पोका पन्तुरा बाँधेर कोठाबाट निस्कँदा आङ सिरिंग भयो, नेपालबाट आएको आठ महिनामात्रै भएकाले खासै सामान थिएनन्,म ढुंगातुल्य भएको बेला झोलाझाम्टा बोकिदिन आएका साथी नि:शब्द भई सान्त्वना दिँदै थिए।
सरसामान गाडीमा राखेर मलाई सहारा दिन आउँदासम्म मैले बोल्ने शब्द पाइनँ। अरु साथीभाइ सबेरै काममा जानुपर्ने भएकोले मैले हिजै राति बिदा मागिसकेको थिएँ।
कम्पनीको गाडीमा विमानस्थल जाँदै गर्दा यो अरब भूमिलाई हेरिराख्न मन लाग्यो, मोबाइल फोनको क्यामराले भिडिओ कैद गर्दै गएँ।
केही न केहीको उजाड मरुभूमिमा उम्रिँदै गरेको सम्पन्नतालाई देखेर आफ्ना ती निर्धा हरिया पाखापखेरा सम्झेँ।
विगत दुई महिनादेखि थलिएको शरीरलाई पर्साउँदै आडिलो बनाएँ। अध्यागमनको औपचारिकता सकाएर उनले मलाई ह्विलचेयरमा चढाइदियो। बैसाखीलाई ह्विलचेयरको छेउमा अड्याएर कम्मरमा बाँधिराखेको सानो झोलामा राहदानी राखेँ। दुर्घटनाको खबर र क्षतिपूर्तिवापतको छ महिनाको तलब पहिले नै घरमा पुगिसकेको थियो, यो मुढो शरीर आज उडान भर्दैछ।
दसैंको मुखमा घर जान लागेकाहरूका चम्किला मुहारहरूले मेरा आँखा खाए, त्यसैले आँखा चिम्लिएर उडान समय काट्ने निधो गरेँ।
आँखा चिम्लिए पनि दृश्य कहाँ बन्द हुन सक्छन् र? जन्मेर हुर्केको विकट गाउँ, कच्ची भवन र थोत्रा फर्निचर भएको विद्यालय, उच्चमाध्यमिकतहको पढाइ गर्दाको त्यो घण्टौं हिँडेर पुगिने बेंशीसहर, उन्नाइस वर्षको उमेरमा छिरेको झिलिमिली राजधानी,अनि देश छोड्दा ढोगेको हिमशृङ्खला–सबै अगाडि आउन थाले।
बीस वर्ष हुँदाको तन्नेरी उत्साहमा के के न गरौंला भन्ने थियो तर न पल्टने हुन सकियो, न छात्रवृत्तिमा उच्च शिक्षा लिन पाइयो! बाहुन वंशमा जन्मँदैमा शिक्षा र अवसर सजिलै आएनन्।
मासिक पैंतीस हजारको कमाइका लागि ऋण काटेर, म्यानपावर कम्पनी धाएर, घरपरिवार बिरानो बनाई आफ्नो मूल छोड्नै पर्यो।
खाडी आएका सबै जीवन रहरका लहडले उडाएर आएका छैनन्, धेरैलाई बाध्यताले घिसारेर पनि ल्याएको छ।
गरिब देशको निम्न खानपानमा हुर्केकोले होला, जरो खासै बलियो थिएन। खाडीको घाम र पेलिँदो काम थेग्न निकै हिम्मत निकाल्नुपर्यो। सँगैका साथीभाइ पक्ल्याक पक्ल्याक ढल्थे, तै मुटु दह्रै बनाएको थिएँ।
सुरूका महिनामा पठाएको पैसाले केही ऋण घटायो, केही खुसी बढायो,अनि परिवारका केही रहर पलाए। तर आगोको भुग्रोबाट सुनौला रङ बटुल्दै, त्यसबाट सुनका कण बटुल्ने परिकल्पना साकार हुन सकेन।
जीवनस्तर उकास्ने मेरा सपना मीठो निद्रामा बुनिएको योजना थिएन: देश,काल र परिस्थितिको भूमरीले बढार्दा आत्तिँदै कोरेका खेस्रामात्र थिए।
त्यही खेस्रा कागजको मेरो कुण्डली पनि च्यातियो। खाडीमा होमिएको आठौं महिनामा गगनचुम्बी भवन निर्माणका क्रममा डोरी चुँडिएर म लडेँ,करिब तीनसय फिटको उचाइबाट म पछारिएँ।
शरीरका अरु अंग त उपचार क्रममा जोगिए तर दुवै खुट्टा घुँडामुनि काटिए। दुई हप्तासम्म बेहोस भएर आँखा खोल्दा, ब्यूँझिन मन लागेन, मृत्यु जितेर श्वास अनुभव गर्दा जिउँदो छु भनेर पत्याउने आँट भएन। बौरिँदै गर्दा घरिघरि म तर्सिन्थेँ, गुमेका ती गोडा छाम्दै रुन्थेँ।
बल छँदासम्म जोत्न ल्याएको श्रमिकलाई काम गर्न नसक्ने भएपछि कसले किन पो पालेर राख्थ्यो र !
