प्रिय निर्मला, प्रथमतः तिम्रो सुन्दर-सुकोमल जीवनलाई बलात्कारको घोर पीडासँगै क्षणभरमै माटो-खरानीमा परिणत गर्ने अपराधीहरू कति बलिया र शक्तिमान रहेछन् भन्ने कुराले उदेक लागेको छ, गम खाएको छु। सत्तासिन पार्टीका अध्यक्ष प्रचण्डले अस्ति मात्र यस घटनाको विषयमा बोल्दै 'महिला हिंसा सरकार र नेकपा पार्टीलाई कमजोर बनाउने षड्यन्त्र' भन्नुले पनि अपराधीहरूको सामर्थ्य थप प्रमाणित हुन्छ।
हिजो शुक्रबारको कान्तिपुर दैनिकको मुख्य पृष्ठमा छापिएको 'न्याय माग्दा बन्दुकको नाल' शीर्षकको समाचार पढेपछि तिमीमाथिको अन्याय र अपराधविरूद्ध केही नबोली बस्नु तिमीमाथि झनै थप अन्याय र अपराध हुनेछ भन्ने ठहरमा पुगेको छु।
महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार तिम्रो विभत्स हत्या भइसकेपछि सबै प्रमाणहरू नष्ट गर्दै तिम्रो प्राणहीन शरीरलाई जतिसक्दो चाँडो अन्तिम संस्कारका लागि प्रहरीद्वारा नै परिवारलाई कसरी बाध्य गराइयो अनि तिम्रो पक्षमा आवाज बुलन्द गर्ने अधिकारकर्मी लक्ष्मी मल्लहरूलाई कसरी आतंकित गरियो भन्ने फेहरिस्त पढेर रगतका धमनीहरू उम्लिएका छन् निर्मला।
तिम्रा मातापिताले जुन कारुणिकतामा न्याय मागिरहेछन् लाग्छ यो देशमा अपराध र अपराधीको मात्र जय जयकार गरिने समयको प्रादुर्भाव भएको छ, या हुनै लागेको छ।
प्रिय निर्मला, देशमा सरकार र लोकतन्त्रले तिम्रो विषयमा आँखामा पट्टी बाँधेको छ । सत्ता पक्षीय ठूला तहका नेताहरूको अभिव्यक्ति पनि तिमीलाई न्याय दिलाउने भन्दा कोसौं टाढा छन्। कस्तो बिडम्बना तिम्रो बलात्कार र हत्या उनीहरूको सत्ताको कुर्सी मक्काउने षड्यन्त्रको खेल भनी परिभाषित गरिँदैछ।
प्रहरीले जसरी अपराधीलाई सहयोग पुग्ने गरी सम्पूर्ण सबुत प्रमाणहरू रातारात नष्ट गर्छ, प्रहरीको सारा संयन्त्र तिम्रा अपराधीहरूको सुरक्षा र बचाउमा मैदानमै ओर्लेर तल्लिन भएको देखिन्छ र पनि सरकारले प्रहरीलाई कुनै प्रश्न गर्दैन, सरकार अनन्त निन्द्रामा सुतेर बस्छ।
देशकी एक प्रिय सानी छोरीको भयावह शैलीमा बलात्कार र हत्या हुन्छ, पूरा देश उसको पक्षमा महिनौं भैसक्यो आक्रान्त छ, आन्दोलनको क्रममा एक युवकको ज्याननै गैसक्यो, मातापिता रुँदै र भक्कानिँदै बडो कष्टपूर्ण र कारुणिक लबजमा सरकारसँग भन्छन्, 'कि न्याय देऊ कि हामिलाई पनि मारिदेऊ।' तर, सरकार बेपरबाह र बेमतलबझैं छ। नागरिकद्वारा निर्वाचित र स्थापित सरकार भएको एक लोकतान्त्रिक देशमा न्यायको लागि निमुखा नागरिकले यो पराकाष्ठमा बोलिराख्नु र संघर्ष गर्नु सबभन्दा ठूलो लज्जाको विषय हो। यो अर्थमा यहाँ लोकतन्त्र नै छैन।
यो घटनाले सबभन्दा ठूलो प्रश्न नेपाल प्रहरीलाई गरेको छ।
स्थानीय प्रहरी नेतृत्वको कारण सिंगो प्रहरी संगठन बद्नाम भएको छ। प्रहरीसँग नागरिकको विश्वास र भरोसा दिनानुदिन टुट्ने रफ्तार बढ्नु देशकै लागि ठूलो दुर्भाग्यको विषय हो। युट्युबमा भेटिने भिडियोमा जब प्रहरी अधिकृतको सामुन्ने महिला प्रहरीले सबुतहरू नष्ट गर्छिन्, सुरुवाल पानीमा राखेर निचोर्ने, यौनांग पखाल्ने आदि। के प्रहरीको काम, कर्तव्य र अधिकार यही हो ? अनि सरकारले यही बिन्दुलाई अपराध अनुसन्धानको प्रस्थान बिन्दु किन नबनाएको ? हो, सरकार चुकेको बिन्दु यहीँनेर हो।
