँबाट कहाँ हिँडेको जस्ता प्रश्न सोधेर केरकार गर्ने जस्ता प्रवृत्ति देख्दा उदेक लाग्यो। यात्राको आनन्दभन्दा बढी तनाव र असहजता साथमा बोक्नुपर्यो। यस्तो व्यवहारले पर्यटक मात्र होइन, आफ्नै नागरिकलाई पनि यात्राप्रति निरुत्साहित बनाइरहेको छ।
देशले पर्यटक बोलाउने नीति बनाउँछ तर सडकमा उनीहरूलाई रोक्ने नियम हाम्रो व्यवहारले सिर्जना गर्छ। यसरी पर्यटकलाई तर्साएर हामीले के जित्यौँ? पर्यटक घट्ने, होटेल रित्तिने, व्यवसाय सुस्ताउने, अन्ततः घाटा हामीलाई नै हुन्छ।
हामी नेपालीहरू प्रायः भावनामा बाँच्ने जात हौँ। राष्ट्रवाद भन्ने शब्द हामीले चाँडै मुखमा ल्याउँछौँ तर राष्ट्र निर्माणका व्यवहारिक कुरा बिर्सन्छौँ। विदेशी लगानीको कुरा उठ्दा देश बेच्न लागे भनिन्छ, भारतीय पर्यटकको कुरा आउँदा भारतीय एजेन्ट भन्ने तर्क सुनिन्छ। तर जब पर्यटन घट्छ, लगानी बन्द हुन्छ, रोजगार गुम्छ, दोष चाहिँ सरकारलाई लगाइन्छ।
वास्तवमा, अहिले नेपाललाई चाहिएको कुरा खुला सोच र सकारात्मक व्यवहार हो। भारतबाट आउने पर्यटकले चाहे दुई दिन बसुन्, चाहे दुई हप्ता, उनीहरूलाई सहज, सम्मानजनक र आत्मीय व्यवहार मिल्नुपर्छ। त्यो हाम्रो आर्थिक हितमा पनि छ, सांस्कृतिक सम्बन्ध बलियो पार्ने बाटो पनि यही हो।
सिद्धार्थ राजमार्गमा गुड्ने ती भारतीय नम्बरका गाडीहरूले केवल यात्रु होइन, सम्भावनाको संकेत पनि बोकेका छन्। ती गाडीहरू भई बुटवलमा रोकिँदा, स्याङ्जाको चिया पसलमा नास्ता गर्दा र पोखराको होटेलमा रात बिताउँदा साना व्यवसायीहरूको घरमा चुलो बल्छ। तर यदि हामीले उनीहरूलाई तल्लो दृष्टिले हेर्छौँ, प्रशासनले अनावश्यक दुःख दिन्छ।
हाम्रो देश सुन्दर छ, मानिस विनम्र छौँ, संस्कृतिले पनि पाहुनालाई अतिथि देवो भवः भनेर सत्कार गर्न सिकाएको छ। त्यसैले अब दृष्टिकोण बदलौँ, भारतीय पर्यटकहरूलाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा हेरौँ। किनभने जबसम्म हामीले विदेशी आयो भने सावधान भन्ने मानसिकता त्यागेर पर्यटक आयो, स्वागत छ भन्न सिक्दैनौँ, तबसम्म नेपालको पर्यटनको स्थिति अझै बिग्रँदै जानेछ।