एक अन्तर्वार्ता हेरेपछि लामो समयसम्म खल्लो लागिरह्यो। एकछिन सोचेँ ‘यस्तै हो मन दह्रो बनाएर सहन्छु।’ तर, मेरो मनमा यसले लामो समयसम्म तरंग ल्याइरह्यो।
ठक्याक्कै मिति याद भएन। नेपाली टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा नाम चलेकै र राम्रै कलाकारको अन्तर्वार्ता आइरहेको थियो।
करिब नौ दश महिना भयो होला अन्तर्वाता भएको। अन्तर्रवार्ता सोध्ने पत्रकारको जवाफ ती कलाकारले राम्रै दिनुभएको रहेछ। छोरा सानो भएकाले मैले समयमा हेर्न नपाएकाले यूट्यूबमा कार्यक्रम हेरिरहेको थिएँ।
उहाँ मेरो मन पर्ने कलाकार तथा व्यक्तित्व मध्येमा पर्नुहुन्छ। उहाँ मलाई बौद्धिक तथा शालिन लाग्छ। बाबु सुतेको मौका पारेर मैले युट्यूवमा हेर्दै थिएँ त्यो अन्तर्वार्ता।
अन्तवार्तामा कलाकारले कला क्षेत्रमा हुने अश्लिलतालाई आमाले शिशुलाई सार्वजनिक ठाउँमा स्तनपान गराएकोसँग जोड्नुभएको रहेछ।
उहाँले अन्तर्वार्ता भन्नु भएको थियो- ‘हामी कलाकारले अलिकति देखाउँदा अश्लिल हुने बाटोमा महिलाले बच्चालाई दुध खुवाउँदा अश्लिल नहुने कस्तो सभ्यता हो।’
एक वर्ष मुनिको छोरालाई स्तनपान गराइरहेकी म उहाँको अभिव्यक्तिले झस्किएँ। पहिलो पटक त विश्वास नै गर्न सकिनँ कि, उहाँले भन्नु भएको तर, पज गर्दै फेरि सुनेपछि चाँही म उहाँले त्यसो नै भन्नु भएको रहेछ भनेर पक्का भए।
त्यसपछि मलाई पुरा अन्तर्वार्ता हेर्नै मन लागेन। रूचीपूर्वक हेर्न सुरू गरेको कार्यक्रम अमिलो मन बनाउँदै हेर्नुपर्यो। कार्यक्रम हेर्दा र त्यसपछि लामोसम्म उहाँको अभिव्यक्तिले मेरो मनमा हजारौं प्रश्न र कौतुहलको वाण हानिरह्यो।
अनि मैले एउटा लेख लेख्ने विचार गरेँ। यसको उद्धेश्य कसैको अपमान, मानहानी नभएर आमाको नाताले आमा र बच्चाको स्तनपान गर्ने र गराउने पवित्र कामको सम्मान गर्न मात्र खोजिएको हो।
कहिलेदेखि स्तनपान अश्लिल भयो/बाटोमा होस् या चौकामा स्तनपान त कही पनि अश्लिल नहुनपर्ने हो। कसैको पनि बेडरूममा हुने क्रियाकलाप र स्तनपानलाई तुलना कहिल्यै पनि गर्न मिल्दैन। बच्चा जहाँ पनि भोकाउन सक्छ। जन्मिएको केही महिनासम्म त उसलाई प्रत्येक एक दुई घन्टामा स्तनपान गराउनुपर्ने हुन्छ। अस्पताल गएको बेला, खोप लगाउन जाँदा होस् वा अन्य काममा जादा के भोको शिशुलाई नखुवाउनु?
म आफु कलाकार नभएकाले कलाकारको दायरा कति हो, कति देखाउन पाउने र कति छोप्न पाउने भन्न सक्दिनँ, आफूलाई जानकारी नभएको विषयमा बोल्दिनँ पनि। तर, कसैले एउटा नावालक शिशुको स्तनपान गर्ने अधिकार र उसकी आमाको स्तनपान गराउने अधिकारलाई अश्लिलतासँग जोड्छ भने मानव समुदायको लागि नै दयनीय विषय हुन जान्छ।
सृष्टिका सुन्दर सिर्जनाले शिशुकालमा पनि मन लागेको बेला, भोक लागेको बेला खान नपाउने। आमाको दुध चुस्ने उमेरको बच्चालाई के थाहा ऊ सार्वजनिक स्थानमा छ, उसले त खान मन लागेको बेला खान पाउनुपर्छ। कपडाले छोपेर खुवाउँदा कति शिशुले मन नपराउन सक्छन्।
मेरै अनुभवमा पनि तान्न सक्ने बच्चाले कपडा तान्छन् , नसक्नेले पनि अप्ठेरो महसुस गर्छन्, खान छोड्छन्।
सायद उनीहरुलाई पनि निस्सासीए जस्तो हुन्छ होला। स्तनको आफैंमा केही यौनिक महत्व होला। तर, विशुद्ध रूपमा बच्चाको मानसिक, शारीरिक तथा भावनात्मक स्वास्थ्यका लागि स्तनपान गरिरहेकी महिला अश्लिल होइनन् उनी त महान् आमा हुन्।
जसले आफ्नो मात्र नहेरेर समाजमा भएका केही मानिसको हेय सहेर सन्तानलाई दुध चुसाइरहेकी छिन्। आमाको दुधमा सन्तानलाई चाहिने सबै पौष्टिक तत्व भएको त सबैलाई जानकारी नै छ। अझ महिना पुरै नपुगेर जन्मिएका शिशुलाई त आमाको दुध नआएमा अरूको दुधलाई पास्चुराइड गरेर खुवाइन्छ।
