महासमिति कैले ? भन्ने लगातारको ठूलो संघर्ष र आग्रहले परिणाम हासिल गरेको छ। नेतृत्वको छलकपट र बाहनाबाजीका विभिन्न चरण बाट गुज्रदै अर्को महाधिवेशनको छेउ आइपुगेर यतिका समय पछाडि महासमिति बैठकको साइत जुराइएको छ।
महासमिति बैठकका लागि सरोकारवाला सबै कांग्रेस र कांग्रेसीहरूलाई बधाई तथा शुभकामना ! यदि नेतृत्वसँग यो कार्यकालभरि नै महासमिति नबोलाउने अभिष्ट थियो भने त्यो टरेको छ।
गएको निर्वाचनयता पार्टीको प्रत्येक पंक्ति निराशा र हतासाको झरिले रुझेको छ, चुटिएको छ । तर नेतृत्व बेपरवाह छ, गुटहरूको सम्बर्द्धन र प्रवर्द्धनमै मग्न छ, मस्त छ।
यो महासमिति बैठक नेतृत्व र पार्टीको हविगतबीच रहेको अन्तर र बेमेललाई दिशाबोध गर्ने मञ्च बन्न सक्छ कि सक्दैन ? पार्टी भित्रको लोकतन्त्रको अवस्था कस्तो छ ? समिक्षा भएर 'करेक्सन' हुन्छ कि हुँदैन ? अहिलेका मूल प्रश्न यिनै हुन्। बैठकमा यिनै प्रश्नको उत्तर भेट्टाउनू महासमिति सदस्यहरूको अहम दायित्व हो।
कांग्रेसलाई भोलिका दिनमा कुन गोरेटोमा कसरी यात्रा गराउने भन्ने सवाल महासमिति सदस्यहरू कुन मानसिकतासहित बैठकमा उपस्थित हुनेछन् भन्ने कुराले निर्दिष्ट हुनेछ। महासमितिहरूले नेतृत्वको लाज-सरम लाई छोपिदिने छन् कि, प्रश्न गर्नेछन् ? नेतृत्वले जम्मा गरेको फोहोरको ढंगुरलाई धोई पखाली गरिदिनेछन् या त्यसबाट सिर्जित गन्धलाई उनीहरूकै नाकतिर फर्काइ दिनेछन्?
कांग्रेसको राजनीतिमा महासमितिभन्दा बाहिरको पंक्तिमा धेरै ठूलो संख्या छ, लाखौंको संख्या छ। मेरो अनुमान छ, कांग्रेसको वर्तमान र भविष्यको सन्दर्भमा त्यो पंक्तिले जति नि:स्वार्थ र आत्मीय चिन्ता बोकेको छ, माथिल्लो पंक्तिमा प्रश्न गर्ने ठाउँहरू छन्।
आउनुहोस्, कार्यकर्ताको त्यो विशाल पंक्तिको तर्फबाट महासमिति सदस्यहरू समक्ष केही प्रश्न राखौं, केही आग्रह राखौं । तमाम कांग्रेसी कार्यकर्ताहरूको आवाज राखौं।
अहिले हामी सबैको चासो र चिन्ताको विषय छ,
कांग्रेसले यो युगको सर्वश्रेष्ठ वैचारिक र सैद्धान्तिक पार्टीको रूपमा हैकम राख्दै आगामी निर्वाचन जितोस्, संसदमा आफ्नो गरिमा पुनः कायम गरोस्। सरकार निर्माण गरोस्, राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व पुनर्स्थापित गरोस्। देशलाई तमाम दूर्भाग्यहरूबाट बाहिर निकालोस् ।
यी सबै कुराका लागि अपेक्षा या प्रार्थनाले पुग्दैन, पार्टी बलियो र काबिल 'फर्म' मा हुनुपर्छ । यसका लागि प्रयत्न चाहिन्छ। पार्टीलाई आन्तरिक कमजोरीहरूबाट मुक्त गर्ने प्रयत्न। जब कांग्रेस आन्तरिक कमजोरीहरूबाट मुक्त हुन्छ तब मात्र देशलाई मार्गनिर्देश गर्ने अवस्थाका लागि हामी आशा गर्न सक्छौं, विमर्श गर्न सक्छौं।
