दसैं सुरू भइसकेको छ। घटस्थापना भोलिपल्ट सफा र उज्यालो दिन छ। घमाइलो छ। बजारमा चहलपहल सुरू भएका छन्। सडकमा गाडीको चाप अरू दिनहरूभन्दा बढी छ।
तर मेरो मन भने अँध्यारो भएको छ। आँखा ओभाएका छैनन्। साह्रै नै दुखित छु।
जनजी पुस्ताको आन्दोलनमा अमानवीय तवरले नरसंहार हुँदा धेरै नेपालीलाई यस वर्षको दसैं विगत वर्षका जस्तो छैन, हुन पनि सक्दैन।
सत्तरी जनाभन्दा बढी नेपाली आमाका काख रित्तिएका छन्। धेरैको सिउँदो पुछिएका छन्। यो पुस्ताका सयौं व्यक्तिहरू अझै अस्पतालमै उपचाररत छन्। ती घरहरूमा यसपालिको दसैं खास हुने कुरै भएन।
देशका मुख्य मुख्य भौतिक संरचना ध्वस्त भए। ती संरचना त देशले पुनर्निर्माण होला तर ती रित्तिएका काख कहिले भरिने छैनन् र ती छोराछोरीले गुमाएका बाबा पाउने छैनन्।
आजको प्रसंग जेनजी आन्दोलनभन्दा केही फरक छ।
मैले मान्छे मर्छ भनेर पहिलो पटक मेरो हजुरआमा बित्दा थाहा पाएकी हुँ। त्यो त कहिल्यै नफर्किने गरी महाप्रस्थान जानु रहेछ। बाँच्नेले उहाँलाई बिर्सिनै नसक्ने, यादहरूले सताइरहने, उहाँ बिना कसरी बाँच्ने होला जस्ता सोचहरू आउने हुँदो रहेछ।
जबकी मेरो हजुरबुबा नेपालको औसत उमेरभन्दा झन्डै बीस–पच्चीस वर्ष बढी बाँचिसक्नुभएको थियो र पनि हामीलाई सहन धेरै गाह्रो थियो।
दीपु, तिमी त भर्खर बत्तीस–तेत्तीसमा थियौ, साह्रै नै छिटो गयौ।
तिमीलाई थाहा थियो, तिम्रो दादा बितेको भर्खर दुई वर्ष भएको भनेर। तिम्रा बाबाआमाका लागि तिमी बाहेक अरू सन्तान कोही थिएन।
त्यति मात्र होइन तिम्री ती कलिली श्रीमती र नाबालक छोरीका तिमी सहारा थियौ।
तर आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन न त्यो... तिमीले यही असोज ७ गते बिहानै यो संसार छोड्यौ।
मर्ने कसैलाई रहर हुँदैन भनेजस्तै यो रमाइलो संसार छाड्न मन त तिमीलाई पनि त थिएन होला। ती तिम्री अबोध छोरीलाई मर्नु भनेको के हो, बाबा कहाँ जानुभयो भन्ने बुझ्ने गरी त्यो बाल मस्तिष्क विकास भएकै छैन।
ठूलो छोरो बितेको दुई वर्ष पुग्दा नपुग्दै यस्तो बज्रपात पर्ला भनेर ती निर्दोष बुबाआमाले के कल्पना गर्नुभएको थियो होला र? कदापि पनि थिएन।
यो नहुनुपर्ने, भयो। दुई वर्षका बीचमा त्यस्ता कलिला छोरा गुमाउँदा ती बुबाआमाका मनमा के कस्तो भयो होला? उहाँहरूले के सोच्नु सक्नुभयो होला र?
दिउँसै अन्धकार भयो होला, छाती पिटीपिटी कति रूनु भयो होला?
सामान्य मानिसले त त्यस्तो पीडा कल्पनासम्म पनि गर्न सक्दैनन्।
सँगै भइदिएको भए पनि त 'आन्टी हामी छौं नरूनु न, उसको लेखान्त नै यति थियो होला, उसले यति नै उमेर लिएर आएको थियो होला भन्थ्यौं' होला।
सँगै रून्थ्यौं होला।
अंकल, त्यहाँको परिस्थति मनमा हुँदाहुँदै पनि भौगोलिक दुरीका कारण न ठूलो बाबु खस्दा आउन पायौं न अहिले नै। हामी पनि कति अभागी हौं, आफूभन्दा साना भाइहरू अगाडि लगालग गुमाउनुपर्ने।
ठूलो बाबु खस्दा कमसेकम दीपु छ, उसैको मुख हरेर बसौंला, ठूलाका त्यति राम्रा दुई छोरा छन्, उनीहरूकै अनुहारमा छोरो हेरौंला भनेर पनि केही हदसम्म चित्त बुझ्यो होला। तर दुवै आँखाका नानी यस संसारबाट बिदा लिँदै गर्दा कही चित्त बुझाउने ठाउँ छैन आन्टी।
आज मलाई नै यो पूरै पृथ्वी नै खसेर च्यापे जस्तो प्रत्येक सासमा गाह्रो भइरहेको छ।
हजुरआमाको मन झन् कस्तो भयो होला? यति बेचैन र छटपटी भएको छ नि मैले व्यक्त नै गर्न सक्दिनँ। काकालाई दसैंमा भेट्न जाने भनेर पर्खिरहेका ती अबोध बालकहरू (दिपुका दाइका छोराहरू) लाई कसरी सम्झाउने अब तिम्रा काकालाई अब तिमीहरूले कहिल्यै भेट्न पाउने छैनौ भनेर।
बाबा बितेको आलो घाउ काकालाई नै हेरेर चित्त बुझाएका ती कलिला मनहरू अब कसरी बित्लान्?
