कुरा गरौँ आफैँबाट। केही वर्ष अगाडि म ‘एंजाइटी’(दुष्चिन्ता)को समस्या लिएर टिचिङ हस्पिटल पुगेकी थिएँ। काउन्टरमा टिकट लिँदा मैले 'साइकियाट्रिक वार्डको टिकट दिनु' भनेको देखेर नजिकै भएका एक/दुई जनाले यसरी हेरे मानौँ, मैले बोल्नै नहुने कुरा बोलिराछु वा म सामान्य मान्छे होइन।
हस्पिटलमा जेनरल वार्ड वरिपरि मान्छेको भीडम्-भीड थियो भने साइकियाट्रिक वार्ड अगाडि लगभग खालि जस्तै थियो। त्यहाँ मानसिक समस्या भएका व्यक्ति कोही नपुगेरभन्दा पनि 'कसैले यहाँ देख्यो भने के भन्ला' भन्ने सोचाई र मानसिकताले होला कि भनेर अनुमान गर्ने ठाउँ दियो, पछाडि पालो परेको मेरो टोकन नम्बरले।
अध्ययनको क्रममा स्नाकोत्तर तहको चिकित्सा मनोविज्ञान विषयमा विभिन्न मानसिक समस्या र लक्षण बारे पढ्दै गर्दा मैले आफूलाई एंजाइटीको समस्या रहेछ भनेर बुझेकी थिएँ। तीन/चार वर्ष जति मलाई बिना कारण डर लाग्ने, आत्तिने, मुटुको धडकन बढ्ने, र सास रोकिएझैँ हुने गर्थ्यो।
बाहिर सामान्य देखिए पनि त्यो समय मेरा लागि एकदमै गाह्रो थियो। जब मैले आफ्नो समस्या चिनेँ र उपचारको लागि गएँ, पाँच दिनको 'रिल्याक्सेसन थेरापी' पछि एंजाइटीको मेरो समस्या पूरै निको भयो। मेरो त पढेको विषय र आफ्नो समस्या मिल्दो जुल्दो भएर बेलैमा समस्या पहिचान गरेँ र उपचार भयो, निको भयो। यसलाई एउटा संयोगभन्दा फरक पर्दैन।
यस्तै समस्या भएका तर पहिचान हुन नसकेका धेरै व्यक्तिहरुको समस्यालाई कसरी बाहिर ल्याउने? जबकी हाम्रो परिपेक्षमा पागल हुनुलाई मात्र मानसिक स्वास्थ्यको दायरा भित्र राखिन्छ। अब केहि अरु उदाहरणहरु पनि हेरौँ जसले मानसिक स्वास्थ्य प्रति हाम्रो मानसिकताको केही झल्को दिन्छ।
पेशाले म शिक्षक हुँ। मैले काम गर्ने सामुदायिक विद्यालयको कक्षा पाँचमा पढ्ने छात्रा बिमला विक (नाम परिवर्तन) बेला-बेला कक्षामा चिच्याउँदै रुने, कराउने, बेहोस हुने र एकछिनमा केही नभए जस्तो गरी होसमा आउने गर्थिन। देउता लागेर बिरामी भएको र भीडभाडमा बस्न नहुने, कसैको जुठो पर्यो भने 'छोप्छ' भनेर उनले पाँच कक्षामै पढाई छोडेर बसिन्।
दलित परिवारकी जेहेन्दार छात्रा बिमलाको उपचारको लागि जाने बुझेसम्मको केही गरौँ भनेर एक जना साइकियाट्रिक डक्टरसँग उनको समस्या, पारिवारिक स्थिति र शैक्षिक अवस्था बारे कुरा गरेपछि उहाँले निशुल्क उपचार गरिदिने प्रतिबद्धता गर्नुभएको थियो। तर यो कुरा उनको परिवारसम्म पुगे पनि 'देउता लागेको' भन्ने विश्वासमा परेको उनको परिवारले न त डाक्टर कहाँ पुर्याए, न त पढ्न नै पठाए।
पूर्वी-पहाडी जिल्लाको मेरो घर नजिकैको गाउँमा पुग्दा त्यहाँ सबैको डर, चासो, चिन्ता र गफको तातात्तो विषय रहेछ- 'गाउँमा चार/पाँच जना केटीहरुलाई एकैचोटी देउताले छोप्यो, सबैजना एकैचोटी रुने कराउने, काम्ने, बेहोस हुने र एकछिनमा होसमा आउने गर्छन। यो के हुन आँट्यो एकैचोटी यस्तो कहिले नदेखेको बिमार देखा पर्यो।'