पार्टी आन्तरिक कमजोरीहरूबाट तब मुक्त हुनेछ, जब कुनै गुट कुनै नेता नभनी कार्यकर्ताहरू भक्ति चेतले नभएर विद्रोही चेतले निर्देशित हुनेछौं। सत्य र असत्य, असल र खराब, राम्रो र नराम्रोबीचको भिन्नता देख्नेछौं, सुन्नेछौं र बोल्नेछौं। गुटका लागि काम गरेर, एक नेताका लागि काम गरेर अब पार्टी बन्दैन, बदलिँदैन। सिंगो पार्टी, सिद्धान्त, विचार, विधि र प्रक्रियाका लागि कार्यकर्ताको पंक्ति तयार हुनुपर्दछ।
के त्यसो भए महासमितिमा उपस्थित हुँदै गर्दा महासमितिहरू यी उल्लेखित विषयमा बोल्न र काम गर्न तयार हुनुहुन्छ त ? यदि, कांग्रेसको माया छ भने अब समय छैन एक नेता, एक गुटभन्दा माथि उठ्नैपर्ने छ, उठ्नुहोस्। सबैको प्रयत्नमा कांग्रेसलाई बदलौं। यो समय सबै लोभहरूबाट मुक्त भएर एक पटक पार्टीका लागि सोचौं। मूल्य र मान्यताहरूको पक्षमा उभिऔं । पार्टीभित्रैको लोकतन्त्र खोजौं। पार्टीभित्रैको समाजवाद खोजौं। हिजोका दिन नेतृत्वको प्रत्येक बेकुफीमा कार्यकर्ताको समर्पणवादले आज कांग्रेस गतिहीन भएको हो।
पार्टी नेतृत्वको मनोमानी शैली अहिलेको मात्र नभएर ०४८ साल एकाको लगातारको समस्या हो। नेतृत्वले आफूलाई शासक कार्यकर्ता र संगठनलाई दास देख्नु, विधि र प्रक्रियाको पटक-पटक उल्लङ्घन गरिरहनु, उपयुक्त विधि-विधानको निर्माण नगरिनु पार्टीका आन्तरिक विसमताहरू हुन्।
यिनै कमजोरीहरूको कारण पार्टी गतिशील बन्न सकेन। पार्टीको पुरानै सोच, पुरानै शैली र परिपाटीले नयाँ पुस्तामा आकर्षण पैदा गर्न सकेन। सक्दैन पनि। विगतमा नेतृत्वको मनपरीतन्त्रले कार्यकर्ता समक्ष सामनै गर्न परेन। न कार्यकर्तानै जाग्ने काम भयो।
वर्ष दिनयता पार्टी यति ठूलो चोटको आघातले छट्पटाइरहँदा नेतृत्वलाई हेर्यौं भने चरम निरासा र आक्रोश पैदा हुन्छ। निर्वाचन यताको यो एक वर्षभित्रको बहस मात्र आफ्ना मान्छे कसरी 'सेटल' गर्ने, आफ्नो गुट कसरी बलियो राख्ने भन्नेमै केन्द्रित रह्यो। कसलाई उपसभापति, कसलाई महामन्त्री, कसलाई सहमहामन्त्री र को/ को केन्द्रिय सदस्य बन्ने, बनाउने भन्ने विषयमै चिन्ता र चासो रह्यो । पार्टी कसरी बदल्ने, पार्टी किन कमजोर भयो भन्ने विषयमा कुनै गहिरो खातिरदारी देखिएन । यसरी पार्टीको विषयमा नभएर व्यक्तिको विषयमा चासो र चिन्ता लिएर पार्टीको पुनर्निर्माण बिल्कुल असम्भव छ । आखिर पार्टी बलियो भएन यी सबै कुराहरूको अर्थ छ ।
त्यसैले, व्यक्ति बलियो हुने कि पार्टी ? नेता बलियो हुने कि पार्टी ? कमजोर पार्टीमा व्यक्ति बलियो भएर सकारात्मक बदलाब आएको उदाहरण संसारमा कहिँकतै छैन। त्यसैले कांग्रेसमा आजको पहिलो सर्त हो पार्टी बलियो बनाउने अभियान। पार्टी बलियो भए हामी सबै त्यसै बलियो हुनेछौं। कुनै 'पोजिसन' किन चाहियो ? यो गुरुमन्त्र बुझ्न र महशुस गर्न ढिलो गर्यौं भने, हेक्का रहोस् आगामी दिनमा हामी कांग्रेसीहरू झनै टिठलाग्दा भएर जानेछौं ।
