यो प्रसंग आफ्नै विवाहको हो। म एक खुला विचार भएको ब्यक्ति हुँ। कम से कम म आफूलाई त्यस्तो ठान्छु। त्यसैले मलाई मेरो जीवनका बीस वसन्त पार गर्ने वित्तिकै विवाह अनिवार्य रुपमै गर्नुपर्छ भन्ने कहिल्यै लागेन। बरू म बुवाले परीक्षामा असफल भएँ भने विवाह गरिदिनुहुन्छ कि भनेर चिन्ता लिने गर्थेँ । विवाहको डरले केही हदसम्म मलाई परीक्षामा उत्तीर्ण बनाइराख्न सहयोग गर्यो भन्दा अत्युक्ति नहोला।
प्रवीणता प्रमाण पत्र तह होस् या स्नातक तह, मैले क्याम्पसकै सबैभन्दा अब्बल नतिजा ल्याएर पुरस्कृत समेत भएँ। पुरस्कार समारोहबाट घर ल्याएको अक्फर्डको डिक्सनरीले मेरो उच्च शिक्षा अध्ययनको इच्छालाई झन् सहयोग पुर्यायो । त्यसैले पनि म उच्च शिक्षाका लागि काठमाडौं पस्ने मेरो परिवारकै पहिलो सन्तान भएँ।
अंग्रेजी साहित्य र समाजसास्त्रमा अब्बल नतिजासहित उत्तीर्ण गरिसकेपछि हाल एमफिलसम्म पाढाइ पुगेको छ।
महिला भएर जन्मेपछि पढाइमा अब्बल हुनु र आफ्नो गर्जो आफैं टार्न सक्ने भएर मात्रै पुग्दो रहेनछ। समाजले निर्धारण गरेको ‘उमेर पुगेपछि’ विवाह पनि गर्नुपर्दो रहेछ।
विवाह मेरो लागि खाना पकाउनु, भाडा मोल्नु र घरको काम गर्नु थियो। सायद आमाले रातदिन त्यसैमा समय बिताएकोले पनि ममा त्यस्तो सोच पलाएको हुनुपर्छ। तर, म परेँ घरकै सबैभन्दा अल्छी। त्यसैले पनि विवाहप्रतिको एकखालको विकर्षण पहिलेदेखि नै थियो ।
किशोरावस्थामा विपरित लिङ्गीप्रति आकर्षण नभएको होइन। मलाई याद छ , म बाह्र कक्षामा पढ्दा मेरो कक्षामा एक जना साथी थियो। उसको प्रेम–प्रसंग पुरा क्याम्पस भरी प्रचलित थियो। कसरी कसरी म सामु त्यो कुरा पुग्यो। किताबमा र चलचित्रमा मात्र प्रेम प्रसंग देखेको मान्छे म उक्त कुराबाट यति धेरै प्रभावित भएँ कि, प्रतिकृयामा एउटा पत्र लेखेर दिनपुगेँ। हो त्यहि मेरो पहिलो प्रेम–पत्र।
मैले जसमार्फत उक्त पत्र पठाएको थिएँ उसले त्यो प्रेमपत्र हो भन्ने नै थाहा पाएन। मैले उक्त पत्रको जवाफ पनि पाएँ। त्यही जवाफले मलाई मेरो प्रिय व्यक्ति ओशोको नजिक बनायो र त्यस घटना पछि म शाकाहारी पनि बनेँ।
म ऊ प्रति आभारी भएँ किनकी उसले मलाई त्यो प्रेमपत्र प्रती कहिले लाजमर्दो हुनुपर्ने बनाएन। त्यो प्रसंग त्यति मै टुङ्गियो हामी राम्रो साथी बन्यौँ।
धेरै पछि उसँग कुरा हुँदा उसको प्रेम कथा जसबाट म त्यती धेरै प्रभावित भएको थिएँ, जीवनको उक्त पाटोप्रति उसलाई खेद भएको र समयको बर्बादी भएको प्रतिकृया दियो।