दुई वर्ष अगाडि मात्र सिउँदो पुछिएकी तिम्री भाउजू पनि त यस्ता माया गर्ने सासू, ससुरा र देवर हुनुहुन्छ, छोराहरूको लागि यस्ता मायालु काका हुनुहुन्छ भनेर श्रीमान बितेको पीडाबाट भर्खर 'कमब्याक' गर्दै थिइन्। उनको मन कसरी सम्हालियो होला?
बाबाले छोडेर गइसके पनि काका हुनुहुन्छ भनेर सम्झाउने गरेकी ती भाउजूले अब ती कलिला बाबुहरूलाई के भनेर सम्झाऊलिन्!
पाको उमेर भइसकेका सासू ससुरालाई के भनेर सम्झाउलिन्!
वर्षौंको प्रेम सम्बन्धपछि बिहे गरेको ४/५ वर्ष पनि नबित्दै सिउँदो पुछिएकी ती देउरानीलाई के भन्लिन्?
कति कहाली लाग्दो यो परिस्थिति? आफैलाई मार्न आउने शत्रुलाई पनि यस्तो नपरोस्!
प्रकृतिको नियम पनि कस्तो न सानो ठूलो भन्छ न त ढिलो चाँडो नै। आएपछि जानु नै पर्ने।
एक जना न्यूरोलोजिस्टले भनेको सुनेकी थिएँ, दिमाग हरेक कुरा सम्झिन होइन, बिर्सिनलाई हो।
हो रहेछ!
यस्ता पीडाहरू आलै जस्तो ताजा नै रहने भने त मान्छेले 'कमब्याक' नै गर्न सक्दैन नि! जे जस्तो परिस्थिति आइपरे पनि बाँच्नेले त जिन्दगी चलाउनै पर्छ। बिस्तारै सबै कुरा बिर्सिँदै जानुपर्छ।
सक्दो कोसिस गरेको हो दिपु तिमीलाई बचाउन। तिम्रो बुबा आमाले तिम्रो उपचारमा कुनै कसर बाँकी छोड्नुभएको छैन। तिम्रो स्वास्थ्यको अगाडि विज्ञानले नै हार खायो। अन्ततः हामी सबैलाई छोडेर तिमीले महाप्रस्थान गर्यौ।
तिम्री आमा 'नानी, भाइलाई त खरानी बनाएर आइयो नि!' भन्दै कति रूँदै हुनुन्छ। तिम्री ती प्यारी श्रीमती कुनामा बसेर सुँक्क सुँक्क गर्दैछिन्। ती निर्दोष तिम्रा बाबा शिरमा सेतो फेटा गुथेर फोन गर्नेहरू र भेट्न आउनेसँग बोल्दै हुनुहुन्छ। तिमीले यो सबै देख्न मिल्ने र फर्केर आउन मिल्ने भए तिमी एक सेकेण्ड पनि ढिलो नगरी फर्किने थियौ।
हात काँपिरहेका छन्, ओठ लर्बराएका छन्। आँखा ओभाएका छैनन्। आज सय पटक त तिम्रो फोटो खोलेर हेरेँ होला। जति पटक हेर्यो, त्यति नै पटक मन भक्कानियो।
रात छिप्पिसक्यो आँखा जोडिन मानेका छैनन्। हामीलाई त यस्तो भएको छ भने तिमीलाई जन्म दिने बुबाआमा र तिमीले असाध्यै माया गर्ने श्रीमतीको के हाल होला?
तिम्री ती गुडिया जस्तै छोरीको भर्खर विकास हुँदै गरेको बाल मस्तिष्कमा कस्तो असर पर्ला?
दुई वर्षका बीचमा लगालग दुई छोरालाई दागबत्ती दिँदा बाबाका हात कति काँपे होलान्? त्यो बुढ्यौलीमा आफ्ना सहारा ढल्दा उहाँले कसरी सहनुभयो होला? सबै कुरा अव्यक्त र अकल्पनीय छन्।
हार्दिक श्रद्धाञ्जली बाबु! अलबिदा दिपु!
***