कसैले मुस्कुराएर मीठो बोलेको सबैलाई मन पर्छ। प्रेमले शत्रुमाथि विजय गर्न सकिन्छ त्यसै भनिएको होईन। प्रतिकात्मक अर्थ नै खोज्ने हो भने रिसलाई शत्रु मानेर त्यसमाथि विजय प्राप्त गर्न प्रेम सक्षम छ भन्ने नै हो।
यति सुन्दर सत्य कुरा थाहा भएरै पनि सबै मान्छे मिठो बोल्दैनन्। यस्तै आरोप लाग्छ ट्राफिक प्रहरीलाई पनि। छुच्चो ब्यवहार गर्छ र सामान्य गल्तिमा पनि छोड्दैन। गुनासो नयाँ होइन। सोधेको कुरा नबताउने, नमस्कार समेत नफर्काउने समस्या अन्य सरकारी कार्यालयमा जस्तै यहाँ पनि छ भन्ने तीतो गुनासो दोहोरिरहन्छ।
अधिकांस औपचारिक वा अनौपचारिक गोष्ठी, समारोहमा प्रसंशा न्युन आलोचना धेरै सुन्नु पर्छ। अझ भरखरै वा केही दिन अघि मात्र चिट काटिएको सवारी चालक र केही यात्रुको संवाद सुनियो भने सुन्न लायक शब्दावली प्रयोग नै हुँदैन।
‘कंचनपुर घटनादेखि त प्रहरीको अनुहार पनि हेर्न मन लाग्दैन।’ माइक्रोबसकी एकजना महिला यात्रुको प्रतिक्रिया थियो सडकमा उभिएको ट्राफिक प्रहरी देखेर।
ट्राफिक प्रहरीले खाली दुःख मात्रै दिन्छ ? ऊ सडकमा देखिन मात्र निस्केको हो ? सडकमा केबल हात बाँधेर बसोस् ? हतियार र सवारी साधनबाट जानेर वा नजानेर गल्ती भए नोक्सान एकै खालको हुन्छ ? अनि जे भएपनि हेरिरहने ? कारबाही कम सम्झाउने ज्यादा पनि गरेकै हो प्रहरीले ? कसले टे¥यो त खै ?
देश बाहिरको कुरा छोडौँ, काठमाडौँ बाहिरबाट आएको एउटा चालकलाई नै सोध्यौँ भने प्रष्ट हुन्छ काठमाडौँमा सबैभन्दा ठूलो अराजक केही छ भने सवारी साधनमै छ। मोफसलबाट आएको एउटा ट्राफिक प्रहरीले यहाँको अस्तव्यस्त र अराजक ड्राइभिङ्गमा सवारी व्यवस्थापन गर्न उसलाई निक्कै गारो परेको सुनाउँछन्। यी सबै कुरा बाहिरबाट आएका आफन्त साथीभाइलाई सोधे थाहा भइहाल्छ। फेरि गाली चैँ ट्राफिकलाई नै।
कतिले मुखै फोर्छन् ट्राफिक प्रहरीले गर्दा झन समस्या भयो, यि नभएकै ठीक। अदालतबाट स्टे अर्डर लिएर हेरौँ त ५ मिनेट ट्राफिक प्रहरी सडकमा नबसुन् भनेर। के अवस्था हुनेरहेछ। संसारको कुनै पनि मान्छे चाहे तपाइ होस् वा अरु कोही काठमाडौँको आजको अवस्थामा सवारी नियन्त्रण गर्न आँट गरेर केबल एक दिन सडकमा उभिएर हेरौँ त के हुन्छ मनोदसा।
