छोरी भर्खर-भर्खर सोधेको कुरा देखाउन सक्ने भएकी छन्। एकदिन घरबेटी आन्टीले छोरीलाई सोध्नुभएछ, 'नानी तिम्रो घर कुन हो?'
त्यही बेला मेरी आमाले भन्नुभएछ, 'हामी हजुरकै घरमा बस्ने त हो नि भन न छोरी।'
आमाको यो कुराले घरबेटी आन्टीलाई चित्त बुझेन।
'साना बच्चालाई किन म अर्काको घरमा बसेको छु भन्ने बुझाउनु पर्छ र, यो मेरै घर हो भनेर नानीले बुझोस्' भन्ने उहाँको धारणा रहेछ।
यो कुरा जब आमाले हामीलाई सुनाउनुभयो त्यो दिनदेखि हामीले घरबेटी अंकल र आन्टी भन्न छाड्यौं। उहाँहरू माथिल्लो तलामा बस्ने भएकाले 'माथि अंकल' र 'माथि आन्टी' भन्छौं।
अनि छोरीलाई पनि 'माथि बुवा' र 'माथि आमा' भन्न सिकाएका छौं।
छोरीले भन्न नसके पनि माथि बुवा र आमा भनेपछि बुझ्न सक्ने भएकी छन्। उहाँहरू पौडेल थरका हुनुहुन्छ। मेरी आमा पनि पौडेलकै छोरी। अंकल-आन्टी दुवैले आमालाई दिदी भन्नुहुन्छ।
हाम्रो सम्बन्ध यसरी हुर्किँदै गए पनि यो लेखमा भने मैले घरबेटी अंकल र आन्टी नै भनेको छु। लेख्न जरुरी छ।
झन्डै १७ वर्षे काठमाडौं बसाइ क्रममा आधा दर्जन घरमा बसियो होला। अब कति घरमा बसिन्छ, टुंगो छैन। घरबेटी अंकल-आन्टीले त अब काठमाडौंमा घर नबनाई सर्न पाइँदैन भन्नुभएको छ। कोठा सर्ने काम झन्झटिलो हुने र उहाँहरूले देखाएको आत्मीयताले सर्न नपरोस् भन्ने नै छ।
उहाँहरूको आत्मीयताको सबभन्दा बढी न्यानो हामीले परिवारै कोरोना संक्रमित हुँदा पायौं। सुखमा साथ दिने जति पनि भेटिन्छन्, दुःखमा साथ दिने बिरलै हुन्छन् भन्ने हो रहेछ। उहाँहरू हाम्रा लागि बिरलै भेटिने मान्छे हुनुभयो।
कतिपय घरबेटीले कोरोना संक्रमण भएका बेला बस्न समेत नदिएको सुन्नमा आएको छ। बसेकाहरूले पनि बढो अपमानित हुनुपरेको छ। तर हामीले यस्ता घरबेटी पायौं, जो हाम्रो अभिभावकै बन्नुभयो।
असोज १७ गते मेरी आमालाई सामान्य ज्वरो आयो। दुइटा सिटामोल खानुभयो, ठीक भयो। कोरोना होला भनेर हामीले ख्याल गर्न सकेनौं। १९ गते मध्यरातमा छोरीलाई पनि ज्वरो आयो। तर त्यतिबेला दाँत आउन लागेर ज्वरो होला भन्ने ठानियो। उनलाई पनि ज्वरोको औषधी खुवाएपछि ठीक भयो।
जब असोज २१ गते जब म ज्वरो आएर उठ्नै सकिनँ, तब मलाई कोरोना शंका भयो। मेरी श्रीमतीलाई पनि जिउ दुख्न थालेको थियो। आमालाई असजिलो भइरहेको थियो। दिनभर ज्वरोले थलिएको म मध्यरातमा १०२.५ ज्वरो आएपछि झनै आत्तिएँ।
तब मात्रै घरमा कोरोना पस्यो भन्ने अनुमान भयो।
भाग्य भनौं, त्यो नै मेरो उच्च ज्वरो भयो। यसपछि घट्दै गयो। असोज २२ गते बिहान ज्वरो थिएन। खाना खाएर श्रीमती र म टेकुमा स्वाब दिन गयौं। असोज २३ गते दुवैलाई कोरोना संक्रमण देखिएको नतिजा आयो।
सबभन्दा पहिला प्रधानसम्पादकलाई फोन गरेँ। उहाँसँग बोल्दै गर्दा म भक्कानिन खोजेको थिएँ। आफूलाई सम्हालेँ। उहाँले नआत्तिकन बस्न र केही परे फोन गर्नु भन्नुभयो।
