यतिकै बसिरहँदा एक दिन बुवाको फोन आयो।
‘ठूलो बुवा हस्पिटलमा हुनुहुन्छ।गएर एक चोटी भेट त।’
‘मैले हुन्छ’ भने।
‘आज अङ्कल पनि त्यतै हुनुहुन्छ’, भन्नुभयो। अनि नम्बर दिनुभयो।
यतिकैमा अङ्कललाई फोन गरे। बेड नम्बर, आउन दिने समयको बारेमा बुझे। अनि, प्राय साथीहरूसँग हुने शनिबारको जमघट टुंगाएर लागे हस्पिटलतिर।
असारको अन्तिम भएर के गर्नु। बाटो हिँड्दा असाध्यै गर्मी थियो। वैशाख, जेठको जस्तो। भर्खंर १० दिनको मौन ध्यान बसेर आएकोले हो कि, किन हो। ट्याट्या र टुटुको आवाजले निकै दिक्क लाग्दो बनाएको थियो। हस्पिटलसम्मको यात्रामा।
सातौं तलामा हुनुहुँदो रहेछ। हस्पिटल निकै व्यवस्थित र सफा देखिन्थ्यो। ठूलो बुवा बस्नु भएको कोठा डबल बेड रूमको रहेछ। अट्याच बाथरुम,एसी, सामान राख्नको लागि एउटा दराज, बिरामी कुरुवा सुत्ने बेड आदि सबै थियो कोठामा।
ठूलो बुवा र अङ्कललाई ढोग गरेर बात गर्न थाले।
‘कहिलेदेखि बस्नु भएको हो?’, मैले सोधें।
‘१० दिन भयो आज। त बस्ने कता हो ?’, अङ्कलले सोध्नुभयो।
‘म पाटनतिर हो अङ्कल। अनि के भएर आउनु भएको हो नि ?,’ बुवाले ढाडको समस्याले भर्ना हुनुभएको बताउनु भएको थियो। त्यही पनि के हो डिटेल थाहा पाम भनेर सोधें।
‘मेरुदण्डमा नसा च्यापिएर आएको हो। ५/६ दिन भयो। अपरेशन गरेको,’ अङ्कलले भन्नुभयो।
‘मेरुदण्डको अपरेशन गर्दा खुट्टा नचल्ने हुनसक्छ भन्दै थिए कोही कोहीमा । मेरोमा चाहिँ त्यस्तो केही समस्या भएन,’ ठूलो बुवाले भन्नुभयो।
‘आज यता वारिदेखि पारिसम्म हिँड्नु भयो। हामीले सपोर्ट दिएपछि,’ अङ्कलले भन्नुभयो।
‘कहिलेसम्म राख्नुपर्छ भनेको छ?’, एकछिनको मौनता तोड्दै मैले सोधें।
‘अब तगडा भएपछि जाँदा हुन्छ भनेको छ। यहाँ बस्ने अर्को एक जना आज गए। डाक्टरलाई कहिले डिस्चार्ज गर्ने भनेर दिक्क बनाएसी आजै जाने बनाइदियो,’ ठूलो बुवाले भन्नुभयो।
‘रमाइला थिए। कहिले के भन्थे, कहिले के। बुढीलाई भने देखि सहदैन थिए। अहिलेको उमेरमा पनि के त्यस्तो हो ?,’ एकछिन सोच्दै फेरि भन्नुभयो।
‘त के गर्दै छस् अहिले ?,’ अङ्कलले सोध्नुभयो।
‘म त काम गर्नी, डुल्नि, त्यस्तै छ अङ्कल।’
‘अनि पढाइ के कति सकिस् ?’ ठूलो बुवाले सोध्नु भयो।
डाक्टरले धेरै नबोल्न भनेको थियो रे। त्यसैले फोन दिएको छैन भन्दै हुनुहुन्थ्यो अङ्कलले। म पनि, त्यही भएर, ठूलो बुवाभन्दा पनि अङ्कलसँग बढी कुरा गर्दै थिए। ठूलो बुवाले चाहिँ धेरैपछि भेटेको भएर हो कि किन हो। रमाइलो मान्दै बीच बीचमा आफ्ना कुरा राखिरहनु भएको थियो।
