कञ्चनपुरमा तेह्र वर्षकी बालिकाको बलात्कारपछि हत्या भयो। सामाजिक सञ्जालमा फोटो भाइरल पनि भयो। मान्छेलाई कुन मनोदशाले यस्तो कुकर्म गर्न उक्साइरहेको छ? यस्तो कुकर्मले के कारण लगातार छुट पाइरहेको छ?
त्यो घटना हुँदै गर्दा ती बच्ची कति कामिन होला! कति हारगुहार गरेर चिच्चाइन् होला! आमाबाबु र परिवारले उनको मृत शरीर देख्दा के हाल भयो होला! हामीलाई कल्पना गर्दा काँप छुट्छ, भोग्नेले कसरी भोग्दै होलान्! यति संवेदनशीलता विचार नगरी किन त्यो बच्चीको तस्बिर सामाजिक सञ्जालमा राखियो? त्यो धुजाधुजा कोपिलाको अपमान गर्न हामीले पनि कुनै कसर छाडेनौं। बन्द गर दानवताको यो ‘सेलिब्रेसन’!
आफूले रोपेको बिरुवाको पात चुँडिदा मन कटक्क हुन्छ। फूलपात झर्दासमेत मन दुख्छ। फूलसरि स्याहारेको बच्चालाई रछ्यानमा मिल्काउँदा, बाआमा कसरी बस्छन्! एक घटना, दुई घटना। यस्ता घटना भइरहन्छन्। नदेखेझैं अघि बढ्न हामी कसैलाई छुट हुनु हुँदैन।
त्यो सानीको ठाउँमा आफ्नै परिवारका खेल्दै गरेका छोरीको अनुहार सम्झौं त। कहालिँदै गरेकी आमामा आफ्नै आमाको अनुहार खोजौं त। के हामी चुप बस्न सक्छौं? हरेकपटक यस्ता घटना भएपछि एउटा स्वर नबिराई सुनिन्छ– कता गए महिलाअधिकारकर्मी? के तपाईं पनि यो लेख्दै हुनुहुन्छ? दुःख व्यक्त गर्दै विरोध छेड्दै हुनुहुन्छ?
तपाईं पनि महिला अधिकारकर्मी खोज्दै हुनुहुन्छ भने आफ्नो आत्मा चिहाएर पहिला मान्छे हुनुको सार खोज्नुस्। खोज्नुस, मान्छे भएर उभिएको तपाईंको शरीरमा मानवता।
हे मेरा दाजुभाई, पुरुष साथीभाइ! एक जना, दुई-तीन जना पुरुष पापमा सलंग्न हुन्छन्। पापको शिकार छोरीको बुवा, भाइ, साथी वा आफन्तमध्य कुनै एक तपाईं हो। होइन भने सयौंमा पर्ने आफन्त होला। त्यो पनि नभए घटनाले बिथोलिइरहेको एक असल मानिस हो। सबै पापीको भार किन बोक्नुहुन्छ। बोलेर हल्का हुनुस्। आफ्ना चेलीहरूमाथिको यो हदसम्म बर्बरताविरुद्ध बोलिदिन पनि अर्कालाई गुहार्ने। शरम पनि निहुरिने कुरा भन्न छोड्नुस। अत्याचार हुनु हुन्न भनेर बोलिरहेकाहरूले बिराए के?