त्यही दिन अस्ट्रेलियामा रहेका दाइ-भाउजूलाई जानकारी गराएँ। दाइ निकै चिन्ताग्रस्त भयो। उसलाई सबभन्दा बढी चिन्ता आमा र सानी छोरीको थियो। सात समुद्रपार भएकालाई आफ्नो परिवारमा कोरोना फैलिएको सुन्नपर्दा मन आत्तिन्छ नै। त्यसमा पनि दाइले मलाई पहिलेदेखि सचेत हुन बारम्बार भनिरहेको थियो।
असोज २५ गते आमा र दिदीको पनि स्वाब परीक्षण गरियो। उहाँहरूको पनि पोजेटिभै आयो। त्यति बेलासम्म कोरोना सामना गर्न हामी परिवारै मानसिक रुपमा तयार भइसकेका थियौं।
तर छोरीको हेरचाह कसरी गर्ने र उनको परीक्षण गर्ने कि नगर्ने भन्ने अलमल भयो। मैले केही चिकित्सकहरूसँग सोधेँ।
उहाँहरूले अरू सबैलाई ज्वरो ठीक भइसकेको भए परीक्षण जरुरी छैन भन्ने सुझाव दिनुभयो। घरमा जोगिएर बस्न र सकेसम्म मास्क नछुटाउन भन्नुभयो। तर छोरी बुझ्ने बेला भइसकेकै छैनन्। एक ठाउँमा राखेर बस्ने बेला पनि होइन। मास्क लगाएर बस्दा पनि मास्क फाल्दिने र मुखमा हात हाल्दिने बच्चासँग कति जोगिन सकिन्छ?
मानसिक र शारीरिक तनावले हामी पूरै परिवार गलेका थियौं। त्यही बेला हाम्रा घरबेटी अंकल-आन्टीको सहयोगले हामीलाई ऊर्जा दियो।
उहाँहरूले हामीलाई नआत्तिन भन्नुभयो। जुनसुकै समस्या आए पनि भन्न र सामान जरुरी परेमा ल्याइदिने पनि भन्नुभएको थियो।
एकातिर कोरोना संक्रमण, अर्कातिर सानी छोरी, पकाउने-खाने गर्दैमा हामी गलिसकेका थियौं। रातीको सुताइले आराम भएर बिहानको खाना त पकाएर खान सकिन्थ्यो। त्यसपछि भने जाँगरै चल्न सकेको थिएन। शरीर गलेर सबै फत्रक्क हुन्थ्यौं।
हाम्रो त्यही समस्या बुझेर घरबेटी आन्टीले दिनकै विभिन्न खानेकुरा पकाएर ल्याइदिनुभयो। उहाँले बिहान साढे ११ बजेतिर एक कराइ दाल ल्याइदिनुहुन्थ्यो। त्यो दालमा पनि के-के पोषिला खानेकुरा मिसाइएको हुन्थ्यो, हेर्दै खाऊँ खाऊँ लाग्ने।
दिउँसो फेरि २ बजे खाजा ल्याइदिनुहुन्थ्यो। हरेक दिन नयाँ-नयाँ स्वाद फेरिने खाजा खान पाउँदा हाम्रो बोधो भएको जिब्रोलाई सहज भयो। स्वाद चाँडै फर्किएजस्तो भयो। आन्टी फेरि साढे २ बजे चिया बोकेर आउनुहुन्थ्यो।
साँझ फेरि दाल, तरकारी, साग र अचार ल्याइदिनुहुन्थ्यो। हामीले भात राइसकुकरमा जोडे पुग्थ्यो। पाँच जनाको परिवारलाई पुग्ने खाना-खाजा उहाँले दैनिक ल्याइदिनुभयो।
अंकल-आन्टीले यसरी खाना-खाजा नल्याइदिनुभएको भए हामीलाई निकै समस्या पर्ने थियो। एक त हामीमा तागत थिएन, अर्को त्यति धेरै पोषिला र स्वादिला परिकार बनाएर खान सक्ने अवस्था थिएन।
पकाउ, ल्याउ, अनि ढोकामा राखेर जाने उहाँहरूको दैनिकी झन्डै एक साता निरन्तर चलिरह्यो। एक सातापछि विस्तारै हामी तंग्रिन थाल्यौं। पकाउने शक्ति आउन थाल्यो। कोरोना पुष्टि भएको दुई सातामा हामी सबैले कोरोनालाई हरायौं र खुसीसाथ दसैं मनायौं।
यत्ति धेरै स्याहार र माया दिएकै कारण मेरा घरबेटी अंकल-आन्टीका बारे नलेखी बस्न सकिनँ।
मलाई अहिले पनि लाग्छ, उहाँहरूलाई यो जाँगर कसरी चलेको होला?
