एक हप्ता अगाडि मात्रै मेरो साथी उज्जवलको परिवारले अष्ट्रेलियाको नागरिकता पाएको थियो। उसले आफ्नो फेसबुक, टिकटक जताततै ‘जीवनको ठूलो उपलब्धि’ स्टाटससहित सबैलाई आफू अष्ट्रेलियन नागरिक भएको खबर दिएको थियो।
हो, जीवनको त्यही ठूलो उपलब्धि पाएको अवसरमा उज्ज्वलले आफ्ना नजिकका केही व्यक्तिलाई घरमा बोलाएर भव्य बार्बिक्यु गर्यो।
म पनि ऊ जत्तिकै खुसी भएर नेभिगेटरलाई पछ्याउँदै उसको घर पुगेँ। म उसको आँगनमा पुग्दाँ करिब ७ बजेको थियो। ढोका बाहिर टन्न जेन्स्, लेडिज् र बच्चाका जुत्ता वेवारिसे थिए। कोही घोप्टी परेका, कोही माथितिर फर्केका, कोही तेर्सो भएर बसेका, कुनैको जोडी नै त्यहाँ नभएका, बिजोग देखिएको थियो त्यो दृश्य।
त्यही छरिपस्ट जुत्ताको हुलभन्दा अलि पर एउटा कुनामा मैले मेरो कालो स्याण्डल एकदमै जतन गरेर राखेँ। ढोकामा उभिएर कपाल मिलाउँदै डुर्अर बेल बजाउन खोजेँ। बेलनै नदेखेपछि उज्जवललाई फोन गरेँ। दुई पटकसम्म फोन गर्दा पनि उज्जवलले फोन उठाएन। अनि सीमालाई फोन गरेँ। उनले पनि फोन उठाइन।
पार्टी भएको घरमा के फोनको ठेगानमा होला भन्दै अनि अर्को साथी विष्णुलाई फोन गरेँ। मलाई थाहा थियो ऊ पनि पार्टीमा आउँदैछ भनेर। विष्णुले फोन त उठायो तर उ वियर सकिएर वियर किन्न बाहिर निस्केको रहेछ। अनि केही उपाय नलागेपछि हातैले बेक्सरी ढोका ढक् ढक् गरेँ। ढोका खोल्न घरका ठूला नानीबाबुहरु कोही आएनन् बरु एउटा सानी नानी आईन् र सकिनसकि ढोका खोलिन्।
मलाई देख्ने वित्तिक्कै उनले नमस्ते गरिन्। न उनलाई म चिन्थेँ, न त उनले मलाई चिन्थीन् तर पनि नेपाली संस्कारले भन्यो-घरमा आएको मान्छेलाई नमस्कार गर। उनले यही अनुरूप त्यो घरमा उनी आफू पाहुना भएर आउँदा पनि मलाई नमस्कार गरेर भित्र बोलाइन्।
सबै जना भित्र किचनमा हुनुहुन्छ मैले नसोध्दै उनले भनिन्। यति भनेर उनी द्रेबेपट्टिको लाउन्ज रूममा दौडिदै गईन्। उनी जस्तै अरू केही बच्चाहरु पनि लाउन्जमा खेलिरहेका थिए।
उज्जवलको घरभीत्र पुग्दा मिनी नेपाल आएको जस्तो लाग्छ मलाई। भित्तामा नेपाली झण्डादेखि, नेपाल झल्काउने स-साना कुराले जस्तै गार्डेन, किचन, घरको तल माथि, सबै भित्ताहरु र आफूले चढ्ने कारमा समेत उसले सजाएको छ। त्यो सबै देख्दा फेरि लाग्यो आफ्नो छातिमा समेत ‘आइ लभ नेपाल’ भनेर ट्याटु खोप्ने उज्जवलले नेपालको नागरिकता त्यागेर सजिलै यहाँको नागरिकता कसरी लिन सक्यो होला? अनि यहाँको नागरिकता पाएको दिन ‘जीवनकै सबैभन्दा ठूलो उपलब्धि’ भनेर लेख्दा उसको मुटु कामेन होला त?
