२०७० मंसिर ४ गते दोस्रो पटकको संविधानसभा चुनाव भएको रात काम सक्दा बिहान एकै बजेको हुँदो हो। नागरिक दैनिकको कार्यालय काठमाडौं, सुन्धाराबाट घर जाने क्रममा हाम्रो गाडी धुम्बाराही सडकछेउ बिजुलीको पोलमा जोतिन पुगेको थियो।
गाडीमा यादव थपलिया, म, सुशील पोखरेल र मदन चौधरी थियौं। यादव अगाडि बसेका थिए। बिजुली पोल ड्राइभर र यादवबीचको चेपमा घुसेको थियो। मात्र केही इन्चले यादवको टाउको जोगिएको थियो। गाडी कुच्चिँदा उनको एउटा खुट्टा च्यापिएको थियो। बल्लतल्ल खुट्टा तानेर झ्यालबाट बामे सर्दै उनी बाहिर निस्किए। जुत्ता गाडीमै अड्कियो। उता, ड्राइभर स्टेरिङमा पेट ठोक्किएर गम्भीर घाइते थिए।
तीव्र गतिको गाडी पोलमा ठोक्किँदा निद्रा र थकानले कायल हामी सबैले आफूलाई सम्हाल्न सक्ने कुरै थिएन। कताकता ठोक्किन पुगेछौं। हातगोडामा चोटपटक लागेछन्। यादव र मदनको त टाउकोमा पनि चोट लागेको थियो।
गाडीबाट बाहिर निस्केर हारगुहार गर्यौं। सहयोग गर्न कोही निस्केन। वरपर घरभित्र बलिरहेका बत्तीसमेत निभे।
नागरिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानलाई फोन गरेर घटना बतायौं। उनले प्रहरीलाई खबर गरेर हाम्रो उद्धार गर्न भनेछन्।
एकैछिनमा प्रहरी भ्यान आयो र हामीलाई शिक्षण अस्पताल लग्यो।
प्रहरी आएपछि वरिपरिका मान्छे पनि टुप्लुकिएका थिए।
अस्पतालमा केही घन्टाको जाँच र औषधिमूलोपछि हामी डिस्चार्ज भयौं।
त्यतिखेरको चोटले मलाई वर्षदिनभरि खुट्टामा पीडा दिइरह्यो। तनाव वा कामको दबाब भएका बेला त्यहीँ दुख्थ्यो, दुर्घटना हुँदा जुन ठाउँ जोडसँग ठोक्किएको थियो।
झन् यादव त राम्रैसित घाइते थिए। पछिसम्मै उनी भन्थे, ‘त्यो घटनायता म बसेको ठाउँबाट जुरुक्क उठिहाल्न, सहजै हिँड्ने-कुद्ने गर्न सक्दिनँ।’
त्यो दुर्घटनापछि झन्डै एक महिनाजस्तो हामी काममा फर्किन सकेनौं। घटनाको मानसिक/शारीरिक पीडा छँदैथियो, सम्पादकीय कक्षका वरिष्ठ कर्मचारी ‘अब कति महिना काममा नआउने ?’ भन्दै घाउमा नुनचुक छर्थे।
उनको आसय काममा नआई ठगीठगी खाएको भन्ने थियो।
खासमा त्यो दिन ड्राइभरलाई चौबिसघन्टे ड्युटीमा लगाइएको रहेछ। थकानले लोथ परेर बिचरा गाडी हाँक्दाहाँक्दै निदाउन पुगेको रहेछ।
फेरि कर्मचारीलाई घर पुर्याउने गाडी मारुती अम्नी भ्यान। कागजको बाकसजस्तो। सानोतिनो ठक्करमै कच्याककुचुक भइहाल्ने। घटनापछि प्रधान सम्पादक प्रतीक प्रधानले मिडिया हाउसहरूले कर्मचारीका लागि एयरब्याग सिस्टमबिनाको सस्तोमस्तो गाडी प्रयोग गर्दा जोखिम रहने टिप्पणी गरेका थिए।
त्यसपछिका दिनहरूमा व्यवस्थापनसँग हामीले एअरब्याग सिस्टमको गाडी माग्न त सकेनौं तर ड्राइभरको अवस्था र हँकाइमा खुब चासो दिने र सतर्क गराउने भएका थियौं। त्यसै क्रममा एक ड्राइभरलाई कामबाट निकालि पनि दिएका थियौं।
...
