‘केदार सर इज नो मोर विथ अस डा.अजय’
यो मेसेज मेरो मोबाइलमा आउँदा २ घण्टाअघि मात्र क्रिटिकल कण्डिसन भन्ने मेसेजले बिथोलिएको मेरो मन एक्कासी उद्वेलित हुनपुग्यो।
ओहो! तीन दिन अघिको त्यो छोटो भेट, साथमा खाएको लञ्च अनि मेरो प्रस्तुति पछिको उहाँको कमेन्ट.....के थाहा मलाई? त्यो नै हाम्रो अन्तिम भेट, अन्तिम छलफल हुनेरहेछ भनेर?
कस्तो निर्दयी नियम प्रकृतिको? कुन भेट अन्तिम, कुन छलफल अन्तिम, या कुन समयसम्मलाई चार्ज भएको छ हाम्रो प्राणरूपी ब्याट्री, त्यो थाहा नहुने! कस्तो क्रुर हाम्रो नियति?
थाहा छैन मलाई, जाने मान्छेलाई पनि ज्ञात हुन्छ होला कि नहोला आफ्नो अन्तिम समयका बारेमा। २०७५ को अन्तिम दिन मात्र मैले गरेको आर्टिकल सब्मिशन पछि ‘कङ्य्राचुलेशन डा. अजय’ भनेर इमेल पठाउने केदार सरलाई पनि थाहा थियो होला र २०७६ को दोस्रो दिन नै उहाँको जीवनको अन्तिम दिन हुनेछ भनेर?
परिवारसँग त्यत्ति रमाइलो गरी नव वर्ष मनाउनुभएका उहाँलाई भोलिपल्ट नै यस धर्तीलाई छोड्दैछु भन्ने ज्ञात थियो होला र?
केदार सर अर्थात् डा.केदार मानन्धर, हाम्रा सहकर्मी, हाम्रो मेडिकल स्कूलका कम्यूनिटी मेडिसिन एवं पब्लिक हेल्थका आदरणीय गुरू! रिसर्चका हस्ती, विद्यार्थी अनिफ्याकल्टीहरुकै पनिप्रपोजल, थेसिस, रिसर्च पेपर सबैमा अत्यावश्यक तथ्यांक एनेलाइसिसका मियो।
उहाँको सटीक कमेन्ट या उहाँको अप्रुभल नभई कुनै पनिरिसर्ज प्रोजेक्ट अगाडि बढ्ने आँट गर्दैन हाम्रो संस्थामा। यस्तो महत्वपूर्ण स्थान उहाँको रिसर्च क्षेत्रमा।
डा.केदार ! मेरो पि.एच्.डी. प्रोजेक्टका साथी/सहयात्री! उमेरले उहाँ मभन्दा दशकैले नै जेठा तर पनि अत्यन्त मित्रवत् हर्दम नै, सम्मान भावमा कदापि फरक नदेखाउने, अत्यन्त सरल व्यक्तित्व!