सडकको ट्राफिक प्रहरीलाई सहायता गर्ने कोही हुन्न जति छौँ असहयोग र गाली गर्ने मात्र छौँ। धन्न टिकेको छ उसको शारिरिक र मानसिक स्वास्थ्य।
यति भनी सकेपछि ट्राफिक प्रहरी दुधले नुहाएको छ भन्ने अर्थ नलागोस्। कोही पनि त्यस्तो हुन्न। प्रहरीलाई एकाध बदनामी गराइएको छ भने प्रहरीबाटै गराइएको छ। नेपाल प्रहरीका विभिन्न कार्य विभाजन मध्ये ट्राफिक प्रहरी नै अघि हुनसक्ला बदनाम गराउने प्रतिसतमा। बदनामी गराउनेले मेरो संगठन र यसका नैतिकवान सदस्यहरुको बदनामी गराएको छु भन्ने नस्वीकार्नु मूल समस्या हो।
अझ एकहद बढेर बदनामीका कथालाई सफलताका कथाकारुपमा गर्वसाथ सुनाएर हिँड्ने मात्र होइन सुनिदिएर उनीहरुलाई प्रोत्साहित गर्ने आफन्त र समाज पनि दोषी छ। आफनो मान्छे प्रहरी भए जे गरेपनि ठिक पराया भए छिसिक्क चर्को बोली पनि निस्किन नहुने हाम्रो मनोवृत्ति पनि समस्या हो।
यस्तै प्रवृत्तिगत समस्याले ट्राफिक प्रहरीको व्यवहार बिग्रिन केही हद मद्दत गरेको छ। जिब्रो र वर्दीको गरिमा बचाउन मिठो बोल्नु पर्ने कुरा सबै ट्राफिक प्रहरीलाई थाहा छ। पंखा वा एसीभित्र कुर्सीमा बसेर कलम चलाउने त नमस्कार फर्काएनन् भन्छौँ हामी। बरु घण्टौंदेखि सडकमा उभिएका तिनले नै नमस्कार भन्दै मीठो बोल्ने प्रयासमा सवारी र कागजपत्र चेक गर्न थालेको अनुभव गरिरहकै छौँ। उनीहरुको सुधारोन्मुख व्यवहरलाई प्रोत्साहित गर्न चुक्दै पो छौँ कि। आश गरेजस्तो परिणाम नआउनुमा यस्तै अन्तरवस्तुमा प्रवेश गर्न नसकेका त होइनौँ ?
स्याबासी दिने थुप्रै अवसरहरु भएपनि चिनिएका सेलीब्रेटी, कलाकार बाहेक अरु कसैले पनि ट्राफिक प्रहरीलाई सहानुभूतिसम्म प्रकट गर्दैनौँ। यसको अर्थ उसले नचिनेको अधिकांस सडक प्रयोगकर्ता यदाकदा उनीहरुको कडा व्यवहार र रुखो बोलीको फेला परिसकेका छौँ।
यस्ता फेला पराइमा तपाइँहामी, उनीहरु स्वयं र तिनले दैनिक झेल्ने समस्या कारक हुन सक्छ।
पानी नखाउँ आठ घण्टा कसरी टिक्नु रोगहरुको कारण बोकेर। खाउँ पिसाब फेर्न काँ जानु। काठमाडौँ सडकमा उभिएको ट्राफिक प्रहरी यही अप्ठ्यारो अवस्थामा हुन्छ सधैँ। धुलो–धुवाँ घाम–पानीको कुरै नगरौँ ट्राफिक प्रहरीलाई पसुपतिनाथले नै बचाएका हुन रोग लाग्नबाट। पसुपतिनाथको बसमा नरहेका दिन तिनका फोक्सोदेखि घाँटीसम्मको क्यान्सरको उपचार कसले गर्नेहो ?
