पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरू जो कोहीले पनि दाउन्ने खण्डको सडकको जाम सम्झिएर लामो सास फेर्ने दिन अब बिस्तारै हराउने भएको छ।
उक्त सडक खण्ड स्तरोन्नति गरी तीन लेनको सडक निर्माण अन्तिम चरणमा पुगिरहेको छ। उक्त सडक खण्डमा जब सरर गाडीहरू जाम नलागी कुद्न थाल्ने छन्। तब नेपाल घुम्न आएका तेस्रो देशका मात्रै होइन बहुसंख्यक भारतीयहरू पनि लुम्बिनीबाट सिधै सौराहा र पोखराको यात्रा तय गर्नेछन्।
हो, दाउन्ने खण्डको सडक निर्माण पूरा भएपछि समृद्धिको द्योतकको रूपमा रहेको पर्यटन बजार फेरि सलबलाउने छ। जेनजी आन्दोलनको क्रममा भएको खरानीमाथि टेकेर फेरि पर्यटन बजार चलायमान हुनेछ।
यतिबेला नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ।
उक्त सडकखण्डको ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडक खण्डको लागत कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ।
एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ। उक्त निर्माण कार्य छिट्टै पूरा हुँदैछ। यतिबेला दाउन्नेमा जाम लाग्ने समय घटेको छ।
स्थलमार्ग हुँदै बेलहिया नाकाबाट होस् वा हवाई मार्ग हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकहरूलाई सौराहा हुँदै पोखरा घुमाएर पुनः भैरहवा ल्याउने गरी प्याकेजहरू अब तयारी गर्नुपर्छ। ट्राभल्सहरूले तत्काल नयाँ नयाँ प्याकेज बनाइहाल्नुपर्छ। तिहार–छठ लगत्तै पारिवारिक भ्रमणमा जान चाहनेहरूलाई त्यो गोल्डेन अवसर हुनेछ।
यो हिउँदमा हामीले बहुसंख्यक भारतीयहरूलाई नेपालमा मात्रै देखिने दुर्लभ एक सिंगे गैडा हेर्न चितवनको सौराहा लैजान सक्छौँ। त्यसपछि माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्णको सेताम्मे दन्त लहर नियाल्न पोखरा पुर्याउन सक्छौँ। अनि उत्तरगंगामा स्नान गर्दै शालिग्रामलाई साथ लगाएर आफ्नो गन्तव्यतर्फ पठाउन सक्छौं। ताकि हरेक दिन उठेर उनीहरूले नेपाल सम्झिएर शालिग्रामलाई पूजा गर्नेछन्।
गोल्डेन ट्रयांगलको अभ्यास यसअघि पनि भइसकेको छ। काठमाडौं–चितवन–पोखरालाई जोडेर गोल्डेन ट्रयांगल घोषणा गरिसकेको हुँदा हामी लुम्बिनी–चितवन–पोखरालाई जोडेर नेपालको रहस्यमयी त्रिकोण अर्थात् मिस्टिक ट्रयांगल बनाउन सक्दछौं। यसले तीन प्रदेशलाई एकाकर हुन मद्दत गर्दछ।
लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई एकैसाथ जोडेर मिस्टिक ट्रयांगल बनाउँदा हामीले धेरै प्रकारका उपलब्धि हासिल गर्न सक्दछौँ।