पार्टीको प्रणालीगत सुधारको बिन्दुबाट कांग्रेस रुपान्तरणको गृहकार्य ज्यादा व्यवहारिक हुन्छ। संगठन निर्माणको विधि र प्रक्रियाको सुधारले मात्र कांग्रेस सुधारको जग निर्माण हुन्छ। आलेखमा पार्टीको राजनीतिक, आर्थिक र सामाजिक उद्धेश्य र एजेन्डाहरूको सन्दर्भमा मौन रहने छु।
संगठन निर्माणको संरचना वास्तविक लोकतान्त्रिक र पारदर्शी हुनेगरी विधानको संशोधन भएर पार्टी प्रणालीगत हिसाबमा सुदृढ भएर आओस्, महासमितिहरू बैठकमा नेतृत्वको नालायकी र कमजोरीहरूमाथि आँखा चिम्लिदिएर घर नफर्किउन, नेतृत्वका गलत काम, गलत निर्णयका लागि सबै सदस्यबाट एक स्वर र एक लयमा औंला उठोस्। बैठकमा जोड ढंगले नेतृत्वको दादागिरीमाथि खबरदारी पैदा होस्। आलेखमार्फत् 'ईन्करेज' गर्न चाहेको पक्ष यति हो । र, यो देशैभरिका आम कांग्रेस कार्यकर्ताहरूको चाहना हो ।
यो आलेख लेख्दै गर्दा मलाई एउटा कुराको भने रतिभर भ्रम छैन। महासमिति बैठक पार्टीका सबै पक्षहरूमा पूर्णहित हुनेगरी टुंगिनेछ भनेर । महासमितिभन्दा अगाडि नेतृत्वबाट भएका छलफल-बहसहरूले नै त्यो कुरा प्रमाणित भैसकेको छ। गुट बलियो र कमजोर हुने आंकलन र अनुमानको आधारमा मात्र विधान परिवर्तनको उद्धेश्य रहनुले यो कर्मकाण्ड मात्रै हुनेछ भन्नलाई धेरै घोत्लिनु नै पर्दैन। तथापि, सत्य र अहिलेको सन्दर्भको पक्षमा अब पनि नबोले, अहिले पनि नबोले कहिले बोल्ने ? कम्तीमा अहिलेको आवाजले भोलिको सुनौलो बिहानीका लागि वातावरण बन्नेछ। अनि विवेकी र सचेत कार्यकर्ता हुनुको औचित्य पनि।
https://archive.setopati.com/readers-opinion/65265
गत बिहिबार पार्टी कार्यालय सानेपामा सभापति र वरिष्ठ नेता बीचको सवाल जवाफका समाचारहरू मिडियामार्फत् सुनियो। समाचार अनुसार वरिष्ठ नेताको सबालको प्रतिउत्तरमा सभापतिले 'आफू चुनाव जितेर आएको र फेरि पनि जितेर आउने' भन्नुभएछ। कति सरमको कुरा हो यो ? खै पार्टीलाई जिताउने कुरा ? खै पार्टी हारको पीडाबोध ? के अब कांग्रेसको पार्टी सभापतिले आफूले चुनाव जित्नुले मात्र सबै दायित्व पूरा हुने दिनमा आइपुगेका हौं ? कांग्रेस सभापति हुनुको गरिमा, पराक्रम र प्रतिष्ठा यतिनै हो अब ? कांग्रेसका लागि यहाँभन्दा बदनाम अवस्था के हुन्छ अर्को ? प्रश्न वरिष्ठ नेतालाई पनि, तपाईंले कांग्रेसको राजनीतिमा अहिलेसम्म के पाउनु भएको थिएन ? लगातार तीस वर्ष पार्टी र सत्ताको शीर्ष स्थानमा बसेर आफ्नो एउटा निर्वाचन क्षेत्रलाई त बनाउन सक्नुभएको रहेन रहेछ अनि देश कुन कारण बनाउन सक्नुहुन्छ र नेतृत्वका लागि तपाईंलाई कार्यकर्ताले पत्याउनु पर्ने ?
