पछिल्लो २० वर्षमा चिकित्साशास्त्रको विधार्थी र पूर्णकालिन चिकित्सकका रूपमा मेरो धेरै बिरामीसँग सम्पर्क भएको छ। विरामीहरू धेरै किसिमका भ्रम बोकेर चिकित्सककहाँ आउने गरेको मैले देखेको छु। यथार्थ बुझेर यस्ता भ्रमबाट मुक्त हुन सके बिरामीलाई सानो कुराले पनि धेरै फाइदा हुन्छ। मैले यस्ता ११ वटा भ्रमका बारेमा तल उल्लेख गरेको छु।
१. पारासिटामोल
दुखेमा पारासिटामोल खानुहोस्भन्दा धेरै विरामीहरू ‘पारासिटामोलले दुखाई कम गर्छ त? यो त ज्वरोको औषधि र टाउको दुःखेमा खाने औषधि होइन र?’ भनी प्रतिप्रश्न गर्छन्। जनमानसमा के छ भने पारासिटामोल ज्वरोको लागि र टाउको दुःखेमा खाने औषधि मात्र हो। तर वास्तविकता यो होइन।
हाम्रो शरिरमा ज्वरो Inflammatory Process र दुःखाई मुख्य रूपमा Inflammatory Process र Mechanical कारणवाट हुने गर्छ। ज्वरो कम गर्ने औषधिले दुःखाई पनि कम गर्न सक्छ यदि त्यो पारसिटामोल र एन.एस.ए.आई.डी. (जस्तै ब्रुफेन, निम्स) हो भने। यी औषधिहरूले काम गर्ने तरिका र यिनीहरुको Inflammation कम गर्ने क्षमता, दुःखाई कम गर्ने तरिका र काम गर्ने स्थान मात्रै फरक फरक छन्।
त्यसैले पारासिटामोलले पनि दुःखाई कम गर्छ। दुःखाई कम गर्नै औषधिले अल्पकालिन फाइदा दिए पनि दिर्घकालिन रूपमा हड्डीलाई कमजोरसमेत पार्न सक्छ साथै अन्य अंगहरूमा समेत असर गर्न सक्छन्। तसर्थ जथाभावी दुखाई कम गर्ने औषधि खानु हुँदैन।
२. भिटामिन
धेरै जसो मानिसले भिटामिनलाई तागतको औषधीको रूपमा लिने गरेका छन्। ‘डाक्टरसाहेव मलाई भिटामिन लेखिदिनुहोस् न, म अति कमजोर भएको छु’, यी भनाई धेरै विरामीको मुखबाट सुन्न पाइन्छ। वास्तवमा भिटामिन तागतको औषधि होइन। हामीले खाएका खानेकुराहरुको राम्रो पाचन, शोषण र काम गर्नै गन्तव्यस्थलमा पुर्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मद्दत गर्नै तत्वहरु हुन्। हामीले खाना नखाईकन भिटामिन मात्रै खायौँ भने त्यसले फाइदा भन्दा वेफाइदा बढी गर्छ।
तसर्थ आवश्यक भएको वेलामा मात्र भिटामिन लिने गर्नुपर्छ। भरसक हामीले नियमित खाने खानेकुराबाट नै शरीरलाई चाहिने भिटामिन सन्तुलित खाना खाएर लिन सकिन्छ।
३. मर्केको ठाँउमा तातोले सेक्ने र मालिस गर्ने गरेको छु
प्रायः सबै जसोले मर्केको ठाउँमा मर्किने वित्तिकै तातोले सेकेको र मालिस गरेको पाइन्छ। तर यसो गर्नु राम्रो होइन। सेकुञ्जेलसम्म र मालिस गर्दासम्म केही आराम भएको अनुभव भएता पनि यसले पछि नराम्रो प्रभाव पार्छ-दुःखाई बढ्ने र बढी सुन्निने हुन्छ। मर्केपछि तातोले सेक्नुभन्दा वरफको चिसोले सेक्नु प्रभावकारी हुन्छ। तर चिसोले सेक्दा सिधै छालामा सेक्नु हुँदैन। छालालाई कुनै कपडाले छोपेर र वरफलाई पनि कुनै भाँडोमा राखेर चिसो मात्र लगाउनु पर्छ।
४. चाँडै रोग निको पारिदिनुहोस् डाक्टर साहव!