पहिलो उपलब्धि यी तीन प्रदेशको पर्यटन नीतिमा साझेदारी गर्न गराउन सकिन्छ। जसले संघीय सरकारको पर्यटन नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन भूमिका खेल्दछ। दोस्रो उपलब्धि तीनै प्रदेशका सरकार प्रमुख, पर्यटन मन्त्रालय र सरोकारवालाबीच सहकार्य बढ्नेछ। तेस्रो उपलब्धि पर्यटकहरूलाई एकैसाथ तीन प्रदेशका महत्वपूर्ण गन्तव्य घुम्न सहज हुनेछ।
पर्यटन व्यापार एक्लै गरेर पार लाग्ने व्यापार होइन। यसमा सबै पक्षको सक्रिय सहयोग र सहभागिता जरूरी हुन्छ। यतिबेला सौराहाका पर्यटन व्यवसायी, पोखराका पर्यटन व्यवसायी, भैरहवा–लुम्बिनीका पर्यटन व्यवसायीले अलग अलग देश विदेशमा प्रचारात्मक कार्य गरिरहेका छन्।
उक्त कार्यको लागि सरकारी र निजी क्षेत्रको लाखौं खर्च भएको छ। तर त्यो त्यति धेरै प्रभावकारी हुन सकिरहेको छैन। त्यसले भेगीय प्रचारमा मात्रै जोड दिइरहेको छ।
पर्यटकको बसाइँ लम्बाउन र संख्यात्मक सँगसँगै गुणात्मक पर्यटन बजार वृद्धि गर्न लुम्बिनी, सौराहा र पोखराका पर्यटन व्यवसायी सहकार्य गरी एकीकृत पर्यटन कार्यक्रम बनाउनु पर्दछ। ‘चलिए पोखरा’ भन्ने अभियान लिएर पोखराका होटल व्यवसायी दशकौंदेखि भारतका विभिन्न सहरमा प्रचार गर्ने गरेका छन्। यसैगरी 'जाऊ है पोखरा अभियान' पनि उनीहरूले देशभित्र चलाइरहेका छन्।
सोही अभियानसँगै पोखरेलीहरूले विकल तुलाचन होटल संघको अध्यक्ष भइरहँदा २०७५ सालमा सिल्भर ट्रयाङ्गलको प्रस्ताव समेत अगाडि सारेका थिए। लुम्बिनी, पोखरा र चितवनलाई जोडेर सिल्भर ट्रयाङ्गल बनाउनुपर्ने उनीहरूको प्रस्ताव थियो तर त्यो कार्यान्वयनमा आउन सकेन।
उता ‘घुमौँ सौराहा’ भन्ने नारा लिएर यस वर्ष सौराहाका होटल व्यवसायी देशदौडाहा कार्यक्रम चलाइरहेका छन्।
भैरहवा लुम्बिनीका पर्यटन व्यवसायीले भिजिट लुम्बिनी नारा लिएर तेस्रो देश केन्द्रित कार्यक्रम गरिरहेका छन्।
सरकारले घोषणा गरे अनुसार देशमा भिजिट एअर २०२५ चलिरहेको छ। निजी क्षेत्रले कार्यक्रम गरिरहेका छन्। तर सरकार अलमलमा छ। नेपाल पर्यटन बोर्ड र प्रदेश स्तरीय पर्यटन परिषदहरूले पनि प्रवर्द्धनको लागि सहयोग गरेकै छन् तर एकीकृत कार्यक्रम नहुँदा दीर्घकालीन उपलब्धि हासिल हुन सकिरहेको छैन।
यसैले तीनै प्रदेशका पर्यटन परिषद, तीनै प्रदेशका पर्यटन मन्त्रालय, सौराहा, पोखरा र लुम्बिनीका पर्यटन व्यवासीहरूलाई एकीकृत गरी मिस्टिक ट्रयाङ्गल (लुम्बिनी–सौराहा–पोखरा) बनाइ अगाडि बढेमा जेनजी आन्दोलन पश्चात सुस्ताएको पर्यटन क्षेत्रमा केही सुधार हुने देखिन्छ।
गत साउन १२ गते तत्कालीन सरकारले जारी गरेको पर्यटन नीति- २०८२ दिगो र प्रविधिमैत्री पर्यटनको विकासमा ध्यान केन्द्रित गर्दै, निजी क्षेत्रको सहभागिता र सहकार्यलाई प्रोत्साहित गर्दै अगाडि बढ्ने उल्लेख गरेको छ।