उहाँको मायाले हामीलाई खुसी र आराम दुवै मिल्यो। हाम्रो न वर्षौंदेखिको सम्बन्ध, न एकै भूगोल। स्नेह प्रकट गर्न आखिर केही सम्बन्ध हुनु पर्ने रहेनछ।
घरबेटी अंकल र आन्टीहरू पनि एक जनालाई सुगर र एक जनालाई मुटुको समस्या छ। यसका बाबजुद उहाँहरूले आफ्नो कुनै समस्या नदेखी मात्र हामीलाई आत्मीयता र स्नेह देखाउनुभयो।
यस्ता घरबेटी बिरलै पाइन्छन्।
चैतमा लकडाउन सुरू हुनेबित्तिकै पनि उहाँहरूले हामीलाई भाडा नतिर्न भन्नुभयो। घरै बसेर काम गरे पनि मेरो तलब आएकाले भाडा छुट दिनुपर्दैन भनेँ मैले। उहाँहरूले एक महिनाको भने भाडा नलिने नै भन्नुभयो।
२०७२ को भुइँचालो बेला पनि उहाँहरूले वैशाखको भाडा लिनुभएको थिएन रे। त्यसैले यो अप्ठ्यारोमा पनि नलिने भन्नुभयो।
भाडा र कोरोना लागेका बेला सहयोग मात्र होइन, अरू बेला पनि उहाँहरूले विशेषगरी हाम्री सानी छोरीलाई देखाएको माया र सदभाव शब्दमा व्यक्त गर्न सकिँदैन।
कतिपय घरबेटीहरू भाडामा बस्नेका छोराछोरी रुँदा कति हल्ला गरेको भन्दै कराउँछन्। हाम्रा घरबेटी यस्ता छन्, छोरी धेरै समय रोएका बेला फकाउन आइपुग्छन्, 'नानी, किन रोएको? माथि जान्छेऊ' भन्दै।
कोरोनाका कारण आइसोलेसनमा बसेकाले छोरी पनि १५-१६ दिन बाहिर निस्किन मिलेन। त्यो बेलामा पनि घरबेटी आन्टीले भर्याङमा बसेर गफ गर्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, 'सन्जिभा टाढिने हो कि भनेर चिन्ता लागेको छ।'
दसैं पूर्णिमाको अघिल्लो दिन उहाँहरूले छोरी सन्जिभालाई टीका लगाउन बोलाउनुभएछ। त्यो बेला छोरी झन्डै एक महिनापछि माथि गएकी हुन्। त्यो बेलामा छोरीले यताउता सबैतिर हेरेको देखेर घरबेटी आन्टीले नमज्जा मानेको कुरा आमाले भन्नुभएको थियो।
घरबेटीको स्वाभावले भाडादारलाई कस्तो प्रभाव पार्छ र राम्रा घरबेटी हुँदा जीवनमै कस्तो फरक पर्छ, मैले बल्ल थाहा पाएको छु।
भाडामा बस्ने धेरै साथीहरू भन्छन्, 'घरबेटीसँगको सम्बन्ध भाडामा बस्दा सम्मका लागि मात्रै हो।'
तर मेरो यो अनुभवले भनिरहेको छ, मान्छेको स्वभाव र परिस्थितिले सम्बन्ध निर्धारण गर्छ। हरेक सम्बन्धलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन।
घरबेटीको त्यति ठूलो सहयोग नपाएको भए हामी अस्पतालै जानुपर्थ्यो कि भनेर बेलाबेलामा आमा भन्नुहुन्छ।कसैले पनि सधैंभरी सहयोग गर्न सक्दैन। तर अप्ठ्यारो परेका बेला जसले सहयोग गर्छ, त्यो महान हुन्छ। हाम्रा लागि घरबेटी त्यस्तै भएका छन्।