अखबारी कर्मसँगै साहित्यिक वृत्तमा समेत चिनिएका यादव पुस्तक सम्पादन पनि गर्थे। कवि थिए। कथाकार थिए।
हसमुख उनी हँसिमजाक गर्थे तर काममा गम्भीर थिए। समाचार सम्पादनमा पोख्त थिए। कपी डेस्क ब्युरो संयोजक थिए उनी। समाचारलाई पठनीय, स्पष्ट र रुचिपूर्ण बनाउन सिपालु थिए।
प्रधान सम्पादकले समेत आफ्नो लेख वा स्तम्भ एकपटक कपी एडिटरलाई देखाउने गर्छन्। कपी एडिटरले आवश्यक काँटछाँट र सुधारका लागि सल्लाह दिन सक्छन्। अथवा नमिलेका ठाउँमा सिलसिला, भाषा, व्याकरण वा हिज्जे मिलाइदिन सक्छन्।
यादवले सबैजसो प्रधान सम्पादकका लेखलाई तिखारेको कुरा पक्कै उनीहरू स्वीकार गर्छन्।
अझ डेस्क ब्युरो संयोजक भनेपछि प्रधान सम्पादकको सल्लाहमा अखबारको प्रथम पृष्ठको सामग्री छनोट र तिनको सम्पादनमा मुख्य भूमिका हुन्छ। अखबारको आवरणलाई कसरी झकिझकाउ बनाउने भन्नेमा पनि डेस्क संयोजकको भूमिका हुन्छ। त्यस्तै, पहिलो पृष्ठमा छापिने मुख्य तस्बिरसमेत उसैले छनोट गर्छ।
त्यस्तै, अन्य साथीले बनाएका भित्री पृष्ठ पारित गर्ने काम पनि डेस्क संयोजकले गर्छन्। यसरी अखबारमा छाया सम्पादकका रूपमा डेस्क ब्युरोले काम गरेको हुन्छ।
समय र मिहिनेत जति लागोस्, तर छाप्नुपर्ने सामग्री तिखारेरै छाड्थे यादव। शीर्षक पनि असाध्यै मीठो र चोटिलो राख्थे।
जस्तो, एकपटक अमेरिकामा थुप्रै बालबालिकाको गोली प्रहारबाट हत्या हुँदा तयार गरिएको समाचारमा उनले शीर्षक ‘चुँडिए कोपिला‘ जुराएका थिए।
नागरिक दैनिकमा उनीसँगको सहकार्य सिकाइका वर्षहरू रहे। उनी प्रथम पृष्ठ बनाउँथे अनि प्रेस पठाउनुअघि हामी भित्री पृष्ठमा काम गर्नेलाई प्रथम पृष्ठको टिप्पणी गर्न भन्थे।
चरित्रगत हिसाबले उनी मिलनसार, सहयोगी र रसिक थिए। यो कुरा उनीसँग काम गरेका सबैलाई थाहा छ। उनले स्पेसटाइम, राजधानी, नयाँपत्रिका, नागरिक हुँदै कान्तिपुरसम्मको यात्रामा कैयन रिपोर्टरका कैयन समाचार पुनर्लेखन गरेका छन्। जतिपटक पुनर्लेखन गरेर सुधारिदिए पनि अधिकांश रिपोर्टरले सिक्न नसकेको वा नचाहेकोमा भने उनको सधैं चिन्ता हुन्थ्यो।
हुन त डेस्कले रिपोर्टरप्रति गर्ने सदाबहार गुनासो हो यो।
नामीनामी रिपोर्टरसमेत लेखनमा कमजोर रहेको दृष्टान्त उनी दिइरहन्थे। तर तिनलाई सिक्न पनि हौस्याइरहन्थे।
रातको निद्रा, तातो भात, न्यायो ओछ्यान त्यागेर काममा खटिन्थ्यौं हामी। न नाम हुन्थ्यो न साह्रै उम्दास्तरको पारिश्रमिक नै। त्यसरी त्यागी हुनुको अर्थमा हामी डेस्कका साथीहरूले एकार्कालाई ‘स्वामीज्यू’ भन्ने गरेका थियौं।
एकपटक राति कामबाट फर्कंदा कुमारीहलनिर बस्ने यादवलाई सुरुमा छाडिदियो ड्राइभरले। अनि सायद मलाई छाड्न चाबहिलतिर लाग्यो गाडी।
यादवले उनकी श्रीमतीलाई फोन लगाएछन् गेट बाहिरबाट। अनेक पटक फोन गरे तर फोन उठेन। आजित भएका यादवले बरु अघि छोडेर गएका ड्राइभरलाई फोन लगाए र आफूलाई छोडेको ठाउँमा लिन आउन भने।
ड्राइभर आए र यादवलाई लिएर अफिसतिर लागे।
त्यो रात यादव अफिसकै सोफामा सुतेछन्।
खासमा त्यो रात मस्त निद्रामा परेकी उनकी श्रीमतीले फोनको आवाज सुनिनछन्।
...