वर्तमान सरकारले पर्यटन मन्त्रालय हेर्ने विभागीय मन्त्री नियुक्त नगरेता पनि समयको मागलाई मध्यनजर गर्दै पुरानै नीतिलाई कार्यान्वयन गर्दै मिस्टिक ट्रयाङ्गललाई बढावा दिएमा फलदायी हुने देखिन्छ।
यातायातको सहज पहुँच, स्थानको विशेष महत्व र सबै किसिमका सुविधा जस्ता पर्यटनका आधारभूत तत्वहरूले परिपूर्ण मिस्टिक ट्रयाङ्गल (लुम्बिनी–सौराहा–पोखरा) को प्रवर्द्धनमा वर्तमान सरकार लाग्नुपर्दछ। जेनजी पुस्ता जसले भ्रष्टाचार र नातावादको विरूद्ध आन्दोलन गर्दा सरकारको तख्ता नै पल्टाइदिए। त्यही आन्दोलनको क्रममा तहसनहस भएको पर्यटन क्षेत्रको पुनरूत्थान गर्नु आजको सरकारको विशेष जिम्मेवारी पनि छ। जेनजी उमेर समूहका युवाहरूलाई पर्यटन क्षेत्रको प्रवर्द्धनमा खटाउनु पर्दछ। नेपाल सुरक्षित छ भनेर संसारभरी प्रचार गरिनुपर्दछ। जेनजी आन्दोलनका कारण सुरक्षाको कारण देखाउँदै आगामी डिसेम्बर सम्मका सबै बुकिङ यतिबेला रद्द भएका छन्। नेपाल सुरक्षित छ भनेर नयाँ अभियान पर्यटन बजारमा चलाउनु जरूरी छ।
दुई हप्ता अगाडि लुम्बिनी प्रेस क्लबको टिम लुम्बिनी र सौराहाको मितेरी सम्बन्धलाई थप बलियो बनाउने गरी चितवन पुग्दा त्यहाँका पर्यटन व्यवसायीको आत्मविश्वास नटुटेको देख्दा उत्साहित बनायो। जेनजी आन्दोलनको क्रममा नेपालमै सबभन्दा धेरै भौतिक क्षति भएको जिल्लाहरूमा तेस्रो नम्बरमा परेको चितवनका पर्यटन व्यवसायीहरू खरानीबाट उठेर भए पनि पर्यटन प्रवर्द्धनमा कटिबद्ध रूपमा लाग्ने प्रण गरेका छन्।
पर्यटन व्यवसायीहरू ओम पाण्डे, सुमन घिमिरे, महेश खनाल, बासुदेव ढुङ्गानाहरूको सक्रियताले चितवनलाई पुनःपर्यटन बजारमा स्थापित गर्दैछ। त्यहाँका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षाको जिम्मा लिँदै भदौ २३ भन्दा अगाडिको जस्तै हरेक स्वदेशी तथा विदेशी पर्यटकलाई ढुक्क भएर सौराहा भ्रमण गर्न गरेको सार्वजनिक अपीलले पर्यटन बजारमा विश्वास बढाएको छ।
दुई दिने भ्रमणका क्रममा हामी २३ जना पत्रकारहरूले एउटै निष्कर्ष निकाल्यौं कि, –सौराहाले जेनजी आन्दोलन पश्चात पनि आफूलाई पुरानै लयमा फर्काउने प्रयास थालेको छ।
सौराहाको यो प्रयासलाई पोखरा र लुम्बिनीले पनि अनुकरण गर्न जरूरी छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकाराज पाण्डेले पनि सीमा क्षेत्रमै पुगेर पर्यटकलाई स्वागत गर्ने र ढुक्क भएर नेपाल भ्रमण गर्न गरेको आग्रह पनि उल्लेखनीय रहेको छ।
