उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ।
कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरू भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसंगीतको पनि आफ्नै विशेषता छ। ती गीतसंगीतमा अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्। तिहारको प्रसंग नेपाली चलचित्रमा राखिनुका साथै गीतसंगीत पनि समेटिएको छ।
चलचित्र 'स्वर्ग' मा समावेश 'तिहारै आयो लौ झिलीमिली' यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ। यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ। पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना रहेको गीतमा शम्भुजीत बाँस्कोटाले संगीत सृजना गरेका छन्।
'दियो बाली साँझको' गीत उत्तिकै लोकप्रिय छ। चलचित्र 'चिनो' मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन्। कुशुम गजमेरको शब्द रचना, रञ्जित गजमेरको संगीत सृजना रहेको गीतमा गायिका आशा भोस्लेले स्वर दिएकी छन्।
निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसंगलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन्।
मनिला सोताङले गाएको चलचित्र 'अन्याय' मा समावेश 'अधरमा आज उनकै छ' तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो। गीतकार रत्नशमशेर थापाको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरको संगीत सृजना छ। अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ।
चलचित्र 'विजय पराजय' मा समावेश 'निधारमा लर्काएर सप्तरंगी टीका', चलचित्र 'माइती' मा समावेश 'हाँसेर बोल बैनी' लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन्।
नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसंग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा संगीतकार अर्जुन पोखरेलले बताए।
उनले भने, 'ती समयमा कथामै गीत र चाडपर्वको प्रसंग थियो। गीतिसंग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन्। त्यहीँ कारण तिहारमात्र नभई दसैं, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन्।'
गायक तथा संगीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए। पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसंगीत नबन्ने गरेका होइनन्। तर संख्या निकै न्यून छ।
पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन्।