पेशा एवं जीवनशैलीका आधारमा केही भिन्नता भए पनि साधारणतया प्रत्येक मानिसले दिनको अधिकांश समय अरुसँग संचार गर्नमा व्यतित गर्दछ। यसरी गरिने वार्तालाप वा सहकार्यहरूले शरीर तथा मस्तिष्कलाई बराबर सक्रिय गराउँछ। यसले मानसिक सक्रियता र मनोरञ्जनको आवश्यकता पनि पूर्ति हुन्छ।
अहिले कोभिड १९ को महामारीका कारण नेपाल लगायत संसारका कयौं देश लकडाउनमा छन्। जनता एकान्तवासमा बस्न बाध्य छन्।
एकान्तवास आफैमा हाम्रो दैनिकीभन्दा विपरितजस्तो देखिए पनि हालको अवस्थामा कुनै व्यक्तिले सम्पूर्ण मानवता रक्षाको लागि गर्न सक्ने सबैभन्दा ठूलो योगदान हो। यो कुरा केही समययता विकसित विश्व परिवेश र वैज्ञानिक अवधारणाले प्रष्ट हुन्छ।
यो कुराको बोध सही समयमा हुनु आफैमा एक्लोपना तथा मानसिक चञ्चलता नियन्त्रणको लागि अनिवार्य छ। घरका वयस्कहरुलाई घरमै बस्न र राख्न कठिनाई नभए पनि बच्चाहरुलाई राख्न निकै कठिन छ। वयस्कहरु एकान्तवास बस्न राजी भए पनि उनीहरुको मनले त्यसो गर्न मानेको हुँदैन।
त्यसकारण घरभित्रै बसिरहँदा जो कोहीमा पनि उदासिपना उत्पन्न हुनु स्वभाविक हो। मस्तिष्कमा देखिने विभिन्न परिवर्तन, विशेषगरी भावनाहरू त्यहाँ उत्पन्न रासायनिक पदार्थले नियन्त्रण गर्दछन्।
उदाहरणका लागि मानिसले रुचीकर क्रियाकलाप गर्दा मस्तिष्कमा एन्डोरफिन, डोपामाइन, सेरोटोनिन, ऑक्सीटोसिन लगायतका हर्मोन उत्पादन हुन्छ। त्यसैगरी मानिस असहज परिस्थितिमा हुँदा वा तनावमा हुँदा मस्तिष्कले कोर्टिसोल हर्मोन उत्पादन गर्छ।
सामान्य स्वस्थ व्यक्तिको दिनचर्यामा विभिन्न क्रियाकलापको मिश्रणबाट यी हर्मोनको सन्तुलित मात्रा बन्न गई व्यक्ति स्वस्थ रहन्छ।
कोभिड १९को त्रास, सञ्चार माध्यममा आउने अतिरञ्जित हल्ला र एकान्तवासको कारणले यतिबेला मानसिक स्वास्थ्यलाई उच्चतम विन्दुमा राख्न निकै कठिन देखिन्छ। योसँग सम्बन्धित महत्वपूर्ण प्रश्न यो हो कि, के सामाजिक दुरी कायम राखेर पनि मानिस आफूलाई खुसी र सन्तुलित राख्न सक्छ?
यसको सबैभन्दा वैज्ञानिक उपयोग र वर्णन पूर्वीय सभ्यतामा छ। यी ज्ञानहरु सदीयौंदेखि उपयोगमा पनि थियो। केही लुप्त अवस्थामा रहेको यो विज्ञान हामी सबैले आफ्नो दैनिकीमा समावेश गर्ने उत्तम समय यही हो।
योग तथा आध्यात्मिक विज्ञानसँग सम्बन्धित विभिन्न विषयहरू त प्रचलित छन् नै। म यहाँ मनोरञ्जनको अभिन्न अंग संगीत र त्यसमा पनि विशेषगरी राग संगीतको उपयोगिता, त्यसको चिकित्सकीय पक्ष र व्यवहारिकताको छोटो वर्णन गर्दैछु।
संगीत तथा राग चिकित्सा
यस समयमा शरीर र मस्तिष्क स्वस्थ राख्न केही महत्वपूर्ण उपायहरु जान्नु र आफ्नो दैनिकीमा संलग्न गर्नु अति आवश्यक छ। त्यस्ता उपायमध्ये संगीतको माध्यम सायद धेरैलाई रुचीकर लाग्न सक्छ।
संगीतको इतिहास मानव जत्तिकै पुरानो छ। अझ भनौँ मानवभन्दा पनि पुरानो छ । यसकारण कि, पानी वहावको आवाज, चराचुरुङ्गीको आवाज आदि प्राकृतिक हुन् र ती सबै व्यक्तिका लागि प्रिय हुन्छन्।
मानवले आफ्नो भाषा र विज्ञानको उन्नतिसँगै संगीतलाई पनि परिष्कृत बनाएको छ। त्यस्तो संगीतमा विशेष स्थान पूर्वीय राग संगीतको छ।