आज होइन तर कुनै दिन यो प्रश्न अवश्य उसलाई गर्छु भन्ने भयो।
म त्यहाँको भित्तामा टाँसिएका सगरमाथा र गाउँबेसीका पेन्टिङ पछ्याउँदै किचनसम्म पुगेँ। किचनमा सीमा, निर्मला, सुरेसा र अरू मैले नचिनेको लेडिज् पनि थिए। हातमा रेड वाइनको बोत्तल त्यहीँ नजिकको टेबलम राखेर हाँस्दै भनेँ, ‘यो घरका सबै मान्छे मरेछन् कि क्या हो। घरमा पाहुना बोलाउने अनि न ढोका खोल्ने न कोही फोनै उठाउने। आखिर तिमीहरुले गर्न खोज्या के? कि बेल राख्नू कि फोन उठाउँनू।’
सीमा मेरो नजिक आएर ‘ला सरी, सरी, सरी यार।’ भन्दै मलाई एउटा कसिलो अँगालो दिइन्। उज्जवलसँग विहे गरेपछि सीमा पनि मेरो मिल्ने साथी भएकी छिन्।
ठूलो वाटामा नाङ्गै हातले छोइला मोलिरहेकी विष्णुको श्रीमती सुरेसाको नजिक गएर उनको गालासँग गाला जोडेर एउटा मिठो भेट दिएँ। साइडमा काक्रो, गाँजर, मुलाको सलाद तयार गरिरहेकी साथी निर्मलालाई पनि गाला जोडेर मिठो भेट दिए। त्यहाँ उपस्थित अरू तीन जना मैले चिनेको थिइनँ। सीमाले परैबाट हामीलाई एकअर्कासँग चिनाइन् अनि हामीले पनि एकअर्कासँग हाई गरेर न्यानो मुस्कानले भेट गर्यौं।
सबै काम गरिरहेको थिए। म मात्रै खाली भएजस्तो लाग्यो अनि मैले केही सघाउँनुपर्छ? भनेर सीमालाई सोधेँ।
पर्छ नि। खाएर सघाउँनुपर्छ तिमीले– निर्मलाले हाँसेर जवाफ दिइन्।
यस्तो कुरामा त म माहिर छु नि। बरू यो साक्षात अन्नपूर्ण देवीलाई भक्तजनले छिटो छिटो खानेकुरा चढाउँओ न प्लीज, छोरा गणेशको वाहन पेटमा दौडेर केही छैन भनेर म त्यहीँ कुर्सीमा पलेँटी कसेर बसेँ।
निर्मला, सुरेसा र मलाई त उसको यो अन्जाद पचिसक्यो केटीहरू तिमीहरूलाई चाँही अलि नपच्ला आजै है भनेर अरूहरूतिर हेर्दै सीमाले भनिन्।
मेरो ब्यागमा पाचक छ नि, अहिले नै दिन्छु अनि पचिहाल्छ नि। नत्र निर्मलाले त्यो काँटेको मुला दिए पनि हुन्छ। कि कसो? मैले मजाकमाथि मजाक गरिरहेको थिए।
एकछिनमा बाहिरबाट थालमा भेडा र कुखुराको बार्बिक्यु लिएर उज्ज्वल भित्र आयो अनि डाइनिङ टेबलमा थाल राखेर यो बच्चाको लागि सादा मासु हो है उनीलाई दिएर तिमीहरु सबै बाहिर आउनु भन्यो। उज्जवलले सबै आउनु भनेर सबैतिर आँखा घुमाउँदा उसको आँखा ममा आएर रोकियो।
मलाई देख्ने वित्तिक्कै ‘ओहो! सृष्टि माहारानी दर्शन ढोक चढाएँ, अनि हजुर कति ढिलोसुस्ती सवारी होइबक्सेको त?,’ भनेर व्यङ्ग्य गरिहाल्यो।
‘महाराजको लागि रेड वाइन लिन साउथ अष्ट्रेलिया गएको थिएँ, आउँदा ढिला भयो,’ मैले पनि व्यङ्गय गरेँ। खासमा दुई हप्ता अगाडि म एडिलेड जाँदा उज्जवलले आफूलाई मनपर्ने ‘द इगल सिराज’ मसँग मगाएको थियो। उसलाई यो वाइन लिने चक्करमा झण्डै मेरो प्लेन छुटेको थिएन त्यो दिन।
