नेपालमा मेडिकल शिक्षाको सुधारका लागि लगातार १५ पटकसम्म अनसन बसेका डा. गोविन्द केसीको मागबारे सरकार बेखबर जस्तै बनेको छ।
१५औं अनसनको आज २१ औं दिन भइसक्दा पनि मागबारे सरकारले खासै चासो नदिँदा डा. केसीको अवस्था झन कमजोर हुँदै गएको छ।
यसअघिका सरकारले गरेका सम्झौतालाई लत्याउँदै र अघिल्लो सरकारले ल्याएको चिकित्सा अध्यादेशलाई समाप्त गर्न सरकारले दुई तिहाईको आडमा ल्याउन लागेको चिकित्सा सम्बन्धी ऐनले भविस्यमा चिकित्सा अध्ययन सस्तो, भरपर्दो र स्वास्थ्य सुविधा सर्वसुलाभ उपलब्ध हुनेमा द्विविधा जन्माएको छ।
राजनीतिक केन्द्रमा सरकार पक्ष र प्रतिपक्ष दुई खेमामा उभिएका छन्। कांग्रेसले आफ्नो सरकार हुँदा ल्याएको अध्यादेशको पक्ष लिँदै डा.केसीलाई समर्थन गरेको छ भने सत्तारूढ दलले डाक्टर केसीको विरोध गरिरहेका छन्।
त्यसो त सत्तारूढ दलले डा. केसीलाई कांग्रेसले उचालेको, सरकार बाहिर बस्दाको छटपटी आदि आरोप लगाएको छ भने कांग्रेसको समर्थनलाई सरकार बाहिर रहँदाको छटपटीको रूपमा व्याख्या हुन थालिएको छ।
हुन पनि हो, कांग्रेसले अहिले आएर आँखा चिम्लेर डा. केसीलाई समर्थन गर्नु एक किसिमले संकास्पद देखिन्छ। होइन भने हिजो डा. केसीको अनसन र कांग्रेसको सरकार हुँदा अनसन बस्नु पर्ने थिएन।
लोकमान सिंह कार्कीका दुस्कर्म विरुद्ध डा केसी लागि रहँदा संसदमा केवल एक जना गगन थापा मात्र थिए जसले समर्थन गरे तर त्यहाँ कांग्रेस थिएन। आफ्नै सरकार रहँदा पनि डा केसीको मागमा देखाएको उदासिनता ताजै छ।
अर्को त सरकार चाहे कांग्रेसको होस् या नेकपाको (पूर्व एमाले वा माओवादी) यसअघि पनि डा केसीले अनसन बस्दा प्रतिपक्षमा हुँदा समर्थन गर्ने र सरकारमा हुँदा विरोध गर्ने शैली देखिँदै आएको छ।
तसर्थ प्रतिपक्षले डा केसीले उठाएको मुद्दामा आफ्नो सरकारमा अनुपस्थिति वा उपस्थिति अनुसार विरोध र समर्थन गरिनु सत्ता र कुर्सीलाई केन्द्रित रहेर गिद्दे दृष्टि र शिकारीको ढाल बनाएको प्रष्ट हुन्छ।
आज आएर डा. केसीले उठाएका माग यदि सही हो भने कांग्रेसले के कति कारणले आज भन्दा अघिल्लो समर्थन गर्न सकेन त्यो पनि प्रष्ट पारे डा केसीको मुद्दा कुन हदसम्म सहि थियो र कांग्रेसले पनि अन्तत्वगत्वा सहि निर्णय गर्न पुग्यो भनेर प्रष्ट हुने थियो।
सहि हृदय, उद्देश्यले गरिएको समर्थन हो भने यसले कालान्तरमा गैर सकारात्मक हुनसक्ने सम्भावना जिवितै राख्नेछ। साथै यसबाट आम जनतालाई पनि डा केसीको मागमा थप प्रष्ट हुने मौका मिल्ने थियो।
केहिले डा केसी माथि नै राजनीति गर्न लागेको आरोप, कहिले पागलको आरोप त केहिले भगवान झैं मान्ने गरेको यथार्थले एक किसिमको द्वन्द्व भइहरेको बुझ्न सकिन्छ। उनले उठाएका माग र मुद्दामाथि हुनुपर्ने बहसलाई न राजनीतिक पार्टीले स्वीकार्न सकेका छन् न त आम नागरिकले नै।