पूर्वीय सभ्यतामा संगीतको साधनालाई ईश्वर प्राप्तिको मार्गसम्म पनि जोडिएको छ। ॐलाई ब्राह्माणको नाद भनिएको छ। वेद उपनिषद् अनुसार ईश्वर प्राप्तिपछि व्यक्तिले त्यस ब्रह्मनादको ध्वनी आफैभित्र पनि सुन्न सक्छ।
रागको शाब्दिक अर्थ मनलाई विभिन्न भावमा रङ्ग्याउने अर्थमा बुभिन्छ। अन्य प्रचलित संगीतको मुलमा पनि राग संगीत नै हुन्छ।
शोध तथा नतिजाहरु
अहिले राग संगीत नेपाल, भारतभन्दा पनि विशेषगरी पश्चिमी देशहरुमा निकै प्रचलित छ। यसमा विभिन्न प्रतिष्ठित वैज्ञानिक तथा संस्थाहरुको शोधपत्रहरु पनि उपलब्ध छन्। ती शोधपत्रहरुमा राग विशेष गरी विभिन्न मानसिक समस्या तथा रोगहरुको चिकित्सामा उपयोगी पाइएको छ।
विज्ञहरुका अनुसार राग श्रवणले मानसिक तनाव कम गरी, उच्च रक्तचाप, मधुमेह लगायतका मनोरोगमा विशेष फाइदा पुर्याउन सक्छ। बालबालिकामा यसको श्रवणले सिर्जनात्मक वृद्धि विकास गराउन सक्छ। उमेर बढ्दै जाँदा हुने स्मृति नास (डिमेन्सिया) मा पनि यस चिकित्साको विशेष फाइदा देखिएको छ।
रागमा विशेष गरी ‘आलाप’ र ‘गत’ गरी दुई भाग हुन्छन्। आलापमा सुरुमा मन्द गतिमा र बिना लय र गतमा लययुक्त र तीव्र गतिमा वाद्ययन्त्रहरु बजाइन्छ वा गाइन्छ।
भारतमा भएको एक शोधले राग चिकित्सा प्राप्त गरेका सहभागीहरुले आलाप भागमा शान्ति र शिथिलता महशुस गरेको तथा ‘गत’ भागमा खुसी र उमंग महशुस गरेको बताएका छन्।
राग र रोग
विभिन्न रागको मानसिक भावमा फरक फरक असर हुन सक्छ। जस्तै राग भिमपलासीले चिन्ता (एन्जाइटी) कम गर्छ भने राग मल्हारले मानसिक अस्थिरता कम गर्छ।
विधि
एकान्तवासको समयमा परिवारका सदस्यसँगै बसी दिनमा दुई पटक यी रागहरु श्रवण गरेमा अधिकतम प्रभाव महसुस गर्न सकिनेछ। राग श्रवणपूर्व मलमुत्र त्याग गरी, शान्त भई, आँखा बन्द गरी ध्यान मुद्रामा बस्नु पर्छ।
आयुर्वेदका अनुसार दिनको विभिन्न भागमा शरीरको त्रिदोष वात, पित्त तथा कफको विभिन्न मात्रा हुने भएकोले समय अनुसार दोषमा उचित प्रभाव पार्ने रागको श्रवण गर्न सकिन्छ। जस्तै राग अहिर भैरव, राग ललित प्रातः कालमा, राग शुद्ध सारङ्ग, राग वृन्दाबनी सारङ्ग मध्यान्न कालमा तथा राग यमन, राग शंकरा बेलुकीमा श्रवण गर्दा लाभदायक हुन्छ।
बजार तथा अनलाइन पोर्टलहरूमा रागको विभिन्न सामाग्रीहरू उपलब्ध छन्। ती मध्य केही निःशुल्क श्रवण गर्न सकिन्छ भने केही खरिद गरेर त्यसको सहायताले घरमै बसी बसी श्रवण विधि अभ्यास गर्न सकिन्छ ।
अन्त्यमा,
यस एकान्तवासको समयमा सकारात्मक उर्जा सिजना गर्ने कुनै पनि क्रियाकलाप गर्दा फाइदा नै हुन्छ। त्यसमा इन्डोर खेलहरू खेल्ने, गीत गाउने, बाजा बजाउने, परिवारका सदस्यहरुसँग कुरा गर्ने, प्राणायाम ध्यान गर्ने र सात्विक, सुपाच्य आहार सेवन गर्ने पर्दछन्।
संगीत मानिसको उच्चतम मस्तिष्कीय चेतना, अनुभुति र अभिव्यक्तिको एक ज्वलन्त माध्यम हो। यस मुस्किल घडीमा बच्चा, वृद्ध तथा सम्पुर्ण वयस्कहरुले यसको श्रवण गर्ने अभ्यास गर्नुपर्छ। यदी कोही यस प्रक्रियामा अभ्यस्त भएमा ती व्यक्तिका लागि जीवनमा एउटा प्रिय आयाम थपिएको महसुस हुने छ।
(लेखक भारतमा मनोविज्ञान एवं मानसरोग विषयमा स्नातकोत्तर अध्ययन गर्दैछन्)