रोग डाक्टरले निको पार्ने होइन। डाक्टर रोग निको पार्नमा सहयोग गर्ने एउटा माध्यम मात्र हो। डाक्टरले औषधि मात्रै प्रयोग गरेर वा शल्य चिकित्सा गरेर स्वास्थ्य विज्ञानको आधारमा सहयोग गर्ने गर्दछ। विभिन्न अन्य कारणले उपचारमा असर परिरहेको हुन्छ। यहाँ म हाडजोर्नी विशेषज्ञ भएको नाताले हाड-जोर्नीको प्रसंङ जोड्न चाहन्छु।‘मलाई यति समयमा विदेश जानुछ। यति समयमा फुटबल खेल्नुछ। मलाई यति समयमा के के हो के के! त्यसैले मलाई चाँडो निको पारिदिनुहोस् डाक्टर साहव।’
यी भनाई हाम्रै विरामीहरुका हुन्। हाम्रा विरामीका भनाई अत्यन्त जायज छन् तर विडम्वना प्रकृति नै समय चक्र अनुसार नियममा बसेर चलेको छ र समय पुग्नुभन्दा अगाडि केही कुरा सफल हुन सक्दैन।
डाक्टरले भाँचिएको हड्डी जोडाइ दिने वा मर्केको ठाउँमा निको बनाईदिने होइन। बरू डाक्टरले हड्डी पहिलेकै जस्तै अवस्थामा जोडियोस् र पहिलेकै जस्तै काम गर्न सक्ने होस् भन्ने हेतुले नमिलेको हड्डी शल्य चिकित्सा गरेर वा शल्य चिकित्सा बिना हड्डी निको पार्ने वातावरण तयार गरिदिन्छ। तर, हड्डी निको पार्ने काम त विरामीको शरीरले गर्छ र निको हुने समय पनि विभिन्न हड्डीको लागि विभिन्न छन्।
त्यसैले चाहेर मात्र चाँडै केही गर्न सकिँदैन, समयलाई पर्खनैपर्छ। जसरी आमाको गर्भमा ९ महिना नपुर्याई बच्चा जन्मिदैन, यसरी नै समय नपुगी केही नतिजा आउँदैन।
साधारण मर्केको ठाँउमा समेत पूरै निको हुन-दुःखाई पहिले नै कम भएपनि-कम्तिमा ३ महिना लाग्छ। तसर्थ समय पुग्नुभन्दा अगावै डाक्टरले केही पनि गर्न सक्दैन।
५. गर्मी, कालो दाल, मासुले घाउ पाक्छ भन्ने मानसिकता?
घाउ पाक्छ भनेर धेरै विरामीहरुले शल्यक्रिया पछि कालो दाल नखाने, मासु नखाने गरेको र गर्मीमा शल्यक्रिया गर्न नमान्ने भेटिएको छ। घाउ पाक्ने भनेको धेरै कुरामा सम्वन्धित हुन्छ। पाक्नलाई किटाणुको संक्रमण हुनु शत प्रतिशत आवश्यक छ।
किटाणु संक्रमण हुने वातावरण तयार छैन भने घाउ पाक्ने हुँदैन। घाउ निको हुनलाई उपयुक्त रगत संचालन, शरीरमा उपयुक्त प्रोटिन र रोगसँग लड्न सक्ने क्षमता वलियो हुनु आवश्यक छ।
मधुमेह भएका विरामीमा भने घाउ पाक्ने सम्भावना अरु विरामीकोभन्दा बढी हुन्छ त्यसैले शल्यक्रिया पहिले र पछिसम्म पनि रगतमा चिनीको मात्रा निर्धारित सीमा भित्र राख्नु पर्छ।
कालो दाल र मासु प्रोटिनका स्रोतहरु हुन्। प्रोटिन रोगसँग लड्न सक्ने क्षमता वृद्धिको लागि अति आवश्यक छ। तसर्थ कालो दाल र मासु खानाले घाउ पाक्दैन बरू घाउ निको पार्नमा मद्दत गर्दछ। तर, मृगौलाको रोगीहरूले भने तोकेको प्रोटिनभन्दा बढी प्रोटिन लिनु हुँदैन।
गर्मी ठाँउमा किटाणु फस्टाउने वातावरण राम्रो हुन्छ तर घाउलाई सफा राखेमा किटाणुको संक्रमण हुन नदिए गर्मी ठाँउमा समेत घाउ पाक्दैन।
६. डाक्टर साहेव प्लास्टर लगाउनु पर्दैन?
