शनिबारको दिन थियो। साँझपख एक जना बहिनीसँग कुरा गर्दै थिएँ। यतिकैमा उनले भनिन्, ‘आज एउटा साथी रिसाइराकी छे। जन्मदिन ‘विस्’ गर्न बिर्सिएछु। मेरो जन्म दिनमा साथीहरू पूरै उत्साहित हुन्छन्। मलाई भने कसैको जन्मदिन पनि याद हुँदैन।’
मैले सोधें, ‘अनि के गर्यौ त?’
‘के गर्नु लास्टमा ‘विस्’ गरे’, मुस्कानसहित जवाफ दिइन्।
‘मानिसहरू किन जन्मदिनलाई यति धेरै महत्त्व दिन्छन् ?’ सोध्न मन लागेको थियो। तर सोधिन। पछि केहीबेर अरु कुरा गरेर गफ टुङ्ग्यायौं।
मलाई भने अघि नसोधेको प्रश्नले एक प्रकारको कौतुहलता जन्माएको थियो। हुन त अघिअघि पनि वरिपरिका मानिसहरूले जन्मदिनमा देखाएको चहलपहलले ‘जन्मदिनलाई मानिसहरूले किन यति धेरै महत्त्व दिन्छन् ?’ भन्ने प्रश्न आउथ्यो मनमा। पछि यतिकै हराएर जान्थ्यो पनि। सानोमा बुवाआमाले जन्मदिन मनाउने चलन नबसाली दिनुभएकोले पो हो कि ? अहिले कसैले मनाउने भन्यो भने किन भनेर प्रश्न गर्न मन लागि हाल्छ। मनमनै भए पनि।
म आफैंलाई पनि आफ्नो जन्मदिन मनाउन खासै चाख लाग्दैन। कहिले त आफ्नै जन्मदिन पनि याद हुँदैन। केही पटक घरबाट बुवाआमाले फोन गरेपछि थाहा पाएको अनुभव छ। अरुले जन्मदिनलाई दिने अत्यधिक महत्त्वले पनि अचम्मित पार्छ मलाई।अझ कलाकारहरुले जन्मदिनको अवसरमा पार्टी प्यालेसमा गर्ने भोजको समाचारले त झनै।
अस्ति घर गएको बेला भने अरु बेला भन्दा बेग्लै अनुभव भयो। बुवाको जन्मदिन राम्रो गरी नै मनाएर उहाँलाई खुसी पारम् भन्ने लाग्यो। किन हो कुन्नि। बुवालाई अचम्मित देख्ने रहरले पो हो कि? अनि एक मनले सोच्न थाल्यो। यस्तै नजिकका मानिसलाई खुसी देख्न पो जन्मदिन मनाउने चलन आएको हो कि? जन्मदिन नभएर अरु कुनै दिन (निहु) भए पनि हुन्छ होला नि है त्यस्तो आश्चर्यचकित बनाउन को लागि? आफैं आफ्नो मनाउने चलन चाहिँ किन आयो होला त ? मन अझै कौतुहल नै थियो।
यत्तिकैमा गुगल सर्च गरे। एक वेबसाइटका अनुसार जन्मदिन मनाउने चलन पेगन परम्पराबाट आएको रहेछ। महत्त्वपूर्ण दिन, जस्तै: १ वर्ष बुढो हुने दिन, मा दुष्ट आत्माहरू हानी गर्नको लागि लुकेर बस्छ।अनि साथीभाई, परिवार जम्मा भएर रमाइलो गर्दा दुष्ट आत्मा जन्मदिन हुने व्यक्तिको नजिक आउन पाउँदैन भनेर रमाइलो गर्न थलिएको रहेछ। ग्रिकहरूले प्रत्येक मानिसको आत्मा जन्मदिनमा भगवानसँग विशेष रूपले जोडिन्छ भन्ने विश्वास राख्दा रहेछन्। पछि त्यही चलन विश्वभर फैलिएको रहेछ।
जन्मदिनमा केक नै काट्ने किन ? मानिसहरूले सोध्ने अर्को प्रश्न भनेर गुगलमा देखायो।