महासमितिज्यूहरू,
के कांग्रेस साँचो अर्थमै मास बेस्ड छ त ? के एउटै व्यक्ति पटक/पटक नेतृत्वमै रहन पाउने पद्धति आजको युगले स्वीकार्न सक्ने पक्ष हो ? के नेतृत्वको निश्चित कार्यकाल पछाडि बहिर्गमनको व्यवस्था जरुरी छैन ? के पार्टीको बिफलतासँग नेतृत्वमा बस्नेको जवाफदेहीता रहनुपर्ने व्यवस्थाको जरुरी छैन ? के आजको दिन असल, योग्य र होनहारहरूका लागि पार्टीको ढोका तत्काल सहज र सरल हुनु जरुरी छैन ? के कार्यकर्ताहरूको परिचालन, सुरक्षा, मूल्यांकन र उचित जिम्मेवारीको सन्दर्भमा ठोस र औपचारिक उत्तरदायित्व लिनुपर्ने व्यवस्थाको अपरिहार्यता छैन ? के न्यायोचित चक्रबाट दु:ख गरेका सबैलाई लाभको पद वितरण हुनुपर्ने पद्धतिको खाँचो छैन ?
पार्टीको विधानले नेतृत्व र संगठनको मार्गमा के बोलेको छ ? हालको विधानले अहिलेको समयको सन्दर्भमा के कति स्वीकार्यता राख्दछ ? के नेतृत्वले विधि र प्रक्रियाको मजबुत ढंगले पालना नगर्नुले पार्टीलाई नोक्सानी बाहेक केही प्राप्त भएको छ र ? आदि प्रश्नहरूको उत्तर नै नखोजी कांग्रेसलाई नवजीवन दिने या पुनर्निर्माण गर्ने भन्नु ढाट्नु र छल्नु मात्र हो। के महासमितिज्यूहरू यी मुद्दाहरूको पक्षमा उभिन तयार हुनुहुन्छ ? यी मुद्दाहरूलाई बैठकमा बुलन्द गर्नुहोस्, स्थापित गर्नुहोस्।
पार्टी संचालन र निर्माणको सन्दर्भमा पार्टीको विधानलाई परिमार्जन गरेर समयसापेक्ष नबनाउने हो भने न नयाँ युग सुहाउँदो पार्टी हुनेछ, न नयाँ युगले नै पत्याउने पार्टी हुनेछ। कर्मकाण्ड फेरबदलले मात्र अब केही हुन्न। के गर्दा पार्टीको संरचना नदी जस्तो गतिशील बन्न सक्छ ? बग्न सक्छ ? यसको संगठन र शैली सधैं वेगको गतिमा तम्तयार रहन्छ ? यो उपायको खोजी पार्टीको प्रणालीगत सुधारबाट खोजिनु पर्दछ।
विधानको मौजुदा र जुन ढंगबाट विधान परिमार्जन हुन खोज्दैछ त्यस अवस्थामा कांग्रेस रुपान्तरणको पर्दा मात्रै पनि खुल्दैन । प्रणालीगत हिसाबमा आधुनिक ढाँचा दिएर मात्र त्यो गन्तव्यको यात्रा सम्भव र सुनिश्चित हुनेछ । पार्टी मास बेस्ड हो र संगठन निर्माणको प्रणाली लोकतान्त्रिक छ भन्ने कुरामै कमजोरीहरू छन् ।