आज हाड जोर्नी विषयमा यति धेरै उन्नति भइरहेको छ कि हामी धेरै जसो हाड जोर्नीको शल्यक्रिया पछि प्लास्टर लगाउँदैनौं। यसको सट्टामा विभिन्न प्रकारका पिन, किला, पेच, तार, पाता, डण्डी, विशेष उपकरण र अन्य सामाग्रीहरु प्रयोग गरी भाँचेको हड्डीलाई आफ्नो ठाँउमा राख्ने गर्छौ। पहिले पहिले ती समानहरु उपलब्ध नहुँदा प्लास्टरको प्रयोग हुन्थ्यो। आज पनि प्लास्टर प्रयोग नगरिने होइन तर धेरै जसो हाड जोर्नीको उपचार प्लास्टर बिना पनि गर्न सकिन्छ।
७. किला, पाता, डण्डी आदिले क्यान्सर गराउँछ कि? निकाल्नु पर्दैन?
हाड जोर्नीमा प्रयोग हुने समानहरू हम्रो शरीरमा हानी नपुर्याउने धातु प्रयोग गरेर बनाइएका हुन्छन्। तसर्थ यदि शल्यक्रियामा दक्ष चिकित्सकले विधि पुर्याएर शुद्ध धातुबाट उत्पादन गरिएका समानहरु प्रयोग गरेको छ भने र यदि धातुले दुःख नदिएको खण्डमा ननिकाल्न पनि सकिन्छ।
यस्ता धातु राखेकै कारण क्यान्सर भएको उदाहरण अहिलेसम्म संसारभरि नै पाइएको छैन्। छाला बाहिरबाट राखिएका धातु वा उपकरण छन् भने वा बच्चाहरुमा प्रयोग भएको छ भने समय पुगेपछि निकाल्नु पर्छ। जोर्नी फेरेको छ र काम गरिरहेको छ भने निकाल्नु हुँदैन।
८. फिजियोथेरापी (कसरत)
धेरै विरामीहरु भन्ने गर्नुहुन्छ ‘किन फिजियोथेरापी गर्नूपर्यो घरमा प्रशस्त काम गरिहालिन्छ नि!, कसरत पुगिहाल्छ।’ तर वास्तवमा त्यसो होइन, घरायसी काम काज गर्दा कसरत हुँदैन। कसरत भनेको कुनै नियममा रहेर गर्नुपर्ने हुन्छ। फिजियोथेरापीमा वैज्ञानिक रूपमा र क्लिनिकल रूपमा फाइदा हुने कसरत त्यसका तरिका र समय अवधि मिलाएर सिकाइन्छ।
कहिले काहीँ फिजियोथेरापी मात्र लेखि औषधि नलेख्दा विरामीलाई विश्वास दिलाउन निकै गाह्रो हुने गर्छ। बिरामीहरू भन्नुहुन्छ- ‘औषधी नखाई पनि ठीक हुन्छ त? हाड जोर्नी सम्वन्धी धेरै कुराहरु फिजियोथेरापीले मात्र पनि ठीक हुन सक्छ यदि नियमित रुपमा फिजियोथेरापीष्टले भने बमोजिम गर्ने हो भने।
विरामी नभएकाहरुले पनि नियमित Stretching Exercise गरिरहनु अत्यन्त जरूरी छ। Stretching Exercise ले शरीर र मन दुवैलाई स्थिर र मजवुत राख्नमा मद्दत गर्छ।
९. प्यारालाइसिस वा क्यान्सर
शरीरको कुनै ठाँउमा लामो समयदेखि दुःखेमा र दुःखाईको कारणले चलाउन कम हुँदै गएमा धेरै विरामी मलाई प्यारलाइसिस हुने हो कि! अझ सुनिएमा क्यान्सर भयो कि! भनि अत्तालिएको पाइन्छ।
प्यारालाइसिस हुन त कि टाउकोमा कि घाटीमा वा कि मेरुडण्डमा केही कारणले नसालाई खलबलाउने काम हुनुपर्छ। लामो समयसम्म दुखेको कुरा वा सुनिएको कुरा क्यान्सर भए पनि नराम्रो खालको क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ। नराम्रो खालको क्यान्सरले थोरै समयमा नै ज्यान लिन्छ।