म छाँगाबाट खसेँ । मैले सुनेको प्रेमकथा पुनः चलचित्र भित्र र किताब भित्र फुत्त छिरे। मैले उसलाई भने, ‘होइन म त तिम्रो त्यो प्रेमबाट प्रभावित भएर नै तिमीलाई पत्र लेखेको थिएँ, प्रेम खेद हुनुपर्ने कुरो होइन। तिमीले त त्यो कुराप्रति गर्व गर्नुपर्छ।’
उसले मैले त्यसो भनेकोमा खुशी प्रकट गर्यो । त्यो प्रसंग त्यहीँ टुङ्गियो। हामी राम्रो साथी रहिरह्यौँ।
प्रेमप्रति मलाई आपत्ती थिएन र छैन पनि। न त सँधै एक्लै बस्नुपर्छ भन्ने मान्यता नै राख्छु। कुरा विवाहको हो। विवाहको प्रस्तावका क्रममा मैले भोगेको कुराहरुले मलाई यो सब लेख्न लगाएको हो। त्यो बेला मेरो विवाहको लागि परिवारबाट एउटा कुरो चलिरहेको थियो।
म विवाहका लागि मानसिक रुपमा तयार नभएकाले मन नहुँदा नहुँदै पनि घरमा मलाई हेर्न आउने ब्यक्ति सम्मुख उपस्थित भएँ। सामान्यतया लगाउने जिन्स र टिसर्ट नलगाई खै किन हो मन नभइ–नभइ पनि कुर्ता लगाएर गएँ। हेर्न गए पनि मैले तिनीहरू कसैलाई पनि हेरिनँ वा हेर्ने मन गरिनँ। एकैछिन बसेर उठेँ।
त्यसो गरिरहँदा मलाई म मान्छेबाट पुतली भएको अनुभव भयो। मलाई हेर्न आउनेहरूका अघि म बस्दा आफू पुतलीमा रुपान्तरित भएको भान भयो। त्यस्तो पुतली जो चिटिक्क परेर कुनै ग्राहकअघि अफूलाई बिक्री गर्न उपस्थित छे। त्यस्तो पुतली जसले आफूलाई सक्दो राम्रो अवतारमा प्रस्तुत गर्नुपर्छ ता कि उसलाई हेर्न आएकाहरुले उसलाई सहर्ष खरिद गरेर लगुन्।
कुरा त्यो बसाई मै टुङ्गिएन। परिवार कै भनाइमा मैले हेर्न आएका केटालाई सामाजिक सञ्जालमा समेत जोडेँ। नचाहँदा नचाहँदै पनि कुराकानी भइरहे। कतै गरे पनि मेरो मनमा यो सम्बन्धप्रति कुनै रूचि पैदा हुन सकेन। हुन्छ नि एउटा रहर या अपेक्षा भन्ने कुरा मनमा केही पनि पलाएन। अब आफूलाई कुनै रहर छैन र चाह छैन भने अनावश्यक रुपमा समयको बर्बादी गर्नुभन्दा कुरा सकेसम्म चाँडो टुंग्याउने सोच बनाएँ। मैले साहस गरेर मुख खोलेँ। म आफू विवाहका लागि तयार नभएको कुरा सुनाएँ।
मेरो विवाहप्रतिको अरूचीले उनलाई खासै असर परेन। उनी पछि हटेनन्। त्यसैले मैले कुरा अझ बलियो पार्न मेरो अरू कसैसँग प्रेम भएको र यो अन्तरजातीय भएका कारण परिवारलाई थाहा नभएको कुरा बताएँ।
आफू प्रेम सम्बन्धमा रहँदारहँदै विवाह गर्न नसक्ने कुरा उनलाई सुनाएँ। त्यति भन्दासम्म पनि ती व्यक्ति मेरो अन्तिम निर्णय सोधी रहे।
एक पटक त यस्तोसम्म भयो कि मैले उनको उत्तरहरु नफर्काउँदा सफाइ दिनुपर्नेसम्म भयो ।
‘अनि जवाफ किन नफर्काएको?’
‘म निदाएछु।’
‘त्यत्रो मेसेज पठाउँदा जवाफ फर्काउन पर्दैन?’