एकथरिले ‘ग्रिकहरूले चन्द्रमाको भगवानलाई खुसी पार्नको लागि गोलो केक काट्ने चलन सुरू गरेका’ भन्दा रहेछन् । मैनको उज्यालोलाई चन्द्रमाको चमक, अनि मैनको धूँवाले प्रार्थना आकाशको भगवानसम्म पुर्याउछ भन्ने विश्वास रहेछ। अर्कोथरिले चाहिँ १७ औं शताब्दीमा जर्मनहरूले सुरू गरेका थिए केक काट्न भनेर भन्दा रहेछन्।
बत्ती निभाउने चलनमा रमाइलो गर्नको लागि केटा साथी अथवा केटी साथी पत्ता लगाउने चलन पनि रहेछ। सबै बत्ती एकै चोटी फुकेर निभायो भने आफ्नो कामना पूरा हुने अनि ननिभेको बत्तीको संख्या भनेको केटी साथी अथवा केटा साथीको संख्या रे। पढ्दा पढ्दै हाँसो लाग्यो।
यतिकैमा अर्को प्रश्न ‘ह्याप्पी बर्थ्डे टु यु’ भनेर गाउने कहिलेदेखि सुरू भयो भन्ने देखें। उत्तर हेर्दा १८९३ ईपू मा २ जना स्कुल शिक्षकहरू (प्याटी र मिलड्रेड हिल) ले लेखेको गीत ‘गुड मर्निङ टु अल’बाट शब्द परिवर्तन गरी ‘ह्याप्पी बर्थ्डे टु यु’ गीत आएको भन्ने देखें। यो गीत पहिलो पटक १९३३ ईपूमा इर्भिन वर्लिनले आफ्नो गीतमा राखेर रहेछन् ।
रमाइलो रमाइलो तथ्यहरू।
यी तथ्यहरू हेर्दै गर्दा केही दिन अघि डा. अरुणा उप्रेतीले सेतोपाटीमा लेख्नु भएको ‘केकसँगै काटिँदैछ संस्कृति’ भन्ने विचारको सम्झना आयो अनि लिंक खोजेर पढ्न थाले।
उहाँ लेख्नु हुन्छ:
‘हाम्रो नेपाली संस्कृति अनुसार जन्मदिनमा घर आँगन र मन्दिरमा दियो बाल्ने चलन छ। अहिले केकमा बत्ती बाल्ने चलनमा परिवर्तन हुँदैछ। नेपालमा जन्मदिन मनाउँदा मालपुवा, खीर, हलुवा बनाएर ख्वाउने अचम्मको चलन थियो। धर्म र जातजातिअनुसार कसैले सेवइ खान्थे, खुवाउँथे, मन्दिरमा चढाउँथे त कसैले अन्डा सगुन दिन्थे। कसैले पूजा लाउँथे, कोही प्रार्थना गर्थे। यी परिकार घरमै पकाउने चलन थियो। अहिले बजारमा धेरै चिनी र वनस्पति घ्यूले बन्ने केक खुवाउने चलन आएको छ।जसको असर स्वास्थ्यमा पर्न गएको छ।’
जन्मदिन मनाउने हाम्रो पनि मौलिक चलन रहेछ। म आफैंलाई नेपाली चलनको बारेमा खासै थाहा थिएन। जन्मदिन भन्ना साथ केक काट्ने, पार्टी दिने भन्ने मात्र आउथ्यो मनमा। विदेशी संस्कृतिले हाम्रो राम्रो चलन पनि हामीबाटै गायव बनाइदिएर हो कि ? घरमा त मनाउने चलन थिएन। गाउँघरमा पनि खासै देखे जस्तो लाग्दैन मलाई नेपाली पाराको जन्मदिन मनाउने चलन। पुरानो चलन आधुनिकीकरण हुन नसकेर हो कि? अथवा घरमा पुरानो तरिकाले तयारी गर्न भन्दा पैसा तिरेर केक किन्न सजिलो भएर हो ? अथवा केक काट्ने चलन चलचित्र जस्ता प्रभावकारी माध्यममार्फत् फेसनको रूपमा नेपाली समाजमा भित्रिएर पो हो कि?
अनि लाग्यो आफ्नो चलन नभएर पो रहेछ कि के हो मलाई जन्मदिन मनाउन उत्साह नआएको। नेपाली चलन अनुसार मनाउने गरेको भए मेरो लागि दशैं तिहार जस्तै महत्वपूर्ण हुन्थ्यो होला कि जन्मदिन पनि ?