यतिबेला हामी पर्यटन दशकको यात्रामा छौँ। पर्यटन प्रवर्द्धनका लागि सन् २०२३—२०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा भएको थियो। विदेशी पर्यटकको नेपालमा बसाइँ लम्बाइप्रति पर्यटक प्रतिदिन १२५ अमेरिकी डलर खर्च गराउने लक्ष्य सहित सरकार अगाडि बढेको छ। यो लक्ष्य पूरा गर्न पनि अब सरकार र निजी क्षेत्र एक अर्कामा सहकार्य गर्न जरूरी छ। प्राकृतिक सुन्दरता, अनुपम संस्कृति तथा साहसिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रूपमा रहेको मिस्टिक ट्रयाङ्गललाई सरकारले पर्यटनको मूल कार्यक्रममा समेट्नु पर्दछ।
स्थलमार्ग हुँदै बेलहियाबाट प्रवेश गर्ने होऊन् वा जहाजमार्फत् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने पर्यटकहरू तिनीहरूको पहिलो दिनको बसाइँ लुम्बिनी हुन सक्छ।
साँझ लुम्बिनीमा दियो बाल्दै मायादेवी मन्दिर अगाडि ध्यान गरी मिस्टिक ट्रयाङ्गलको मानचित्र स्मृतिपटलमा तयार गर्न केही घन्टाको ध्यानले मद्धत पुर्याउनेछ। त्यसपछि मिनी बुद्धिस्ट वर्ल्डको रूपमा रहेको लुम्बिनीमा निर्माण भएका आकर्षक गुम्बा र बिहारको अवलोकनपश्चात उत्तरको ७ किलोमिटर दूरीमा रहेको गैडहवा तालको अवलोकन पश्चात छपियाँको माछा गाउँमा खाना खाई भैरहवा फर्किन सक्छन्।
रातको समयमा भैरहवा–बुटवलका क्यासिनो, क्लब र रात्रिकालिन बजारको आनन्द लिई फाइभ स्टारदेखि पर्यटनमैत्री होटलसम्म रोजेर बास बस्न सक्छन्।
अर्को दिन बिहानै परासीमा मट्का चिया पिउँदै दाउन्नेमा ताजा खाजा खाइ गैंडाकोट पुगेर बिहानको खाना खान सक्दछ। त्यसपछि नारायणी नदीको अवलोकन गर्दै देवघाट पुगेर जीवनको अन्तिम क्षण नियालेर वैराग्य जीवन र संन्यास जीवनको अवलोकन गरी त्यहाँबाट फर्केर सौराहा पुगेर साँझ सम्म राप्तीको किनारामा सुस्ताउन सकिन्छ।
सौराहामा जंगलभित्र हराइरहेका होटलहरूमा बस्नुको मज्जा नै बेग्लै छ। त्यहाँको रात्रिकालिन बजार अनि थारू संस्कृतिको प्रदर्शन जति हेरे पनि आँखा थाक्दैन। त्यसपछि अर्कोदिन जंगल सफारी, हात्ती सफारी गरी एक सिंगै गैंडा हेर्नुको आनन्द वर्णन गरी साध्य छैन।
घनाघोर जंगलमा बेलाबेलामा देखिने जोडी मयूरको नाच, हुलका हुल मृग र जरायोको दौड अनि आक्कल झुक्कल देखिने बाघ र हात्तीको बथान क्यामेरामा कैद गर्दैमा फुर्सद हुँदैन पर्यटकलाई।
राप्ती नदीको किनारामा देखिने गोही मात्रै होइन, गोही प्रजनन केन्द्रमा गोहीका बच्चाहरूको चहलपहल अनि विक्रम बाबाको दर्शनपछि नदी उकास क्षेत्रमा बनाइएको नमूना स्टोन पार्क र त्यही पार्क नजिकै रहेको बोटे गाउँ पनि गज्जबको छ।
मेघौली, कसरा र टाँडीका सुन्दर पर्यटकीय गन्तव्य अवलोकन पश्चात अर्को दिन पोखरातर्फ लाग्न सकिन्छ।