माथिका यी दुवै एकै प्रकृतिका समस्या हुन्। मनोचिकित्सामा यसलाई 'कन्भर्सन डिसअर्डर' भनिन्छ भने सामान्य चलनचल्तीको भाषामा हिस्टेरिया भनिन्छ। कन्भर्सन डिसअर्डर अर्थात मनमा दबिएका कुन्ठा, दुःख पिडा, संवेग, चिन्ता शारीरिक लक्षणको रुपमा देखा पर्ने। कारण मानसिक हुने तर लक्षण शारीरिक रुपमा देखा पर्ने हुनाले यसलाई कन्भर्सन डिसअर्डर(रुपान्तरित विकार) भन्ने गरिन्छ।
हामीमा अझैपनि हिस्टेरिया केटीहरुलाई मात्र हुन्छ र यो यौन कुन्ठा दबाएका कारणले मात्रै हुन्छ भन्ने गलत भ्रम रहेको पाइन्छ। वास्तवमा यो समस्या पुरुष, महिला वा तेश्रो लिंगीलाई पनि हुनसक्छ र मनमा दबिएका जुनसुकै कुन्ठाका कारण हिस्टेरियाको समस्या देखा पर्छ तर केटी वा महिलाहरुमा बढी देखा पर्छ। यसको पछाडि सामाजिक, साँस्कृतिक, वातावरणीय वा अन्य कारणहरुले गर्दा पनि हुन सक्छ।
अरुको माया, केयर खोज्ने 'एटेन्सन सिकिङ विहेविअर' (अरुको ध्यान खोज्ने व्यवहार)को रुपमा यो समस्या देखा पर्छ। यो समस्या भएका व्यक्तिलाई एक्लै भएको अवस्थामा छोप्दैन जहाँ भीड छ, धेरै मान्छे छन वा आफ्ना मान्छेहरु छन् त्यहीँ छोप्ने गर्छ भने पीडित व्यक्तिले जानी–जानी गरेको हुदैँन।
मेरो एकजना आफन्त, डाक्टरको सल्लाहअनुसार मानसिक रोगको औषधी खाइरहेका छन्। तर उनी आफैँ एक शिक्षित व्यक्ति भएर पनि यो कसैलाई थाहा नहोस भन्ने चाहन्छन्। हामी कोही बिरामी भयौँ र आफन्त साथीभाइहरु सँग भेट भयो भने आफ्नो बिमार र खानुपर्ने औषधी बारे सुनाउन आतुर हुन्छौँ। तर किन त्यसरी नै मानसिक समस्या बारे खुलेर कुरा गर्न सक्दैनौँ?
गाउँकै एक जना स्वास्थ्यकर्मी भाइले गाउँघरमा भएका स्वास्थ्य चौकी वा अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि मानसिक समस्याबारे त्यति जानकारी नहुने हुँदा समस्या भएर पनि बेलैमा पहिचान नहुँदा धेरै समस्या आउने गरेका छन् भन्ने गुनासो गर्दै गाउँकै एउटा घटना सुनाए।
२७/२८ वर्षका एकजना व्यक्ति खाना नखाने, एकोहोरो भएर बस्ने, कम बोल्ने गर्न थालेपछि 'जंगली देवता' लागेको भनेर धामी झाँक्रीले कुखुरा, बोका चढाएर हुनेसम्मका विधिबाट उपचार गर्दै थिए। तर उनले आत्महत्या गरेछन्। पछि थाहा भएछ कि उनलाई डिप्रेसन भएको रहेछ।
यी त केही उदाहरण मात्र हुन् र यी तपाई हाम्रै घर, छिमेक र समाजमा भइरहेका घटना हुन। तथ्यांकीय हिसाबमा हेर्ने हो भने पछिल्लो पाँच वर्षमा वर्षेनी आठ प्रतिशतका दरले आत्महत्याका घटना बढिरहेको पाइएको छ। आत्महत्याका विभिन्न कारणहरु मध्ये डिप्रेसनलाई पनि एक प्रमुख कारण मानिन्छ। तर हाम्रो ध्यान त्यता जान सकेको छैन।
