राती अबेर सम्म निद्रा पर्दैन। अर्बौं जोगाउन लागिपरेको एक मान्छेको आगो जस्तो बोलीले पोल्छ।
आफ्नो महत्वकांक्षा पुरा गर्न ऊ जे पनि बोलिरहेछ। सत्याग्रहीलाई र नेपाली छोरीहरूलाई।
बिहान उठ्छु। सामाजिक सञ्जाल खोल्न खोज्दिन। मेरा लागि अस्पतालमा भोकै लडेको मानिसको अनुहार आँखाभरि नाच्छ। म जस्तै मान्छेका लागि लडेको मान्छेलाई अवहेलना गर्छ सरकार। आफ्नो अर्बौं जोगाउन लागि परेका मान्छेका लागि अभिभावक भएर बसेको छ ऊ। उसको हेपाहा रवैयाले म गल्छु।
मन भुलाउन खोज्छु। फूलको हाँसोमा। मलाई किन फूल पनि रोए जस्तो लाग्छ।
फेरि समाचार चहार्छु। कानुनमन्त्री म जस्तै छोरीहरूको इज्जत सरेआम उतार्दै छन्। म छट्पट्टिन्छु। सरकारको मान्छेले मेरो आत्मसम्मानमा तेजाब छर्यो। सरकार मलाई पोल्यो, मलाई पोल्यो। हाँस्न नसकेको फूलको हाँसो मेरो छातीमा दुख्यो।
महिला सहभागिताको सवाल मेरो प्रधानमन्त्रीलाई ट्याउँट्याउँ किन लाग्यो? अचम्मै परेथेँ म। उनका मान्छेहरूको अट्टहास सुनेपछि गलेँ म। मेरो देशको अभिभावक कोसँग संगत गर्छ र घन्टौं के कुरा गरेर बिताउँछ? कस्तो भाव, मन मस्तिकमा लिएर फर्कन्छ?
एकपछि अर्को उनीहरूका ट्याउँट्याउँले धेरै कुरा भन्दैछ। मलाई लाजले पनि पोलेको छ यतिखेर।
सडक छेउमा पाँच बिघा जमिन र भित्र केही बिघा जमिन भएको मान्छे कसरी केही वर्षमै अर्बौंको मालिक हुन्छ? कसरी बैंकहरूले उसलाई सयौं करोडको ऋण पत्याउँछन्? यो त खोज्दै गरौंला। यी मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्न हामी छोरीहरूको इज्ज्तमा आगो किन लाउँदैछन्? त्यो त आजै खोज्न पर्छ। अहिले नै खोज्न पर्छ।
राष्ट्रका अभिभावकका नातिले भने, ‘बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमै पढाई सकेर आँउछन्। केटीहरूलाई प्रोफेसरले दास बनाएर करणी गरेर राख्छन्।’ उही खुबीमा पढ्न जाने छोरीहरू कसैसँग सम्बन्ध नराखी सर्टिफिकेट हासिल गर्दैनन् भन्न सक्ने यो मानिस को हो? कसको आँटले यो मान्छेले यति मनपरि बोल्यो?
यो मानिसको बोली बाहिर आएपछि चौतर्फी विरोध भयो। बंगलादेशमा पढ्न गएका विद्यार्थीले आपत्ति जनाए। यो सबै जग जाहेर छ। सरकारका मन्त्री सामाजिक सञ्जालमा अन्य विषयमा स्टाटस लेख्दै बसेका छन्। यो कुरा उनीहरूले देखेनन्? देखेपछि प्रधानमन्त्रीलाई भनेनन्? भन्ने आँट गरेनन् वा भने पनि हठी प्रधानमन्त्रीले सुनेनन्?
हैन भने तुरुन्तै कानुनमन्त्रीको अर्को घिनलाग्दो टिप्पणी किन आयो? पढ्न गएका छोरीबारे कानुनमन्त्रीले भने ‘मैले सुनेको छु बंगलादेशमा पढ्न गएका हाम्रा चेलीहरूले सर्टिफिकेट पाउन कुनै न कुनै रुपमा आफूलाई बेच्नुपर्छ।’
यो भनेको के हो? कसले कतिमा आफूलाई बेचे? हामीलाई एक-एक केस र एक-एक रेट चाहियो, पूरै कारण र प्रमाणसहित। रातदिन हिंसामा परेका छोरीचेलीलाई न्याय दिन नसक्ने, पढ्न गएका विद्यार्थीको तेजोवध गरी आफ्नो अभिलाषा पूरा गर्न अघि सर्ने यो कस्तो अभिलाषा? धत !
यस्तो तल्लोस्तरको सोच भएको मान्छेले बाध्यतामा देह व्यापार गरेर परिवार पालेका महिलाबारे के सोच्लान्? उनीहरूको अप्ठयारोमा कति खिल्ली गर्लान्? सम्झेर काँप छुट्छ।
सरकारसँग अरु सबै नैतिक बल सकिएको हो? नागरिकलाई चित्त बुझाउन सक्ने सबै 'लजिक' सकिएको हो? छोरीहरूको इज्जत उतार्ने स्तरको विक्षिप्तता केको संकेत हो?
