म हालसालै सरकारी सेवाबाट निवृत्त भएर बसेको मान्छे। अन्तिम पटकको सम्पत्ति विवरण फाराम भरेर सरकारलाई बुझाउनुपर्ने थियो।
सरकारी सेवामा रहँदा सरकारी भात र सरकारी गाडीले अलिकति भुँडी पनि बढेको रहेछ। व्यक्तिगत सवारी साधनको जोहो गर्नेगरी कमाई पनि गरिएनछ। फाराम बुझाउन त जसरी तसरी जानैपर्ने भयो। यसो सोचेँ पैदल गयो भने शरीरको भारको रुपमा रहेको भुँडी पनि घट्ने, ट्याक्सी भाडा पनि बच्ने, हिँडेरै लैनचौरस्थित प्रहरी किताबखाना पुग्ने आँट गरेँ।
पैदल हिड्नुपर्ने यात्री, सडकमा हिड्ने कुरा भएन, सडक पेटी तर्फ लम्कनु पर्यो। मूल सडकको पेटी, कतै ६ ईन्च त कतै २\३ फीट। धेरै चौडा भएको पेटीमा पनि दुई जना समानान्तर हिड्ने यात्री फेला पर्यो कि ढेसिएर हिड्नुपर्ने। त्यसमाथि पेटीको बिचमा कतै बिजुलीको पोल त कतै घेराबारा सहितको वृक्षारोपण। त्यतिले नपुगेर पेटीमा लगाएको ब्लक कतै भासिएर खाल्डो भएको त कतै ढिस्को उठेको, कहिँ उकालो चढ्नुपर्ने त कहिँ ओरालो झर्नुपर्ने, तर खुड्किला (सिँढी) को व्यवस्था कतै नभएको, यस्तो अवस्था मुल सडकको पेटीको छ।
यो अवस्था पार गर्दै बल्लतल्ल अगाडि बढेँ। अब सडक पार गर्नुपर्यो। सडक पार गर्ने सुरक्षित उपाय ओभरहेड पुल त परै जावस र्जेब्रा क्रसिङको खोजीमा ५०० मिटरसम्म वरपर गर्नुपर्यो।
बल्लतल्ल जेब्रा क्रसिङ फेला पारी सडक पार गर्न खोज्यो, सवारी साधनको बिर्ता जस्तो र पैदल यात्री अतिक्रमणकारी जस्तो हुने, सडक पार गर्दा ज्यान नै जोखिममा राखेर ठूलै काम फत्ते गरें झैं लाग्ने।
बिरालोलाई डोकोले छोपेर श्रद्ध गर्ने निजामती प्रशासन
जसोतसो आफ्नो गन्तब्य पुगियो, प्रहरी किताबखाना– लैनचौर।
प्रसंग बदलौं, सरकारी कार्यालयमध्येको एक प्रहरी किताबखाना। आफ्नो सम्पति विवरणसहितको खामबन्दी पत्रसहित किताबखानाको कार्यालय पुगेर पनि कम्तीमा ३ स्थानमा सोधखोज गरेपछि बल्ल पुगियो सम्बन्धित शाखा।
शाखा भित्र पनि ३ वटा टेबुलमा सोधखोज गरेपछि बल्ल भेट्टाएँ सम्बन्धित टेबुल। सम्पति विवरणसहितको खामबन्दीपत्र प्रस्तुत गरेपछि पहिलो प्रश्नको सामना गर्नुपर्यो- व्यक्तिले ल्याएको पत्र बुझ्ने चलन छैन, खोई सम्बन्धित कार्यालयको कभरिङ लेटर? उत्तर दिएँ – म अवकाश प्राप्त कर्मचारी, कुन कार्यालयबाट पत्र ल्याउनू? त्यहाँ उपस्थित कर्मचारी बिचमा छलफल हुन्छ र निकास निक्लन्छ – पत्र बुझ्ने, तर भर्पाई नदिने। अब खाम ओल्टाईपल्ट्याई हेरेपछि मलाई भनिन्छ, लाहाछाप लागेको छैन, लगाउनुपर्यो। मैले लाहाछाप बोकेको छैन, यहाँ छ भने पाऊँ भन्दा उपलब्ध हुन सकेन।
अब मेरो सम्पति विवरण दर्ता नगर्ने अवस्था देखियो। अब भने मैले पनि निहुँ खोज्न थालेँ। मेरो पत्र दर्ता हुनैपर्ने र यो अवस्थामा दर्ता गर्न नमिल्ने कानूनी प्रावधान भए दरपिठ गरिदिन भने।