सरकारले आफ्नो प्रहरी संगठनलाई तिम्रो कर्तव्य प्रमाणहरू नष्ट गर्नुमा होइन, अधिकतम प्रमाणहरू जुटाउनु र सुरक्षित राख्नुमा थियो, प्रमाणहरू किन क्षणभरमै नष्ट गरेको भनी नसोधेको ? किन गरिब र निमुखा नागरिकलाई नियन्त्रणमा लिई कठोर यातना दिएर अपराध कबुल गराउन उद्धत प्रहरीलाई सचेत नगराएको ? कृपया, नेकपाका कोही कसैले समृद्धिको अभियानमा व्यस्त प्रधानमन्त्री ओलीलाई भनिदिनुहोस् न पानीजहाज र रेल भन्दा देशको एक नागरिकको जीवन तुलनै गर्न नमिल्ने मूल्यवान हुन्छ भनेर।
यो घटनाको ढाकछोप गर्न प्रयत्न नेपाल प्रहरी कुन तहसम्मको कुकृत्यसम्ममा ओर्लिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो । र, अब नेपाल प्रहरीको शुद्धीकरणको प्रस्थानविन्दु पनि यही घटनाको मैदानबाट गरिनु पर्दछ, गरियोस्।
प्रिय निर्मला, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार न्याय र अवसरको निष्पक्षतामा दिनानुदिन पूर्वाग्रही र नेकपावादी हुँदै गइरहेको छ। नेकपासँग कुनै साइनो नहुनु सम्पूर्ण रूपमा अपहेलित भएर बस्नु भएको छ। तिम्रा अपराधीहरूलाई कानूनको कठघरामा ल्याउन सरकारको यसै मानसिकताले पर्खाल खडा गरेको छ।
तिमीले न्याय नपाउने भन्ने प्रश्नै रहँदैन निर्मला, अपार नागरिक आवाज तिम्रो पक्षमा छ। अपराधीहरू एकदिन निश्चय पनि न्यायको काठघरामा उभिने छन्। यतिमात्र हो यो सरकार आफैं तयार हुन्छ या घुँडा टेकाउनै पर्ने हो!
प्रिय निर्मला, बलात्कार त शब्द सुन्दैमा मनभित्र घृणा र आवेगको ज्वारभाटा विष्फोट हुन्छ। तथापि बलात्कारका घटनाहरू प्रत्येक दिनका पत्रपत्रिकामा छापिरहन्छन्। कहीँ बुवाले छोरीको बलात्कार, कहीँ काकाले भतिजीको बलात्कार, कहीँ असी-नब्बे वर्षीय वृद्धाको बलात्कार।
नेपाली समाजको पुरुष मनोविज्ञानले सिर्जना गरेको यो निकृष्टताको मानकले पुरुष हुँ भनेर आफैंलाई घृणा गर्नुपर्ने, धिक्कार्नु पर्ने र शिर झुकाउनुपर्ने परिस्थितिको अन्त्य हिजोकै दिनदेखि अपरिहार्य भएको थियो। छोरी जुनसुकै रूपमा भए पनि सारमा आमाको रूप हो, सृष्टिको रूप हो। सभ्य समाजका लागि आमामाथिको प्रेम, भक्ति, श्रद्धा र विश्वास पहिलो सर्त हो।
तिम्रो बलात्कार र हत्याको घटनाले सम्पूर्ण देशले सुन्ने र देख्ने धरातलमा महिलामाथि हुने हिंसा र अन्याय अवतरित भएको छ। तिमीमाथि भएको अपराधले प्रेरित गर्ने दिशा भनेको नै अब उप्रान्त नेपाल देशले छोरीहरूमाथि हुने कुनै पनि बलात्कार र अपराधका घटनाहरू कसरी निर्मुल गर्न सकिन्छ? भन्ने हो।
त्यस कार्यभारका लागि सरकार, राजनीतिक दल र तिनका कार्यकर्ताहरू, नागरिक समाज र तिनका अगुवाहरू, शिक्षक र विद्यार्थीहरू आदिको सामूहिक प्रयत्नमा नागरिकको तहमा सशक्त बहस र चेतना जागृत गरिनु जरुरी छ।
अर्कोतर्फ, जघन्य बलात्कार अनि हत्याको अवस्थामा मृत्युदण्डको बहस पनि सतहमा छ। यो बहसलाई सार्थक निष्कर्षमा पुर्याउन पनि सकिन्छ। तिमीले छोरी भएकै आधारमा कलिलो उमेरमा सोच्नै नसकिने भयावह, विभत्स, कठोर र त्रासदीपूर्ण परिस्थितिको सामना गरेर हामीबाट बिदा लिँयौ।
भविष्यमा कुनै पनि छोरीले तिम्रोजस्तो भयावह परिस्थितिको सामना गर्न नपरोस् । यस्तो दिनको सामना गर्नु भन्दा मृत्युदण्डको कानून निर्माण गरिनु तिमीप्रति सच्चा न्याय हुनेछ। र, भविष्यका छोरीहरूकाप्रति सुन्दर उपहार हुनेछ।