हस्तिनापुर राज्य पाउन तिलमिलाएको दूर्योधनको वशमा परे धृतराष्ट्र। सकुनीले जाल बुन्यो। कौरवहरू जागे। भारी सभामा द्रौपदीको वस्त्र उतारियो। धृतराष्ट्र त पुत्र मोहले निरीह थिए। दूर्योधनको पापकर्म थाहा पाएर छट्पटिएका पनि थिए। महाभारतका भिष्म पितामहलाई पनि नुनको वशमा पारेर आफैंतिर लग्यो दूर्योधनले। भिष्म पितामह बाणको ओछ्यानमा सुते।
तर, नातिको मोहमा परेका केपी ओली त उनकै बोलीमा बोली मिलाउँछन्। योभन्दा निराशा दिने विषय यतिखेर अर्को छैन। गोविन्द केसी अपमान र तिरस्कारको बाणको ओछ्यानमा पल्टेका छन्। कलियुगको दूर्योधन प्रसाईंको नुनको सोझो उनले गर्नु पर्ने छैन धन्न ! हाम्रो आश यतिमा अड्केको छ।
यही एउटा कुराले लाग्छ हस्तिनापुर खरानी भएजस्तो मेरो देश खरानी हुने छैन। उनको खाली पेटमा दौडने हावाको गतिसँगै हाम्रो धड्कन चलेको छ यतिखेर। कहिले तेज, कहिले धीमा, कहिले होला जस्तो हुन्छ, ठप्प।
म जस्तो मान्छे साना बिमार हुँदा अस्पाताल जान्न। ठूलो बिरामी परे कसरी जाँउला? करोडौं रुपैयाँ छैन। जीवनरक्षा भन्दै कागज समातेर सडक चहार्न सक्दिनँ। धेरै राजनीति बुझ्दिनँ। यही कारण म डाक्टर केसीको साथमा छु। उनलाई अपमानले गिराएर, कुनै हालतमा आफ्नो अभिष्ट पूरा गर्न लागिपरेको हर कोहीको विपक्षमा छु।
हरेक व्यक्तिसँग लडेर सकिँदैन। तर सरकारको कानुनमन्त्रीले यो हदसम्म गिरेको अभिव्यक्ति कसरी दिन सके? त्यो हाम्रो चासोको कुरा हो। यो यसै छोड्ने विषय होइन। कहाँबाट प्राप्त भयो उनलाई त्यो दुस्साहस? प्रसाईंले बोलेका कुराले प्रधानमन्त्रीलाई आपत्ति नभएको देखेर होइन? हाम्रा प्रधानमन्त्री महाभारतका धृतराष्ट्र जस्तो दुःखी हुँदै चुप लागेर बस्दैनन्। ठाँउठाँउमा उनका सेनालाई उक्साउने छुद्र वचन बोल्दै हिँड्छन्। यसैको परिणाम प्रसाईं र कानुनमन्त्रीको हिलो जस्तो बोली हो।
बोल्न यिनीहरू बोलिरहेछन् तर तुजुकको श्रोत के हो? प्रधानमन्त्रीको हेपाहा रवैया र बाँकी मन्त्रीहरूले थपेको मौनताको घिउ? यही हो यी मानिसहरुको ताकतको श्रोत? यसरी दन्ककेको आगोमा खरानी भएका आफ्ना आशा हेरेर टोलाउने हामी नागरिक। प्रधानमन्त्रीको नाति भनिएको मान्छे र उहाँको मन्त्रीले आकाशमा फर्केर थुकेका छन्। छिटा सरकारको मुखभरि देखिएको छ।
म यो सरकारले बाटोभरि थुपारेको फोहोरको गन्ध हत्केलाले छोप्दै हिँड्छु। र, सोच्छु मेरो खुट्टामा लागेको हिलो त म पखाल्छु। तर यतिखेर हामी सबै छोरीहरूको आत्मसम्मानमा सरकारको मान्छेले छ्यापेको हिलो उसैले पखाल्नु पर्छ। यो अपमानको जवाफ आजको आजै चाहिन्छ। ढिला नगरी यो सरकारले दुई कुरा गरोस्-
एक- प्रधानमन्त्रीले माफी मागून्।
दुई- उनले कानुनमन्त्रीको राजीनामा मागून्।
यो यूगमा यो नीचपन सह्य छैन। नदीमा होमिएकी योगमायादेखि दूधेबालक छोडेर खाडी मुलुक गएकी फूलमायासम्मको रगत-पसिनाले यो देशको माटो भिजेको छ। कुनै पनि शक्तिको आडमा मैमत्ता भएर बरबराउँदै हिँड्ने महिसासुरहरूलाई हामी त्यसै छोड्दैनौं।
हेक्का राख सरकार! आवश्यकताको पिरामिडमा आत्मसम्मान सबैभन्दा माथि हुन्छ। छोरीहरूको आत्मसम्मानमा आगो नझोस। तिम्रो अभिमानको लंका खरानी हुन सक्छ।