‘भने त म निदाएछु। सुतेको बेला कसरी जवाफ फर्काउनू? त्यै नि हरेक मेसेजको जवाफ फर्काउनैपर्ने र नफर्काउँदा सफाइ दिनुपर्ने हो र?’
मलाई लाग्यो जब हाम्रो सम्बन्धले औपचारिकता नपाउँदा त मैले हरेक पटक आफ्ना सफाइ दिइरहनुपर्छ र ममाथि केरकार भइरहन्छ भने सम्बन्ध सुरू भएपछि के होला? जब हाम्रो सम्बन्ध नहुँदा त कसैले ममाथि यत्रो अधिकार जमाउन खोज्छ भने उसले समाजको औपचारिक स्वीकृति प्राप्त गरेपछि गर्ने व्यवहार झन् कस्तो होला? त्यसपछि मेरो व्यक्तिगत स्वतन्त्रता र मेरो ठाउँको के होला? के म यस किसिमको बन्धनको लागि तयार छु? अहँ म छैन। अहँ म थिएन। अहँ म कहिल्यै पनि हुने छैन। समर्पण मेरो स्वभाव हैन। त्यसैले मैले त्यो सम्बन्ध सुरूवातका सबै ढोकाहरु बन्द गरिदिएँ।
विस्तारै परिवारका अन्य सदस्यसँग पनि कुरा पुग्यो। दुई चार दिनको चिनजानको मान्छेले मेरो खुशी नबुझे परिवारका सदस्यले त बुझ्लान् भन्ने सोचेँ। तर, भाइहरूले समेत जीवनमा सम्झौता गर्नुनै पर्ने र बुवा आमा खुशी हुने भएकोले विवाह गर्नु वुद्धिमानी हुने कुरा सुनाए। म आजित भएँ। लाग्यो सबै जना मलाई जसरी पनि पन्छाउन चाहन्छन्। मलाई मेरो उमेरको हवाला दिएर मैले नचाहेको सम्झौता गराउन चाहन्छन्। त्यसपछि भने म साह्रै दुःखी भएँ।
दुख में सुमिरन सब करें, सुख में करै न कोय।
जो सुख में सुमिरन करै, तो दुख काहे को होय।।
सन्त कविरले भने जस्तै मान्छे दुःखी हुँदा नै सबैभन्दा बढी ईश्वरप्रति आस्थावान हुन्छन्। मैले पनि सायद त्यही गरेँ। मलाई किन किन बिहीबारको ब्रत बस्न मन लाग्यो, मैले उक्त व्रत बस्दा विघ्न बाधा हट्ने कुरा सुनेको थिएँ। बिहान नुहाईधुवाई गरेर द्यौतालाई धूप बत्ती बालेँ।
परिवारका अन्य सदस्यसँग अलमलिनु भन्दा कुरो सर्वोच्च सम्मै पुर्याउनपर्ने लाग्यो । मैले बुवासँग कुरा गर्ने निधो गरेँ। बुवालाई फोन लगएँ।
“बुवा म त्यो मान्छेसँग बिहे गर्दैन।”
“अनी कोसँग गर्छेस् त?”