‘मास्टर सकें। अब पिएचडी गर्न विस्तारै जानुपर्ला भन्ने सोचेको छु। बाहिर तिर’, मैले भने।
मैले त्यसो भनेपछि अङ्कल भावुक हुँदै भन्न सुरू गर्नुभयो।
‘हामीले त एक जना छोरा लण्डनमा अनि दुई छोरा अमेरिकामा बेच्यौं।’
‘लन्डन हुने चाहिँ यहाँ सिए पढेर उता गएको। पढ्नको लागि भनेर। पछि उतै जागिर गर्न थाल्यो। पैसा पनि धेरै नै कमाइस् अब नेपाल फर्की। यतै काठमाडौंमा अफिस खोल। २०/२५ जनालाई काम दे। यहाँ, त्यहाँभन्दा धेरै सम्मान पनि पाउँछस्। पैसा पनि कमाउँछस्। सधै कति बस्छस् अर्काको देशमा। भनेको।’
‘म त आउँदिन !’ भन्छ।
‘अब त्यो नै आउँदैन भने। त्यसका छोरा, छोरी त के आउँथे। त्यसका छोराछोरीले यहाँको भाषा, चलन पनि के मान्लान्।’
‘अब हामी बिरामी भएको बेला पनि तिनीहरू हामीसँग हुँदैनन्। हामी मर्यौ भने पनि बिदा मिल्ने हो कि नै यहाँ आउन।’
‘उता अमेरिका हुनेहरूको नि यस्तै कुरा छ।’
‘तिनीहरूलाई त बेचे जस्तै भयो। अब अहिले कहिलेकाहीँ फोनमा कुरा गर्ने बाहेक अरु केही हुँदैन।’
‘कहिले काहिँ टुरिष्ट भएर आउँलान्। अनि १/२ महिना बसेर फर्किहाल्छन्।’
म के भन्ने, भन्ने भएको थिएँ। केहीबेर मौन बसें। ठूलो बुवा पनि भावुक भइ सक्नुभएको थियो। ठूलो बुवाको १ जना मात्र छोरो त्यही पनि बाहिर। कान्छो अङ्कल का २ छोरामध्ये १ जना बाहिर। पढाइको शिलशिला गएर उतै काम गरी बस्न थाल्नु भएको।
कोठामा केहीबेर सन्नाटा जस्तो छायो। अहिले सम्झिँदा पूरै ‘डिप्रेसिङ’ वातावरण जस्तो लाग्ने।
मैले मनमनै केही महिना अघि एउटा दाईले भनेको कुरा सम्झें। ससुराली जाँदा ससुराले, ‘जेठानले यति कमायो उति कमायो। तपाईंले यहाँ के गरेर बस्नु भएको छ? ज्वाईं साप,’ भन्छन्। उता चाडपर्वमा पनि ‘रवाफ’ गरिरा’को हुन्छन् आफन्तहरूले। आफू नेपाली कमाइले त्यस्तो केही गर्न सक्ने अवस्थामा छैन। अब विदेश जाउँ भने पनि उमेर घर्की सक्यो। आफन्तको जमघटमा पनि जान मन लाग्दैन आजकल। भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो।
यतिकैमा एक जना महिला कोठा सफा गर्न भित्र आइन्। उनी गएपछि मैले कोठाको सन्नाटा तोड्न अर्कोतर्फ कुरा मोडें।
‘कति चोटी आउँछन् सफा गर्न। सबैतिर एकदम सफा रहेछ त।’
