सन् २००६ मा नेपालमा पर्यटक आगमन ३ लाख ८३ हजार ९ सय २६ थियो। सन् २०१७ मा यो संख्या करिब साढे दुई गुणाले वृद्धि हुँदै ९ लाख ४० हजार २ सय १८ पुग्यो।
सन् २०१७ मा ३० वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान सेवा सञ्चालन गरिरहेका छन्। यो तथ्याकंले विगत एक दशकमा नेपालमा उड्डयान क्षेत्रको विकास विस्तार र सोही अनुपातमा पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको देखाउँछ।
के विगत एक दशकमा नेपालमा ब्यवसायिक वातावरणमा सुधार आएर यो सम्भव भएको हो? सन् २००६ मा नेपाल ब्यवसाय गर्न सहज मुलुकको सूचीमा ९० औं स्थानमा हुँदा सन् २००७ मा १०० औं स्थानमा र सन् २०१७ मा ११० औं स्थानमा रह्यो। यही अवधिमा भारत १३८, १३४ हुँदै ७७ औं स्थानमा आएको छ। यो अवधिमा भारतले कुन स्तरमा प्रगति गर्यो भन्ने माथिको आँकडाबाट नै छर्लङ्ग हुन्छ।
सन् २००६ मा नेपालमा राजनीतिक दलबीचको बृहत्त शान्ति सम्झौंतापछि पर्यटन आगमनमा ब्यापक सुधार देखियो। सन् २००६ मा पर्यटक आगमन ३ लाख ८३ हजार ९२६ थियो भने लगत्तै अर्को वर्ष २००७ मा आगमनमा ३७ प्रतिशतको वृद्धि भई ५,२६,७०५ पुग्यो। सन् २००८ र २००९ आगमनका हिसाबले मध्यम रह्यो भने सन् २०१० बाट उकालो लागेको पर्यटक आगमन २०१२ सम्ममा रेकर्ड ८,०३,०९२ पुग्यो।
यो सर्वाधिक आगमनको रेकर्ड सन् २०१७ को आगमन संख्या ९,४०,२१८ ले तोड्यो। सन् २००७ मा हवाइमार्गबाट प्रवेश गर्ने पर्यटकको संख्या ६८.५ प्रतिशत थियो भने २०१७ यो प्रतिशत ८१ पुग्यो। यसले नेपाली उड्डयन क्षेत्रको विकास र विस्तार भइरहेको संकेत गर्छ।
सन् २००७/८ ओ अवधिमा नेपालमा २५ वटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले सेवा दिएका थिए। सन् २०१७ मा यो संख्या ३० पुग्यो। २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टासम्म सञ्चालन भएको छ। नेपाल वायुनिगमसँग २ वटा वाइडबडी विमान छन्। हाल ५ वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडानको निरन्तर सञ्चालनबाट बजार हिस्सा १७ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ। हाल करिब ९० प्रतिशत बजार अन्तर्राष्ट्रिय विमान कम्पनीले ओगटेका छन्।
सरकारी पहल र प्रयासबाट अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियमनकारी निकाय, आइकाओको कालोसूचीबाट निगमले क्लियरेन्स पाइसकेको छ भने युरोपियन यूनियनको कालोसूचीबाट हट्ने प्रयास भइरहेको छ।
यी सुधारका उच्चतम् प्रयास हुन्। नेपालले ३८ देशसँग हवाइ सम्झौंता गरेको छ। ती मध्ये १६ देशसँग मात्र सिधा हवाइ सेवा सञ्चालन भइरहेको छ। नेपालको पर्यटनको विकासक्रमलाई क्षेत्रीय पर्यटनको विकास र वृद्धिको विश्लेषणबाट बुझ्न जरूरि हुन्छ।
विशेष गरि भारतको पर्यटनको विस्तार र वृद्धिको प्रत्यक्ष र रणनीतिक प्रभाव नेपालमा पर्नेगर्छ। पर्यटन बहुआयामिक र अन्तर्राष्ट्रिय परिस्थितीय विषय भएकोले भारत जस्तो विशाल छिमेकी देशको पर्यटनको अवस्था र सँगसगैं अर्को छिमेकी चीनको पर्यटनको अवस्थाको स्वभाविक र स्वचालित प्रभाव नेपालमा पर्ने गरेको छ।
