यात्रामा निस्किँदै गर्दा गन्तव्य कहाँ हो? कसरी पुग्ने? सबैकुरा बुझेर मात्र निस्कनु पर्छ, सुनेको कुरा हो। हुर्किँदै गर्दा सुझाव दिनेहरूले 'भविष्यमा के गर्छस्?' गाली गर्नेहरूले 'तेरो भविष्य नै छैन, तैले के गरी खान्छस्!' यस्तो बकमफुसे तरिकाले पनि जिन्दगी चल्छ?' जताततै प्रश्नै प्रश्न।
म सोच्थेँ, साँच्चै भविष्य भन्ने कुरा ठूलो होकि क्या हो! त्यही कारणले गर्दा मैले त्यो बेलाको आज त्यसै बिताइदिएँ। हाम्रो बाल मस्तिष्कमा नै समाजले बिउ रोपेको छ। भविष्य प्रतिको डर देखाएर उनीहरू शिकारी बनेका छन् र शिकार हामी बनेका छौँ।
जसोतसो स्कुले जीवन सकियो, फलामे ढोका कटियो भनौँ न। शुभकामना र सुवेच्छा दिने सबैले 'अब के पढ्छस्? यो विषयमा भन्दा पनि फलानो विषय बबाल छ, पैसा पनि बबाल हुन्छ, पैसा कुनमा राम्रो हुन्छ त्यही पढेको राम्रो। अवसरहरू हर्ने हो, यो त कस्तो! तेरो राम्रोको लागि भन्या हो, बुझेको कुरा।'
कहिलेकाहीँ सोच्थेँ मेरो भविष्य- ती दिनहरूमा म व्यस्त हुनेछु। एकदमै खुसी हुनेछु, राम्रो पढेको हुनेछु। साथीभाइ इष्टमित्र सबै मेरो वरिपरि पाउने छु। छुटेकाहरूसँग मिलन हुनेछ, र त्यो भविष्य सधैँ अजम्बरी हुनेछ। पीडा कम होलान्, शारीरिक रूपमा झन् तन्दुरुस्त भइएला मानसिक रूपमा बलियो भइएला, आर्थिक रूपमा मजबुत भइएला। सायद मान्छेले यही कुरालाई भविष्य भनेका हुन् कि जस्तो लाग्थ्यो।
तर वास्तविकता सोचेको भन्दा धेरै फरक, कहाँ त्यो निलो आकाश जस्तो छर्लङ्ग हुँदो रहेछ र! बाढी आएको धमिलो नदी जस्तो पनि हैन।
सफल जीवन कहिले हुन्छ? जब आफ्नो खुट्टामा उभिएर संसार हेरिन्छ, आफ्नो लागि आफै केही गरिन्छ तब मात्र सुरू हुन्छ। सामान्यतया जिन्दगीको अढाई दशक समय छुट्याउनु पर्दो रहेछ आफ्नै खुट्टामा उभिन र जीवन बुझ्न।
जब भविष्यसँग भेट हुन्छ, आज समय छैन, थाकिएको छ, गलिएको छ, कामको बोझ छ, परिवार हेर्नुपर्छ, फुर्सद छैन, स्वतन्त्रता छैन, साथीभाइ टाढा छन्, खुसी खोज्दै हिँड्दा बाटोमा नै छाडिँदो रैछ, यो यात्रामा सबै छाडिँदा रहेछन्। र भविष्यले भन्दो रहेछ, मलाई मेरो पुरानो जीवनमा फर्किन कुन पुस्तक पढ्नु पर्छ?
'भविष्य के रैछ भन्दा बजारमा बिक्री गर्न रचिएको र रोपिएको बिउ पो रहेछ र त्यो बिउ हामी रहेछौँ, सामान बनाइएछ मानव हैन।'