छेउमा रहेको सिराज रेड वाइनलाई हातमा लिँदै ‘वाह! वाह!!’ भन्दै उज्जवल वाइनको वोत्तल वल्टाई पल्टाइ हेर्न थाल्यो।
‘के हेरेको त्यसरी वरिजिनल हो। अरू बेला भएको भए यस्तो महँगो वाइनको लागि तिमीसँग चार्ज गर्थेँ। तर आज तिम्रो खुशीको दिन पैसा लिन्नँ, भयो छोडिदिएँ तिम्रो लागि। जा उज्जवल जा जिले अफ्नी जीन्दगी’, मैले पनि अमरीस पुरी स्टाइलमा डाइलग दिएँ।
त्यहाँ भएको सबैजना मुर्छा परेर हाँसे।
‘अहो! यस्तो महँगो वाइन यसरी देखाएर राख्नु हुँदैन फेरि केटाहरूले देखे भने आँखा नझिम्काउँदै झ्याप्प पार्छन्’ उज्जवल वाइन बोकेर खुरुरुरुरु आफ्नो कोठामा गयो। यो दृश्य देखेर फेरि हामी सबैको हाँसोको फोहोरा छुट्यो।
उता फेरि त्यही अघिकै नानीले ढोका खोलिन्। विष्णु र ऊ सँग अरू दुई केटाहरू सकिनसकि एक एक काटुन वियर लिएर आएका रहेछन्।
कोही ढोका नखोल्ने। कोही फोन नउठाउने भनेर विष्णु कराउँदै भित्र आयो। यसकोसमेत फोन ट्राइ गरेको यसले पनि उठाइनँ भनेर विष्णु मतिर फर्केर भन्यो। हत्तनपत्त फोन हेरेँ एक होइन दुई होइन तीन मिस्डकल रहेछ। सुरूमा आफूले सीमालाई दिएको डाइलग सम्झे अनि लाजले आफैं मुसुमुसु हाँसे।
विष्णु भटाभट कार्टुनबाट वियर निकाल्दै फ्रिजमा राख्न थाले। मैले फ्याट्ट सोधिहालेँ, ‘यत्रो वियर आजै खाने तिमीहरू?’
सुरेसा बोलिन्,‘यीनीहरु ट्याङ्कर हो सृष्टि, यीनीहरुको भुँडीमा यो कुकुरको मुत जति पनि जान्छ।’
‘हो नि त अनि यो कुकुरको मुत भुँडी हुँदै फेरि अन्तबाट पनि गएको गयै गर्छ रे नि त। त्यो अन्त चाँहि भन्दिनँ। कि भनिदिउँ? विष्णु,’ भनेर फेरि मजाक गरेँ।
‘दिदी त साह्रै रमाईलो हुनुहुदोरहेछ’, यसैबीचमा त्यही एक जनाबाट कम्प्लीमेन्ट पनि पाइहालेँ। नाक घिरौला जत्रै भइहाल्यो।
सीमाले केही सोच्दै अनि चोर औँला हावामा टकटक गर्दै पन्ध्र वटा डिस्प्रोजल प्लेट निकालीन्। ‘सुजता तिमी र राकेस भेज है’ भनेर सोधिन्। ‘अँ दिदी यीनी पनि भेज हुन्’ भनेर कल्पनालाई पनि देखाइन्। ‘तीन वटा भेजको प्लेट तिमी तयार गर’ भनेर सीमाले निर्मलालाई भनिन्।
अन्य प्लेटमा चिउरा, भेडाको छोइला, ममको डल्ला, क्राक्रा केराउको अचार, आलु दम, सलाद र अरू पनि खै थेरै थोक राखेर सीमाले प्लेट सजाइन्।
उता सुरेसा बच्चाको लागि तयार गरेको छुट्टै खानेकुरा उनीहरुको प्लेटमा राखेर तयार गर्दै थिइन्। सीमाले तयार गरेको प्लेट म बाहिर र भित्र सबैलाई दिँदै थिएँ। ‘हामी पन्ध्र होइन सोह्र रहेछौं सीमा। बाहिर एउटा भाइलाई पुगेन। मलाई अर्को प्लेटमा राखिदेउ यो मेरो भाग उसलाई लगेर दिन्छु’ भने। सीमा फटाफट मेरो लागि अर्को प्लेट खानेकुराले सजाउन थालिन्।