यादवको निधनपछि मेरो मनमा खट्केको एउटा कुरा भन्छु।
उनको मृत्युबारे कान्तिपुर दैनिकको समाचारमा लेखिएको थियोः चिकित्सकले नेपालमा भएका ‘कुनै पनि औषधि’ले काम नगरेको परिवारलाई बताएका थिए। उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै परिवारले भन्यो, ‘नेपालमा भएका जति दबाइ र उपचार गर्ने प्रयास गर्यौं। तर उहाँलाई बचाउन सकिएन भनेर हामीलाई भन्नुभयो।’
हो, यहाँनिर एउटा कर्मचारी बिरामी पर्दा अफिसले निरन्तर फलो नगरेको देखियो। बिरामी बिदा त दियो होला, सायद सानोतिनो अस्पतालले जाँचिदिनेसम्मको इन्स्योरेन्स पनि थियो होला।
हुन त कोही कामदार बिरामी हुँदा निरन्तर खोजखबर गरिरहन भनेर कर्मचारी नै कहाँ पालिएको हुन्छ र? तैपनि मनको एउटा खसखस।
समाचारको पेटबोली अनुसार पारिवारलाई डाक्टरले ‘नेपालमा भएसम्मको उपाय’ गरिएको बताएको थियो।
हुनलाई पञ्चतत्त्वले बनेको मानव शरीरको कुनै भरोसा हुँदैन भनिन्छ। कतिबेला मानवचोला भुर्र उड्छ, पत्तै हुन्न। तैपनि मन न हो, आस गरिहाल्छ।
सिद्धि पोलिक्लिनिक र केएमसीका डाक्टरको मानमर्दन गर्न खोजेको होइन। तर जसरी अलि ठूलाबडाले अलि नामी डाक्टरसँग मात्र जचाउँछन्, त्यसरी अलिक समय छँदै अलि विशिष्ट डाक्टरकोमा पुर्याइ रोग पत्ता लगाएर कमसेकम दिल्लीसम्म लान सकेको भए उनी बाँच्न सक्थे कि?
नेपालमा नभएको उपाय दिल्लीमा थियो कि? यो पक्षबारे कसैले विचार गरेजस्तो लागेन।
हो, यस्तो अवस्थामा बिरामी आबद्ध संस्थाको दायित्व के हुने? संस्थाले दिल्लीसम्म लगेर जचाउन पहल गर्नुपर्ने हो कि होइन?
सालाखाला पत्रकारको आम्दानी खासै गतिलो हुँदैन। उनीहरूको आर्थिक पृष्ठभूमि मजबुत हुन्छ भन्ने पनि हुँदैन। यस्तोमा कुनै रोगव्याधिले च्याप्यो भने ‘नेपालमा भएसम्मको उपचार’मा खुम्चेर बस्नुपर्ने? र, ‘जय नेपाल’ भन्दै मर्नुपर्ने?
कोही पनि श्रमजीवी पत्रकार बिरामी पर्दा यस्सो खोजखबर र निरन्तर सम्पर्कमा रहने संयन्त्र आबद्ध संस्था र पत्रकार महासंघको पहलमा हुन सके आगामी दिनमा यादवको नियति अरू पत्रकारले भोग्नुपर्दैनथ्यो कि?
...
२०७० को त्यो चिसो रात यादव, तिमीले मृत्युलाई जितेका थियौ। र सायद हामी सबैले।
तर २०७५ को खड्गोलाई तिमीले टार्न सकेनौ। यसपटक हार्यौ तिमी। तर तिमीसँगका सहयात्रा, सहकार्य सधैं सम्झनामा जितेर बसिरहनेछन्।