नेपाली समाजमा एक त सोच र वैचारिक खडेरी पर्दै गरेको अवस्था छ, अर्को त व्यावहारिक रुपमा त्यसलाई कार्यान्वयन गर्ने तवरमा पनि पछि छ। अनि डा केसी यही सोच, व्यवहारिकता, सामाजिक उदासिनता र आम जनताको कमजोर चेतनाको चपेटामा सामाजिक रुपान्तरण र जन जागृतको मुद्दा लिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका छन्।
कुरा प्रष्ट छ, यदि नेपाली समाज, नेपाली राजनीतिक दल, सरकार प्रतिपक्ष जो सुकै होस् समयमा चेत खुलेन भने भविस्यमा नेपालीले कुन दषा भोग्नुपर्ने हो कल्पना गर्न सम्म गाह्रो छ तर यति हो भावी सन्ततीले न हामीलाई क्षमा गर्नेछन् न राजनीतिक दललाई।
डा केसीको माग बारे खासै कुनै पनि राजनीतिक दलहरुले बुझ्न प्रष्ट हुन खोजेको जस्तो पनि देखिन्न। किन डा कसीले आफ्नो ज्यानको वाजी राखेर बारम्बार एकै किसिमका मुद्दामा निरन्तर लागिरहेका छन् भनेर नबुझी उनको विरोध गर्ने गरेका छन्।
यस भिडमा आम नेपाली सर्वसाधारण पनि संलग्न छन् भन्दा खासै अत्युक्ति नहोला। डा केसीलाई खासै बुझिएको छैन, उनका मुद्दा खासै पढिएको छैन त्यसको अन्तर कुन्तरमा गएर खासै बहस गरिएको छैन यो प्रष्ट छ।
होइन भने डा केसीका मुद्दा आम नेपालीकै लागि भएता पनि साधारण नागरिकबाट खासै समर्थन, चासो र सरकारलाई दवाव समेत आएको देखिन्न।
मेरो व्यक्तिगत विचारमा उनको अस्पतालमा अनसन बस्ने प्रवृतिको विरोधी हुँ। तर, भ्रष्टचार र माफियातन्त्रले देश सिध्याउन लागिसक्यो नैतिकताको कुरा गरेर भ्रष्टाचारलाई सहज पचाउने अनि ठूलो मुद्दालाई नजर अन्दाज गरेर सानो कुरामा बखेडा गर्नु अत्युक्ति नहोला।
यो समय गल्ति सुधार्ने हो, सामाजिक वेथितिको अन्त्य गर्ने हो, भ्रष्टचार र माफिया तन्त्रलाई अन्त्य गर्ने हो, राष्ट्रनिर्माणको महान कार्यलाई ठोस बनाउने हो। त्यसैले जो कोहि होस् सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ, युगले दिएको जिम्मेवारी निभाउन हरेक नेपालीले सक्नुपर्छ।
आम जनताका पक्षमा बोलेका डा केसीले उठाएका मुद्दा सही भएर पनि डा केसी आफ्ना मुद्दामा हरेका छन् हैन भने उनले १५-१५ पटक अनसन गर्नुपर्ने दिन नै आउने थिएन।
३ करोड नेपालीको भीडमा एक्लै पुरै भ्रष्ट पद्धति, सरकार र माफियाका विरुद्धमा लड्नुपर्ने थिएन। डा केसीलाई कमजोर खेलाडीको रुपमा व्याख्या गर्नु गलत हुन्छ। उनी बलिया र एक्ला त्यस्ता लौह पुरूष हुन् जसले लालची राजनीतिक दल कांग्रेस, नेकपाका सरकार, लोकमान, गोपाल मान जस्ता भ्रष्ट शाशनका पोशाक र मौन, अचल र विमर्थंक नेपाली जनताका उदासिनता विरुद्ध लड्ने शाहस गरे।
यसर्थ उनी जस्तो असाधारण व्यक्तिको त्याग, समर्पण र लगावको मूल्य बुझ्न हामी नेपालीले कत्ति पनि ढिला गर्न हुन्न। अन्धाकारलाई त एउटै दियोले सखाप पार्न सक्छ यदि त्यसलाई बल्न दिने हो भने, अहिलेको समय हजारौं दियो बल्ने हो र सदाका लागि अन्धकारको अन्त्य गर्ने हो।