‘अचारमा म अलि लोभी छु अलि धेरै राख है’ भने । अनि सीमा मुस्कुराउँदै रिसले होइन तर मायाले प्लेटमा अचारको डाँडा लगाइदिइन्। अनि हामी सबै आ-आफ्नो प्लेट बोकेर बाहिर गयौं। बाहिर माहोल जमिसकेको थियो।
‘बाँझो खेतमा छड्के सलाम छ, मायालाई....’ भन्दै केटाहरू नाँच्न थालेँ। त्यसपछि ‘मास्टर साहेब सिकाइदेउ पिरती...’ भन्ने गीतमा सबै जोडीहरु पनि नाँच्न थाले।
एकैछिनपछि सबैजनाले हातमा आ-आफ्नो गिलास लिएर चियर्स गर्दै उज्ज्वल र उसको परीवारलाई बधाई पनि दिइयो।
अनि वधाई दिदै गर्दा मैले ‘के गर्नु केटा कागजमै मात्रै अष्ट्रेलियन हुने भयो न मन न वचन न त कर्मले अष्ट्रेलियन हुन सक्दैन जस्तो छ। यसमा अब रूने कि हाँस्ने। यो सौभाग्य हो कि दुर्भाग्य हो भन भन भाइ हो’ भनेर भनेँ।
एउटा कुनामा रक्सीले फिटान भएको उज्ज्वलको साथी मेरो कुरा सुनेर द्येउसुरे’ पो भन्छ। विष्णुबाहेक हामी कसैले पनि हाँसो रोक्नै सकेनौं। छिमेकीको प्रवाह नगरेरै आवाज निकालेर नै हाँस्यौ।
विष्णु एक्कासी भावुक भयो। ‘नेपाल मनमा मात्रै होइन यो दिमागमा पनि छ त्यसैले यो मन त मेरो नेपाली हो’ भनेर जुरुक्क उठ्यो। उसले आफू छेउकै साथीलाई कमलेस ब्रो, ‘यो मन त मेरो नेपाली हो..’ भनेर गीत लगाउ त भन्यो। कमलेस ब्रो पनि रमाउँदै फरमाइसको गीत घन्काउन थाल्यो। बाझो खेतदेखि हामी यो मन त मेरो नेपाली हो भन्ने गीतसम्म आइपुग्यौं।
राती दश बजिसकेको थियो। कतैबाट पनि अब गीतको फरमाइस नआएपछि हाम्रो डिजे कमलेस ब्रोले अब ‘हामारा वाला गाना वजेगा’ भन्दै रिङ्कीयाका पापा हाहा हिही हुहु भन्ने गीत लगाउँछ। यो गीतले माहोल अझ रमाइलो गरायो। यो गाना दुईपटकसम्म बजाइयो अनि त्यसलगत्तै फेरि ‘लाँलीपप लागेलू’ भन्ने गीत बज्यो। केटाहरु सबैलाई वियरले नचाउँदै पनि थियो, मताउँदै पनि थियो अनि पिसाव फेर्न पाठाउँदै पनि थियो।
खाना खाने मुडमा कोही थिएन। बार्बिक्यूले नै सबै टन्न भइसकेको थियो। रात झन् झन् छिप्पिदै थियो तर कसैलाई पनि त्यहाँबाट उठ्न मन लागेको थिएन सिवाय पिसाव फेर्न।
यसैबीच सीमाले ‘बाहिर चिसो भयो अब सबैजना भित्र जाऔँ’ भनीन्। तर कमलेसले एउटा अन्तिम भोजपूरी गीतमा नाँच्यौ अनि जाऔँला भन्यो। सबैजनाले उसको इच्छालाई समर्थन पनि गर्यो। किनकि, त्यहाँ सबैलाई उसले छानेर बजाएको गीतहरु रमाईलो पनि लागिरहेको थियो।
हामी नाँच्न तयार भयौं तर उज्जवल भने पूरै झ्याप्पमा थियो। कमलेसले गीत बजाएको मात्रै के थियो उज्जवल जुरूक्क उठेर साला विहारी, खाली उतैको गीत लगाउँ भन्यो।’ कस्तो अप्रत्यारिलो बोली र रियाक्सन थियो उज्जवलको।