उनीहरुलाई अनावस्यक आक्रामक बनाउने सवारी चालक र पैदल यात्रु दुवै हौँ। धुलोधुवाँ छल्न लगाएको मास्क चिउँडोमा सारेर सिठी फुक्या छन्, हात हल्लाका छन्, चस्मासम्म नभएका आँखाको धुलो पुछ्न नपाएर घरि एउटा घरि अर्को गरी दुबै आँखा चिम्लिँदै संकेत गरिरहेका छन्। एकातिर संकेत गरिरहेको हुन्छ अर्कोतिरको गाडि जबरजस्ती छिर्छ। एक मिनेट ढिलो भयो कि ट्वाँट्वाँ हर्न बज्छ।
अर्को कुनाबाट एउटा मोटर साइकल आउँछ र ट्वाँट्वाँ पार्छ। ट्राफिकका आँखा परिहाले भने इसारा गर्छ दाइ यता जान मिल्छ ? युएन सभ्यता अनुसार मानिस वा सवारी साधनलाई समेत हर्न बजाउनु उसको अपमान गर्नु हो। अगाडिको दृष्य देख्न नसकिने घुमाउरा सडकमा दुर्घटनाबाट बच्न बचाउन हर्न नबजाउने हामी, आफू अगाडिको गाडिको स्टार्ट बन्द भो भने १० सेकेण्ड कुर्ने धैर्य नगरी ट्वाँ पार्छौ, हर्नलाई संगीत भन्दा प्रिय ठान्छौँ, हर्न किन ? भन्ने नै थाहा छैन। सार्प कर्नरमा बाहेक अन्यत्र हर्नको प्रयोग गर्नै पदैन। तर गरिरहेका हुन्छौँ। हरियो सडक बत्ती बल्यो वा ट्राफिकले जान इसारा ग¥यो, आफू अगाडि गाडिले पिकअप लिउन्जेलसम्मको ४ सेकेण्ड पर्खिंदैनौँ थिचिहाल्छौँ हर्न।
लेनमा रोकेर पालो पर्खिने त के कुरा अपोजिट लेनमा छिरेर उताबाट आउनेलाई समेत रोकेर जाम गरिदिन्छौँ, ट्राफिक प्रहरीले आँट गरेर बोलि हाल्यो भने पाखुरा सुर्किन्छौँ।
‘म को हुँ चिन्छस्, देखाइदिन्छु तँलाई।’
बायाँ साइडबाट मोटरसाइकल मात्र होईन चार पाङ्ग्रेले पनि ओभर टेक गर्छौं। पैदल यात्रुलाई वास्तै गर्दैनौँ। जेब्रा क्रसिङमा पैदल यात्रु देख्दादेख्दै गाडिको स्पिड बढाउँछौँ। सडकपेटीमा समेत मोटरसाइकल चढाएर अझ हर्न बजाउँछौँ पैदल यात्रुलाई। एकचोटी आफूतिर फर्किएको आफ्नै बुढी औँलोलाई सोध्ने कि अरु यात्रु र प्रहरीलाई कत्तिको हैरानी भएको छ हाम्रो व्यहारले।
आकासे पुलमुनिबाटै बाटो काट्ने अधिकांस पैदलयात्री विद्यार्थी र टाइ लगाएका शिक्षितहरु नै हुन्छौँ। जेब्रा क्रसिङ्गकै नजिकबाट ताँत लागेर तीब्र गतिमा आइरहेको गाडिलाई हात ठड्याउँदै सडकमा हाम फाल्छौँ। यी केही उदाहरण मात्र हुन्।
शिक्षालयको पनि केही भूमिका हुँदो हो सडक सभ्यता निर्माण गर्नमा। मुख्य सडक छेउका स्कुलअगाडि जेब्रा क्रस बनाएको देखिन्छ। तर त्यही स्कुलका विद्यार्थीले त्यसलाई प्रयोग गरेको देखिन्न। १० मिटर पर्तिरबाट बाटो काटिरहेको हुन्छ। त्यो स्कुलले कुनै एकदिन मात्र ती विद्यार्थीलाई सम्झाएको होला त त्यस विषयमा ? स्कुल, कलेज, सरकारी तथा प्राइभेट अफिस तथा प्रशिक्षण केन्द्रहरुमा ट्राफिक शिक्षा सम्बन्धी कम्तिमा एउटा पिरियड संचालन गर्ने हो भने सडक र सवारी सभ्यताको विकास गर्न सकिन्थ्यो र सवारी दुर्घटनाबाट हुने क्षति रोक्न सकिन्थ्यो नि। यो नागरिक कर्तब्यभित्र नपर्ने विषय हो त ?