अहिले, स्थानीयस्तरमा अगुवा नेताहरूबाट आफ्नो लाभ-हानीको मूल्यांकन गरेर आफू अनुकूल र निश्चित व्यक्तिलाई पार्टीको सदस्यता वितरण गरिन्छ। र, त्यसरी आफूले सदस्य बनाइएका आफ्ना मान्छेहरूबाट अधिवेशनमा समर्थन प्राप्त गरिन्छ । यस अर्थमा पार्टी कसरी मास बेस्ड भयो ? अनि नेतृत्व छनोटको पद्धति कसरी शुद्ध लोकतान्त्रिक रह्यो ? यो बिन्दुलाई केन्द्रमा राखेर पार्टीलाई प्रणालीगत त्रुटिबाट बाहिर निकाल्ने प्रतिबद्धता र तत्परताको खाँचो छ ।
नेपाली कांग्रेसको स्थापना अगाडि नेता बीपी कोइरालाले कांग्रेस पार्टी निर्माण र भूमिकाका लागि सार्वजनिक आह्वान गर्नुभएको थियो । त्यसैले कांग्रेस पार्टी गर्भमै आम नेपालीको बृहत चेतना, चाहना र आकांक्षाको सामूहिक उभारले निर्मित भएको हुनाले यो पूर्ण मास बेस्ड पार्टी हो । र आजको दिन हामीले कांग्रेस सदस्य हुनका लागि किन कोही कसैलाई विभिन्न बहानाबाजी गर्ने ? पार्टी हितविपरित हुन नसक्ने केही उपयुक्त प्रणालीको छनोट गरी कांग्रेस सदस्य हुनका लागि किन सार्वजनिक अपिल नगर्ने ? लोकतन्त्रका मूल्यमान्यताको अपरिहार्यता के हो, कति रहेछ ? भन्नेकुरा अहिलेको लोकतान्त्रिक हौं भन्ने तथाकथित अनुदार कम्युनिस्ट सरकारका कारण झनै नागरिकहरूलाई महशुस हुँदै छ । जानेको र बुजेको वर्गमा झनै यस कुराको महशुस हुन थालेको छ । यस अवस्थामा कांग्रेसले आफ्नो सदस्यतालाई झनै आम नागरिकको तहमा पुर्याउन जरुरी छ ।
पार्टीको माथिल्लो निकायले तल्लो निकायलाई नभएर तल्लो निकायले माथिल्लो निकायलाई नियन्त्रण र निर्देशनको परिपाटीले मात्र युग सापेक्ष लोकतान्त्रिक प्रणाली पुष्ट्याउँछ । माथि केन्द्रलाई मात्र सर्बशक्तिमानको आशनमा राखिँदा नेतृत्वले मनलाग्दी जे-जे गरे पनि छुट पाएको छ । न विधि- प्रक्रिया, न नियम-कानुन, न लाज-सरम । तल्लो संयन्त्रमार्फत् अनुगमन र नियन्त्रणको अधिकार अभावमा नेतृत्वद्वारा नैतिकता, जिम्मेवारी, कर्तव्य, जवाफदेहीता जस्ता उच्च चारित्रिक गुणहरूको प्रदर्शन नै नहुने रै'छ । अब, मात्र सभा र बैठकहरूमा उपस्तिथ गराउनुले, धर्ना, जुलुस र नाराहरूका लागि प्रयोग गरिनुले, अरुबेला नोकर र दास लाग्ने निर्वाचनका बेला मात्र हितैसी लाग्नुले, अधिवेशनका विभिन्न चरणहरूमा सामेल गराउनुले मात्र कार्यकर्ताको परिभाषालाई समेट्न सक्दैन । कार्यकर्ताको योग्यता र प्रतिष्ठालाई कायम