कमलेसले तुरून्तै गीत बन्द गर्यो। सीमाले उज्जवललाई चुप लाग्न आग्रह गरिन्। तर उज्जवल चुप लागेन। माहोल अब समाल्ने स्थितिमा रहेन।
कमलेस अघि सरेर उज्जवललाई कडा जवाफ दिन थाल्यो –दाजु तिमीलाई यदि नेपाली होइन भन्यो भने जति चित्त दुख्छ त्यो भन्दा बढी मलाई विहारी भन्दा दुख्छ। हो मेरो पुर्खाहरू सिमापारी जन्मे होलान् तर म नेपाली बाबुआमाको नेपाली बाबु हुँ र नेपाली आमाको नेपाली छोरा हुँ।’
विष्णु पनि माहोल समाल्दै थियो– भयो कमलेस ब्रो यो मातेको छ। मातेको बेलामा यो यस्तै हो। जाऔँ भित्र।
होइन विष्णु ब्रो, यो दाजु मातेको बेलामा पनि अनि नमातेको बेलामा पनि यस्तै हो। अस्तिनै पनि पार्कको बार्बिक्युमा यीनले यस्तै भनेको थियो। म चुप लागेर बसेँ। कुरालाई चुरो बनाउन मलाई आउँदैन। आज सबै भुलेर उनको खुशीमा सामेल हुन आएँ तर दाजुलाई घरमा नेपालको झण्डा नराख्ने र शरीरमा नेपाल नलेख्ने मान्छे नै नेपाली लाग्दैन रहेछ।
उज्जवल झन् जँगियो र भन्यो तिमीहरुले कहिल्यै भारतको खुलेर विरोध गर्न सक्छौ?
कमलेस पनि जँगिएर भन्यो तिम्रो छोराछोरी र यहाँ जन्मिएको उनीहरुको पुस्ताले नेपालको विरोध गर्न सक्छ?
उज्जवल फेरि चिच्चायो– भाइ तिमी यस्तो नचाहिँदो कुरा नगर त। यहाँ जन्मेको मेरो सात पुस्तालाई पनि म नेपाल विर्सन दिन्नँ।
कमलेस फेरि बोल्यो–हो दाजु बल्ल लाइनमा आयौ। तिमी आफ्नो सात पुस्तालाई नेपाल विर्सन्न दिन्न भन्छौं। नेपालकै संस्कार, नेपालकै आचरण, नेपालकै ढाकाटोपी, नेपालकै झण्डा घरमा सधै रहोस् भन्छौ। अनि त्यइमाथि अष्ट्रेलियन तिम्रा पुस्ताहरुलाई नेपाली बनाइ राख्ने तिम्रो भावुकता चाँहि तिमीलाई महान् लाग्छ तर यदि मेरो कपडाको रंग संयोगवश स्यफरोन, सेतो र हरियो हुन गयो भने तिमीलाई म देशद्रोही नेपाली र भारतप्रेमी नागरीक किन लाग्छ दाजु? सीमा नजोडिने देशको नागतिकता लिएर पनि यो परदेशमा तिमी चाँहि सधैँ नेपाली भइरहने अनि छोरी वेटीको साइनो बोकेर सीमा जोडिएको भूमिमा म कहिलेकाँहि मामाघर भनेर खुट्टा टेक्दा चाँहि म सधै भारतीय हुनुपर्ने? म सधैँ पिल्सिनुपर्ने? मैले सधैँ विहारी भनेर वचन खाइरहनुपर्ने? तिमी अष्ट्रेलियाको नागरिकता लिदाँ पनि नेपाली कहलिरहने अनि म नेपाली नागरिकता लिएर बस्दा पनि नेपाली भनेर प्रमाणीत गरिरहनुपर्ने? यो कस्तो सोच र न्याय हो दाजु? तिमी म भन्दा पढेलेखेको शरीरमा नेपाल आमाको ट्याटु खोपेको मान्छे भन्दिउ न फेरि पनि कुन हिसाबले तिमी अष्ट्रेलियन नागरिकता बोकेर पनि नेपाली भइरह्यौ तर मसँग नेपाली मात्रै नागरिकता र पासपोर्ट हुँदा पनि म नेपाली भइन कयौँको नजरमा। किन दाजु?