“म आफूले बिहे गर्ने मान्छे आफैं लिएर औछु नि है।”
खै कुन साहस जुटाएर यति भनेको थिएँ बुवा मौन रहे। ‘मौनम् स्वृकति लक्षणम्’, भने जस्तो बुबाको मौनतालाई मैले स्वीकृति मानेँ । धेरैसँग हार गुहारबाट पनि नटुङ्गिएको कुरा एक फोन कलमा टुङ्गियो। म बुवाप्रति फेरि कृतज्ञ भएँ।
बुवा नै त हुन् नातपाताका सबैले छोरीको उमेर भयो विवाह गर भन्दा मेरो छोरी पढ्छे भनेर मलाई उच्च शिक्षाका लागि काठमाडौँ पठाउने। बुबा नै त हुन् छोरीलाई सरकारी विद्यालय अनि छोरालाई निजी विद्यालय पठाउने जमानामा पनि छोराछोरीमा कुनै भेद नगरेर दुबैलाई एकै विद्यालयमा पढ्न पठाउने। सँधै जस्तो यस पटक पनि तिनै बुवाले नै मेरो कुरा बुझे।
यो सब लेख्नुको उद्देश्य विवाहप्रति कसैलाई निरूत्साहित गर्न होइन। खाली यो भन्नलाई हो कि आखिर कहिलेसम्म हाम्रो समाजमा विवाह जस्तो नितान्त व्यक्तिगत कुरो हृदयको छनोट नभै समाज, परिवार, उमेर, जात वा धर्मका लागि गर्ने? सायद हाम्रो समाजमा जीवन सम्झौता हो भन्ने विचार अलि बढी नै प्रभावशाली भयो।
त्यसैले हामी सधैंजसो कुनै न कुनै सम्झौता गरीरहन्छौ। जो कोही एस सम्झौताबाट पन्छिन खोजे उनीहरूलाई सामाजिक बहिस्कार गरिदिन्छौ। हाम्रो माया आत्मियता त्यतिमै टुङ्गिन्छ।
झन्डै झन्डै म त्यो घिनलाग्दो सम्झौतको जालोमा फस्न लगेको थिएँ। त्यसबाट बाहिर निस्किन सकेकोमा म खुशी भएँ। म उकुसमुकुस भएको बखत सोच्दै थिएँ, ‘शायद म सहीद भाईसकेको छु। मेरो सहीद हुनुको खुशीमा घरमा रङ लगाउने र सामान किनमेल गर्ने योजना बन्दैछ।’
फेरि झसङ्ग भएँ । सहीद हुनु भनेको त देशप्रेममा आफूले सबैभन्दा माया गरेर साँचेर राखेको जीवन आहुती गर्नु हो। मसँग त विवाह पछि पनि जीवन त रहन्छ अनि त्यो सँग थोरै आशा र सम्भावनाहरू पनि बाँचि नै रहन्छन्।
फेरि सहादतको त उच्च उद्देश्य हुन्छ। त्यसबाट धेरै भन्दा धेरैको अधिकार स्थापित हुन्छ या कम से कम धेरै भन्दा धेरैले अधिकारको चेत पाउँछन्। फेरि मेरो सहादतले के गर्छ? केही महिना र केही वर्ष कसैको खुसी बनौंला तर मेरो आफ्ना खुशी को के? अनि मलाई पलपल दुःखी देख्दा मसँग जिउनेको खुशी कसरी दिगो रहला? फेरि विवाह अन्तिम लक्ष पनि त होइन। त्यो त सहयात्राको सुरुवात हो। सम्झौताबाट सुरु भएका सहयात्रा आधैमा टुङ्गिएको घटना नेपाली समाजमा नौलो छैन।
बीसौं वर्षको सम्झौता तोड्दै त्यत्रो अवधीसम्म पालेको कुण्ठाहरू बजारमा पोखिइरहेको बेला मैले पनि किन त्यस्तो बाटो समाउने। समाजले त्यस्तो सम्झौताका लागि महिलाहरुलाई किन नदेखिने दबाब दिइरहन्छ? यो समाजले चेत्ने कहिले?
समाजको करबल एक जमानामा चल्थ्यो होला। अब त्यो जमाना रहेन। अब त सम्बन्ध व्यक्तिका लागि छोडिनुपर्छ। विवाह व्यक्तिको नितान्त निजी निर्णय हुनुपर्छ। समाज त्यसमा हस्तक्षेपकारी भूमिकामा उभिनु हुँदैन । समाजको खुशी व्यक्तिको खुशी होइन बरु व्यक्ति व्यक्तिको खुशीको जोड नै सम्पूर्ण समाजको खुशी बन्नुपर्छ । समाजको प्रयास भनेको व्यक्तिको स्वतन्त्रता रक्षामा केन्द्रित हुनुपर्छ। अनि मात्र यो समाज बाँच्न लायक हुन्छ। नत्र यो समाजबाट गाँस, बास र कपास जुटाउनका लागि मात्रै होइन स्वतन्त्रताको स्वास फेर्नैका लागि पनि थप मान्छे भाग्दै हिँड्नेछन्।