सडकमा उभिएको ट्राफिक प्रहरीले चालकसँग खैनी माग्न गाडि रोकेको पक्कै होइन। अगाडि चेकिङ्ग देख्ने बित्तिकै पारो तात्छ हाम्रो। पहिल्यै पूर्वाग्रही बन्छौँ। ब्लुबुक माग्यो, आफुसँग छैन। हामीमध्ये धेरै कमले मात्र ‘सरी भाइ’ आज झोला बोकिन छुटेछ भनौँला, धेरैलाई आफ्नो अहंले त्यति भन्न पनि दिँदैन।
एकातिर प्रहरीलाई युनिफर्मको अहम् अर्कातिर सडक प्रयोगकर्तालाई लोकतान्त्रिक नागरिक हुनुको अहम्। अनि महाभारत सुरुहुन्छ। अन्जानमा भएको सानो गल्तिमा प्रहरीले सम्झाएर छोडे हुने भन्ने हाम्रो अपेक्षा गलत होइन। तर अन्जानको गल्तिले दुर्घटना नहुने र कसैको ज्यान नजाने भन्ने पनि त हुँदैन। बिर्सेरै भए पनि कागजपत्र नबोक्नु हाम्रै गल्ति हो। बिनम्रता सडक प्रयोगकर्तामा पनि चाहिन्छ। जसरी प्रहरीले गल्ती गर्नै हुन्न त्यसैगरी सवारी चालकले गल्ती गर्नै हुन्न।
मानव मनोविज्ञान सम्भवतः सबैको एकै हुन्छ प्रसंशा पाउने, अपजस र दुसमनी नकमाउने। हामी मुस्किलले एक महिनामा एक जनासँग विवाद गर्न बाध्य भइँदो हो। तर हामी जस्ता यात्रुका कारण दिनमा दर्जनौँ व्यक्तिसँग झगडाको रुप सामना गर्नु पर्छ उनीहरुले। धन्न तिनको धैर्य र सहनशीलता।
जसरी नीलो वर्दीमा नीलै टाइ लगाएर स्मार्ट देखिँदैमा ट्राफिक प्रहरीको व्यक्तित्व झल्किँदैन, त्यसैगरी टाइ लगाएर महंगो गाडि चढ्दैमा कसैको सक्कली छवि प्रतिबिम्बित हुँदैन। उसले सडकमा पालना गर्ने सवारी नियमले उसको नीजी सभ्यतालाई उजागर गर्छ जसरी प्रहरीको व्यवहारले प्रतिबिम्बित गर्छ उसको सभ्यतालाई।
अर्काको लेनमा प्रवेश गर्ने, जेब्रामा लगेर गाडि रोकिदिने, प्रहरीको संकेत पालना नगर्ने अनि उसले हामीलाई ‘हजुर’ गरोस भन्ने अपेक्षा एकतर्फी हुन्छ। एकातिर प्रहरीले मान्छे हेरेर व्यवहार गरेको आरोप लाग्छ अर्कोतिर मलाई सार्वजनिक गाडिको चालकलाईझैँ व्यवहार ग¥यो पनि भन्छौँ। प्रहरीको नजरमा सबै सडक प्रयोगकर्ता एकै हुन्। पद र आर्थिक हैसियतको प्रतिष्ठा जोगाउन आफैँ प्रयत्न गर्ने हो अर्काले गरिदिँदैन।
सार्वजनिक सवारी साधनलाई यात्रुसँग अमानवीय व्यवहार गरेको आरोप लाग्छ। अझ फरक क्षमता भएका, दृष्टि बिहीनहरुलाई सितिमिति चढाउनै नचाहने, एकातिर जानेछ भने अर्कोतिर जान्छ भनेर ढाँटिदिने, चढाईहाले दुव्र्यवहार गर्छन् भन्ने गुनासो छ उहाँहरुको।
यी र यस्ता सयौँ बिकृतिको नियमन र कारबाही गर्नुपर्ने निकाय वा व्यक्तिले जस पाउन कठिन नै होला ?