उहाँको धुलिखेल अस्पतालसँगको संलग्नता करिब डेढ दशकअघि देखिकै भएता पनि स्वास्थ्य अनुसन्धानको क्षेत्रमा हामी दुईको सहयात्रा करीब ८ वर्ष अघिदेखि, अर्थात् सन् २०११ देखिको हो।
पब्लिक हेल्थका अनुभवी शिक्षक उहाँ, म मनोचिकित्सा क्षेत्रमा भर्खरै बामे सर्न थालेको डाक्टर। हामी दुईको सहकार्य अत्यन्त सफल भएको पनि हो। ‘टाउको दुख्ने समस्या’ का प्राथमिक कारक रोगहरु माइग्रेन र टेन्सन टाइप हेडेक अनि मानसिक समस्याहरुमध्येका असमर्थताका प्रमुख कारकहरु एङ्गजाइटी र डिप्रेसनको देशव्यापी सर्भेक्षण हाम्रो अनुसन्धान कार्यको प्रमुख उद्देश्य।
काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस र नर्वेजियन यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा भएको हाम्रो प्राज्ञिक अध्ययन। माथि उल्लेखित रोगहरुको राष्ट्रिय आँकडा, तीबीचका अन्तर्सम्बन्ध अनि तिनले हाम्रो शारीरिक, सामाजिक अनि आर्थिक जीवनमा थपेको भार सबैको अनुसन्धान गर्न सफल भयौं हामी दुई।
यसबीचमा झाँगिदै गएको हाम्रो मित्रता एवं भ्रातृत्वको सम्बन्ध अझै विकसित हुने क्रममा नै थियो। कति कति योजना बनेका थिए, कस्ता कस्ता छलफल हुँदै थिए। कति रिसर्च पेपरका पाण्डुलिपि तयार भएका थिए ल्यापटपमा अनि कागजमै पनि। कति अझै पनि दिमागी तहमै थिए।
तर, ती सबै अधुरो, अपूरो नै छोडेर कहिल्यै नफर्कने यात्रामा जानुभो केदार सर।
अझै पनि म सम्झन्छु झलझली, नर्वेका प्रोफेसर आर होलनले रिसर्च प्रोपोजलको योजना ल्याउँदा कति खुशी हुनुभएको थियो उहाँ? म भने भर्खरै एम.डी. सकेर मनोचिकित्साको क्षेत्रमा धुलिखेल अस्पतालको उजाड ओपिडीमा बिरामीहरु बढाउने प्रयत्नमै थिएँ।
मेरो आशा ‘ओपिडी बिरामी बढाउने, मानसिक वार्डको बिस्तार गर्ने, मानसिक रोगहरुको लोकलज्जा निवारणार्थ पत्रपत्रिकाहरुमा लेखहरु लेख्ने’ मात्र थियो त्यो बेला।
प्रमोशनका लागि जानी–नजानी रिसर्च पेपरहरु तयार गरेको थिएँ अस्पतालकै आँकडाहरु प्रयोग गरेर। राष्ट्रव्यापी अनुसन्धानको त्यो योजना मेरो कल्पनाभन्दा धेरै नै माथि थियो। तर, केदार सरको उत्साह, हौसला, ढाडस पाएपछि म पनि हौसिएँ अनि होमिएँ राष्ट्रव्यापी सर्भेक्षण कार्यमा।
अनि प्रोफेसर आर होलन, प्रोफेसर माटियास लिण्डे, प्रोफेसर टीम स्टाइनर र धुलिखेल अस्पतालका निर्देशक डा. राजेन्द्र कोजू, सबैको सल्लाह–सुझाव मनन गरेर डट्यौं हामी रिसर्चमा।
४ वर्ष (२०१३–१६) मा ८ पेपर निकाल्न सफल पनि भयौं हामी, दुवैले पि.एच्.डी. पनि सक्यौं सन् २०१७ मा, राष्ट्रपतिबाट नेपाल विद्या भूषण पनि सँगसँगै नै लियौं पोहोर साल।
सन् २०११–१२ तिर अस्पतालमा नै हाम्रा अनुसन्धान सामाग्रीहरु, मुख्यतः प्रश्नावली अनि मानसिक स्वास्थ्यसम्बन्धि स्केलहरु ह्याड्सको नेपाली रूपान्तरण अनि परीक्षणमा हामी दुवै लाग्दा म ठान्दथेँ हामी दुई त एक अर्काका परिपूरक नै पो हौं कि?
भाषागत एवं विषयगत क्षेत्रमा मैले केदार सरलाई अनि तथ्यांकगत एवं अनुसन्धानात्मक विज्ञतामा केदार सरले मलाई समेटिरहनुभएको छ। र हामी दुई मिलेपछि जे पनि सम्भव र सफल हुँदोरहेछ भन्ने मलाई लागेको थियो, लागिरहेछ अझै पनि तर उहाँ त धेरै नै टाढा अप्राप्य भइसक्नुभो अब त!