आखिर कहिलेसम्म डिप्रेसनलाई कुखुरा, बोका पूजा गरेर बस्ने? हाम्रो समाज अहिले पनि परम्परागत उपचार विधिमा विश्वास गर्छ। कता–कता नजानिदो तरिकाले हामी शिक्षित व्यक्तिहरुमा पनि यसका छिटाहरु रहेका छन्। विश्वास नै उपचारको मुख्य जडि हो। तसर्थ, परम्परागत उपचारको अनुहारै नहेर्ने, शब्दै उच्चारण नगर्ने भन्ने होइन।
उपचारको एक छेउमा यसलाई पनि राख्न सकिन्छ तर अन्धविश्वासमा परेर बस्न भने हुँदैन।
विश्व स्वास्थ्य संघठनले स्वास्थ्यलाई परिभाषित गर्ने क्रममा शारीरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्वका साथ जोडेको छ। तर हाम्रो परिवेशमा हेर्ने हो भने, एकातिर मानसिक समस्या बढ्दै गइरहेको छ भने अर्कातिर हाम्रो समाजले यसलाई 'पुर्व जन्मको पाप' को रुपमा हेर्ने गरेको छ र सकेसम्म रोग लुकाएर बस्ने गरेको अवस्था छ।
नेपाल एक विकासन्मुख राष्ट्र हो। यहाँका नागरिकले दुई छाक भान्सा जोड्नकै निम्ति ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ। धेरै टाढा नगई हाम्रो अहिलेको अवस्थालाई हेर्दा विगत दुई/तीन महिनादेखि विश्वव्यापी माहामारीको रुपमा कोभिड–१९(कोरोना भाइरस) संसारभरी फैलिएको छ भने नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन।
संसारभरीमा लाखभन्दा बढीको ज्यान गएको र नेपालमा पनि संक्रमणको अवस्था रहेको जस्ता कुराहरुले मानिसमा एक किसिमको भय, त्रास सृजना भएको छ। यसले हाम्रा दैनिक जीवनका क्रियाकलापका साथै सामाजिक व्यवहारहरुलाई नराम्रोसँग खलबलाइदिएको छ। सन्तुलित लयमा बहिरहेको हाम्रा शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, प्राविधिक, पर्यावरणीय, सबै पक्षको गतिविधिमा धक्का पुर्याएको छ।
यो परिस्थितिमा महिनौँ दिनसम्म घरभित्रै बस्नु परेको अवस्थाले मान्छेको मानसिकतामा तत्काल पारेको असर एकातिर छ भने अर्कातिर यसले पार्ने पछिल्लो असरको जोखिम पनि उत्तिकै छ। कुनै विपत्ति, माहामारी तथा संकटको अवस्थामा गुज्रेको मानिसहरुमा पछि गएर 'पोष्ट द्रमाटिक स्ट्रेस डिसअर्डर' को समस्या देखिन सक्छ।
त्यसैले यसतर्फ पनि सोच्नुपर्ने हुन्छ। एउटा स्वस्थ सामाजिक व्यवहारको लागि व्यक्ति मानसिक रुपमा स्वस्थ हुनैपर्छ। हाम्रो सन्दर्भलाई हेर्दा दश वर्षसम्म सशस्त्र द्वन्दबाट प्रभावित भएको देश, महाभूकम्पले दिएको पीडाका पराकम्पहरु अझैँ खेपिरहेको देश, हाम्रो सामाजिक संरचना, लैंगिक, जातिय, वर्गीय विभेदले धमिलिएको समाज।
यिनै कुराहरु नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यसँग जोडिएका हुन्छन्। रोग शारीरिक होस् या मानसिक त्यसले गर्ने क्षति आखिर क्षति नै हो। दुवै समस्याले व्यक्तिका सामान्य दिनचर्यामा नराम्रो दख्खल पुर्याउँछ र एउटा उज्यालो संसारबाट पर पुर्याउँछ। हामी अहिले पनि सचेत नभए कहिले हुने?