सन् २०१७ मा भारतमा बाह्य पर्यटक आगमन एक करोड नाघ्यो। यसबाट भारतीय अर्थतन्त्रमा २७ अर्ब अमेरिकी डलरको योगदान रह्यो भने करीब ६.८८ प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा र १२ प्रतिशतले रोजगार क्षेत्रमा योगदान पुगेको देखिन्छ।
सन् २०१६ मा ८८ लाख पर्यटक भारत भित्रदा ८४ प्रतिशत हवाइमार्गबाट प्रवेश गरे। यस मध्ये दिल्ली र मुम्बई एयरपोर्टबाट मात्र कुल ४६.९ प्रतिशत आगमन भयो। स्मरण गरौं, सन् २०१२ मा भारतको पर्यटक आगमन करिब ६५ लाख रहेको थियो। सन् २०१० मा ७ करोड ९० लाख यात्रीले भारतसम्म, बाहिर र भारत भित्र भारतीय हवाइ सेवा उपयोग गरेका थिए। यो संख्या सन् २०१७ मा बढेर १५ करोड ८० लाख पुग्यो। यो संख्या सन् २०३७ मा ५२ करोड पुग्ने अनुमान छ।
भारतीय हवाइ आकाशमा ७० प्रतिशत हिस्सा लो बजेट हवाइ कम्पनीको छ भने अन्तर्राष्ट्रिय सिट क्षमताको करिब २५ प्रतिशत हिस्सा लो बजेट एयरलाइन्सले ओगटेको छन्।
भारत ३०४ वटा अन्तर्राष्ट्रिय गन्तब्यसँग जोडिएको छ। सन् २००८ मा २३० थियो। यसैबाट अनुमान गर्न सकिन्छ भारतको उड्डयन क्षेत्रको विकास र विस्तारको रफ्तार। यो बीचमा भारतले ब्यवसाय गर्न सहज देशको सूचीमा २०१८ सम्म आइपुग्दा ७७ औं स्थान हासिल गर्यो। सन् २००६ मा भारत ब्यवसाय गर्न सहज देशको सूचीमा १३८ औं स्थानमा थियो। यो अग्रगामी छलाङ्ग हो।
यस्तैगरि पर्यटन प्रतिस्पर्धात्मक रेटिङ्गमा सन् २०१५ मा ५२ औं स्थानमा रहेको भारत २०१७ मा ४० औं स्थानमा पुग्यो। भारतको यो प्रगति नेपालको पर्यटनका लागि पनि फलदायी रहेको छ।
सन् २००६ मा डलरको औषत मूल्य रू ७५ रह्यो। सन् २०१८ मा यो अंक रु.११८ सम्म पुग्यो। बिशेषगरि बाह्यपर्यटकका लागि क्रयशक्ति बढ्ने भएकोले बलियो डलर पर्यटनका लागि राम्रो मानिन्छ।
सन् २०१२ मा भारतमा पर्यटक आगमन ६५ लाख थियो। सन् २०१७ मा यो संख्या १ करोड १० लाख पुग्यो। सन् २०१२ मा नेपालमा पर्यटक आगमन ८ लाख रह्यो भने २०१७ मा ९ लाख चालिस हजार। बृद्धिका हिसाबले क्षेत्रिय पर्यटनको बृद्धिदरको अनुपातमा यो सन्तोषजनक होइन।
एउटा अर्को तथ्याकं हेरौं। २०१७ मा भारतमा बौद्ध धर्मालम्बी बाहुल्य रहेको देश जापान, दक्षिण कोरियाबाट २/२ लाख भन्दा बढी पर्यटक भारत आए। भियतनामबाट पनि औसतमा २० हजार पर्यटक आएको देखिन्छ। यही अवधिमा ती देशबाट नेपालमा धेरै कम पर्यटक आएको देखिन्छ। भारतसम्म आएका ती पर्यटक बुद्ध जन्मेको पवित्रभूमि नेपालसम्म किन आएनन्? यो अध्धयन गर्नु जरूरि छ।
सन् २००६ देखि सन् २०१७ सम्म चीनमा पर्यटक आगमन हेरौं। एक अध्ययनले सन् २०१८ मा चीनको हवाइ सेवा कम्पनीले करिब ६० करोड यात्रुलाई सेवा दिनसक्ने अनुमान गरेको छ। विश्वको दोस्रो ठूलो हवाइउद्योग चीनको उड्डयन क्षेत्रको विकासले नेपालको पर्यटनलाई कस्तो प्रभाव पार्ला? पछिल्लो ३/४ वर्षको निरन्तरको चिनियाँ पर्यटकको बृद्धिलाई पनि यो विकाससँग जोडेर हेर्ने हो भने यो सकरात्मक र फलदायी रहेको छ। नेपाली कम्पनीलाई पनि चीनमा उडान सहज भएमा यो संख्या अझ बढेर जाने थियो। सन् २०१७ मा १३ करोड पर्यटकले चीन भ्रमण गरे, यद्दपि यसमा लगभग ८० प्रतिशत हिस्सा ताइवन, हङ्गकङ्ग र मकाओका पर्यटकको छ। सन् २०१८ को अन्त्य सम्ममा चीनको आन्तरिक पर्यटकको संख्या ३८ करोड पुग्ने अनुमान छ।