यति पनि उनीहरूले नबोलेका भए, सोच्नुस् त, तपाईं–हामी बाँचिरहेको समाज कस्तो हुन्थ्यो? यी पुरुषका मुद्दा, यी महिलाका भन्ने नजर नै गलत छ। समाजको सबै खराबी हाम्रो मुद्दा हो। मन चिर्ने कुनै पनि समाचारले हामी सबैलाई पोल्छ। हृदयको दुखाइको लिंग हुँदैन। बस् दुख्छ।
देशमा बलात्कारजस्तो ‘झिनामसिना’ विषय छुँदै नछुने। देखे पनि नदेखेजस्तो गरी तर्कने हे बुद्धिजीवी र वरिष्ठ लेखकज्युहरू, बलात्कार गरिँदै, मारिँदै, बारीका पाटामा फालिँदै गरेकी छोरीको जीवनको सवाल तपाईंको प्राथमिकताको तहमा कहाँनिर पर्छ? बताइदिनुस्। हरेकपटकका यस्ता घटनाको घाउमा किन हामी तपाईंको मौनताको नुनचुक बेहोर्छौं। तपाईंको जनेन्द्रीय फरक छ, यस कारणले ? हृदय त हाम्रोउस्तै होला नि। किन पोल्दैन तपाईंहरूलाई कहिल्यै। जो जो मौन हुनुहुन्छ, तपाईंको मौनताको मूल्य छोरीहरूको मृत शरीरले कहिलेसम्म चुकाउने?
सबै सञ्चारमाध्यमका सम्पादकज्यूहरू, बेला त घर्किसक्यो, ढिलो भए पनि एकै दिन एकै स्वरमा एकैपटक लेख्नुस् र बोल्नुस्, ‘छोरीहरूको रक्षा पहिलो नम्बरमा। बलात्कार र हिंसाविरुद्ध शून्य सहनशीलता।’ बाँकी कुरा हुँदै गर्छ। मान्छेको जीवनभन्दा महत्वपुर्ण अर्को हुनु हुँदैन। नागरिकको सुरक्षा योजनामा हैन, महायोजनामा आज र अहिल्यै राख सरकार भनेर एकै स्वरमा सबैले भनेको सुन्न मन छ।
हे देश बनाउने मान्छे हो, जुन देशका छोरीहरूको तेज मुर्झाएको हुन्छ, त्यहाँ सपनाको के कुरा। समृद्धि र विकासको के कुरा। सहर, गाउँ, सडक, यातायात, नहर, बारीका कान्ला, खेतका आली, सबैतिर बाल सुरक्षाको धप्प उज्यालो बालौं। निर्धक्क बनाऔं छोरीहरूलाई। सुरक्षित भएर धपक्क बलेका छोरीहरूको तेजिलो प्रकाशमा फुलाऔं समृद्धिको सपना।
सरकार, तिमीले देखेको समृद्धि सपनामा हामी छोरीहरूको पनि साथ छ। भन, आँखामा सपना सल्बलाइरहेका छोरीहरू बलात्कारमा पर्दै, मारिँदै फालिन थालेपछि तिम्रो सपनाको भन्डारमा के असर पर्छ? कि छोरीका आँखामा सल्बलाएका सपनाले अक्सर घरहरूमा फरक नपरेजस्तै यो देशमा पनि फरक पर्देन? सपनासँगै कहालिएर मरेका छोरीहरू तिम्रो सपनामा आए भने के भन्छौं? के भन्छौं, उनीहरूले सोधे भने तिमीलाई– ‘हे सरकार के मेरो शरीर र मेरो सपना तिम्रो देशमा अटाउँदैन?’ अझै सोध्लान्, ‘तिम्रा योजनाका लामा लामा चाङमा मेरो सुरक्षा कहाँनिर पर्यो, कहाँनिर पर्यो मेरो आँखाको सपना।’
सरकार, छोरीहरू रित्तिँदै गए तिम्रो समृद्धिको भकारी सिंगै रहला? कि मुसाले काटेको भकारीमा एक एक मुठी चुहिएर सकिने अनाजको हाल होला। आफ्ना स्थानीय सरकारहरूलाई आजै भन, छोरीको सुरक्षा एक नम्बरमा राख भनेर।
अपराधी खोज्न र कारबाही गर्न पनि सडकमै आउन बाध्य नपार हामीलाई। आफ्ना न्यूनतम कर्तव्य पूरा गर्न पनि कराउन बाध्य पार्छौ र भन्छौ– ‘कति टयाउँ–टयाउँ गरेका।’ जुन दिन राज्यमा नागरिक ढुक्कले निदाउँछन्, न्यायको स्वर ठूलो हुनेछ। त्यही दिन उनीहरू शान्त हुनेछन्।