कमलेसको कुरा र तर्क सबैलाई मन परिरहेको थियो। त्यसैले पनि त्यहाँ कोही केही बोलेनन्। सबै भावुक भएर मात्रै कमलेसको कुरा सुनिरह्यो।
ओइ तिमीहरु कसैलाई पिसाब फेर्न आएन अब? अघि त दश पटक उठेको उठ्यै थियौ त तर अहिले सबै चुपचाप छ। मैले माहोललाई अलि रसिलो बनाउन खोजेँ।
कमलेसको कुराले पिसाब नै रोकियो। तर जे भए पनि केटाको कुरामा दम छ। अघि द्येउसीरे भन्ने बोल्यो।
उज्जवललाई कसैको पनि समर्थन आएन अनि उसलाई लाग्यो होला अब त्यो माहोलमा बस्न ठिक छैन त्यसैले पनि उसले सबैलाई केटाहरू–मलाई एकदमै लाग्यो जस्तो छ तिमीहरु इन्जोय गर म एकछिन ढल्छु सोफामा भन्यो।
कमलेसले उज्जवलको पाखुरा समातेर फेरि भन्यो– हेर दाजु एउटा कुरा कान खोलेर सुन। तिमी अघिल्लो हप्तादेखि अफिर्सियल्ली नेपाली नागरिक होइन। तिमी अष्ट्रेलियन नागरिक हौं। सत्य तितो हुन्छ सत्य यही हो कि आजको यो पार्टी नेपाली नागरिकता त्यागेर अष्ट्रेलियन भएकोमा तिमीले दिएका हौँ। तिमीले अष्ट्रेलियाको नागरिकतालाई जीवनकै ठूलो उपलब्धि भन्यौ तर यो कमलेसले यहाँको नागरिकता नहुँदा कति ए वान ए वान अवसर छोडेको छ यो मलाई र मेरो परिवारलाई थाहा छ। अवसर र नेपाली नागरिकतामा छान्ने परिस्थिति आउँदा मैले नेपाली नागरिकता छानेको छु। बात गर्छौ। आई लब नेपालको ट्याटु खोपेर, घरदेखि गाडीसम्म नेपालमय बनाउँदैमा तिमी नेपाललाई माया गर्ने एउटा मात्रै नेपाली हुँदैनौ। सच्चा नेपाली त त्यो हो जसको हृदयमा अरू नेपालीको पनि इज्जत हुन्छ। तिमी पाखण्डी हौ। तिमी ढोंगी हौँ।
यति भनेर कमलेसले उज्जवलको पाखुरा छोड्यो। सीमाको अगाडि हात जोडेर कमलेसले ‘भाउजु अरू पनि धेरै कुरा भन्न मन थियो। तर भयो अब भन्दिनँ। मैले यति बोलेर केही गल्ती गरेको छैन। सत्य कुरा गरेको छु। यदि मेरो सत्यताले यहाँ कसैलाई विजाउँछ भने मलाई केही भन्नु छैन। अष्ट्रेलियन हुनु भएकोमा फेरि पनि बधाई छ। आफ्नो, जिल्ला, गा वि स, प्रशासन, अदालत कता हुन्छ कृपया आफू नेपाली नागरीक नभएको सूचना वा निवेदन दिनुहोला। मेरो देश नेपालको लागि यही नै भलो हुन्छ। किनभने आइ लभ माइ नेपाल।’
कमलेस सबैतिर फर्केर नमस्ते गर्दै भारी मन लिएर गयो। कमलेस सँगसँगै हाम्रो मन पनि भारी भयो। सीमाको झन् मन के भयो हो त्यो सोच्न पनि सक्दिनँ।
