नेपाल एक प्राकृतिक सुन्दरताले भरिएको तथा विकास उन्मुख देशको रूपमा परिचित छ। विगतको तुलनामा नेपाल द्रुतगतिमा आफ्नो विकास योजना तथा निर्माणको खुड्किला उक्लने क्रममा छ। ढिलो चाँडो हरेक क्षेत्रमा विकासका कामहरूलाई समेटिएर प्रगतिको बाटोमा अग्रसर रहेको छ।
हालैमात्र २०७५ फागुन १ गतेका दिनबाट प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर सञ्चालनमा रहेको छ।
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ अनुसार प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमता अनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको हो।
यसै ऐन अन्तर्गत प्रत्येक नागरिकलाई रोजगारी पाउने अधिकार एक मौलिक हकको रूपमा घोषित गरिएको छ र आफ्नो योग्यता र क्षमता अनुसार स्वेच्छाले रोजगार गर्न पाउने व्यवस्था उल्लेखित छ। यसै कार्यक्रम अनुसार २०७५/२०७६ को नारा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ रहेको छ।
सर्वप्रथम त हरेक व्यक्तिमा काम गर्ने इच्छा शक्ति, क्षमता, दक्षता हुँदाहुँदै पनि उचित मूल्यांकन तथा देशमा अवसर नहुँदा हरेक दिन विदेशको भूमिमा चरम श्रमशोषण खेप्नुपर्ने अवस्था रहेको छ।
१८–५९ उमेर समूहका युवाजनशक्ति देशका कर्णधार एवं देशको सम्पत्ति भन्दा फरक पर्दैन। यो उमेर समूहको युवा जनशक्ति देश विकासमा परिचालन गर्न सके देशले निकै ठूलो फड्को मार्न सक्ने आशा गर्न साकिन्छ।
काम कुनै पनि ठूलो सानो भनेर वर्गीकरण गारिएको हुँदैन तर हाम्रो समाजमा अझै पनि एउटा वर्गले अर्को वर्गको खुट्टा तानातान गर्ने र कामलाई निचो देखाउने चलन हावी छ।
एउटा गरिब किसानको छोरा केही गर्छु भन्ने आत्मबलले अगाडि बढ्न खोज्दा हाम्रै समाजमा रहेका धनी भन्ने भनाउँदाहरूबाट नै अपमानित हुने अवस्था रहेको छ।
कामलाई सम्मान गर्ने परिपाटी हाम्रोमा विकास नभएसम्म आशातित नतिजा कठिन हुने देखिन्छ।
नेपाल सरकारले देशभर अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिब, एकल महिला, शहीद परिवार, बेरोजगार र निम्न आय वर्ग भएका व्यक्तिहरूलाई लक्षित गरेर, उनीहरुको स्तरोन्नति तथा जीवनयापनलाई केही राहतको रूपमा यस कार्यक्रमको प्रारम्भ गरिएको छ।
यो कार्यक्रम अहिले जनमानसमा उत्साह एवं चासोको रूपमा लिइएको छ।
यो कार्यक्रमलाइ देशमा व्यापक बेरोजगार न्यूनीकरण गर्ने आशाको दियोको रूपमा लिन साकिन्छ।
देख्न र भन्नलाई सजिलो कुरा छ ‘सरकारी काम’ तर वास्तवमा सोचेको जस्तो सजिलो हुँदैन कुनै पनि काम।
विश्वभर विभिन्न मुलुकहरू आज सम्वृद्ध एवं आर्थिक रूपमा नै सम्पन्नशाली बनिसकेका छन्। काम नगरी कोही पनि यतिकै सम्पन्नशाली बन्दैन।
विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले सजिलै कुर्सीमा बसीबसी जागिर खान्छन् भन्ने मानसिकतालाई त्यागेर अगाडि बढ्नु उचित देखिन्छ। बढ्दो कामको चाप, सेवाग्राहीको माग अनुसार कामको भार एवं उचित समयमा काम सकाउनु पर्ने जस्ता विभिन्न चुनौतीका सामना गरिरहेका हुन्छन् ।
हामी सबैलाई अवगत नै छ, केही राम्रो काम गर्न खोज्दा चुनौतीको सामना गर्न अपरिहार्य हुन्छ। उदाहरण कै रूपमा हेर्दा अहिले यो प्रधानमन्त्री रोजगार कार्यक्रमको कतिपय मानिसहरूले आलोचना सामाजिक सञ्जालहरूमा गरेको देखिन्छ । जस्तै: हो, अहिले काठमाडौंलगायत विभिन्न जिल्लाहरूमा रोजगारको नाममा मकै गोड्ने, मकै भाँच्ने, बाँदर लगायत अन्य गाईवस्तु धपाउने मात्र भनेर प्रधानमन्त्री रोजगार कार्यक्रमको मर्म नबुझी नकारात्मक टीका/टिप्पणीहरू आइरहेको पाइन्छ। कतै यस्ता नकारात्मक हल्लाहरू फिँजाएर देशको ढुकुटी रित्ताउने भनेर हाम्रो कार्यक्रम असफल बनाउन खोजिएको त हैन? सबै नागरिक जागरूक हुन जरुरी छ।
गलत कामको आलोचना हुनुपर्छ, यसमा कसैको दुई मत छैन तर आम सचेत सामाजिक सन्जाल प्रयोग गर्ने जनमानसले सबै कुरा बुझेरमात्र सूचना प्रवाह गर्नु पर्छ। होइन भने यस्ता प्रकारका गलत र नकारात्मक सूचनाले सिंगो समाज र देशलाई दूरगामी असर पार्न सक्छ।
कडा मेहेनत, लगनशीलता र भावी योजनाका साथ यो कार्यक्रम अहिले छोटो समयमा नै देशको कुना काप्चामा छरिएका बेरोजगार र विदेश पलायन हुन लागेका व्यक्तिहरूको पहिचान गर्ने लक्ष्यले देशभर अभियानको रूपमा चलाइएको छ।
ठूलो संख्यामा अध्ययन वा अन्य रोजगारीको शिलशिलामा विदेशिएका नेपालीहरूले आफूले आर्जन गरेको शिक्षा, सीप, ज्ञान एवं दक्षताले विश्वसामु नेपाललाई चिनाउन सफल भएका छन्। उच्च प्रतिस्पर्धाको बाबजुद अहिले धेरै शिक्षित एवं दक्ष जनशक्ति उत्पादन भई नै रहेका छन् र बढ्दो क्रममा छन् तर बिडम्बना यस्ता जनशक्ति अधिकांश बेरोजगार बस्नु परेको अवस्था छ। यसले गर्दा देशको आर्थिक समृद्धि र विकास निर्माणको कार्यमा ह्रास पुग्ने देखिन्छ। त्यसैले हामी सबै आ–आफ्नो ठाउँबाट जुटेर यो देश निर्माणमा यस्ता कार्यक्रमको एजेन्डालाई सफल पारौं।
र अन्तिममा; सरकारका राम्रा काममा सबैले सहयोग गरेर, खेर योग्य जमिनमा मौसम र माटो अनुसारको बाली लगाएर, देशमा विभिन्न कलकारखानाहरूको निर्माण र सञ्चालन गरेर, विभिन्न रोजगारका सम्भावनाको खोजी गरेर, देशमा रहेका युवा जनशक्तिलाई उत्पादन मुलक काममा खटाएर बेरोजगारीलाई न्यूनीकरण गरी देशलाई आर्थिक उन्नतिको बाटोमा लम्काउन सकिन्छ।
त्यसैले म त भन्छु आजैबाट नकारात्मक सोच त्यागेर सकारात्मक भएर देश विकासमा जुटौं। हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?