सानोमा मलाई जब ज्वरो आएर बुवा आफ्नो काँधमा बोकी अस्पताल लानुहुन्थ्यो, मेरो १०४ डिग्रीको ज्वरो डाक्टर अंकलले छोएपछि निको भएको आभास हुन्थ्यो।
३,४ कक्षा पढ्दादेखि नै बुवाले मलाई उपदेश दिइरहनु हुन्थ्यो।
बाबु सेवा नै ठूलो धर्म हो, अरूको सेवामा समर्पित हुँदा जुन आनन्दको अनुभूति हुन्छ त्यो अरु कुनै काम गरेर हुँदैन, बाबु पढेर असल डाक्टर बन्नुपर्छ भनेर सिकारहँदा मेरो बाल मस्तिष्कमा डाक्टर बन्ने सपनाको विक्षारोपण भैसकेको थियो।
जब अस्पतामा कोही डाक्टरलाई देख्थें,एकटकले हेरिरहन्थें। अरूलाई फिल्मको हिरो हिरो लाग्थ्यो तर मलाई ती अस्पतालका डाक्टर हिरो लाग्थें।
डाक्टरको जस्तो घडी, लुगा लाउन मन लाग्थ्यो, त्यस्तै कपाल बनाउँथें। उनीहरूकै रहनसहन सबै ख्याल गरी सानैबाट उनीहरूको नक्कल गर्थें।
जब स्कुलमा कसैले बाबु ठूलो भएपछि के बन्ने?, भनेर सोध्नु हुन्थ्यो।
म सास नफेरी, केही नसोची डाक्टर बन्ने भनेर आफ्नो लक्ष्य तय गरिसकेको थिएँ। परीक्षाबारे निबन्ध एक पाना पनि अल्छी गरेर लेख्ने म म जब जीवनको लक्ष्यबारे निबन्ध आउँथ्यो तब म डाक्टर बन्ने सपना कापी थपी थपी लेख्ने गर्थें। उठ्दा, बस्दा र सपनामा समेत आला घाँटीमा बेरी बिरामीको सेवा गरेको देख्ने गर्थें।
अरूलाई फिल्मको हिरो जस्तो हुनु थियो भने मलाई सानैबाट सेतो कोट लगाई अरूको ज्यान बचाउने हिरो बन्नु थियो।
भगवानको कृपा, गुरुको मार्गदर्शन, बुबाआमाको साथ,स्नेह र उचित रेखदेखले आज म सानैबाट कल्पिएको डाक्टर बन्ने लक्ष्य पछ्याउँदै यही विषय पढ्ने अवसर पाएको छु।
अहिले विश्वभरि कोरोनाको महामारी भरहँदा यो घटनाक्रमबाट नयाँ कुरा सिक्ने मौका पाएको छु।
मेरो बाल मस्तिष्कले कल्पना गरेको डाक्टर फिल्मी हिरोभन्दा अझै महान् रहेछन्। अहिले सारा विश्व ठप्प छ, जब हामी घर बस्दा त डराई-डराई बसिरहेका छौं भने उनीहरू नि:स्वार्थ मानव सेवाका निम्ति निडर रूपमा लडी रहेका छन्।
हामीलाई जस्तै उनीहरूलाई पनि घरपरिवारसँग बस्न, आफ्नो आमाबुवा, छोरा छोरीलाई समय दिन, सँगै खेल्ने मन होला नि! डाक्टर भनेर कोरोना नलाग्ने त हुँदैन होला?
उनीहरूलाई पनि हामीहरूलाई जस्तै कोरोनाको त्रासले सताइ राख्दो हो। हामी विद्यार्थी छुट्टीमा घर आएजस्तै उनीहरूकी आमा पनि मेरो छोराछोरी कहिले घर आउलान् भनी कुरिरहेकी होलिन्, मेरा छोराछोरी यस्तो महान् काममा जुटिरहेका छन् भनी आमालाई गर्व हुँदो हो। सँगसँगै आमाबुवाको मन न हो यस्तो महामारीमा आफ्ना सन्तानको पीरले मन बिथोलिँदो हो।
सारा माया ममतालाई त्यागी अरूको ज्यान बचाउन हिँडेका यी मानव मात्र नभई महामानव हुन्।
जब कुनै युद्ध हुन्छ चाहे त्यो जित होस् य़ा हार एक मानवले अर्को मानवलाई क्षति पुर्याउँछन्, डाक्टरहरू पनि अहिले युद्ध गरिरहेका छन् तर कुनै मानवलाई परास्त गर्न होइन,उनीहरू सम्पूर्ण मानव जातिका निम्ति युद्ध गरिरहेका छन्। यो युद्ध कुनै भूभाग, आत्मा-सम्मान वा केही कुराका लागि गरिएको होइन यो त मानवता बचाउन गरिएको युद्ध हो।
यस्ता साहसी बहादुर योद्धालाई मेरो सलाम। जब यस्तो देख्छु म भगवान नमान्ने नास्तिक पनि असली भगवान त यी डाक्टर पो रहेछन् भनी आस्थिक हुन्छु।| मन्दिर , मस्जिद , चर्च ,गुम्बामा नभेटिएको भगवान सेतो कोट लगाई बिरामीको सेवा गरेको भेटाउँछु।
यस्तो चोखो पेसामा आबद्ध हुँदा छाती गर्वले फुलिँदो हो, घर परिवारको शिर इज्जतले माथि हुँदो हो।
आज नि:स्वार्थ भावले सम्पूर्ण मानव जातिका रक्षानिम्ति आफ्नो प्राण हत्केलामा राखी एउटा बहादुर योद्धा पनि लडिरहेका, बिरामी भए अस्पताल आउन जोखिम हुन सक्छ भनि फोबाट भए पनि मद्धत गरिरहेका, आफ्नो मात्र नभई आफ्नो घर परिवारको पनि वास्ता नगरी यस समस्यासँग जुध्न तैनाथ रूपमा खटिएका इन्टर्न, मेडिकल अफसिर, रेसिडन्ट,कन्सल्टेन्ट,नर्स,स्वास्थ्यकर्मीलगायत सम्पूर्णमा मेरो नमन।
आज हजुरहरू खटिरहनु भएको छ र त हामीहरू घरमा बसेर रातको सास फेरि रहेका छौं।
(लेखक धुलिखेल अस्पतालमा एमबिबिएस तेस्रो वर्षमा अध्ययरत छन्)