१०. वाथरोग
वाथ रोग भन्ने बित्तिकै मानिस निरास हुन्छ। उमेर सँगसँगै हाड खिइएर हुने वाथ रोग देखि, किटाणुको संक्रमणले हुने बाथ रोग, रगतमा देखिने सेरोपोजिटिभ Seropositive र रगतमा नदेखिने सेरोनेगेटिभ Seronegative वाथ रोग, विभिन्न क्रिष्टलको कारणले गर्दा हुने वाथ रोग जस्ता अनगिन्ती वाथ रोगका प्रकारहरु छन्।
किटाणुको संक्रमणवाट हुने वाथ रोग समयमै पत्ता लगाएर उपचार थालेमा निको पार्न सकिन्छ। तर, अरु प्रकारका वाथ रोगहरुको उपचार रोकथाम गर्ने रोगले जोर्नी वाहेक अरु अंगहरु पनि समात्ने अवस्था पनि देखिएको छ। तसर्थ वाथ रोग भएको पत्ता उपायहरुबाट मात्र गर्न सकिने अवस्था छ।
केहि वाथ रोगहरुमा वर्षौं औषधि सेवन गर्नुपर्ने हुन्छ। अनियमित औषधि सेवन गर्ने प्रवृति धेरै पाइएको छ जसले गर्दा वाथ लागेमा नियमित औषधि सेवन र समय समयमा डाक्टरी जाँच र रगत, पिसाव र अन्य आवश्यक जाँच गराउनु अत्यन्त जरूरी छ।
धेरै जसो विरामीले स्टेरोइड (प्रेडनीजोलन) जथाभावि सेवन गरिएको पाइएको छ। यसको लामो प्रयोगले मुख सुनिने, चन्द्रमा जस्तो गोलो देखिने, उक्त रक्तचाप र मधुमेह भएको पाइएको छ।
औषधिको बारेमा परामर्श नदिएको र विरामीको अज्ञानताले जथाभावी उक्त औषधि प्रयोग गरिएको विरामीले बताउने गरेका छन्। वाथरोगमा स्टेरोइडको अल्पकालिन रुपमा प्रकृया पुर्याएर प्रयोग गर्न आवश्यक हुन सक्छ।
११. कति वटा टाँका लाग्यो डाक्टर साहव?
टाँका शल्यक्रिया गरेको ठाँउमा पहिलेको जस्तै हुनेगरी तन्तुहरुलाई एक अर्कामा मिल्ने गरी घाउ निको पार्नको लागि गरिन्छ।
जनमानसले टाँकाको संख्यालाई शल्यक्रियाको जटिलताको रूपमा लिने गरेका छन्। त्यसैले धेरै जसोले टाँका कतिवटा लाग्यो भन्ने प्रश्न गरेको पाइन्छ। वास्तवमा टाँकाको संख्यासँग शल्यक्रियाको सफलता वा जटिलतासँग कुनै सम्बन्ध हुँदैन। शल्यक्रिया विधि पुर्याएर गरेपछि टाँका पनि विधि पुर्याएर सकि टाँकाको प्रयोग गरी घाउ सिलाएको छ भने जति संख्यामा टाँका भए पनि विशेष परिस्थिति वाहेक अरु वेलामा घाउ निको हुन्छ।
त्यसैले धेरै टाँका धेरै ठूलो शल्यक्रिया वा थोरै टाँका सानो शल्यक्रियाको रूपमा लिनु हुँदैन। घाउ निको हुनुमा शारीरिक अवस्था, उमेर, अरु कुनै रोग भए वा नभएको, अरु औषधि सेवन गरे वा नगरेको, टाँका विधि पुर्याएर गरेको वा नगरेको, सही टाँका प्रयोग गरेको वा नगरेको जस्ता अनगिन्ती कुरामा भर पर्छ।
हाडजोर्नीको केहि शल्यक्रियामा टाँकाको आवश्यकता पर्दैन। विशेष प्रकारको एक्सरेमा (सी.आर्म) हेरेर छाला वाहिर वाटै पिन हाल्न र वाहिरी उपकरण राख्न सकिन्छ।
-लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका हाडजोर्नी सर्जन तथा स्पाइनल सर्जरी विभागका उप निर्देशक हुन्।