आफ्नै माटोको सिँचाइ नपुगेर परदेशिएका हामीलाई यो बिरानो मरुभूमिले किन दया गरिराख्थ्यो र! आफ्नै जन्मभूमिमा समानअधिकार पाउनबाट वञ्चित हामी निरीह प्राणीलाई सम्पन्नताको मातमा लट्ठिएको कर्मभूमिले के न्याय दिन्थ्यो र!
शैसवकालका केही वर्षबाहेक जीवनमा मानव–मानवबीचको सम्बन्ध हरहिसाब र लेनदेनकै तराजुमा उभिएको हुँदो रहेछ। एकार्कालाई दिने लाभ, सुविधा, व्यवहार या सम्मान या भावनात्मक आश्रयले हरेक नाता अगाडि बढ्दो रहेछ।
युवावस्थामै अपांग भएको मेरो जीवनमा गाँसिने सम्बन्धहरू पक्कै पनि सामान्य हुन सक्ने छैनन्। विदेशिने भएपछि किशोरावस्थामा उम्रिएको पिरती मासिने डरले टीकाटाला गरेर भित्र्याएको थिएँ, तर ती अर्धाङ्गिनीलाई एउटा श्रीमाने दिने सुख केही दिन नसक्ने भएँ। नारीको आधी अंश उनका पति हुन्छन् रे!
तर मेरो यो असहाय जुनीले उनका एक हर पक्षघात गराइदियो। कल्कलाउँदो जवानी, असीमित चाहनाका वेग,अनि मातृत्वको चाहनालाई मैले न्याय गर्न सक्ने छैन। जन्मदिने बाबुआमाको बुढेसकालको सहारा बन्नुपर्ने बेलामा तल–माथि गर्न समेत उनीहरूकै भर पर्नुपर्नेछ।
‘बाख्राको पुच्छर खाएजस्तो कति डुलिहिँड्छ’भनेर गनगन गर्ने मेरी आमा अब चौबिसै घण्टा मलाई आँगनीमा देख्दा सुँक्क–सुँक्क रुनेछिन्।
आफूसरहका दौंतरीहरूले प्रगतिका माला बुन्दा म एउटा कुनामा बसेर कुण्ठाको सिरानी च्यापेर विक्षिप्त हुनेछु।
यी मेरा गोडाले सधैं मेरो साथ दिए। हिँडाए, दौडाए, सतर्क भएर उभिन सिकाए तर अभिमान जताएनन्। मैले एकपटक कृतज्ञता जनाउनुअघि नै मबाट छुट्टिएर गइदिए।
मलाई यतिका समयसम्म मेरो इच्छाअनुसार घुमाइरहेको यो शरीरलाई आज बैसाखीको सहारामा बोक्न मलाई मुश्किल छ।
यही विमान चढेर काठमाडौं छोड्दा वियोगको आँसु रोएको थिएँ, आज फर्कंदै गर्दा त्यही घर परिवारलाई कसरी भेट्ने भन्ने डरले रुँदैछु।
हिजो परिवारसँग छुट्टिँदा मन पोलेको थियो तर आज त्यही आफ्नाहरूबीच मिसिन जान आत्मा काँप्दैछ। टालेको जुत्ता लगाएर परदेशिँदा मीठा सम्झना र रंगीन सपनाहरू साथ थिए तर आज फर्कंदा पीडा र विवशतामात्रै छन्। यी गोडा काटिँदैमा जीवनका पाइला काटिन्नन् भन्छन् तर यिनीहरू नहुँदा कहीँ जाने कुनै बाटो देख्न सकिनँ।