‘सफा गर्न त घण्टा घण्टामा आउँछन्। पैसा टन्न लिए पनि अरु सुविधा राम्रो छ। नर्स पनि बेला बेलामा आएर औषधि खुवाउने, अनि कस्तो छ सोध्ने गर्छिन्। औषधि किन्न पनि जानु पर्दैन। सबै आफैं ल्याउँछन्’, अङ्कल भन्दै हुनुहुन्थ्यो। यस्तै गफ गर्दै अरु ३ घण्टा जति बसेर म फर्किए आफ्नो कोठा तिर।
फर्किने बेला छोरा बेचेको कुरा मनबाट हटाउन सकिनँ।
मैले धेरै परिवार देखेको छु जो आफ्नो छोराछोरीलाई विदेश जान दबाब दिन्छन्। कहिले प्रत्यक्ष भनेर त। कहिले अप्रत्यक्ष रूपमा। जस्तै: यसका छोरा, छोरीले यति कमायो। यति पठायो। यसले यता जग्गा किन्यो। उता जग्गा किन्यो। यस्तै यस्तै कुरा गरेर। अनि बाध्य भएर जान्छन् होला। कति त साथीको देखासिकी गरेर। छोरा पठाउने बेला अङ्कल/ठूलो बुवाहरूको सोचाइ अहिलेको जस्तो थियो कि थिएन होला ? कि अहिले बिरामी परेको अवस्थामा छोराछोरी साथमा नहुँदा उहाँहरूमा यो सोच आयो? मनमा प्रश्नहरू आउन थाले।
उता गएपछि पनि त गाह्रै होला फर्किन। यहाँको हस्पिटल, बाटो घाटो, स्कुल, जस्ता कुरालाई पश्चिमा जगतको भौतिक सुख सुविधासँग तुलना गर्दा। धेरैले भनेको सुनेको छु ‘सारै गाह्रो छ यहाँ’भनेर। अनि म भन्ने गर्छु। ‘सारै गाह्रो भयो भने आउँदा भयो नि त यता। भिसा लगाउन पर्ने होइन।’ अनि उनीहरुले तुरुन्त जवाफ दिन्छन्, ‘त्यो त गर्न सकिँदैन।’
त्यसपछि यहाँको समस्याहरूको बेलिविस्तार लगाउन थाल्छन्। कतिले बुवाआमालाई पनि उतातिर लैजान प्रयास गर्छन्। यहाँ काम गरेर बस्नुभएका बुवाआमाहरू उता गएर यतिकै बस्न नसक्दा अत्तालिएर यतै फर्किनुहुन्छ।
यस्तै कुरा सोच्दा सोच्दै अर्को कुरा मनमा आउँछ। हाम्रो समाजमा यही काम गरेर बस्नेलाई कस्तो सोचिन्छ? नसकेर विदेश नगएको अथवा यही केही गर्न खोजेर बसेको । पैसा अनि रवाफको अगाडि उसको शिक्षा अनि मेहेनतको के महत्त्व हुन्छ? गाउँतिर कलेज पढाउने प्रोफेसरकोभन्दा विदेशमा जे काम गरेर भए पनि पैसा कमाउनेलाई सबैले सम्मान दिएको देखेको छु।
छोरीको विवाह गर्दा नेपालमै व्यवसाय गर्नेभन्दा विदेशमा काम गर्नेलाई प्राथमिकता दिएको पनि देखेको छु। यसो भनिरहँदा विदेश भएका सबै नराम्रो, नेपाल भएको सबै राम्रो भनेर भन्न पनि खोजेको छैन। तर पनि विदेशमा गएको र नेपालमा भएका मानिस लागि गर्ने यस्तै व्यवहारले नै होइन र?
सकेसम्म विदेश जाउँ भनेर युवा पिढीलाई बाध्य पार्ने। अथवा कसले बाध्य पार्यो नेपाली युवायुवतीलाई बाहिर बस्नको लागि ? हाम्रो समाजले ? अथवा राजनीतिले? अथवा अरुको मुनि काम गरी बस्ने चाहनाले ?