यस किसिमको अलौकिक भ्रमणको शैलीबाट छिमेकी भएको नाताले नेपालले स्वभाविक फाइदा लिन सक्ने देखिन्छ। चीनको मुख्य भूमिबाट सन् २०१७ मा चिनीयाँहरुले आन्तरिक र बाह्य दुवैं गरि ४.५३ अर्ब पटक यात्रा गरे।
यो चीनको कुल जनसंख्याको लगभग ३ गुणा हुन आउँछ। स्पष्ट छ, कसले कति चिनीयाँ पर्यटक भित्र्याउँने लडाई नैं चलेको छ। हाम्रो तयारी के हुन सक्छ? चिनीयाँ बजार लक्षित योजना र रणनीतिसहित आक्रामक प्रबर्धनमा जानुपर्छ।
दक्षिण एशियाको पर्यटनको अवस्था
भारतको लागि बंगलादेश पहिलो स्रोत बजार हो। सन् २०१७ मा २१ लाख भन्दा अधिक बंगलादेशीले भारत भ्रमण गरे। सोही वर्ष ३२ हजार बंगलादेशीले नेपाल भ्रमण गरे। एउटा रोचक तथ्य के छ भने, सन् २०१७ मा १ लाख ६० हजार ८ सय ३२ भारतीय पर्यटक हवाई मार्ग हुँदै नेपाल प्रवेश गरे भने सोही अवधिमा अनुमानित १ लाख ६० हजार भन्दा बढी नैं नेपाली पनि हवाई मार्ग हुँदै भारत गएको देखिन्छ। नेपाल भारतका लागि १३ औं स्रोत बजार हो।
पछिल्लो पाँच वर्षमा श्रीलंका हाम्रो लागि बलियो प्रतिस्पर्धीका रूपमा अघि आयो। सन् २०१२ मा दश लाख पर्यटक भित्र्याएको श्रीलंकाले सन् २०१६ मा नैं २० लाख ५० हजार पर्यटक तान्यो। विगत पाँच वर्षमा श्रीलंकाले प्रवर्धन र बजार विस्तारमा उल्लेख्य लगानी गर्यो। लण्डन, बर्लिनलगायत महत्वपूर्ण स्रोत बजारमा बलियो उपस्थिीति देखायो।
मननयोग्य के छ भने, दक्षिण एशियाली छिमेकी श्रीलंकाको ८६ देशसँग हवाइ सम्झौंता छ। सन् २०१२ मा १० लाख पर्यटक भित्र्याएको श्रीलंकाले २०१६ मा २० लाख ५० हजार पर्यटक यतिकैं पाएको होइन।
श्रीलकंन एयरलाइन्सले हाल ४७ देशका १०० वटा गन्तब्यमा कोड सेयरसहित उडान सेवा सञ्चालन गर्दे आएको छ। श्रीलकंन एयरलाइन्सले २७ वटा जहाजबाट अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्छ।
यस्तै दक्षिण एशियामा आकर्षक गन्तब्यको रुपमा स्थापित हुन बंगलादेश प्रयासरत छ। सन् २०१५ मा ६ लाख ४३ हजार ९४ पर्यटक बंगलादेश आएकोमा सन् २०१६ मा ६ लाख २०हजार पर्यटक आगमन रह्यो।
बंगलादेश सरकारले २०१६ लाई पर्यटन वर्ष घोषणा गरि दश लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। सन् २०१० देखि २०१५ को अवधिमा ३१ लाख पर्यटक बंगलादेश आएको त्यहाँको पर्यटन मंत्रालयले जनाएको छ।
बंगलादेशबाट बाहिर घुम्न जाने बंगलादेशीको संख्या बाह्य पर्यटक आगमन भन्दा बढी भएकोले यस्बाट पर्यटनबाट प्राप्त आम्दानीमा नकारात्मक भार परेको प्रष्ट देखिन्छ। तर, बंगलादेशको उड्डयन क्षेत्र विस्तारित छ, हाम्रो दाँजोमा।
बिमान बंगलादेशसँग हाल ६ वटा वाइडबडी र ४ वटा न्यारोबडी जहाज छन् र १९ वटा अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्दे आएको छ।