विश्वका अधिकांश देशले महिलालाई स्तनपान गर्न जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने गरेका छन्। अधिकांश देशले यसका लागि निकै लगानी गरेका छन्। केही समय यता हलिउडलगायत अन्तर्राष्ट्रिय जगतमा नाम चलेका कलाकारले समेत स्तनपान गराएको आफ्नो तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेका छन्।
जहिले पनि, जहाँसुकै स्तनपान (एनी ह्वेर, एनी टाइम) गर्न पाउने आमा तथा बच्चाको अधिकारको अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार भइरहेको छ। एनी ह्वेर, एनी टाइम जहाँ पनि जहिले पनि बच्चाको डिमाण्ड अनुसारको नारा अहिले व्यापक छ।
आमाको दुधले बच्चालाई चाहिने सबै पौष्टिक तत्वमात्र प्रदान गर्दैन, सुरक्षाको अनुभूति पनि गराउँछ। त्यसैले सार्वजनिक स्थान होस् वा अन्य कुनै ठाउँमा महिलाले निस्फ्रिकी स्तनपान गराउने व्यवस्था गराउनुपर्छ।
चर्चित अभिनेत्री सल्मा हायकले सियरालियोनको भ्रमणको क्रममा अस्पतालमा रहेको बच्चालाई स्तनपान गराएकी थिइन्। एक सन्तानकी आमा हायकले स्तनपानप्रति जनचेतना जगाउन अरुको बच्चालाई स्तनपान गराएको चर्चा निकै भएको थियो।
गायिका वियोन्सेले पनि आफ्नो सन्तानलाई रेस्टुरेन्टमा स्तनपान गराइरहेको अवस्थामा भेटिएको समाचार बाहिर आएको थियो। कलाकार क्रिस्टिन बेलले पनि सन्तानलाई आवश्यक परेमा सार्वजनिक स्थलमा स्तनपान गराउन आमाहरुलाई अनुरोध गरेकी छिन्। उनी आफैं पनि यसै गर्दैछिन्।
सार्वजनिक स्थलमा स्तनपान गराउने आमालाई आग्रह गर्ने कलाकारको लिस्ट लामो छ। सार्वजनिक स्थलमा स्तनपान गराउने महिलालाई अश्लिलतामा ग्रुपिङ गर्नु नै मानव सभ्यताको नै बिडम्बना हो।
विकशित भनिएका मुलुकमा पनि कहिलेकाँही रेस्टुन्ट, पार्कलगायत सार्वजनिक स्थलमा स्तनपान गराइरहेका आमाको आलोचना नभएको होइन। तर, आमा तथा स्तनपानका समर्थकहरुको विरोधपछि रेस्टुरेन्ट पार्कका मालिक तथा म्यानेजरहरुले माफी मागेका घटना पनि छन्।
त्यसैले रेस्टुरेन्ट, पार्क, बरन्डा बस आदिमा महिलाले स्तनपान गराइरहेकी छिन् भने उनको हौसला बढाऔं। फेरि अर्को कुरा कुनै पनि आमाको शरीरमाथि उसको पुर्ण अधिकार र स्वामित्व छ। आफ्ना सन्तानलाई खान मन लागेको बेला खुवाउनु पनि उनको यसै अधिकार भित्र पर्छ।
जीवनको संरक्षण र संवर्द्धनमा खटिएकी आमाले जहाँ जहिले पनि स्तनपान गराउन सक्छिन्। आमाले एउटा प्राणलाई गरेको माया प्रेम सह्रानीय छ। त्यसको कदर गरौं।
अझ सकिन्छ भने महिला तथा उनको शिशुलाई सजिलो बनाउन चोक चोकमा स्तनपान गराउने स्थान तोकौं। सार्वजनिक स्थानमा स्तनपान गराउन नमिल्लुका कारण देखाएर कोही पनि आमा र बच्चाको सामाजिक जीवन कठिन नबनोस्।
आफन्त साथीभाई भेटघाटले आमाको जीवनमा निकै ठूलो प्रभाव पार्छ। घरमा मात्र खुम्चिएर बस्नु नपरोस्। यसरी बाहिर स्तनपान गराउन नमिल्ने हाम्रो सामाजिक मान्यता तथा मानसिक सोचका कारण कयौं महिला सामाजिक जीवनबाट टाढा भएका छन्। यसले महिलाको मानसिक स्वास्थ्यमा पनि ठूलो असर गर्छ।
अझ हाम्रो देशमा त फर्मुला दुध पनि केही शहरी क्षेत्रबाहेक सबैको पहुँचमा पुगेको छैन। त्यसैले आमाहरुले घरमा वा निजी स्थानमा मात्र स्तनपान गराए भने शिशुहरुले पनि आवस्यकता अनुशार दुध खान पाउँदैनन्।
यसैगरी हाम्रो देशमा स्तनपान गराउने निश्चित स्थान पनि तोकिएको छैन। त्यस्ता सुविधा पाउन हामीले अझ केही दशक कुर्नुपर्छ। त्यतिन्जेल जसरी सकिन्छ आफ्नो सन्तानलाई सके दुई वर्ष नसके एक वर्षसम्म स्तनपान गराउ।
आफ्नो सन्तानलाई आमाले दिने यो नै ठूलो उपहार हुनेछ। मानव सभ्यताको त्यो उच्च बिन्दु हुनपुग्छ।