आधारभूत आवश्यकताको सुनिश्चिततामात्र हुँदो हो भने मजस्ता लाखौं युवा विदेशिने थिएनन्।
भिराला पहाड खोपेर बसेका हामीले आफ्नै माटोमा गाँस उमार्न सकेका भए उम्लिँदो ज्वालामुखीमा होमिनुपर्ने थिएन। प्रजातन्त्र आयो, गणतन्त्र आयो,शासक फेरिए पनि शासन प्रणाली फेरिन सकेन। हिजोका दिनमा रेडियोमा घन्किने ‘कोही त भने जहाजमा सरर, कोही त भने पसिना तरर..हाम्रो नेपालमा’बोलीको गीत आज पनि मजस्ता आम नेपालीको मनमा घन्किन्छ।
चाडवाडको मौकामा सपरिवार अरबको विकास हेर्न आउने नेपाली पर्यटकहरूले डलर छर्दै हिँड्दा विकासका केही सूत्रमा ध्यान दिन सके हुन्थ्यो।
दैनिक १६ घण्टा काममा खटिने श्रमिकको पसिना सम्झिएर नीतिनियम बनाउने जिम्मेवार पक्षले दीर्घकालीन योजना बनाउन सके हुन्थ्यो।
अरबको श्रमले देशमा पैसा मात्रै भित्रिएको छैन, हीनताबोध र उदासिनता पनि भित्रिएको छ। गाँस र बासका लागि युवावर्ग लाहुरे हुँदा देशले ठूलो मूल्य तिर्नुपर्ने हुन्छ।
केही दिनको आर्थिक सहजताले कालान्तरमा सम्पूर्ण देशको सामाजिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक धरातललाई क्षतविक्षप्त पारिदिन्छ।
केही ठोस निर्णय नलिई, केही साल दुःख नकाटी देश बन्दैन। राष्ट्रले जनतामाथिको जिम्मेवारी पन्छाउँदा जनमानसबाट राज्यव्यवस्था र राष्ट्रियता पन्छिन सक्छ। केहीबेरको तातोका लागि घरका दलिन भाँच्दै बालेमा एक दिन घर नै ढल्छ।
म जस्तो अबुझ, असहाय व्यक्तिले धेरै सोच्दैमा खै के परिवर्तन होला र! खुट्टा गुमाए पनि बैसाखी टेक्न धर्ती खोज्दैछु। मेरो आफ्नो माटोले मलाई यही रूपमा पनि स्वीकार्ला, घस्रिएरै भए पनि त्यही पाखापखेरा खोस्रौंला, मीठो नउम्रे पिठो नै खाएर भए पनि बाँचौंला।
जिन्दगी जिउन नजान्दै निष्ठुरी भइदियो तर त्यही निष्ठुरी जिन्दगीलाई अपार माया दिएर च्यापी राखौंला। एक चौथाइ भोगाइले हतास बनाए पनि आगामी दिनले मलाई अत्यास पार्न सक्ने छैन। पीडा,निराशा र मृत्युलाई हात मिलाएर फर्किएकाले अबका चोटले गाल्न सक्नेछैन। शान्त भएर फेरि एकपटक अगाडि बढ्छु, संघर्षकै नाम जिन्दगी रहेछ भने पनि एकपटक अझै यो लडाइँ लड्छु।