एकछिनपछि सबै जना विस्तारै विदावारी हुँदै निस्किए अनि म पनि निस्कएँ। उज्ज्वल सोफामा नै घुर्न थालेको थियो। ‘यो रक्सीले पनि गर्नुगर्छ’ भनेर सीमा नरमाईलो मान्दै थिइन्। तर वास्तवमा कहिलेकाँहि यो रक्सीले पनि राम्रै काम गर्छ जस्तो लाग्यो। उज्जवलको खोक्रो देशभक्तिको जवाफ कमसेकम कमलेसले त दियो भन्ने भयो।
सीमा मलाई बाहिर ढोकासम्म छोड्न आइन्। अघि आउँदा मैले मिलाएर राखेको मेरो कालो स्यान्डलको जोडीसँगै थिएन। मोवाइलको टर्च बाल्दै मेरो स्यान्डल खोज्न थालेँ। रोडको छेउमा घोप्टो परेर बसेको रहेछ स्याण्डल। आउँदा त्यसरी मिलाएर राखेको स्याण्डल निस्कदाँ छरिपस्ट भयो आजको बार्बीक्युजस्तै।
बाटोमा ड्राइभ गर्दै गर्दा कमलेसले भनेको कुराहरु मनन गरिरहेँ। उसको कुराले मलाई एकछिन सोच्न बाध्य बनायो। के हामी पाखण्डी नै हौं त? कति जना किन यो देशको नागरिक कागजमा मात्रै भएर बसेका छन्? के हामी अवसरवादी नै हौ त? विहे गरेर पनि पुरानै आसिकको भइरहँदा विहेदार्ताको अपमान भएन र?
हामी के दुवै देशप्रति वफादार छौ त? यो देशको नागरिकता भिरेर पनि आई लभ अष्ट्रेलिया भन्न आउँदैन। हरवखत हरसमय नेपालप्रति मात्रै हामी समर्पित हुन्छौ। यति मात्रै होइन यहाँ जन्मेको छोराछोरीले पनि नेपाललाई माया गरून्, नेपाली बोलुन्, नेपाली संस्कार सिकुन् भनेर सोच्छौ। सके आफैं नसके आउने पिढी भए पनि यो देशको उच्च ओहोदामा पुगुन् भनेर हामी सोच्छौ। यहाँको सरकारी जागिरदेखि , स्थानीयदेखि केन्द्रिय चुनावसम्म लड्न पाउँ भन्ने धोको राख्छौं।
यदि अवसर पाएँ यो देशको प्रधानमन्त्रीसम्म पनि हामी हाँक्न सक्छौ भन्ने हिम्मत हामी र यहाँको नेपाली समाजले राख्छौ। तर त्यही नेपालमा कमलेसजस्ता कति नेपाली नागरिकलाई मन्त्री भन्छु, प्रधानमन्त्री बन्छु भनेर सपना देखेर बोल्यो भने हामी नेपालीलाई नै कि मन पोल्छ? हामीले सोचे सबै सही उनीहरुले सोचे सबै गलत? यस्तो किन हुन्छ?
क्रिसमसमा रातो र चन्द्र सूर्य गीतमा झुम्ने हामी आज कमलेसले दुई तीनपटकसम्म भोजपुरी गीत बजाउँदा किन उनलाई कठघरामा उभ्याएर नेपाली हुनु प्रमाणीत गर्नुपर्ने? यो गम्भीर विषय हो र बारम्वार यसको चर्चा हुनुपर्छ।