गर्न सक्दैन । सम्पूर्ण कार्यकर्ताले पार्टीको सम्पूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष धारणा र सहभागिता राख्न पाउने व्यवस्था गर्दै उन्नत लोकतान्त्रिक पद्धतिको विकास गरिनु पर्दछ । केन्द्रले टिकट वितरण गर्दा नेताहरू कार्यकर्ता, निर्वाचन क्षेत्र र नागरिकप्रति उत्तरदायी नै भएनन्, केन्द्रिय नेतामुखी भए। नेतृत्वको निर्णय र परिणामले पार्टीलाई नकारात्मक असर पर्न गएमा कार्यकर्ताबाट फिर्ता बोलाउन सकिने व्यवस्थाले मात्र नेतृत्व उत्तरदायी र जिम्मेवार हुनेछ।
सबै पदाधिकारीहरू निर्वाचनमार्फतै चुनिने व्यवस्था किन कायम नगर्ने ? पदाधिकारीहरू मनोनयन गरिने व्यवस्थाले अन्धभक्तहरूको मात्र उदय भयो, कुशल व्यक्ति नेतृत्वमा पुग्ने सम्भावना रहेन । सातै प्रदेशमा पूर्ण र स्वतन्त्र कमान्ड सम्हाल्ने गरी संयोजक नभएर पार्टी प्रदेश अध्यक्ष या सभापति रहने व्यवस्था गरिनु पर्दछ । एउटै ब्यक्ति पार्टी सभापति र पदाधिकारीमा अधिकतम दुई कार्यकाल सम्म मात्र योग्य रहने, केन्द्रिय सदस्य तीन कार्यकाल । प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री र संसद तीन कार्यकाल । समानुपातिक तर्फबाट मात्र एक कार्यकाल । दुई पटक संसदको उम्मेदवार भएर लगातार पराजित ब्यक्ति लाई पुन उम्मेदवार नदोहोर्याउने ब्यबस्था । पार्टी राजनीतिमा र नेतृत्वमा आउन र पुग्न चाहनेहरूको सन्दर्भमा अहिलेको 'बटम अप' को बाटो मात्र नभएर 'टप डाउन' ढोकाको पनि सुविधा । पार्टी सरकारमा रहँदा गरिने सानादेखि ठूला सबै तहका राजनीतिक नियुक्ति र सिफारिसहरू आन्तरिक पार्टीमा अधिकतम छलफल पछाडि संस्थागत निर्णय हुनैपर्ने ब्यबस्था । उल्लेखित सर्त बमोजिम विधान संशोधन हुनसके पार्टी गतिहीनताबाट निस्कने छ। सबैले भविष्य देख्न सक्ने पार्टी बन्ने छ । नयाँ, योग्य, होनहार र ईमान-जमान भएकाहरूले पार्टीमा पाइला राख्ने वातावरण बन्ने छ, पाइला राख्ने छन् । कांग्रेस पुनः निर्माणको जग बस्ने छ । बाँकी कुरा त पार्टीको आर्थिक, सामाजिक र राजनीतिक एजेन्डाले नागरिकमा आकर्षण पैदा गर्ने हो, त्यसका लागि समय छ ।
देशैभरिका आम कांग्रेस कार्यकर्ताहरूको अपेक्षा छ, आग्रह छ महासमितिहरू विवेकको बन्धक बन्ने छैनन्, 'यसम्यान' बन्ने छैनन् ।