सन् २०१३ मा काभ्रेका तीन स्थानमा भएको प्रि–पाइलट स्टडी, नर्वेमा सन् २०१४ को पहिलो ६ महिना अनि २०१५ को अन्तिम ६ महिनाको हाम्रो बसोबास, स्वदेशमा पश्चिम बैतडी, धनगढी, दाङ, लुम्बिनी अनि पूर्व झापा एवं रौतहट अनि विदेशका डेनमार्क, स्पेन, स्कटल्याण्ड, दिल्ली आदिमा हाम्रो सहयात्रा, सबै अझै पनि टेलिभिजनका स्क्रीनमा झैं मेरा आँखा अगाडि नाचिरहेका छन्।
हरे ! कसरी यस्तो अप्रत्याशित रुपमा जानुभयो केदार सर?
खाना बनाउन नजान्ने हामी दुवै जना, परिवारमा अझैसम्म पनि भान्साको/घरायसी काम त्यत्तिसारो गर्न नपरेको दुवैलाई। नर्वेको नयाँ स्थान, नयाँ परिवेशमा कसरी खाना बनाइएको थियो, कसरी वासिङ मेसिनमा राखेर कपडा सफा गरिएको थियो।
सिक्दै सिकाउँदै कसरी पार लगाइएको थियो सबै व्यवधानहरु। भूकम्पको आलो घाउ बोकेर गरिएको स्कटल्याण्डको कन्फेरेन्स एटेण्ड!
उहाँसँग सिकिएका तथ्यांकका आधारभूत ज्ञान जीवनैभर मलाई रिसर्च कार्यमा सहायक भई नै रहन्छन्। निरन्तर अध्ययन, कठोर मिहिनेत, तपस्याजस्तो उहाँका साधना जीवनैभर मेरा लागि प्रेरणादायी भई नै रहनेछन्।
तीव्र चाहना एवं दृढ अठोटले उमेरका सबै व्यवधानहरुलाई सजिलै जित्ने रहेछन्, उहाँको जीवनबाट मैले सिकेको यही नै हो।
उहाँको रिसर्च अनि पब्लिक हेल्थप्रतिको लगाव यस्तो थियो कि पि.एच्.डी. पछि पनि उहाँले कहिल्यै पनि थकाइ मार्नुभएन। पुरानै डाटाहरूबाट भए पनि अरु पेपरहरू निकाल्ने क्रम जारी नै रह्यो, बरु म भने त्यसमा अलि अल्छी नै गर्दथेँ।
विश्वविद्यालय अनुदान आयोग मार्फत् जेरियाट्रिक डिप्रेसनका लागि अर्को प्रोजेक्ट शुरु गरेका थियौं हामीले। त्यसैको पहिलो पेपर उहाँकै प्रेरणामा मैले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पेश गर्ने मौका पाएको थिएँ। कठै! यही नै उहाँसँगको मेरो अन्तिम सहकार्य बन्न पुग्यो।
केदार सर त अब यस संसारमा हुनुहुन्न। तर, उहाँले देखाउनुएको मिहिनेत एवं निरन्तर साधनाको मार्ग म कदापि भुल्ने छैन। उहाँका अधुरा कामहरु पूरा गरेर उहाँकै जस्तो प्रेरणादायी कामहरु अरु पनि गर्छु।
अझै पनि ‘मृत्यु’ प्रतिको मेरो जिज्ञासा कायमै छ। चिकित्सा पेशाका क्रममा थुप्रैपटक मृत्युसँग साक्षात्कार भइसक्यो मेरो, चिकित्साशास्त्र अध्ययनका दौरान मृत शरीर धेरै नै चलाइयो पनि। स्वजन एवं बन्धुहरुको मृत्युमा पनि अनेकौं पटक अन्त्येष्टी आदिमा सहभागी पनि भइसकियो। तर, पनि ‘मृत्यु’ रूपी प्रश्न सधैं संग्लो रूपमा नै मेरै अगााडि आई नै रहन्छ।
‘मृत्युको पूर्व अनुभूति हुन्छ कि, हुँदैन होला मरी जानेलाई?’ तीतो तर ध्रुवसत्य ‘मृत्यु’ लाई अझै पनि कल्पनातीत नै ठान्दछौं हामी। तर, यस्तो ध्रुवसत्य नै पनि यसरी अप्रत्याशित रुपमा अगाडि आईदिँदा सम्हालिन भने धेरै नै गाह्रो हुने रहेछ। हार्दिक श्रद्धाञ्जली आदरणीय केदार सर!