यसतर्फ राज्यको ध्यानाकर्षण हुन अझैँ कति समय लाग्छ? दिनदिनै आत्महत्या गरेका र साङ्लामा बाँधिएका आफ्ना नागरिकको दुःखद् समाचार पढेर कहिलेसम्म बस्न सक्छ? सविंधानले मौलिक हकको रुपमा व्यवस्था गरेको स्वास्थ्य सम्बन्धी हकको प्रचलनका लागि स्वास्थ्य मन्त्रालयले 'मानसिक रोगीहरुका लागि पुर्नस्थापना कार्यक्रम संचालनका लागि कार्यविधि २०७५' ल्याएको छ।
जसअनुसार मानसिक रोगीहरुको उपचारको लागि मासिक १८ हजारसम्मको खर्च सरकारले व्यहोर्ने भएको छ। यो एउटा सकरात्मक कदम हो। यसले घरभित्र थुनिएका, सडकमा पुगेका धेरै बेवारिसे जीवनहरुलाई नयाँ जीवन दिनेछ, यो सराहनीय कुरा हो। यो सँगसगैँ अझ महत्वपूर्ण कुरा, मानसिक समस्या र यस सम्बन्धी जनचेतना फैलाउनु हो।
रोग लागीसकेपछि त्यसको व्यस्थापन गर्नुभन्दा पनि बेलैमा सचेत हुनु र समस्याको समाधान गर्नु महत्वपूर्ण कुरा हो। पहिलो कुरा त मानसिक स्वास्थ्यको विषय नै हाम्रो सोचाई र जानकारीभन्दा बाहिरको विषय बन्न पुगेको छ। अझ भनौँ शिक्षित व्यक्तिहरुमा पनि यो चेतना एकदमै कम छ। त्यसैले यसबारे जनचेतनाका कार्यक्रमहरु ल्याउन आवश्यक छ।
हामीले द्वन्द पीडित क्षेत्रमा गएर हेर्यौँ भने त्यहाँ 'पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर' (दुखद घटना पछि हुने तनाव), एंजाइटी (चिन्ता), डिप्रेसन जस्ता मानसिक समस्याबाट पीडित व्यक्तिहरु थुप्रै भेटाउन सक्छौँ। द्वन्द पीडित भनेर शारीरिक अपांगता र बाहिरी घाउलाई मात्रै हेरिन्छ, तर मानसिक क्षतिको कुनै हिसाब हुँदैन।
कि त्यसको जिम्मा पनि 'पुर्व जन्मको पाप' लाई लगाइदिने हो? नेपालमा मानसिक स्वास्थ्य सम्बन्धि विस्तृत अध्ययन अनुसन्धान भइनसकेको हुँदा यसको स्थिति बारे ठ्याक्कै यहि संख्यामा छ भन्न नसकेता पनि केही अध्ययनहरुले देखाएअनुसार १५ देखि २० प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ।
आफ्नो स्वास्थ्य प्रति हामी आफैँ सचेत हुनुपर्ने कुरा त छदैँ छ, साथै आफ्ना नागरिकको जीउ-धनको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। देशको एउटा मात्र मानसिक अस्पताल र राजधानीमा निजी स्तरमा संचालन गरेका केही मनोपरामर्श केन्द्रले मात्र यो स्थितिलाई समेट्न सक्दैन।
जसरी सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम अघि सारेको छ, त्यसरी नै एक विद्यालय एक मनोपरामर्शकर्ता र एक स्वास्थ्य चौकी एक मानसिक स्वास्थ्य सम्बन्धीको स्वास्थ्यकर्मी हुनुपर्छ। तत्कालै एकैचोटी यो सम्भव नहुन सक्छ किनकी मानसिक स्वास्थ्य सम्बन्धीको जनशक्ति पनि एकदमै कम छ तसर्थ तिनै कार्यरत नर्स र स्वास्थ्यकर्मीलाई नै तालिम दिएर पठाउन सके धेरै राम्रो हुनेछ।
त्यस्तै सञ्चार माध्यमले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ। विद्यालय तहका पाठ्यक्रममा शारीरिक स्वास्थ्य सगैँ मानसिक स्वास्थ्यका विषयलाई पनि उत्तिकै महत्वका साथ समावेश गरियो भने देशको दुर्गम ठाउँमा पनि पुस्तकका माध्यमबाट चेतना पुग्छ र यसले एउटा छुट्टै महत्व राख्छ।
स्वस्थ, सबल तथा दक्ष नागरिक राज्यका शक्ति हुन्। तसर्थ सरकारी तथा गैरसरकारी तहबाट मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै मानसिक स्वास्थ्य सेवालाई विस्तार गरेर सबैको पहुँचमा पुर्याउने हो भने देशका सबै नागरिकले स्वास्थ्य सम्बन्धी मौलिक हकको मीठो प्रत्याभूती गर्नेछन्। सबैतिर स्वस्थ ज्यान र मीठो मुस्कान सहितका नागरिक भेटिने छन्।
(लेखक मनोविज्ञान विषयमा स्नाकोत्तर अध्ययनरत विद्यार्थी हुन्।)