माल्दिभ्सले २०१७ मा १४ लाख पर्यटक भित्र्यायो। यो संख्या देशको आकार हेर्दा धेरै जस्तो लाग्न सक्छ। तर, माल्दिभ्स अन्तर्राष्ट्रिय पर्यटन बजारमा उच्च र प्रिमियम गन्तब्यको रुपमा प्रख्यात छ। माल्दिभ्सको पर्यटनमा लगभग ३० प्रतिशत आगमन चिनीयाँ पर्यटकको छ।
युरोपियन, अमेरिकन र जापानिजको रोजाई पर्छ माल्दिभ्स। २० भन्दा बढी अन्तर्राष्ट्रिय हवाइ कम्पनीले माल्दिभ्सलाई बाँकि विश्वसँग जोडेका छन्। महँगो गन्तब्यमा पर्छ माल्दिभ्स।
भुटानले गज्जबको ब्राण्डिङ्ग गर्यो। खुशीको भूमि, Land of happiness को गन्तब्यको रुपमा प्रचार गरि युरोपियन र अमेरिकन पर्यटकमाझ चर्चित भएको छ।
सन् २०१७ मा २ लाख ५४ हजार ७ सय ४ पर्यटक भुटान प्रवेश गरे। यसमा १ लाख ७२ हजार ७ सय ५१ पर्यटक भारतबाट मात्र छन्। १० हजार ५ सय ३६ बंगलादेशबाट र तेस्रो मुलुकबाट ७१ हजार ४ सय १७ पर्यटक भुटान प्रवेश गरे।
सन् २०१६ को तुलनामा भुटानमा पर्यटक आगमनको बृद्धि दर २१.५ प्रतिशत रह्यो। भुटानी वायुसेवा कम्पनीले ९ वटा अन्तर्राष्ट्रिय गन्तब्यसँग भुटानलाई जोडेको छन्।
पाकिस्तान पर्यटन विकास प्राधिकरणले सन् २०१७ मा साढे सत्र लाख पर्यटकले पाकिस्तान भ्रमण गरेको तथ्याकं निकाल्यो।
यो संख्या सन् २०१२ मा ९,६६,००० थियो भने २०१० मा करीब ९ लाख थियो। यो हेर्दा पाकिस्तानमा पर्यटनको बृद्धि दर राम्रो देखिन्छ।
हाल चार वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ अन्तर्राष्ट्रिय विमान कम्पनीले सेवा दिइरहेका छन्। कुल ग्राहस्र्थ उत्पादनमा करिब ५ प्रतिशत पर्यटन क्षेत्रको योगदान छ।
पछिल्लो पाँच वर्षमा समग्र एशिया प्रशान्त र दक्षिण एशियामा पर्यटक आगमन निरन्तर उकालो लागेको छ।
नेपालको लागि चुनौती दक्षिण एशियामा कसरी अब्बल रहने, पर्यटन क्षेत्रको गुणात्मक लाभ कसरी बढाउने र नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ्ग र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउने भन्ने हो।
तीन तहको राज्य संरचनामा पर्यटन विकासको साझा एजेण्डा कसरी तय हुने यो पनि पेचिलो छ। पर्यटन शुल्कमा दोहोरो मात्र नभएर बहुशुल्कको अवस्था आइसक्यो। सेवा, सुविधा र प्याकेज रेट अनियमित र मनपरि छ र अनुगमन बलियो छैन। निजी क्षेत्रबाट भएको लगानीमा प्राथमिकरण र योजना स्पष्ट छैनन्। पर्यटन क्षेत्रमा खपत भइरेहको आयातलाई प्रतिस्थापन गर्ने किसिमको लगानी र उद्दमशीलता कमजोर देखिएको छ।
विषयगत कथनभन्दा पनि तथ्य र तथ्याकंले भविश्य प्रतिको आशा देखाउने हो। ब्यवसायिक वातावरणको मानकमा नेपाल भारत, भुटान र श्रीलंका भन्दा पछि छ। पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ, जबकि भारत ४० औं, श्रीलंका ६४ औं, भुटान ७८ औं स्थानमा छन। पाकिस्तान १२४ औं र बंगलादेश १२५ औं स्थानमा छन्। प्राकृतिक सुन्दरतामा प्रर्याप्त लगानी गरि सेवा सुविधा र पर्यटकको अनुभव बढाउनु निर्विकल्प छ।