उक्त काममा खटिएका कर्मचारीबाट दुवै काम हुन नसकेपछि म लागे जिम्मेवार अधिकृतको खोजीमा। ३-४ वटा कोठा चहारेपछि बल्ल सम्बन्धित अधिकृतलाई भेटी आफ्नो गुनासो सहित सेवाग्राही मैत्री व्यवहार र अभ्यास हुन आग्रह गर्नुका साथै हाम्रो स्तरका व्यक्तिले त यस्तो सास्ती ब्योहोर्नुपर्छ भने सर्वसाधारणको भोगाई के होला भनेर आफ्नो कुरा राखेँ।
उहाँ गम्भीर हुनुभयो र महानिर्देशकलाई वृतान्त सुनाउन जानुभयो। यस कार्यालयका महानिर्देशक सोही दिन मात्र सरूवा भएर आउनुभएको रहेछ।
धन्न नवागन्तुक महानिर्देशकमा सेवास्तरमा सुधार गर्नुपर्छ भन्ने भावना रहेछ र तत्कालै सेवा निवृत्त कर्मचारीको हकमा कार्यालयको पत्र वा निवेदन आवश्यक नपर्ने, लाहाछाप अनिवार्य नगरी पत्र बुझ्ने र पत्र बुझेको भरपाई हाताहाती दिने आदेश दिनुभयो। मेरो कार्य सम्पन्न भयो। साथै नयाँ एवम् सरल प्रणालीको शुरुवात पनि भयो।
निजामति सेवामा यस्तै परिवर्तनकामी सेवकहरूको आवश्यकता छ – महानिर्देशक धन्यवादका र अनुकरणीय पात्र हुनुहुन्छ।
उपद्रव गर्ने बिरालो छ भने मात्र डोकामा छोपौं अन्यथा श्राद्ध गर्ने बेलामा गाउँघरमा खोजीखोजी बिरालो डोकामा छोप्न आवश्यक छैन – सरकारी सेवकहरूलाई चेतना भया!
पुन: सडक पेटी महात्म्य:
यसरी आफ्नो काम फत्ते गरेर फर्कन भित्री बाटो समातेँ। बाटो साँघुरो। दुई लाइन गाडी गुड्न मुश्किलले पुग्ने, त्यसमाथि पैदल यात्री पनि हिड्नुपर्ने बाध्यता।
पहिले सोही बाटो साँघुरो थियो, गाडी गुड्नै नसक्ने। पैदल यात्रीको रजाईँ थियो। बाटो मुश्किलले चौडा पारियो, दुई तर्फी गाडी गुड्ने भयो।
सडकपेटी छैन। सवारी साधनहरुको बिज्याँई शुरू भयो – पैदल यात्रीलाई ठेलठाल-पेलपाल गर्दै गाडी गुड्छन्, पैदल यात्री छेउ लागेर उभिनुपर्ने वा भित्ता समातेर बस्नुपर्ने।
साँघुरा सडक विस्तार गर्ने क्रममा सडक विस्तार गरी सडकपेटी निर्माण गर्ने कार्य त भयो। तर कसैको ५|१० फिट घर कम्पाउण्ड भत्काईयो भने कसैको नभत्काउँदा सडक पेटीमा एकरूपता कायम हुन सकेन।
दुई जना पैदल यात्री ढुक्कसँगले सडक पेटीमा हिड्न सक्ने अवस्था छैन। यो किसिमको अव्यवस्थित सडकपेटी शहरको सयौं स्थानमा देखिन्छ। सरकारबाट माग हुन्छ भने यस्ता पेटीको कैयन् चित्र यो पंक्तिकारले पेश गर्नसक्छ। यो बिभेदकारी कार्य कुन निकायले र कुन कर्मचारीबाट भयो – छानविन गरीपाउँ सरकार!
हेलो सरकार! केही समयमा काठमाडौं शहरमा रेलगाडी आउँदै छ रे! अनि सप्तकोशीमा पानीजहाज पनि चल्नेवाला छरे। हामीलाई रेलाँ चढ्ने पनि रहर छ र त्यही रेलाँ चढेर पानी जहाज चल्ने सप्तकोशीमा पुगी पानी जहाजको शयर पनि गर्नुछ।
आफ्नो घरबाट रेल स्टेशनसम्म त फेरि आफ्नो सवारी साधन नभएका हामी जस्ता जनता पैदल यात्राकै माध्यमले पुग्नुछ। तर, अहिलेको अवस्थामा पैदल यात्राको माध्यमले सुरक्षित तवरले गन्तव्य पुग्ने स्थिति छैन।
तसर्थ हेलो सरकार! घरबाट सुरक्षित तवरले पैदलै रेल स्टेशन पुगी सरकारबाट ल्याउन लागिएको रेल चढी सप्तकोशीमा चल्ने पानीजहाजको शयर गर्न पाउँ – मेरो यही विन्ती छ सरकार!
यो पनि हेर्नुहोस्