सडकमा निस्कँदा पूर्वाग्रही नभइ नियम पालनामा कठोर र धैर्य हुन सक्यौँ भने हाम्रो यात्रा स्वतः सुगम र सुरक्षित बन्छ। यसकै लागि सडकमा जोखिपूर्ण मजदुरी गरिरहेका हुन्छन् ट्राफिक प्रहरी।
हाम्रो धिरता र नियम पालनापछि पनि सडक प्रहरीको बोली र ब्यवहारमा सुधार नदेखिए अर्को बाटो के हो तपाईं हामीलाई थाहै छ। व्यावसयिक आचरण पालना नगर्ने सयौँ प्रहरीलाई विभागीय कारबाही भएका सुचना मिडियाले नै सार्वजनिक गर्छ हरेक वर्ष।
सबै व्यक्ति नियम कानुन वा सजायले सुध्रिन्छ नै भन्ने छैन। त्यसो नभए ऊ प्रहरी सेवा सुहाउँदो छैन, अर्कै पेशा रोज्छ।
लोभि प्रहरी आजैबाट सुध्रिनुपर्छ। तिनका परिवारले पनि प्रश्न उठाउनु पर्छ, अनियमित कमाइमा। अरुका श्रीमतीको गुन्यु खोसेर आफुले बनारसी लाउने कल्पना गर्नु कति जायज होला। प्रहरी सेवा हो व्यापार होईन। धेरै रहरहरु हुनेले प्रहरीलाई जीवन साथी नछानेकै राम्रो। तर सत्य के पनि हो भने समान हैसियतको सरकारी छिमेकी रामबहादुरको छोरा पढ्ने स्कुल पनि समान हैसियतकै हुनुपर्छ। ती दुईको जीवनशैली समान देखिनु पर्छ।
जरिवाना गरेर उठाएको राजश्वबाट २५ प्रतिसत इन्सेन्टीभ पाउनकै लागि आक्रमक भएर मिहिनेत गरेका हुन भन्ने सुनिन्छ। उनीहरु आवस्यक्ताले स्वतस्फुर्त इमान्दार भएर खटिरहेका हुन्। तिनले जति नै जरिवाना उठाए पनि एक पैसा पाउँदैनन्।
तसर्थ आठ घण्टा कुर्सीमा बिताउनु र अठार घण्टा सडकमा बिताउनु आकास जमीनको फरक छ। जसरी ट्राफिक प्रहरीको त्रुटीमा बोल्छौँ त्यसैगरि उनीहरुको वर्तमान र भविष्य कति सुन्दर छ भन्ने कुराका लागि पनि ख्याल गर्नुपर्छ। धुलो र धुवाँमा बीच सडकमा खतरापूर्ण ड्युटी गरेर फर्केको एउटा पुलिस जाडोमा सित चुहिने र गर्मीमा आगो जस्तै तात्ने त्रिपाल वा जस्ताको छानो र जस्ताकै बेरा बीच फलामकै खाटमा बुट समेत खोल्न नपाइ पातलो निन्द्रा निदाउँदा के होला उसको आत्मबल ?
मुस्कान सहितको प्रहरी सेवा फुलाउन पहिले उसको ओठमा मुस्कान रोप्नुपर्छ ? कालो गए गोरो त आउला तर त्यो गोरोले पनि नतिजा दिन सक्ने सम्भावना हुँदैन।
नागरिक र प्रहरीबीचको विश्वास बलियो बनाउन दुबै पक्षको मनोवल उच्च पारेर परिणाम निकाल्ने तिर लाग्यौँ भने मुस्कान र मित्रता आफैँ निर्माण हुन सक्छ। लादेर होइन चेतना भरेर भित्रैबाट सेवाभाव उमार्ने प्रयासले मात्र सेवक र सेवाग्रहीबीचको सम्बन्ध र विस्वास बढ्छ। यो प्रयासमा सरकार, प्रहरी संगठन र नागरिक सबै सचेत हुनुपर्छ।
प्रहरी र नागरिकको एकअर्कामा विस्वास बढोस् ६३ औँ प्रहरी दिवसको संघारमा सबैलाई शुभकामना।