जंगली जनावर हेरेर नथाकेका आखाँहरूले जब पोखराको खाल्डोबाट सेताम्मे हिमालहरू देख्न थाल्छन्, त्यसपछि आँखाहरू झनै टाठिन पुग्छन्। संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये पोखराबाट धौलागिरि, अन्नपूर्ण र मनास्लु नाङ्गा आँखाले देख्न सकिन्छ। ८ हजार मिटरभन्दा अग्ला यी तीन हिमाल एकैसाथ संसारको अर्को कुनै पनि ठाउँबाट देखिँदैन। यी हिमाल बाहेक दर्जनौंको संख्यामा देखिने हिमटाकुरा र तीनको फेवा तालमा देखिने छाया जति हेरे पनि आँखा थाक्दैनन्। मन भरिँदैन।
दिनभरको उज्यालो मात्रै होइन, रातिको जुनेलि रातमा समेत पोखराबाट देखिने हिमश्रृंखलाको शब्दमा वर्णन गरेर संसारका कुनै पनि आख्यानकारले जति लेखे पनि लेख्न सक्दैन। लेकसाइडको रात्रिकालीन पर्यटनमैत्री तामझमपछि रोजाइका होटलमा बास बस्न सकिन्छ।
अर्को दिन बिहानै स्याङ्जाका पहाडी टाकुरा छिचोल्दै, डरलाग्दा घुम्तीहरूमा ठोक्किँदै नेपालकै पहिलो होमस्टे सिरूवारी जान सकिन्छ। रातभर सिरूवारीमा साँस्कृतिक नाच र दोहोरीमा झुमेपछि आधिखोलाको माछाको झोल भात खाएर अर्को दिन बिहानै रिडीमा स्नान गर्न आउन सकिन्छ।
संसारमै कहीँ पनि नपाइने शालिग्राम पाइने गंगामा स्नान गरेर शालिग्राम साथमा लिएर रानिमहलमा बसेर पाल्पाको चुकौनीको स्वाद लिँदै एकछिन सुस्ताएपछि तानसेन आएर आराम गर्न सकिन्छ।
साँस्कृतिक र प्राकृतिक सहर तानसेनको मनोरम दृश्यको अवलोकन गर्दै अर्को दिन नारायण स्थानको टुँडाल, भैरव स्थान भ्रमण पश्चात भतृहरीले तपस्या गरेको सिद्धबाबाधाम पुग्न सकिन्छ। त्यसपछि बुटवल झरेर नुवाकोट अथवा बसन्तपुर केबलकार पुगी खस्यौली र बुटवल बजारको एकैसाथ अवलोकन गर्न सकिन्छ। त्यसपछि जहाजबाट जाने पर्यटक गौतमबुद्ध विमानस्थलतर्फ त सवारी साधनबाट जाने पर्यटक बेलहियातर्फ जान सक्छन्।
यसरी मिस्टिक ट्रयाङ्गल (लुम्बिनी–सौराहा–पोखरा) को भ्रमणमा विगतमा अवरोध बनेको दाउन्ने सडकको जाम घट्दै जानु, पर्यटन व्यवसायीहरूबीच एकता बढ्दै जानु र सरोकारवाला निकायहरूबीच सहकार्य हुनुले सकारात्मक सन्देश प्रवाह गरेको छ।
आशा र भरोसाको पर्यटन बजारलाई चलायमान बनाउन सबैको ध्यान अब मिस्टिक ट्रयाङ्गल (लुम्बिनी–सौराहा–पोखरा) जानु पर्दछ। तिहार, छठपछि पारिवारि भ्रमणमा जाने होऊन् वा अन्य छोटो दूरीको सस्तो प्याकेजको भ्रमण साँच्चिकै मिस्टिक ट्रयाङ्गल बाहेक अरू हुनै सक्दैन। बिदाको समयलाई स्वदेशी पर्यटकले पनि सस्तो र महत्वपूर्ण यो ट्रिपलाई आफ्नो भ्रमणमा तालिकामा राख्नुपर्दछ।
बुद्ध (लुम्बिनी), बन (सौराहा) र हिमाल (पोखरा) को त्रिकोणात्मक सम्बन्धलाई प्रगाढ बनाउन पनि यो मिस्टिक ट्रयाङ्गल फलदायी हुनेछ ।
(लेखक के.सी.लुम्बिनीमा बसेर पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार हुन्।)