नेपालमा पनि जमराको जुस पिउने चलन बढेको छ। जुस पिउँदा हुने फाइदा वा बेफाइदाबारे पनि बहस सुरू हुन थालेको छ।
नेपालमा गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ। पहेँलो जमराको औषधीय गुणको बारेमा खास अनुसन्धान भएको छैन।
हरियो जमरा (ह्विट ग्रास) मा भारत र अमेरिकालगयातका देशमा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता प्रकाशित छन्। अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो हुन्छ।
पहेँलो जमरामा अनुसन्धान हुनु जरुरी छ। हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ।
हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ। जसले कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न सघाउँछ।
हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्राय:जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ। यसका अलवा जुस प्रोटिन र एमिनो एसिडले भरिपूर्ण हुन्छ।
शरीरबाट विषाक्त पदार्थहरू हटाउन, रगतमा चिनीको सन्तुलन सुधार, दाँतको क्षति रोकथाम, स्वस्थ कपाल कायम राख्न, पाचन सहायता गर्ने, र उच्च रक्तचापको स्तर घटाउन पनि हरिया जमराका जुस लाभदायक हुन्छ।
जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्छ। तर क्यान्सर नै सञ्चो भएको प्रमाण चाहिँ छैन।
जमराको जुसले कलेजोको सुरक्षा गर्छ। कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ। जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ।
थालसिमिया भएका बिरामीहरूलाई जुस निकै नै फाइदाजनक हुन्छ। यसले मधुमेह हुन पनि रोक्छ। जमराको लेप लगाउनले बाथको दुखाइमा राहत मिल्छ।
हरियो जुसले शरीर सुनिएको, ज्वरो आएको, घाउ खटिरालाई ठीक गर्छ, जमराको लेपले छालालाई हानिकारक किरणबाट जोगाउँछ। छाला मुलायम र चम्किलो हुन्छ। मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।
जमराको जुसको केहीलाई एलर्जी हुने बाहेक अरु कुनै असर देखिएको कुरा प्रकाशित छैन। १०० ग्राम जमरा २३ किलोग्राम हरियो सागको बराबर हुन्छ। त्यसैले हरियो जमरा पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । कति पिउने भनेर अहिलेसम्म मात्रा तोकिएको छैन तर पनि दिनको ५-१० ग्राम जमराको जुस पिउनु राम्रो हुन्छ। एकैचोटी धेरै पिउनु पनि ठीक हुँदैन। जमराको जुसले लागिसकेको रोगलाई पूर्ण निको गर्ने भन्दा पनि रोग लाग्न नदिने गुण देखिएको छ। भनिन्छ औषधि गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो त्यसैले हरियो जमराको जुस बहुउपयोगी भएकोमा शंका छैन।
(लेखक औषधियुक्त वनस्पतीको उपयोगसम्बन्धी विषयमा विद्यावारिधी हुन्।)